‘हेत्तेरिका ! औषधि नै छुट्यो’
‘ला ! औषधि नै ल्याउन बिर्स्यो ।’
‘के ?’
‘हिजो हतारहतार झोलामा कपडा ठुसें, मञ्जन ब्रुस कोचें, औषधिचैं छुटेछ ।’ एक जना साथी कामको सिलसिलामा २–४ दिन गाउँतिर बस्ने गरी जाँदा सहकर्मीसँग बेलुकी एउटै कोठामा थिए । खाना खाइसकेपछि झोलामा औषधि छाम्दा पाएनन् ।
‘कुन औषधि ?’
‘प्रेसरको । अब यता पाइँदैन होला ।’
‘मसँग छ । म दिन्छु नि !’
‘तपाईं पनि प्रेसरको औषधि खानुहुन्छ ?’
‘हो नि ! प्रेसरको नि खान्छु, चिनीको नि ।’
‘अनि मैले खाएकै औषधि तपाईंसँग होला त ?’
‘यी यो छ मसँग । प्रेसरको ।’
एउटा पाता देखाउँदै भने ।
‘हो, हो, यही हो ।’
‘मसँग पूरै पाता छ । दुवैले खाउँला ।’
‘धन्न । नभए मैले छुटाउनुपर्नेथ्यो । यहाँ कहाँ खोज्न जानु ?’
दुवैले औषधि खाए ।
‘यो औषधि खानुपर्ने नि दिक्कैलाग्दो हुँदो रहेछ ।’
‘हो, हुन त । तर मैले खाँदै गरेको त १५ वर्षभन्दा धेरै भैसक्यो ।’ करिब ५५ वर्षका साथीले भने ।
‘ए बा, हो र ? मैले त भर्खरभर्खरै हो । त्यसैले कहिलेकाहीँ त घरमै नि खान बिर्सिन्छु ।’
‘बिर्सिनु राम्रो हुन्न । ल अहिले नि खाइहाल्नू ।’
दुवैले औषधि हातमा राखे ।
‘हेर्दा यति स्यानो, काम त निक्कै ठूलो गर्छ है यसले ।’ अनभिज्ञ पाराले बोले, पहिलो मित्र ।
‘हो त । त्यसैले त यो औषधि हो नि !’ व्याख्या गरे, अनुभवी जेठा सहकर्मी मित्रले ।
दुवैले औषधि पानीले निले ।
‘अनि तपाईंले यत्रो १५–१५ वर्ष औषधि खाइराख्दा यसले साइड इफेक्ट गरेन त ?’
‘खोइ थाहा भएन । किन औषधिले साइड इफेक्ट गर्छ र ?’ खाटको तन्ना मिलाउँदै भने ।
‘त्यसै भन्छन् । त्यही भएर मैले त औषधि सुरु गर भन्दाभन्दा नि गरेको थिइनँ । अहिले मात्र गरेको ।’
‘कसैकसैलाई प्रेसरको औषधिले खुट्टा सुन्नियो भनेर सुनेको थिएँ ।’ खुकुलो टिसर्ट, हाफ पाइन्ट लगाउँदै जवाफ फर्काइरहे ।
‘हो र ?’ आत्तिए पहिलो साथी ।
‘आत्तिनुपर्दैन । सम्बन्धित चिकित्सकलाई देखाएपछि मिलाइदिइहाले नि । कहिलेकाहीँ सामान्य असर पर्न सक्छ रे ! तर केही भयो भने चिकित्सकले सल्लाह दिइहाल्छन् नि !’
‘कहिलेकाहीँ त नखाऊँ नखाऊँ लाग्छ ।’ उनी पनि कपडा फेर्दै खाटमा बसे ।
‘हुन्न त्यस्तो सोच्नु । एउटा औषधिले प्रेसर नियन्त्रणमा आउँछ भने किन निरन्तर नखानु ?’
‘प्रेसरले केही गाह्रो भएकै छैन । अनि प्रेसर बढेर के नै होला त ।’
‘त्यसो होइन । प्रेसर बढ्दा केही लक्षण हुनैपर्छ भन्ने छैन । तर निरन्तर बढिराख्यो भने शरीरका प्रमुख अंगमै असर पार्छ । प्रेसर भनेको रक्तचाप हो । रक्तचाप हरेक रक्तनलीमा हुन्छ । रक्तनली हरेक अंगमा । यदि रक्तचाप निरन्तर आवश्यकताभन्दा बढी भयो भने त्यो अंगलाई नराम्रो असर पार्छ । अझ धेरै भयो भने त फुट्न सक्छ ।’
‘तपाईंलाई यी सबै कुरा कसरी थाहा भयो नि ?’
कोठामा मधुरो बत्ती । झ्यालबाट सिर्सिरे हावा छिरेको । लामखुट्टेको पीर थिएन । ‘ल १५ वर्ष यत्तिकै हो त ? कहिले चिकित्सकसँग सोधें, कहिले पत्रपत्रिका पढें । कहिले रेडियो टेलिभिजन सुनें, हेरें । कहिले साथीभाइसँग कुरा गरें ।’ खाटमा बसेर भित्तामा अढेस लागेर बोले ।
‘अनि प्रमुख अंग भनेको कुन हो नि ?’ साथीको अनुहार हेर्दै सोधे ।
‘मुटु, मृगौला, मस्तिष्क, आँखा, रक्तनली ।’ आँखामा आँखा मिलाएर भने ।
‘त्यो कतिको मृगौला बिग्य्रो भनेको, प्रेसरले नै हो ?’
‘एउटा कारणचाहिँ हो । चिनी अर्को प्रमुख कारण हो । त्यस्तै अरू कारण पनि हुन सक्छन् ।’
‘अनि मुटु, मस्तिष्कमा चाहिँ के हुन सक्छन् ?’
‘मुटु बिस्तारै सुनिन सक्छ, हृदयाघात हुन सक्छ । मस्तिष्कमा स्ट्रोक (मष्तिस्काघात) हुन सक्छ ।’
‘कसैलाई भएको थाहा छ ?’ चाख लिएर सोधे ।
‘थाहा छ नि ! हृदयाघातले बितेकै छ । औषधि सेवन नियमित थिएन, धूमपान छोड्दैनथे । अरू पनि छन् ।’ तलतिर हेर्दै मलिन स्वरमा भने ।
मनमा असमञ्जस्य लिएर बिस्तारै सोधे, ‘तपाईं त ठीक हुनुहुन्छ नि ?’
‘म ठीक छु नि ! भगवान्को कृपा, आफ्नो कर्तव्य, चिकित्सकको सल्लाह अहिलेसम्म मिलेकै छ भन्नुपर्यो । खानामा नि हेक्का राख्छु ।’
‘आ अघि थाहा पाए । भातभन्दा धेरै साग खाएको । होटलको साहुजी छक्क पर्याथ्यो ।’
‘हो त यो चिनी, चिल्लो धेरै हुने खानेकुरोभन्दा हरियो सागसब्जी राम्रो नि ।’
‘मेरो दिमागमा एउटा कुरो आइरहन्छ । के यो औषधि छोड्न मिल्दैन ?’
‘अब यो सान्दर्भिक पनि छ । सिम्पल पनि । सान्दर्भिक- औषधि किन धेरै खाने ? पैसो नि खर्च हुने । तर जवाफ समान्य छ- प्रेसर नियन्त्रण नभएपछि, नियन्त्रण गर्न त केही गर्नैपर्यो । अब व्यायामले, खानेकुरोले अरू केही आवश्यक उपचारले ठीक नभए न औषधि खाने हो । चिकित्सकले त्यत्तिकै त पक्कै दिएनन् होला !’
‘छोड्न मिल्छ कि मिल्दैन ?’
‘मलाई धेरै थाहा हुने त कुरो भएन । तर जानेसम्म- प्रेसर कम गर्न दिएको औषधि, छोडेपछि त फेरि बढिहाल्छ । बढेपछि खतरा उही । त्यसैले मिल्दैन । तर कहिलेकाहीँ चिकित्सकले प्रेसर नै कम भयो भने, अथवा अरू कुनै कारणले प्रेसर बढेकामा उक्त कारणको हल भयो भने औषधि छुटाएको पनि सुनेको छु । तर मेरो सल्लाह आफूखुसी छोड्दै नछोड्नू ।’
‘धेरै कुरो बुझे आज, मेरो औषधि छुट्नाले ।’ मुसुक्क हाँसे ।
‘आ । मलाई पनि खुसी नै लाग्यो केही कुरा भन्न पाएर । मलाई अर्को खुसी लाग्यो- तपाईं चुरोट खानुहुँदो रहेनछ ।’
‘भोलि हिँड्न जाऊँ है । बिहानै । गाउँतिर रमाइलो हुन्छ ।’ पहिलो मित्र बोले ।
‘त्यो त पक्का । म त सहरमा नि हिँड्छु नि !’
‘म नि हिँड्न त हिँड्छु । तर धेरै जसो अल्छी लाग्छ ।’
‘अल्छी नमान्ने नि !’
‘ल त अहिले सुतौं ।’
‘थाहा छ कि छैन ? घुर्ने मान्छेको नि प्रेसर बढ्न सक्छ नि ।’
‘थाहा छैन ।’
‘धन्न हामी – रक्सी नि खाछैनौ, पक्कै घुर्दैनौ होला ।’
‘शुभरात्रि ।’
‘गुडनाइट ।’
प्रकाशित : वैशाख २५, २०७९ ०७:४४