१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इन्टरभ्यु टेबलको अर्कोपट्टि बस्दा

भारतको एउटा राज्यका वरिष्ठ अधिकारीहरू छानिने इन्टरभ्यु बोर्डमा बस्दा, अध्यक्षले हामी सदस्यहरूलाई‘पेन्सिलले मार्क्स दिनुहोस्’ भन्ने आदेश दिए । हामी कतिपयले किन भनेर प्रश्न गर्दा, ‘राज्यका नेताको आदेश नै छ’ भने । हामी मानेनौं । त्यस बेला मलाई ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले’ गीत झल्याँस्स याद आयो ।
महेन्द्र पी‍. लामा

कसैले अन्तर्वार्ता, कसैले मौखिक परीक्षा त कसैले इन्टरभ्यु वा भाइवा भोसी भन्छन्, जसको सामना नोकरी पाउनलाई जीवनमा प्रायःले सामना गर्नु नै पर्छ । केही पाउनलाई, अझै अघि बढ्नलाई वा फेरि जीवनयापन गर्ने एउटा मेसो पक्रनलाई भरमग्दुर प्रयास गर्छन् ठिटाठिटीहरू ।

इन्टरभ्यु टेबलको अर्कोपट्टि बस्दा

‘लिखित परीक्षा पास गरी है हाम्री छोरीले, भोलि इन्टरभ्यु छ’ भन्दै, मातापिताले बिहानै देवीदेवतालाई पुकार्दै छोरीलाई टीकासमेत लगाइदिन्छन्, ‘राम्रो गर है’ भन्दै । उज्यालो अनुहार लिएर छोरी फर्किंदा अनि नोकरी पाएको खबर तुरुन्तै आउँदा, परिवारमा खुसी–गर्वको लहर फैलिँदा, ‘छोरी प्रगतिमार्गतिर प्रवेश गरी है’ भन्छौं । जीवनका यस्तै तीता–मीठा क्षणहरूले झकझकाइरहँदा रहेछन् सबैलाई । अर्कोतिर, कैयन् लिखित परीक्षा दिँदा र कति धेरै इन्टरभ्युमा बस्दा पनि नोकरी नपाउनेहरूको ताँती पनि लाग्छ । कसैले आफ्नै कमीकमजोरीले पाउँदैनन्, कोही भाइभतिजावाद–भ्रष्टाचारको सिकार हुन्छन्, अझै कोहीले त जात–जाति–धार्मिक भदेभावको आगोमा पनि डढ्नुपर्छ ।

जीवनका प्रथम तीस वर्ष मैले पनि धेरै परीक्षा लेखें, इन्टरभ्युमा भाग लिएँ । कहीँ सफलता त कहीँ विफलता । फेरि अरू तीस वर्ष मेरो भूमिकामा ठूलो परिवर्तन आयो । अरूको परीक्षा लिन लागें अनि फेरि नोकरीका निम्ति अरूलाई मौखिक परीक्षा–इन्टरभ्युमा निम्त्याएर प्रश्नहरू अघि राखें । अर्थात्, यी गएका ६० वर्षमा टेबलको यतापट्टि र अर्कोपट्टि दुवैतिर बसें, मीठा सम्झनाहरू बटुलें । त्यसैले आजभोलि तरुण–तन्नेरीहरूलाई वा ठूलै ओहदाका निम्ति इन्टरभ्यु लिँदा आफैंलाई त्यो खोप्चोमा हाल्ने गर्छु र सम्झना गर्छु- म आफैं इन्टरभ्युमा जाँदा कति सतर्क, कति भयातुर र कति अन्योलग्रस्त हुन्थें ।

सन् १९७८ मा दिल्लीको प्रसिद्ध गणतन्त्र दिवसको परेडमा भाग लिनु निकै चर्को काम थियो । सम्पूर्ण भारतबाट केही संख्यामा नेसनल क्याडेट कोर (एनसीसी) का क्याडेटहरूलाई चुनेर दिल्ली पठाइन्थ्यो । दार्जिलिङको सन्त जोसेफ कलेजमा म एनसीसीको विद्यार्थी क्याडेट थिएँ । मेरो र्‍याङ्क सिनियर अन्ड। अफिसर थियो । दिल्ली परेडका निम्ति सबै कुरा जाँचेर मलाई पनि इन्टरभ्युमा बोलाइयो । मेरो जीवनको प्रथम होडबाजीको परीक्षा थियो यो । मेजर एसबी गुरुङ र अन्य थिए बोर्डमा । म छानिएँ, मलाई कलकत्ताको बालीगन्जमा प्रशिक्षणका निम्ति पठाइयो । र, दिल्लीको परेडमा पश्चिम बंगाल, सिक्किम र अण्डमान टापुको एउटा प्रतिनिधि भएर भाग लिएँ । प्रधानमन्त्री मोरारजी देसाईले हाम्रो परेडको सलामी थापे । दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा भर्ना भई अध्ययन गर्ने ठूलो रहर, हामी धेरै साथीहरूको । भारतकै सर्वश्रेष्ठ विश्वविद्यालय । तिनताक जेएनयूमा भर्नाका निम्ति लिखित परीक्षा दिन दिल्ली नै जानुपर्थ्यो । गर्मी महिनाको टाकुरामा थियो दिल्ली । रेलमा वातानुकूलित डब्बामा चढ्ने पैसै थिएन । दोस्रो श्रेणीको डब्बामा चढेर दोस्रो पटक दिल्ली पुग्यौं । म लिखित परीक्षामा पास भएँ । अब इन्टरभ्यु अरे ! सन् १९८० को कुरो हो । अर्थशास्त्रमा एमए गर्नलाई लिइएको यो इन्टरभ्यु बोर्डमा थिए धुरन्धर शिक्षकहरू । निकै तयार भएर गएको थिएँ, पढाइमा । अंग्रेजी बोल्न त्यति आउँदैन थियो, तर सोधेका कुराहरू जानेको–पढेकोसम्म अघि राखें । यसरी अर्को परीक्षा पास गरें ।

एमए पढ्दापढ्दै दिल्लीमा विश्व पुस्तक मेला हुने भयो । इन्टरनेसनल लेबर अर्गनाइजेसनले आफ्नो पुस्तक/रिपोर्ट पसलमा एजेन्ट राख्न फेरि इन्टरभ्युमा बोलायो । खल्तीभरि आँट्ने पारिश्रमिक दियो । यसरी नै एसियन गेम्स हुने भयो दिल्लीमा । विश्वविद्यालयस्तरका खेलाडीहरूलाई एसियन गेम्समा सम्पर्क अधिकारीका रूपमा नियुक्ति दिन सुरु भयो । मैले पनि एप्लाई गरें । इन्टरभ्यु भयो, छानिएँ । नेपाल, दक्षिण कोरिया र फिलिपिन्सका प्रतिनिधिमण्डलसँग जोडिएर काम गरें । त्यसपछि फेरि सातौं गुट निरपेक्ष राष्ट्रहरूको शिखर सम्मेलन सन् १९८३ मा दिल्लीमा हुने भयो । सम्पूर्ण विश्वका नेताहरू भेला हुने भए । फेरि कागजपत्र वितरण गर्ने अफिसरमा नियुक्तिका निम्ति विज्ञापन आयो । आवेदनपत्र भरेर बुझाएँ । इन्टरभ्युमा बोलाए, अस्ति एसियन गेम्समै चिनेका ठूलाबडाहरू थिए बोर्डमा । अन्तर्राष्ट्रिय सम्बन्धमाथि पढेरै गएको थिएँ । एक–दुई वटा प्रश्नहरू, त्यसपछि एसियन गेम्सको अनुभवमाथि कुराकानी अनि फेरि सीधै आश्वासन पाएँ ‘तिमी छानियौ है’ भनी । भाग्य त रहेछ, प्रथम पटक फिडेल क्यास्ट्रो, यासेर अराफत, जिया उल हक, राजा वीरेन्द्र, कर्णेल गद्दाफी, जयवर्धने आदिलाई नजिकैबाट देखें अनि अटोग्राफ पनि लिएँ ।

एमए सक्नासाथ मैले दार्जिलिङको सन्त जोसेफ कलेजमा अर्थशास्त्रको लेक्चरर पदमा नियुक्ति पाएँ । प्राचार्य फादर पापाडिलले मलाई विद्यार्थी छँदा नै कलेजको फादर सोकार्ट पदकले सम्मान गरेका थिए । यसोसले इन्टरभ्यु त औपचारिकता मात्रै भयो । ‘अब तिमी फर्क, अनि शिक्षक भएर नै जीवनयापन गर’ भन्ने आदेश मेरा गुरुजनहरूले इन्टरभ्युमै दिए । कम्मर नै कसें, दार्जिलिङ नै फर्कन्छु भनेर । तर पिताजीले ‘तँ दिल्ली फर्केर पीएचडी गर्’ भन्नुभएपछि फेरि जेएनयू वापस गएँ ।

एमफिल/पीएचडी अध्ययनका निम्ति फेरि अर्को लिखित परीक्षा र इन्टरभ्यु । निकै गाह्रो, निकै घोटिनुपर्ने । इन्टरभ्युमा अनेक प्रकारका प्रश्नहरू । ‘तिमीले त कविता लेख्ता रहेछौ, एउटा कविता सुनाऊ ।’ पन्जाबी कवयित्री अमृता प्रितमको ‘तवे का रोटी’ का केही अंश पनि सुनाइदिएँ । भर्ना भएँ, एउटा खुड्किलो पक्रिएँ । पीएचडी गर्दागर्दै तीनवटा इन्टरभ्युमा बसें । प्रसिद्ध वेलकप ग्रुप/आईटीसीले कलकत्तामा इन्टरभ्युका निम्ति डाक्यो । एयरकन्डिसन रेल भाडा दियो । चौरंघीको आईटीसी बिल्डिङमा दुई दिन इन्टरभ्यु । ग्रुप डिस्कसन भयो । निजी कम्पनी त हो, पूरै रगड्यो । ग्यांग्जी नामक उच्च अधिकारीले हामी एघार जनाका जन्मपत्रीसम्म पढेका थिए क्यारे ! अन्तमा मलाई सहरानपुरको सिगरेट फ्याक्ट्रीमा असिस्टेन्ट एग्जिक्युटिभको पदमा नियुक्त गरियो । ‘राम्रो गर्‍यौ’ भने, ‘५–१० वर्षमै निकै ठूलो दर्जामा पुग्छौ’ भने । चुरोट नखानेलाई सिगरेट फ्याक्ट्रीमा नोकरी, मनै मानेन । त्यागिदिएँ । त्यसपछि फेरि अर्को सरकारी एकाइ स्टेट ट्रेडिङ कर्पोरेसनमा इकोनमिक एनालिस्टको पदमा इन्टरभ्यु । व्यापारैव्यापार गर्ने यो कम्पनीले नोकरी त दियो तर सानैदेखि खुला आकाशमा उड्ने हामीलाई कार्यालयको एक कुनामा थुनिन मनै परेन ।

सातौं गुट निरपेक्ष शिखर सम्मेलनले निर्णय लिए अनुसार, सम्पूर्ण विकासशील राष्ट्रहरूका अध्ययन–अनुसन्धान केन्द्र भारतमै स्थापित गरिने भए । प्रधानमन्त्री राजीव गान्धीले दिल्लीमै रिसर्च एन्ड इन्फर्मेसन सिस्टम फर नन–एलाइड एन्ड अदर डेभलपिङ कन्ट्रिज (आरआईएस) भन्ने संगठनको जग बसाले । सन् १९८५ मा प्रथम पटक अनुसन्धान आदिका लागि भर्ना सुरु भयो । रिसर्च एसोसिएटको इन्टरभ्यु भयो । भारतका विदेशसचिव आफैं बोर्डमा थिए । म पनि छानिएँ र मेरो प्रथम नोकरी त्यहीँ भयो । सन् १९९० मा गुजरातको आनन्दमा अवस्थित विश्वप्रसिद्ध नेसनल डेयरी डेभलपमेन्ट बोर्डमा, म्यानेजमेन्ट एग्जिक्युटिभ पोस्टमा मलाई नियुक्त गरियो । इन्टरभ्यु बोर्डमा डाक्टर वर्गिज कुरियन आफैं । प्रश्नैप्रश्न । ‘तिमी त जेएनयूको, कुर्ता–पाइजामा र झोला छैन त’ सम्म भनेर जिस्क्याए । विश्वप्रसिद्ध संस्था, तलब धेरै राम्रो । ज्वाइन गरिहालें । यसरी नै विश्व बैंकको यङ प्रोफेसनल प्रोग्रामको इन्टरभ्यु जकार्तामा भयो । तीन राउन्डको इन्टरभ्यु, डलरमा तलब । ‘लौ छानियौ’ मात्रै के भनेका थिए, मेरो आफ्नै विश्वविद्यालय जेएनयूले सीधै एसोसिएट प्रोफेसरको नियुक्ति दियो । जीवनमा प्रथम पटक दुईवटा गतिलै नोकरी, एकैसाथ । शिक्षण पेसा नै रोजें । अनि ३९ वर्षकै उमेरमा पूर्ण प्रोफेसर भएँ ।

अहिलेसम्म टेबलको यतापट्टि बसेर परीक्षा–इन्टरभ्यु दिएँ । कसैले गहकिला प्रश्नहरू सोधे, कसैले मीठो त कसैले तीतो भाव प्रकट गरे । कसैले पहिल्यैबाट ‘यो त पहाडे हो, गोर्खा हो, के जान्दथ्यो होला’ भनेर खेलाँची गरेजस्तो पनि लाग्यो । र नै, ईख राखेरै बौद्धिक ढंगमै जवाफ दिन्थें । फेरि सतर्क हुन्थे उनीहरू । कसैले दार्जिलिङको भन्नासाथ, चियाका बारेमा बकम्फुसे कुराहरू सोध्थे । दार्जिलिङको चियाबारे २७ वर्षको उमेरमै पुस्तक नै लेखेको हुनाले पित्तै बुझाइदिन्थें । अर्कोपट्टि, अति नै सचेत व्यक्तिहरू पनि इन्टरभ्यु बोर्डमा देखें । सबैलाई अँगालौं, राष्ट्र निर्माण गरौं भन्ने व्यक्तिहरू थिए उनीहरू । मेरो अनुभवमा, इन्टरभ्युमा जाँदा साधारण हुनुपर्ने रहेछ, तर असाधारण भावमा ज्ञानले थिचेको कुराकानी अघि राख्नुपर्दो रहेछ । नजानेका कुरामा हातै नहाल्नुपर्ने रहेछ । बनावटी–खुसी पार्नेभन्दा तीखो–स्वतन्त्र जवाफ दिनुपर्दो रहेछ । विफलताभित्र पनि सफलता लुकेको हुँदो रहेछ । फेलले पासलाई निम्तो दिँदो रहेछ, र हतोत्साहको भर्‍याङमा चढ्नै नहुने रहेछ ।

गत तीस वर्ष भने इन्टरभ्यु टेबलको अर्कोपट्टि बसें अनि भिन्नै अनुभव बटुलें । विश्वविद्यालयका शिक्षकदेखि कुलपति, राज्यका अधिकारीदेखि राष्ट्रकै आईएएस–आईएफएस–आईपीएस अधिकारी, निजी क्षेत्रका व्यवस्थापनका उच्च दर्जाका व्यक्तिहरू र अन्य धेरै प्रकारका नोकरी–धन्धाका नियुक्तिमा भूमिका निर्वाह गर्ने मौका पाएँ । सिक्किम राष्ट्रिय विश्वविद्यालयको संस्थापक कुलपति हुँदा, दुई सयभन्दा बढी शिक्षकहरू नियुक्त गर्दा, सयौं घण्टा विभिन्न इन्टरभ्यु बोर्डको अध्यक्ष भएर बिताएँ । अध्यक्ष हुनाले, बोर्डका अन्य सदस्यलाई इन्टरभ्युको पहिलो क्यान्डिडेटलाई निम्त्याउनुअघि नै ८–१० वटा सुझाव–आदेश दिन्थें । प्रथम नै हुन्थ्यो, कुलपति–अध्यक्षको आफ्नो उम्मेदवार कोही छैन, अर्थात् चयन प्रक्रिया अति नै निष्पक्ष एवं सफा ढंगमा हुनुपर्छ । कसैलाई किन छानियो र अरूलाई किन छानिएन, हरेक उम्मेदवारका बारेमा प्रस्ट रूपमा लेख्नुपर्नेछ । शिक्षकको पदमा नियुक्ति हुनाले, उम्मेदवारले अन्तर्वार्तामा आउनुअघि नै, भाषिक परीक्षा, कम्प्युटर परीक्षा र ज्ञान परीक्षाबारे साधारण कुराहरू लेखेरै दिनुपर्ने थियो । विश्वविद्यालयमा पढाउन आवेदन भरेका कतिपय शिक्षकहरूको स्तर यति तल थियो कि हामी अवाक् बन्थ्यौं, तिनले पीएचडीको डिग्री कसरी पाए होलान् भनी । वास्तवमा क्षमतावान् व्यक्तिहरू पाउनै गाह्रो हुन्थ्यो । डिग्री छ, ज्ञान छैन; ज्ञान छ, लेख्नै सक्तैन, अभिव्यक्त गर्नै सक्तैन । कसरी फेरि कक्षाकोठामा पढाउने ?

पुस्तकालयका प्रमुखको ओहदामा फर्म भरेका कतिपयले त ‘करियर’ लाई ‘क्यारिअर’ भन्थे । हामी सोध्थ्यौं, ‘तपाईंको नोकरीमा करियर र भारी–सामान बोक्ने ट्रक–क्यारिअरमा के अन्तर छ’ भनी । र पनि बुझ्दैनथे । महिलाहरू धेरै संख्यामा ज्ञान–बुद्धिमा अति नै अघि । कोही पुरुषहरू अंग्रेजी बोल्नमा निपुण तर ज्ञान–बुद्धिमा धेरै तल । इन्टरभ्यु बोर्डमा बस्ने सदस्यहरू पनि कहिलेकाहीँ अति नै कृत्रिमताले, बनावटीपनले भरिपूर्ण हुने । उम्मेदवारलाई यस्तो प्रश्न सोध्ने कि ती आफैंलाई त्यसको उत्तर थाहा छैन । एउटा राज्यको उच्च सेवाको इन्टरभ्यु बोर्डका एक वरिष्ठ सदस्यले एक महिला उम्मेदवारले लगाएको पहिरनमाथि अनर्थको कुरा गरेपछि, मलाई झनक्क रिस उठ्यो । महिला इन्टरभ्युबाट निस्केपछि, उनलाई मैले त्यस प्रकारको प्रश्न सोध्नु हुँदैन, किनकि त्यसको प्रभाव–आघात धेरै प्रकारको हुन सक्छ भन्दा, उनले ‘नो, आई वज जस्ट जोकिङ’ भने । ‘बोर्डमा पनि जोक गर्न पाइन्छ र’ भन्दै मैले निकै च्यापेपछि पनि उनमा केही फरक देखिएन । यसरी नै एउटा राज्यका वरिष्ठ अधिकारीहरू छानिने बोर्डमा बस्दा, अध्यक्षले हामी सदस्यहरूलाई ‘पेन्सिलले मार्क्स दिनुहोस्’ भन्ने आदेश दिए । हामी कतिपयले किन भनेर प्रश्न गर्दा, ‘राज्यका नेताको आदेश नै छ’ भने । हामीले मानेनौं । त्यस बेला मलाई ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले’ गीतको झल्याँस्स याद आयो ।

भारतको सबैभन्दा महत्त्वपूर्ण संस्था - जसले देशव्यापी लोक सेवा (सिभिल सर्भिस) का अधिकारीहरू (आईएएस/आईएफएस) आदि नियुक्त गर्छ - को इन्टरभ्यु बोर्डको सदस्य भएर बस्दाको अनुभव भिन्नै छ । अति नै वैज्ञानिक ढंगमा हामी यो इन्टरभ्यु सञ्चालन गर्छौं । उम्मेदवारहरूलाई उनीहरूले जे जान्दछन्, त्यहीमाथि प्रश्नहरू गर्दछौं । उम्मेदवारको धर्म–जात–जाति–रङ र सामाजिक–आर्थिक पृष्ठभूमिबारे कहिल्यै प्रश्न गर्दैनौं । उम्मेदवारले विभिन्न स्थितिको कसरी सामना गर्छ भन्नेमा ध्यान दिन्छौं । उम्मेदवारको आफ्नो विषयको भन्दा चौतर्फी विषयको ज्ञानलाई महत्त्व दिन्छौं ।

इन्टरभ्यु बोर्डमा बस्दा कुन उम्मेदवार कस्तो हो भन्ने कुरा प्रथम १०–१५ मिनेटमै थाहा पाउँछौं । सबैलाई मेरो सुझाव यही छ- अरूले जे पढ्छन्, त्यो पढ; अरूले जे पढ्दैनन्, त्यो पनि अध्ययन गर । कारण, छानिने र नछानिनेका बीचमा धेर अन्तर हुँदैन, अलिकति ज्यादा परिश्रम, अलिकति ज्यादा ज्ञान, अलिकति भिन्नै स्वभाव र प्रस्तुति नै सफलताका आधारहरू हुन् ।

प्रकाशित : वैशाख २०, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?