कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्रिप्टोकरेन्सी : नदेखिने, नभेटिने मुद्रा

उपभोक्ताको संरक्षण, राष्ट्रिय सुरक्षा र अनुचित वित्तका क्षेत्रमा क्रिप्टो ‘डिजिटल एसेट’ ले ल्याएका जोखिम र अवसरलाई बुझेर मात्र कसुरजन्य कार्यको कोटिमा राख्ने–नराख्ने निधो गर्नु न्यायोचित हुन्छ ।
प्रकाश अधिकारी

क्रिप्टोकरेन्सी कतै देखिँदैन, कतै भेटिँदैन तर पाउनका लागि मानिसहरू मरिमेट्छन् । क्रिप्टोकरेन्सीले कसैलाई छिनभरमा करोडपति बनाइदिन्छ तर त्यो को हो भनेर चिनाउँदैन । यसले करोडपति छु भनेर आभास गराउँछ तर यसको मूल्य (प्रोमिस भ्यालु वा फेस भ्यालु) फुट्टी कौडी बराबर हुँदैन । किनभने करोडौंको क्रिप्टोकरेन्सी भएर पनि त्यसबाट एक प्लेट मम किन्न सकिन्न । नाममा ‘करेन्सी’ जोडिए पनि यो मुद्रा होइन । मुद्रा सामान्यतः सार्वभौम राष्ट्रिय सीमाभित्र सीमित हुन्छ तर यो विश्वव्यापी छ ।

क्रिप्टोकरेन्सी : नदेखिने, नभेटिने मुद्रा

क्रिप्टोकरेन्सी भर्चुअल मुद्रा हो । यसको अस्तित्व अनलाइनमा सीमित हुन्छ । भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य बजारद्वारा तोकिएको हुन्छ । यो मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन, यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय छैन । संसारभरिका कम्प्युटरहरूमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ । संसारभरिका मानिसहरू योसँग जोडिन सक्छन् र यसको कारोबार ‘ब्लकचेन’ प्रविधिद्वारा प्रमाणीकरण गरिन्छ । यो कथंकदाचित् ‘हराएमा’ फिर्ता पाउन सम्भव छैन ।

क्रिप्टोकरेन्सीको कारोबार र अभिलेख क्रिप्टोग्राफीको प्रयोग गरी विकेन्द्रित प्रणालीद्वारा गरिन्छ । निजी सम्पत्तिको यो एउटा ठेट दृष्टान्त हो । किनभने यो अनतिक्रम्य हुन्छ र प्रतिबन्ध वा जफतभन्दा माथि छ । यही चरित्रका कारण, सन् २००८ को आर्थिक संकटबीच क्रिप्टोकरेन्सी बिटक्वाइनको प्रादुर्भाव भएपछि यसले स्वतन्त्र इच्छाका हिमायती (लिबेरेटरिएन) र अराजकतावादीको ध्यान आकर्षित गर्‍यो । भनिन्छ, विकेन्द्रित र अनियमित (अनरेगुलेटेड) रूप भएको ब्लकचेन प्रविधिले यसलाई पुष्टि गरिरहेको हुनाले उनीहरूले यसमा नयाँ र इमानदार मौद्रिक प्रणालीको आधारशिला देखे । यसरी क्रिप्टो इन्टरनेटको केवल अर्को अजिब परिघटना मात्र नभएर एउटा संगठित प्राविधिक आन्दोलन भएको देखिन्छ । यो शक्तिशाली उपकरणहरू र तनमनले लागिपरेका धनीहरूद्वारा सुसज्जित छ र यसको ध्येय राजनीतिक–आर्थिक क्रान्ति गर्नु हो भन्ने दाबी गरिएको छ ।

क्रिप्टोकरेन्सी ‘लिगल टेन्डर स्टाटस’ प्राप्त नगरेको र राज्यको जमानी नभएको ‘स्पेकुलेटिभ एसेट’ भएकाले यसलाई पिरामिड स्किम वा ‘पोन्जी स्किम’ सँग पनि तुलना गरिन्छ । पिरामिड स्किममा उत्पादन वा सेवा बिक्रीबापत नभएर नयाँ सदस्यता शुल्कबाट आय आर्जन गरिन्छ । जति धेरै सदस्यता भयो, उति नै आम्दानी हुन्छ भने पोन्जीमा पहिले सस्तोमा क्रिप्टो किन्नेहरू पछिल्लालाई महँगोमा बिक्री गरेर धनी हुन्छन् । अर्थात्, क्रिप्टो परियोजनाले सोचविचार नगरी सुरक्षित प्रतिफलको आशाले लगानी गर्नेलाई लोभ्याउँछ । जब एक दिन नयाँ लगानी हुन रोकिन्छ, सम्पूर्ण परियोजना भताभुंग हुन्छ भन्नेहरू पनि छन् ।

‘रियल–वर्ल्ड भ्यालु’ नभएकाले क्रिप्टोकरेन्सीलाई शोषणको ‘स्किम’ भनेर आलोचना गर्नेहरू पनि छन् । यो बजारको माग र आपूर्तिमा निर्भर छ । माग धेरै भयो भने मूल्य बढेर जाने र प्रतिकूल समाचार वा अन्य असरले यसको माग घट्दा मूल्य पनि स्वतः घटेर जान्छ । त्यसैले यसमा गरिएको लगानी जोखिमपूर्ण छ । उदाहरणका लागि, नोभेम्बर २०२१ देखि जनवरी २०२२ सम्मको अवधिमा बिटक्वाइनको मूल्यमा ४० प्रतिशतले गिरावट आएको थियो । चीनले आफ्नो भूमिमा क्रिप्टो माइनिङ निषेध गर्नु, भारतले यसबारे अध्ययन गरेर कानुन बनाइने कुरा वार्षिक बजेटमा पार्नु, एल साल्भाडोरले यसलाई ‘लिगल टेन्डर’ को मान्यता दिनु, पहिले क्रिप्टो प्रवर्द्धनमा लागेका अर्बपति उद्यमी एलन मस्कले क्रिप्टो माइनिङले वातावरणमा पार्ने प्रतिकूल असरलाई आधार बनाएर आफ्नो विद्युतीय कारको बिक्रीमा क्रिप्टो भुक्तानी स्वीकार नगरिने घोषणा गर्नु क्रिप्टोयात्राका हालैका उतारचढावका केही दृष्टान्त हुन् ।

क्रिप्टोकरेन्सीलाई सेयरसँग तुलना गरेर पनि बुझ्न सकिन्छ । स्टक मार्केटको लगानीजस्तै क्रिप्टोकरेन्सी जोखिमपूर्ण ‘एसेट’ हो । जस्तो, एप्पल कम्पनीको आधारभूत व्यापार स्वस्थ छ भन्ने आम बुझाइमा त्यसको सेयरमा मानिसहरू लगानी गर्छन् । एप्पलको ट्र्याक रेकर्डले कम्पनीले बजारमा ल्याउने आगामी आइफोन लोकप्रिय हुन्छ भन्ने सर्वसाधारणको विश्वास रहिआएको छ । त्यसै गरी क्रिप्टोकरेन्सी खरिद गर्नु पनि एउटा विचारको सफलतामा बाजी लगाउनुजस्तै हो । बिटक्वाइनमा धेरै मानिसको विश्वास भयो भने यसको मूल्य ह्वात्तै बढ्छ र विश्वास रहेन भने आफूसँग भएको बिटक्वाइन बिक्री गर्न थाल्छन् । मूल्य पनि ओरालो लाग्छ । सेयर कारोबारमा हुन सक्ने छलकपट, जालसाजी र ठगीको निगरानी गर्न नियामक निकाय हुन्छ तर यसमा छैन । यो ‘जनविश्वास’ मा मात्र टिकेको हुन्छ ।

खनिजजन्य कार्यद्वारा सुन, चाँदी वा हीरा आदिको उत्खनन गरेजस्तै क्रिप्टो माइनर्सले सर्कुलेसनमा क्रिप्टोकरेन्सीको नयाँ सिक्का निष्कासन गर्नुलाई माइनिङ भनिन्छ । यसका लागि गणितका कठिन समीकरणहरू हल गर्न सक्ने बढी उन्नत प्रविधियुक्त कम्प्युटरहरू काममा लगाइन्छन् । समीकरणलाई छिटो ‘प्रोसेस’ गर्न शक्तिशाली कम्प्युटरहरूबीच प्रतिस्पर्धा हुन्छ, जसमा कुइन्टिलियन (१ पछि १८ शून्य) अंकको अनुमान एक सेकेन्डमा गरेर हल गर्नुपर्ने गणितका कठिनतम समस्याहरू पर्छन् । प्रमाणीकरणको यो सेवा गरेबापत माइनर्सले पारितोषिकका रूपमा एउटा सिक्का पाउँछन् जुन उक्त कम्प्युटर चालु राख्न आवश्यक आर्थिक प्रोत्साहन हो भन्ने ठानिएको छ । समीकरणहरूको कठिनता क्रिप्टोको माइनिङसँगै बढ्दै गइरहेको छ । बिटक्वाइन माइनिङ गर्दाका प्रारम्भिक दिनहरूमा यसलाई होम कम्प्युटरको एउटा साधारण सीपीयू चिपबाट माइन गर्न सकिन्थ्यो । तर अब यस्तो भइरहेन । लोकप्रियतासँगै आज यसका लागि विशिष्टीकृत सफ्टवेयरको जरुरी हुन्छ । यसमा चौबीसै घण्टा भरोसायुक्त इन्टरनेट कनेक्सन हुनुपर्छ ।

बिटक्वाइन माइनिङमा कम्प्युटरको धेरै प्रशोधन शक्ति र ऊर्जा आवश्यक पर्छ । न्युयोर्क टाइम्स अनुसार, एउटा बिटक्वाइन माइनिङको कारोबारमा २,००० किलोवाट–घण्टा विद्युत् चाहिन्छ । यति परिमाणको विद्युत्ले एउटा अमेरिकी गृहस्थलाई ७३ दिनसम्म धान्छ । बिटक्वाइन नेटवर्क व्यवस्थापन गर्ने मानिसहरूको ऊर्जाको स्रोतबारे अध्ययन गर्दा दुईतिहाइको स्रोत खनिज इन्धन रहेको पाइएको छ । एक वर्षमा ६५ मेगा टन कार्बन डाइअक्साइडका लागि संसारभरि गरिने बिटक्वाइन माइनिङ जिम्मेवार छ जुन ग्रीसले वर्षभरि गर्ने उत्सर्जन बराबर हो ।

क्रिप्टोकरेन्सीबारे बुझ्न ब्लकचेन के हो भनी थाहा पाउन जरुरी छ । ब्लकचेन एउटा डेटाबेस हो । यसको राखन/धरन सामुदायिक रूपमा गरिन्छ । डिजिटल सूचनाहरू भरपर्दो रूपमा यसमा भण्डारण हुन्छन् । मूल ब्लकचेन बिटक्वाइनको कारोबारको भण्डारण गर्ने डेटाबेस हुने गर्थ्यो । सन् २००९ देखि चर्चामा आएको बिटक्वाइन पहिलो क्रिप्टोकरेन्सी हो । अहिले त एथेरियम, डोजक्वाइन, ठेदरसहित हजारौं क्रिप्टोकरेन्सी अस्तित्वमा आइसकेका छन् । बिटक्वाइनको संस्थापनको श्रेय सातोशी नाकामोतोलाई दिइएको छ । रोचक के छ भने, सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन ।

क्रिप्टोकरेन्सीको लोकप्रियताले परम्परागत वित्तलाई अस्थिर पार्न सक्ने सम्भावना छ । ‘डिजिटल एसेट’ मा भइरहेको विस्फोटक वृद्धिलाई ठूला अर्थतन्त्रले महसुस गर्न थालिसकेका छन् । सन् २०१८ मा भारतको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीको लेनदेनलाई समर्थन नगर्न बैंक र वित्तीय संस्थाहरूलाई परिपत्र गरेको विरुद्धमा परेको मुद्दामा सर्वोच्च अदालतले कानुन बनाएर मात्र यस्तो गर्न सकिने भनी परिपत्रलाई बदर गरिदियो । अहिले भारतमा क्रिप्टो रोक नलगाएको र नियमन नगरिएको ‘डिरेगुलेटेड’ अवस्थामा छ । नेपालमा क्रिप्टोकरेन्सीलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ ले मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता नदिएकाले यसलाई भुक्तानी गर्न, सटही गर्न वा मौद्रिक उपकरणका रूपमा प्रयोग गर्न बन्देज लगाइएको छ । राजस्व अनुसन्धान विभागले यसै ऐनलाई पक्रेर क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा विभिन्न व्यक्तिविरुद्ध अदालतमा अभियोगहरू दायर गरिसकेको छ । क्रिप्टो प्रवर्द्धनको विज्ञापन गरेको भनिएका आधारमा एक अभिनेत्रीमाथि पनि अनुसन्धान थालिएको थियो ।

इतिहासदेखि नै, कुनै नयाँ कामकुरा गरेमा हाम्रो प्रणालीले ‘भर’ दिनेभन्दा पनि ‘डर’ देखाउने गरिआएको सर्वविदित तथ्य हो । उपभोक्ताको संरक्षण, राष्ट्रिय सुरक्षा र अनुचित वित्त (इलिसिट फाइनान्स) का क्षेत्रमा क्रिप्टो ‘डिजिटल एसेट’ ले ल्याएका जोखिम र अवसरहरूलाई बुझेर मात्र कसुरजन्य कार्यको कोटिमा राख्ने–नराख्ने निधो गर्नु न्यायोचित हुन्छ । क्रिप्टोको कार्यसूची यति विशाल र बहुमुखी छ, यसमा अर्थशास्त्र, इन्जिनियरिङ, दर्शन, कानुन, कला, ऊर्जा नीतिजस्ता विषयका तत्त्वहरू मिसिएका छन् । इन्टरनेटमा पाइने धेरै कुरा निगरानी राख्ने निकायहरूको नियन्त्रणबाहिर हुन्छन् । नियमन हुन नसक्दा यस्ता प्रकृतिका कारोबारमा छलकपट र काण्डहरूको सम्भावना रहिरहन्छ । क्रिप्टोकरेन्सी ब्लकचेन प्रविधिको सम्पत्ति भएकाले यसको निगरानी राख्नु र नियन्त्रण गर्नु तेस्रो पक्ष (सरकार) का लागि दुष्कर कार्यमध्ये पर्छ । क्रिप्टोकरेन्सीका सबै कारोबार छद्म नाममा गरिन्छन् । ब्लकचेनमा राखिएको कारोबारको विवरणमा अन्यको पहुँच असम्भवप्रायः हुन्छ भनिन्छ । सफ्टवेयर डेभलपर्सको यसमा नियन्त्रण हुँदैन । यो प्रविधिमा राखिएको डेटा ह्याक गर्न पनि सकिन्न । अतः अनुसन्धानद्वारा वस्तुगत प्रमाण संकलन नगरी र नराखी भनेको र सुनेको आधार–प्रमाणले मुद्दा दायर गर्दा कानुनको मकसद पूरा हुन सक्ला, तर न्याय पर्दैन ।

अधिकारी चितवन जिल्लाका न्यायाधीश हुन् ।

प्रकाशित : वैशाख १९, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?