कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाषण होइन, काम

मञ्जु भट्ट

स्थानीय तहको चुनाव आउन धेरै दिन बाँकी छैन । कतिपय व्यक्ति चुनावकै लागि गाउँघर फर्किन थालेका छन् । उम्मेदवारहरू पनि प्रचार–प्रसारमा जुटिरहेका छन् । तर, चुनावमा महिला उम्मेदवार भने निकै कम छन् । पुरुषभन्दा महिला बढी भएको देशको महिला उम्मेदवार नै कम हुनु चिन्ताजनक छ । स्थानीय तहको मुख्य पदमा पुरुषहरू नै बढी छन् । यसपालि चुनावमा पनि प्रमुख पदहरूमा उनीहरूकै हालीमुहाली हुनेमा शंकै छैन । अपवादबाहेक अहिलेसम्म महिलालाई उपप्रमुख–उपाध्यक्ष र वडा सदस्यमै सीमित गरिएको छ । महिला राजनीतिमा अगाडि बढ्न सके महिला समुदायका पीडाहरू यसै हटेर जानेछन् ।

भाषण होइन, काम

सुदूरपश्चिमका केही जिल्लामा अघिल्लो चुनावमा ‘छाउगोठ र छाउ प्रथा हटाउँछु’ भन्दै भोट माग्नेहरू अचेल यो विषयमा चुइँक्कै बोलेको सुनिँदैन । केही समयअघि प्रहरीकै सक्रियता बलजफ्ती सयौं छाउगोठ भत्काइए ।

महिनावारी भएको बेला घरमा सुत्न नपाउने महिलाहरूलाई के अब ओडारबाट मूलघरमा ल्याउन सकिन्छ ? छाउगोठ भत्किएपछि, सुत्केरी नाबालकसहित ओडारमा सुत्न बाध्न हुनुपरेको छ । स्थानीय तहले यस्तो बेला के गर्ला ? पोषिलो खानाबाट वञ्चित महिलाहरूले नै खेतमा गएर डल्ला फुटाउनु, गाईभैंसीको गह्रुंगो मल पीठमा बोकेर खेतसम्म पुर्‍याउनुजस्ता काम गर्नुपरिरहेको छ, के उनीहरूको पीडा स्थानीय जनप्रतिनिधिले बुझ्न सक्लान् ? महिनावारी भएको बेला गह्रुंगो भारी बोकेर पाठेघर खसेका महिलाको दुःख महसुस गर्न सक्लान् ? महिनावारी हुँदा कम्तीमा चार दिन छात्राहरू विद्यालय जान वञ्चित छन्, तिनको पढाइ नियमित गर्न सक्लान् ? महिनावारी भएको बेला मठमन्दिर, बिहे, व्रतबन्ध, चाडबाडमा रमाउन बन्देज लगाइन्छ; त्यसकै कारण कुनामा बसेर आँसुका धारा बगाउन महिलाहरू बाध्य छन्; के तिनको आँसु पुछ्न सक्लान् ? अन्धविश्वासबाट बाहिर निकालेर उनीहरूलाई खुसीमा सामेल गराउन सक्लान् ?

समयमै काम पूरा नगर्दा गाउँ पुग्ने कच्ची, साँघुरा सडकहरूमा दुर्घटनामा परेर मृत्यु भएकाहरूका परिवारको आँसु रोक्न सक्लान् ? सुत्केरी व्यथा लागेपछि अस्पताल नपुग्दै बाटामै ज्यान गुमाउन बाध्य छन् महिलाहरू, के तिनका अप्ठेराहरू कम होलान् ? सामान्य औषधि–उपचार नपाएर घण्टौंसम्म दुखाइ सहँदै बस्नुपर्ने बाध्यताको अन्त्य होला ? यातायात–एम्बुलेन्सको अभावमा ज्यान गुमाउनेहरूको पीडा कम होला ? घरनजिकै सुविधासम्पन्न अस्पताल, सुरक्षित सडक पुर्‍याउन सक्लान् ? अहिले पनि देशका दूरदराजमा टुकीको सहायतामा पढिन्छ । रक्सीको लतमा लागेका श्रीमान्ले दिएको यातना सहन नसकी दैलेखकी सुकी बडुवालले चार छोराछोरीसहित नदीमा हाम फालेको दुई वर्ष भयो । यीजस्तै नदीमा हाम फाल्न बाध्य अरू महिलाको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सक्लान्, स्थानीय जनप्रतिनिधिहरूले ? बाँच्नका लागि चाहिने गाँस, बास र कपासको मात्रै पनि व्यवस्था गर्न सक्लान् ?

सरकारले २० वर्षमुनिको विवाहलाई गैरकानुनी भनेको छ । तैपनि अघिल्लो वर्ष सुदूरपश्चिमका स्वास्थ्य संस्थामा जाँच गराउने महिलाहरूमध्ये ११ प्रतिशत २० वर्ष नपुग्दै गर्भवती भएको पाइएको थियो । खेल्ने वा लेख्ने–पढ्ने उमेरमा गर्भवती भई बालबच्चाको हेरचाहमै जीवन व्यतीत गर्न बाध्य महिलाहरूका पीडा जनप्रतिनिधिले सम्बोधन गर्न सक्लान् ?

कतिपय पालिकामा चुनावअघि साडी र अन्य सामग्री बाँड्दै गरेको समाचार आयो । के उम्मेदवारहरूले चुनावपछि दुर्गमका कतिपय महिला तथा छोराछोरीले कैयौं दिनसम्म एकसरो लुगामा जीवन धानेको वास्तविकता मनन गर्न सक्लान् ? गाउँदेखि सहरसम्मै अन्धविश्वासले जरा गाड्दा, बेलाबेलामा बोक्सी आरोपमा कुटिइने महिला, एसिड आक्रमणमा पर्ने किशोरीहरू, विद्यालय–कलेज तथा खेतमा बलात्कृत हुनेहरू के समाजमा निडरताका साथ हिँड्न सक्ने वातावरण बनाउन सक्लान् ? वृद्ध–बिरामी आमाबुबा, कलिला छोराछोरी, श्रीमती छाडेर बिदेसिने युवाहरूलाई स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्न सक्लान् ? घण्टौं लगाएर एक गाग्री पानी ल्याउने महिलाको सास्ती बुझ्लान् ? राम्रो विद्यालयमा पढाउन छोराछोरी बोकेर सहर पस्नेहरूले के अब गाउँघरमै गुणस्तरीय शिक्षा पाउलान् ?

अहिले पनि दुर्गमका गाउँघरमा पितृसत्तात्मक सोचले जरा गाडेको छ । चुलोचौकाको काम महिलाको मात्रै हो, पुरुषहरूले बाहिरको काम मात्रै गर्नुपर्छ, घरायसी काममा श्रीमतीलाई मद्दत गर्दा पाप लाग्छ भन्नेजस्ता मान्यता हटाउन जनप्रतिनिधिहरूले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । भाषण मात्र होइन, काम पनि गरेर देखाउनुपर्छ । परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्छ । महिलाले पनि खेत जोत्न, पढाउन, जागिर खान थालिसकेको अवस्थामा पुरुषले पनि भान्छामा गएर जुठा भाँडा माझ्न अप्ठेरो मान्नु हुँदैन । घरमा एक्लै बालबच्चा, वृद्धवृद्धाको हेरविचारसँगै खेतमा फल उब्जाउन संघर्ष गरिरहेका महिलाका पीडा बुझ्दै युवाहरूलाई गाउँघरमै रोजगारीका अवसर सृजना गर्न सक्नुपर्छ । यस्ता कामका लागि अहिलेका उम्मेदवारहरूसँग योजना हुनु आवश्यक छ ।

प्रकाशित : वैशाख १९, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?