नेपाल यसैले ‘खुसी’ छ !

खुसी मनोभावका लागि ३०–४० प्रतिशत आनुवंशिकता नै जिम्मेवार छन् । त्यसमा वातावरणीय अर्थात् सामाजिक पक्षको हात ६०–७० प्रतिशत हुन्छ ।
अजय रिसाल

काठमाडौँ — अब त ढुक्क भयो ! भोलि सजिलै अफिस जान पाइने भैयो !’ घर छिर्दाछिर्दै प्रफुल्लित मुद्रामा उनले सुनाइन् । पेट्रोल व्यवसायी/ढुवानीकर्ताहरूको कमिसनका लागि चलाइएको चक्कर अनि आयल निगमको अकर्मण्यताका कारण केही समयअघि पेट्रोलियम पदार्थको कृत्रिम हाहाकारको समयमा आफ्नो स्कुटरमा चार लिटर इन्धन हाल्न पाएकामा खुसी देखिन्थिन् मेरी श्रीमती । हामीलाई ‘खुसी’ हुन धेरै केही चाहिँदै चाहिँदैन !

नेपाल यसैले ‘खुसी’ छ !

छ वर्षअघि (२०७२ असोज–कात्तिक) नाकाबन्दीको समयमा ग्यास, मट्टीतेल, पेट्रोलजस्ता अत्यावश्यक इन्धनको चरम संकट पर्‍यो । भान्सामा रहेको माटाको चुलो भत्काइसकिएको थियो । तर पनि बाहिर कौसीमा माटाको ससानो चुलो बनाएर अनि कतैबाट दाउरा खोजेर ल्याएर आगो बालेर खाना पकाउन पाउँदा मात्र पनि हामी सन्तुष्ट नै रहन्थ्यौं, ‘खुसी’ नै थियौं ।

त्योभन्दा छ महिनाअघि (२०७२ वैशाख) विनाशकारी भूकम्पको समयमा सर्वसाधारण नेपालीहरूलाई ज्यान जोगाउनै हाहाकारझैं भएको थियो । विदेशी चिकित्सक अनि स्वास्थ्य अनुसन्धाताहरू प्राकृतिक प्रकोप, मानसिक तनाव र त्यसले ल्याउने मनोसामाजिक समस्याहरूका बारेमा हामीसँग प्रश्न गर्दथे । उनीहरूले सोचेजस्तो परिणाममै ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर’ या अन्य तनावजन्य मानसिक समस्याहरू नेपाली जनमानसमा पाइएको थिएन । भत्किएका घरहरूलाई चटक्क छोडेर बारीका पाटामा पाल लगाएर या निथ्रुक्क भिजेरै सुत्दा पनि उनीहरू हाँसिरहेकै देखिन्थे, बाँचिरहेकै थिए ।

त्यस्तै एक–डेढ दशकजतिको लोडसेडिङको अन्धकारको समयमा पनि केही घण्टा बढी बत्ती आउने सूचनाले नै फुरुंग पार्ने गरेकै हो हामीलाई । माओवादी जनसंघर्षको समयमा गाउँघर छाडेर सहर–सदरमुकाम अनि देश छाडेर विदेश हान्निनुपर्दा या आफन्तहरू गुमाउनुपर्दा पनि मुस्कुराएरै जीवन बिताइदिन सक्ने जब्बर जाति नै हौं हामी । विदेशी ठूला नेता नेपाल भ्रमणमा आइदिँदा या तिनले हाम्रा कार्यकारीलाई भ्रमणमा बोलाइदिँदा मात्र पनि दंग हुन्छौं हामी । साँच्चै, नेपालीहरूलाई ‘खुसी’ बनाउन धेरै केही गर्नैपर्दैन ।

संयुक्त राष्ट्रसंघले बर्सेनि प्रकाशित गर्ने ‘खुसी सूचकांक’ को केही समयअघि चर्चा भयो । प्रतिवर्ष २० मार्चमा मनाइने अन्तर्राष्ट्रिय खुसी दिवसको सेरोफेरोमा करिब १५० देशमा गरिने सर्वेक्षणका आधारमा बन्ने खुसी राष्ट्रहरूको सूचीमा यो वर्ष (सन् २०२२) नेपाल ८४ औं नम्बरमा परेछ । अझै महत्त्वपूर्ण कुरो त, दक्षिण एसियाली देशहरूमा पहिलो भएछ नेपाल । सुशासन, सदाचार, आर्थिक अवस्था, खेलकुद आदि अरू जेसुकै अन्तर्राष्ट्रिय आँकडाहरूमा सधैं पुछारमा रहने आफ्नो देश खुसीको मामिलामा भने केही अगाडि देखिँदा अलिकति भए पनि मनमा ‘खुसी’ नै थपिँदो रहेछ । हुन त, विगत तीन वर्षको तथ्यांक हेर्दा नेपालको स्थितिमा सुधार भैरहेकै देखिन्छ पनि, सन् २०२० मा ९२ औं स्थानमा रहेको नेपाल २०२१ मा ८७ औं अनि अहिले ८४ औं स्थानमा उक्लेको हो ।

कोरोना महामारीको उभार थपिँदै जाँदा सन् २०१९ को पहिलो लहरमा भन्दा दोस्रो, तेस्रो अनि पछिल्ला लहरहरूमा विश्वभर नै मानवीयता, परोपकार, स्वयंसेवी भावना आदि मानवीय गुणहरूको अभिवृद्धि हुँदै गई खुसीको संवाहन ज्यादा भएको हो भन्नेहरूसमेत छन् । गरिबी, अभाव, अविकास, भ्रष्टाचार, राजनीतिक उतारचढाव आदि समस्याहरूबाट ग्रस्त नेपालजस्तो मुलुक खुसीको मानकमा विश्वभरका आधा मुलुकहरूभन्दा माथिल्लो स्थानमा छ भनेर पत्याउन अलि गाह्रै परेको हो मलाई पनि ।

केही समयअघि कान्तिपुर हेडलाइनर्समा मलाई सोधिएको प्रश्नको आशय नै त्यही थियो, ‘नेपालजस्तो आर्थिक रूपले गरिब अनि पिछडिएको मुलुक कसरी त्यत्ति साह्रो खुसी हुन सक्छ ?’

यो प्रश्नले एउटा कुरा भने प्रस्ट पारेको छ । ‘खुसी’ को मापन धनसम्पत्ति, आय, बचतजस्ता आर्थिक या भौतिक कुराले मात्र गर्न सकिने होइन रहेछ । भाइचारा, शान्ति, सन्तुष्टि, जीवन सन्तुलन, सहकार्य, आपसी विश्वास, हेरचाह आदिजस्ता आध्यात्मिक पक्षहरूको पनि ‘खुसी’ जस्तो सापेक्षिक मनोभावको निर्माणमा ठूलो हात रहन्छ भन्ने कुरा त पछिल्ला अध्ययनहरूले नै दर्साइसकेकै छन् ।

हुन पनि हो, पूर्वीय सभ्यता अनि सनातन संस्कृतिको मूलथलो नेपालमा वैदिक ऋचाहरूले शंखनाद नै गरेका छन्— ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ अर्थात् सबै सुखी अनि निरोगी होऊन् । ‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्’ अर्थात् सँगै हिँडौं, सँगै बोलौं, हामीहरू सबैको एकै मन होस् । ‘सुखेदुःखे समे कृत्वा...’ भन्दै सुख र दुःखलाई एकै सिक्काका दुई पाटा मानेरै जीवनमा अगाडि बढ्ने संस्कार छ हाम्रो । आफ्नै मात्रै ‘सब्जेक्टिभ वेलबिइङ’ नभनी विश्वकै सामूहिक कल्याणका लागि आह्वान गर्दथे हाम्रा ऋषि–महर्षिहरू । त्यसैले हामी ‘सन्तोषं परम सुखम्’ भन्दै ससाना कुराहरूमै सन्तुष्ट एवं खुसी हुन सकेका हौं कि ?

खुसीका जैविक कारक तत्त्व खोतल्ने उद्देश्यका साथ हाल सालै गरिएका अध्ययनहरूले नै जनाएका छन्— खुसी मनोभावका लागि ३०–४० प्रतिशत आनुवंशिकता नै जिम्मेवार छन् । त्यसमा वातावरणीय अर्थात् सामाजिक पक्षको हात ६०–७० प्रतिशत हुन्छ । शतप्रतिशत नै आनुवंशिक समानता रहने जुम्ल्याहाहरूमाझ गरिएको अध्ययनले ती जुम्ल्याहामध्येका विवाहित व्यक्ति अविवाहितभन्दा बढी खुसी हुने गरेको देखाएको थियो । यही आँकडालाई केलाउँदा पनि वैवाहिक संस्था, पारिवारिक संरचना अनि सामाजिक

एकता पश्चिमी विकसित मुलुकहरूमा भन्दा हाम्रोजस्तो पूर्वीय संस्कृतिमा भिजेका देशहरूमै बलियो पाइन्छ । त्यसैले आर्थिक रूपमा गरिब नै भए पनि सामूहिक भावनामा धनी नेपालजस्तो देश व्यक्तिवादी चिन्तनले अभिशप्त धनी मुलुकहरूकै दाँजोमा खुसी रहन सफल भएको हो कि ?

अब एक पटक माथि उल्लिखित ‘खुसी सूचकांक’ का मापकहरूलाई केलाऔं । ‘जीवनको व्यक्तिपरक मूल्यांकन’ का छ आधारलाई ‘खुसी सूचकांक’ को सर्वेक्षणका लागि प्रयोग गर्ने गरिएको छ । ती आधार हुन्— प्रतिव्यक्ति आय, सामाजिक सहायता, स्वस्थ जीवन, वैयक्तिक स्वतन्त्रता, उदारता र भ्रष्टाचारप्रतिको धारणा । यी छ अवयवलाई हेर्दा गार्हस्थ्य उत्पादनजस्तो आर्थिक पक्ष, वैयक्तिक स्वतन्त्रताजस्तो राजनीतिक प्रश्न अनि भ्रष्टाचारप्रतिको सहनशीलताजस्तो जीवनशैलीको दृष्टिकोणमा फिनल्यान्ड, डेनमार्क, नर्वेजस्ता स्क्यान्डेभियन मुलुकहरू अगाडि भएर खुसीको मापनमा माथिल्ला स्थानमा पुगेको देखिन्छ । नेपाल भने अहिले बढ्दै गएको औसत आयु (केही दशकअघि ५०–५५ वर्षको हाराहारी रहेकामा अहिले आएर ७३–७५ वर्ष) जस्तो स्वास्थ्यको पक्ष अनि सामाजिक सहायता एवं उदारताजस्ता हाम्रा सनातनी संस्कारहरूकै कारण खुसी मनोभावनाको मामिलामा थुप्रै देशभन्दा अगाडि भएको स्पष्ट हुन्छ । नेपाली संस्कृतिका सकारात्मक पक्षहरूमा अडिग रहेर भ्रष्टाचारजस्ता कुसंस्कारमा शून्य सहनशीलताको नीति लिई राजनीतिक स्थायित्व अनि आर्थिक विकासको दिशामा मिहिनेत गर्ने हो भने हाम्रो मुलुक पनि पश्चिमी विकसित राष्ट्रहरूकै हाराहारीमा नपुग्ने भने होइन रहेछ ।

अब कुरा गरौं मानसिक स्वास्थ्यको ।

‘खुसी’ जस्तो सापेक्षिक मनोभावनाका आधारमा मानसिक स्वास्थ्यको यथोचित मापन हुने त होइन तर अझै पनि हामीले मानसिक समस्याहरूको मापनका लागि पश्चिमी मुलुकहरूकै वर्गीकरण पद्धति अनि निदान प्रणालीहरूकै भर परिरहनु परेको छ । अझै पनि हाम्रो सामाजिक बनोट अनि अद्वितीय संस्कृतिका आधारमा मनोसामाजिक समस्याहरूको पहिचान अनि वर्गीकरण गर्ने प्रणालीको निर्माण भनौं या प्रमाणीकृत गर्ने आधारशिलाको उल्लेखनीय रूपमा विकास गरिसकेका छैनौं । धर्म, संस्कृति, रहनसहन, आहारविहार, सामाजिक बनोट आदि नै व्यक्ति मनोविज्ञान अनि व्यक्तित्व निर्माणका मूल आधार हुन् । मनोसामाजिक अवस्थाको परीक्षणका मानकहरू पनि तिनै सामाजिक–सांस्कृतिक अवस्थिति नै हुन् । त्यसैले मनोवैज्ञानिक परीक्षणमा हामीले आफ्ना विविध सांस्कृतिक–सामाजिक विशेषताहरूलाई अन्तर्घुलित गर्ने पद्धति बसाल्नुपर्दछ । यस्तो हुन सके भविष्यमा नेपाल ‘खुसी’ मात्र नभई मनोसामाजिक रूपमै स्वस्थ मुलुकको श्रेणीमा पर्नेछ ।

रिसाल मनोचिकित्सक हुन् ।

प्रकाशित : वैशाख १६, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?