कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हप्तामा कति घण्टाको काम उपयुक्त ?

कर्मचारी हप्ताभरि गोरुझैं जोतिँदा मात्रै कामको प्रतिफल राम्रो आउने हैन । थोरै काम गरेर पनि राम्रो उत्पादकत्व आउने विभिन्न परीक्षणले देखाएका छन् ।
न्युजिल्यान्डको पर्पेचुअल गार्डियन कम्पनीमा परीक्षणस्वरूप २०० कर्मचारीलाई तलब र अरू सुविधामा परिवर्तन नहुने गरी हरेक साता थप एक दिन बिदा दिइयो । ती कर्मचारी कम घण्टा काम गरेर पनि बढी उत्पादनशील र बढी खुसी देखिए ।
मैना धिताल

पछिल्लो समय ‘वर्क–लाइफ ब्यालेन्स’ (काम र निजी जिन्दगीबीचको सन्तुलन) को अवधारणाले संसारभरि नै बढी महत्त्व पाउन थालेको छ । कामसँगै घरपरिवार र साथीभाइलाई समय, सामाजिक भेटघाट, घुमफिर र व्यक्तिगत आरामबीच सन्तुलन हुनुपर्छ भन्ने सोच र अभ्यास बलियो बन्दै गएको छ ।

हप्तामा कति घण्टाको काम उपयुक्त ?

के चाहन्छ अमेरिकी नयाँ पुस्ता ?

अमेरिकामा अघिल्लो पुस्ता धेरै काममा मरिमेट्ने पुस्ताका रूपमा चिनिन्थ्यो । पछिल्लो पुस्ता भने मरिमेटी काम गरेर पैसा कमाउनभन्दा रमाइलो र कम तनावमा जिन्दगी बिताउनुलाई बढी महत्त्व दिन चाहन्छ । खासगरी ‘मिलेनियल’ (सन् १९८१–९६ बीच जन्मिएका) हरू काम र निजी जिन्दगीबीच सन्तुलन चाहन्छन् । एक अध्ययनअनुसार, ८० प्रतिशत मिलेनियल व्यक्तिगत जीवन र कामबीचको सन्तुलनमा असर पर्छ कि पर्दैन भन्ने पक्षबाट आफ्नो जागिरबारे सोचविचार गर्ने गर्छन् (फ्लेक्सजब, सन् २०१८) ।

अझ कोभिड महामारीपछि त ‘वर्क–लाइफ ब्यालेन्स’ को चाहना झनै बढ्न थालेको छ । माइक्रोसफ्टले ३१ मुलुकमा ३० हजार कर्मचारीबीच गरेको सर्वेक्षणअनुसार, ७३ प्रतिशत कर्मचारी सामान्य अवस्थामा पनि ‘रिमोट वर्क’ गर्न चाहन्छन् । कर्मचारी तथा कामदारको त्यही मनोविज्ञान बुझेर पछिल्लो समय धेरै कम्पनीले हाइब्रिड (कार्यालय र घर वा अन्यत्र बसेर अनलाइनमार्फत गर्ने कामको मिश्रण) मोडालिटी अपनाएका छन् । ‘वर्क–लाइफ ब्यालेन्स’ कै कारण स्वतन्त्र रूपमा काम गर्नेहरूको संख्या पनि पछिल्लो समय बढ्दो छ । यडलम्यानले गरेको सर्वेक्षणमा सन् २०२८ सम्म करिब ९ करोड अमेरिकीहरू स्वतन्त्र कामदार, फ्रिलान्सर, स्व–उद्यमी आदिमा रूपान्तरण हुनेछन् ।

जागिर र निजी जिन्दगीबीच तारतम्य

‘वर्क–लाइफ ब्यालेन्स’ ले कर्मचारी–कामदारमा कामप्रतिको तनाव घटाउने त छँदै छ, यसबाट समग्रमा उनीहरूले गर्ने कामको गुणस्तर र उत्पादकत्व पनि बढ्ने देखिएको छ । यसबाट कर्मचारीमा कामप्रतिको सन्तुष्टि पनि बढ्ने अध्ययनहरूले देखाएका छन् । त्यसैले रोजगारदाताले पनि पछिल्लो समय यसतर्फ ध्यान दिन थालेका छन् । ‘रिमोट वर्क’ वा ‘वर्क फ्रम होम’ का कारण कर्मचारी–कामदारहरूको काम र निजी जीवनबीचको सन्तुलन ल्याउन धेरै सहयोग पुगेको छ ।

त्यसबाहेक काम गर्ने समयतालिका लचिलो हुँदा पनि कर्मचारीलाई जागिर र निजी जीवनबीच सन्तुलन मिलाउन सहज हुन्छ । उदाहरणका लागि, कुनै कर्मचारीलाई बेलुका छ बजे कुनै बिहे वा पार्टीमा जानु छ भने उसले बिहानै नौ बजेको सट्टा सात बजेदेखि काम थालेर अपराह्न तीन बजे नै अफिसबाट छुट्टी लिन सक्छ । लचकताकै लागि एउटा पूर्णकालीन काममा दुई जना पार्टटाइम कर्मचारी राखेर पनि साझेदारी (जब सेयरिङ) गराउन सकिन्छ ।

कर्मचारी–कामदारका लागि अभिभावकीय बिदा अर्को महत्त्वपूर्ण पक्ष हो । बालबालिकाप्रतिको दायित्व अभिभावकसँगै राज्यको पनि हो । त्यसैले बच्चा जन्मँदा वा धर्मसन्तान ग्रहण गर्दा धेरै मुलुकमा आमासँगै बाबुले पनि पितृत्व बिदा पाउँछन् । फिनल्यान्ड, जर्मनी, आइसल्यान्ड र नर्वेजस्ता मुलुक विश्वमै अभिभावकीय बिदासम्बन्धी राम्रो नीति भएका मुलुक हुन् । फिनल्यान्डले दुवै अभिभावकलाई छुट्टाछुट्टै १६४ दिन बिदा दिन्छ । बच्चा १३ हप्ताको नहुन्जेल अभिभावकीय भत्ता पनि दिइन्छ । यस्तै, जर्मनीमा बच्चा ३ वर्ष नपुगुन्जेल अभिभावकले (आफैंले जन्माएको वा धर्मसन्तान दुवैका लागि) छुट्टी लिन सक्छन् । यसरी बिदा लिँदा हप्ताको बढीमा ३० घण्टासम्म मात्रै काम गर्दा हुन्छ । त्यसबाहेक भत्ता र अरू सुविधा पनि छन् । नेपालमा भने बालबालिकामा राज्यको लगानीले अझै प्राथमिकता पाउन सकेको छैन । अझै पनि यसलाई ‘महिलाको जिम्मेवारी’ का रूपमा मात्रै हेरिन्छ ।

यस्तै, कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखेर कार्यालयमै जिमखाना/योग/ध्यान केन्द्र खोल्ने अभ्यासहरू पनि सुरु भएका छन् । सुत्केरी बिदासम्म राम्ररी नपाइने नेपालमा त्यो सुविधा झन् टाढाकै कुरा होला ।

धेरै घण्टा, थोरै उपलब्धि

धेरै घण्टा काम गर्नुको अर्थ धेरै उपलब्धि भन्ने छैन । दक्षिण कोरियालाई नै हेरौं । ऊ विश्वकै बढी लामो समय काम गर्ने मुलुकमा पर्छ । तर, त्यसअनुसारको उत्पादकत्व भने देखिँदैन । सन् २०१८ मा आर्थिक विकास तथा सहयोग संगठन (ओईसीडी) भित्र पर्ने मुलुकहरूको औसत श्रम उत्पादकत्व ५४.७ डलर प्रतिघण्टा रहँदा कोरियाको ३७ डलर प्रतिघण्टा थियो । पछिल्लो दशकमा उसको प्रतिघण्टा श्रम उत्पादकत्व निरन्तर बढे पनि अरू ओईसीडी मुलुकका तुलनामा निकै तल छ । ओईसीडीकै अध्ययनअनुसार, सन् २०२० मा कोरियाका कामदारले १,९०८ घण्टा काम गरे जुन अरू ओईसीडी मुलुकको औसतभन्दा २२१ घण्टा बढी हो । यो अमेरिकाको भन्दा १४१ घण्टा र जापानको भन्दा ३१० घण्टा लामो थियो । अझ जर्मनी, फ्रान्स र युकेका तुलनामा निकै बढी थियो ।

पछिल्लो समय समग्र काम गर्ने घण्टा वा दिनमा पनि कटौती गर्ने अभ्यास चल्न थालेको छ । कर्मचारी हप्ताभरि गोरुझैं जोतिँदा मात्रै कामको प्रतिफल राम्रो आउने हैन । थोरै काम गरेर पनि राम्रो उत्पादकत्व आउने विभिन्न परीक्षणले देखाएका छन् । न्युजिल्यान्डको पर्पेचुअल गार्डियन कम्पनीमा परीक्षणस्वरूप २०० कर्मचारीलाई तलब र अरू सुविधामा परिवर्तन नहुने गरी हरेक साता थप एक दिन बिदा दिइयो । अकल्यान्ड विश्वविद्यालयका मानव संसाधन व्यवस्थापनका प्रोफेसर ज्यारड हारले गरेको अध्ययनले के देखायो भने, उनीहरू कम घण्टा काम गरेर पनि बढी उत्पादनशील र थप खुसी देखिए (१८ जुलाई २०१८, द गार्डियन) ।

त्यसैले होला, पछिल्लो समय हप्ताका चार दिन मात्रै काम गर्ने अवधारणा पनि आएको छ । माइक्रोसफ्ट जापानले सन् २०१९ मा हप्ताका चार दिन काम गर्ने अभ्यास परीक्षणका रूपमा लागू गरेको थियो । समग्र काम गर्ने घण्टा कम भए पनि कामदारले उति नै तलब तथा पारिश्रमिक पाएका थिए । त्यसबाट कर्मचारीको उत्पादकत्व ४० प्रतिशत वृद्धि भएको थियो (सीएनबीसी, २ मार्च २०२२) । खास गरी सिंगापुर, थाइल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेसियालगायतका दक्षिणपूर्वी एसियाली मुलुकहरू हप्तामा चार दिन बिदा दिन तयार देखिएका छन् (मिल्यु, १७ फेब्रुअरी २०२२) ।

नेपालमा कहिले ?

अरू मुलुकमा हप्तामा चार दिन मात्रै काम गर्ने अभ्यास सुरु हुँदा नेपालमा भने कार्यालय समय अझै साताको छ दिन नै छ । अघिल्लो दशकमा परीक्षणस्वरूप हप्ताका दुई दिन सरकारी बिदा दिन थालिए पनि त्यसले निरन्तरता पाएन ।

नेपालमा रिमोट वर्कले अझै व्यापकता पाउन सकेको छैन, अझै माया पाउन सकेको छैन । कोभिड महामारीका बेला घरबाट काम गर्ने केही अभ्यास भए पनि अझै यसलाई खुला हृदयले अँगाल्न सकिएको देखिँदैन । कतिपय निजी क्षेत्रका कर्मचारीले कोभिडको लकडाउनमा घरमा बसेर काम गर्ने अवसर त पाए, तर पूरा तलब भने पाएनन् । बिहान नौ बजेदेखि बेलुका छ बजेसम्मै काम गराउन लगाउने तर तलबचाहिँ आधा मात्रै दिनेहरू पनि देखिए । हुन त रिमोट वर्कका लागि बिजुली र इन्टरनेटको भरपर्दो उपलब्धता र पहुँच पनि उत्तिकै आवश्यक हुन्छ ।

निजी, गैरसरकारी, सार्वजनिक तथा सरकारी सबै क्षेत्रका मानव संसाधन विभागहरूले ‘वर्क–लाइफ ब्यालेन्स’ हुने गरी लचिला कार्यक्रमहरू ल्याउन आवश्यक छ । नेपालजस्तो सामाजिक गतिविधि र संयुक्त परिवारको अवधारणा बलियो रहेको समाजमा यसको अझ बढी खाँचो छ ।

अनिता आचार्य र जी. पद्मावतीले नेपालका निजी बैंकका कर्मचारीहरूबीच गरेको एक अध्ययनले ‘वर्क–लाइफ ब्यालेन्स’ ले कर्मचारीमा कामप्रतिको सन्तुष्टि बढाएको पाइयो । पेसागत क्षमता अभिवृद्धि र संस्थाले ‘वर्क–लाइफ ब्यालेन्स’ का लागि गर्ने पहललाई कर्मचारी–कामदारले ‘उत्साहजनक विशेषता’ का रूपमा लिने गरेको पाइयो ।

यस्तै, अन्य केही सर्वेक्षणमा पनि कर्मचारीले आफ्नो कामका लागि लचिलो खालको कार्यतालिका महत्त्वपूर्ण भएको र आफूले त्यस्तो चाहेको बताएका थिए । लचिलो कार्यतालिकाको अभ्यासले कर्मचारीमा सकारात्मक प्रभाव पारेको पाइएको थियो । त्यसले व्यक्तिगत प्रतिबद्धता र कामको समय व्यवस्थापन गर्न सहज भएको र आफूलाई बढी जिम्मेवार बनाएको सहभागीले बताएका थिए ।

एकातिर कामको जिम्मेवारी र सफलता, अर्कातिर घरपरिवार तथा साथीभाइसँगको सम्बन्ध र जिम्मेवारी । यी दुई पक्षमध्ये कतातिर बढी समय दिने भन्नेमा पेसागत क्षेत्रमा लागेकाहरूको मन विभाजित हुन पुग्छ । रोजगारदाताले सकेसम्म सन्तुलनमा राख्ने प्रयास गरेमा कर्मचारीको काँधमा थुप्रिएको त्यो अभिभारा पनि हट्न पुग्छ । कम्पनी तथा रोजगारदाताहरूले उचित ठाउँमा सानो लगानी गर्दा पनि त्यसले कामको सन्तुष्टि र उत्पादकत्वमा गुणस्तरीय र नसोचेको परिवर्तन ल्याउन सक्छ । कर्मचारीको ‘कामचोर’ प्रवृत्तिलाई औंल्याउँदै यस्तो नीतिले झनै कामको गुणस्तर र प्रतिफललाई असर पुर्‍याउने तर्क पनि गर्न सकिएला, तर त्यसका लागि कर्मचारीलाई जिम्मेवार बनाउने थुप्रै तौरतरिका अपनाउन सकिन्छ ।

फेरि बिहानदेखि बेलुकासम्म काममा जोतिँदा मात्रै नतिजा राम्रो आउने होइन भन्ने तथ्य अध्ययनहरूले पनि देखाउन थालेका छन् । काम गर्ने क्षेत्रमा अलिकति मात्रै पनि लचकता अपनाउँदा कर्मचारीलाई धेरै प्रोत्साहन मिल्छ । पारिवारिक र पेसागत जिम्मेवारीको पेलानमा रहेका कर्मचारी (खास गरी महिलाहरू) लाई यसबाट धेरै सहयोग र प्रोत्साहन पुग्ने थियो ।

अन्त्यमा, राज्य, नीतिनिर्माता र रोजगारदाताहरूले समय सान्दर्भिक, वैज्ञानिक र सिर्जनशील खालका ‘वर्क–लाइफ ब्यालेन्स’ का पहलहरू गर्न ढिलाइ गर्नु हुँदैन । कर्मचारी खुसी र सन्तुष्ट भए मात्रै कामको गुणस्तर र प्रतिफल पनि बढ्छ ।

प्रकाशित : वैशाख १४, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?