१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जलवायु परिवर्तनको मारमा चरा

समग्र पर्यावरणलाई सन्तुलित राख्न जलवायु परिवर्तनले खुम्चिँदै गएको चराको बासस्थानको पुनःस्थापना र संरक्षण जरुरी छ ।
कृष्णप्रसाद भुसाल

तीव्र जलवायु परिवर्तन र यसले निम्त्याएको दुष्परिणाम सबैभन्दा ठूलो चुनौती बनिरहेको छ । करोडौं वर्षदेखि अनुकूलित वातावरणमा जीव र वनस्पतिको क्रमिक विकाससँगै सृष्टिचक्रको आफ्नै सनातन, सन्तुलित र गतिशील नियममा चलिरहेका हावापानीको चक्र, तापमानको परिवर्तन, पर्यावरणीय सञ्जालको अन्तरसम्बन्धजस्ता प्राकृतिक प्रणाली मानवीय क्रियाकलापले खलबलिइरहेका छन् । कार्बनलगायत अन्य हरितगृह ग्यासको बढ्दो र अनियन्त्रित उत्सर्जनले पृथ्वी तात्दै जाँदा यसका बहुपक्षीय र दूरगामी असर देखिँदै छन् ।

जलवायु परिवर्तनको मारमा चरा

संसारको जुनकुनै भू–भागमा पनि पाइने, सजिलै देख्न र अनुगमन गर्न सकिने तथा अधिकांश प्रजातिको पहिचान र तिनको वितरण थाहा भएकाले पर्यावरणीय परिवर्तन र त्यसको असरबारे अध्ययन गर्न वैज्ञानिकहरूले सूचक प्रजातिका रूपमा चरा रोज्ने गर्छन् । खास प्रकारले बस्ने चराहरू बासस्थान र आसपासको वातावरणमा आएको परिवर्तनले प्रभावित हुन्छन्, त्यसको प्रतिक्रिया पनि तुरुन्तै देखिन्छ । हरेक प्रजातिका चराको चर्ने तरिका, गुँड बनाउने विधि, बस्ने स्थान र वातावरण फरक–फरक हुन्छन् । वातावरण अप्राकृतिक रूपमा अधिक तातो वा चिसो भयो भने चराहरू तत्कालै अनुकूलित भइहाल्न सक्दैनन् । परिणामतः, परम्परागत क्षेत्रबाट विस्थापित हुन्छन् । अन्यत्र पनि अनुकूलित वातावरण पाउन नसके लोप नै हुन्छन् । बर्डलाइफ इन्टरनेसनलका अनुसार, विश्वमा चरा लोप हुनुका पाँच मुख्य कारकमध्ये जलवायु परिवर्तन एउटा हो । विश्वमा पाइने ११ हजारभन्दा बढी प्रजातिका चरामध्ये करिब १५ सय प्रजाति लोपोन्मुख छन् र तिनका एकतिहाइ प्रजाति जलवायु परिवर्तनको प्रत्यक्ष मारमा छन् ।

अमेरिकाको अडुवन सोसाइटीको अध्ययनअनुसार, जलवायु परिवर्तनको दर यस्तै रहे उत्तर अमेरिकामा पाइने ५ सय ८८ प्रजातिमध्ये ३ सय १४ प्रजातिका चराले सन् २०८० सम्ममा अहिले उपभोग गरिरहेको बासस्थानको ५० प्रतिशत गुमाउनेछन् । यो शताब्दीको अन्त्यसम्म उत्तरी युरोपमा चराको बासस्थान पनि करिब ७३ प्रतिशतले संकुचन हुने आकलन छ ।

सन् १९६६ देखि २०१३ सम्म उत्तर अमेरिकामा जाडोयाममा गरिएको एउटा अध्ययनमा ३ सय ५ प्रजातिका चरा परम्परागत बासस्थानबाट औसतमा ६५ किलोमिटर उत्तरतर्फ सरेका छन्, जसमध्ये ४८ प्रजातिका चरा त ३२० किलोमिटरभन्दा बढी सरेका छन् । अधिकांश चरा समुद्री तटबाट पनि टाढा सरेका छन् । यसको प्रमुख कारण, उक्त क्षेत्रमा बढ्दै गएको हिउँदे तापक्रमलाई मानिएको छ । सीमित प्रजाति मात्र अनुकूलित भएर पहिलेकै ठाउँमा बस्न सकेका छन् ।

आर्कटिक क्षेत्रमा प्रजनन गर्ने आइभोरी गल, लिटिल औकजस्ता चरा तीव्र गतिमा हिउँ पग्लिनुका कारण संकटमा छन् । क्यानाडामा आइभोरी गलको संख्या गत २० वर्षमा ९० प्रतिशतभन्दा बढीले घटेको छ । हरितगृह ग्यास यही गतिमा उत्सर्जन भइरहे अन्टार्टिक क्षेत्रमा मात्र पाइने इम्पेरिएर पेन्गुइन सन् २१०० सम्म ९८ प्रतिशत लोप हुने वैज्ञानिकहरूको दाबी छ । समुद्र तात्दै गएपछि माछाहरू पानीको गहिराइमा बस्दा, पफिनजस्ता समुद्रको सतहको माछा खाने चराहरू आहारा अभावका कारण संकटमा पर्दै गइरहेको विभिन्न अध्ययनले देखाएका छन् । समुद्री बगरहरू बढ्दो पानी सतहले डुबानमा पर्दा पिपिङ प्लोभर, स्यानडरलिङजस्ता चरा लोप हुने अवस्थामा पुगेका छन् ।

चराको प्रजनन समय र तिनलाई आहाराको प्रचुर उपलब्धता हुने समय सँगै हुन्छ । उदाहरणका लागि, कीरा र लार्भा खाने चराहरूले वर्षा ऋतुको सुरुवातसँगै प्रजनन गर्छन् भने सिनो खाने गिद्धहरू जाडोयाममा प्रजनन गर्छन् । किनकि जाडोमा गाईवस्तुको मृत्यु बढी हुने गर्छ । बदलिँदो तापक्रमले चराको आहारा उपलब्ध हुने समयमा परिवर्तन आएको छ, जसका कारण प्रजनन प्रभावित भएको छ । नेपालमा पनि पाइने चिचिल्कोटेको प्रजनन समय र मुख्य आहार लार्भाको उपलब्धता हुने समयबारे युरोपमा गरिएको २० वर्षे लामो अध्ययनले बढ्दो तापमानका कारण लार्भा प्रचुर मात्रामा पाइने समयसँग फरक पर्नाले प्रजनन दरमा गिरावट आएको देखाउँछ । नेपालका सिमसार क्षेत्रमा जाडो याममा बसाइँ सरी आउने मरुलको पोल्यान्डमा सन् १९७२ देखि २०१९ सम्म गरिएको प्रजनन अध्ययनमा उक्त अवधिमा त्यस क्षेत्रमा तापक्रम ३.५ डिग्री सेल्सियसले बढेको तर मरुलको प्रजनन सफलता उच्च दरमा घटेको पाइएको छ ।

मौसमअनुसार बसाइँसराइ गर्ने चराहरू पनि जलवायु परिवर्तनको असरको मारमा छन् । सन् १९७० देखि अमेरिकाको सिकागो संग्रहालयमा संकलन गरिएका ५२ प्रजातिका बसाइँसराइ गर्ने चराका करिव ७० हजार नमुनाको अध्ययनमा, आधा शताब्दीमा चराको शरीरको आकार सानो हुँदै गएको तर पखेटाको लम्बाइ भने बढेको पाइएको छ । सँगसँगै बसाइँसराइको समय पनि परिवर्तन हुँदै गएको छ ।

जलवायु परिवर्तनको सबैभन्दा बढी मार हाम्रो हिमाली भेगमा परेको छ । पृथ्वीको तापमानलाई यो शताब्दीको अन्त्यसम्म १.५ डिग्रीमा सीमित राख्ने विश्वव्यापी बहसमा कतिपय ठूला देशहरू नै सहमत हुन सकेका छैनन् । यो प्रतिबद्धता कार्यावन्यन भएकै खण्डमा समेत हिन्दकुश हिमालय क्षेत्रको तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा बढी हुने विभिन्न अध्ययनले देखाएका छन् । यो क्षेत्रसँग झन्डै १.९ अर्ब मानिसको पानी, अन्न र ऊर्जाको प्रत्यक्ष सम्बन्ध भए पनि जलवायु परिवर्तनका बहुपक्षीय असरको अध्ययन र त्यसको निराकरणका उपायहरूबारे खासै ध्यान दिइएको छैन । दस प्रमुख एसियाली नदी प्रणालीको मुहान यो क्षेत्र पृथ्वीका दुई ध्रुवपछि सबैभन्दा बढी हिउँ भएको ध्रुव हो । विश्व तापमानमा १ डिग्री सेल्सियस वृद्धि हुँदा यो क्षेत्रमा १.८ डिग्रीसम्म तापक्रम बढ्ने पछिल्लो अध्ययनले देखाएको छ, त्यसैले यो क्षेत्र अत्यन्तै जोखिममा छ । यहाँ पाइने चरा, अन्य वन्यजन्तु, वनस्पति, कृषि र भूबनोटमा तापक्रम वृद्धिका कारण परेका असरको निरन्तर वा लामो समयसम्मको अध्ययन गरिएको छैन । केही फुटकर अध्ययनहरूमा यहाँका चराहरू पनि थप उचाइतर्फ सर्दै गएका तथा तिनका बासस्थान संकुचित बन्दै गएको देखिएको छ ।

मुख्यतः ३०० मिटर तल तराईमा बस्ने मयूर सन् २०१९ मा ३,१९६ मिटरको उचाइमा प्यूठानको कोठी लेकमा पाइयो । हाडफोर गिद्धको गुँड संसारमै सबैभन्दा बढी उचाइ ४,८०० मिटरमा अन्नपूर्ण क्षेत्रमा भेटिएको छ । हिमाली क्षेत्रका खास प्रकारको बासस्थानमा बस्ने कालिज प्रजातिका चराहरू थप उत्तरी उचाइमा सर्दै गएका छन् । जलवायु परिवर्तनका कारण डाँफेका लागि विद्यमान उपयुक्त बासस्थान लामटाङ, मनास्लु र अन्नपूर्ण सुंरक्षित क्षेत्रको करिब ७४९ वर्ग किलोमिटर क्षेत्रफल सन् २०५० सम्ममा ५६१ वर्ग किलोमिटरमा खुम्चिने अध्ययनले देखाएको छ । तराई भू–परिधि क्षेत्रमा फैलिएको दुर्लभ डंगर गिद्धको हालको अनुकूलित बासस्थान ३,१४३ वर्ग किलोमिटर क्षेत्रफलको ९ प्रतिशत सन् २०५० सम्ममा नाश हुनेछ ।

सन्तुलित पर्यावरणको सूचकका रूपमा लिइने चराहरूमा परेको असरका यी केही उदाहरणले जलवायु परिवर्तन विश्वव्यापी रूपमा आम समस्या बन्दै गएकामा दुईमत छैन । तर, विकसित देशहरूको गैरजिम्मेवारी, राजनीतिक दाउपेच र व्यापारिक स्वार्थका कारण जलवायु परिवर्तन दर रोक्न एकमत हुन नसक्दा यसको मार विश्वसमुदायले खेपिरहेको छ । यही दरमा कार्बन उत्सर्जन हुँदै गए सन् २१०० सम्ममा ५.४ डिग्रीसम्मको ताममान वृद्धि हुन सक्ने प्रक्षेपण गरिएको छ, जसको परिणाम अत्यन्तै भयावह हुने आकलन गरिएको छ । विकसित तथा उदीयमान राष्ट्रहरूले पृथ्वी, यसको जीवन र मानव समुदाय नै जोगाउने युगीन जिम्मेवारी पूरा गर्न अब गम्भीर बन्नैपर्छ ।

जलवायु परिवर्तनले खुम्चिँदै गएको चराको बासस्थान पुनर्स्थापना र संरक्षण जरुरी छ । यसले समग्र पर्यावरणलाई सन्तुलित राख्न मद्दत गर्छ नै संरक्षित वन जंगलले उत्सर्जित कार्बन शोषणमा पनि सहयोग पुर्‍याउँछ । नत्र निकट भविष्यमा हामीले पनि चराहरूकै नियति भोग्नुपर्नेछ ।

प्रकाशित : वैशाख १४, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?