गठबन्धनको राजनीति- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनको राजनीति

प्रणालीलाई जति दोष दिइए पनि नेपालको राजनीतिक अस्थिरताको मूल जड दलहरूको आन्तरिक विवाद रहिआएको छ । नेताहरूको वर्चस्वशाली मनोविज्ञान र गुट–उपगुटले गिजोलिएको राजनीतिलाई गठबन्धनहरूले तात्कालिक राहत त देलान् नै, स्थायित्वका लागि यिनले निरन्तरता पनि पाउनैपर्छ ।
तुलानारायण साह

स्थानीय निर्वाचनमा दलहरूबीचको गठबन्धनले नेपाली राजनीतिलाई तताएको छ । एकातिर नेपाली कांग्रेसको नेतृत्वमा सत्तारूढ दलहरूको गठबन्धन बनेको छ भने अर्कातर्फ प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वमा । सत्तारूढ दलहरूको गठबन्धनमा सिटको बाँडफाँट ठूलो चर्चाको विषय बनेको छ । एमाले र पूर्वपञ्चहरूबीचको गठबन्धनबारे पनि अनेक चर्चा छन् । 



राजनीतिशास्त्री कृष्ण खनालले २०७८ चैत २७ गते कान्तिपुर दैनिकको आफ्नो लेखमा गठबन्धनको राजनीतिबारे केही गम्भीर सवाल उठाउनुभएको छ । निर्वाचनमा हुने दलहरूबीचको गठबन्धन दुई बैङ्कबीचको मर्जरजस्तो नहुने र मोबाइल बैङ्किङमा पैसा आदानप्रदान (ट्रान्सफर) भएजस्तो यताको भोट उता नजाने उहाँको तर्क छ । त्यसकारण, निर्वाचनमा कुन गठबन्धनले काम गर्छ वा गर्दैन ? निर्वाचनपछि त्यस गठबन्धनले निरन्तरता पाउँछ कि पाउँदैन ? यसबारे विमर्श हुनु जरुरी छ ।

०००

नेपालमा दलहरूको इतिहास पौने शताब्दी पुरानो छ । यस अवधिमा हाम्रा दलहरूले तीन थरी राजनीति गर्दै आएका छन् । आन्दोलनको राजनीति, निर्वाचनको राजनीति र सत्ताको राजनीति ।

हामीकहाँ अनेकौं आन्दोलन भए तर २००७, २०४६ र २०६२–६३ सालका आन्दोलनहरूलाई निर्णायक मानिन्छ । ती आन्दोलनहरूबाट व्यवस्था परिवर्तन भएका थिए । २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले राणा शासनलाई फालेको थियो । नेपालले त्यहीँबाट प्रजातान्त्रिक यात्रा थालेको हो । पछिल्ला दुई आन्दोलन (२०४६ र २०६२–६३ सालका) दलहरूबीच गठबन्धन भएकै कारण सफल भएका थिए । मधेशमा भएका २०६३, २०६४ र २०७२ सालका तीन आन्दोलनमध्ये पनि पछिल्ला दुई आन्दोलन विभिन्न दलबीचको गठबन्धनले नै गरेको थियो । यसका आधारमा हामी भन्न सक्छौं, आन्दोलनको राजनीतिमा हाम्रा दलहरूबीच गठबन्धन हुँदै आएको छ । र, त्यस्ता गठबन्धनहरू प्रभावकारी पनि हुँदा रहेछन् ।

सत्ता राजनीतिका पनि आफ्नै रमाइला पक्षहरू छन् । हाम्रा दलहरू आफ्नै चुनाव चिह्नका आधारमा अनेकौं पटक निर्वाचन लडेका छन् । सात पटक संसदीय निर्वाचन, तीन पटक स्थानीय र एक पटक प्रदेशसभाको । बहुदलीय व्यवस्था अन्तर्गत २०१५, २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालमा संसदीय निर्वाचनहरू भएका थिए । २०४९, २०५४ र २०७४ सालमा स्थानीय निर्वाचनहरू भएका थिए भने २०७४ सालमा प्रदेशसभाको ।

२०१५ सालको पहिलो निर्वाचनमा नेपाली कांग्रेसको दुईतिहाइ बहुमत थियो तर राजाले ‘कू’ गरेका कारण सरकार र संसद् दुवै पूरा अवधि चल्न पाएका थिएनन् । २०४६ देखि २०५६ सालबीच तीन पटक संसदीय निर्वाचन भएका थिए । २०४८, २०५१ र २०५६ सालमा । पहिलो र तेस्रो निर्वाचनमा नेपाली कांग्रेसले बहुमत पाएको थियो तर पनि संसद् पूर्ण अवधि टिक्न सकेको थिएन । २०५१ सालमा कसैको बहुमत आएको थिएन । सत्ता राजनीतिमा गठबन्धनको अभ्यास त्यहीँदेखि सुरु भएको हो ।

२०६४ सालमा नयाँ निर्वाचन प्रणाली लागू भएपछि संसद्मा कुनै पार्टीको बहुमत आउँदै आएन । हरेक पटक गठबन्धनकै सरकार बन्ने र भत्किने क्रम जारी रह्यो । २०७४ सालमा केपी ओली नेतृत्वको सरकार बनिसकेपछि एमाले र माओवादीबीच एकीकरण भएर ‘नेकपा डबल’ पार्टी बनेको थियो । जतिन्जेल त्यो पार्टी रह्यो, सदनमा उसको बहुमत थियो । उसैको नेतृत्वमा बहुमतको सरकार पनि थियो । अदालतको निर्णयबाट दुवै पार्टी छुट्टिएपछि सदनमा कसैको बहुमत रहेन भने सत्ताको राजनीतिमा गठबन्धनको अभ्यास पुनः सुरु भयो ।

यसरी हेर्दा सातमध्ये चार पटकको संसदीय निर्वाचनमा कसैको बहुमत आएको थिएन भने तीन पटक कांग्रेस पार्टीको एकल बहुमत आउँदा पनि संसद् पूर्ण अवधि चल्न सकेको थिएन ।

दलहरूको सत्ता राजनीतिको अभ्यासमा केही कुरा स्पष्ट रूपमा देखिएका छन् ।

पहिलो, नेपालको सत्ता राजनीतिमा गठबन्धन कुनै नौलो विषय होइन । सायद यो लामो समयसम्म चलिरहनेछ । कसैकसैले अहिलेको मिश्रित निर्वाचन प्रणालीलाई दोष दिन्छन्, तर यथार्थ के हो भने, प्रत्यक्ष निर्वाचन प्रणाली मात्र रहेका बेला पनि र एउटै पार्टीले बहुमत ल्याउँदा पनि सत्ता राजनीतिले स्थिरता पाउन सकेको थिएन ।

दोस्रो, सत्तामा रहेका बेला दलहरूमा आन्तरिक विवाद उग्र हुँदा रहेछन् । सत्तामै रहेका बेला प्रायः दलहरू विभाजित हुँदा रहेछन् ।

तेस्रो, सत्ताका लागि गठबन्धन गरिँदा कुनै वैचारिक धरातल नहेरिने रहेछ । जसरी पनि सङ्ख्या मात्र पुर्‍याउने, जसको जोसँग जसरी कुरा मिल्छ उसैसँग गठबन्धन गरिहाल्ने ।

०००

२०४८ सालमा कांग्रेसको एकल बहुमत थियो । ३६ र ७४ समूहको विवादले यति उग्ररूप लियो कि, देशले मध्यावधि निर्वाचन भोग्नुपर्‍यो । २०५६ सालमा फेरि नेपाली कांग्रेसले बहुमत पाएको थियो । अनेकौं विवादपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को जन्म भएको थियो । वामपन्थीहरूमा यस्ता अनेक कथा र व्यथा छन् । नेकपा (नेकपा) को गठनदेखि विभाजनसम्मको यात्रा हामी सबैको सामु छँदै छ ।

सत्ताका लागि दलहरूबीच हुने गठबन्धनको पनि आफ्नै कथा छ । २०५१ सालमा कुनै पनि दलको बहुमत नहुँदा कांग्रेस र कम्युनिस्ट पार्टीहरू पालैपालो पञ्चहरूको पार्टी (राप्रपा) सँग मिलेर सत्तामा पुगेका थिए । २०६५–७० सालबीच राप्रपाको ठाउँमा मधेशी पार्टीहरू आए तर शैली फरक भएन । २०७०–७२ सालको दौरान कांग्रेस र एमालेबीचको गठबन्धन सरकार बन्यो र संविधान जारी भयो । २०७२–७४–७९ सालबीच जेजति सरकारहरू बनेका छन्, ती सबै पुरानै शैलीमा बन्दै, भत्किँदै गएका छन् ।

यसरी आन्दोलन र सत्ताको राजनीतिमा पटकपटक गठबन्धन गरेका दलहरूले निर्वाचनमा चाहिँ एक पटक मात्र गठबन्धन गरेका हुन् । २०७४ सालमा भएका तिनटा निर्वाचनमा तीन थरी गठबन्धन बनेका थिए । स्थानीय निर्वाचनको मुखमा नेपाली राजनीतिमा गठबन्धनको व्यापक चर्चा चलिरहँदा विगतका ती गठबन्धनको चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

२०७४ सालको स्थानीय निर्वाचन तीन चरणमा भएको थियो । केही सीमित स्थानमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो तर मत आदानप्रदान खासै नभएको दुवै पक्षका नेताहरूको बुझाइ छ । परिणामले पनि त्यही देखाएको थियो । त्यति बेला तेस्रो चरणमा भएको मधेश प्रदेशको निर्वाचनमा कांग्रेस, एमाले, माओवादी, फोरम र राजपाबीच पाँचपक्षीय प्रतिस्पर्धा भएको थियो । बाँकी प्रदेशहरूमा मूलतः कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।

त्रिपक्षीय प्रतिस्पर्धा भएका ठाउँमा एमालेले सबैभन्दा बढी र माओवादीले सबैभन्दा कम पालिकाप्रमुख जितेका थिए । मधेश प्रदेश (जहाँ पाँचपक्षीय प्रतिस्पर्धा थियो) कांग्रेसले सबैभन्दा बढी पालिका जितेको थियो भने एमालेले सबैभन्दा कम ।

गत स्थानीय निर्वाचनको केही महिनापछि नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकसाथ भएको थियो । त्यस निर्वाचनमा एमाले र माओवादीबीच देशैभरि वाम गठबन्धन बनेको थियो भने मधेशमा फोरम र राजपाबीच पनि मधेशी मोर्चा बनेको थियो । कुनैकुनै सिटमा कांग्रेस र मधेशी मोर्चाबीच पनि सहमति भएको थियो तर थोरै ठाउँमा । यसरी मधेश प्रदेशमा सामान्यतया कांग्रेस, मधेशी मोर्चा र वाम मोर्चाबीच प्रतिस्पर्धा भएको थियो भने बाँकी ठाउँमा कांग्रेस र वाम मोर्चाबीच सीधा द्विपक्षीय प्रतिस्पर्धा भएको थियो । मधेश प्रदेशमा मधेशी मोर्चाले अग्रता लिएको थियो भने बाँकी प्रदेशहरूमा वाम मोर्चाले । कांग्रेसले सबैतिर घाटा बेहोर्नुपरेको थियो ।

उल्लिखित दुवै तथ्यका आधारमा हामी दुइटा निष्कर्षमा पुग्न सक्छौं ।

पहिलो, २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी र कांग्रेसबीचको गठबन्धनले खासै काम गरेको थिएन । अर्थात्, एक–अर्का पार्टीको मत सहज रूपमा आदानप्रदान भएन । लामो समयदेखि नेपाली समाज वामपन्थी भर्सेज प्रजातान्त्रिकको खेमामा ध्रुवीकृत हुँदै आएकाले पनि कांग्रेस र माओवादीबीचको गठबन्धनले काम नगरेको हुन सक्छ । यो अनुमान यसकारण पनि वास्तविकतानजिक छ, किनभने स्थानीय निर्वाचनलगत्तै भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा फेरि वाम–वाम दलबीच र मधेशी–मधेशी दलबीच भएका गठबन्धनहरूले काम गरेका थिए । सहज रूपमा मत आदानप्रदान भएको तथ्याङ्कले नै देखाउँछ । मधेशमा मधेशी पार्टी भर्सेज पहाडे पार्टीको ध्रुवीकरणले काम गरेको थियो भने बाँकी छ प्रदेशमा वामपन्थी भर्सेज कांग्रेसको मनोविज्ञानले । तर, यो विश्लेषण केवल एक वर्षभित्र भएका तिनटा फरक–फरक निर्वाचनको नतिजामा मात्र आधारित छ । त्यस निर्वाचनको माहोल बिलकुलै फरक थियो । आम मानिसले लामो नाकाबन्दी झेलेका थिए । पहाडमा राष्ट्रवादका नाममा संगठित हुने र मधेसमा अधिकारका लागि संघर्ष गर्ने नारा लागेको थियो । अहिले त्यो माहोल छैन ।

अहिले एकातर्फ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन बनेको छ; अर्कातर्फ एमाले, राप्रपा नेपाल आदिको गठबन्धन छ । कतैकतै लोसपाले पनि एमालेसँग गठबन्धन गर्ने चर्चा छ । दलहरूको वैचारिकीको कोणबाट हेर्दा दुवै खिचडी गठबन्धन देखिन्छन् । गठबन्धनमा सबै पक्ष छन् । सबै विचारका दलहरू छन् तर गठबन्धनको आफ्नै कुनै विचार रहेको बुझिँदैन । एकातर्फ केपी ओलीसँग रिसाएकाहरूले एक ठाउँमा आएर कांग्रेसलार्ई उचालेको देखिन्छ भने अर्कातर्फ प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको विरोधमा मोर्चा कस्ने प्रयास भइरहेको छ ।

त्यसैले निर्वाचनको राजनीतिमा कुन गठबन्धनले काम गर्छ र कुन गठबन्धनले काम गर्दैन, अहिल्यै भन्न कठिन छ । कुन गठबन्धनमा दलहरूबीच कति प्रतिशत मत आदानप्रदान हुन्छ वा हुँदैन, यसबारे आजको मितिमा थोरै तथ्याङ्क र धेरै भावनाका आधारमै प्रक्षेपण भइरहेको छ । खासमा दलहरूबीचको अहिलेको चुनावी गठबन्धन नेपाली राजनीतिमा एउटा नयाँ प्रयोग भइरहेको छ । यसको परिणामले भविष्यको राजनीतिका धेरै पाटाहरू उघार्नेछ ।

निर्वाचनका लागि दलहरूबीच बनेको गठबन्धन सबैको चासोको विषय अवश्य बनेको छ तर यसले आम नेपालीको चिन्ताको उपचार गर्दैन । आम मानिसको चिन्ताचाहिँ गठबन्धनको आयुसँग जोडिएको छ । प्रणालीलाई जति दोष दिइए पनि नेपालको राजनीतिक अस्थिरताको मूल जड दलहरूको आन्तरिक विवाद रहिआएको छ । नेताहरूको वर्चस्वशाली मनोविज्ञान र गुट–उपगुटले गिजोलिएको राजनीतिलाई गठबन्धनहरूले तात्कालिक राहत त देलान् नै, स्थायित्वका लागि यिनले निरन्तरता पनि पाउनैपर्छ । यहाँनिर भारतको राजनीतिमा दुई दशकयता विकसित गठबन्धन संस्कृति हाम्रा लागि पनि मननीय छ । नेपाली राजनीतिमा पनि गठबन्धन संस्कृतिबारे विमर्श भइराख्नुपर्छ ।

प्रकाशित : वैशाख १३, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

संघीयता संस्थागत, प्राथमिकता पहिल्याइँदै 

बितेको पाँच वर्षमा मैले मधेस प्रदेशका अनेक गाउँ–सहरको यात्रा गरें, समाजमा परिवर्तनका अनेक रुप देखें, ती सबै संघीयताकै कारण भएको भन्न नसकिएला तर कतिपय कुरामा संघीयताको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन
तुलानारायण साह

नेपालमा संघीयताले मूर्त रूप पाएको पाँच वर्ष पूरा भएको छ । हुन त २०६३ सालमै संघीयताले प्रवेश पाएको हो । २०६३ साल माघ २४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालले अब संघीय राज्य प्रणाली अवलम्बन गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीको त्यो घोषणा मधेसमा जारी जनविद्रोहलाई सम्बोधनका लागि भएको थियो । संघीयताले घोषणादेखि प्रदेशहरूको रचना र छुट्टै सरकार पाउन ११ वर्षको यात्रा तय गर्नुपर्‍यो । 

२०७४ साल माघ २१ मा जनकपुरमा (तत्कालीन प्रदेश २ को) प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेशका पहिलो मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले फागुन ३ मा शपथ लिएका थिए । त्यति बेला प्रदेशको रचना र सरकार गठनलाई धेरैजसो सर्वसाधारणले संघीयताले मूर्त रूप पाएका रूपमा ग्रहण गरेका थिए । उनीहरूले एकसाथ गौरव र सन्तोष महसुस गरिरहेको भान हुन्थ्यो ।

बितेको पाँच वर्षमा मैले मधेस प्रदेशका अनेकौं गाउँ–सहरको यात्रा गरें । समाजमा परिवर्तनका अनेकौं रूप देखें । ती सबै संघीयताकै कारण भएको भन्न नसकिएला । तर कतिपय कुरामा संघीयताको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन । उदाहरणका रूपमा मधेसमा महिलालाई हेर्ने दृष्टिकोणलाई लिन सकिन्छ । यो जात, वर्ग र बसोबास गरिएको ठाउँअनुसार भिन्न–भिन्न खालका हुन्छन् । म आफ्नो बाल्यकालको ग्रामीण परिवेश सम्झिन्छु । हामी दाजुभाइको शिक्षादीक्षालाई लिएर अभिभावकहरू गम्भीर देखिन्थे । तर दिदीबहिनीको शिक्षामा कसैको चासो हुन्थेन । हाम्रा पुस्तामा मधेसी समाजमा छोरी मान्छेलाई बोझकै रूपमा हेरिन्थ्यो । पछिका दिनमा सम्पन्न परिवारमा छोरीहरूको शिक्षाको अवस्थामा सुधार आए पनि निम्न आय भएको परिवारको सोचाइ र अवस्था उस्तै छ ।

तथ्यांकको लेखाजोखा गर्न थालेपछि थाहा भयो, हालको मधेस प्रदेशमा पुरुषको तुलनामा महिलाको जनसंख्या कम रहेछ । गर्भमै लिंग परीक्षण गर्नेहरूको संख्या यहाँका जिल्लामा बढी छ । महिला हिंसासँग सम्बन्धित थप तीनखाले तथ्यांक मधेसी बाहुल्य जिल्लामा बढी छ । सन् २०१५ मा युनिसेफले गरेको एक अध्ययनअनुसार देशभरमा सबैभन्दा बढी बालविवाह सप्तरीमा हुँदो रहेछ ।

उल्लिखित सबै प्रसंगले समाजमा महिलाको अवस्था र उनीहरूबारे सामाजिक मनोविज्ञान दर्शाउँछ । मधेसमा यो सबै समस्या समाधान भइसकेको भन्न मिल्दैन । तर प्रदेश सरकारका तीन वटा अलग–अलग प्रयासले छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन लागेको आभास मिल्छ । प्रदेश सरकारका ‘छोरी बिमा’, ‘बेटी बचाऊ बेटी पढाऊ’ र ‘महिलाका लागि विशेष आरक्षण’ (प्रदेशको सरकारी सेवामा आरक्षिततर्फको कुल सिटमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ) ले मधेसी महिलाको आर्थिक र सामाजिक सशक्तीकरणमा सहयोगी भूमिका खेल्ने निश्चित छ । जन्मिनासाथ केही लाखको बिमा गरिने (बीचमा रोकिएको यो कार्यक्रम पुनः सुरु हुनेवाला छ), उमेर पुगेपछि विद्यालय जान सरकारले साइकल दिने, सरकारी जागिरमा महिलालाई विशेष आरक्षण दिने र विवाह गर्ने उमेर पुगेपछि बिमा रकम हात पर्ने भएपछि समाजमा छोरी बोझ होइन, सम्पत्ति हुन् भन्ने भाष्य स्थापित हुँदै छ ।

प्रदेशको लगभग आधा जनसंख्या महिलाको छ, जसको साक्षरता दर निकै कमजोर छ । करिब २० प्रतिशत दलित र १२ प्रतिशत मुसलमान समुदायको जनसंख्या छ । औसतमा मधेसी दलितको साक्षरता दर ३५ प्रतिशत हाराहारीमा रहे पनि मधेसी दलित महिलाको साक्षरता दर केवल १२.३ प्रतिशत छ । मुसलमान महिलाको साक्षरता दर केवल २३.३ प्रतिशत रहेछ (यी तथ्यांक सन् २०११ को जनगणनामै आधारित छन्) ।

उल्लिखित समूहहरूको साक्षरता दर अत्यन्त न्यून हुँदा र त्यही समुदायमा गरिबी ज्यादा रहेको अवस्थामा प्रदेशको मानव विकास सूचकांक कसरी राम्रो हुन्छ ? प्रदेशको यही सामाजिक यथार्थलाई बुझेर संरचनागत तहमै सुधार नल्याएसम्म, विशेष अभियान नचलाएसम्म मधेसको मानव विकासको सूचकांक उँभो लाग्न सक्दैन । समस्याको यही पक्षलाई प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण ऐनले केही हदसम्म सम्बोधन गर्नेछ । ऐनमा दलित समुदायको शैक्षिक अवस्था उकास्न विशेष रूपमा संरचनागत सुधारको प्रयास गरिएको छ । प्रदेश सरकारको यो प्रयास प्रशंसनीय छ । यसबाट भविष्यमा हुने परिवर्तनको सकारात्मक आभास मिल्छ ।

यसरी नै प्रस्तावित मदरसा विधेयकले मदरसा शिक्षालाई नीतिगत र आर्थिक दुवै प्रकारको सहयोग दिलाउनेछ । यसले मुसलमान समुदायको शैक्षिक अवस्थालाई टेवा पुर्‍याउनेछ । प्रदेश सरकारले संरचनागत सुधारका लागि गरिरहेका यी प्रयासको प्रतिफल तत्काल नदेखिन सक्छ । तर यी प्रयासले मूर्त रूप लिन सके भने मधेसको सामाजिक रूपान्तरणमा ठोस भूमिका अवश्य खेल्नेछ ।

मधेसमा तीनै तहका सरकारले गरेका अनेकौं प्रयास र काम सराहनीय हुँदाहुँदै कतिपय काम आलोचनामुक्त भने छैनन् । सरकारका मन्त्री वा जनप्रतिनिधि मात्र नभएर मधेसमा क्रियाशील राजनीतिक दल, नेता र प्रशासक पनि उत्तिकै आलोचनाको भागीदार छन् ।

सीमान्तीकरण : नयाँ संस्करण

काठमाडौंका बहसहरूमा सम्पूर्ण मधेसीलाई सीमान्तकृत समुदायका रूपमा लामो समयदेखि व्याख्या/विश्लेषण हुँदै आएको छ । यो सत्य पनि हो । तर थप सत्य के पनि हो भने सीमान्तीकरण जहिले पनि सापेक्षिक हुन्छ । केन्द्रीकृत संरचनाको राज्य र राजनीतिमा कम प्रतिनिधित्व र आर्थिक एवं सामाजिक रूपमा कमजोर समूहलाई सीमान्तकृत भनियो । यो कोणबाट हेर्दा केन्द्रीय राज्य र राजनीतिमा मधेसी सीमान्तकृत समुदाय थियो नै । धेरै हदसम्म अहिले पनि छ । तर जब संघीयताको अभ्यास थालियो, तब सीमान्तीकरणको मापन प्रादेशिक राज्य र राजनीतिका आधारमा गर्नुपर्ने हुन्छ । जनकपुरको प्रादेशिक राजनीतिक र राज्य सञ्चालकहरूको जातीय विश्लेषण गर्दा मधेसमा नयाँ खालको सीमान्तीकरण सुरु भएको सजिलै बुझ्न सकिन्छ ।

प्रदेशमा करिब २० प्रतिशत दलितको जनसंख्या छ । तर राज्यमा शून्यप्रायः र राजनीतिमा न्यून प्रतिनिधित्व छ । १०७ जनाको प्रदेशसभामा केवल सात जना दलित सदस्य छन् । १३६ पालिकामा केवल दुई जना प्रमुख छन् । प्रदेशभरमा कुल ३२ प्रतिनिधिसभा सिटमा एक जना पनि दलित समुदायबाट जितेका छैनन् । मुसलमान समुदायको १२ प्रतिशत जनसंख्या रहेकामा प्रदेशसभामा १०, पालिकामा आठ प्रमुख र प्रतिनिधिसभामा जम्मा दुई जना सदस्य छन् ।

प्रदेशको राजनीतिमा खस आर्य समुदाय र मधेसका उच्च जातको परम्परागत वर्चस्व केही घटे पनि जनसंख्याको तुलनामा बढी नै प्रतिनिधित्व पाइरहेका छन् । पछिल्ला केही वर्षमा यादव र वैश्य समुदायले जनसंख्याको तुलनामा धेरै बढी प्रतिनिधित्व पाएका छन् । यी चार राजनीतिक सम्भ्रान्त समूहका कारण दलित, मुसलमान, डिक्का (धानुक, केवट, कुर्मी र अमात जातिको समूह) ले अत्यन्त थोरै प्रतिनिधित्व पाएका छन् । महिलाको संख्यात्मक उपस्थिति देखिए पनि प्रदेशको राजनीतिमा अर्थपूर्ण प्रतिनिधित्व हुन सकेको छैन ।

राजनीतिमा जस्तो तस्बिर देखिन्छ, राज्य सञ्चालनमा त्यसभन्दा पनि नाजुक अवस्था छ । प्रदेशको प्रहरी, प्रशासन, न्यायालय र सञ्चार जगत्मा उल्लिखित दलित, मुसलमान र डिक्का समुदायको उपस्थिति नगण्य त छँदै छ, तिनका सवाल पनि सही तरिकाले उठ्दैनन् । रोचक पक्ष के छ भने, काठमाडौंमा खस आर्यको वर्चस्वका विरुद्ध चर्को बोल्नेहरू मधेस प्रदेशमा यादव, वैश्य, उच्च मधेसी जात र पहाडे समुदायको वर्चस्वलाई लिएर रहस्यमय मौनता देखाउँछन् ।

देखिने विकास, नदेखिने भ्रष्टाचार

राज्यको पुनःसंरचनापछि सबै तहमा राजनीतिप्रति चासो बढेको छ । कानुन निर्माण र बजेट विनियोजनमा मधेसका राजनीतिकर्मीहरू संलग्न हुन थालेको देखिन्छ । सामान्य चोक चौराहाको चिया पसलमा पनि सरकारको गतिविधिबारे चर्चा परिचर्चा हुने गरेको देख्न, सुन्न पाइन्छ । तर दुर्भाग्य के छ भने, यो चेतना केवल राजनीतिकर्मीसम्म मात्र पुग्न सकेको छ । अहिले पनि आम नागरिकका लागि सरकारी काम कारबाही खासै चासोको विषय बन्न सकेको छैन ।

प्रदेशमा जताततै भौतिक संरचना निर्माण भइरहेको देखिन्छ । तीनै तहको सरकारले प्रदेशभरि बाटो निर्माणलाई प्राथमिकता दिएको बुझिन्छ । तर त्यस्ता निर्माणमा आम नागरिकको पहरेदारी, सरकारहरूबीच संयोजन नहुँदा जताततै भ्रष्टाचारको गुनासो सुनिन्छ ।

मधेसका स्थानीय पालिकाहरूमा निमित्त प्रशासकको आतंक जस्तै छ । कार्यकारी अधिकृत र पालिका प्रमुखबीचको द्वन्द्व प्रदेशभर जताततै देख्न, सुन्न पाइन्छ । केन्द्रबाट खटिएर गएका कर्मचारीहरूलाई धेरै पालिकाका नेतृत्वले अनावश्यक दबाब दिने, नमान्दा हूलहुज्जत गराइदिने, बस्नै नसक्ने वातावरण बनाइदिने, नभागे सम्बन्धित मन्त्रालयमा राजनीतिक वा प्रशासनिक दबाब सिर्जना गरेर भए पनि सरुवा गराइदिने र आफ्नो अनुकूल (अहेव, जेटीए वा शिक्षक) लाई निमित्त प्रशासकीय अधिकृत बनाएर पालिका सञ्चालन गर्ने गरेको प्रदेशभर नै छयापछ्याप्ती पाइन्छ । यो काममा पालिका नेतृत्व र संघीय मामिला मन्त्रालयका राजनीतिक एवं प्रशासनिक नेतृत्वको उत्तिकै भूमिका हुन्छ ।

प्रदेश सरकारले संरचनागत सुधारका लागि गरेका प्रयास प्रशंसनीय हुँदाहुँदै सरकारका विभिन्न मन्त्रालयका गतिविधि, सञ्चालित कार्यक्रमहरूमा कर्मचारी भर्ना, बस, दमकल र साइकललगायत खरिद प्रक्रिया व्यापक विवादास्पद बनेको छ । प्रदेश सरकारद्वारा सञ्चालित अनेकौं अनुदानका कार्यक्रम र स्वच्छता अभियानबारे आम मानिसमा व्यापक गुनासो पाइन्छ । पारदर्शिताका गम्भीर प्रश्न उठेका छन् ।

प्रदेशभित्रका पालिकाको कार्यशैली भिन्न–भिन्न पाइन्छ । उत्तरी भेगका पालिकाको कार्यशैली तुलनात्मक रूपमा सन्तोषजनक देखिए पनि दक्षिणी भेगका पालिका आम मानिसलाई सेवा दिने, सुशासन र जनसहभागिताका कोणबाट निकै कमजोर छन् । माघ मसान्तसम्ममा देशभरमा १३ वटा पालिकाले वार्षिक बजेट ल्याउन सकेका थिएनन्, जसमध्ये १२ पालिका मधेस प्रदेशको मध्य एवं दक्षिणी भेगका छन् । त्यस्ता पालिका रौतहटमै पाँच वटा छन् ।

मधेसी बाहुल्य क्षेत्रमा सरकारी कामकाजप्रति आम मानिसले कुनै चासो नराख्नु अर्को सामाजिक समस्या हो । महोत्तरीकै उत्तरी भेगमा पर्ने बर्दिबास नगरपालिका र दक्षिणमा पर्ने जलेश्वर नगरपालिकाको कामकाजको शैली र आम नागरिक सहभागिताबीच ठूलो भिन्नता देख्न सकिन्छ ।

उत्तरभन्दा दक्षिणमा समाज र पालिकाको शासन प्रशासनबीच कम संवाद रहेको पाइन्छ । केही महिनाअघि दक्षिण–पश्चिम सप्तरीको एक गाउँमा बनेको नयाँ सडक र त्यसको बजेटबारेको जिज्ञासामा एक स्थानीयले भनेका थिए, ‘कति पैसा खर्च भयो त्योसँग हामीलाई के मतलब ? सडक निर्माणमा भ्रष्टाचार नै भएको हो भने हाम्रो पैसा जाने होइन । सरकारको पैसामा हामीलाई केको टाउको दुखाइ ? हामीलाई सडक भए पुग्यो, त्यसैमा खुसी छौं ।’

उल्लिखित भनाइ प्रतिनिधि मात्र हो । पंक्तिकारले विगत एक वर्षको दौरान सप्तरीको तिरहुत, छिन्नमस्ता, धनुषाको धनौजी, जनकपुर, सिरहाको औरही, महोत्तरीको जलेश्वर, रामगोपालपुर, रौतहटको गरुडा, गुजरा, गौर, बाराका कलैया, पर्साका पोखरिया, वीरगन्जलगायत पालिकामा प्रशस्त सर्वसाधारणबाट यस्ता भनाइ सुनेको छ । समाजको ठूलो तप्का (जो सर्वसाधारण हुन्छन्) मा राज्यको साधन स्रोतबारे यस्तो उदासीनता रहनु स्वस्थ समाजको लक्षण हुन सक्दैन ।

पाँच वर्षअघि मुख्यमन्त्री लालबाबु राउतले शपथग्रहण गरेपछिको आफ्नो पहिलो लिखित भाषणमा मूलतः तीन कुरामा जोड दिएका थिए । पहिलो, संघीयतालाई संस्थागत विकासका लागि प्रयासरत रहने । दोस्रो, समाजको सबैभन्दा पिँधमा रहेका दलितलगायत सीमान्तकृत समुदायको शिक्षा र स्वास्थ्यको अवस्था सुधारलाई पहिलो प्राथमिकतामा राख्ने । तेस्रो, ‘पाँच स’ अर्थात् सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइ प्रदेश सरकारको मूलमन्त्र बनाउने ।

मधेसमा सडक निर्माणको राजनीति गजबको छ । तीनै तहको सरकार र दुवै तहका सांसदको संसदीय विकास कोषबाट जताततै सडक निर्माण भइरहेको देख्न सकिन्छ । सबैखाले सडक बनिरहेका छन् । तर कालोपत्र वा ढलान गरिएको सडकभन्दा ग्राभेल र बाटोमा माटो हाल्ने काममा नेता र कर्मचारीको विशेष रुचि हुँदो रहेछ । ढलान सडकका रूपमा स्वीकृत कार्यक्रमलाई ग्राभेल सडक वा बाटोमा माटो हाल्ने योजनामा परिणत गर्ने धेरै चलखेल हुँदा रहेछन् । त्यस्तै कृषि एवं सिँचाइ क्षेत्रमा दिइने अनुदानमा व्यापक भ्रष्टाचारको गुनासो छ । सम्भवतः यही दुई क्षेत्रका कारण नै अख्तियारमा सबैभन्दा बढी उजुरी मधेस प्रदेशबाट परेको छ ।

महालेखा प्रतिवेदनले औंल्याएको अत्यधिक बेरुजुको जड कारण पनि त्यही नै हुनुपर्छ । यो सबै विकृति मुख्यमन्त्री वा प्रदेश सरकारले चाहँदैमा नियन्त्रण हुन सक्ने कुरा होइन । यो धेरै हदसम्म नेपाली राज्य र राजनीतिको पुरानो रोग हो । त्यसकारण मुख्यमन्त्रीको ‘पाँच स’ मध्ये पहिलो स अर्थात् सुशासनको सपना पूरा हुन सम्भवै थिएन । भएन पनि । तर मधेसमा शिक्षा र स्वास्थ्य सुधारका लागि अहिलेभन्दा धेरै नै बढी काम गर्न सकिन्थ्यो, जुन प्रदेश सरकारको प्राथमिकतामा परेन । यो दुर्भाग्यपूर्ण पक्षका रूपमा रह्यो । शिक्षा, स्वास्थ्यलगायत सामाजिक रूपान्तरणका विषय मधेसी राजनीति र मधेसमा क्रियाशील तीनै तहका सरकारहरूको एजेन्डा बन्नै सकेन ।

चार वर्षअघि खोज पत्रकारिता केन्द्रको एक अध्ययनले मधेस प्रदेशमा स्कुल जाने उमेर पुगेका लगभग दुई लाख बालबालिका स्कुल नजाने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसमध्ये बालिकाको संख्या धेरै रहेको उल्लेख थियो । त्यस्ता बालबालिकाको संख्या धनुषा र पर्सामा सबैभन्दा बढी रहेको पनि प्रतिवेदनले औंल्याएको थियो । संयोगले प्रदेशको राजधानी धनुषामा छ । पर्सा मुख्यमन्त्रीको गृह जिल्ला हो । सन् २०११ को जनगणनाअनुसार देशको सबैभन्दा कम साक्षरता दर भएका १० वटामध्ये मधेस प्रदेशको ६ वटा जिल्ला छन् । शिक्षामा यस्तो दारुण अवस्था रहेको प्रदेशमा सरकारको मुख्य योजना स्वच्छता अभियान वा सडक निर्माण नभएर केवल स्कुल सुधारको हुनुपर्थ्यो ।

मधेसमा सार्वजनिक विद्यालयमा विशेष प्रकारको समस्या छ । त्यहाँ बढी संख्यामा गरिब परिवारका बालबालिका भर्ना हुन्छन् । दलित समुदायको जनसंख्या बढी रहेकाले सार्वजनिक विद्यालयमा तिनैका बालबालिका बढी संख्यामा भर्ना भएका हुन्छन् । तर, विद्यालय व्यवस्थापन समिति र शिक्षक समूहमा दलित समुदायको प्रतिनिधित्व नगण्य छ । फलस्वरूप विद्यालय व्यवस्थापन र शिक्षकको ध्यान बालबालिकाको शिक्षादीक्षाभन्दा पनि विद्यालयको साधन स्रोत, जनशक्ति आपूर्तिमा बढी केन्द्रित हुँदा रहेछन् ।

मुख्यमन्त्रीको ‘पाँच स’ मध्ये शिक्षा प्राथमिकतामा पर्थ्यो भने मुख्यमन्त्रीको जोस र इच्छाशक्ति, प्रदेश सरकारको साधन स्रोत र सत्ताधारी पार्टीहरूको राजनीतिक समर्थनबाट मधेसको शिक्षा सुधारमा प्रभावकारी अभियान चलाउन सकिन्थ्यो होला । आशा गरौं, नयाँ आउने सरकारहरूले त्यतातर्फ ध्यान दिनेछन् ।

प्रकाशित : वैशाख ७, २०७९ ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×