कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी बनिन्छ अब्बल मेयर

राजनीतिक दलहरूले आफ्नो हितभन्दा माथि उठी उम्मेदवार चयनको दलीय परिधिलाई खुला राखेर सक्षम उम्मेदवारहरूलाई स्थानीय तहको नेतृत्वका रूपमा प्रस्तुत गर्नु नै बलियो र चलायमान सहर र समुदाय निर्माणको पहिलो सर्त हो ।
रञ्जन काफ्ले

सन् नब्बेको दशकसम्म हिंसा, हत्या, गरिबी, लागूऔषध कारोबार, असमानता र सहरी अव्यवस्थाको पर्याय बनेको कोलम्बियाली सहर मेडेलिन मेयरहरूको सफल नेतृत्वले आज संसारकै उत्कृष्ट सहरहरूमध्ये पर्न सफल भएको छ । सन् २०१६ मा सिंगापुरको ‘ली क्वान यु विश्व सहर पुरस्कार’ पाएको मेडेलिनले प्रत्यक वर्ष सहरी सुव्यवस्थाको मापनका विविध क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरिरहेको छ । सहरका विविध पक्षबीचको अन्तरक्रियालाई प्रोत्साहन गर्ने सार्वजनिक पूर्वाधार निर्माण गरी समावेशी सहरका रूपमा मेडेलिनको पुनर्जागरण गर्ने पूर्वमेयरहरूको संसारभर प्रशंसा गरिन्छ । 

यसरी बनिन्छ अब्बल मेयर

मेडेलिनका पूर्वमेयर फेडेरिको गुटियरस सिभिल इन्जिनियर हुन् र आगामी मेमा हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । अर्का पूर्वमेयर अनिबल गवेरियालाई अमेरिकाको प्रतिष्ठित बर्कले विश्वविद्यालयले भिजिटिङ प्राध्यापकका रूपमा आमन्त्रण गर्‍यो । सन् २००१ मा मेयर भएका लुइस पेरेजले संसारमै पहिलो पटक ‘मेडेलिन मेट्रो केबलकार’ परियोजना सुरु गरेका थिए, जसले सहरलाई अपराध, अव्यवस्था र गरिबीको गोलचक्करबाट माथि उकासेको थियो । आज काराकास, रियो दे जनेरोजस्ता सहरले पनि सार्वजनिक यातायतको यो प्रणालीलाई अवलम्बन गरिरहेका छन् ।

३९ वर्षको उमेरमा मेडेलिनको मेयर बनेका डेनिएल किन्तेरो इलेक्ट्रोनिक्स इन्जिनियर हुन् । बोस्टन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र हार्वर्ड विश्वविद्यालयमा सार्वजनिक वित्त व्यवस्थापन अध्ययन गरेका किन्तेरोले सन् २०१६ मा कोलम्बिया सरकारको सूचना प्रविधि र डिजिटल अर्थव्यवस्था हेर्ने सहायक मन्त्रीका रूपमा काम गरिसकेका थिए । ‘सफ्टवेयर उपत्यका’ कार्यक्रम अन्तर्गत डिजिटल अर्थतन्त्रको क्षेत्रमा २६ हजार नयाँ रोजगारी सृजना गर्ने लक्ष्यसहित मेयर किन्तेरोले सहरमा विदेशी लगानी आकर्षित गर्न आवश्यक भौतिक र प्राविधिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइरहेका छन् ।

नेपालका प्रमुख राजनीतिक दलहरू स्थानीय तह निर्वाचनको उम्मेदवार चयनको अन्तिम प्रक्रियामा छन् । अघिल्लो निर्वाचनमा कार्यक्षमताभन्दा भागबन्डा र कार्यकर्ता व्यवस्थापनलाई प्रमुख आधार बनाइएको थियो, जसको परिणति आज भोगिरहँदा पनि दलहरूले आफ्नो परम्परागत शैलीलाई पुनर्विचार गर्न सकेका छैनन् ।

सहरको सार्वजनिक यातायात, बजार, हरियाली क्षेत्र, कला र संस्कृति, पैदलमार्ग, पूर्वाधार पुनर्निर्माण आदिमा भएका प्रभावकारी हस्तक्षेप नै मेयरको सफलतासँग जोडिएको हुन्छ, जसका लागि कार्यक्षमता सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । युद्धबाट क्षतिग्रस्त सिरियाको रक्का सहरको पुनर्निर्माणको नेतृत्व गरिरहेकी युवा मेयर लैला मुस्तफालाई २०२१ को अन्तर्राष्ट्रिय मेयर अवार्ड प्रदान गरियो । ग्रिक, रोमन, बिजेन्टाइन, अटोमन, इस्लामिक र क्याथोलिक इतिहाससँग जोडिएका कला, संस्कृति र वास्तुकलाको केन्द्रका रूपमा रहेको तीन हजार वर्ष पुरानो यो सहर युद्धका क्रममा आईएसआईएस आतंकवादीहरूको कब्जामा पुग्यो र तीन वर्षमै भग्नावशेषमा परिणत भयो । रक्काको पुनर्निर्माणमा मेयर मुस्तफाको सिभिल इन्जिनियरिङको अध्ययन सहायक बनिरहेको छ । पुनर्निर्माणका लागि सहयोग जुटाउन मुस्तफाले अन्तर्राष्ट्रिय समुदाय र सरकारहरूसँग पहल गरिरहेकी छन् ।

डिजिटाइजेसन र फोहोर व्यवस्थापनमा नेपालका वालिङ, तिलोत्तमाजस्ता केही नगरपालिकाका प्रारम्भिक प्रयास सकारात्मक रहे पनि समग्रमा उत्साहजनक भने रहेनन् । वालिङ नगरपालिकाले वालिङलाई ‘पिन्क सिटी’ निर्माण गर्ने घोषणा गर्दै बजारका सम्पूर्ण भवनमा गुलाबी रङ लगाउनुपर्ने निर्णय गर्‍यो । यस्तो ‘नीरस’ र ‘सपाट’ निर्देशनात्मक निर्णयले सहरको आवरणलाई भद्दा र उजाड बनाउँछ । त्यसो त अर्जेन्टिनाको लाबोका वा ब्राजिलको रियो द जेनेरियोस्थित फावेला बस्ती रंगीन सहरका रूपमा चिनिन्छन्, ती बस्तीहरू कलाकार र समुदायको सहकार्यबाट रङहरूको कलात्मक संयोजनसहित निर्माण गरिएका हुन्, जसको सफलताले त्यस क्षेत्रमा पर्यटनमा उल्लेख्य वृद्धि भई स्थानीयको जीवनस्तर उकास्न महत्त्वपूर्ण सहयोग पुर्‍यायो ।

कोभिड महामारीले निम्त्याएको संकटलाई अवसरमा बदल्न संसारभरका मेयरहरूले रचनात्मक पहल गरिरहेका छन् । सहरका प्रमुख केन्द्र, बजार र आवासीय क्षेत्रहरूबीच यातायात गतिशीलतालाई पुनर्जीवित गर्न साइकल लेनदेखि पैदलमार्गसम्म निर्माण गर्ने विश्वव्यापी अभियान नै चलेको छ । इक्वेडरको राजधानी क्युटोमा बनाइएको स्थायी साइकल लेनका कारण सहरभित्रको साइकल यात्रामा ७०० प्रतिशत वृद्धि भयो । नेदरल्यान्ड्सको रटरडाम सहरका सडकहरूमा साइकलयात्रीलाई प्राथमिकता दिन सेन्सरयुक्त ट्राफिक बत्तीहरू जडान गरिएका छन्, जसबाट हिमपात वा झरीका बेला साइकलहरूलाई अन्य सवारीजस्तो रोकिनुपर्दैन । पाँचौं कार्यकालका लागि सिड्नीको मेयरमा निर्वाचित क्लोभर मोअरको निरन्तर सफलताका पछाडिको मुख्य कारण न्यून कार्बन उत्सर्जन, साइकल लेन र हरित क्षेत्रलगायत वातावरणीय मुद्दाप्रतिको संवेदनशीलता नै हो ।

साइकल लेन र पैदलमार्ग चलायमान हुँदा साना व्यवसायीहरूको आर्थिक क्रियाकलापमा समेत वृद्धि हुन्छ । पैदल यात्री, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू, सडकछेउका साना व्यापारीहरू र बालबालिका वातावरण प्रदूषणको प्रमुख सिकार बनिरहेका छन् । त्यसैले पैदलयात्राको प्रोत्साहन र वातावरणीय गुणस्तर वृद्धि गर्ने कार्यक्रमहरू पारस्परिक हुनुपर्छ । अवसरको सृजनासँगै उपयोग गर्न सक्ने नागरिक क्षमताको पनि सँगसँगै अभिवृद्धि गर्दै लानुपर्छ ।

किङ्स कलेज लन्डन, क्विन्स मेरी विश्वविद्यालय र एडिनबरा विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार वायु प्रदूषणका कारण सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाको फोक्सोको आयतन न्यून हुँदै गएको र क्षमतामा ५ प्रतिशतले ह्रास आएको छ । वायु प्रदूषणलाई कम गर्न लन्डनका मेयर सादिक खानले विद्यालय, अस्पताल र मुख्य बसोबास क्षेत्रलाई केन्द्रमा राखेर संसारमै पहिलो अति–न्यून–उत्सर्जन क्षेत्रहरू निर्माण गरिरहेका छन् । इम्पेरिएल कलेज, लन्डनको अध्ययन अनुसार मेयर खानका यी प्रयासहरूको सफलताले सन् २०१३ मा जन्मेका लन्डनका बालबालिकाको औसत आयु ६ महिनाले वृद्धि हुनेछ ।

नेपालको राष्ट्रिय सहरी विकास रणनीति–२०१७ ले मार्गदर्शन गरे अनुसार ‘एक सहर एक पहिचान’ को अवधारणा अवलम्बन गर्नेतर्फ स्थानीय तहहरू सक्रिय हुन सकेनन् । बुद्ध जन्मस्थल लुम्बिनीकेन्द्रित पर्यटनको सम्भावना बोकेका रूपन्देही, कपिलवस्तु लगायतका सहरले आफ्ना सार्वजनिक पूर्वाधार एवम् भवन निर्माणमा बौद्ध, हिन्दु र इस्लामिक आर्किटेक्चरको संयोजन गरेर लुम्बिनीको सांस्कृतिक पहिचानका बहुआयामिक तत्त्वहरूलाई अपनाउन असफल रहे । ‘थ्रीडी’ चित्र र ‘एनिमेसन’ को बहकावमा परेर देशैभरि पूर्वाधार निर्माणका नाममा प्राकृतिक परिदृश्यमाथि अनावश्यक हस्तक्षेप गरिएको छ । प्राधिकारसँगै भ्रष्टाचारको समेत ‘विकेन्द्रीकरण’ भएको छ ।

यस्तो अवस्थाबाट समाज र सहरलाई बाहिर निकाली ‘विकास’ का नाममा भएका त्रुटिहरूलाई सुधार गर्ने महत्त्वपूर्ण जिम्मेवारी स्थानीय तहको नयाँ नेतृत्वलाई हुनेछ । राजनीतिक दलहरूले आफ्नो हितभन्दा माथि उठी उम्मेदवार चयनको दलीय परिधिलाई खुला राखेर सक्षम उम्मेदवारहरूलाई स्थानीय तहको नेतृत्वका रूपमा प्रस्तुत गर्नु नै बलियो र चलायमान सहर र समुदाय निर्माणको पहिलो सर्त हो ।

काफ्ले आर्किटेक्ट हुन् ।

प्रकाशित : चैत्र २९, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?