प्रचण्डजी, ‘बा’ होइन कमरेड बने राम्रो !- विचार - कान्तिपुर समाचार

प्रचण्डजी, ‘बा’ होइन कमरेड बने राम्रो !

माओवादीले नेतृत्व गरेको जनयुद्ध र परिवर्तनको आन्दोलनका अन्य सबै पात्रलाई किनारा लगाएर बारम्बार रेणु दाहाललाई मात्र ‘योग्य’ को सूचीमा दर्ज गराइनु परिवारवादी वंशपद्धतिलाई मूर्तिमान बनाउनु नै हो । राजा र रैतीवादी चिन्तनलाई पुनःस्थापित गर्नु हो ।
सरिता तिवारी

मुलुक स्थानीय तहको चुनावी तयारीमा छ । संसदीय राजनीतिमा चुनावले तय गर्ने दलीय हैसियतका सबै उतारचढाव र ऐना देखिसकेको नेकपा (माओवादी केन्द्र) नचाहेरै पनि पछिल्लो समय पार्टीको खुम्चिँदो शक्तिबीच चुनावको सामना गर्नुपर्ने दबाबमा छ । २०७४ सालको संघीय चुनावताका घोषित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को तथाकथित ‘एकता’ समयक्रममा एकता हुँदै विघटन प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुग्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले दोहोर्‍याउँदै आएको एकताको भाष्य चुनावी अवतरणको ‘सुरक्षा–खोल’ मात्रै थियो भन्ने पुष्टि भइसकेको छ ।


त्यसअघि २०७४ सालकै स्थानीय तहको चुनावमा तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग तालमेल गरेर प्रचण्डकै गृहजिल्लामा बल्लतल्ल ‘सेफ ल्यान्डिङ’ गर्नुपरेको नेकपा (माओवादी केन्द्र) अहिले फेरि ठ्याक्कै उस्तै अवस्थाको सामना गर्दै छ । यति बेला कांग्रेस–माओवादीसहित गठबन्धनका अरू दल पनि चुनावमा सँगै हुनेछन् । फरक यत्ति हो ।

पछिल्ला चुनावहरूमा प्रचण्डले आफूसँग जुनसुकै हदमा पुगेर, तन्किएर वा खुम्चिएर कसै गरेर पनि चुनाव जित्ने विलक्षण कला छ भन्ने सिद्ध गरिसकेका छन् । जनयुद्धका खुनपसिना, ध्वंस र निर्माण सबै कुराको अपनत्व लिने; त्यसले दिएका परिणामहरूलाई हृदयले आत्मसात् गर्ने; जनयुद्धकै आधारमा २०६२–६३ सालको आन्दोलनले स्थापित गरेका प्रस्तावनालाई खेर जान नदिने एउटा पंक्तिले प्रचण्डलाई त्यो समग्र आन्दोलनको नेताका रूपमा शंकाको सुविधाकै बीचबाट पनि साथ दिँदै आएको छ । यो साथ ‘फिक्स्ड डिपोजिट’ जस्तै उनको पार्टीको सदाबहार पुँजी हो । तर गएका पन्ध्र वर्षमा प्रचण्ड लगायत मुख्य नेतृत्वको उठबस, सम्पर्क र सम्बन्ध यो पंक्तिसँग असाध्यै कम छ; व्यापारिक घराना, ठेकेदार–दलाल, भ्रष्ट–पैसावालका साथै विदेशी शक्तिकेन्द्रका एजेन्टहरूसँग बढी छ भन्ने छर्लंग छ । यसैकारण नेकपा (माओवादी केन्द्र) ले बिस्तारै विगतको सानदार जनाधार गुमाइरहेको तथ्य पनि स्पष्ट नै छ ।

यो फरक कुरा हो, बीचबीचमा चुनाव आइलाग्छ र फेरि जनता गुहार्न निस्कनुपर्छ । एकता र गठबन्धनका नयाँनयाँ ‘भाष्य’ रच्नुपर्छ । चुनाव हारियो भने अनवरत सत्ताको स्वाद लिँदै आएका नेतृत्व र पहुँचवाला कार्यकर्ताले अस्तित्वको संकट बेहोर्नुपर्ने भय त छँदै छ, त्यसमाथि पछिल्ला केही वर्षयता चुनावी अग्निपरीक्षामा प्रचण्ड स्वयंको जितहार भयंकर रणनीतिक प्रश्न बन्ने अवस्था आइलागेको छ ।

२०६४ सालको संविधानसभा चुनावमा रोल्पा र काठमाडौं दुई ठाउँबाट उम्मेदवार भएर दुवै ठाउँमा जितेका प्रचण्डका लागि २०७० सालको संविधानसभा चुनावमा असाध्यै झिनो मतान्तरको जित अनपेक्षित र उथलपुथलकारी थियो । त्यतिखेर काठमाडौं र सिरहा दुई ठाउँबाट चुनाव लड्दा काठमाडौंमा लज्जाजनक पराजय र सिरहामा मुस्किलले जित्ने अवस्थाले उनलाई अन्ततः गृहजिल्ला चितवनतिर फर्कन प्रेरित गर्‍यो । तर जिल्लामै फर्कने हुँदा पनि पार्टीको खस्कँदो लोकप्रियताले उनी आफ्नो जितप्रति मात्रै सशंकित भएनन्, जिल्लाका आफ्नै कमरेडसँग पनि विश्वस्त हुन सकेनन् । यस क्रममा उनी यति साह्रै खुम्चिए कि आफ्नो आकार र अस्तित्वको सुनिश्चितताका लागि सारा शक्ति र दाउपेच चितवनको एउटा पालिकामा सीमित गर्ने भए । त्यसका लागि उनी अरू कसैसँग भर पर्न सकेनन् र स्थानीय राजनीतिमा खाइखेलेका नेताहरूलाई पन्छाएर काठमाडौंलाई कार्यक्षेत्र बनाइरहेकी माइली छोरी रेणु दाहाललाई मेयर पदमा उठ्न पठाए । सत्तासँगै चुनावी साझेदारसमेत बनेको नेपाली कांग्रेसले प्रचण्डका लागि भरतपुरको मेयरमा उठिसकेका कांग्रेस नेता दिनेश कोइरालाको ‘जबर्जस्ती’ बलि चढाइदियो । यस प्रकार रेणु ‘बा’ प्रचण्डको चुनावी सफलताको ‘थपना’ की देवीका रूपमा भरतपुरमा आयात भइन् । भलै उनीसँग आफ्नै राजनीतिक पुँजी र अनुभव थियो तर उनी प्रचण्डकी छोरी भएका कारण मात्रै भरतपुरका लागि छानिएकी थिइन् र उनैलाई जिताउन भरतपुरमा कांग्रेस-माओवादी तालमेल जबर्जस्ती ‘लादिएको’ थियो ।

भविष्यमा आफू त्यही क्षेत्रबाट संघीय संसद्को चुनावमा उम्मेदवार हुनुपर्ने र त्यसको सहजीकरणका लागि रेणुले कुनै पनि मूल्यमा चुनाव जित्नुपर्ने दबाबकै कारण हो मतगणनाका क्रममा मतपत्र च्यात्नुपरेको । यसबाट एकैसाथ दुइटा रणनीतिक लाभ सुरक्षित भए । एक, जितपछि ‘राम्रो’ विकास बजेट खन्याउन सके रेणुको ‘प्रायोजित लोकप्रियता’ निर्माण हुने र त्यसैको बलमा उनको दीर्घकालीन राजनीतिक करिअर बन्ने भयो । दुई, त्यही ‘विकास’ लाई देखाएर लगातार प्रचण्डले जितिरहने क्षेत्रका रूपमा चितवन–३ आरक्षित हुने भयो । चितवन–३ कै रापतीपारि माडी क्षेत्रमा २०६२ सालको बाँदरमुढे नरसंहारका कारण माओवादी लोकप्रियता कम भएकाले त्यहाँ संस्थापनइतर एकता केन्द्र पक्षका सापेक्षित लोकप्रिय उम्मेदवार उठाएर जित्ने रणनीति लिइयो । यी दुवै पालिकामा प्राप्त जित संघीय चुनावमा प्रचण्डको जितका पाउदानी साबित भए ।

चुनाव अन्ततः रणनीतिक खेल नै हो भन्ने स्पष्ट छ । तर देशको समकालीन इतिहासलाई ठूलो दखल र हलचल दिने परिघटनाको एक सूत्रधार र अग्रणी प्रचण्डजस्ता व्यक्तिलाई चुनावकेन्द्री राजनीतिले यसरी साँघुरो र सीमित बनाएको छ कि अहिले उनी भरतपुर महानगरमा वंश–राजनीतिको मियो गाडेर रेणुलाई पुनः दोहोर्‍याउने खेलमा पूरै भिडेर लागेका छन् । जसरी प्रचण्डले आफ्नो सम्पूर्ण विवेक र सामर्थ्यको निथारलाई भरतपुरवरिपरि घुमाइरहेका छन्, त्यो वास्तवमै दिक्कलाग्दो छ । छोरीको पुनरावृत्तिका लागि उनी स्वयंलाई ‘रेणुको बाका रूपमा चिनिएको’ प्रचार मात्र गरिरहेका छैनन्, रेणु आफैं पनि आफू भरतपुरको निर्विकल्प उम्मेदवार भएको, मेयर पदमा आफूबाहेक अरू कोही योग्य नभएको कुरा सञ्चारमाध्यममार्फत दाबी गर्दै छिन् । गठबन्धनको उम्मेदवारका रूपमा आफू नै छनोट हुनुपर्ने र त्यसभित्र पनि आफ्नो पार्टीबाट आफू मात्रै योग्य भएको जिकिर गर्नु एक त गठबन्धनको अन्य शक्तिका क्षमतावान् मानिसलाई सीधै खारेज गर्नु हो भने, अर्को, आफ्नै पार्टीका अन्य योग्यतम उम्मेदवारको योगदान र सामर्थ्यको तेजोवध गर्नु हो ।

यी सबैका बीच हिजो उनी बकाइदा ‘फेयर’ चुनावी लडाइँ लडेर होइन, मतगणनाका क्रममा हार्ने निश्चित भएपछि योजनाबद्ध रूपले मतपत्र च्यात्ने कृत्यबाट सत्ताको भर्‍याङ उक्लिएकी पात्र हुन् भन्ने तथ्य कुनै हालतमा पनि बिर्सन सकिँदैन । माओवादीले नेतृत्व गरेको जनयुद्ध र परिवर्तनको आन्दोलनका अन्य सबै पात्रलाई किनारा लगाएर बारम्बार रेणु दाहाललाई मात्र ‘योग्य’ को सूचीमा दर्ज गराइनु परिवारवादी वंशपद्धतिलाई मूर्तिमान बनाउनु नै हो । राजा र रैतीवादी चिन्तनलाई पुनःस्थापित गर्नु हो । यसमा दुईमत नै छैन । यो कसै गरी मान्य र न्यायिक छैन भन्ने कुरा जति छिटो आत्मसात् गर्‍यो, सम्बन्धित पार्टी र तिनका नेताका लागि त्यति हितकारी हुनेछ ।

यति निर्ममतापूर्वक प्रचण्ड र उनको सत्तासम्मोहमाथि लेख्नुपर्ने किन ? आजको नेपाली राजनीतिमा प्रचण्ड मात्रै यस्ता पात्र होइनन् जसले आफ्नै इतिहासलाई गिज्याउने गरी आफूलाई खुम्च्याएका छन् । दलाल पुँजीको रछ्यानमा मौलाएर बढेको व्यक्तिकेन्द्री राजनीतिको कुहिगन्ध भरिएको स्वयंकेन्द्री स्वार्थको भासमा गडेका अरू पनि पात्र छन् । प्रचण्डलाई नै निसाना साध्नुपर्ने किन ? यस्तो प्रश्न पनि उठ्न सक्छ ।

संसद्वादी चुनावी राजनीतिलाई कठोर आलोचना गरेर जनयुद्ध र जनसंघर्षको शक्तिबाट शान्तिप्रक्रियामा संक्रमण भएको पार्टीका मुख्य नेता हुन् प्रचण्ड । यो प्रक्रियाभित्र छिरेपछि उल्टोसुल्टो जुनसुकै शैलीले सधैं आफूले जित्नैपर्ने जिद्दी मात्रै राख्नु अधिनायकी मात्रै होइन, संसद्वादको कुहिगन्धलाई घाँटीसम्म समाहित गर्नु पनि हो । यदि उनी साँच्चिकै जनताको नेता हुँ भन्ने ठान्छन् भने आम जनताको मतसँग भयभीत भएर, सम्भावित एउटा चुनावी पराजयबाट आत्तिएर, आफ्नै दलका स्थानीय नेताको क्षमतामा भर नपरेर यतिसम्म संकुचित र स्वार्थी बन्नु हुँदैन । यो त प्रचण्डजस्ता नेताका लागि सरमको कुरा हो ।

मिडिया र सार्वजनिक मञ्चमा पटकपटक आत्मालोचना गरेर हामी सच्चिन्छौं भन्ने विनम्रता भएका प्रचण्ड तुलनात्मक रूपले समकक्षी अरू नेताभन्दा मुखर र खुला छन् । उनी अरूभन्दा भिन्न यस अर्थमा छन् कि सजिलै आफ्ना कमजोरी स्वीकार गर्छन् तर यसको अर्थ उनी अरूभन्दा कमजोर इच्छाशक्तिका छन् भन्ने होइन । उच्चस्तरका राजनीतिक समझदारी र ‘अग्रिमेन्ट’ कार्यान्वयन गर्ने मामिलामा पनि उनी अरूभन्दा इमानदार देखिन्छन् । यस्तो उनले पटकपटक साबित गरेका छन् । यही कुराले उनलाई अनेक कमजोरीकै बीच पनि तुलनात्मक रूपमा उदार आँखाले हेर्नुपर्ने स्थिति सृजना गर्छ । भरतपुर महानगरको चुनावका प्रसंगमा उनी व्यक्तिवादी, आत्मकेन्द्री र परिवारवादी भएको तथ्य स्वीकार गर्छन् कि गर्दैनन्, योचाहिँ परीक्षणकै विषय हो ।

प्रचण्डसँग देशका लाखौं युवाको ‘कमरेड’ बन्नुपर्ने दायित्व छ । तर उनी ‘बा’ भित्र खुम्चिन खोज्छन् । उनी अधैर्य छन् । छटपटी र औडाहाले आफैंबाट लखेटिइरहन्छन् र बेलाबेला हताश अभिव्यक्ति पनि दिन्छन् । यत्रो परिवर्तनको नेतृत्व गरेको मानिसमा एउटा चुनाव क्षेत्रमा हारी पो जान्छु कि भन्ने त्रासले ठूलै डेरा जमाएको छ । त्यसैले उत्पीडनविरुद्धको लडाइँमा कालसँग कुस्ती खेल्दै उनलाई ‘सुप्रिमो’ बनाएको सिंगो पुस्ताभित्र उत्तराधिकारको सम्भावना देख्नुपर्नेमा आफ्नै सन्तानको मात्रै करिअर बनाउन, प्रशस्ति र स्तुति गाउन मग्न छन् । आफ्नो क्षेत्रको सुरक्षित चुनावी अवतरणका लागि आफ्नो सन्तानसँग मात्रै भर पर्ने र विश्वस्त हुने गरी सीमित छन् । यो मुलुकको पछिल्ला पच्चीस वर्षयताको सबभन्दा प्रभावशाली नेता एकबारको चुनावमा हार्नबाट डराउँछ र यति साँघुरो चित्तले सोच्छ, त्यस्तै ‘एक्सन’ मा सीमित हुन्छ भने मतदाताले मतबाटै उत्तर दिनेछन् । यस पटक पुनः रेणु दाहाललाई दोहोर्‍याएर उम्मेदवार बनाउनुको मूल्य चुकाउनुअघि प्रचण्डलाई नम्र सुझाव छ- ‘बा’ भएर होइन, ‘सुप्रिमो’ को धङधङी पालेर पनि होइन, ‘कमरेड’ भएर ठूलो मनले सोच्नु बेस !

प्रकाशित : चैत्र २९, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

यौन अपराध र संरचनात्मक विघटन

यौनहिंसालाई ‘संस्कृतिको अनन्य अंग’ मान्ने आजको सामाजिक मनोसंरचनालाई धूलिसात् पार्न सकेसम्मको बलले घन ठोक्ने एउटै पनि अवसर अब छोड्नु हुँदैन ।
सरिता तिवारी

सचेत पाठकगण, आज यहाँहरूलाई एउटा कथा सुनाउन लाग्दै छु । यो कथाका पात्र, परिस्थिति र विषय समकालीन नै हुन्; तपाईं हाम्रो जीवनमा अधिकांशतः मेल खाने । यसभित्र कथावस्तु, पीठिका, पात्र र तिनका द्वन्द्व सबै छन् । एक अर्थले तपाईं पनि यसको पात्र हुनुहुन्छ । कस्तो पात्र ? कुन कित्ताको पात्र ? त्योचाहिँ तपाईंलाई मात्रै थाहा हुन सक्छ ।

यस्ता कथा जन्मने केही मनोसंरचनात्मक आधार छन् जसले हिंस्रक विचारलाई निश्चित आकार र सामाजिक स्वीकृति दिन्छन् । लैंगिक विशेषाधिकारप्राप्त पुरुषहरू ‘यस्तो त अलिअलि भैहाल्छ नि’ भन्दै घटनाको विषयान्तर गर्छन् अथवा हिंसापीडितलाई नै ‘ब्लेमिङ’ गर्दै उक्त हिंसालाई वैध ठहर गर्ने प्रयास गर्छन् ।

०००

एउटा विद्यालय छ । गुरुजनबाट शिक्षित–दीक्षित भएर समाजको ‘असल नागरिक’ बन्ने ठाउँ । विद्यालयकै कक्षाकोठाभित्र कुनै ‘गुरु’ भने लगातार विद्यार्थीसँग यौनहिंसा जनाउने शब्द बोल्छ, अश्लील हर्कत गर्छ, जसले बताउँछ- दुई खुट्टा टेकेर विद्यार्थीसामु पढाउन उभिने सबै व्यक्ति गुरु हुँदैनन् । ‘गुरु’ नामधारी यो मनुवा मौका छोपीछोपी छात्राहरूका नाडी, पाखुरा, आङ र छाती सुमसुम्याउँछ । तिनका भित्री वस्त्रको फित्ता तानेर आङमा बज्ने गरी छोड्दा आनन्दित हुन्छ । यस्ता क्रियाकलाप एक–दुई वा केही जनामा होइन, उसले पढाउने हरेकजसो कक्षामा दोहोरिइरहन्छन् । गुरुजस्तो सम्मानित व्यक्तिबाट भइरहने यस्तो हर्कत अधिकांश विद्यार्थीले ‘नोटिस’ गर्छन् तर प्रतिवाद गर्ने आँट जुटाउन सक्दैनन् । उमेर समूहका दृष्टिले ‘नाबालक’ भित्रै पर्ने ती विद्यार्थीलाई घर र स्कुल दुवैले सिकाएका छन्- यौन खुलेर बोल्ने र टिप्पणी गर्ने वा प्रतिवाद गर्ने विषय होइन, यो त ‘चुप लाग्ने’ विषय हो । यो ‘शिक्षा’ कति आत्मघाती रहेछ, विद्यार्थीहरू बल्ल बुझ्दै छन् ।

एवंक्रमले दिन, हप्ता र महिना बित्छन् । उक्त शिक्षकको व्यवहार असह्य हुन थालेपछि विद्यार्थीहरूमध्ये केहीलाई लाग्छ, यसरी आफूहरूमाथि भइरहेको हिंसा सहेर बस्नु हिंस्रकलाई थप प्रोत्साहित गर्नु हो । त्यसपछि मात्रै केही विद्यार्थी मिलेर विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गर्दै एउटा ‘कम्प्लेन लेटर’ लेख्छन् र विद्यालयमा राखिएको ‘सुझावपेटिका’ भित्र खसाइदिन्छन् । उनीहरूलाई के विश्वास थियो भने, सुझावपेटिका भनेको पक्कै पनि देखाउनका लागि मात्रै राखिएको जिनिस होइन, यो छिटै खोलिनेछ र आफूहरूले लेखेको पत्र पढेर विद्यालय प्रशासनले उक्त शिक्षकलाई यस्तो गतिविधि नगर्न चेतावनी दिनेछ वा कुनै न कुनै स्तरको कारबाही गर्नेछ । तर महिनौं बित्दा पनि विद्यार्थीले खसालेको पत्रबारे कुनै प्रतिक्रिया र त्यसको प्रभाव नदेखेपछि विद्यार्थीलाई लाग्छ, कथित ‘सुझावपेटिका’ त देखाउने प्रयोजनका लागि मात्र राखिएको रहेछ । उपरान्त उनीहरू त्यहाँ अध्यापनरत शिक्षिकाहरूलाई गुहार्न पुग्छन् । शिक्षिकाहरूलाई पहिले पनि यसबारेमा कुनै सूचना वा संकेत नभएको होइन, कारण ‘स्टाफ रुम’ मा सँगै बस्दा निज शिक्षकका यौनजन्य, अमर्यादित र अश्लील बोली–व्यवहारका साक्षी ती शिक्षिकासमेत भएकै हुन् । तर तिनै शिक्षिकाहरूले छात्राहरूलाई हप्कीदप्की लगाएर फर्काइदिए । ‘यो त स्कुलको बेइज्जत हुने कुरा हो’ भन्ने लागेकैले छात्राहरूलाई चुप लगाएर ती हिंसापोषक भइदिए । सम्भवतः अनेकौं पल्ट यस्ता हिंसा भोगेका र हिंसापीडितको मर्म बुझ्ने ठानिएका ‘गुरुआमाहरू’ पनि हिंसाकै पक्षधर हुँदा रहेछन् भन्ने थाहा पाएपछि उनीहरूले निधो गरे- जे गर्नु छ, अब आफैंले गर्नुपर्ने रहेछ ।

न्यायको सर्वमान्य सिद्धान्त छ- अन्याय सहनु हुँदैन, बेलैमा त्यसको प्रतिवाद र सूचना गर्नुपर्छ । कमजोर (भल्नरेबल) उमेर समूह, मनोसांस्कृतिक संरचनाको दबाब वा कानुनी चेतनाको अभावले अन्यायको पहिचान गर्न नसक्ने स्थितिका मानिसहरू भने अन्याय खपेरै पनि बसेका हुन सक्छन् । जब खप्नै नसक्ने गरी अन्यायले सीमा नाघ्छ, त्यसको प्रतिकार जरुर सुरु हुन्छ । पढ्न पसेको कक्षाकोठाभित्र ‘गुरु’ जस्तो सम्मानित पदको व्यक्ति नै हिंस्रक भइरहँदा र त्यसमाथि गरिएका गुनासा र हारगुहारसमेत असफल भएपछि विद्यार्थी चुप लाग्न मन्जुर भएनन् । तिनले प्रतिकारको बाटो समाते । आफूहरूमाथि भएको हिंसात्मक गतिविधिलाई रोक्न विद्यालय प्रशासन र शिक्षिकासमेतले केही नगर्ने अनि त्यही भएकाले हिंस्रक व्यक्तिको मनोवृत्ति हौसिएर झन्झन् बढेको महसुस गरेपछि नानीहरूको दिमागले एउटै विकल्प देख्यो- शिक्षकलाई विद्यालय हाताबाट बाहिर निकाल्ने र कालो मोसो दल्ने । उनीहरू त्यही विकल्पलाई कार्यान्वयन गर्न उत्रिए । यसरी उत्रिँदा विद्यालयनजिकैको बजार केही बेर तनावग्रस्त भयो । शिक्षकविरुद्धको उक्त कारबाही कुनै ‘अदृश्य तत्त्व’ को निर्देशनमा घटित भएको अनुमानबीच उक्त शिक्षकलाई कालो मोसो दलिनबाट जोगाउन स्वयं वडाध्यक्ष हाजिर भए ।

मोसो छिटिँदै वडाध्यक्ष र भीडका अरू मान्छेका लुगामा लाग्यो । आरोपित शिक्षक भने आफूमाथि मोसो पोतिनबाट बचे । उत्तिखेरै आइपुगेको प्रहरीले हठात् शिक्षकलाई तानी आफ्नो गाडीमा राखेर लग्यो । आक्रोशित विद्यार्थीहरू आफूहरूलाई अश्लील गतिविधि गर्ने शिक्षकलाई प्रहरीले समातेर लगेको र छिटै उसलाई कारबाही गरिने विश्वास लिएर घर फर्किए । भरे स्थानीय रेडियोले खबर फुक्यो, ‘कक्षामा दुर्वाच्य बोलेको आरोपमा विद्यार्थीहरू शिक्षकविरुद्ध जाइलागे !’ समाजमा हुर्हुरिएर यस्तो भाष्य फैलियो कि, ‘दुर्वाच्य बोलेको सामान्य विषय’ मै शिक्षकविरुद्ध त्यसरी मोसो दल्न उत्रने अहिलेका विद्यार्थी कति छाडा र संस्कारहीन !

सरले आफूहरूमाथि गरेको त्यत्रो अन्याय केवल ‘दुर्वाच्य बोलेको’ विषय हो ? विद्यार्थीहरू घोर अलमलमा परे । उनीहरूले ठम्याउन सकेनन्, ठूला र ‘समझदार’ मान्छेहरूका राजनीति–कूटनीतिले शब्दकोशलाई नै चुनौती दिने गरी यसरी यौनहिंसाको पक्षपोषण गर्न मिल्छ कि मिल्दैन ! मिल्दैन भने यी ‘ठूलाहरू’ स्वयं झन् ठूला हिंस्रक मानिने कि नमानिने ?

प्रहरीले पीडक भनिएको शिक्षकलाई ‘सुरक्षा दिएर’ साँझ यथासम्मान छोडिदिन्छ र आरोपित शिक्षक पुनः सामान्य जीवनमा फर्किन्छ अनि आफूहरूले उजुरी–जाहेरी हुँदै एउटा लामो, छुट्टै कानुनी प्रक्रियाबाट ‘न्याय’ को लडाइँ थाल्नुपर्छ भन्ने अनुमान ती विद्यार्थीलाई थिएन । बेलुका घर–घर पुग्न नभ्याउँदै पीडक शिक्षकको भन्दा पीडित विद्यार्थीहरूको निन्दा, बद्ख्वाइँ र निरुत्साहन थालिन्छ । फलाना–फलानाका छोरी फलानी–फलानीहरूलाई उच्छृंखल र उत्ताउलीको ‘लेबल’ लगाइन्छ । पैंतीस काटेको शिक्षकलाई चोख्याउन पन्ध्र हाराहारी उमेरका नानीहरूको चरित्रमा प्रश्न उठाइन्छ । यसैबीच एक दिन विद्यालयले सम्बन्धित विद्यार्थी वा तिनका अभिभावकको उपस्थितिबिनाकै तजबिजी तहको ‘सर्वपक्षीय’ बैठक बोलाउँछ र उक्त शिक्षकलाई सो विद्यालयबाट निष्कासन गरेको ठाडो निर्णय जारी गर्छ । शिक्षकलाई ‘कालो मोसो दल्न हिँड्ने उच्छृंखल केटीहरू’ लाई चुनौती दिने समाजका बडेबडे ठेकेदारहरू ‘उजुरी दिए आफूहरूमाथि छिटिएको मोसोको प्रमाणमा मानहानिको मुद्दा लिएर जाने’ चेतावनी दिन्छन् । कानुनी प्रक्रियामा अघि बढेको खण्डमा प्रतिकारमा उत्रने नानीहरूको बेइज्जत हुने, भविष्यमा तिनको बिहेसमेत नहुने, भविष्य सखाप हुनेजस्ता प्रत्यक्ष–परोक्ष दबाबले नानीहरू पूरै त्रस्त बनाइन्छन् । चौधदेखि अठार वर्षबीचका यी नानीहरू मानसिक यन्त्रणा, भविष्य ध्वस्त हुने डर र परिवारको इज्जत धान्दिनुपर्ने चुनौतीबीचको निःश्वासमा हप्तादिन बिताएपछि एक दिन हिम्मत जुटाएर प्रहरीसमक्ष उजुरी दिन पुग्छन् । यो हिम्मतमा पीडितहरूका आँट र न्यायको तिर्खाबाहेक कुनै ‘अदृश्य र अवाञ्छित तत्त्व’ को भूमिका छैन भन्ने प्रस्ट छ ।

अब यसपछि थालिन्छन् हिंसा र हिंस्रकमाथि राजनीतिक र नातावादी संरक्षणका ‘उच्चस्तरीय’ नांगा तर्कहरू । चुनाव नजिकिँदै छ । संघीय र प्रदेश मात्र होइन, स्थानीय स्तरसम्मै गठबन्धन र तालमेल गरेर चुनाव जित्नैपर्ने ‘बाध्यता’ बीच यस प्रकरणले मानिसहरूलाई यसरी अनावरण गरिदिन्छ, यसरी मुखौटो उतारिदिन्छ कि त्यहाँ महिला–मुक्तिका घण्टौं लामा भाषण गर्नेहरू, आफूलाई इतिहासको ‘लाल–गढ’ का उत्तराधिकारी ठान्ने कथित ‘राता मान्छेहरू’ नै कानुनी उपचारको अवरोध गर्ने लाइनमा उभिन्छन् । आरोपित शिक्षक फलानो पार्टीको फलानो वडाध्यक्षको भान्जो पर्ने भएकाले, फलानो पार्टीको शिक्षक संघनजिक भएकाले वा फलानो पार्टीको समर्थक भएकाले ऊविरुद्ध सम्बन्धित इलाका प्रहरी कार्यालयमा परेको उजुरी फिर्ता गराउन अन्तिमसम्म कसरत गरिन्छ । यौनहिंसाका पीडकको पक्षमा स्वयं इलाका स्तरका ‘प्रजातान्त्रिक’ पार्टीका सभापति नै उपस्थित हुन्छन् । यी प्रयत्न सफल नभएपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी पर्न नदिन, जाहेरी दिने क्रममा विद्यालयको पोसाकमै आएका दुई दर्जन विद्यार्थीलाई हतोत्साहित गर्न प्रहरीलाई गलत सूचनाले दबाब दिनेसम्मका क्रियाकलाप भएपछि अन्ततः प्रहरीले आफ्नो विवेक देखायो । त्यति ठूलो संख्यामा आफूहरूविरुद्ध भएको अन्यायको उपचार खोज्न आउने विद्यार्थी दिनैभर प्रहरी कार्यालयको आँगनमा त्यसै त उभिएका छैनन् भन्नेमा प्रहरी चनाखो नहुने कुरै हुन्नथ्यो ।

अहिले आरोपित शिक्षक बालयौन दुरुपयोगको कसुर अन्तर्गत प्रहरी हिरासतमा रहेको र अनुसन्धान भइरहेको अवस्था रहे पनि पीडक पक्षको पारिवारिक शक्ति र राजनीतिक पहुँचले जाहेरीवाला र अन्य विद्यार्थीलाई प्रभाव पारेर मुद्दा कमजोर बनाउने नेपथ्य खेल अद्यापि जारी छ । पीडितमाथि भय र प्रलोभन दुवै माध्यम प्रयोग गरेर पीडकलाई उन्मुक्ति दिइने खतरा पनि उत्तिकै छ ।

०००

यो कथा प्रतिनिधि मात्र हो । यस प्रकरणमा न्यायिक प्रक्रिया र कारबाहीका लागि उजुरी दिने विन्दुदेखि यता लगातारको साक्षी भएकाले प्रस्तुत स्तम्भमार्फत यो कथावाचन गर्ने जमर्को गरिएको हो । यस्ता कथा समाजपिच्छे छन् भन्ने अनुमान गर्ने पर्याप्त आधार छन् तर यो अनुमान मात्र गर्दा पनि मुटु बिझ्ने क्रूर सत्यले बारम्बार हाम्रो अस्तित्वलाई गिज्याइरहेको छ । समाचार सुनिन्जेल ‘कठै’ भन्ने हामी बलात्कार र हत्यासम्मैका घटनाका प्रारम्भिक नियामक र प्रेरकचाहिँ हाम्रै ‘चुत्थो’ चिन्तन हो भन्ने भुल्छौं । कुनै जघन्य घटना हुँदा ‘बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ’ सम्म भन्ने हामी बलात्कारी जन्माइरहने संस्कृति र यौन हिंस्रक चेतनाको भने पक्षपोषण गरिरहन्छौं । जब कुनै यौनजन्य अपराधको आरोपित व्यक्ति हाम्रो नजिकको साथी, दाजुभाइ, इष्टमित्र, एकै राजनीतिक दलको समर्थक वा हामीलाई मन पर्ने सेलेब्रिटी हो भन्ने स्थिति आइपर्छ, एकाएक हामी उसको संरक्षक हुने ठाउँमा उभिन्छौं ।

माथिको कथाले कुनै एक विद्यालयको कुरा गर्छ । कुरा विद्यालयको मात्रै पनि होइन, विद्यालयजस्तो संवेदनशील र ‘पवित्र’ ठानिने ठाउँको हो । त्यो अस्पताल हुन सक्ला, धार्मिकस्थल हुन सक्ला या यस्तै अर्को कुनै ठाउँ हुन सक्ला । यस्ता ठाउँबाहेक परिवारभित्रै अनि समाजका सबै क्षेत्र, अवयव र संस्थाहरूमा यौनजन्य अपराध दोहोरिइरहेका तथ्य हामीसामु छर्लंग छन् । तर यति धेरै घटनाक्रमका बीच पनि हामीले चेतेनौं । हामी सुध्रिएनौं । हाम्रो हिंसापोषक चरित्र पुष्टि गर्न भर्खरैको, सिनेनायक पल शाहको मुद्दा पर्याप्त छ । पन्ध्र वर्षकी नाबालिगलाई बिहेको प्रलोभन देखाएर बारम्बार करणी गर्ने पल शाहलाई ‘जिन्दावाद’ भन्ने हामीमध्येकै कतिपय हौं । पल शाहलाई फसाउन ‘षड्यन्त्र भएको’ देख्ने हाम्रो ‘विवेक’ ले नाबालिगको सही–गलत ठहर गर्न नसक्ने भनी कानुनले तोकेको उमेर देखेन ! यही चुत्थो विवेकले शिक्षण संस्थाहरूमा, अस्पताल र अन्य कार्यस्थलमा, नाटक–म्युजिक भिडियो–सिनेमा र अखबारका न्युज डेस्कहरूमा जहीँतहीँ नाम–नामका पल शाहहरू जन्माइरहेकै छ ।

यौन अपराधको पक्षपोषणमा ‘दलीय सहमति’ गर्न तैनाथ राजनीतिक खेतीपातीका विदूषकहरू त सधैंभरका रक्षक हुँदै भए; महिलाका संवेदनशील अंगलाई पैसाका ठेलीमा बेच्ने कानुनी ‘फुली लगाएका’ हरू पनि अपराध संरक्षणको व्याख्याले दोकान चलाउने हुँदै भए; यिनका पछाडि सत्ता–शक्ति–संरचनाको लामो फेरो पनि जोडिन्छ, जसले सधैंभरि स्त्रीमाथिको यौनहिंसालाई वैध र जायज ठहर्‍याउँदै आएको छ ।

तर यी सबै थोकका बावजुद कानुनी उपचार र न्यायको बाटामा हिँड्ने संकल्प र अठोट जारी नै रहनुपर्छ । माथिका जस्ता कथा दोहोरिन नदिने त्यो पात्र, त्यो ‘कर्ता’ तपाईं–हामी नै हौं । हामी अघि नसरी यो घोर हिंस्रक सत्ता–संरचना कसरी भत्किन्छ र ? जुन सांस्कृतिक र विचारधारात्मक रणनीतिले अहिलेसम्म यो हिंसापोषक पितृसत्ता बाँचेको छ, त्यसलाई भत्काउन हाम्रा घरघरभित्रका, प्रत्येक संस्थाभित्रका यौनहिंसाको प्रतिकारमा माथिको कथाका नाबालिगहरूको ‘एजेन्सी’ र साहसबाट पाठ सिक्नु अनिवार्य छ । यौनहिंसालाई ‘संस्कृतिको अनन्य अंग’ मान्ने आजको सामाजिक मनोसंरचनालाई धूलिसात् पार्न सकेसम्मको बलले घन ठोक्ने एउटै पनि अवसर अब छोड्नु हुँदैन । तब मात्र यो हिंसाकारी पितृसत्तालाई संरचनात्मक विघटन गरेर मानवीय र न्यायिक समाजको पुनर्निमाण गर्ने व्यावहारिक क्रान्ति सम्भव हुन्छ ।

प्रकाशित : चैत्र १५, २०७८ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×