पीडकपट्टि ढल्कने ‘न्यायिक मन’- विचार - कान्तिपुर समाचार

पीडकपट्टि ढल्कने ‘न्यायिक मन’

न्यायाधीशहरूको न्यायिक–मन पीडकरक्षार्थ केन्द्रित हुन थाल्यो भने न्यायको अपेक्षा गरेर अदालत पुग्ने पीडितहरू दोहोरो अन्यायमा पर्छन् ।
उषा थपलिया

न्यायालय जनताको न्यायिक आस्थासँग गाँसिएको राज्यको निकाय हो । न्यायालयप्रति जनताको विश्वास कायम राख्नु न्यायमूर्ति (न्यायाधीश) को मुख्य दायित्व हो । आफूमाथिको अन्याय अदालती प्रक्रियामा पुर्‍याउँदादेखि अन्तिम किनारा नलागेसम्म पीडितहरूले खेप्ने सास्ती सामान्य हुँदैन । अझ जबरस्ती करणीका पीडितहरूले कानुनी उपचारका लागि अघि बढ्न ठूलै हिम्मत जुटाउनुपर्छ ।



एक दिन आफूलाई अदालतले न्याय दिलाएरै छोड्छ भन्ने विश्वासमा मात्र पीडितहरू ती सबै अप्ठेरा झेलेर अघि बढेका हुन्छन् । तर बेलाबेला नेपालको न्यायिक क्षेत्र सामान्यतया विश्वास गर्नै गाह्रो हुने गरी पीडितद्वैषी चरित्र देखाउन पछि पर्दैन । पीडितको न्याय रक्षाका लागि हरसम्भव प्रयत्न गर्नुपर्ने न्यायाधीशहरू पीडक रक्षक र पीडित भक्षक आदेश दिएर आफ्नो पदीय जिम्मेवारीलाई आफैं विवादित बनाउन पुग्छन् । पछिल्लो समय अछाम जिल्ला अदालतका न्यायाधीशले न्यायका लागि अदालत पुगेकी एक पीडित किशोरीलाई उल्टै जेल सजाय सुनाएर आफूलाई प्रश्नको घेरामा उभ्याएका छन् ।

अदालतमा बयान फेरेका आधारमा अछामको कमलबजारकी १९ वर्षीया किशोरीलाई जिल्ला न्यायाधीश नवीनकुमार जोशीले ३ वर्ष ६ महिनाको जेल सजाय सुनाए भने आरोपितलाई उन्मुक्ति दिलाए । २ कक्षा मात्र पढेकी र एकल वृद्ध आमासँग बसेकी किशोरीसँग बिहेको कुरा गर्न गएका बेला पीडकले राति घरमै र जंगलमा लगेर समेत शारीरिक सम्बन्ध राखे । त्यसपछि किशोरीको चरित्रमाथि आक्षेप लगाउँदै ‘घरपरिवारले नस्विकार्ने र आफूले पनि बिहे गर्न नसक्ने’ भनेर राति जंगलमा अलपत्र छाडेर हिँडे । किशोरीले सँगै लैजान जिद्दी गरेपछि लात्ती–मुक्कासमेत गरेर आरोपित हिँडेपछि किशोरीले प्रहरी कार्यालयमा उजुरी दिइन् । पीडक पक्राउ परे । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पीडकविरुद्ध झुक्याएको भन्दै मुद्दा दर्ता गर्‍यो । तर पीडित किशोरीले सहमतिमै शारीरिक सम्बन्ध भएको बयान दिएपछि न्यायाधीशले जाहेरीकर्तामाथि नै गम्भीर सजाय सुनाए, जबकि गाउँका बुद्धिजीवी भनिएकाहरूले एउटै जिल्लावासी भएकाले केटालाई छुटाउनुपर्ने र मिल्नुपर्ने दबाब दिएको कमलबजार नगरपालिकाका वडासदस्यले बताएका छन् । यी सबै दबाबबीच आरोपित छुटेपछि घरजम गर्ने आश्वासनमा बयान फेरेको पीडितले कान्तिपुर संवाददाताको अनुसन्धानका क्रममा बताएकी छन् । मुलुकी अपराध संहिता–२०७४ को दफा २१९ को उपदफा २(क) ले करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी गरिएको करणीलाई पनि जबरजस्ती करणी मानेको छ । अदालतमा गरेको बयानका आधारमा उजुरी झुठो ठहरे त्यस्तो व्यक्तिमाथि सजाय हुने व्यवस्था कानुनले नै गरेको छ । तर उजुरीवाला कुन अवस्था र परिस्थितिबाट गुज्रिरहेको छ, बयान फेरिएर आउनुमा सम्भावित कारणहरू केके हुन सक्छन् भन्ने खुट्याउनतिर नलागी हठात् सजाय सुनाउन हतारिनुले न्यायाधीश जोशी यति बेला चौतर्फी प्रश्नको घेराभित्र जेलिएका छन् ।

चेतना र विकासको हिसाबले अछाम आफैंमा पछाडि परेको जिल्ला हो । पीडित किशोरी झनै दुर्गम भेगकी बासिन्दा । असहायमा दरिएको पारिवारिक हैसियत तथा पूर्ण रूपमा स्वस्थ नभएको उनको शारीरिक अवस्था । आरोपितसँग बिहेका निम्ति किशोरीको समर्पण तर बिहेको प्रलोभन देखाउँदै शारीरिक सम्बन्ध राखेपछि बिहे नगरी उम्कने आरोपितको प्रयत्न लगायतका तथ्यहरू कान्तिपुर संवाददाताको खोज समाचारबाट प्रस्ट देखिन्छ । यस्तो अवस्थाकी उजुरीकर्ताको बयान अदालतमा फेरिन्छ भने त्यहाँ त्यस्तै प्रलोभन, डर, धम्की, मानसिक यातना, सामाजिक दबाब आदि पक्षहरू जिम्मेवार हुन सक्छन् भन्नेतिर न्यायाधीशको ध्यान कत्ति पनि नजानु आश्चर्यजनक छ । बयान फेरिनुको अन्तर्य थाहा पाउन कुनै प्रयास गरिएको देखिँदैन, न त बयान फेरिएमा हुने सजायबारेमै जनाउ दिइएको छ । तर न्याय खोज्दै अदालत पुग्ने पीडितलाई नसिहत दिएजस्तै गरी विद्यमान कानुनमा नभएको चर्को सजाय सुनाइएको छ, । सजायको भागीदार ठहरिने स्थितिमा पनि तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ४४(क) मा व्यवस्था छ तर उनलाई सजाय दिन फौजदारी कार्यविधि संहिता संशोधन गर्न संसद्मा दर्ता भई निष्क्रिय भइसकेको अध्यादेशलाई आधार बनाइएको छ । यसले पीडित किशोरीलाई मर्माहत त बनाएकै छ, न्यायिक उपचारका लागि अदालत जान चाहने अरू पीडितलाई समेत झस्काएको छ । बयान फेरेको अभियोगमा किशोरीलाई सजाय सुनाउनुअघि प्रतिरक्षाको अधिकार लिनबाट समेत वञ्चित गरिएको छ । अभियोगविरुद्ध प्रतिरक्षाको अधिकार पाउनु प्राकृतिक न्यायको सिद्धान्तले संरक्षण गरेको व्यक्तिको अधिकार हो तर किशोरीलाई उक्त अधिकार प्रयोग गर्न अदालतले सहयोग नगर्नु उत्तिकै विडम्बनापूर्ण छ ।

न्यायाधीशको मुख्य दायित्व नै पीडितलाई न्याय दिलाउनु हो । प्रत्येक न्यायाधीश पीडितलाई न्यायका खातिर हरसम्भव उपाय अपनाउन स्वतन्त्र रहन्छन् । न्यायाधीशले कानुनका आधारमा न्यायिक मन राखेर विवेकपूर्वक फैसला गर्नुपर्ने विश्वव्यापी मान्यता छ । तर हत्या, बलात्कार, सवारी ज्यान मुद्दाजस्ता गम्भीर फौजदारी मुद्दामा पनि न्यायाधीशहरूको ‘न्यायिक मन’ पीडितलाई न्याय दिनभन्दा पीडक उन्मुक्तितर्फ ढल्किने गरेको विगतका विभिन्न मुद्दाका फैसलाले पुष्टि गर्छन् । पत्नी हत्या प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाँकी ११ वर्ष कैद सजायबाट उन्मुक्ति दिलाए । ‘लामो सजाय पीडकलाई चर्को हुने तथा साढे आठ वर्षको कैद सजायले नै सजायको मकसद पूरा भैसकेको’ जनाउँदै उनलाई छोडिएको थियो । त्यसअघि जिल्ला अदालत, सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीद्वारा आफ्नै भक्त एक महिला बलात्कार भएको भन्न सकिने यथेष्ट प्रमाण हुँदाहुँदै कार्यविधि कानुनलाई समेत पन्छाएर पीडकको पक्षमा फैसला गरेको थियो । ‘सिद्धबाबाले बलात्कार गरेको नभई महिलाले शरीर स्वेच्छाले समर्पण गरेको’ व्याख्या गर्दै जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले न्यायिक मन पीडकतर्फ ढल्काएर फैसला गरे । त्यस्तै, सवारी ज्यान मुद्दामा थुनामा रहेका पृथ्वी मल्ललाई ५ लाख धरौटीमा रिहा गर्ने आदेशका कारण सर्वोच्च अदालतको न्यायिक विवेकमाथि पनि प्रश्न उठेको थियो ।

जबरजस्ती करणी गम्भीर रूपमा विस्तार भएको छ, जसको सानो हिस्सा मात्र कानुनी दायरामा आइपुग्छ । पञ्चायती बसेर मिलाउने, बिहेको प्रलोभन देखाउने, आर्थिक लेनदेन गर्ने, मिलापत्र गराउने, डर/धाक/प्रलोभन देखाउने उपायद्वारा उजुरीमै अवरोध सृजना गर्न समाजका ‘भलादमी’ देखि जनप्रतिनिधिहरूसम्म लाग्ने गरेको विभिन्न घटनामा देखिएको छ । यसरी घटनासंख्याका आधारमा थोरै मात्र अदालत पुगेका यस्ता मुद्दाका आधाभन्दा कम हिस्सामा मात्र कसुर कायम हुने गर्छ । महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन २०७७–७८ अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले देशभर जबरजस्ती करणीका ४,९७२ मुद्दा अदालतमा दर्ता गरेमध्ये १,०६६ मुद्दामा मात्र कसुर कायम भएको देखिन्छ । त्यस्तै, उच्च सरकारी वकिलको कार्यालयबाट उक्त २०७७–७८ मा सबै उच्च अदालतमा जबरजस्ती करणीका १,६४९ मुद्दाको लगत देखिएकामा ३३३ मुद्दामा सुरु सदर हुँदै कसुर कायम भएको छ भने ४०३ वटा मुद्दामा जिल्लाकै निर्णय सदर भई प्रतिवादीले सफाइ पाएका छन् । बलात्कारका मुद्दा अदालतमा प्रवेश गराउन जति कठिन छ, प्रतिवादीलाई कसुरदार ठहर्‍याउने सवालमा पनि त्यत्तिकै कठिनाइ रहेको प्रस्तुत आँकडाले बताउँछ ।

यस मुद्दामा केही सकारात्मक सुरुआत भने पक्कै भएको छ । बलात्कारका मुद्दामा प्रहरीले पीडितको उजुरी हत्तपत्त नलिने गुनासो सुनिँदै आएको परिप्रेक्ष्यमा किशोरीको उजुरीलगत्तै प्रहरीले आरोपितलाई पक्रनु गैरीटाँड प्रहरी कार्यालयको प्रशंसनीय कार्य हो । सबै प्रहरी कार्यालयमा यस्तै तदारुकता जरुरी छ । त्यस्तै, तीव्र गतिको सुनुवाइबाट उजुरी भएको लगभग एक महिनामा फैसला सुनाउनु अदालतको सकारात्मक पाटो हो । तर आरोपितलाई सफाइ दिँदै उजुरीकर्तालाई जेल सजाय सुनाउने न्यायाधीशको विवेक भने सोही बमोजिम सकारात्मक हुन सकेन ।

आफूले हेरेका मुद्दामा कसरी न्याय स्थापित गर्न सकिन्छ भन्ने अन्तर्मनदेखिको लगाव र ध्येय नै न्यायिक मन हो । न्यायाधीशहरूको न्यायिक–मनले न्याय स्थापनामा निश्चय नै सकारात्मक प्रभाव पार्नुपर्छ । तर न्यायाधीशहरूको न्यायिक–मन पीडकरक्षार्थ केन्द्रित हुन थाल्यो भने न्यायको अपेक्षा गरेर अदालत पुग्ने पीडितहरू दोहोरो अन्यायमा पर्छन् । न्यायदूतका रूपमा चिनिने न्यायाधीशहरूको असल कार्यसम्पादनबाटै समग्र न्यायालयको प्रतिष्ठा चुलिने हो र यसैबाट अदालतप्रति जनताको भरोसा बढ्दै जाने हो ।

प्रकाशित : चैत्र २७, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

हैनिमेनलाई सम्झने दिन

खगेन्द्र ओली

संसारमा तीन प्रकारका मानिसको जन्म हुन्छ- इतिहास लेख्ने, इतिहास पढ्ने र इतिहास बनाउने । १७५५ अप्रिल १० मा जर्मनीको सेक्सोनीमा जन्मेका फ्रेड्रिक स्यामुएल हैनिमेन इतिहास बनाउने व्यक्ति थिए । उनका बुबा माटाका भाँडामा रङका बुट्टा लगाउने काम गर्थे । उनले १२ वर्षको 

उमेरसम्म विद्यालय जान पाएनन् । अभावका बावजुद उनलाई बुबाले विद्यालय भर्ना गरिदिए । विद्यालय जान थालेको ८ वर्षमै उनले माध्यमिक शिक्षा पूरा गरे । उनलाई चिकित्सक बन्ने ठूलो इच्छा थियो । मिहिनेती, मिजासिलो र जिज्ञासु स्वभावले गर्दा उनलाई आफ्नै शिक्षक मिस्टर मजिस्टर मुलरले सन्तानसरह माया गरी पढाइमा ठूलो सहयोग गरे ।

माध्यमिक शिक्षा पूरा भएपछि उनी चिकित्साशास्त्र अध्ययनका लागि लाइपसोग गए । आर्थिक अवस्था कमजोर भएकाले उनले आफ्नो अध्ययन पूरा गर्न अंग्रेजी, फ्रेन्च आदि भाषामा पुस्तकहरू अनुवाद गर्न थाले । यसले उनलाई १२ भाषामा पोख्त बनायो । त्यो समयमा पुस्तक एक भाषाबाट अर्को भाषामा अनुवाद गर्दा पैसा पनि राम्रै पाइन्थ्यो । त्यही आयस्रोतका आधारमा उनले सन् १७७९ मा सर्जरी विषयमा एमडी गरेर अस्पतालमा काम गर्न थाले ।

उनका १२ जना सन्तान थिए । तिनको लालनपोषण गर्न सधैं उनीलाई धौ–धौ परिरहन्थ्यो र उनले थप घर खर्च जुटाउन चिकित्सकीय कार्यका साथै पुस्तक अनुवादको काम जारी राखे । उनी बिरामीहरूको सफल उपचार गरेर पनि चिकित्सकीय पेसाप्रति सन्तुष्ट देखिएनन् । मानिसलाई चिरफार गर्नु, अंग काटेर फाल्नु, कडा औषधि दिएर शरीरका अन्य सक्रिय तन्तुहरूलाई समेत नष्ट गर्नुपर्ने हुँदा उनी निराश थिए र यी रोगहरूलाई सरल तरिकाबाट कसरी ठीक पार्न सकिन्छ भन्ने उपायको खोजीमा लाग्न थाले ।

एक दिन ‘कुलेन्स मेटेरियामेडिका’ लाई अंग्रेजीबाट जर्मनमा अनुवाद गर्दैगर्दा एउटा हरफ भेट्टाए, लेखिएको थियो- सिन्कोना वार्क (एक प्रकारको वनस्पति) को झोल खाँदा मलेरिया ज्वरो निको हुन्छ । सिन्कोना वार्क तीतो भएका कारण मलेरिया ज्वरो निको हुन्छ भन्ने पुरानो मान्यता थियो । यो हरफले हैनिमेनको दिमागमा ठूलो तरंग पैदा गर्‍यो । उनी यहीँबाट अनुसन्धान सुरु गर्ने निचोडमा पुगेर सिन्कोना वार्कको झोल केही दिनसम्म खाए । त्यसपछि उनलाई मलेरियाको जस्तो ज्वरो आयो । फेरि त्यसको न्यूनतम प्रयोगबाट त्यो ज्वरो निको भयो । यसबाट यदि कुनै वस्तुको सेवनले रोगको जस्तो लक्षण ल्याउँछ भने त्यसमा भएको सूक्ष्म शक्तिले रोग निको बनाउन सक्छ भन्ने उनलाई थाहा भयो । यही सूत्र अनुसार उनले त्यो सिन्कोना वार्कमा तीतो पदार्थले हैन कि त्यसमा भएको मलेरियाको जस्तो ज्वरोको लक्षण निकाल्ने गुणले रोग निको भएको पत्ता लगाए ।

यस प्रक्रियाको गहन अध्ययन–अनुसन्धान गरी जर्मन अखबार ‘होप ल्यान्स जर्नल’ मा सन् १७९६ मा एउटा लेख प्रकाशित गरे । यही दिनबाट होमियोप्याथिक सिद्धान्तको प्रतिपादन भयो । उक्त लेखले विश्वभरिका स्वास्थ्य विज्ञहरूमा ठूलो तरंग पैदा गर्‍यो । यसबारे बहस र छलफलहरू हुन थाले । सारा संसारले उनको नयाँ सिद्धान्तलाई सहजै स्विकार्ने अवस्थै भएन तर उनले आफ्नो खोजलाई निरन्तरता दिइराखे र बिस्तारै एलोप्याथिक उपचार पद्धति नै छाडे । आफूले पत्ता लगाएको सरल चिकित्सा पद्धतिबाट उपचार गर्न थाले । सफलता प्राप्त हुँदै गएपछि उनको सहरभरि चर्चा हुँदै गयो । सयौं बिरामी उनीकहाँ उपचार गराउन आउन थाले, यसले उनलाई झन्झन् उत्साहित बनाउँदै लग्यो । उनका थुप्रै एलोप्याथिक डाक्टर साथीहरूले उनलाई खिसीटिउरी मात्र गरेनन्, कारबाहीका लागि अदालतमा मुद्दासमेत दर्ता गराए । तर पनि उनी कति पनि विचलित भएनन् । किनकि मानिसलाई सरल विधिबाट पूर्ण निको बनाउने उपचारको खोजीमा उनी तल्लीन थिए । पछि उनका सबै विरोधीसमेत उनको पछि लागे र थुप्रै एलोप्याथिक र अन्य चिकित्सा विधाका चिकित्सकहरूले एलोप्याथी छाडेर होमियोप्याथीमा आबद्ध भए । उनीहरूसमेतले अझ गहिरो अनुसन्धान गर्न लागे र हैनिमेनका अनुयायी बने ।

आज होमियोप्याथी विश्वको दोस्रो ठूलो उपचार पद्धति भएको छ । लगभग सबै देशमा होमियोप्याथिक सेवा विस्तार भएको छ । विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको यो उपचार पद्धतिले शारीरिक कठिनाइ वा समस्या मात्र हेरेर उपचार गर्दैन । मानसिक, भावनात्मक र संवेगात्मक अवस्थालाई हेरेर उपचार गरे मात्र बिरामी पूर्ण रूपमा निको बनाउन सकिन्छ भन्ने मान्यता बोक्छ । यही सरल चिकित्सा पद्धतिका आविष्कारक हैनिमेनको जन्म दिन पारेर अप्रिल १० तारिखका दिन विश्व होमियोप्याथिक दिवस मनाइन्छ, उनको योगदानको स्मरण गरिन्छ ।

ओली इटहरीस्थित इन्खा एकीकृत अस्पताल प्रालिका अध्यक्ष हुन् ।

प्रकाशित : चैत्र २७, २०७८ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×