दलित मुद्दामा दक्षिण एसियाली द्विविधा

परिवर्तनलाई एक कदम अगाडि बढाउन वर्तमान संविधानको प्रस्तावनालाई देहाय बमोजिम परिमार्जन गरिनुपर्छ- ‘जातीय भेदभाव वैज्ञानिक रूपमा गलत र नैतिक रूपमा निन्दनीय छ भन्ने तथ्यलाई स्वीकार गर्दै, अबउप्रान्त कुनै प्रकारको छुवाछुत हुन नदिन गम्भीरतापूर्वक शपथ गर्दै, ऐतिहासिक अन्यायको सिकार भएका दलितहरूप्रति क्षमाप्रार्थी छौं ।’ 
कटक मल्ल

दलितहरूउपर निरन्तर रहेको अन्याय मानवताविरुद्धको अपराध हो । यस्तो गम्भीर ऐतिहासिक अपराधलाई आजसम्म आधिकारिक रूपमा स्वीकार गरिएको छैन, उदाहरणका लागि नेपाल र भारतका संविधानहरू पढ्नुहोस् । भीमराव अम्बेडकरद्वारा लेखिएको, धेरै प्रशंसा गरिएको र संविधानसभाबाट पारित गरिएको भारतीय संविधानमा ऐतिहासिक अन्यायबारे एक शब्द पनि बोलिएको छैन ।

दलित मुद्दामा दक्षिण एसियाली द्विविधा

नेपालको वर्तमान संविधानमार्फत ऐतिहासिक अपराधलाई आधिकारिक रूपमा स्वीकार गरी माफी माग्न सकिन्थ्यो तर त्यसो गरिएन (व्यक्तिगत रूपमा मैले सन् २००८ मा साइपाल एफएम रेडियोसँगको अन्तर्वार्तामा माफीको कुरा गरेको थिएँ) । के नेपाली बौद्धिकहरू वा नेपाल सरकार दलितहरूसँग माफी माग्न तयार छन् ? यो सवाल मनोवृत्ति परिवर्तन र ऐतिहासिक अन्यायको क्षतिपूर्तिका लागि पनि हो ।

ऐतिहासिक अन्याय भएको भनी स्वीकार गर्नु र त्यसका लागि माफी माग्नु विगतको गल्ती सच्याउने पहिलो कदम हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ‘कोमागाटामारु घटना’ र ‘जलियाँवाला बाग नरसंहार’ का लागि माफी मागेका छन् । बेलायत सरकारले त्यसो गरेको छैन । अमेरिका सरकारले मूल अमेरिकी निवासीसँग माफी मागेको छैन । दास व्यापारमा संलग्न साम्राज्यवादी मुलुकहरूले दास व्यापारका लागि पनि माफी मागेका छैनन् । अस्ट्रेलियाका प्रधानमन्त्री केभिन रुडले सरकारका तर्फबाट ‘आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डवासी बच्चाहरू’ का लागि माफी मागेका छन्, जसलाई अस्ट्रेलियाली सरकारहरूद्वारा परिवारबाट जबरजस्ती अलग गरिएको थियो ।

ऐतिहासिक अन्यायका लागि सरकारी माफी माग्दा महत्त्वपूर्ण मनोवैज्ञानिक लक्ष्यहरू पूरा हुने सुझाव विभिन्न विद्वान्ले दिएका छन् । राजनीतिक क्षमायाचना पीडित र गैरपीडित दुवैलाई स्वीकार्य हुने हुन्छ । कहिले र कसरी माफी माग्नुपर्छ भन्ने विश्लेषणको प्रभावबारे छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । माफी माग्नुले मानिसहरूबीच फेरि सम्बन्ध सुधार्न मद्दत गर्छ र तिनीहरूलाई फेरि एकअर्कासँग सहज महसुस गराउँछ । औपचारिक माफी पनि सामाजिक न्याय स्थापना गर्ने एउटा माध्यम हो ।

बौद्धिकहरूको द्विविधा
दक्षिणपन्थी जुलियन बेन्डा र वामपन्थी एन्टोनियो ग्राम्सीका विचारको अध्ययन गर्दा, यी दुवै बौद्धिक दलित मुक्तिका सम्बन्धमा एकअर्कालाई समर्थन गर्थे होलान् भन्ने निष्कर्षमा पुग्न सकिन्छ । दक्षिण एसियाली दक्षिणपन्थी र वामपन्थी बौद्धिकहरूबीच त्यस्तो सहमतिको अभाव छ । नेपाल र भारतमा परम्परागत दक्षिणपन्थी बौद्धिकहरूले दलित मुद्दामा खासै वास्ता गर्दैनन् । दलितहरूलाई हिन्दु समाजमा समाहित गर्ने भन्ने भारतीय जनता पार्टी (भाजपा) को माउ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले हरेक वर्ष अम्बेडकर जयन्ती मनाउँछ । अम्बेडकर विचार हिन्दुत्व दर्शनसँग मेल खान्छ भनी आरएसएस नाराबाजी हुँदै छ । आरएसएसलाई हिन्दु सुधारक भन्नु ज्ञानविरोधी हुन्छ । दक्षिणपन्थी बौद्धिकहरू धार्मिक पुस्तकलाई इतिहासका रूपमा लिन्छन् । चरम वामपन्थी बौद्धिकहरू यो कुरालाई साहित्यिक नभई इतिहासलाई चुनौती दिने सामग्रीका रूपमा लिन्छन् र पुस्तकका पात्रहरूलाई गाली गरेर सन्तोष मान्छन् ।

रिचर्ड डकिन्स र क्रिस्टोफर हिचेन्स विश्वका दुई प्रमुख नास्तिक हुन् । उनीहरूलाई चाडपर्व मनाउन कुनै अप्ठ्यारो छैन, तर दक्षिण एसियाली उग्र वामपन्थीहरू चाडपर्वलाई अपमान गरेर सन्तोष लिन्छन् । तिनीहरूले कट्टर धर्म र धर्मसँग जोडिएका सांस्कृतिक पक्षहरूबीचको भिन्नता छुट्याउन सक्दैनन् । वैज्ञानिक स्वभावमार्फत विचारलाई चुनौती दिनु महत्त्वपूर्ण हो भन्ने तिनीहरूको सोचमा स्पष्ट छैन । दक्षिण एसियामा वामपन्थी र दक्षिणपन्थी एक यस्तो बौद्धिक वर्ग छ जसको साझा विशेषता भनेको एकअर्कालाई घृणा गर्नु हो । जस्तै, भाजपा बौद्धिकहरूले धर्मनिरपेक्षता शब्दलाई घृणा गर्छन् । उनीहरूले गम्भीर विचारकहरूको खिल्ली उडाउँछन् । जस्तै, सरकारको आलोचना गरेको भन्दै अमर्त्य सेनलाई निन्दा गरिन्छ । अर्को एक यस्तो बौद्धिक वर्ग छ जसले जातिवादविरुद्ध सार्वजनिक विचार राख्नेलाई पनि अवहेलना गर्छ । यस वर्गले दलितको दाबीलाई आफूसिवाय अरू कसैले गम्भीरतापूर्वक लिँदैनन् भन्ने अहंकार राख्छ, दलित मुद्दा सस्तो राजनीतिका लागि उचाल्छ र दलित उन्मुक्तिप्रति इमानदार छैन । दलितप्रति ऐक्यबद्धता रहेको उग्र दाबी गर्ने वामपन्थी बौद्धिकहरू आफूले लेखेको (वा बोलेको) कुरा पूरा गर्न असफल भएका देखिन्छन् ।

पुँजीवाद, बजार र धर्मका लागि दक्षिणपन्थी बौद्धिकहरू सजिलै एकजुट हुन्छन् । तारिक अलीको भनाइ अनुसार, वामपन्थी दलहरूले विश्वव्यापी एकता देखाउँदैनन् । वामपन्थी बौद्धिकहरू आपसी झगडा गर्ने प्रवृत्तिका देखिएका छन् । समान विचार राख्ने बौद्धिकहरूलाई एकतामा ल्याउनुको सट्टा निन्दा मात्र गर्छन् । वामपन्थी बौद्धिकहरूले दक्षिणपन्थीलाई चुनौती दिने शक्ति गुमाएका छन् । अरुन्धती रायले महात्मा गान्धीले भेदभाव गरेको आरोप लगाएकी छन् भने ठूला बाँधहरूका लागि नेहरूको आलोचना गरेकी छन्, जसले भाजपा विचारधारालाई सहयोग गरेको छ । गान्धी र नेहरूविरोधी विचारहरूले भाजपालाई राष्ट्रिय चुनाव जिताउन मद्दत गरिरहेका छन् । यी केही उदाहरण हुन् र सूची लामो हुन सक्छ ।

‘लिभ्ड दलित एक्सपिरिएन्स’
दलित, महिला र सबाल्टर्नलाई आफ्नो जीवनको साँचो अनुभव हुन्छ । भोगेको अनुभव (लिभ्ड एक्सपिरिएन्स) सम्बन्धी रेमन्ड विलियम्सको प्रसिद्ध उद्धरण छ, ‘भोगेको अनुभव सबैभन्दा पूर्ण, सबैभन्दा खुला, सबैभन्दा सक्रिय चेतना हो जसमा भावना र विचार समावेश हुन्छ ।’ भोगेको अनुभवका आधारमा सान्ड्रा हार्डिङ, हिलारी चार्ल्सवर्थ र डोना हाराडवेले नारीवादी अध्ययन र उद्देश्यहरूलाई फरक विन्दुबाट परख गरेका छन् । विशेष गरी डोना हाराडवेले तीन प्रमुख दाबी गरेकी छन्- पहिलो, ज्ञान सामाजिक रूपमा सीमान्तकृत समूहमा अवस्थित हुन्छ; दोस्रो, सीमान्तकृत समूहहरू सामाजिक रूपमा सचेत हुन्छन्; र, अनुसन्धान सीमान्तकृत जीवनबाट सुरु गर्नुपर्छ । उनको विचारलाई उत्तर–मानववादी विचार पनि भनिन्छ तापनि सत्य खोज्नका लागि यी तीन बुँदा महत्त्वपूर्ण छन् ।

‘लिभ्ड दलित एक्सपिरिएन्स’ लाई दलित आत्मकथाहरूको प्रतिनिधि जीवन–कथाका रूपमा बुझ्न सकिन्छ । ‘सामूहिक पीडाको प्रतिनिधित्व’ र सीमान्तकृतहरूका लागि राजनीतिक विधाको आत्मकथाको वर्णन गर्न ‘टेस्टिमोनियो’ अनुभवका ‘सत्य उत्पादन’ शब्दहरू प्रयोग गरिँदै आएका छन् । अनुभवलाई जीवन–कथनमा परिणत गर्ने साहित्यको शक्तिले अन्ततः एउटा भिन्न प्रकारको सामाजिक अनुभवलाई जन्म दिने विश्वास गरिन्छ । ऐतिहासिक अन्यायविरुद्धको लडाइँमा साहित्य र कविताको ठूलो भूमिका हुन्छ ।

दलित मुद्दामा भीमराव अम्बेडकर बराबर कोही छैन भनिन्छ । अम्बेडकर विश्वस्तरीय धर्मनिरपेक्ष बौद्धिक थिए; कम्युनिज्म, हिन्दुवाद र मुस्लिमका बारेमा गहिरो ज्ञान र आलोचनाका कारण उनी समकालीन गान्धी र नेहरूभन्दा विद्वान् मानिन्थे । साम्राज्यहरूविरुद्ध गान्धी र नेहरूको संघर्ष र विश्वका धेरै राष्ट्रको स्वतन्त्रताका लागि तिनीहरूको योगदान अम्बेडकरको योगदानविरुद्ध खडा गर्नु हुँदैन । सबै महान् मस्तिष्कहरू एकै किसिमका हुँदैनन् । गान्धीमा कमजोरी थियो र नेहरूमा पनि ।

महान् मस्तिष्कहरू इमानदार आलोचनासाथ सम्मानित हुनुपर्छ । अम्बेडकरको आलोचना गर्नेहरू पनि भन्थे- धार्मिक विश्वासले आफूलाई कट्टरपन्थी बनाउँछ भन्ने थाहा पाएर उनी आस्तिक भएका थिए (बुद्ध धर्म ग्रहण गरे, यसमा केही गलत छैन) । अम्बेडकरले इसाई धर्म, यसका आज्ञाहरू र अनुसन्धानको धेरै आलोचना गरेनन् । धेरै वर्षदेखि अमेरिकामा बसेका भए पनि उनले त्यहाँको नस्लवादका बारेमा धेरै लेखेनन् । मुस्लिम र हिन्दु धर्मविरुद्धको अम्बेडकरको आलोचनालाई दक्षिणपन्थी र वामपन्थी बौद्धिकहरू एकअर्काविरुद्ध दुरुपयोग गरिरहेका छन् । किन गान्धी, नेहरू र अम्बेडकर संविधानमार्फत दलितसँग माफी माग्न असफल भए ?

के दलितका बारेमा दलितले मात्र लेख्नुपर्छ ?
‘लिभ्ड दलित एक्स्पिरिएन्स’ ले हामीलाई सत्य बुझ्न मद्दत गर्छ । तर के दलितका बारेमा दलितले मात्र लेख्नुपर्छ ? के महिलाले मात्र महिलाका बारेमा लेख्नुपर्छ ? के समलिंगी र ट्रान्सजेन्डर (एलजिबिटी) का बारेमा उनीहरूले नै मात्र लेख्नुपर्छ ?

मानिसहरूमा समानुभूति हुन्छ । एकले अरूका बारेमा इमानदारी, ठोस, सहानुभूतिपूर्वक र विरोधाभासी रूपमा सोच्न हुन्छ र लेख्न सकिन्छ भन्ने कुरा स्वीकार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । यसका अतिरिक्त, समानता, न्याय र व्यक्तिगत प्रतिबद्धताले एक–अर्काका लागि लेख्न–बोल्न सचेत बनाउँछ । त्यसैले मार्टी कोस्केनेमी भन्छन्, ‘अन्तर्राष्ट्रिय कानुनी धारणाले केही आवाजलाई विशेषाधिकार दिने र अरूलाई मौन बनाउन काम गर्छ, र महिलाहरूलाई राज्यद्वारा मौन गरिन्छ ।’ साथै, ‘द्वन्द्वको संसारमा पीडक हैन पीडितको पक्षमा उभिनुपर्छ’ भन्ने अल्बर्ट कामुको उद्धरणले हामीलाई उपयोगी ज्ञान दिन्छ ।

दलित समुदाय आर्थिक, सामाजिक र राजनीतिक इतिहासमा सीमान्तीकृत थियो । विगत र इतिहासलाई हेर्नुपर्ने कारण हो- दलितहरूको वर्तमान अवस्थाको जरा विगतमा छ, उनीहरूको सामाजिक अनुभवका बावजुद उनीहरूका मुद्दा र आवाजहरू सीमान्तै रहन दिनु हुँदैन । आलोचनात्मक सिद्धान्तले ‘दलित’ लाई नयाँ आयाम दिएको छ । ‘सबाल्टर्न एक मौन स्थिति हो’ भन्छिन् गायत्री चक्रवर्ती स्पिभाक । उनको सबैभन्दा प्रभावशाली निबन्ध, ‘के सबाल्टर्न बोल्न सक्छ ?’ को मुख्य तर्क हो- सबाल्टर्नहरूले तबसम्म आवाज उठाउन सक्दैनन् जबसम्म उनीहरूले आफ्नो स्थिति परिवर्तन गर्दैनन् । तर त्यो गर्न सजिलो छैन किनभने दलितहरू टुटेका छन् र दमनमा छन् । स्पिभाकका अनुसार, ‘लिभ्ड दलित एक्स्पिरिएन्स’ त्यसैले महत्त्वपूर्ण हुन्छ किनकि त्यसले सत्य उजागर गर्छ । साथै अल्बर्ट कामु भन्छन्, ‘जब पीडितले बोल्न थाल्छ तब ऊ पीडित रहँदैन । पीडित विद्रोही बन्छ ।’ त्यसैले दलित समुदायप्रति ऐक्यबद्धता जनाउनु र दलित आवाजसँग आवाज उठाउनु बौद्धिकहरूको नैतिक कर्तव्य हो ।

परिवर्तनका लागि एक कदम
नेपाल र भारतका कानुनले छुवाछुतलाई प्रतिबन्ध लगाएका छन् । दलितलाई संरक्षण गर्ने कानुन र कार्यक्रमहरू छन् । तर दलितहरूको सुरक्षाका लागि बनाइएका कानुनहरूको कार्यान्वयन कमजोर छ । दलित मुद्दालाई कुनै पनि राजनीतिक दलले गम्भीरतापूर्वक लिएको छैन । ट्रेड युनियन आन्दोलनले दलित मजदुरका मुद्दाहरूलाई पनि बेवास्ता गरेको छ । मानव अधिकार कार्यकर्ताहरूले दलित मुद्दालाई गम्भीरतापूर्वक लिएका छैनन् ।

सामाजिक परिवर्तन ढिलो हुन्छ र यसले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक वातावरण बदल्न जनताको सामाजिक–मनोविज्ञानलाई परिवर्तन गर्न आवश्यक छ । व्याख्यात्मक–रचनावादी र तुलनात्मक दृष्टिकोणहरूको संयोजन प्रयोग गरेर नागरिक मूल्यहरूको विकास गर्न शिक्षाको प्रयोग गर्नु एउटा रणनीति हुन सक्छ । विद्यालय पाठ्यक्रमले कुनै समूह वा वर्गका मानिसहरूलाई भेदभाव नगर्ने सक्रिय नागरिक शिक्षा आवश्यक छ ।

परिवर्तनलाई एक कदम अगाडि बढाउन वर्तमान संविधानको प्रस्तावनालाई देहाय बमोजिम परिमार्जन गरिनुपर्छ- ‘जातीय भेदभाव वैज्ञानिक रूपमा गलत र नैतिक रूपमा निन्दनीय छ भन्ने तथ्यलाई स्वीकार गर्दै, अबउप्रान्त कुनै प्रकारको छुवाछुत हुन नदिन गम्भीरतापूर्वक शपथ गर्दै, ऐतिहासिक अन्यायको सिकार भएका दलितहरूप्रति क्षमाप्रार्थी छौं ।’ यसलाई विद्यालयहरूका पाठ्यक्रममा समावेशसमेत गराएर सामाजिक–मनोविज्ञानलाई परिवर्तन गर्न सकिन्छ । यसका लागि के प्रधानमन्त्री शेरबहादुर देउवा र उनको मन्त्रिपरिषद्, प्रमुख प्रतिपक्षी दल र अन्य राजनीतिक दलहरू तयार छन् ?

प्रकाशित : चैत्र २०, २०७८ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?