अप्राकृतिक गठबन्धन र वाम आन्दोलन

विचार र सिद्धान्तको प्राकृतिक गठबन्धनको स्वाभाविक प्रक्रियालाई अहिले स्वार्थकेन्द्रित गैरराजनीतिक गठबन्धनले चुनौती दिन खोजिरहेको छ । हुँदाहुँदा अप्राकृतिक गठबन्धनको विस्तार पेसागत क्षेत्रमा समेत हुन थालेको छ ।
टीकाराम भट्टराई

अनेकौं नालायकीका बावजुद आज नेपालका कम्युनिस्टहरूका अगाडि गुमाउन केवल केही नेताको निजी अहंकार छ भने पाउनका लागि कम्युनिस्ट एकता छ, समाजवादी भविष्य छ ।’ गत चैत १ गते कान्तिपुर दैनिकमा प्रकाशित एमाले नेता तथा मार्क्सवादी चिन्तक घनश्याम भुसालको लेखको अन्तिम अनुच्छेद यही थियो ।

अप्राकृतिक गठबन्धन र वाम आन्दोलन

‘कम्युनिस्ट पार्टीको भविष्य : एकता वा सत्यानाश’ शीर्षक लेखमा उनको निष्कर्ष छ- नेपालका प्रमुख कम्युनिस्ट पार्टीहरूमा आधारभूत सैद्धान्तिक र वैचारिक मतभेद नभएकाले बृहत्तर एकताका लागि विमर्श गर्दै कम्तीमा आसन्न चुनावमा तालमेलका माध्यमबाट अघि बढ्नु आजको आवश्यकता हो ।

भुसालको त्यो लेखपश्चात् यसै दैनिकमा पुँजीवादी र समाजवादी दुवै कित्ताको प्रतिनिधित्व गर्ने अन्य दुई लेख पनि प्रकाशित भइसकेका छन् । भुसालले निम्त्याएको बहसले उनकै पार्टी एमालेमा समेत त्यसको पक्ष र विपक्षमा विचारप्रवाह प्रारम्भ भएको छ । कम्युनिस्ट नामका जुनसुकै पार्टीका समर्थक वा शुभेच्छुकमध्येका अधिकांशका मनमा गढेको तर व्यक्त गर्न कसैले हिम्मत नगरेको यो विषयलाई सार्वजनिक रूपमा विमर्शमा ल्याएर भुसालले शान्त तलाउमा गतिलो ढुंगा प्रहार गरेका छन् । उनको त्यो निष्कर्षलाई तथ्यमा उभिएर अनि सिद्धान्तमा अडिएर, दुनियाँका सामु आँखामा आँखा जुधाएर खण्डन गर्ने हिम्मत र साहस देखाउन वामपन्थी चेतना भएका कुनै पनि नेपालीलाई कठिन नै पर्ला ।

औचित्य वाम एकताको
नेकपाको अवसानपछि पुँजीवादी वा समाजवादी दुवै कित्ताबाट उठ्ने यो प्रश्नको जवाफ निकै कठिन छ । पुँजीवादी कित्ताका कतिपय बौद्धिक मित्रहरूले नेकपाको अवसानलाई पूर्वी युरोपको सन् १९९० पछिको अवस्थासँग तुलना गर्दै नेकपाको अवसानसँगै अब नेपालमा वामपन्थी युगको अन्त्य भएको दुन्दुभि बजाइरहेका छन् भने त्यो दुन्दुभिलाई साथ दिने गरी वामपन्थी कित्ताबाटै अब नेपालमा वाम एकता आवश्यक वा सम्भव छैन भनेर दक्षिणपन्थी कित्ताकै सेवा भइरहेको छ । नेपालमा वाम एकता आवश्यक वा सम्भव छैन भनेर दक्षिणपन्थी धारको सेवा गर्ने सोच र नेपालको सबभन्दा ठूलो वाम पार्टी नेकपा एमालेको विभाजन गरी नेपाली कांग्रेसको नेतृत्वमा मोर्चा बनाएर वामपन्थी आन्दोलन बलियो हुन्छ भन्ने सोचका बीचमा अघोषित साझा सहमति बनेको प्रतीत भइरहेको छ । दुवै कित्ताका यी परस्पर विरोधी चिन्तन र प्रवृत्तिले अन्तत: दक्षिणपन्थकै सेवा गरिरहेका र वामपन्थलाई कमजोर बनाइरहेका छन् । विश्वव्यापी दृष्टिकोणका आधारमा वामपन्थ आफैंमा पुँजीवादी कित्ताको बलियो र वैज्ञानिक विकल्प हो । कसैको चाहना वा डाहले वामपन्थ कहिल्यै मर्न सक्दैन ।

सन् १९९० को आसपासपछि दलाल पुँजीवादलाई रङरोगन गरेर अस्तित्वमा आउन खोजेको नवउदारवादले दुनियाँ बदल्ने सपना बाँडेको थियो तर त्यो सपना आफैंमा झुट र गलत प्रस्थापनामा आधारित थियो भन्ने पुष्टि भइसकेको छ । अझ कोभिड महामारीका बखत जनताको जीउधनको सुरक्षा र उपचार गर्न असफल भएको विश्व पुँजीवादले अझै पनि निजी क्षेत्रलाई अनियन्त्रित छाड्ने कथित उदारवाद वा नवउदारवाद वा पुँजीवादको बखान गरेर वामपन्थको भविष्य नदेख्नु सूर्यलाई हत्केलाले छेक्छु भन्ने आत्मरति मात्र हो । शिक्षा, स्वास्थ्य र रोजगारीको न्यूनतम प्रबन्ध गर्न नसकेर करोडौं जनताको जीउज्यानमा धावा बोलिरहेको विश्व पुँजीवाद दिन–प्रतिदिन कमजोर बन्दै गइरहेको छ भने त्यसको विकल्पमा समाजवादबाहेक अर्को वैज्ञानिक दर्शनको प्रादुर्भाव पनि भएको छैन । यस्तो अवस्थामा वामपन्थको भविष्यमाथि प्रश्न गर्नेहरूले पुँजीवादलाई निर्विकल्प ठानिरहेका छन् भने, विश्व पुँजीवादको सयौं वर्षको वैश्विक अभ्यासले जनताका आधारभूत आवश्यकताको पूर्ति गर्न असफल भएको छ ।

विश्वपुँजीवादको विकल्पका रूपमा स्थापित वामपन्थी वा समाजवादी ध्रुव तबसम्म जनताको आवश्यकताको हतियार बनिरहनेछ जबसम्म प्रत्येक राज्यले आफ्ना जनताको आधारभूत आवश्यकताको पूर्ति गर्न सक्दैन । यो वास्तविकता नेपालजस्तो विकासोन्मुख देशका लागि झन् आवश्यक छ । यसर्थ गरिबी, असमानता र शोषण व्याप्त रहेको अनि विभेदकारी आर्थिक–सामाजिक संरचनाले सृजना गरेको उत्पादन सम्बन्धको रूपान्तरणका लागि नेपालमा वामपन्थी कित्ता अझ सुदृढ र सशक्त हुनुपर्छ ।

वामपन्थी कित्ताको सुदृढीकरणविरुद्ध रहनेहरू यथार्थमा कम्युनिस्ट हुन सक्दैनन् । यति तथ्य बुझ्ने हो भने वाम एकता आवश्यक छ वा छैन भन्ने मूल प्रश्नको सोझो जवाफ पाइन्छ । वामपन्थ यथार्थमा एउटा रूपान्तरणकारी आन्दोलन हो र यसका सारथि हुन् कम्युनिस्ट पार्टीहरू । लोकप्रिय नेता र जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारीले प्रतिस्पर्धाका माध्यमबाट श्रेष्ठता हासिल गर्दै समाजवादतर्फ जाने नेपाली क्रान्तिको मौलिक कार्यक्रमलाई ठोस रूपमा अघि सारेर नेपालको वामपन्थी आन्दोलनको विचार, सिद्धान्त र कार्यक्रमलाई समृद्ध बनाएका थिए । आज निर्वाचनमा भाग लिन सहमत नेपालका सबै वाम पार्टी त्यही पथमा उभिएका बेला नेपालको वामपन्थी आन्दोलनले कार्यदिशाको सवालमा नयाँ उचाइ प्राप्त गरेको यथार्थलाई कसैले नकार्न सक्दैन । यस्तो अवस्थामा वामपन्थी आन्दोलनलाई एकीकृत, सुदृढ र सक्षम बनाउनु हरेक वाम पार्टीका समर्थकहरूको साझा दायित्व र कर्तव्य हुनुपर्नेमा वामएकताको बहसलाई निष्क्रिय र निष्प्रभावी बनाउने वा खिल्ली उडाउने प्रयत्नले वाम आन्दोलनलाई अझ कमजोर बनाउने निश्चित छ ।

नीतिगत, कार्यक्रमिक र वैचारिक रूपमा अब नेपालका वाम पार्टीहरू निर्वाचनका माध्यमद्वारा श्रेष्ठता हासिल गर्दै समाजवादतर्फ जाने कार्यदिशामा एक ठाउँ उभिएको यो बखत उनीहरूबीच सहकार्य र एकता नहुनुपर्ने कुनै वस्तुगत आधार देखिँदैन । समाजको आमूल परिवर्तनका लागि वाम आन्दोलनको निरन्तरता चाहने वाम पार्टीका नेता–कार्यकर्ताहरू वाम आन्दोलनलाई एकीकृत र सुदृढ गर्न किन पनि चाहन्छन् भने, उनीहरू समग्र आन्दोलनका सहयात्री हुन् । वाम आन्दोलनको रक्षा र सुदृढीकरणका अगाडि कुन पार्टीमा कुन नेता कुन कालखण्डको प्रमुख थियो वा हुनेछ भन्ने सवाल त्यति महत्त्वको नहुनुपर्ने हो । तर आज नेपालका वाम पार्टीका नेताहरूको मूल प्रवृत्ति दक्षिणपन्थी शक्तिलाई नेता मानेर वा साथ दिएर अर्को सहयात्री वाम पार्टीलाई निषेध वा समाप्त पार्ने अभीष्ट बोकेर ठमठम हिँड्न खोजेको रूपमा प्रकट भएको देखिन्छ । लाग्छ, वाम आन्दोलनको झन्डा बोकेर उनीहरू वाम आन्दोलनलाई नै समाप्त पार्न लागिरहेका छन् ।

माओवादी र एकीकृत समाजवादी हिजो आफैंले वर्गशत्रुको प्रतिनिधि करार गरेको नेपाली कांग्रेससँग स्थायी गठबन्धन गरेर एमालेलाई कमजोर बनाउन गरिरहेको प्रयत्न र त्यसको प्रतिरोधस्वरूप कमल थापा वा महन्थ ठाकुरसँग पनि तालमेल हुन सक्छ भन्ने एमालेका कतिपय नेताको अभिव्यक्ति हेर्दा लाग्छ, ती दुवै प्रवृत्ति नेपालको वाम आन्दोलनलाई विसर्जन गर्न प्रतिस्पर्धा गरिरहेका छन् । फरक कित्तामा उभिएर वाम आन्दोलनलाई समाप्त पार्ने यो प्रवृत्तिलाई तिनले समयमै पहिचान गरेर नियन्त्रण गर्न सकेनन् भने तिनलाई कालिदास हुनबाट सायद कसैले जोगाउन सक्नेछैन । खास समयमा खास दलमा जन्मने खास प्रवृत्तिलाई आम प्रवृत्तिका रूपमा चित्रित गर्नु उपयुक्त हुँदैन । दलविशेषमा खास कालखण्डमा उग्रवामपन्थ वा दक्षिणपन्थ वा मध्यपन्थ जन्मन सक्छ तर त्यस्ता सबै प्रवृत्तिलाई चिर्न आलोचनात्मक चेतद्वारा प्रशिक्षित नेपालका वाम दलका नेता–कार्यकर्ताहरू सक्षम हुन्छन् भन्ने तथ्य इतिहासले पुष्टि गरिसकेको छ ।

नेपालमा पुँजीवादको विकल्पका रूपमा समाजवादी कित्तालाई अझ बलियो बनाउन समाजवादमा विश्वास गर्ने वाम दलहरूबीच आवश्यकता अनुसार तालमेल, सहकार्य र एकता आजको आवश्यकता हो । पुँजीवादमा विश्वास गर्ने गैरवाम दलहरूबीच पनि तालमेल वा सहकार्य भयो भने त्यो प्राकृतिक गठबन्धन हुनेछ र दलीय व्यवस्था सुदृढ गर्न त्यसले ऊर्जाको काम गर्नेछ । विचार र सिद्धान्तमा आधारित गठबन्धन बिलकुल स्वाभाविक मानिन्छ । तर अहिले विचार र सिद्धान्तको प्राकृतिक गठबन्धनको स्वाभाविक प्रक्रियालाई स्वार्थकेन्द्रित गैरराजनीतिक गठबन्धनले चुनौती दिन खोजिरहेको छ । हुँदाहुँदा अप्राकृतिक गठबन्धनको विस्तार अब पेसागत क्षेत्रमा समेत हुन थालेको छ । पेसागत क्षेत्रमा अप्राकृतिक गठबन्धनको कुरूप अनुहार नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा देखा परिसकेको छ । नेपाल बार स्वभाव र चरित्रका आधारमा प्रतिपक्षी आवाज मुखरित गर्ने बलियो नागरिक संस्था हो तर यो निर्वाचनमा नेपाल बारभित्र सत्ता गठबन्धन बनेको छ । प्रतिपक्षी चरित्रको नेपाल बारमा सत्ताको शक्ति बलियो बनाउने प्रयत्नलाई बौद्धिक भनिएका कानुन व्यवसायीहरूले कुन रूपमा लेलान्, त्यो त हेर्न बाँकी नै छ, तर नेपालका वाम दलहरू दक्षिणपन्थी शक्तिलाई नेता मानेर वा साथ दिएर आफैं कमजोर हुने खेलमा लाग्नुचाहिँ विडम्बनापूर्ण नै हो ।

अबको प्रतिस्पर्धा
नेपालमा पुँजीवादी कित्ता र समाजवादी कित्ताको साझा वर्गीय दुस्मन सामन्तवादी राज्यसत्ता जनबलको भरमा पतन भयो । त्यसयता गणतन्त्रात्मक शासन व्यवस्था र समाजवादमा जाने लक्ष्य लिएको संविधानसमेत जारी भइसकेको परिप्रेक्ष्यमा शक्ति सन्तुलन र राजनीतिक औचित्यका दृष्टिले पनि ती दुई कित्ताको साझा शत्रु कोही नभएकाले अबको युग समाजवादी र पुँजीवादी कित्ताबीच स्वस्थ प्रतिस्पर्धाको युग हो । यो युगीन दायित्वलाई स्मरण गर्दै प्राकृतिक र राजनीतिक गठबन्धन आजको आवश्यकता र औचित्य दुवै भएकाले जुन दल वा शक्तिले दर्शन र सिद्धान्तमा आधारित प्राकृतिक गठबन्धनलाई दुत्कार्छ, त्यो दल वा शक्तिको राजनीतिक भविष्य अन्योलग्रस्त हुने निश्चितप्राय: छ । प्राकृतिक र राजनीतिक गठबन्धनका दृष्टिबाट विश्लेषण गर्दा नेपाली कांग्रेसलाई ध्रुव मानेर गरिन लागेको गठबन्धन वा त्यसको प्रतिक्रियास्वरूप अर्को दक्षिणपन्थी शक्तिसँगको सहकार्यमा कुनै वाम दलले गर्ने गठबन्धन दुवै अप्राकृतिक र गैरराजनीतिक हुन् । त्यस्तो गठबन्धनले विचार र सिद्धान्तलाई होइन, नेताको अहंकार र पदलोलुपतालाई प्रोत्साहन गर्ने निश्चित छ । यसर्थ पुँजीवादी वा समाजवादी दुवै कित्ताका आलोचनात्मक चेत भएका नेता–कार्यकर्ताहरूले

आफ्नो दल वा नेतालाई अप्राकृतिक गठबन्धनका पक्षमा नउभिन खबरदारी गर्नु आवश्यक छ । कम्तीमा सामाजिक रूपान्तरण र आमूल परिवर्तनको झन्डा र नारा बोक्ने वाम दलमा आबद्ध नेता–कार्यकर्ताले साहसका साथ यो विषयको उठान गरे भने औचित्यपूर्ण प्राकृतिक गठबन्धन अहिले पनि सम्भव छ ।

इतिहासको एक मीमांसा
नेपालको वाम आन्दोलनको इतिहासलाई एमाले र गैरएमाले दुई धारामा राखेर विश्लेषण गर्दा, गैरएमाले धारामा कहिले पुष्पलालले, कहिले केशरजंग रायामाझीले, कहिले मोहनविक्रम सिंहले त कहिले प्रचण्डले नेतृत्व गरेको धार बलियो भएको देखिन्छ । अर्कातर्फ एमाले धाराको कुरा गर्दा, पुष्पलालको नेकपासँग विद्रोह गरेर जन्मिएको झापा आन्दोलन र त्यसको जगमा उभिएको तत्कालीन माले २०३० देखि २०४० को दशकसम्म बलियो भएको देखिन्छ । तत्पश्चात्

मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा मार्क्सवादी र माले एकीकृत भई २०४७ सालमा बनेको नेकपा एमालेको विकास, इतिहास, साख र विरासत अनि शक्ति आर्जनको एक प्रमुख कारण नै त्यसले छरिएर रहेका कम्युनिस्ट घटकहरूलाई एकीकृत गर्ने साहस र सामर्थ्य दुवै राख्न सक्नु थियो । एमालेले आफ्नो यो इतिहास र विरासतलाई भुल्ने हो भने त्यसको परिणामको पहिलो सिकार आफैं हुन सक्ने हेक्का राख्नु जरुरी छ ।

आफ्नो शक्तिको स्रोत झापा आन्दोलन र त्यसको नेतृत्व गर्ने अधिकांश नेता एमालेबाट बाहिरिएको वा निष्क्रिय भएको आजको दिनमा पनि एमाले नै सबभन्दा ठूलो वाम दल रहिरहनुको रहस्य अन्य ससाना वाम घटकलाई उसले निरन्तर आफूमा समाहित गर्ने सामर्थ्य राख्नु नै हो । अर्कातर्फ, एमालेले सन् १९९० को दशकमा विश्वव्यापी रूपमा धक्का खाएको कम्युनिस्ट आन्दोलनको प्रभावबाट शिक्षा लिँदै मदन भण्डारीको नेतृत्वमा कम्युनिस्ट आन्दोलनको मौलिक विचार जनताको बहुदलीय जनवादको विकास गर्‍यो । यी दुई कारण नै एमालेको शक्ति र संगठन विकासका खास आधार हुन् । त्यो विरासत, साख र संगठनलाई निरन्तरता दिन वामपन्थी शक्तिहरूबीच ध्रुवीकरण र विचारमा निरन्तर बहस र विमर्शको नेतृत्व गर्न समर्थ हुन सके एमालेको पुनरुदयको यात्रालाई पुँजीवादी कित्ताबाट खास चुनौती देखिँदैन ।

अबको सम्भावना
एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपा नेपालको वाम आन्दोलनको अनिवार्य बाटो थियो र हो । तर त्यसलाई एउटा सरकार वा एउटा निर्वाचनको साँघुरो घेराबाट मात्र हेरेर जुन हतारोका साथ एकता गरियो, त्यति नै अतालिएर विघटन पनि गरियो । नेकपाको विघटन राजनीतिक, सैद्धान्तिक र वैचारिक आधारमा भएको थिएन । मूलत: एमाले र माओवादी केन्द्रका दुई अध्यक्ष क्रमश: केपी ओली र प्रचण्ड दुई जनाको तुफानी हतारोका आधारमा गरिएको एकता सर्वोच्च अदालतका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको फैसलाका कारण विघटन भएको यथार्थलाई सम्भवत: कसैले पनि नकार्न सक्दैन । त्यसै गरी प्रतिनिधिसभाको विघटन र सर्वोच्च अदालतले गरेको पुन:स्थापनाका कारण एमालेको विभाजन भएको वा गरिएको कार्यकारणसँग पनि असहमत हुने ठाउँ छैन । यसरी हेर्दा नेकपाको विघटन र एमालेको विभाजन दुवैको साझा कारण प्रतिनिधिसभाको विघटन, त्यसपछि नेकपा विघटन गर्ने सर्वोच्च अदालतको फैसला थियो । यी दुवै आधार कारण न सैद्धान्तिक थिए न त वैचारिक नै ।

इतिहासको खास कालखण्डमा उत्पन्न भएका आवेग, उत्तेजना, गैरराजनीतिक चिन्तन र कार्यशैलीले गर्दा भएको नेकपा र प्रतिनिधिसभाको विघटनका कारण उत्पन्न असन्तोषलाई व्यवस्थापन गर्न नसकेर विभाजित एमालेको भावी गन्तव्य, उद्देश्य र लक्ष्यमा कुनै तात्त्विक भिन्नता नभएकाले भविष्यमा ती सबै धाराको सम्मिश्रण अनिवार्य छ । त्यो अनिवार्य परिणामलाई ख्याल गर्दै आसन्न निर्वाचनमा कम्तीमा तालमेल गरेर अघि बढ्ने हिम्मत एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले गर्ने हो भने त्यो प्राकृतिक–स्वाभाविक रूपान्तरणको आन्दोलनको ऊर्जा साबित हुनेछ । माधव नेपाल र प्रचण्डले शेरबहादुर देउवाको दौराको फेर समात्नुपर्ने र एमालेले अरू दक्षिणपन्थी शक्तिका साथ निर्वाचन लड्नुपर्ने स्थिति बन्नु भनेको नेपालको वाम आन्दोलनका लागि कालिदास प्रवृत्ति नै साबित हुनेछ । समय अझै घर्केको छैन ।

प्रकाशित : चैत्र १८, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?