यूएनदेखि सार्कसम्म : हिङ नभए पनि...

सहयोगका कुराहरू कूटनीतिक स्तरमा गरेर व्यावहारिक स्तरमा त्यसको ठीक विपरीत काम हुने गरेकै कारण संसारभरि संयुक्त राष्ट्रसंघ र सार्कजस्ता संस्थाहरू प्रायै निकम्मा भएका छन् ।
हर्कबहादुर छेत्री

रुसले अचानक युक्रेनमा हमला गर्‍यो । आक्रमण गर्ने र गरिमाग्नेबाहेक अरूलाई आक्रमणको मूल कारण थाहा थियो भन्न सकिन्न, अनुमान भने थियो- ‘तेलको लागि होला... !’ धेरै वर्षअघि कुवेतमा इराकको हमला अनि त्यसपछि इराकमा अमेरिकी हस्तक्षेपको घटना अझै नभुलेकाहरूमाझ यस्तो चर्चा भएको सुनियो ।

यूएनदेखि सार्कसम्म : हिङ नभए पनि...

संयुक्त राष्ट्रसंघ (यूएन) को चार्टरमा सदस्यराष्ट्रहरूलाई सेना प्रयोग गर्ने अनुमति छैन । चार्टरको धारा २(४) ले त्यो अनुमति दिँदैन । तर युक्रेनको एक भागका बासिन्दाहरूले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनको अत्याचारबाट आफूहरूलाई बचाउन गुहार लगाएपछि नै तिनले संयुक्त राष्ट्रसंघको चार्टरको धारा ५१ अनुरूप यो कदम उठाएको स्पष्टीकरण दिए । दोनेस्क र लुहान्स्कलाई दुई स्वाधीन राष्ट्रका रूपमा घोषणासम्बन्धी स्पष्टीकरणमा पुटिनले ती इलाकाका बासिन्दाले पनि आफूलाई युक्रेनको अत्याचारबाट बचाउन गुहार लगाएको कुरा गरे, तर संयुक्त राष्ट्रसंघको चार्टरको धारा ५१ ले यो अधिकार एउटा राज्यको कुनै भागका नागरिक होइन तर पूरै राष्ट्रको अनुरोधलाई मात्र संज्ञान लिनुपर्ने उल्लेख गरेका कारण पुटिनको स्पष्टीकरणको कुनै अर्थ नभएको बताएको छ ।

त्यसपछि राष्ट्रसंघीय सुरक्षा परिषद्मा रुसविरुद्ध ल्याइएको प्रस्तावमा भारतले हस्ताक्षर गरेन, सभामा अनुपस्थित रह्यो । रुस र भारतको सम्बन्ध धेरै पुरानो हो । भारतले सभामा भाग लिएर रुसविरुद्ध प्रस्तावनालाई समर्थन गरेको भए अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक हिसाब बेग्लै हुने थियो । यो कुरा रुस र भारत दुवैलाई थाहा छ, त्यसैले भारतमा रुसका राजदूतले तुरुन्तै रुसको पक्षबाट प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए ।

कुनै पनि युद्धका चार कारण हुन्छन् भन्ने तर्क दिएका थिए दार्शनिक बट्रान्ड रसेलले । उपनिवेशवादी युद्ध, आत्मरक्षाको युद्ध, सिद्धान्तको युद्ध अनि मर्यादाको युद्ध । यीमध्ये मर्यादाका निम्ति लडिने युद्ध कुनै पनि अवस्थामा स्वीकार्य हुनु हुँदैन भन्ने तिनको भनाइ थियो । पहिला दुई प्रकारका युद्धलाई रसेलले न्यायसंगत बताएका थिए भने तेस्रो, आत्मरक्षाका निम्ति लडिने, युद्धको समर्थन अनि विरोध बराबरी गरेका थिए । ‘मर्यादा अथवा सम्मानका निम्ति लडिने युद्धलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन ।’

सन् १९१६ मा प्रथम विश्वयुद्धको समय बेलायतका विश्वविद्यालयदेखि ट्र्याफलगेर स्क्वायरसम्म रसेल युद्धविरोधी प्रचार गरिहिँड्थे । युद्धले सभ्यताको स्तर तल झार्छ भन्ने तिनको तर्क थियो । आत्मरक्षाको निहुँमा पनि संसारभर धेरै युद्ध भएका छन् । ऐतिहासिक मन्तव्यहरूको सर्वेक्षण गरे थाहा पाइन्छ, गान्धी, ख्रिस्ट अनि लेखक टोल्सटोयबाहेक अरू सबैले आत्मरक्षाको युद्धलाई सही ठहर्‍याएका छन् । अझ पौराणिक र रोमनकालका युद्धहरू हेरे, जोसित धेर ध्वंसात्मक क्षमता छ, उसैलाई महानायक मानिएको दृष्टान्त पाइन्छ । नरसंहार गर्नेहरू कसरी श्रेष्ठ हुन सक्छन् भन्ने हाम्रो आधुनिक संवेदनाले त्यो स्वीकार गर्न सक्दैन । हत्याराहरू कसरी महान् हुन सक्छन् ? के आत्मरक्षा र राष्ट्रिय मर्यादाजस्ता शब्दहरू हत्या गर्ने लाइसेन्स हुन सक्छन् ?

असलमा कुनै पनि युद्ध लड्नलाई नै लडिन्छ । बौद्धिक प्राणी भएका कारण मानिसहरू कारणको आविष्कार गर्छन् । वास्तवमा भन्नुपर्दा, मानिसको लडाइँ र कुकुरको लडाइँमा कुनै पार्थक्य छैन । पार्थक्य यति हो कि, कुकुरहरू कारण बताउन सक्दैनन् । कुकुरहरू बौद्धिक भएका भए मानिसले झैं उनीहरू पनि लड्नुको व्याख्या दिने थिए । यस प्रकारको उदाहरण दार्शनिक रसेलले तिनको ट्र्याफलगेर स्क्वायरको वक्तव्यमा दिएका थिए ।

‘एउटा कुकुरले आफ्नो विशेष प्रकारको गन्ध किन अर्को कुकुरमा छैन भन्ने निहुँमा आक्रमण गर्ने थियो अनि अर्को कुकुरले कुकुर जातिको पारम्परिक गन्धलाई जोगाएर राख्ने संघर्षमा पछि नहट्ने तर्क दिने थियो । अझ अर्को कुकुरले सडकमा खुल्लासित हिँड्न पाउने चारखुट्टेको गणतान्त्रिक अधिकारको संरक्षणका निम्ति आफू सहिद हुन तयार रहेको तर्क राख्ने थियो ।’ रसेलको भनाइमा प्रथम विश्वयुद्ध त्योभन्दा धेर केही थिएन ।

तर तिनको ट्र्याफलगेर स्क्वायरको भाषणको भोलिपल्ट इंग्ल्यान्ड युद्धमा होमियो । रसेललाई पक्रेर जेल हाल्ने काम भयो । अनि तिनलाई भनियो, ‘जेलको एकान्तमा तिमीले आफ्नो

विचारको शुद्धीकरण गर्नुपर्छ ।’

यिनै पागल मानिएका अनि केवल युद्धविरोधी प्रचारका कारण ट्रिनिटी कलेजमा आफ्नो पद गुमाउन बाध्य बनाइएका रसेल अनि तिनका मित्रहरूकै - जसमा प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन, सिग्मन्ड फ्रायड पनि थिए - प्रयासका कारण १० जनवरी १९२० मा ‘लिग अफ नेसन्स’ को गठन भयो । ‘पेरिस पिस कन्फरेन्स’ को परिणामस्वरूप गठन भएको शान्ति र सुरक्षाको यो प्रथम अन्तर्राष्ट्रिय संगठन थियो जसको कार्यकालमा वितर्कित ‘भर्साइलिसको सन्धि’ हस्ताक्षर भएको थियो । प्रथम विश्वयुद्धको सम्पूर्ण जिम्मेवारी यस सन्धिले जर्मनी र जर्मनीसित जडित राष्ट्रहरूमा थोपेरर युद्धले गरेको खतीको भरपाई गर्ने जिम्मा जर्मनीको टाउकामा हालिदिएको थियो । अर्थात्, भविष्यमा हिटलरको जन्मको परिवेश यही सन्धिले तयार पारेको थियो । शक्तिशाली हुने लोभमा जब राष्ट्रहरू आपस्तमा समानताको साटो भिन्नता खोज्न थाल्छन्, संघर्षको सूत्रपात त्यहीँबाट हुन्छ । भर्साइलिसको सन्धिले जलाएको जर्मनीकै उर्वर भूमिबाट कालान्तरमा विशुद्ध आर्य जातिको नारा लिएर हिटलर अघि आए । ‘लिग अफ नेसन्स’ अमेरिका र युरोपका केही राष्ट्रको कठपुतली भएको गुनासोसितै जर्मनी, इटाली अनि जापानहरू ‘लिग’ बाट बाहिरिए । यस्तो परिस्थितिमा अमेरिका पनि लिगबाट टाढै बस्यो । द्वितीय विश्वयुद्धको घमासान सुरु भइसकेको थियो । लिग निकम्मा साबित भएपछि द्वितीय विश्वयुद्धलगत्तै २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको गठन भयो । संसारका ५१ राष्ट्र सदस्य भएको यस संगठनले प्रभावशाली ढंगमा आफ्नो काम गर्ला भन्ने आशा सबैले राखेका थिए । ‘लिग अफ नेसन्स’ का धेरै बुँदा यस नयाँ संगठनमा समाहित थिए । शान्ति, विकास अनि राष्ट्रहरूमा आपसी मित्रता नै नयाँ संगठनको मूल लक्ष्य थियो । संगठनलाई सुरुमा आकार दिने काम अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजभेल्ट अनि बेलायती प्रधानमन्त्री चर्चिलले गरेका थिए ।

तर त्यो बिस्तारै शीतयुद्धले संसारलाई दुई भागमा विभक्त गर्न थालेको समय थियो । सन् १९५० देखि नै केही राष्ट्र अमेरिका र सोभियत संघबाट आफैंलाई अलग राखेर ध्रुवीकरणको राजनीतिबाट जोगिने प्रयासमा थिए । त्यही प्रयासको फलस्वरूप सन् १९६१ आइपुग्दा युगोस्लाभियाको तत्परतामा प्रथम असंलग्न देशहरूको संगठन खडा भयो अनि बेलग्रेडमा प्रथम ‘नन एलाइन्मेन्ट मुभमेन्ट (नाम)’ सम्मेलन भयो । शीतयुद्धलाई केही हदसम्म नियन्त्रण गर्नुदेखि क्षेत्रीय समस्याहरूको समाधान गर्नसम्ममा ‘नाम’ ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । तर सोभियत संघको विघटनसितै ‘नाम’ को सान्दर्भिकता पनि गौण भएर गयो ।

अन्तर्राष्ट्रिय स्तरका संगठनहरूको चार्टरमा धेरै थोक लेखिएका हुन्छन् जो पढ्दा उक्त संगठन असाध्यै शक्तिशाली प्रतीत हुन्छ । तर यी बुँदाहरूलाई राष्ट्रहरूले कहिल्यै अक्षरशः पालना गर्दैनन् । शक्तिशाली राष्ट्रहरूले नै चार्टरका प्रावधानहरूको अपव्याख्या गरेको देखिएको छ । ऐतिहासिक समयमा दार्शनिक प्लेटोले भनेका थिए, ‘कानुन माकुराको जालो हो जसमा केवल झिँगा अनि ससाना कीराहरू फस्छन् । बाघ र सिंहहरूलाई त्यस जालोले केही गर्न सक्दैन, उल्टै उनीहरू त माकुरासितै जालोलाई पनि सोहोरेर कामै नलाग्ने एकै डल्लो पार्न सक्छन् ।’ प्लेटोको यो कथनलाई विश्वका शक्तिशाली देशहरूले धेरैपल्ट प्रमाण गरिसकेका छन् । वर्तमानकै दृष्टान्त हेरौं ।

सन् १९५७, १९६२, १९६५ अनि १९७१ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा कश्मीरको समस्या उठेको थियो । संयुक्त राष्ट्रसंघले हस्तक्षेप गरिदेओस् भन्ने पाकिस्तानको अनुरोधमा यस्तो प्रस्ताव पेस भएको थियो । भारत यो समस्यालाई द्विपक्षीय स्तरमै समाधान गर्नुपर्छ भनेर प्रस्तावको विरोधमा थियो । चारैपल्ट सोभियत संघले प्रस्तावलाई भिटो गरेर खारेज गर्नमा सहायता गर्‍यो । त्यति मात्र होइन, सन् १९६१ मा गोवालाई पोर्चुगालीहरूको हातबाट मुक्त गर्दा पनि संयुक्त राष्ट्रसंघमा भारतविरुद्ध ल्याइएको प्रस्तावलाई सोभियत संघले भिटो प्रयोग गरेर खारेज गरेको थियो । दुई वर्षअघि २०१९ मा, जब भारतले कश्मीरमा धारा ३७० हटायो, विरोधमा पाकिस्तानकै तत्परतामा पुनः संयुक्त राष्ट्रसंघमा यो मुद्दा प्रस्तुत गरिएको थियो तर कश्मीरको मुद्दालाई सन् १९७२ को शिमला सम्झौता अनि १९९९ को लाहोर घोषणाअनुरूप समाधान गर्नुपर्छ भन्ने तर्कसितै त्यो प्रस्तावनामाथि पनि रुसले भिटो अधिकार प्रयोग गर्‍यो । यत्तिको गुन लगाउने रुसविरुद्ध भारतले कसरी संयुक्त राष्ट्रसंघको प्रस्तावको समर्थनमा मतदान गर्न सक्थ्यो ?

क्षेत्रीय सहयोगको उद्देश्य लिएर बनेका संगठनहरूको पनि कथा यही हो । दक्षिण एसियाली क्षेत्रीय सहयोगको उद्देश्य लिएर बनेको ‘सार्क’ कै इतिहासलाई अलिकति पल्टाएर हेरौं ।

८ डिसेम्बर १९८५ मा सार्कको प्रथम अधिवेशन बंगलादेशको राजधानी ढाकामा भएको थियो । लिट्टेका प्रभाकरन जाफ्नालाई श्रीलंकाबाट छुट्याएर अलग तामिल देश बनाउने गुरिल्ला युद्धमा चुर्लुम्मै थिए । यहीबीच भारतले श्रीलंकामा शान्ति सेना पठाउने निधो गर्‍यो । मे १९९१ मा चुनाव प्रचारमा दक्षिण भारत गएका राजीव गान्धीलाई तामिल टाइगरका कार्यकर्ताहरूले बमले उडाइदिए । दक्षिण एसियामा विकास र शान्तिको उद्देश्यले बनेको सार्क सम्मेलनले यस प्रकारको आतंकवाद रोक्न कुनै ठोस कदम चाल्न वा निर्णय लिन सकेको देखिएन किनकि छिमेकी राष्ट्रहरूमा कसैकसैले आतंकवादलाई समेत ‘गुड टेररिज्म’ अनि ‘ब्याड टेररिज्म’ भनेर परिभाषित गर्न थालिसकेका थिए । भारतमा अटलबिहारी वाजपेयी अनि मनमोहन सिंह प्रधानमन्त्री भएका बेला भारत–पाकिस्तान सम्बन्धमा केही सुधार आएको थियो । दिल्लीदेखि लाहोरसम्म बस सेवा वाजपेयीले सुरु गरेका थिए । वाजपेयीपछि तिनको ‘नक्शे कदम’ पहिल्याउने त्यस्तै विशाल र उदार व्यक्तित्व प्रधानमन्त्रीका रूपमा भारतले पाएन । पाकिस्तानी गजल गायक मेहदी हसनको मृत्यु हुँदा वाजपेयीले देशको राष्ट्रिय झन्डा एक दिनका निम्ति आधा झारेर शोक व्यक्त गरेका थिए । कट्टर हिन्दुवादी दलका प्रधानमन्त्रीबाट यस प्रकारको उदारताको प्रदर्शन संसारलाई चकित पार्ने प्रकारको थियो । सहयोग अनि सहअस्तित्वको साँचो भावना कसरी जागृत गर्नुपर्छ भन्ने कुरा वाजपेयीलाई थाहा थियो । दक्षिण एसियाका राष्ट्रहरू आपसी सहयोगद्वारा अघि बढ्न सक्छन् भन्ने अवधारणामा बनेको संगठनले सुरुआती दिनदेखि नै समस्याको सामना गर्नुपर्‍यो । सामूहिक स्वार्थका कुराहरू चार्टरमा लेखिएकै भए पनि आफ्नै स्वार्थको सुरक्षालाई सदस्यराष्ट्रहरूले प्राथमिकता दिएका प्रशस्तै उदाहरण देखिए ।

यस्तै पृष्ठभूमिमा २०१६ को नोभेम्बर १५–१९ मा तय भएको सार्क शिखर सम्मेलन सम्भव हुन सकेन । १८ सेप्टेम्बर २०१६ मा जम्मु–कश्मीरको उरी सैनिक शिविरमा आतंकवादी हमला भयो । जवानहरू मारिए । यस्तो परिस्थितिमा पाकिस्तानको इस्लामाबादमा हुने शिखर सम्मेलनबाट भारतले आफैंलाई अलग राख्यो । पाकिस्तानलाई इंगित गर्दै बंगलादेशले पनि सीमापारिबाट निरन्तर देशभित्र समस्या सिर्जना भइरहेको कारण देखाई आफू उपस्थित हुन नसक्ने सन्देश नेपाललाई पठायो । अफगानिस्तान अनि भुटान पनि पाकिस्तान नजाने भए । क्षेत्रीय सहयोग–समन्वयलाई केन्द्रमा राखेर बनेको, आठ राष्ट्र सदस्य भएको सार्क चार–चार राष्ट्रमा विभाजित भयो । कुनै एउटा राष्ट्र कुनै कारणले सम्मेलनमा उपस्थित हुन नसके सम्मेलनलाई स्थगित गर्न सकिन्छ भन्ने प्रावधान सार्कको चार्टरमा भएका कारण सम्मेलन स्थगित भयो । क्षेत्रीय समस्याहरू समाधान गर्न बनेको संगठन आफैं घरीघरी संयुक्त राष्ट्रसंघमा झगडा लिएर पञ्चायत मिलाइमाग्न दगुरेपछि त्यो संस्थाको महत्त्व कति रहन्छ ? लगभग शताब्दीअघि दार्शनिक रसेलले भनेझैं, भारत–पाकिस्तानको संघर्ष मर्यादाको संघर्षभन्दा धेर केही होइन । सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश बन्नुमा भारतको ठूलो हात थियो । पाकिस्तानसित त्यस युद्धमा लडेर फर्केका सैनिकहरू समयसमयमा आतंकवादबारे आयोजित टीभी बहसमा देखिन्छन् । मुक्ति वाहिनी सेनामा हुँदा आफूहरूले कसरी पाकिस्तानी सेनालाई धूलो चटाएका थियौं भन्ने स्मरण गर्दै राष्ट्रिय च्यानलमा उनीहरू घमन्डसित भन्छन्, ‘भूल गए कि किस तरह से भाग खडे हुए थे ? अब भी दोदो हाथ करने के लिए हम तैयार हैं ।’ अनि पाकिस्तान र इस्लामलाई एकसाथ जोडेर भारतमा वर्तमान राजनीति चलिरहेछ ।

यथार्थतः बंगलादेशको गठनमा भारतको भूमिका पाकिस्तानले भुल्न सकेको छैन । राष्ट्रिय मर्यादामा ठेस लागेको अनुभव गरेको पाकिस्तान भारतलाई सानै भए पनि निरन्तर चोट दिएर आफ्नो

घाइते आत्मसम्मानलाई सन्तुष्ट पार्न चाहन्छ । सन् १९४७ मा भारत विभाजन हुँदा बंगलाभाषी मुस्लिमहरूले पाकिस्तान रोजेका थिए । उनीहरूको यस्तो निर्णयको पछि धर्म नै एक मात्र कारण थियो । तर भाषा र जातिका आधारमा पश्चिम पाकिस्तानका पन्जाबी अनि पख्तुनहरूको दमनकारी नीतिले पीडित पूर्वी पाकिस्तानका बंगाली मुस्लिमहरूलाई धर्मभन्दा भाषा र संस्कृति महत्त्वपूर्ण तत्त्व लाग्यो अनि त्यसैका आधारमा उनीहरू एकजुट भएर पश्चिमी पाकिस्तानीविरुद्ध मुक्ति आन्दोलनमा उभिए । कुनै पनि जातिको परिचयको कुरा स्थिर होइन तर त्यो आवश्यकताअनुसार एकदेखि अर्को तत्त्वमा बसाइँ सरिरहन्छ भन्ने तर्क अमर्त्य सेनले दिएका छन्, ‘आइडेन्टिटी एन्ड भायोलेन्स, द इल्युजन अफ डेस्टिनी’ मा ।

बंगलादेशकी लेखिका तसलिमा नसरिनले ‘लज्जा’ पुस्तकमा हिन्दु परिवारमाथि भएको अत्याचारबारे लेख्दा सन् १९९४ मा बंगलादेश छाड्नुपर्‍यो । भारतले शरण दियो । तर त्यो विशुद्ध मानवीय कारणको साटो मुस्लिम राष्ट्रमा हिन्दु नागरिकले कस्तो आपत्को सामना गर्नुपर्छ भन्ने कुरासँगसँगै आफ्नो उदारताको प्रचारको पनि राम्रो अवसर थियो जसलाई भारतले गुमाउन चाहेन । यस्तो ‘सेलेक्टिभ जेनेरोसिटी’ का छिटफुट घटनाहरू सार्क सदस्यराष्ट्रहरूमा देखिने गर्छन् जसलाई प्रचार गर्न सम्बन्धित राष्ट्रहरू समय गुमाउँदैनन् । तर उदारताका व्यक्तिगत उदाहरणलाई

षड्यन्त्रको संगठित परिकल्पनाले कहिल्यै उँभो उठ्न दिँदैन । राष्ट्रिय च्यानलहरूमा जबजब कश्मीरको खबर सुनिन्छ, नेपथ्यमा बन्दुकको आवाज सुनिएन भने त्यो कश्मीरकै खबर हो भनेर विश्वास गर्न गाह्रो हुन्छ ।

सीमाका वल्लो र पल्लो छेउमा त्यही दुस्मनीको भावनालाई उक्साएर राजनीति गरिन्छ । लाभ कसलाई हुन्छ त भन्ने कुरा एक पाकिस्तानी शायरले खुबै स्पष्टसित वर्णन गरेका छन्-

ईश्वर की पूजा हो या खुदा की इबादत
हर खेल का मैदान इधर भी है उधर भी ।
हिन्दु मजे में है, मुसलमान मजे में है
इन्सान परेसां, इधर भी है उधर भी ।

अन्तर्राष्ट्रिय सम्बन्ध अनि राजनीतिका अध्येताहरूले यसलाई जस्तोसुकै प्राविधिक नाम दिएर बुझ्नै नसकिने बनाए पनि भारत र पाकिस्तानबाहेक आठसदस्यीय सार्कमा अर्को कुनै राष्ट्रका कारण सार्क सम्मेलन स्थगित आजसम्म भएको छैन । एकातिर इस्लामाबादमा हुने उन्नाइसौं सार्क सम्मेलन भएन तर भारत र पाकिस्तानबीच सन् १९४७ देखि सुरु भएको तनाव १९४८, १९६५, १९७१ देखि १९९९ को कारगिल युद्धसम्म तन्किएर जाँदा दुवै देशले आआफ्ना परमाणु हतियार विकास गरे । पाकिस्तानी राष्ट्रपति मुसर्रफ र जरदारी हुँदै प्रधानमन्त्री गिलानीसम्म शान्ति र मैत्रीको वार्ता चलिरह्यो तर हात लाग्यो शून्य । यसबीच शिव सेना समर्थकले भारत–पाक क्रिकेट म्याच नहोस् भनेर मुम्बईको वानखेडे स्टेडियममा क्रिकेट पिच खने, सन् २०१३ मा मुम्बईमा हुने गजल सम्राट् गुलाम अलीको कार्यक्रम रद्द गराइछाडे । पछि त्यही कार्यक्रम पश्चिम बंगालकी मुख्यमन्त्रीको प्रयासमा त्यही वर्ष कलकत्तामा आयोजना गरियो । विधायक हुनुको नातामा, कलकत्ताको नेताजी इन्डोर स्टेडियममा आयोजित उक्त कार्यक्रममा म पनि उपस्थित थिएँ । त्यस समय गजल पेस गर्नुअघि गुलाम अलीले भनेका थिए, ‘काश, पाकिस्तान और भारत बंगाल से कुछ सीख लेते !’

पाकिस्तानलाई सबक सिकाउन भारतले पाकिस्तानसित गरेको ‘सिन्धु जल परियोजना’ धेरै परिवर्तन गर्ने प्रयास गर्‍यो अनि यसो गर्दा पाकिस्तानका नागरिकको साटो पाकिस्तानी व्यवस्थालाई चोट पुर्‍याउने उद्देश्य थियो जसको उस्तो प्रभाव पाकिस्तानलाई परेन ।

मूल कुरा त के भने, पाकिस्तान र भारतमाझ आयात–निर्यातको आकार नगण्य छ । जबसम्म कुनै पनि सम्झौता अनि जुनै पनि स्तरमा किन नहोस्, उल्लंघन हुँदा उल्लंघन गर्ने पक्षले ठूलो आर्थिक क्षति बेहोर्नुपर्दैन तबसम्म त्यस्ता सम्झौतालाई कसैले पनि गम्भीरतासित नलिएको देखिएको छ । भारतको सबैभन्दा बढ्ता व्यापार अमेरिका, चीन, यूएई, साउदी अरबसित भएको देखिन्छ । सन् २०१७ को आयात–निर्यातको प्रतिशत अध्ययन गर्ने हो भने १३ वटा एसियाली अनि अफ्रिकी राष्ट्रको सूचीमा पाकिस्तानको नाम छैन । यसले के बताउँछ ? वर्षदिनअघि हो गल्वान घाँटीमा भारतीय अनि चिनियाँ सिपाहीमाझ घम्साघम्सी भएको, तर चीन भारतसितको व्यापारमा ८१ अर्ब डलरको साझेदारीमा भएका कारण कहिल्यै कुनै प्रकारको झडप हुँदा त्यो पराकाष्ठामा पुग्नुअघि नै समाधान सूत्र खोज्ने काम हुन्छ । पाकिस्तानसित तुलनात्मक दृष्टिकोणबाट हेर्दा व्यापारको आकार मात्र ३ अर्ब डलरको छ । पाकिस्तानले कश्मीरको कुरा गर्नासाथ भारतले बलुचिस्तान र पाकिस्तानमा अहमदिया मुस्लिममाथि भएका अत्याचारको कुरा उठाइहाल्छ ।

सहयोगका कुराहरू कूटनीतिक स्तरमा गरेर व्यावहारिक स्तरमा त्यसको ठीक विपरीत काम हुने गरेकै कारण संसारभरि संयुक्त राष्ट्रसंघ र सार्कजस्ता संस्थाहरू प्रायै निकम्मा भएका छन् । हामीले भर्खरै संयुक्त राष्ट्रसंघजस्तो शक्तिशाली ठानेको संस्था पनि कति असहाय रहेछ भनी आफ्नै आँखाले देख्यौं भने सार्कझैं अविकसित देशहरूद्वारा गठित संगठनको त झन् के कुरा ! उही, हिङ नभए पनि हिङ बाँधेको टालो !

भारतको कालेबुङ निवासी क्षेत्री पश्चिम बंगाल राज्यका पूर्वविधायक हुन् ।

प्रकाशित : चैत्र १६, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?