कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अनि खयरले नाम पायो ‘सेनेगालिया क्याटचु’

नेपालीले आनुवंशिक अध्ययन क्षेत्रमा गर्ने अध्ययन भनेको विदेशमा अरूले गरेका अध्ययन नतिजा अद्यावधिक गर्ने मात्र हो, जसबाट वनस्पति अध्ययन–अनुसन्धान क्षेत्रमा नेपाल कहाँ छ भन्ने प्रस्ट हुन्छ । 
कमल मादेन

कमल अधिकारीको ‘तामाङ समुदायको परम्परागत ज्ञान र मुख्य उपचार पद्धतिहरू’ पुस्तकमा जैविक तथा अजैविक वस्तुको उपयोगबारे दैनान्दिन आउने समस्याका निम्ति उपयोगी जानकारी छ । मकवानपुरमा हातखुट्टा मर्किंदा वा भाँचिँदा खयरको बोक्राको लेप लगाइँदो रहेछ । खयर पतझड प्रकृतिको रूख हो । यसको काठबाट खाने पानका लागि कत्थालगायत अनेकन् औद्योगिक वस्तु बन्छन् ।

अनि खयरले नाम पायो ‘सेनेगालिया क्याटचु’

मकवानपुरको डाँडाबासका तामाङ समुदायले जीउ दुखे खयरको रक्सीले मालिस गर्दा रहेछन् । मैले करिब अढाई दशकअघि यसको वैज्ञानिक नाम ‘एकासिया क्याटचु’ पढेको थिएँ र वन ऐन–२०४९ अनुसार नेपालको एउटा संरक्षित वनस्पति भनेर थाहा पाएको थिएँ । हिजोआज यसको परिवर्तित वैज्ञानिक नाम ‘सेनेगालिया क्याटचु’ हो । खयरको वैज्ञानिक नाम मात्र बदलिएको होइन, पछिल्लो तथ्यांकअनुसार एकासिया जातिअन्तर्गत नेपालका सबै प्रजातिका नाम परिवर्तन भइसकेका छन् । तीमध्ये सेनेगालिया र बेचलिया जातिमा क्रमशः ७ र ३ प्रजाति समाहित छन् । यी जातिका वनस्पतिहरू दक्षिण अमेरिका, मेक्सिको, अफ्रिका, दक्षिण तथा दक्षिणपूर्वी एसिया र अस्ट्रेलियामा पाइन्छन् । सेनेगालिया क्याटचु भने पाकिस्तान, भारत, नेपाल, बंगलादेश, दक्षिणपूर्वी चीन, म्यान्मार र थाइल्यान्डमा पाइन्छ ।

एकासिया जातिका वनस्पतिहरू अस्ट्रेलिया, दक्षिणपूर्व एसियाका समुद्री द्वीपका देशहरूसहित मादागास्करमा पाइन्छन् । सन् २०२१ मा प्रकाशित ‘सिनोप्टिक ओभरभ्यु अफ इक्जोटिक एक्यासिया, सेनेगालिया एन्ड बेचलिया इन इजिप्ट’ लेखमा एकासियाको पछिल्लो तथ्यांक छ । विगत ६० वर्षे अवधिमा एकासिया जातिको वनस्पतिको बाहिरीस्वरूप तथा आनुवंशिक अध्ययन गरेपछि यसअन्तर्गतका प्रजाति एकासियासहित कम्तीमा ७ जातिमा समाहित गरिएका छन् । तर, सन् २०१९ अघिसम्म लेखिएका हाम्रा सबै पुस्तकमा बेचलिया र सेनेगालियाबारे कतै उल्लेख छैन । वास्तविकतामा एकासिया त सेनेगालिया र बेचलियाको सहगोत्री जाति मात्र रहेछ । यी तीनवटै भिन्नाभिन्नै कालखण्डमा भिन्नाभिन्नै भूभागमा उद्विकास भएका हुन् । एकै परिवारअन्तर्गतका वनस्पति उद्विकास क्रममा तब दुई भिन्न जातिमा परिणत हुन्छन्, जब ती दुईबीचको बनावट निकै फरक हुन्छ र तिनीहरूबीच प्रजनन प्रक्रिया हुँदैन । हुन त स्पेसिस कन्सेप्टमा प्रजनन प्रक्रिया नहुने दुई वनस्पति वा जन्तुलाई फरक–फरक प्रजाति मानिन्छ तर केही फरक प्रजातिबीच प्रजनन प्रक्रिया हुन्छ ।

बेचलिया
नेपालमा बेचलियाका तीन प्रजाति र एक उप–प्रजाति छन् । तीमध्ये एउटा प्रजाति बेचलिय फर्निसियना हो । यसलाई हालसालै मात्र एकासिया जातिबाट छुट्याइएको होइन । यो वनस्पतिलाई कार्ल लिन्नियसले सन् १७५३ मा माइमोसा फर्निसियना नाम दिएका थिए । उनलाई वनस्पति तथा जन्तु वर्गीकरण, पहिचान र नामकरण विद्याका पिता मानिन्छ । कार्ल लुड्विग वोन विल्डेनोले माइमोसा फर्निसियनाको नमुना अध्ययन गरे । उनले त्यो नमुना माइमोसा जातिसँग नमिल्ने बरु एकासिया जातिसँग मिल्दोजुल्दो पाए । त्यसपछि सन् १८०६ मा यसको वैज्ञानिक नाम एकासिया फर्निसियना बनाए ।

विल्डेनोले गरेको नामकरणप्रति स्कटल्यान्डका रोबर्ट विट र जर्ज अर्नोट वल्कर–अर्नोटले सन्देह गरे । उनीहरूले नमुनाको थप अध्ययन गरे । ती दुईले उक्त वनस्पतिलाई माइमोसा र एकासिया जातिभन्दा भिन्नै पाए । साथै, यो वनस्पति सम्बद्ध परिवारको अर्को कुनै वनस्पति जातिसँग मिल्दोजुल्दो नभएको निर्क्योल गरे । यसको अर्थ, त्यो नयाँ वनस्पति जाति थियो । त्यस बेला बेलायतका अध्येता जी वेचल चीन र जापानमा माछाको अध्ययन गरिरहेका थिए । उनले विश्वकै निम्ति माछाका कैयौं नयाँ प्रजाति संकलन गरिरहेका थिए । विट र वल्कर–अर्नोले त्यो नयाँ वनस्पति जातिलाई उनैको सम्मानमा कार्ल लिन्नियसले नामकरण गरेको माइमोसा फर्निसियनालाई बेचलिया फर्निसियनामा परिणत गरे । त्यसउप्रान्त यसको सही वैज्ञानिक नाम यही हो ।

यता यो वनस्पतिको नमुना बेलायतका जेडीए स्टेन्टनले मध्य नेपालमा संकलन गरे (हेर्नुस्, ‘एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’, भोल्युम २, पृष्ठ १०३, सन् १९७९) । तर, नाम एकासिया फर्निसियना लेखियो । यसपछि नेपालमा यसको नाम एकासिया फर्निसियना लेखेर पुस्तक तथा लेखहरू प्रकाशित भए । अन्ततः, केशवराज राजभण्डारी र सञ्जीवकुमारले लेखेको एवं वनस्पति विभागले सन् २०१९ मा प्रकाशन गरेको ‘अ ह्यान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोल्युम टु’ मा यसको सही नाम बेचलिया फर्निसियना पहिलोपटक लेखियो । बेचलिया जातिअन्तर्गतका अन्य प्रजातिका नामहरू पनि यही पुस्तकमा अद्यावधिक गरिएका छन् ।

सेनेगालिया
अफ्रिकी महादेशको उत्तरपश्चिमी समुद्री किनारामा रहेको सेनेगलबाट वनस्पतिको एक जाति सेनेगालिया बनेको हो । दक्षिण र दक्षिणपूर्वी एसियामा मात्र पाइने खयरको वैज्ञानिक नाम कसरी सेनेगलसँग जोडिन पुग्यो, यो अध्येतादेखि सामान्य पाठकसम्मका निम्ति कौतूहलको विषय हो । यसको कथा निकै घुमाउरो छ । यो कथा पनि कार्ल लिन्नियससँग जोडिन्छ । लिन्नियसले सेनेगलबाट संकलन भएको एक वनस्पतिलाई सन् १७५३ मा माइमोसा सेनेगल नाम दिएका थिए । त्यो नमुना विल्डेनाले अध्ययन गरे । उनलाई त्यो नमुना एकासिया जातिसँग मिल्दोजुल्दो लाग्यो । यसैले त्यसको नाम सन् १८०६ मा एकासिया सेनेगल बनाइदिए ।

यत्तिकैमा वनस्पतिविज्ञहरूको चित्त बुझेन । फेरि त्यो नमुना एक फ्रेन्च अध्येताले अध्ययन गरे । उनी त्यो नमुना माइमोसा र एकासिया दुवै नभएको निष्कर्षमा पुगे । रमाइलो के भयो भने, त्यो पनि अन्य जातिभन्दा पृथक् थियो, जसका निम्ति छुट्टै जातिनाम जुराउनुपर्ने भयो । त्यो नमुना सर्वप्रथम सेनेगलबाट संकलन भएकाले अध्येताले नयाँ जातिको नाम सेनेगलबाट सेनेगालिया बनाए । त्यसपछि, त्यसको नाम सेनेगालिया सेनेगल रहन गयो ।

खयरको नाम सेनेगालिया क्याटचु रहन गएको प्रसंग पनि निकै रोचक छ । कार्ल लिन्नियसले सन् १७७२ मा यसको नामकरण माइमोसा क्याटचु गरेका थिए । त्यो नमुनालाई फेरि विल्डेनोले नै अध्ययन गरे । विल्डेनोले यसलाई एकासिया जातिको वनस्पति ठान्दै सन् १८०६ मा एकासिया क्याटचु नामकरण गरे । जेडीए स्टेन्टन र एलएचजे विलियम्सले १९ औं शताब्दीको ६० को दशकमा नेपालमा यसको नमुना संकलन गरे (‘एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोल्युम २’) ।

तर, खयर एकासिया जातिअन्तर्गत नभई सेनेगालिया जातिको वनस्पति हो भन्ने पहिलो जानकारी सन् २००८ मा डेभिड मार्बर्लिजको ‘प्लान्ट–बुक’ को तेस्रो संस्करणमा प्रकाशित भयो । त्यसपछि सो जानकारी सन् २०१९ मा ‘अ ह्यान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोल्युम टु’ मा प्रकाशित भयो । हुन त नेपालमा रहेका अन्य एकासियाका वनस्पति विश्वस्तरमा सन् १९२८, २०१२, २०१३ र २०१४ सेनेगालियामा समाहित गरिएको अभिलेख पाइन्छ तर नेपालसम्बन्धी लेखिएको पुस्तकमा भने एकमुस्ट रूपमा सन् २०१९ मा मात्र प्रकाशित भएको हो ।

बेचलिया र सेनेगालियामा भिन्नता
पहिले नेपाली वनस्पति अध्येताले एकासिया जातिका वनस्पति सजिलै चिन्थे । भलै, तिनीहरूको सही पहिचान भएको थिएन । पछिल्ला वर्षहरूमा भने तिनीहरू बेचलिया र सेनेगालियामा बदलिएपछि पहिचान गर्न असहजता भयो । बेचलिया र सेनेगालिया कुनकुन हुन् भनेर खुट्याउन गाह्रो छ । पहिले एकै जाति तर अहिले भिन्न जातिमा समाहित भएपछि ती दुईबीच भिन्नता छ । अन्यथा, तिनीहरू फरक जातिका हुनै सक्दैनन् ।

बेचलिया र सेनेगालियाबीच नियालेर अवलोकन गरे निकै भिन्नता देखिने सन् २०१३ मा प्रकाशित ‘फाइलोजेनेटिक पोजिसन एन्ड रिभाइज्ड क्लासिफिकेसन अफ एकासिया सेन्सु लाटो इन अफ्रिका, इन्क्लुडिङ न्यु कम्बिनेसन इन बेचलिया एन्ड सेनेगालिया’ लेखबाट थाहा पाइन्छ । तर, यसका निम्ति वनस्पति पहिचानसम्बन्धी आधारभूत शब्दहरूको जानकारी हुनुपर्छ । उल्लिखित लेखमा प्रिक्कलस, स्टिपुलर स्पाइन, पोलेन एपचर टाइप आदिमा फरक रहेको जनाइएको छ ।

सेनेगालियामा स्टिपुलर स्पाइन हुँदैन भन्ने लेखिए पनि ‘फ्लोरा अफ चाइना’ मा एकासिया क्याटचुमा स्टिपुलर स्पाइन हुँदैन र भएकामा अलि तल हुन्छ भनिएको छ । उहिले वनस्पति वा जन्तुको मूलतः बाहिरी संरचना मात्र अध्ययन गरिन्थ्यो । अचेल आनुवंशिक तह पनि अध्ययन गरिन्छ । योबाहेक स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोपीबाट अत्यन्त स–साना संरचनाको अध्ययन गरिन्छ । यस्ता अध्ययनमा कुनै एक जातिअन्तर्गतका प्रजातिको संरचना कुनै अर्कै जातिसँग मिल्न पुग्छ । यसरी, एक जातिको संरचना अर्को जातिसँग मिल्न गयो भने त्यो प्रजातिलाई संरचना मिल्ने जातिमा स्थानान्तरण गरिन्छ । एकासियाका प्रजातिहरू बेचलिया र सेनेगल जातिमा स्थानान्तरण गरिनुको मुख्य कारण यही हो ।

हिजोआज वनस्पति अध्ययनमा आनुवंशिक विश्लेषण तथा स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोपी विधि प्रयोग हुन्छ । तर, नेपालमा यसरी अध्ययन थालिएको छैन । हुन त एकाध ठाउँमा यस्ता उपकरण ल्याइएका छन् तर तिनबाट काम भइरहेको छैन । यही कारण हाम्रो वनस्पति अध्ययन कमजोर छ । नेपालीले आनुवंशिक क्षेत्रमा गर्ने अध्ययन भनेको विदेशमा अरूले गरेका अध्ययन नतिजा अद्यावधिक गर्ने मात्र हो । यही क्रममा एकासिया जातिका वनस्पतिलाई बेचलिया र सेनेगालिया जातिमा सारिएको थाहा भएको हो, जसबाट अध्ययन–अनुसन्धान क्षेत्रमा नेपाल कहाँ छ भन्ने प्रस्ट हुन्छ ।

प्रकाशित : चैत्र १६, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?