१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

केमा निरन्तरता, केमा क्रमभंग ?

भेडोपनको खेती हाम्रो संस्कृति बन्यो । त्यो खेतीमा क्रमभंग गरौं । बुद्धिजीवीलाई बुद्धुजीवी भेडो बन्न–बनाउनबाट बचाऔं । यसरी हाम्रो शिक्षा तथा संस्कार फेरौं ।
विद्यानाथ कोइराला

ऐतिहासिक नेपालको निरन्तरता अथर्ववेदको परिशिष्टमा नेपालको नाम उल्लेख छ । अथर्वशीर उपनिषद्मा पनि नेपालको नाम छ । नामको व्याख्याले भन्छ— नेपाल ज्ञानभूमि हो । शान्तिभूमि हो । तपोभूमि हो ।

केमा निरन्तरता, केमा क्रमभंग ?

स्कन्दपुराण परिच्छेद ७१ को हिमवत्खण्ड अनुसार नेपालका चारवटा नाम छन् । सत्ययुगमा नेपालको नाम सत्यवती थियो । त्रेतायुगमा यसको नाम तपोवन भयो । द्वापरयुगमा नेपालको नाम मुक्तिसोपान बन्यो । कलियुगमा नेपालको नाम नेपालिकापुरी हुन गयो । स्कन्दपुराणको ८१ औं परिच्छेदले त्यस बेलाको नेपालको महिमा बताउँछ । प्रा.डा. वेणीमाधव ढकालद्वारा अनूदित हिमवत्खण्ड (पृष्ठ ५८३–५८८) ले यसको आंशिक जानकारी दिन्छ ।

हाम्रा इतिहासकारहरूले नेपाल मण्डलको इतिहास मात्र लेखेका हुन् । त्यसैलाई नेपाल भनेका हुन् । नेपाल मण्डल भनेको तिनताकाको काठमाडौं उपत्यका मात्र हो । नेपाल मण्डललाई काठमाडौंबाहिरका मानिसहरूले नेपाल भनेका हुन् । यसरी हेर्दा नेपाल मण्डल, नेमुनि, गोपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी तथा शाहवंशी शासक भनेर मात्र पढाउँदा नेपालको इतिहासले निरन्तरता पायो र ? यो कुरामा राजनीतिज्ञहरू कति सजग छौं ? शिक्षक तथा प्राध्यापक कति सजग छौं ? इतिहासकारहरू कति सजग छौं ? छौं भन्ने हो भने किन हामीले यी कुराहरू जोडेर पढाइरहेका छैनौं त ? कतै हामीले नेपालको इतिहास नै पढेनौं कि ? पढाएनौं कि ? पढाउनै पो जानेनौं कि ?

यसरी हेर्दा नेमुनिको नामबाट नेपाल शब्द बन्यो भन्ने कुरा अधुरो देखिन्छ । मञ्जुश्रीको इतिहास काठमाडौं मण्डलमा सीमित हुन्छ । गोपालवंशी इतिहास अधुरो हुन्छ । किरातवंशी इतिहास अपुरो हुन्छ । अपुरो तथा अधुरो कुरालाई पूरा बनाउन स्कन्दपुराण जोड्न मिल्दैन र ? अथर्ववेदको परिशिष्टको चर्चा गर्न मिल्दैन र ? अथर्वशीर उपनिषद्को हवाला दिन मिल्दैन र ? शतपथ

ब्राह्मणमा लेखिएको विदेहको इतिहासले नेपाल जोड्छ भन्न मिल्दैन र ? बाइसे तथा चौबीसे राज्यको जानकारी जोडे हुँदैन र ? पुर्खाले त हुन्छ, जोड भनिरहेका थिए । हामीले त्यसलाई तोडिरह्यौं । इतिहासविज्ञ भएर । सामाजिक शिक्षाविज्ञ भएर । किन हामीले यो काम गरेका–गराइरहेका हौं ? नजानेर ? नसकेर ? प्रामाणिकता छैन भनेर ? अरू कुनै कारणले ? नेपालको इतिहासको निरन्तरता खोज्नेलाई के जवाफ दिने हो ?

ज्ञान–विज्ञानको निरन्तरता

हाम्रो इतिहासले भन्छ— नेपालमा अनेकन् ज्ञान, विज्ञान तथा प्रविधि छन् । ती ज्ञान, विज्ञान तथा प्रविधिहरू हाम्रा कलामा देखिन्छन् । संस्कृतिमा देखिन्छन् । व्यवहारमा देखिन्छन् । पानीघट्ट एउटा उदाहरण हो । आरन अर्को उदाहरण हो । मन्दिरको टुँडाल तेस्रो उदाहरण हो । यस्ता अनगिन्ती उदाहरण छन् ज्ञानका । विज्ञानका । प्रविधिका । तर ती स्रष्टाहरूले कुन विज्ञान प्रयोग गरे ? कुन ज्ञान प्रयोग गरे ? कुन प्रविधि प्रयोग गरे ? कुन सृजना प्रयोग गरे ? कसरी तिनमा ती ज्ञान, विज्ञान तथा प्रविधिका सोचहरू जन्मिए ? को हो त्यो ? कसरी त्यसले त्यो सोच बनायो ? कति पढेको थियो त्यसले ? कुन प्रयोगशालामा विचारको परीक्षण गर्‍यो त्यसले ? यी कुराको खोजबारे हाम्रै चिन्तन के त ?

विज्ञान भन्छ— पानीघट्टले काइनेटिक तथा पोटेन्सियल इनर्जीलाई मेकानिकल कार्यमा बदल्छ । नेपाल, चीन, भारत, पाकिस्तान तथा टर्कीमा यस्ता घट्टहरू छन् । ती घट्टका स्रष्टा को हुन् ? विस्तारक को हुन् ? ती गुमनाम डिजाइनर कुन युगका थिए ? तिनको गणितीय ज्ञान के थियो ? विज्ञानको ज्ञान के थियो ? प्रविधिको ज्ञान के थियो ? अर्थशास्त्रीय ज्ञान के थियो ? समाजशास्त्रीय ज्ञान के थियो ? यो कुराको जानकारी हामीलाई छैन । हामीले पत्याएको ज्ञान हो, १९ औं शताब्दीमा पानीघट्टको विकास भएको हो । के यो ज्ञानमा सत्यता होला ? किनकि ती खोजकर्ता विदेशी हुन् । घट्ट नदेखेका मान्छेहरू । आरन नचिनेका मान्छेहरू । टुँडाल नदेखेका मान्छेहरू । तिनले भनेका कुरामा मात्र प्रामाणिकता छ भन्ने हो भने हाम्रा ज्ञान, विज्ञान तथा प्रविधिहरू हराउँछन् । विश्वविद्यालयहरूले यसको खोजी गर्नुपर्ने हैन र ? अनुसन्धाताहरूले कलम चलाउनुपर्ने होइन र ? यी र यस्ता ज्ञान, विज्ञान एवं प्रविधिको खोजी गर्ने विश्वविद्यालय खोल्नुपर्ने हैन र ? रैथाने ज्ञान, विज्ञान तथा प्रविधिको विश्वविद्यालय । तिनको खोजी गर्ने खालको । खोजीका आधारमा उद्यमीकरण गर्ने खालको । सीप सिकाउने खालको । प्राज्ञिक दक्षता सुनिश्चित गर्ने खालको । किन सोच्तैनौं संस्कृति–संरक्षक हौं भन्नेले ? किन सोच्तैनौं राष्ट्रवादी हौं भन्नेले ? विदेशी कुरा मात्रै पढायौं भन्नेले ? पढ्यौं भन्नेले ? अन्यथा हाम्रो ज्ञान, विज्ञान तथा प्रविधिको निरन्तरता हुन सक्ला र ?

सम्भावनाको निरन्तरता

सम्भावना हुने हो कि बनाउने हो ? चीनको अनुभवले भन्छ— बनाउने हो । अक्करे भीरमा झुन्डिने होटल बन्दो रहेछ । चल्दो रहेछ । कहालीलाग्दो खोलामाथि बन्जीजम्प हुँदो रहेछ । पानीमा छाया देखिने सुन्दर पहाडमा कलाप्रेमी धाउँदा रहेछन् । अस्ट्रेलियाको अनुभवले भन्छ— हिलोमा खेल्ने खेलमा युवा धाउँदा रहेछन् । अमेरिकी अनुभवले भन्छ— धामीझाँक्रीको ज्ञानमा शोध गरे विद्वान् आउँदा रहेछन् । नेपालकै अनुभवले भन्छ— फनपार्क बनाए बालबालिका रमाउँदा रहेछन् । नवलपरासीको शाश्वतधाममा जस्तो सर्वतीर्थ बनाए आध्यात्मिक तथा धार्मिक मान्छे आउँदा रहेछन् । सर्लाहीको वाग्मती नगरपालिकाको अनुभवले भन्छ— ठूलो पोखरी बनाए सबैथरी धाउँदा रहेछन् ।

हिमाली क्षेत्रका नेपालीले पखेरामा प्वाल पारेर घर बनायौं । सिमेन्टवालाले त्यसलाई अन्त्य गरिदियौं । पहाडमा जडीबुटीबाट औषधि गर्‍यौं । आधुनिक औषधिपसलले त्यसलाई बन्द गरिदियौं । मधेशमा काठ तथा फुसको घर बनायौं । जमिनभन्दा तल मझेरी बनायौं । परिणामतः घरहरू शीतल थिए । अहिले कुर्सी (डीपीसी तह) उठायौं । गिलेवा (माटो) को सट्टा सिमेन्ट प्रयोग गर्‍यौं । परम्परागत प्राकृतिक शीतलता गुमायौं । यी अभ्यासहरूले हामीलाई आफ्नोपनबाट टाढा लगे । लाँदै छन् । यी कुराहरूले अध्ययन खोज्छन् । त्यस्तो अध्ययन गर्ने–गराउने कोही छौं त ? संस्थाका रूपमा ? समूहका रूपमा ? व्यक्तिका रूपमा ? त्यसो नगर्दा सम्भावनाहरू बन्छन् त ? आफ्नोपनको सम्भावना ?

वचनको निरन्तरता

बोली र गोली फुत्केपछि आउन्नन् । होस चाहिने त्यसैले हो । हामी भने वचनमा दरिद्र नबन्ने चिन्तनमा पुग्यौं । अनिवार्य शिक्षा भन्छौं, सक्तैनौं । सत्तरी प्रतिशतलाई गरिखाने शिक्षा दिने भन्छौं, लाचारी व्यक्त गर्छौं । असंलग्न परराष्ट्रनीति भन्छौं, पक्ष लागेर बोल्न छाड्दैनौं । एमसीसीको कुरा गर्छौं, बीआरआई छुँदैनौं । बीआरआईको कुरा गर्छौं, एमसीसी छुँदैनौं । देशको साँधसीमा मिचेको कुरा गर्छौं, चारैतिरको साँधसीमाको एकसाथ चर्चा गर्दैनौं । अर्थात्, बित्थामा पक्ष बनिदिन्छौं । विपक्ष बनिदिन्छौं । बन्न लगाउँछौं । बनाउँछौं । के सधैं पक्ष–विपक्षकै कुरामा अल्झिने हो र ? आग्रह र पूर्वाग्रहमै बाँच्ने–बचाउने हो र ?

हामी सबैसँग मित्रता छ भन्छौं, त्यसको पालना गर्दैनौं । त्यसैले सी चिनफिङले भनिदिए— हामी जे बोल्छौं, त्यो गर्छौं । उनको भनाइले हामीलाई कुनै क्षेत्रमा पनि लज्जित बनाएन । कृषिमा आत्मनिर्भर भनेको कति वर्ष भयो ? अहिले पराश्रयी बनिसक्यौं । शिक्षामा गुणस्तरीयता भनिरह्यौं । हाम्रा प्रमाणपत्रहरू अपत्यारिला बनिसके । युवा स्वरोजगारीका कुरा गर्‍यौं, युवा बाहिर लैजाने परामर्शकेन्द्र तथा म्यानपावर कम्पनीहरू थपिइरहे । जनचाहना अनुसारका काम गर्ने–गराउने भनिरह्यौं, जनआक्रोश बढाइरह्यौं । यसरी हेर्दा, हामी जे बोल्छौं, गर्दैनौं । जे गर्छौं, बोल्दैनौं । यो स्थितिमा हामी अपत्यारिला बनिसक्यौं । नीतिगत रूपमा । कार्यगत रूपमा । त्यसैले वाग्दानको निरन्तरता कसरी सुनिश्चित गर्ने ? कृषिमा हाम्रा वाग्दानहरू केके थिए ? स्वास्थ्यमा केके थिए ? शिक्षामा केके थिए ? विदेशनीतिमा केके थिए ? शान्ति सम्झौतामा केके थिए ? प्रशासन सुधारमा केके थिए ? विकेन्द्रीकरणमा केके थिए ? यी कुराहरूको लिखत किन राखेनौं ? त्यो दिशामा किन काम गरेनौं ? हाम्रा स्वार्थ भए पनि तिनलाई वाग्दानमा नैं मिलाउने काम किन गरेनौं ? त्यसो नगर्दा वचनको निरन्तरता भएन । त्यो भनेको वाग्दान फेल हुनु हो । अपत्यारको निरन्तरता बन्नु हो । ‘नो भोट’ को अधिकार त्यसैले बनेको हो । राजनीति भनेको झूटको खेती हो भन्ने धारणा त्यसैले बनेको हो । वाग्दानमा टिकेको पुर्ख्यौली संस्कारमा धावा हुँदा हामी झूटको पुलिन्दा बन्यौं । बनाइयौं । यसबारे हामी किन गहिरिएनौं ?

नीतिगत निरन्तरता

आयोग बनाउन र प्रतिवेदन लेखाउन हामी खप्पिस छौं । जुन क्षेत्रमा हेरे पनि त्यही देख्छौं । तर ती नीतिमा के कुरामा निरन्तरता दिने, केमा क्रमभंग गर्ने भनी लेख्ने संस्कार बनाउन सकेनौं । अर्थात्, कतै शब्दान्तर गर्‍यौं । कतै भावान्तर । कतै थपथाप गर्‍यौं । यसो गर्दा प्रतिवेदन त ठूलो बन्यो, गाँठी कुरा भने आएन । केमा निरन्तरता दिएका छौं भनेर । केमा भिन्न छौं भनेर । केमा नयाँ कुरा ल्यायौं भनेर । केमा क्रमभंग गर्‍यौं भनेर । शिक्षाको उदाहरण हेरौं । २०१२ सालदेखि अनिवार्य शिक्षाको गुड्डी हाँक्यौं । अहिले पनि त्यही भन्दै छौं । त्यो काम कसको हो ? अहिलेसम्म किटानी गरेनौं । त्यो काम पूरा गर्ने को हो ? त्यसको लेखा पनि राखेनौं । त्यो काम नगर्नेलाई सजाय दिने चिन्तन पनि बनाएनौं । यही हालत कृषिमा छ । यस वर्ष सयवटा नर्सरी बनाउने भनी पहिलो विकास योजनामा लेख्यौं । अहिले पनि त्यही बुद्धिको निरन्तरता छ । हर पालिकामा बीउ तथा बेर्नाको नर्सरी बनाउने चिन्तन आएकै छैन । यसको अर्थ हो— हामी गर्ने विकासको काममा लागेकै छैनौं । गरिदिने विकासमा मात्र हाम्रो ध्यान छ । यस्ता अनेकन् उदाहरण छन् । यी उदाहरणले भन्छन्— हामीले निरन्तरता दिने कुरा त जानेछौं, कसरी निरन्तरता दिने भन्ने कुरामा चाहिँ हिजैको सोच बोकेछौं । यही चिन्तनले गर्दा हामीले विकेन्द्रीकरण गर्न सकेनौं । संघीयता भने पनि त्यसको अभ्यास गर्न सकेनौं । जे गर्‍यौं, त्यो अधिकार प्रत्यायोजन मात्र हो । यो स्थितिमा हामीले बनाउने योजनामा निरन्तरता दिने केमा हो ? क्रमभंग गर्ने केमा हो ? नयाँ कुरा भित्र्याउने केमा हो ? यी र यस्ता कुरा किन गरेनौं ? किन गराएनौं ? जे लेखे पनि इतिहास मात्रै लेख्यौं । अर्थात्, इतिहास भजाएरै खान सिक्यौं । सिकायौं । विकासको इतिहास । शिक्षाको इतिहास । कृषिको इतिहास । स्वास्थ्यको इतिहास । यति बेला हामीले इतिहास लेख्ने कि ? रच्ने ? यो कुरामा संवाद गर्न कसले रोक्यो ? त्यसरी नै छरिता प्रतिवेदनहरू बनाउन कसले छेक्यो ? किन यसमा हामी मौन छौं ? किन अभ्यास गर्दैनौं ?

भेडोपनीय संस्कारको निरन्तरता

हाम्रा कार्यशैलीमा भेडोपन छ । नेता पछ्याउने । नेताहरूमा अर्को भेडोपन छ । जेजस्तो भए पनि नेतै बन्ने । यो भेडोपनीय संस्कारले हामीलाई विवेकहीन बनायो । पछौटे बनायो । यो संस्कारलाई निरन्तरता दिने कि क्रमभंग गर्ने ? निरन्तरता दिँदा हामीले दलीय भेडाहरूको हूललाई संस्थागत गर्‍यौं । शिक्षकमा । प्राध्यापकमा । कर्मचारीमा । वकिलमा । चिकित्सकमा । पत्रकारमा । विद्यार्थीमा । तिनको चुनावले यही भन्छ । तिनले निम्ता गर्ने नेता समूहले त्यही भन्छ । बुद्धिजीवी समुदायको यो भेडोपनको निरन्तरता कायम राख्ने कि तिनलाई बुद्धिजीवी नै बन्न दिने ? राजनीतिक दलमा भेडोपनीय संस्कार स्वीकार्य होला । बुद्धिजीवीलाई भेडो बनाउँदा सबै चौपट बन्यौं । दलीय आग्रहमा बस्ने । सोही आग्रहमा रमाउने । परिणामतः हामीले सन्तुलन गुमायौं । यो गुमेको सन्तुलन फर्काउने पुर्ख्यार्लैी चलन थियो । महाभारतका भीष्मको भनाइले त्यही चिनाउँछ । विदुरको चिन्तनले त्यही भन्छ । राजर्षि जनकका सभासद्लाई

चुनौती गर्ने अष्टावक्रको हिम्मतले त्यही भन्छ । विगतको वसियतबाट सिकेर हाम्रो भेडोपनीय स्वभावलाई सन्तुलनमा ल्याउने अभ्यास थाल्ने कि ? अभ्यास थाल्ने हो भने दलीय आधारमा बुद्धिजीवी समूह बनाउने दुष्कर्म छोड्ने कि नछोड्ने ? भेडापनीय बुद्धिजीवीकै खेतीमा रमाउने हो भने खाल्डोमा खस्न तयार बनौं । सन्तुलनको खेजी हो भने दलीय बुद्धिजीवी बन्ने–बनाउने संस्कार भत्काऔं । अर्थात्, केमा निरन्तरता दिने भन्ने कुराको यकिन गरौं । यसबारे दलहरूका शीर्षस्थ नेताहरू किन चुप छौं ? किन भेडोपनकै खेतीमा मक्ख छौं ? किन बुद्धिजीवीलाई सन्तुलनका लागि बाटो खोल्दैनौं ? अर्थात्, बुद्धिजीवीलाई भेडोपनबाट बचाउने उपक्रम गर्दैनौं ? बुद्धिजीवीहरू पनि किन भेडोपनमै मक्ख छौं ? यो मक्खता बदल्ने बेला भएन र ?

निर्क्योल

केमा निरन्तरता दिने ? केमा क्रमभंग गर्ने ? केमा विस्तार गर्ने ? केमा नवीनता जोड्ने ? यी आधारभूत प्रश्न हुन् । यी प्रश्नहरूको विधागत उत्तर खोज्नासाथ हामी टुंगोमा पुग्छौं । जस्तो, नेपालको इतिहासमा हामीले युगीन कुरा जोडे–जोडाएका छैनौं । त्यहाँ हामीलाई निरन्तरताको खाँचो छ । ज्ञान–विज्ञानमा हामीलाई निरन्तरता चाहिएको छ । नेपालको हर विधाको ज्ञान कसले बनायो ? विज्ञान कसले चिनायो ? प्रविधि कसले बनायो ? विस्तार कसले गर्‍यो ? यो कुराको डिजिटल तथा नन डिजिटल दस्तावेज हामीसँग छैन । त्यसैले यो खोजको निरन्तरता जरुरी छ । त्यस्तै, हामीले हर पटक इतिहास दोहोर्‍यायौं । नीति लेख्ता । आयोगका प्रतिवेदन लेख्ता । अनुसन्धानका प्रतिवेदन बनाउँदा । त्यहाँ रेफर गर्ने संस्कार चाहिन्छ । निरन्तरता छोड्नुपर्छ । लेख्ने नै हो भने यो कुरालाई निरन्तरता दिन्छौं, यो कुरामा बदल्छौं भन्नुपर्छ । त्यो कुराको निरन्तरता हाम्रा लागि जरुरी छ । वचनमा हामी अधिकांश चुक्यौं । स्वदेशीलाई दिएको वचनमा । विदेशीलाई दिएको वचनमा । यो स्थितिमा हाम्रा वचनहरूको लिखतले निरन्तरता माग्छ । त्यसको लेखाजोखा माग्छ । यो कार्यलाई निरन्तरता दिऔं ।

भेडोपनको खेती हाम्रो संस्कृति बन्यो । त्यो खेतीमा क्रमभंग गरौं । बुद्धिजीवीलाई बुद्धुजीवी भेडो बन्न–बनाउनबाट बचाऔं । यसरी हाम्रो शिक्षा तथा संस्कार फेरौं । अन्यथा हामी जर्ज अर्वेलको ‘जनावरको राज्य’ बन्छौं । बनाउँछौं । एल्डस हक्स्लेको ‘बहादुरको संसार’ बनाउँछौं । तिनकै बहुमतका । तिनकै बुद्धिका । त्यसैले केमा निरन्तरता दिने भन्नेमा घोत्लिन थालौं । केमा क्रमभंग गर्ने भन्नेमा विचार गर्न थालौं । केको थालनी गर्ने, केको विस्तार गर्ने भन्नेमा विधागत चिन्तन गरौं । शिक्षामा । स्वास्थ्यमा । स्वदेशी तथा विदेशी सन्धि–सम्झौतामा । अन्य विविध विधामा ।

प्रकाशित : चैत्र १४, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?