प्राध्यापक ध्रुवकुमारलाई सम्झिँदा- विचार - कान्तिपुर समाचार

प्राध्यापक ध्रुवकुमारलाई सम्झिँदा

विज्ञहरूले कुनै ज्योतिषीले जस्तो कुन नेता कहिले मन्त्री, प्रधानमन्त्री हुन्छ वा हट्छ भनेर भविष्यवाणी गर्दैनन् कि, नजिकिँदै गरेको संकटप्रति संकेत गर्छन्, सावधान गराउँछन्; त्यसको प्रणाली र नीतिगत सम्बोधनका उपायहरू देखाउँछन् ।
कृष्ण खनाल

गत चैत ३ गते बिहानीपख प्राध्यापक ध्रुवकुमारको निधन भएको दुःखद समाचारले उनीसँग परिचित प्राज्ञिक समुदायलाई स्तब्ध बनायो । उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षानीतिको गहिरो अध्ययन, ज्ञान र अनुसन्धानका लागि नेपालमा मात्र होइन; दक्षिण एसियाली प्राज्ञिक समुदायबीच पनि परिचित थिए ।


जात, जाति र पहिचानको चर्चा अत्यधिक भइरहेको सन्दर्भमा नामबाट मात्र परिचित कतिपयलाई लाग्न सक्छ, को हुन् ध्रुवकुमार ? उनी काठमाडौंका नेवार हुन्, तर उनले आफ्नो नामका पछाडि कहिल्यै थर लेखेनन् । उनका लेख, पुस्तकहरूमा पनि ‘ध्रुवकुमार’ मात्र लेखिएको छ । उनको नामपछिको ‘श्रेष्ठ’ शैक्षिक र नागरिकता प्रमाणपत्रमै सीमित रह्यो । उनले किन आफ्नो थर लेखेनन् भनेर हामीले पनि कहिल्यै सोधेनौं, उनको यो निजी प्राथमिकताबारे कुनै चर्चा पनि गरेनौं ।

प्राध्यापक ध्रुवकुमारसँग मेरो चार दशकभन्दा लामो निकटता थियो, सन् १९७८–७९ देखि । उनी त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) मा अनुसन्धान गर्थे, म राजनीतिशास्त्र विभागमा पढाउँथें । मैलेभन्दा केही वर्षअघि स्नातकोत्तर पूरा गरेका उनीसँग मेरो परिचय विश्वविद्यालयमा पढाउन थालेपछि नै भएको हो । ध्रुव पनि यता विभागतिर आएर केही कक्षा लिन्थे, चीन सम्बन्धी एउटा विषय प्रायः उनकै जिम्मामा हुन्थ्यो । क्लास सकिएपछि श्रीधर खत्री, अरू केही साथी लगायत हामी घण्टौंसम्म क्याफ्टेरियाको चियामा झुम्मिन्थ्यौं । समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा गफिन्थ्यौं । राजनीतिशास्त्र विभागबाट जर्नल निस्कन्थ्यो, सुरुमा ध्रुव पनि त्यसमा संलग्न थिए । हाम्रा अनुसन्धानमूलक लेखहरूको प्रारम्भ त्यही जर्नलबाट भएको थियो । मेरो सम्झना भएसम्म, ध्रुवको पहिलो लेख ‘करेन्ट स्टेट अफ साइनो–इन्डियन रिलेसन्स’ त्यही जर्नल (सन् १९८०–८१) मा छापिएको थियो ।

२०४१ सालतिर कुमार खड्गविक्रम शाह सिनासमा कार्यकारी निर्देशक भएर आएपछि, रणनीतिक अध्ययन (स्ट्राटेजिक स्टडिज) ले प्राथमिकता पाएको थियो । त्यसका लागि स्वाभाविक रूपमा राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षानीति सम्बन्धी विषय महत्त्वपूर्ण थिए । सेमिनार र प्रवचनहरूको आयोजना हुन्थ्यो । खड्गविक्रम राजाका नातेदार भए पनि शाही प्रोटोकलको त्यति परबाह गर्दैनथे, सबैसँग समान व्यवहार गर्थे । उनी उदार थिए, प्राज्ञिक स्वतन्त्रताको कुरा गर्थे । प्राज्ञिक सम्भावना देखिएका युवाहरूलाई कुनै राजनीतिक पूर्वाग्रह नराखी सिनासमा काम लगाउँथे । कसको के कति क्षमता छ भनेर आफैं पहिल्याउन सक्थे ।

उनकै समयमा सिनासमा चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायत विभिन्न डेस्कको अवधारणासहित क्षेत्रीय अध्ययनको थालनी भएको थियो । ध्रुवले चीन डेस्क हेर्थे । त्यस बेला दक्षिण एसियामा प्राज्ञिक सहकार्यको नयाँ उत्साह थियो, क्षेत्रीयस्तरका गोष्ठीहरू हुन्थे । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा विकास सम्बन्धी अध्ययन–अनुसन्धान हुन्थे भने सिनासमा राजनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धबारे । यी दुवै संस्था दक्षिण एसियाका अन्य अनुसन्धान केन्द्रसँग पनि निकै निकट रूपमा जोडिएका थिए । सन् १९८० को दशकमा सिनासले आकर्षक एवं सक्रिय अनुसन्धान केन्द्रका रूपमा ख्याति पाएको थियो । सन् १९९० को दशकसम्म पनि यो कुनै न कुनै रूपमा कायम थियो । तर पछिका वर्षहरूमा यस्ता संस्थाहरूको नराम्रोसँग ह्रास हुन थाल्यो । अहिले त ती एकदम उजाड लाग्छन् ।

म आफ्नो क्लास सकिएपछि प्रायः सिनासमै हुन्थें । केही समय आंशिक रूपमा त्यहाँको डेस्क र अनुसन्धानमा पनि संलग्न रहें । पछिसम्म पनि मलाई प्रायः धेरैले सिनासकै प्राध्यापक भनेर चिन्थे । यसको मुख्य कारण ध्रुवकुमार, चैतन्य मिश्र, डिल्लीराम दाहालहरूसँगको संगत थियो । प्राध्यापक प्रयागराज शर्मासँग पनि त्यहीँ परिचय भयो, मौका पर्दा संवाद पनि हुन्थ्यो । निर्मल तुलाधरको कोठामा कफी नपिएको कुनै दिन हुँदैनथ्यो ।

विश्वविद्यालयका अतिरिक्त हाम्रो लगावको विशेष ठाउँ नयाँ सडकको कफी हाउस थियो । ध्रुवलाई सम्झिँदा कफी हाउसको चर्चा नगरी रहन सकिन्न, अपुरो पनि हुन्छ । कफी हाउस उनको पनि दैनिकी बनेको थियो । नेपालमा कफी हाउस संस्कृति कहिलेदेखि सुरु भयो, त्यो लामो चर्चाको विषय हुन सक्छ । मैले जान्दा नयाँ सडक पीपलबोटसँगैको ‘इन्दिरा रेस्टुराँ’ निकै चर्चित थियो, बीपी कोइराला पनि त्यहाँ पुग्थे भनेर सुनेका थियौं । मध्यमवर्गीय बौद्धिक–राजनीतिक भलाकुसारीको एउटा ‘स्टाटस’ स्थलजस्तो थियो त्यो । एमए पढ्दै गर्दा म पनि एकाध पटक त्यहाँ पुगेको छु । तर त्यो ठाउँ हाम्रा लागि महँगो थियो, हाम्रो हैसियतभन्दा माथि; पछि बन्द पनि भयो । हाम्रो जमघटको अर्को ठाउँ नेपाल कफी हाउस थियो, त्यो पनि बन्द भयो ।

त्यसै बेला दक्षिण भारतका रामचन्द्रनले खोलेको पहिले मद्रास, पछि बैङलोर कफी हाउसमा हामी लामो समयसम्म रमियौं, जुन सबैभन्दा स्मरणीय रह्यो । त्यहाँ हाम्रा अग्रजहरू प्राध्यापक लोकराज बराल, प्रयागराज शर्मा, भाइसाहेब (डा. साम्वभक्त पन्त), चैतन्य उपाध्याय लगायतको प्राज्ञिक–राजनीतिक जमघट हुन्थ्यो । कांग्रेसका पुराना नेता होराप्रसाद जोशी पनि नियमित आउँथे । राष्ट्रिय पञ्चायतको अधिवेशन चलिरहेका बेला रूपचन्द्र विष्ट पनि बैठक सकिएपछि प्रायः त्यहीँ आइपुग्थे । राष्ट्रिय पञ्चायतमा आज के भयो भनेर सुनाउँथे, आफूले सुरु गरेको ‘थाहा’ अभियानका पर्चा दिन्थे; एक–दुई रुपैयाँ त्यसको मूल्य हुन्थ्यो, त्यो हामी तिर्थ्यौं । कहिलेकाहीँ पद्मरत्न तुलाधर पनि पुग्थे । समसामयिक राजनीतिक सन्दर्भका टिप्पणीहरू हुन्थे । हामी जुनियर नै थियौं, तर बिस्तारै त्यो क्लबको मेनस्ट्रिममै जोडिन पुगेका थियौं । प्राध्यापक, पत्रकार, राजनीतिकर्मी, साहित्यकार लगायत कफी हाउसको त्यो जमघट पञ्चायतकालको निषेधित वातावरणमा पनि असहमति पोख्ने एउटा आउटलेट थियो । सरकारी सुराकीहरू पनि केही मसला मिल्छ कि भनेर छेउछाउका टेबलमा मुन्टो लुकाउँदै बसेका हुन्थे । पञ्चायतकालमा राजनीतिक असहमतिको एउटा पृष्ठ थियो नै भन्न सकिन्छ कफी हाउस संस्कृतिलाई । यी हरफहरू लेखिरहँदा ध्रुवसँगका ती क्षणहरू फेरि ताजा भइरहेका छन् ।

सिनासमा प्रवेश गरेपछि ध्रुवले पहिलो एक दशकमा आफ्नो प्राज्ञिक आधारलाई सुदृढ बनाउन लागे । उनको प्राज्ञिक व्यक्तित्व निर्माणको त्यो महत्त्वपूर्ण समय पनि थियो । त्यही क्रममा उनले बेलायतस्थित किंग्स कलेज, डिपार्टमेन्ट अफ वार स्टडिज र संयुक्त राज्य अमेरिकाको इलिन्वोई विश्वविद्यालयमा आफ्नो अध्ययनलाई अरू धारिलो बनाए । उनले पीएचडी गरेनन्, तर कैयौं पीएचडीधारी उनका अगाडि फिका देखिन्थे । सेमिनार पेपर, जर्नल आर्टिकल, ससाना अनुसन्धानात्मक लेखमाला, केही नीतिपत्रहरू लेख्नु कुनै पनि अनुसन्धाताका प्रारम्भिक काम नै हुन्; मुख्य कुरा, तिनले कसरी प्राज्ञिक विज्ञता, क्षमता निर्माण र हैसियत आर्जन गर्छन् भन्ने हो । यिनै फुटकर अनुसन्धान र रचनामै पनि ध्रुवले आफ्नो प्राज्ञिक उत्कृष्टता र पहिचान बनाइसकेका थिए ।

सिनासमा कुमार खड्गविक्रम पुगेपछि केही चहकमहक देखिए पनि त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक विकासका लागि सजिलो अवस्था भने थिएन । पुस्तकालयमा अन्तर्राष्ट्रिय स्तरका जर्नल, पुस्तकहरूको अभाव छँदै थियो । त्यसमाथि सुरक्षा अध्ययनका लागि चाहिने दस्तावेजहरू नेपालमा सजिलै उपलब्ध हुँदैनथे, युरोप तथा अमेरिकी संस्थाहरूबाट झिकाउनुपर्थ्यो । यसका बावजुद ध्रुवले अन्तर्राष्ट्रिय सम्बन्धका नीतिगत सूचना मात्र होइन चीन, भारत लगायत शक्तिराष्ट्रका सुरक्षा प्रतिवेदन, शस्त्रभण्डार, हातहतियारको क्षमताका सम्बन्धमा समेत जानकारी बटुलेका हुन्थे । सिनास त देखिने एउटा प्लेटफर्म मात्र थियो, उनले आफ्नो प्राज्ञिक क्षमता आफ्नै एकनिष्ठ लगाव, निरन्तरको अध्ययन र कठोर परिश्रमबाट बनाएका थिए । मलाई त बेलाबेलामा राजनीतिले पनि तान्थ्यो, प्राध्यापक संघको चुनावमा दौडिन्थें । सभा, जुलुस, आन्दोलनहरूमा पनि पुग्थें । ध्रुव भने राजनीतिमा पूरै निरपेक्ष त होइन, तर अध्ययन–अनुसन्धानमा एकलव्यजस्ता थिए ।

त्रिभुवन विश्वविद्यालयमा ध्रुव चीनविज्ञका रूपमा परिचित थिए । उनको कोठामा चीन, साम्यवाद र अन्तर्राष्ट्रिय सम्बन्धका पुस्तक, जर्नल, पत्रपत्रिकाहरू मात्र देखिन्थे । मार्क्स, लेनिन, माओका संगृहीत भोलुमहरू हुन्थे । लेनिनको ‘स्टेट एन्ड रिभोल्युसन’ मैले त्यहीँ पढेको हुँ । त्यो कोठामा पस्ने जोसुकैलाई लाग्थ्यो, ध्रुवकुमार एक ठूला मार्क्सवादी चिन्तक, दार्शनिक होलान्, तर उनले कुनै पार्टीगत विचार वा बिल्ला बोकेका थिएनन्, कम्युनिस्ट त झन् छँदै थिएनन् । मान्छेको हक, अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीका पक्षमा निर्भीक भएर आफ्नो विचार राख्थे । अलिक कडा स्वभाव थियो, झडङ्ग रिसाइहाल्थे तर सहृदयी थिए । आफूसँग छलफल र परामर्श गर्न आउने सबै विचारका मानिससँग खुला थिए ।

एक दशक बित्दा–नबित्दै ध्रुवको प्राज्ञिक कामले ठोस आकार लिन थाल्यो । सन् १९८९ मा उनको पहिलो पुस्तक ‘माओज चाइना एन्ड फरेन पोलिसी’ प्रकाशित भयो । त्यो पुस्तकमा उनको एउटा निचोड अहिले सत्य साबित भएर आएको छ । उनले लेखेका थिए— माओ, चाउ र देङ लगायतका नेताहरूको ‘चीनको सुपर पावर बन्ने चाहना कहिल्यै हुनेछैन’ भन्ने वचनप्रति चीनको नीति सधैं इमानदार रहनेछ भन्नेमा विश्वास गर्न सकिन्न (पृ. २१९) । अर्थात्, महाशक्ति बन्ने चीनको आकांक्षा अन्तर्राष्ट्रिय राजनीतिको यथार्थ हो, जुन आज प्रत्यक्ष भएको छ । चीन विश्वराजनीतिमा महाशक्ति–द्वन्द्वको एक पक्ष बनेको छ ।

२०४६ सालपछि ध्रुवको रुचि नेपाल सम्बन्धी अध्ययनमा केन्द्रित हुन थाल्यो । बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएर जननिर्वाचित सरकारले काम गर्न थालेको अवस्था थियो । लोकतन्त्रको विश्वव्यापी लहर थियो । सोभियत संघको विघटनपछि अन्तर्राष्ट्रिय राजनीतिको स्वरूपमा पनि परिवर्तन आइरहेको थियो । देशहरूबीचका आपसी द्वन्द्व केही मत्थर देखिन्थे, देशभित्रकै आन्तरिक द्वन्द्वहरू बढिरहेका थिए । त्यसबाट ती देशहरूको सुरक्षा र अन्तर्राष्ट्रिय राजनीति पनि प्रभावित थियो । सुरक्षा अध्ययनमा देशीय आन्तरिक पक्ष प्रभावशाली तत्त्व बनिरहेको थियो ।

नेपालमा प्रारम्भ भएको लोकतान्त्रिक राजनीतिक प्रणालीको विकास र सरकारको नीतिनिर्माणमा प्राज्ञिक मन्थन गर्ने उद्देश्यले ध्रुवकै संयोजकत्वमा सिनासमा केही सेमिनार भए । उनले सम्पादन गरेका ती सेमिनारमा आधारित केही पुस्तक ‘नेपाल्स इन्डिया पोलिसी’ (सन् १९९२), ‘स्टेट लिडरसिप एन्ड पोलिटिक्स इन नेपाल’ (सन् १९९५), ‘डोमेस्टिक कन्फ्लिक्ट एन्ड क्राइसिस अफ गभर्न्याबिलिटी’ (सन् २०००) उनको योगदानलाई सम्झाइरहने सिनासका महत्त्वपूर्ण प्रकाशनहरू हुन् । ती पुस्तकमा संगृहीत लेखहरूले नेपालमा आउँदै गरेको शासकीय चुनौती, द्वन्द्व र संकटलाई स्पष्टसँग औंल्याएका थिए । विज्ञहरूले कुनै ज्योतिषीले जस्तो कुन नेता कहिले मन्त्री, प्रधानमन्त्री हुन्छ वा हट्छ भनेर भविष्यवाणी गर्दैनन् कि, नजिकिँदै गरेको संकटप्रति संकेत गर्छन्, सावधान गराउँछन्; त्यसको प्रणाली र नीतिगत सम्बोधनका उपायहरू देखाउँछन् । यहाँ उल्लिखित पुस्तकहरू त्यसका साक्षी–प्रमाण हुन् । तिनको कसरी उपयोग गर्ने, नीतिनिर्माताको काम हो ।

सन् १९९० दशकको अन्त्यतिर आइपुग्दा सिनासमा अध्ययन–अनुसन्धानको रापताप निकै कम भइसकेको थियो । तर ध्रुवले आफूलाई सक्रिय राखिरहे । नयाँ शताब्दीमा प्रवेश गर्दा उनका काम अरू परिमार्जित, परिपक्व हुँदै गए र समसामयिक नेपालको समस्यामा केन्द्रित भए । उनका पछिल्ला पुस्तकहरू ‘नेपाली स्टेट, सोसाइटी एन्ड ह्युमन सेक्युरिटी’

(सन् २००८), ‘इलेक्टोरल भ्वाइलेन्स एन्ड भोलाटिलिटी इन नेपाल’ (सन् २०१०) र ‘सोसल इनक्लुजन, ह्युमन डेभलपमेन्ट एन्ड नेसन बिल्डिङ इन नेपाल’ (सन् २०१२) नेपालको समसामयिक विषयमा केन्द्रित छन् । यी पुस्तकबाहेक उनका कैयौं अनुसन्धानमूलक मोनोग्राफ, जर्नल लेख, सेमिनार पेपरहरू छन्; एक सयभन्दा बढी त प्रकाशित नै छन् । ती सबै हाम्रा प्राज्ञिक सम्पदा हुन् ।

पछिल्लो समय ध्रुवकुमार कान पटक्कै नसुन्ने समस्याबाट पीडित थिए । भेटघाट हुँदा पनि संवादहीनताको अवस्था हुन थाल्यो, केही सोध्नुपरे लेखेर देखाउनुपर्थ्यो । उनी आफैं पनि साथीहरूसँगको सम्पर्कबाट अलि टाढा बस्न थाले । केही सीमित व्यक्तिहरूसँग उनको इमेल सम्पर्क भने कायमै थियो । तर अध्ययन, लेखन जारी थियो; ती प्रकाशित पनि भइरहेका थिए । पछिल्लो पटक, निधनभन्दा करिब डेढ महिनाअघि एउटा लेख मलाई इमेल गरेका थिए । वैदेशिक सहयोग, व्यापार र सुरक्षा सम्बन्धी उनको त्यो लेख प्रकाशनका लागि तयार रहेछ, ‘एक पटक हेरिदे न’ भनेर मलाई पठाएका थिए । मैले आफ्नो प्रतिक्रिया दिएपछि उनले ‘धन्यवाद’ सहित प्रत्युत्तर पनि दिएका थिए । आखिर त्यो नै ध्रुवसँगको अन्तिम संवाद बन्यो, सम्भवतः त्यो लेख उनको अन्तिम प्राज्ञिक लेखन पनि ।

उनको यो पछिल्लो प्रकाशोन्मुख लेखमा नेपालको भू–आर्थिक एवं राजनीतिक सन्दर्भमा अमेरिकी सहयोग परियोजना एमसीसी र चीनसँग प्रस्तावित बीआरआई परियोजनाहरूले नेपालको आर्थिक तथा व्यापारिक विकासका साथै सुरक्षा विकल्पमा पार्न सक्ने प्रभावहरूको विश्लेषण गरिएको छ । स्वतन्त्र अध्ययन–अनुसन्धानका टिप्पणीहरू कडा हुन्छन्, नीतिनिर्माताहरूले त्यसमा निहित सन्देशलाई बुझ्न सक्नुपर्छ । यस्तो खालको अध्ययन एवं विश्लेषणलाई आधार बनाएर सरकारले नीति बनाउने, राजनीतिक दल र नेताहरूले जनमत निर्माण गर्ने हो भने एमसीसी परियोजनाका सन्दर्भमा देखिएका अनेक अनर्गल प्रचारबाजी र बीआरआईको ऋण धरापको भयमा आत्तिनुपर्ने स्थिति आउँदैन । छिटछिटो परिवर्तन हुने दलीय सत्तासमीकरणका बावजुद मुलुकले दीर्घकालीन र भरपर्दो नीति पाउन सक्छ, छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायमा आफ्नो विश्वसनीयतालाई पनि जोगाउन सक्नेछ ।

प्रकाशित : चैत्र १३, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

६ छोरीले गरे काजकिरिया

कान्तिपुर संवाददाता

पाल्पा — पूर्वखोला गाउँपालिका–२ जल्पा मैदानका ६ दिदीबहिनी बुबाको मृत्यु संस्कारका लागि छोराले जस्तै किरिया गरेर बसेका छन् । चैत ७ गतेदेखि उनीहरू आफ्ना बाबु ६७ वर्षीय रेवत हिस्कीको काजकिरियामा बसेका हुन् । मृत्यु संस्कारमा छोरा नै चाहिन्छ भन्ने परम्परागत मान्यता तोड्न पनि आफूहरू बुबाको किरिया बसेको उनीहरूले बताए ।

दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की बाबुको काजकिरिया बसेको पद्म पब्लिक नमुना माविका प्रधानाध्यापक नारायण शर्माले जानकारी दिए । समाजमा छोराले नै बाबुआमाको काजकिरिया गर्नुपर्छ भन्ने मान्यता उनीहरूले तोडेको उनले बताए । सबै दिदीबहिनीहरू सल्लाहमै काजकिरिया कर्ममा बसेका हुन् । ‘दाजुभाइ नभए पनि दिदीबहिनी जुटेर जे पनि गर्न सक्छौं भन्ने लाग्यो,’ मनकुमारीले भनिन् । उनीहरूका एक भाइ थिए तर १० वर्षको उमेरमा उनको लडेर मृत्यु भएको थियो ।

मगर संस्कार अनुसार छोरीले पनि छोरा समान काम गर्न सक्छन् भनेर बसेको उनीहरूले बताए । साधारण परिवार भएका कारण पद्म पब्लिक नमुना माविका विद्यार्थी एवं विद्यालय परिवारले किरियाकर्ममा सहयोग समेत गरेको छ । तीन जनाको विवाह भइसकेको छ । मनकुमारी हिस्की

कक्षा १२ र सिर्जना हिस्की कक्षा १० मा पद्म पब्लिकमा अध्ययन गर्छन् । खेमकुमारी हिस्की स्थानीय शम्भु माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्छिन् ।

६ दिदीबहिनीका आमा टुनासरा र मृतकका माहिलो भाइ दमबहादुर हिस्की पनि उनीहरूसँगै काजकिरियामा सामेल छन् । स्थानीय टोपबहादुर हिस्कीले समाजमा अझै पनि छोरीले काजकिरिया गर्नु हुन्न भन्ने मान्यता रहेको बताए । तर, ६ दिदीबहिनीले गरेको काजकिरियाले समाजलाई नयाँ संस्कार सिकाएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १३, २०७८ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×