कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बढ्दो मानवीय परोपकार

देशको आर्थिक विकाससँगै हुने सम्पत्तिको सृजनाले दानी व्यक्तिहरू जन्माउने उदाहरण हेर्न युरोप र अमेरिका पुग्नैपर्दैन, भारतलाई हेरे पुग्छ । गत वर्ष त्यहाँ परोपकारमा ६४ हजार करोड भारतीय रुपैयाँ खर्च भएको थियो ।
उत्तमबाबु श्रेष्ठ

सन् १८६३ तिर स्विडिस रसायनशास्त्री अल्फ्रेड नोबेल नाइट्रो ग्लिसिरिन नामक विस्फोटक पदार्थलाई सुरक्षित रूपमा प्रयोग गर्ने उपायको खोजीमा थिए । स्विडेनबाट रसिया बसाइँ सरेका उनका बुबाको रसियामा विस्फोटक पदार्थ उत्पादन गर्ने कारखाना थियो । रसियामा कारखाना नचलेपछि उनको परिवारले स्विडेन नै फर्किई विस्फोटक पदार्थ उद्योग चलाउन थाल्यो । अनुसन्धानका क्रममा उनले नाइट्रो ग्लिसिरिनलाई नियन्त्रण गर्न सकिने ‘डिटोनेटर’ र ‘ब्लास्टिङ क्याप’ बनाए । तर त्यसको परीक्षण गर्ने क्रममा कारखानामा विस्फोट भयो, जसमा परेर उनका भाइसहित पाँच जनाले ज्यान गुमाए ।

बढ्दो मानवीय परोपकार

त्यसपछि उनले कारखानालाई गाउँले इलाकामा सारेर सुरक्षित र नियन्त्रित विस्फोटक पदार्थ बनाउने अनुसन्धानलाई जारी राखे । सन् १८६७ मा उनले नाइट्रो ग्लिसिरिनलाई अर्को रसायनसँग मिसाएर सुरक्षित रूपमा विस्फोटन गर्ने मिल्ने वस्तु बनाए, जसको नाम राखियो— डाइनामाइट (ग्रीक भाषामा डाइनामिसको अर्थ शक्ति हुन्छ) । बेलायतमा डाइनामाइटको पेटेन्ट लिएपछि उनले आफ्नो नाममा विस्फोटक पदार्थ बनाउने कम्पनी खोले— नोबेल एक्स्प्लोसिभ्स कम्पनी । डाइनामाइटको प्रयोग युरोप र अमेरिकामा खानी र सडक निर्माणमा अत्यधिक हुन थाल्यो र त्यसको व्यापारबाट नोबेलले ४० वर्षकै उमेरमा मनग्य पैसा कमाए ।

डाइनामाइटको बिक्रीसँगै विस्फोटक पदार्थको अनुसन्धान जारी राख्दै एकपछि अर्को सुरक्षित विस्फोटक पदार्थहरूको आविष्कार गर्न उनी सफल भए । अकस्मात् सन् १८८८ मा उनका दाजुको मृत्यु भयो । उनका दाजुको मृत्युलाई अल्फ्रेड नोबेलकै मृत्यु ठानेर सञ्चारमाध्यमहरूले अबिच्युरी छापे । फ्रान्सको एउटा समाचारपत्रले (उनी त्यतिखेर पेरिसमा बस्थे) नोबेलले बनाएको विस्फोटक पदार्थले सयौंको ज्यान लिएको भन्दै ‘मानिस मार्ने विधि पत्ता लगाएर धनी भएका लासका व्यापारीको मृत्यु’ भनेर अबिच्युरी छाप्यो । झुक्किएर छापिएको आफ्नै अबिच्युरी पढेपछि आफूलाई मृत्युपर्यन्त मानिसहरूले यसरी सम्झिने रहेछन् भनेर उनी दुःखी बने । आफूलाई ‘मानिसहरूले भविष्यमा नराम्रो नसोचिदिऊन्’ भन्ना खातिर उनले परिवारलाई थाहै नदिई आफ्नो ९५ प्रतिशत सम्पत्ति बैंकमा राखेर कोष खडा गरी त्यसको ब्याजबाट पुरस्कार स्थापना गरे । भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, औषधि विज्ञान र शान्ति गरी पाँच विधा (अर्थशास्त्र पछि थपिएको) मा उत्कृष्ट काम गर्नेहरूलाई बर्सेनि दिइने उक्त पुरस्कारलाई यतिखेर हामी ‘नोबेल पुरस्कार’ को नामले चिन्छौं ।

मान्छेमा उपकारी स्वभावको उत्पत्ति

अल्फ्रेड नोबेलको परोपकारले वैज्ञानिक जगत्लाई मात्रै होइन, सिंगो मानव समुदायलाई नै ठूलो गुन लगाएको छ । मानिस जन्मजात परोपकारी प्राणी हो । मानिसले आफ्नो यौनसाथी, सन्तान र अनुवंश मिल्ने पारिवारिक सदस्यप्रति मात्रै होइन, अनजान व्यक्तिप्रति पनि उपकारको प्रदर्शन गर्छ, चाहे त्यस्तो उपकारले आफैंलाई हानि–नोक्सानी गर्ने वा भार पार्ने किन नहोस् । त्यस्तो उपकारी स्वभाव मानिसबाहेकका अन्य प्राणीमा पनि पाइन्छ । जस्तै : पिशाच चमेरा (भ्याम्पाएर ब्याट) ले आफ्ना समूहका भोका सदस्यहरूलाई रक्तदान गरेर बचाउँछ । ओथारो बसेका वा बचेरा हुर्काउँदै गरेका चरालाई अन्य सहयोगी चराहरूले गुँडमा रखबारी गरिदिएर सहयोग गरेका हुन्छन् । वैज्ञानिकहरूका अनुसार, संसारमा पाइने १० प्रतिशत जति पन्छीहरूमा यस्तो उपकारी स्वभाव निहित हुन्छ । कमिला, मौरीजस्ता सामाजिक प्राणी समूहमा पाइने नपुंसक कामदार सदस्यले आफ्नो जिन्दगी नै रानीको सुरक्षा, गोलोको रक्षा र अरूका लागि खाद्यान्न संकलन गरेर बिताउँछ । तर अन्य जनावरका तुलनामा मानिसमा त्यस्तो उपकारी स्वभाव झनै प्रबल हुन्छ ।

डार्विनको प्रकृति छनोटको सिद्घान्त अनुसार, जीवलाई बाँच्नका लागि सहयोगी गुणहरूलाई मात्र प्रकृतिले छनोट गर्छ र ती गुणहरू प्रजातिमा संरक्षित भइरहन्छन् । आफ्ना सन्तान वा आफन्तहरूलाई सहयोग वा उपकार गर्दा आफूहरूको अनुवंश लामो समयसम्म बाँचिरहने भएकाले आफन्तको उपकार गर्ने मानवीय स्वभावको उत्पत्तिसँग प्रकृति छनोटको मान्यता मिल्छ । वा सहयोग फिर्ता हुने निश्चित अवस्थासम्म व्यक्तिलाई सहयोगी हुन डार्विनवादले दिन्छ । तर आफूलाई हानि हुने गरी गरिने परोपकारी गुणको उत्पत्ति प्रकृति छनोटको सिद्घान्तले मात्रै व्याख्या गर्न सक्दैन । किनभने परोपकारी हुँदा (जस्तै ः खाना बाँडेर खाँदा वा रक्तदान गर्दा) त्यसले आफ्नो बाँच्ने अनुकूलता मात्रै घटाउँदैन, बरु प्रतिस्पर्धीको अनुकूलता पनि बढाउँछ । त्यसैले प्रकृति

छनोटको स्वाभाविक मान्यता अनुसार आफ्नो भौतिक र आनुवंशिक अस्तित्वलाई चुनौती दिने परोपकारी स्वभाव होइन, बाँच्नका लागि चाहिने ‘स्वार्थी गुण’ मात्रै छनोट हुनुपर्ने हो र मानिस स्वार्थी मात्रै हुनुपर्ने हो । तैपनि पराईको दुःखमा बिनास्वार्थ उपकार गर्न तम्सिनु (जस्तै ः कतै दुर्घटना भएको देखेमा घाइतेलाई बचाउन तत्पर हुनु) मानवीय स्वभाव हो ।

डार्विनवादले व्याख्या गर्न नसकेको मानवीय उपकारी स्वभावको उद्विकासको रहस्य वैज्ञानिकहरूले खोज्ने कोसिस गरे पनि उक्त विषयमा अहिलेसम्म हासिल प्रमाणहरू पूर्ण छैनन् । तथापि त्यस्तो उपकारी गुण नौ महिनाको बच्चामाथि गरिएको अनुसन्धानमा समेत पाइएकाले यसका पछाडि आनुवंशिक कारण रहेको अध्येताहरू बताउँछन् । दयालु मानवीय स्वभाव मानव पुर्खाहरू जंगल छोडेर घाँसे मैदानमा बस्न थालेपछि दसौं लाख वर्षअघि उत्पत्ति भएको अनुमान गरिन्छ । थुप्रै हिंस्रक जनावरहरू भएका घाँसे मैदानमा बस्ने निरीह मानव पुर्खालाई लामो समयसम्म स्याहार नगरी बाँच्न नसक्ने आफ्ना सन्तान हुर्काउनु ठूलो चुनौतीको विषय थियो । त्यसका लागि सन्तानका जैविक आमाबुबाको मात्रै होइन, समूहका अन्य सदस्यको समेत निरन्तर सहयोग अपरिहार्य हुन्थ्यो ।

एकअर्काका बच्चा हुर्काउनकै लागि समूहमा बस्ने सदस्यहरूले आपसमा सहयोग र सहकार्य गर्न थालेपछि त्यहाँ सामूहिक भावनाको विकास भयो । समूहमा सहयोगको महत्त्व उच्च भएपछि सहयोगी व्यक्ति समूहको प्रिय हुने सामूहिक सांस्कृतिक वातावरण बन्न पुग्यो । अर्थात्, प्रतिकूल अवस्थामा बाँच्ने संघर्षका क्रममा मानवीय परोपकारी स्वभावको उत्पत्ति भयो ।

यो अवधारणालाई मान्ने अध्येताहरूको राय छ, मानव उद्विकासका क्रममा लाखौं पुस्तामा विद्यमान सहयोगी भावनालाई ‘सामूहिक सांस्कृतिक छनोट’ को प्रक्रियाले स्थापित गरायो र वर्तमान मानव जन्मजात उपकारी स्वभावको बन्न पुग्यो । मानवजातिको यस्तै सहयोगी र सहकार्य गर्ने स्वभावका कारण प्राचीन समयमा भाषा र जटिल मानव सभ्यताको विकास भएको विश्वास गरिन्छ । त्यसकारण अध्येताहरूको मत छ— ‘आनुवंशिक र सामाजिक सांस्कृतिक सह–छनोट’ ले मानिसलाई परोपकारी प्राणी बनायो ।

संगठित परोपकारको निर्माण

मानिसमा जन्मजात रहेको त्यस्तो उपकारी गुणलाई सभ्यताको विकाससँगै मानव समाजले विभिन्न उत्प्रेरणा प्रणाली स्थापना गरेर समाजमा थप स्थापित गर्दै लग्यो । मध्ययुगीन समयमा विकसित भएका धर्म र राज्यका कानुनहरूले परोपकारलाई समाजमा स्थापित गर्न त्यस्तो उत्प्रेरणा दिए । उदाहरणका लागि, सबै धर्ममा अरूलाई हानि गर्ने कामलाई पाप र परोपकारलाई धर्मका रूपमा व्याख्या गरेर ‘धर्म गर्न’ उत्प्रेरित गरेको पाइन्छ । त्यसै गरी कानुन अरूलाई हानि हुने कामलाई दण्डनीय र परोपकारी कामलाई पुरस्कृत गर्ने गरी बनाइएको हुन्छ । बलि राजाको मिथकदेखि हिन्दु परम्परामा भनिने ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् / परोपकारः पुण्याय पापाय परपीडनम्’ त्यसैको स्वीकारोक्ति वा परोपकारलाई उत्प्रेरणा दिन सृजित संरचनाहरू हुन् । धार्मिक र कानुनी रूपमा मात्रै होइन, परोपकार गर्नेलाई समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा सम्मानपूर्वक हेरिन्छ । समाजमा विद्यमान त्यस्ता धार्मिक, कानुनी र सामाजिक अप्रत्यक्ष उत्प्रेरणाहरूले मानिसको जन्मजात गुणलाई उजिल्याउँदै व्यक्तिलाई थप परोपकारी हुन मद्दत गरेका छन् ।

पछिल्लो समयमा परोपकारी कार्यलाई अप्रत्यक्ष मात्रै होइन, प्रत्यक्ष उत्प्रेरणा दिइन्छ । राज्यका कानुनहरूमा परोपकारमा रकम खर्च गर्नेलाई कर छुट दिइन्छÙ सार्वजनिक सम्मान, कदर र पुरस्कार दिने गरिन्छ । त्यसका साथै राज्यका नियमहरूमा व्यापारिक प्रतिष्ठानहरूले नाफाको निश्चित रकम अनिवार्य रूपमा परोपकारी काममा खर्च गर्नैपर्ने बाध्यकारी प्रावधानहरू राख्न थालिएका छन् । यस्ता उत्प्रेरणा र बाध्यकारी नियमले आधुनिक समाजमा परोपकारलाई संस्थागत गरेका छन् । समाजमा परोपकारी कामलाई राज्यबाटै टेवा दिने कोसिस भएसँगै औपचारिक परोपकारी संस्थाहरू जन्मिएका छन् । र, यतिखेर दान गर्ने काम व्यक्तिबाट मात्रै होइन, व्यावसायिक र संस्थागत हिसाबले एवं रणनीतिक रूपमा हुन थालेको छ ।

नेपालमा परोपकार

परोपकार नेपाली संस्कृतिको विशेषता हो । आपत् परेका व्यक्तिलाई सहयोग गर्ने, विभिन्न संस्थामा स्वयंसेवा गर्ने र परोपकारी कामका लागि धनसम्पत्ति दिनेजस्ता उपकारी चलन प्रचुर भए पनि नेपालको समग्र संगठित परोपकारको अवस्था अमेरिका, युरोप वा छिमेकी भारतको स्तरमा विकास भएको छैन । यद्यपि सामाजिक सर्वेक्षणका लागि विश्वप्रसिद्ध ग्लालुपको सर्वेक्षणमा आधारित भएर बेलायतस्थित च्यारिटिज एड फाउन्डेसनले बर्सेनि प्रकाशित गर्ने ‘विश्व दान सूचकांक’ (ग्लोबल गिभिङ इन्डेक्स) मा नेपालको अवस्था सन्तोषजनक छ । यो वर्षको उक्त सूचकांकमा नेपालको अवस्था मापन गरिएका ११४ देशमध्ये २७ औं स्थानमा थियो । उक्त सूचकांकले मापन गर्ने तीन विषयमध्ये अरूलाई समय दान गर्ने विषयमा नेपालको स्थान विश्वमै छैटौं नम्बरमा थियो ।

नेपालको औद्योगिक व्यवसाय ऐन–२०७६ ले वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योगले खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) का रूपमा छुट्याउनुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले नेपाली बैंकहरूले गरेको नाफाको निश्चित रकम सीएसआरका लागि खर्चिनुपर्ने बाध्यकारी नियम बनाएको छ । यस्ता बाध्यकारी नियमसँगै नेपालमा औपचारिक परोपकारी कोषमा वृद्धि हुन थालेको छ ।

तथापि नेपालमा प्रतिवर्ष परोपकारी काममा औपचारिक कति रकम जम्मा हुन्छ ? व्यक्तिगत र संस्थागत दानस्वरूप कसले कति रकम दान गर्छ ? दानहरूको खर्च कस्ता क्षेत्रहरूमा भइरहेको छ ? त्यसको खासै तथ्यांक र विश्लेषण भेटिँदैन जसले गर्दा मनकारी व्यक्तिलाई सामाजिक सम्मान दिन र सहयोग घोषणा गरेकाहरूको सार्वजनिक अडिट गर्न समस्या छ । जस्तै : नेपाली अस्ट्रेलियाली दम्पती शेष–जमुना घलेको एमआईटी फाउन्डेसनले सात वर्षअघि नेपाली शिक्षा क्षेत्रलाई १ अर्ब रुपैयाँ दिने घोषणा गरेको थियो । सम्भवतः नेपालको इतिहासकै सबैभन्दा ठूलो दान रकम अहिलेसम्म कहाँ खर्च भयो भन्ने सूचना सार्वजनिक भएको छैन । उक्त फाउन्डेसनको वेबसाइटमा कोभिडमा सरकारलाई गरेको केही करोड र एउटा स्कुललाई सहयोग गरेको केही लाख रुपैयाँ मात्रको सूचना भेटिन्छ ।

अन्त्यमा, देशको आर्थिक विकाससँगै हुने सम्पत्तिको सृजनाले दानी व्यक्तिहरू जन्माउने उदाहरण हेर्न युरोप र अमेरिका पुग्नैपर्दैन, भारतलाई हेरे पुग्छ । गत वर्ष त्यहाँ परोपकारमा ६४ हजार करोड भारतीय रुपैयाँ खर्च भएको थियो । परोपकारलाई सामाजिक रूपमा स्विकार्नु भनेको धनीहरूका लागि सामाजिक प्रभाव बढाउने अवसर दिनु पनि हो । त्यसकारण नेपाली परोपकार क्षेत्र बढ्दै जाँदा यसको सामाजिक अडिट र विश्लेषण जरुरी छ ।

प्रकाशित : चैत्र १०, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?