जलस्रोतको बहुआयामिक प्रयोग- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलस्रोतको बहुआयामिक प्रयोग

प्रवेशसिंह कुँवर

मानव शरीरको करिब ६० प्रतिशत भाग पानीले ओगटेको हुन्छ । पानी नै जीवनको आधार हो र जीवनको निरन्तरताका लागि यसको संरक्षण अपरिहार्य छ । पानीको मुहानको संरक्षणमै भावी पुस्ताको भविष्य निर्भर छ ।

संयुक्त राष्ट्रसंघले १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउँदै आइरहेको छ । नेपालमा पनि विभिन्न संघसंस्थाले यो दिन सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने गर्छन् । यस्ता कार्यक्रमले पानीको महत्त्व र संरक्षणबारे केही हदसम्म जानकारी दिन्छन् नै । यसपालिको विश्व पानी दिवसको अवसरमा नेपालको जलस्रोत, यसको बहुआयामिक उपयोग र विशेष गरी जलीय जीव उत्पादनको सम्भावनामाथि विमर्श गर्नु जरुरी छ ।

जलस्रोतको अवस्था
नेपालमा सानाठूला गरी करिब ६ हजार नदीनाला छन्, जसमध्ये कोशी, गण्डकी र कर्णाली प्रमुख नदी प्रणाली हुन् । यसका साथै पोखरी, ताल–तलैयादेखि सिमसार क्षेत्रहरू महत्त्वपूर्ण जलस्रोतका रूपमा छन् । एक अध्ययनअनुसार पानीले नेपालको कुल भूभागको करिब ५.६ प्रतिशत ओगटेको छ ।

जलस्रोतको उपयोग
जलस्रोतको प्रयोग विभिन्न प्रयोजनका लागि गर्ने गरिन्छ, जस्तो- पिउने पानीका रूपमा, सिँचाइका लागि तथा विद्युत् उत्पादन । विद्युत् विकास विभागका अनुसार हाल नेपालमा करिब १,८०० मेगावाट जलविद्युत् उत्पादन हुने गरेको छ । त्यसै गरी नेपालको १४ औं आवधिक योजनाको प्रगति विवरणअनुसार करिब १७.४ लाख हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । ३३ प्रतिशत भूमिमा वर्षैभरि सिँचाइ पुग्ने गरेको छ, जसलाई १५ औं योजनाले ५० प्रतिशत पुर्‍याउने लक्ष्यसमेत लिएको छ । नेपालको पहाडी ग्रामीण भेगमा घट्ट सञ्चालनका लागि पानीको प्रयोग गर्ने गरिन्छ भने अन्य मुलुकले पानीलाई यातायातका साधन सञ्चालन गर्ने माध्यम पनि बनाएका छन् । यसबाहेक जलीय खाद्य वस्तु उत्पादन गर्ने क्रम विश्वभरि नै दिनानुदिन बढ्दै छ ।

जलीय जीव उत्पादनको सम्भावना
नेपालमा २००३ सालमा कृषि परिषद् अन्तर्गत मत्स्य एकाइको स्थापना गरी सरकारीस्तरबाटै मत्स्यपालनको संस्थागत सुरुआत भयो । तत्पश्चात् क्रमिक रूपमा मत्स्यपालनको विकास हुँदै आए पनि यहाँको सम्भावना बमोजिम यो क्षेत्रको विकास भने हुन सकेन । जनसंख्या वृद्धिसँगै खाद्य वस्तुको माग बढ्नु स्वाभाविकै हो तर खेतीयोग्य जमिनको खण्डीकरण, घडेरीकरण र उत्पादनशील जनशक्ति पलायनले गर्दा खाद्यान्नका लागि समेत परनिर्भरता बढ्दै गैरहेको कटु यथार्थ छ । यसै सन्दर्भमा, हाम्रोसामु देशमा उपलब्ध जलस्रोतको उपयोग गर्दै प्रोटिनयुक्त गुणस्तरीय जलीय खाद्य वस्तुको उत्पादन गर्ने विकल्प भने नभएको होइन । केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, बालाजुको पुस्तिका–२०७८ अनुसार नेपालमा उपलब्ध कुल जलाशयको २ प्रतिशतभन्दा कम भाग मत्स्य उत्पादनमा प्रयोग हुँदै आएकोबाट पनि यो क्षेत्रको विस्तारको सम्भावना उजागर हुन्छ । नेपालमा उपलब्ध जलीय जीव तथा जलस्रोतको विविधता, अनुकूल जलवायु, नवीनतम प्रविधिहरूको विकास र बढ्दो बजार मागजस्ता सकारात्मक पक्ष यो क्षेत्रको सम्भावनालाई थप उजागर गर्न पर्याप्त छन् । तर, यसका लागि उपयुक्त संगठन संरचना, जनशक्तिको विकास, अनुसन्धान र नीति तथा कार्यक्रमको आवश्यकता पर्छ ।

नेपालमा मत्स्यक्षेत्र माछा उत्पादनमा मात्र संकुचित भइरहेको छ । संयुक्त राष्ट्रसंघको खाद्य र कृषि संगठनले मत्स्यपालन क्षेत्रलाई माछापालनमा मात्र सीमित नराखी खाद्य वस्तुका रूपमा उपभोग गर्न सकिने अन्य जलीय जीवहरूको उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्छ भनेको छ । यहाँ उत्पादनयोग्य जलीय जीवमा झिंगेमाछा र घोंघी एवं खाद्य वस्तुमा सिंगडा र मखना आदि हुन सक्छन् । जलस्रोतको संरक्षण तथा संवर्द्धन गर्दै यसको बहुआयामिक र दिगो उपयोगका लागि हामी सबैमा सचेतनाको खाँचो छ ।

कुँवर नेपाल मत्स्य समाजका महासचिव हुन् ।

प्रकाशित : चैत्र ८, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

जलीय जीवमा विषादी–संकट

माछाजस्ता जलीय जीवहरू विषादीको न्यून मात्रामै भए पनि निरन्तर सम्पर्कमा आइरहँदा तिनको प्रजनन क्षमतामा समेत प्रभाव परी वंश नै लोप हुन सक्ने देखिएको छ ।
प्रवेशसिंह कुँवर

विषादी यस्तो वस्तु हो, जसको प्रयोग हानिकारक जीवहरूको नियन्त्रण वा विनाश गर्नका लागि गर्ने गरिन्छ । कृषि बाली जोगाउनका लागि ईसापूर्व २००० भन्दा अगाडिदेखि नै विषादीको प्रयोग हुँदै आएको छ ।

कीट नियन्त्रणका लागि विषाक्त वनस्पतिको प्रयोगबारे ऋग्वेदमा समेत उल्लेख छ (इन.विकिपेडिया.ओआरजी/विकी/पेस्टिसाइड) । वैज्ञानिक लेखहरूमा उल्लेख भएबमोजिम सन् १९३० र ४० को दशकमा विभिन्न कृत्रिम विषादीहरूको उत्पत्तिसँगै विश्वभर यसको प्रयोग दिनानुदिन बढ्दै नै गयो (गार्सियालगायत, सन् २०१२) र यो क्रम हालसम्म चलिरहेकै छ ।

पाउल हर्मन मुलरले सन् १९३९ मा डीडीटी नामको रसायनलाई कीटनाशक विषादीका रूपमा पहिचान गरेका थिए जसका लागि उनलाई नोबेल पुरस्कारसमेत प्रदान गरिएको थियो (इन.विकिपेडिया.ओरजी/विकी/डीडीटी) । नेपालमा सन् १९५० को दशकमा मलेरिया उन्मूलन कार्यक्रमका लागि सर्वप्रथम डीडीटी र तत्पश्चात् गमेक्सिन र निकोटिन सल्फेटजस्ता विषादीहरू सोही उद्देश्यका लागि भित्र्याइएको देखिन्छ । विस्तारै नेपालमा अर्ग्यानो क्लोरिन, अर्ग्यानो फस्फेट र कार्बामेट समूहअन्तर्गत पर्ने विषादीहरू पनि भित्रिँदै गए (धिताललगायत, सन् २०१५) ।

संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठनको डाटाबेसअनुसार, सन् १९९० देखि २०१८ सम्म करिब तीन दशकमा विश्वको कुल विषादी खपत २२,९९,९७९ टनबाट ४१,२२,३३४ टन पुगेको छ भने सोही अवधिमा नेपालमा यो परिमाण ६० टनबाट ५७४ टन पुगेको छ (एफएओएसटीएटी, २०२१) । यस प्रकार नेपालमा विषादी खपतको वृद्धिदर भयावह देखिन्छ । यद्यपि प्रतिएकाइ क्षेत्रफलमा विषादी प्रयोग विश्वको औसतका तुलनामा नेपालमा निकै कम छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको प्रतिवेदनअनुसार नेपालमा दस प्रकारका विषादी १७० वटा साधारण नाम र ३,०३५ वटा व्यावसायिक नाममा दर्ता भएका छन् । सोही प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०७४–७५ मा मात्र २२,७१,७३४ किलो परिमाणमा ८३,५७,८०,९६८ रुपैयाँ बराबरका विभिन्न विषादी नेपालमा आयात तथा फर्मुलेसन गरिएको पाइन्छ (चित्र १) ।

यसरी भित्रिने विषादीहरूमध्ये इन्सेक्टिसाइड समूहअन्तर्गतका विषादीहरूले सबैभन्दा बढी करिब ६६ प्रतिशत हिस्सा ओगटेका छन् भने फंगिसाइड र हर्बिसाइड क्रमशः दोस्रो र तेस्रो हिस्सा ओगट्ने विषादी हुन् । इन्सेक्टिसाइड वर्गका विषादीको प्रयोग मुख्य रूपमा कृषि क्षेत्रमै भएको देखिन्छ (चित्र २) ।

जनसंख्या वृद्धि र त्यसअनुरूपको बढ्दो खाद्यान्न मागका कारण कृषिको उत्पादन नबढाई नहुने चुनौतीले गर्दा पनि कीटनाशक विषादीको प्रयोगलाई विश्वभर बढावा दिन थालियो । शत्रु जीवहरूको नाश गर्न प्रयोग गरिने विषादीहरूले ठूला तथा सूक्ष्म मित्र जीवहरूलाई पनि बाँकी राख्ने कुरा भएन । विभिन्न अनुसन्धान प्रतिवेदनअनुसार, विषादीको ०.१ प्रतिशतभन्दा कम हिस्सा मात्र चाहेको शत्रु जीवसम्म पुग्ने र ९९.१ प्रतिशतभन्दा बढी भाग खुला वातावरणमा मिसिने हुन्छ (पिमेन्टल, १९९५) । यी विषादीहरू हावा तथा पानीका माध्यमबाट अन्ततोगत्वा खोला, तालतलैयासम्म पुग्छन् । पानीमा क्रमिक रूपमा विषादीको मात्रा थपिँदै जाँदा जलीय जीवहरू मर्नेसमेत गरेका प्रशस्त घटना पाइन्छन् । यी विषादीहरू पानीमा अत्यन्त न्यून मात्रामा हुँदासमेत नजानिँदो किसिमले प्राणी तथा वनस्पतिजन्य जलीय जीवहरूलाई नकारात्मक प्रभाव पार्न सक्ने अनुसन्धानले देखाएको छ ।

यस पंक्तिकारले गरेको अनुसन्धानमा नेपालमा अत्यधिक प्रयोगमा ल्याइने प्रमुख विषादीमध्ये क्लोर्पिरिफोस र डिक्लोर्भोस (नेपाल सरकारले सन् २०२१ देखि डिक्लोर्भोसको प्रयोगलाई प्रतिबन्धित गरिसकेको छ) जस्ता विषादीहरू माछाका लागि अत्यन्त हानिकारक पाइएको छ । थप अनुसन्धानका क्रममा क्लोर्पिरिफोस नामक विषादी तुलनात्मक रूपले बढी हानिकारक रहेको पाइयो । यी विषादीहरूको अत्यन्त न्यून मात्रा, ०.०७ मिलिग्राम क्लोर्पिरिफोस र १.२ मिलिग्राम डिक्लोर्भोसले पनि सामाजिक–आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको नेपालको स्थानीय जातको माछा सहरलाई प्रभाव पारेको अन्तर्राष्ट्रिय जर्नल ‘कम्प्यारेटिभ बायोकेमिस्ट्री एन्ड फिजियोलोजी, पार्ट सी’ मा हालै प्रकाशित एउटा लेखमा उल्लेख छ ।

अध्ययन प्रतिवेदन अनुसार, विषादीका कारण माछामा श्वासप्रश्वास प्रक्रियामा समस्या, शरीरलाई सन्तुलन कायम राख्न सक्ने क्षमतामा कमी, खानामा अरुचि, समूहमा पौडिने व्यवहारमा ह्रास, शारीरिक क्रियाकलापमा सुस्तता र अत्यधिक तनावजस्ता लक्षणहरू देखिन्छन् । विषादीको नकारात्मक प्रभावका संकेतहरू माछाको रगत परीक्षणमा समेत भेटिएको थियो । सोही अनुसन्धान टोलीले कमन कार्प र इन्डिजिनस मेजर कार्प, नैनी जातका माछामा समेत त्यस्तै असरहरू देखिएको उल्लेख गरेको छ । यस प्रकारका अनुसन्धानबाट माछाजस्ता जलीय जीवहरू विषादीको न्यून मात्रामै भए पनि निरन्तर सम्पर्कमा आइरहँदा तिनको प्रजनन क्षमतामा समेत प्रभाव परी तिनका प्रजाति नै लोप हुन सक्ने देखिएको छ ।

विषादीको प्रयोगले तत्कालका लागि कृषि उत्पादन वृद्धि गराउने सकारात्मक पक्ष देखिए पनि दीर्घकालीन रूपमा यसले मानव स्वास्थ्यका साथै जलीय जैविक विविधतालाई जोखिममा पारिराखेको यथार्थलाई नकार्न सकिँदैन । तसर्थ नीतिनिर्माता तहमा जिम्मेवारी वहन गर्नेहरूले जथाभावी विषादी प्रयोगमा रोक लगाउनु, पानीको गुणस्तर मापदण्डमा समयानुकूल सुधार गरी नियमनकारी भूमिका खेल्नु, कृषि तथा अन्य क्षेत्रमा विषादी प्रयोगका वैकल्पिक उपायहरूको अनुसन्धान र तिनको प्रभावकारिता अध्ययन गर्नु अत्यन्त आवश्यक छ ।

(कुँवर प्राणीशास्त्र केन्द्रीय विभाग, त्रिविका शोधार्थी हुन् ।)

प्रकाशित : आश्विन २०, २०७८ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×