यो कस्तो पीर ?- विचार - कान्तिपुर समाचार

यो कस्तो पीर ?

आजको अभिव्यक्ति स्वतन्त्रता आफूले लडेर ल्याएको बताउने पार्टीका नेता–कार्यकर्ताले एउटा गीत कुन नैतिक मूल्यमान्यतामा टेकेर बन्द गर्नुपर्छ, कला सृजना गरेबापत माफी माग्नुपर्छ, कारबाही गर्नुपर्छ भनेका हुन् ? यो त लाजमर्दो कुरा हो ।
आहुति

बितेको हप्ता सारा राजनीतिक घटनाक्रमलाई एकातिर थन्काएर, कलाकार प्रकाश सपूतको नेतृत्वमा तयार भई सार्वजनिक भएको गीति भिडियो बहुचर्चामा रह्यो । सामाजिक सञ्जालका भित्ताहरू यसको विरोध, भर्त्सना, समर्थन र स्याबासीमय टिप्पणीले रंगिए ।



संसद्‌वादी कनिष्ठदेखि वरिष्ठ नेताहरूसम्म पनि त्यस बहसमा आफ्नो टिप्पणी राख्न उत्रिए । यहाँसम्म कि स्थापित दैनिक पत्रिकाहरूका मुखपृष्ठका समाचारसम्म बन्न पुग्यो । कुनै गीति भिडियोलाई लिएर यति ठूलो हंगामा सायद यो पहिलो पटक भएको हो । गीति भिडियोहरूमाथिको विरोध वा समर्थनको काण्ड भने यो पहिलो होइन । कलाकार पशुपति शर्माले जात मान्नु हुँदैन भनी बनाएको गीति भिडियोमा दलितभित्र पर्ने विभिन्न जातका नाम प्रयोग गरिएको विषयमा केही दलित एनजीओकर्मीले तीव्र विरोध गरेका थिए । उनले नै बनाएको ‘लुट्न सके लुट’ शीर्षकको गीति भिडियोलाई बन्द गर्न बाध्य पार्ने स्तरसम्मको बौद्धिक गुन्डागर्दीमा एमाले पार्टीसम्बद्ध नेता–कार्यकर्ता उत्रिएका थिए । कलाकार सोफिया थापाले गाएको तीज गीतविरुद्ध हिन्दुवादीहरूले त्यस्तै गुण्डागर्दी गरे । र्‍याप कलाकार भिटेनका केही गीतविरुद्ध सिंगो प्रशासन जाइलाग्यो र उनलाई सतायो । अहिले प्रकाश सपूतको प्रसंग त उत्कर्षकै रूपमा प्रकट भयो भन्दा फरक पर्दैन । यस पटक भने माओवादी केन्द्र पार्टीसमर्थक नेता–कार्यकर्ता भिडियो बन्द गराउन धम्कीसहित उत्रिए । यी सबै प्रकरणले नेपाली समाजको चेतनास्तरलाई नांगो रूपमा प्रकट गरेका छन् । चेतनाको यो दरिद्रता आम समाज र संसद्वादी पार्टीमा सीमित छैन, बरु राज्यको न्यायालय तहसम्म विस्तारित छ । केही वर्षअघि ‘नथिया’ शीर्षक उपन्यासमा वर्णित केही प्रसंगविरुद्ध केही दलित अदालतमा मुद्दा दर्ता गर्न पुगे, अदालतले मुद्दा दर्ता गर्‍यो मात्र होइन, कला सामग्री उपन्यासका सन्दर्भमा फैसला नै सुनायो । त्यस प्रसंगबाट पुष्टि हुन्छ कि राज्यको समग्र बौद्धिकीसम्मै कला सामग्रीबारे बुझाइको दरिद्रता व्याप्त छ ।

‘पिर’ शीर्षकको गीतका शब्दहरू
‘पिर’ शीर्षक दिइएको गीतका शब्दहरूलाई केलाउँदा यो परदेसिन बाध्य भएको एउटा जोडीको वेदनासँग सम्बन्धित सृजना हो । तर त्यही प्रसंगमा पनि यो गीत यथार्थको सही प्रतिविम्बन गर्न असफल छ किनभने गीतमा एक ठाउँ भनिएको छ- ‘अभावले गर्दा परदेसिन बाध्य’ भएको र गीतको स्थायी हरफमै भनिएको छ फेरि ‘तिम्रो मायाले मलाई पिर दियो’ । पीर मायाले दिएको कि परदेसिन बाध्य पारेको परिस्थितिले ? प्रस्ट छ, परिस्थितिले । त्यसैले गीतका शब्दहरू वैचारिक रूपमा दरिद्र छन्, संगतिमा छैनन् । त्यस्तो असंगत सृजना परदेसिनुपर्नाको कारण उद्घाटन गर्नतिर लाग्ला भन्ने अपेक्षा गर्नु त झन् बेकारको विषय भैहाल्यो । साहित्यमा यो रोग ‘मुनामदन’ देखिको हो । परदेसिनुपर्नाको अवस्थाबाट सृजित परिणाममाथि बिलौना गर्नु तर परदेसिनुपर्ने अर्थ–राजनीतिक कारण दर्साउनतिर नजानु यस प्रवृत्तिको मुख्य समस्या हो । वामपन्थी साहित्यमा रायनकृत ‘सिम्मा’ नाटकले यस प्रवृत्तिलाई चुनौती दिन सुरु गरेको हो, गीतहरूमा चाहिँ गोकुल जोशीले सुरु गरेका थिए । आजको परदेशी समस्याबारे सबैभन्दा चर्चित गीत सायद ‘साइँली... चालीस कटे’सि रमाउँला’ हो । यस गीतका सर्जक कारण खोज्न निस्केका छन् तर कारणचाहिँ भावीले लेखेको भाग्यमा देखेका छन् । ‘मुनामदन’ बाट परदेसिनुपर्नाको मुख्य कारण नखोज्ने प्रवृत्ति भाग्यमा समस्या देख्ने स्तरमा विस्तारित भएको छ । गोकुल जोशीका गीत र रायनको ‘सिम्मा’ नाटकले सुरु गरेको कारण खोज्ने प्रवृत्तिको गीत–संगीतको विकास भने नेत्रविक्रम चन्दरचित ‘कसले बनायो दाजै उडी जाने बस’ शीर्षकको गीतसम्म आइपुगेको देखिन्छ । सपूतको ‘पिर’ ’चालीस कटे’सि रमाउँला’ किनभने ‘भाग्यको खेल’ हो भन्ने प्रवृत्तिभित्रैको हो । यो गीतले अभावका कारण समस्या आयो मात्र भन्छ तर अभाव जन्माउने कारणबारे आँखा चिम्लिन्छ । परिणाममाथि बिलौना गर्ने तर कारणमाथि मौन बस्ने भएकाले वैचारिक दृष्टिले ‘पिर’ साधारण रचनाबाहेक थप चर्चालायक सृजना होइन । यस गीतको संगीत पनि नयाँ–नौलो केही होइन, बरु पटकपटक सुनिएका लयहरूलाई भाँचकुँच पारेर जोडजाड गरिएको हो । न यसको लय विशुद्ध शास्त्रीयतामा आधारित छ, न नै खास लोकभाकाको मौलिकतामाथिको विकास हो । अझ गन्धर्व गायकीलाई विद्रूपीकरण गरिएको छ किनभने गन्धर्व गायकीमा मात्र ‘माया’ शब्दलाई ‘मया’ उच्चारण हुन्छ । यदि गन्धर्व गायकी शैली प्रस्तुत गरिएको हो भने त्यसमा सारंगीको स्वर प्रमुख भएर आउनुपर्छ तर त्यो गायब छ ।

‘पिर’ को गीति भिडियो
अब ‘पिर’ को भिडियोमा देखाइएको कथानकतिर ध्यान दिऔं । भिडियोको कथानकले माओवादी आन्दोलन र त्यस आन्दोलनको एउटा मुख्य पक्ष - जुन चालु राजनीतिक व्यवस्थाको हर्ताकर्ता भयो- को जनविरोधीकरण र विगतमा युद्ध लडेका कार्यकर्ताको दर्दनाक बेहालको प्रसंग प्रस्तुत गरेको छ । यो कुरा सत्य हो, प्रचण्डले नेतृत्व गरेको माओवादी आन्दोलनको एउटा मुख्य पक्ष दलाल पुँजीवादी संसदीय व्यवस्थाको हर्ताकर्ता हुन पुगेर सारमा जनविरोधी भएको छ, एमसीसी पारित गर्ने हर्कतसम्म पुग्दा त राष्ट्रघातीसमेत भइसकेको छ । तर विगतमा युद्ध लडेका कार्यकर्ताहरू बेरोजगार हुनुको मुख्य कारणचाहिँ माओवादी आन्दोलन होइन । युद्ध लडेका सबै जनसैनिक समायोजनको जागिरमा प्रवेश गरेका भए नेपाली युवा विदेश जानुपर्ने समस्या समाधान हुन्थ्यो ? अहिले पचास लाखभन्दा बढी तेस्रो मुलुकमा काम गर्न जानैपर्ने बाध्यतामा पुगेका युवाहरू सबै माओवादी आन्दोलनका सैनिक हुन् ? माओवादी आन्दोलनका एजेन्डाहरू नत्यागीकन प्रचण्डहरू टिकेर लडिरहेका भए बेरोजगारी समस्या समाधान गर्ने ढोकासम्म खुल्न सक्थ्यो तर विदेश जानैपर्ने कारणको जन्मदाता माओवादी आन्दोलन कदापि होइन । नेपालका पूर्वी र पश्चिम पहाडका जनता मुगलकालदेखि आजको भारतमा आंशिक समय काम गर्न जान्थे किनभने पहाडी भू–भागको जमिनको उत्पादकत्व पर्याप्त थिएन । नेवारहरू लाहुरे संस्कृतिमा गएनन् किनकि वाग्मती उपत्यका उब्जाउशील थियो । विदेश जानैपर्ने राजनीतिक बाध्यता भने गोर्खा भर्ती सन्धिले लादेको हो । जंगबहादुर र चन्द्रशमशेरले तीव्र पारेको बेलायती साम्राज्यवादको दलालीले गर्दा चलिआएको स्थानीय आत्मनिर्भर अर्थतन्त्र ध्वस्त हुँदै गयो । विक्रम संवत् २००७ को परिवर्तनपछि पनि यो प्रक्रिया रोकिएन । बढ्दो जनसंख्याबीच पञ्चायतको कथित औद्योगिकीकरणले पनि विदेश जाने क्रम रोक्न सक्दैनथ्यो । सन् १९८० को वरपरबाट जबरजस्ती विश्व साम्राज्यवादले लाद्न सुरु गरेको नवउदारवादी नीतिले देशमा उत्पादनै नगर्ने दलाल पुँजीवाद विस्तार हुन पुग्यो । सन् १९८० मै नेपालीहरू कतार पुलिसमा भर्ती हुन पुगिसकेको समाजशास्त्रलाई बुझ्नैपर्छ । यो क्रम आज प्रतिदिन चौगुणाका दरले बढेर भयावह बन्न पुगेको हो । त्यसैले बिदेसिनुपर्नाको मुख्य कारण दलाल पुँजीवादी व्यवस्था हो, नेपालको अर्थ–राजनीति हो, माओवादी आन्दोलन होइन । माओवादी आन्दोलनको प्रचण्ड–नेतृत्वको एउटा मुख्य पक्ष त्यही अर्थ–राजनीतिलाई निरन्तरता दिन लागिपरेको छ, यो भने बेग्लै प्रसंग हो । त्यस कारण परदेसिनुको दर्दलाई जबर्जस्ती माओवादी आन्दोलनको विकृत पक्षसँग जोड्नु यथार्थको सही प्रतिविम्बन कदापि होइन, बरु खेलाँची हो ।

सिनेमाशास्त्रमा ‘पिर’
कथानक भिडियो सिनेमाशास्त्रसँग सम्बन्धित विषय हो । जतिसुकै लामो वा छोटो होस्, आधारभूत यथार्थको प्रतिविम्बनको विधि अवलम्बन गरेर मात्र कथानक भिडियो अब्बल हुन सक्छ । ‘पिर’ गीति भिडियो विज्ञापनदाताबाट पैसा बटुल्न जति भद्दा ढंगले सचेत छ, अन्य जरुरी विषयमा भने लापरबाह छ । ट्याक्सीमा, सटरमा र सर्वत्र खास सिमेन्ट कम्पनी र बैंक लगायतको जबर्जस्ती विज्ञापन गर्न भिडियो तल्लीन छ तर सटर बन्द गरेपछि ताल्चा लगाउन जरुरी ठान्दैन । ट्याक्सी ड्राइभरले सामान्यतः कहिल्यै नबोल्ने संवाद ‘ट्याक्सीमा राम्रै हुन्छ’ बोलाइएको छ । लेनिनको पुस्तक ‘राज्य र क्रान्ति’ पढ्ने, श्रीमती र छोरीलाई माया गर्ने मुख्य पात्र श्रीमती सम्पर्कविहीन भएको अवस्थामा कसरी वेश्यावृत्ति गर्न जान सक्छ ? विदेशमा श्रीमती अप्ठ्यारोमा परेको अवस्थामा वैदेशिक रोजगार विभागसम्म पनि नपुगी देशै छाड्ने वाहियात निर्णय कसरी गर्न सक्छ ? देश छाडेर जाने कहाँ हो ? के देशविहीन समाज कतै छ र ? यसरी गीति भिडियोको कथानक, गीतसँग त्यसको सम्बन्ध र प्रस्तुतिका हिसाबले पनि ‘पिर’ केवल आजको प्रविधिलाई जबरजस्ती प्रयोग गरेर तयार पारिएको एउटा कमजोर सामग्री मात्र हो । यो एउटा चरम निराशावादी दिशाहीन सन्देश बोकेको सृजना हो । गीत मात्र सुन्दा अर्कै भाव आउने अनि भिडियोसहित हेर्दा अर्को प्रसंगमा प्रवेश गरिने असंगत सन्देश दिने संरचना हो । यो रचना गुणवत्ताका हिसाबले लामो समय याद रहने प्रकृतिको होइन । आजका अरू कारणले हल्ला जति भए पनि क्रमशः समाजले सजिलै बिर्सने स्तरको कला सामग्री हो ।

‘पिर’ उभिएको धरातल
कुनै पनि समय वा घटनासँग सम्बन्धित यथार्थका मुख्य दुई पक्ष हुन्छन्, एउटा पक्ष पतनशील हुन्छ भने अर्को पक्ष प्रगतिशील । कला सृजना कुन पक्षमा उभिएर गर्ने भन्ने विषयले यथार्थको प्रतिविम्बनका सन्दर्भमा सर्वाधिक महत्त्व राख्छ । ‘पिर’ वैचारिक दृष्टिले गन्जागोल हुनुको कारण सृजना सम्बन्धी सिद्धान्तलाई उपेक्षा गरिनु हो । माओवादी आन्दोलनको अन्तर्वस्तु त्यसका पात्रहरू होइनन् बरु त्यसको उद्देश्य हो । त्यो आन्दोलन विसर्जन भएको सत्य हो तर त्यसको उद्देश्य, औचित्य र सपना विसर्जन भएको होइन । त्यो आन्दोलन विसर्जन हुँदा दुई पक्षमा त्यो विभक्त हुन पुगेको छ । एउटा पक्षमा प्रचण्ड नेतृत्वको धारा छ जुन पतनशील पक्ष हो किनभने त्यसले आन्दोलनको उद्देश्य, औचित्य र सपना पूरा नहुँदै विवर्गीय धरातलमा आफूलाई पतन गराएको छ । अर्को पक्षमा विभिन्न समूहमा विभक्त माओवादी क्रान्तिकारीहरू - जो संख्यात्मक हिसाबले पनि ज्यादा छन् - चाहिँ आन्दोलनको उद्देश्य र सपना प्राप्तिका निम्ति आज पनि कष्टमय यात्रामा छन् । यो नै माओवादी आन्दोलनको प्रगतिशील र मुख्य पक्ष हो । यी दुई पक्षमा त्यस आन्दोलनसँग सम्बन्धित सबै पात्र र प्रवृत्ति विभक्त छन् । नेताहरू, कार्यकर्ताहरू, जनमुक्ति सेनाका सैनिकहरू, कलाकारहरू, सहिद परिवार र घाइतेहरू - सबै नै दुई प्रवृत्तिमा विभक्त छन् । प्रचण्ड प्रवृत्ति अर्थात् पतनशील पक्षमा रहेका नेता–कार्यकर्ता जसरी हुन्छ जस्तो हुन्छ सत्ताधारी बन्ने धुनमा हुन्छन् । त्यस प्रवृतिमा रहेका आर्थिक रूपमा समस्याग्रस्त कार्यकर्ता, कलाकार, पूर्वजनसैनिक, घाइतेहरू नेताहरूले मात्र खाए, हामीले पाएनौं भन्ने गुनासोमा मुर्मुरिन्छन् । उनीहरू ठूला नेताले पनि यसरी गलत ढंगले खानै हुँदैनथ्यो भन्ने सोच्दैनन् । विशाल क्रान्ति मरेकामा चिन्ताभन्दा हिजो लडेको नै व्यर्थ थियो भनी पश्चात्ताप गर्छन् । नेताले जस्तै गरी खाने प्रकरण भेटियो भने चुपचाप लाग्छन् र प्रशंसामा कुद्छन् । अर्को प्रगतिशील पक्षमा रहेका नेता–कार्यकर्ता क्रान्तिलाई नयाँ तरिकाले जारी राख्न क्रियाशील छन् । यस पक्षका आर्थिक रूपमा पीडित कार्यकर्ता, कलाकार र जनमुक्ति सैनिकहरूचाहिँ क्रान्ति विसर्जन गरिएकाले सारा जनताको मुक्ति रोकिएको ठान्छन् । आफ्ना दुःख सारा जनताभित्रकै एउटा अंश ठान्छन् र लगातार लड्ने प्रयत्नमा पतनशील प्रवृत्तिलाई घृणा गर्छन् । ‘पिर’ पतनशील प्रवृत्तिको धरातलमा उभिएर सृजना भएको छ जसका कारण हिजो लड्नु नै व्यर्थ थियो भन्ने पात्र मात्र त्यसले फेला पारेको छ, जनयुद्धमा गौरव गर्ने र निरन्तर क्रान्तिका निम्ति लडिरहेको मुख्य प्रवृत्ति जबरजस्ती अलप गराइएको छ । यो सृजनादृष्टि जनताको न्यायपूर्ण विद्रोहलाई बदनाम र अवमूल्यन गर्ने नेपालको शोषक वर्गीय दृष्टि हो जुन सर्वथा गलत छ । यसैले पतनशील धरातलबाट हेर्नु नै ‘पिर’ को मुख्य समस्या हो ।

कला सृजना र प्रशासनिक दमन
‘पिर’ वा अन्य रचना जतिसुकै कमसल होऊन्, जतिसुकै हानिकारक होऊन्, तिनको कठोरभन्दा कठोर आलोचना गर्न सकिन्छ तर प्रशासनिक दमन वा गुण्डागर्दी गरेर प्रसारण बन्द गर्न मिल्दैन । आजको अभिव्यक्ति स्वतन्त्रता आफूले लडेर ल्याएको बताउने पार्टीका नेता–कार्यकर्ताले कुन नैतिक मूल्यमान्यतामा टेकेर बन्द गर्नुपर्छ, कला सृजना गरेबापत माफी माग्नुपर्छ, कारबाही गर्नुपर्छ भनेका हुन् ? यो त लाजमर्दो कुरा हो । आफ्नो पार्टीको आलोचना सुन्नै नसक्ने हो भने तिनीहरूले दिनदिनै अरूको भए–नभएको उछित्तो काढ्नचाहिँ कसरी पाउँछन् ? आन्दोलन भताभुंग पारिएपछि कोही आत्महत्या गर्नसम्म पुगेका छन् भने व्यक्तिगत रूपमा वेश्यावृत्ति गर्नुपर्ने हालतमा कोही पुगेको देखाउनै नहुने किन ? निश्चित रूपमा जनयुद्ध लडेका योद्धा महिलाहरू स्वाभिमानका सन्दर्भमा बढी नै सचेत हुन्छन्, उनीहरू जति बाध्यताको पहाडले थिचे पनि वेश्यावृत्तिजस्तो कर्ममा नजान हदैसम्म संघर्ष गर्छन् नै, तर कोही त्यस्तो बाध्यताको टीठलाग्दो अवस्थाबाट गुज्रिनै सक्दैनन् भनी ठोकुवा गर्नु त भावनात्मक कुरा मात्र हुन्छ । जनयुद्धमा लड्ने महिला ऐतिहासिक गौरव हुन्, आन्दोलन हारेपछिका उनीहरूका बाध्यता र पीडादायी जीवनले त्यस गौरवलाई कदापि चुनौती दिन सक्दैनन् । चालु पुँजीवादी व्यवस्थाले सृजना गरेको अभावको कहरमा हजारौं महिला वेश्यावृत्तिमा लाग्न विवश छन् । उनीहरू व्यक्तिगत रूपमा दोषी होइनन्, अरूजत्तिकै सम्मानयोग्य छन् । तर वेश्यावृत्तिमा लाग्न बाध्य अरू महिलाचाहिँ कमसल भएर त्यस्तो भएका हुन् भन्ने अर्थ लाग्ने गरी पूर्वजनमुक्ति सेनाका कुनै महिलाले वेश्यावृत्तिको बाध्यात्मक बाटो अपनाउनै सक्दैनन् भन्ने जिकिर कसरी मिल्छ ? विचारमा स्खलन र भौतिक परिवेश बदलिँदा आन्दोलनका पात्रहरू राष्ट्रघाती, भ्रष्टाचारी, लुटेरा सबैसबै भएका उदाहरणहरू सबैका सामु छैनन् ? कोही भन्छ, ‘युद्ध नगरेकाले त्यस्तो गीत बनाउने अधिकार छैन !’ त्यसो भए त इतिहास भन्ने लेख्नै भएन, साहित्य सृजना गर्नै भएन किनकि लेखक त सबै चीजको कर्ता हुनै सक्दैन । अर्कोले भन्छ, ‘दलितका लागि हामी लड्ने अनि दलितले नै त्यस्तो बनाउने ?’ त्यसो भए नयाँ पुस्ताका दलितले आधुनिक विष्टहरूले अनुमति दिएको विषयमा मात्र सृजना गर्नुपर्ने हो ? ‘दलितका लागि हामी लडेको’ भनेर कुनै गैरदलितले क्रान्तिलाई उपकारकरण गर्न मिल्छ ? यो सोच्ने तरिका स्वयम् माओवादी आदर्शको खिलाफ छ । यस्तो बोल्दा जनयुद्धमा समानुपातिक रूपमा बलिदानको कोटा चुक्ता गर्ने दलित समुदायका सहिदहरूको अपमान हुन्छ भन्ने न्यूनतम सुद्दीसम्म गुमाउन मिल्छ ? वास्तवमा संसद्वादी पार्टीका नेता–कार्यकर्ता कला सामग्रीबारे किन यसरी सोच्छन् ? यसकारण कि उनीहरूको प्रशिक्षण नै फासीवादी ढंगले भएको छ । सत्यको प्राप्तिका निम्ति निरन्तर लाग्नेभन्दा विरोधीमाथि दमनद्वारा सत्ता हासिल गर्न सिकाइएको छ, त्यसैको दरिद्र परिणाम हो कला सामग्रीमाथि गुण्डागर्दी । ‘पिर’ गीति भिडियो जुन मात्रामा कमसल र विद्रूप छ, योभन्दा हजारौं गुणा बढी त्यसलाई बन्द गराउन गरिएको बौद्धिक गुण्डागर्दी भर्त्सनायोग्य छ ।

प्रकाशित : चैत्र ६, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

समाजवादी संस्कृति निर्माणको यात्रा

जसरी समाजवादी राजनीतिक व्यवस्था र अर्थतन्त्रबिना समाजवादी संस्कृतिले पूर्ण आकार पाउन सक्दैन, त्यसै गरी समाजवादी संस्कृतिलाई व्यवहारमै अभ्यासको थालनीबिना पनि समाजवादी राजनीति अगाडि बढ्न सक्नेछैन ।
आहुति

विश्व मानव समाजसँगै आजको नेपाली समाजका पनि राजनीतिक र आर्थिक क्षेत्रमा जसरी फरक–फरक वर्ग र समुदाय आपसमा संघर्षरत छन्, त्यसरी नै संस्कृतिका क्षेत्रमा समेत परस्पर विरोधी संस्कृति टकरावमा छन् । आर्थिक वर्गको कोणबाट हेर्‍यो भने सिंगै विश्व सम्पूर्ण उत्पादनका साधन र पुँजी कब्जा गरेको थोरै संख्याको पुँजीपति वर्ग र बहुसंख्यक श्रमिक वर्गका रूपमा दुई फ्याकमा विभाजित छ ।


त्यही सम्पत्ति वितरणको असमान अवस्थालाई टिकाइराख्ने कि त्यसलाई भत्काएर आर्थिक समानता र सामाजिक समतायुक्त न्यायपूर्ण व्यवस्था निर्माण गर्ने भन्ने विषयमा पुँजीवादी र समाजवादी राजनीतिविपरीतका रूपमा उपस्थित छन् । यस प्रकारको विभाजन र द्वन्द्वका कारण स्वाभाविक रूपमा संस्कृतिका क्षेत्रमा पनि दुई भिन्न संस्कृतिको टकराव उत्पन्न हुन पुगेको सहजै बुझ्न सकिन्छ । नेपालमा परिवर्तनका निम्ति राजनीतिक आन्दोलनहरू इतिहासमा र आज जुन झन्झनाहटका साथ देखा पर्ने गरेका छन्, सांस्कृतिक रूपान्तरणको प्रयत्न भने त्यति गतिलो देखा पर्दैन बरु बिस्तारै आफैं हुँदै जान्छ भन्ने प्रकृतिको स्वस्फूर्तवादको चौघेरामा कैद भएको प्रतीत हुन्छ । सांस्कृतिक रूपान्तरणका क्षेत्रमा यस प्रवृत्तिलाई त्याग्नु आवश्यक भइसकेको छ । समाजवादी संस्कृति निर्माणको यात्रालाई अब सचेत एवम् योजनबद्ध रूपमा कार्यक्रमिक बनाउन थाल्नैपर्छ ।

मानिसले बौद्धिक र शारीरिक श्रमद्वारा निर्माण गरिएको प्रत्येक वस्तु र चेतनालाई संस्कृति मानिन्छ । सजिलोका निम्ति संस्कृतिलाई भौतिक संस्कृति र बौद्धिक संस्कृतिका रूपमा विभाजन गरेर पनि अध्ययन गरिन्छ तर वस्तुत: बौद्धिक र भौतिक संस्कृतिलाई अलग्याउन भने सकिँदैन । संस्कृतिले खास समय र समाजको चेतनाको स्तरलाई प्रकट गर्ने गर्छ, त्यसैले संस्कृतिमा खास समय र समाजको विचारधारा व्यक्त हुन्छ । भौतिक संस्कृतिले वर्ग पक्षधरता लिँदैन त्यसै गरी संस्कृतिभित्रका मानकहरू पनि वर्गनिरपेक्ष रहन्छन् भन्ने मानिन्छ । बौद्धिक संस्कृतिले भने वर्गीय समाजमा स्पष्ट रूपमा वर्ग पक्षधरता लिन्छ । संस्कृति वर्गीय हुन्छ भन्नुको तात्पर्य यही नै हो । खास संस्कृतिको जन्म मुख्य रूपमा खास उत्पादन सम्बन्धका कारणले हुन पुग्छ । त्यसै गरी मानिसले आफ्नो जीवनलाई व्यवस्थित गर्न गर्ने निरन्तरको प्राकृतिक एवं सामाजिक प्रक्रियाका कारण पनि संस्कृतिको जन्म हुन पुग्छ । एउटै समाजमा शोषक वर्ग, जात, जाति, लिंग आदिको स्वार्थ र शोषित वर्ग, जात, जाति, लिंग आदिको स्वार्थ फरक हुने हुनाले परस्पर विरोधी संस्कृति जन्मिन पुग्छन्; तिनले एकअर्कालाई निषेध गर्न संघर्ष गर्छन् । परस्पर विरोधी संस्कृति जन्मिने वर्ग, जात, जाति, लिंग आदिको सामाजिक–आर्थिक–राजनीतिक अवस्थामा हेरफेर भएपछि त्यसमा आधारित संस्कृति पनि क्रमश: बदलिन पुग्छ । वस्तुगत आवश्यकताले संस्कृति जन्मिन्छ तर फेरि संस्कृतिले वस्तुलाई अर्थात् समाजलाई नै परिवर्तन गर्न पनि भूमिका खेल्छ । पदार्थबाट चेतना जन्मिन्छ तर चेतनाले पदार्थलाई बदल्न पनि भूमिका खेल्छ भनेजस्तै हो । संस्कृति राजनीतिको अधीनमा हुन्छ भन्ने भ्रम पनि आन्दोलनमा छ तर त्यो सत्य होइन । संस्कृति र राजनीति दुवै विचारधाराको अधीनमा हुन्छन् । राजनीति वर्गसंघर्षका क्रममा तीव्रतामा चलायमान हुने भएकाले संस्कृति राजनीतिको अधीन हुन्छ भन्ने विभ्रम जन्मिन पुग्ने मात्र हो । सांस्कृतिक रूपान्तरणको गति आम रूपमा ढिला तर दूरगामी हुन्छ । त्यसैले संस्कृति र राजनीतिले एकअर्कालाई प्रभावित गर्छन् तर एकअर्काको अधीन हुँदैनन् । बौद्धिक संस्कृति मूलत: दर्शन, राजनीति, विज्ञान, शिक्षा, ललितकलाका विभिन्न शाखा; धर्म; सांस्कृतिक पर्व, अनुष्ठान र संस्कारहरूमार्फत व्यक्त हुन्छ । सांस्कृतिक रूपान्तरणको सन्दर्भमा सबैभन्दा ध्यान दिनु आवश्यक विषयचाहिँ शिक्षा हो ।

समाजवादी संस्कृति निर्माणको आवश्यकताका निम्ति अघि बढ्दा नेपाली समाजमा आज केकस्तो संस्कृति हावी छ र कस्ता सांस्कृतिक चेतनाहरू समाजमा क्रियाशील छन् भन्ने विषयलाई निरूपण गर्नु जरुरी छ ।

(क) विकृत पुँजीवादी साम्राज्यवादी संस्कृति : नेपालमा संस्कृतिको क्षेत्रमा आज विकृत पुँजीवादी साम्राज्यवादी संस्कृति हावी छ । यस संस्कृतिको मुख्य गुदी भनेको उपभोक्तावाद हो । मानिस र मानवतालाई मालकरण गर्नु र मालको उपभोगको लालसा जन्माएर अनन्त अन्ध सुरुङमा मानिसलाई फसाउनु यसको मूल पक्ष हो ।

(ख) सामन्तवादी संस्कृति : नेपालको सामन्तवाद जात व्यवस्थामा आधारित थियो । आजको दलाल पुँजीवादले पनि जात व्यवस्थालाई सहवरण गरिसकेको छ । संस्कृतिका क्षेत्रमा सामन्तवादी रूढिवाद र जात व्यवस्थामा आधारित संस्कृति अहिले पनि जबरजस्त रूपमा क्रियाशील छ । पितृसत्तावाद, जात व्यवस्था, जातीय उत्पीडन, विभिन्न धर्मको प्रकोप, रूढिवादी प्रथा–परम्परा यसका ज्वलन्त उदाहरण हुन् । यस प्रकार विकृत पुँजीवादी साम्राज्यवादी संस्कृति मुख्य रूपमा र सामन्तवादी संस्कृति सहायक रूपमा सांस्कृतिक क्षेत्रका दुस्मन हुन् ।

(ग) परम्परागत मानव र प्रकृतिप्रेमी संस्कृति : संसार र नेपालको प्रत्येक सभ्यता र जातिले हजारौं वर्षको अभ्यासद्वारा मानव जीवन र प्रकृतिलाई सन्तुलन गर्न व्यावहारिक जीवनमा ज्ञानका सबैजसो शाखामा सांस्कृतिक अभ्यास गर्दै आएका छन् । ती सांस्कृतिक विषयहरू खास राजनीतिद्वारा निर्देशित होइनन् बरु आम मानिसले आर्जन र अभ्यास गर्दै आएका सांस्कृतिक सम्पदा हुन् । उदाहरणका लागि, नेपालका जनजातिले महिला स्वतन्त्रतालाई दिने महत्त्व, सामुदायिक जीवनमा रम्ने प्रवृत्ति र प्रकृतिसँग सन्तुलन बनाउने अभ्यास त्यही कोटिका संस्कृति हुन् । यस्ता संस्कृतिमा विज्ञान पनि हुन्छ र रूढिवाद पनि, विज्ञानलाई रक्षा र रूढिलाई नकार्दै जानुपर्छ भन्ने कुरा स्वत: सिद्ध छ । बच्चालाई माया गर्नु, बूढाबूढीको स्याहार गर्नु, खेतबारीमा मल बनाउन आगो बाल्नु तर जंगलको डढेलो निभाउन चाहनुजस्ता सांस्कृतिक चेतना प्रत्येक जाति र सभ्यतासँग धेरथोर छ । यो संस्कृति महत्त्वपूर्ण रूपमा अझै पनि बाँकी छ । यो सकारात्मक विषय हो ।

(घ) प्रगतिशील पुँजीवादी संस्कृति : सामन्तवादविरोधी औद्योगिक पुँजीवादले समानता, स्वतन्त्रता र भ्रातृत्वको नारा लिएर आयो । त्यो प्रगतिशील र त्यति बेलाको क्रान्तिकारी अवधारणा थियो । आजसम्म पुग्दा व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको रक्षासम्म त्यो विकसित भएको छ । पुँजीवादी संस्कृतिले जहाँसम्म सामन्तवादको विरोध गर्छ र मानिस एवं मानवतालाई नै मालकरण गर्दैन, त्यो सीमासम्म पुँजीवादी संस्कृति प्रगतिशील नै हुन्छ । त्यस्तो पुँजीवादी प्रगतिशील संस्कृति पनि क्रियाशील छ नेपालमा । त्यो पनि सकारात्मक विषय नै हो ।

(ङ) समाजवादी संस्कृति : आज नेपालमा समाजवादी संस्कृति एउटा ठोस व्यवहारकृत विषय बनिसकेको छैन । त्यसका निम्ति असाधारण त्याग र बलिदान भएका छन् तर पनि त्यो निश्चित कम्युनिस्टहरूको इच्छा र धेरथोर व्यवहारमा सीमित छ । तर समाजवादी व्यवस्था निर्माणको क्रान्तिकारी प्रक्रिया सुरु गर्न त्यस दिशामा यथासम्भव भइरहेका वैचारिक, राजनीतिक र संगठनात्मक प्रयत्नहरू पनि स्वयंमा वैज्ञानिक समाजवादी संस्कृतिका सचेत भ्रूणहरू हुन् । त्यसैले यो पनि एउटा निश्चित रूपमा सांस्कृतिक प्रवृत्ति हो ।

समाजवादी संस्कृतिका ध्येय र आधारहरू
हरेक नयाँ र प्रगतिशील वस्तु वा चेतना पुरानोको गर्भबाट जन्मिन्छ । इतिहासलाई व्याख्या गर्ने भौतिकवादी यस महत्त्वपूर्ण सिद्धान्तबाट हेर्दा समाजवादी संस्कृति परम्परागत मानव र प्रकृतिप्रेमी संस्कृति र प्रगतिशील पुँजीवादी संस्कृतिको गर्भबाटै जन्मिनु अनिवार्य हुन्छ । यसरी पुरानोबाट जन्मिएको संस्कृतिलाई व्यवस्थित र पूर्ण रूप दिनचाहिँ पुरानो व्यवस्थाको विचारधाराले सक्दैन । त्यसैले नयाँ वैज्ञानिक विचारधारा जरुरी हुन पुग्छ । यसर्थ, समाजवादी संस्कृतिका आधारहरू तीनवटा हुन्छन् । एक, परम्परागत मानव र प्रकृतिप्रेमी संस्कृति । दुई, पुँजीवादी प्रगतिशील संस्कृति । र तीन, मार्क्सवादी विचारधारा । यी तीन आधारमा उभिएर नै समाजवादी संस्कृति निर्माण हुने हो । समाजवादी संस्कृतिका मुख्य ध्येयहरू हुन्-

(क) सामाजिक समता र आर्थिक समानता : समाजमा रहेको जात, जातीय, लैंगिक, क्षेत्रीय, रंगभेदी, अपांगताविरोधी लगायतका सम्पूर्ण सामाजिक विभेदहरूलाई अन्त्य गर्नु र आर्थिक क्षेत्रमा रहेका सबै प्रकारका असमानतालाई अन्त्य गर्नु समाजवादी संस्कृतिको एउटा मुख्य ध्येय हो ।

(ख) पर्यावरणको रक्षा : मानव जाति, जीवहरू र वनस्पतिको निरन्तर सकुशल अस्तित्वका निम्ति पर्यावरणको रक्षा आजको एउटा मुख्य मुद्दा हो । आज सामाजिक क्रान्तिको एउटा मूल सवालका रूपमा यो विषय उपस्थित भैसकेको छ । स्वाभाविक रूपमा वर्गसंघर्ष र क्रान्तिका अनिवार्य प्रक्रियामा गर्नुपर्ने क्रियाकलाप गर्दा पर्यावरणमा हुन सक्ने क्षतिलाई बेहोर्नुको विकल्प श्रमिक वर्गसँग छैन । यसबाहेक भौतिक समृद्धिको यात्रामा भने पर्यावरणको रक्षा अनिवार्य रूपमा एउटा मुख्य विषय बन्नैपर्छ । त्यसैले वैज्ञानिक समाजवादी संस्कृतिको अर्को मुख्य ध्येय पर्यावरणको रक्षा हो ।

(ग) मानवीय स्वतन्त्रताको अधिकतम भोग र उपयोग : आजसम्मका सबै सामाजिक व्यवस्थाले मानिसको स्वतन्त्रता एक वा अर्को रूपमा कुण्ठित पार्दै आए । धर्म, राज्य, वर्गीय समाज आदिका कारण मानिसले व्यक्तिगत रूपमा अधिकतम स्वतन्त्रताको अनुभूति गर्न पनि सकेन, यस स्थितिका कारण मानिसको चेतनाको अधिकतम उपयोग पनि हुन सकेन । त्यसैले सबै सामाजिक बन्धनबाट मुक्त मानवीय स्वतन्त्रताको उपभोग र उपयोग समाजवादी संस्कृतिको एउटा मुख्य ध्येय हो ।

(घ) सम्पदाहरूको रक्षा : मानव समाजले हजारौं वर्षमा निर्माण गरेका भौतिक तथा सांस्कृतिक सम्पदाहरूको रक्षा समाजवादी संस्कृतिको अर्को मुख्य ध्येय हुनुपर्छ ।

(ङ) चेतनाको अधिकतम वैज्ञानिकीकरण : चेतनाको वैज्ञानिकीकरण तीव्र नबनाई न सारा अवैज्ञानिक पर्यावरणबाट मानिसलाई मुक्त गर्न सम्भव छ, न त मानव समाज र पर्यावरणकै प्रगति एवं रक्षा सम्भव छ । त्यसैले चेतनाको अधिकतम वैज्ञानिकीकरण समाजवादी संस्कृतिको एउटा मुख्य अनिवार्य ध्येय हो ।

श्रमिक वर्ग एवं उत्पीडित समुदाय र शोषक वर्ग एवं उत्पीडक समुदायबीचको टकरावबाट समाजवादी संस्कृतिको भ्रूण त जन्मिएको छ तर त्यो सम्पूर्ण रूपमा विकसित हुन विद्यमान राजनीति व्यवस्थाले रोकिराखेको छ । त्यसैले विद्यमान दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था निर्माण गर्ने राजनीतिक आन्दोलनले नै समाजवादी संस्कृति निर्माणको कार्यभारलाई पनि अघि बढाउनुपर्ने हुन्छ । एक, विद्यमान दलाल पुँजीवादले शासन गरिरहेको व्यवस्थाको विकृत पुँजीवादी र सामन्तवादी संस्कृतिको भण्डाफोर गर्नु, आम मानिसलाई त्यसको मानव र प्रकृतिविरोधी प्रपञ्चबाट बाहिर निकाल्न अभिप्रेरित गर्नु । दुई, आजैदेखि क्रमश: निर्माण गर्दै जाने वैज्ञानिक समाजवादी व्यवस्थाभित्र समाजवादी संस्कृतिको व्यवहारमै अभ्यास सुरु गर्नु । यी दुवै कार्यभार सँगसँगै अगाडि बढाउनुपर्ने हुन्छ । यो काम श्रमिक वर्गसहित सबै उत्पीडित वर्ग र समुदायले स्वस्फूर्त होइन, सचेत रूपमा अगाडि बढाउनुपर्ने कुरा हो । समाजवादी संस्कृतिको अभ्यास सबैभन्दा पहिले राजनीतिक पार्टी, संगठनहरू र त्यसको पक्षधर नवीन चेतनायुक्त नागरिक जमातले सुरु गर्नुपर्ने हुन्छ । त्यसपछि आम श्रमिक वर्ग र उत्पीडित समुदायमा अभ्यासमा लानुपर्ने हुन्छ । तसर्थ, पार्टी समाजवादी व्यवस्था र संस्कृति निर्माणतिर अघि बढ्न चाहने पार्टी, संगठनहरू र नागरिक जमातले आफूभित्र र समाजमा समाजवादी संस्कृति के अनि कसरी लागू गर्दै जाने भन्ने विषयमा समग्र सांस्कृतिक कार्यक्रम नै बनाएर अघि बढ्नु आवश्यक छ । त्यस प्रकारको समग्र सांस्कृतिक कार्यक्रम बनाउँदा (क) संघर्ष गर्नुपर्ने अर्थात् त्याग्नुपर्ने संस्कृति, (ख) सहवरण गर्न सकिने संस्कृति, र (ग) नयाँ सृजना गर्नुपर्ने संस्कृतिको सूची नै तयार पार्नु आवश्यक छ, अमूर्त कुराबाट काम चल्नेवाला छैन ।

समाजवादीहरूले आजैदेखि लागू गर्दै जाने सांस्कृतिक पक्षहरू तय गर्दा ती दीर्घकालीन र तत्कालीन दुई खण्डमा उपस्थित हुन्छन् । वैज्ञानिक विचारहरूद्वारा सिंगै समाजलाई क्रमश: कसरी प्रशिक्षित गर्दै जाने, शिक्षा कस्तो अन्तर्वस्तुमा आधारित तयार पार्ने, कला–साहित्य कस्तो हुनेजस्ता विषयहरू दीर्घकालीन रूपमा बहस छलफलसहित नीति र सामग्री तयार पार्दै अभ्यास गर्नुपर्ने हुन्छ । त्यसैले तिनलाई दीर्घकालीन खण्डमा राखेर योजना बनाउनु आवश्यक छ । तत्कालीन खण्डका रूपमा भने जन्मदेखि मृत्युसम्मका संस्कारहरूलाई कस्तो बनाउने, मानिसहरूबीचको स्थानमान (हाइरार्की) मा आधारित सम्बन्धलाई समानतामा आधारित बनाउन केके कुरा थालनी गर्ने, आर्थिक अनुशासन पारदर्शिताका निम्ति न्यूनतम मापदण्ड के लागू गर्ने, यौन जीवनलाई अनुशासित र युगसापेक्ष बनाउन के गर्ने, उपभोक्तावादको चरम मारबाट किफायती आचरणतिर जान आजैदेखि केके गर्ने, पर्यावरणको रक्षासँग समाजलाई जोड्न अहिलेदेखि केके गर्ने र विभाजित हुँदै गएको समाजलाई सामाजिकीकरणका निम्ति व्यावहारिक आयामहरू केके हुनेजस्ता विषयहरू समावेश गर्नु आवश्यक छ । विगतमा जस्तो केवल नयाँ संस्कृति निर्माणको सांस्कृतिक नीति बनाउने अनि अभ्यासचाहिँ पुरानै संस्कृति गर्दै जाने दोगला चरित्रमा फस्नु ऐतिहासिक गल्ती हुनेछ बरु नीतिलाई आजैदेखि के गर्दै जाने भन्ने विधि र अनुष्ठानमै ढालेर आवधिक योजनासहित अभ्यास सुरु गर्नुपर्छ ।

आजको पुँजीवादी तथा सामन्ती संस्कृतिको विकल्पमा समाजवादी संस्कृति अभ्यास गर्न थाल्नु भनेको नयाँ सांस्कृतिक सम्प्रदाय अर्थात् भौतिकवादी सांस्कृतिक सम्प्रदाय निर्माण गर्न थाल्नु हो भन्ने विषयलाई आत्मसात् गर्नैपर्छ । जसरी समाजवादी राजनीतिक व्यवस्था र अर्थतन्त्रबिना समाजवादी संस्कृतिले पूर्ण आकार पाउन सक्दैन, त्यसै गरी समाजवादी संस्कृतिलाई व्यवहारमै अभ्यासको थालनीबिना पनि समाजवादी राजनीति अगाडि बढ्न सक्नेछैन ।

प्रकाशित : फाल्गुन २२, २०७८ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×