कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल, चीन र एमसीसी

गणतान्त्रिक चीनका प्रथम परराष्ट्रमन्त्री लु ज्याङ जियाङले कुनै बेला भनेका थिए, ‘कमजोर देशको कूटनीति हुँदैन ।’ अर्थात्, बलिया राष्ट्रहरूले शक्तिले भ्याएसम्म जे सम्भव हुन्छ त्यही गर्छन्, जबकि कमजोर राष्ट्रहरू आफ्नो कमजोरीको प्रतिफल भोगिरहन बाध्य हुन्छन् । 

नेपाल, चीन र एमसीसी

एउटा अन्तर्राष्ट्रिय विकास सम्झौता - एमसीसी - ले निम्त्याएको आन्तरिक किचलो, भ्रम र आशंकासँगै राजनीतिक तथा सामाजिक ध्रुवीकरण एवं त्यसको सह–उत्पादन भूराजनीतिक समस्या नेपालजस्तो कमजोर राज्यको कूटनीतिक असफलताबाहेक केही हैन । अमेरिकी वर्चस्वविरुद्ध चीनको आक्रामक नीतिको बाछिटा आन्तरिक राजनीतिमा देखिएपछि भूराजनीतिक जटिलताको केन्द्रमा पुगेको छ नेपाल । अमेरिकाले एमसीसी सम्झौतालाई लिएर अन्यथा नतिजा आए नेपालसँगको सम्बन्धलाई समीक्षा गर्ने चेतावनी दिइरहेका बेला चीनले घुमाउरो पारामा नेपाललाई ‘टाढाको नातेदारभन्दा असल छिमेकी राम्रो हुन्छ’ भन्ने शिक्षा दिन खोज्यो । एमसीसी प्रकरणले नेपालमा मात्र हैन, चीनको राज्य–सञ्चालित मिडिया तथा सार्वजनिक छलफलहरूमा ठूलै ठाउँ पाइरहेको छ ।

एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएपछि चीनबाट दुई खाले भनाइ आए । चिनियाँ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा नेपालको संसद्बाट एमसीसी अनुमोदन हुनुलाई ‘नोट’ गरिएको र सधैं नेपालीलाई स्वतन्त्र रूपमा विकासको बाटामा सहयोग गर्ने भन्दै नरम अभिव्यक्ति दिइएको छ भने, राज्य सञ्चालित मिडिया ‘ग्लोबल टाइम्स’ ले यो सम्झौताले दक्षिण एसियाको शान्ति र विकासलाई खलबल्याउने भनेको छ । ‘ग्लोबल टाइम्स’ र परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा यसरी फरक भनाइ देखिनु अस्वाभाविक भने होइन । चिनियाँ सञ्चारमाध्यमहरू कम्युनिस्ट पार्टीको सन्देश तथा महत्त्वपूर्ण निर्णय र पार्टीको सूचना दिनमा बढी केन्द्रित हुन्छन् । विदेशी सरकार, त्यसमाथि अमेरिकी प्रभावविरुद्ध वकालत गर्दै आएका चिनियाँ मिडियाहरूले आम नेपालीबीच एमसीसी परियोजनाले उत्पन्न गरिदिएको राजनीतिक द्वन्द्वलाई पश्चिमी प्रभावको नकारात्मक असर भनी व्याख्या गरेका छन् । उदाहरणका लागि, एमसीसी सम्झौता संसद्बाट पारित भएलगत्तै साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको चीन र दक्षिण एसिया सेन्टरका महासचिव ल्यू ज्वङ्गीले नेपाल तथा दक्षिण एसियाली क्षेत्रमा अमेरिकी प्रभाव बढिरहेको, यसले यहाँको शान्ति र स्थायित्वलाई असर गरेको, विशेष गरी तिब्बतको शान्ति र स्थायित्वमा खलल पार्ने प्रयास गर्न खोजिरहेको लेखे । सोही बेला ‘एसिया प्यासिफिक’ दैनिकमा नेपालस्थित चिनियाँ दूतावासका पूर्व सैन्य सहचारी चेङ जिजोङले नेपाली नेताहरूसँग बाह्य शक्तिको हस्तक्षेपसँग जुध्न पर्याप्त सीप र शक्ति रहेको, चीनले विश्वास गरेको लेखे । चीनको विच्याट प्लाटफर्ममा एमसीसी अनुमोदन भएपछिका नेपाल सम्बन्धी प्रायः लेखमा यो परियोजनाले नेपाली नेताहरूलाई विभाजित गरेको र कतिपय नागरिक यसको विरोधमा एकजुट भएको उल्लेख गरियो ।

त्यसको अर्थ हो- चीनको परराष्ट्र सम्बन्धी अध्येताहरू पश्चिमी प्रभावलाई ‘पश्चिमद्वारा अपमानित’ भएको आफ्नो विगतको ऐतिहासिक कोणबाट हेर्छन्; जब अन्य विकासशील देशहरूमा यस्ता घटना देखिन्छन्, तब आक्रामक रूपमा प्रस्तुत हुन्छन् । आफू सफलतापूर्वक विकासको खुड्किलो पार गरी सम्पन्न राष्ट्र भएको चिनियाँ कथन छ । माओ त्सेतुङका बेलादेखिको, नेपालमा भारतसँग नजुध्ने आधिकारिक नीतिबाट पछि हटेर पछिल्लो समय चीनले यहाँ बाक्लै उपस्थिति देखाउन थालेको छ । चिनियाँहरू अन्तर्राष्ट्रिय सम्बन्धमा आफूले कुनै पनि राजनीतिक ‘मोडल’ निर्यात नगरेकामा जोड दिन्छन् अनि ‘पश्चिम’ को प्रभावमा सामेल हुनेहरूलाई हतोत्साहित गरिरहन्छन् ।

वेइबोजस्ता प्लाटफर्ममा, जहाँ चिनियाँ भाषा नबुझ्नेहरूको पहुँच हुन्न, नेपालबारे व्यापक सार्वजनिक बहस र छलफल हुनु नेपालका लागि चुनौती नै हो । त्यहाँका केही पोस्टमा नेपाली राजनेताहरूमाथि कडा टिप्पणी गरिएको छ । एउटा पोस्टमा नेपालका केही ‘राजनेता’ आफ्नो जिम्मेवारीबाट पन्छिएको र आउने चुनावमा मतदाताहरूलाई खुसी पार्नका निम्ति अभिनय गरेको भन्दै कडा आलोचना गरिएको छ, अर्को पोस्टमा खहरेझैं अस्थिर चरित्र अर्थ्याउने खालको चिनियाँ उखानमार्फत नेपाली राजनीतिमाथि व्यंग्य गरिएको छ । हुन पनि एमसीसी अनुमोदन गर्ने कि नगर्ने, गरे पनि चुनावपछि गर्ने कि अगाडिजस्ता क्षणिक स्वार्थमा अल्झेको नेपालको राजनीतिले अनावश्यक विदेशी चासो निम्त्याएको छ । त्यससँगै आउने हस्तक्षेपले नेपाल–चीन राज्य तथा जनस्तरबीचको सम्बन्धमा असर पार्ने चिनियाँ बुझाइ छ । नेपालका लागि एमसीसी सबैभन्दा ठूलो अनुदान परियोजना हो भने चीन एउटा ठूलो लगानीकर्ता । शक्तिराष्ट्रहरूको निकै आर्थिक प्रभाव रहेको नेपालमा अन्तर्राष्ट्रिय सम्झौतालाई लिएर भविष्यमा यसरी नै आन्तरिक किचलो भए यो मुलुक शक्तिराष्ट्रहरूका लागि रणभूमि बन्नेछ । केही नेपालीले एमसीसी पास हुनु चीनका लागि घाटा भएको दाबी गरेका छन् । हुन त यस्तो दाबी गरिहाल्ने समय भइसकेको छैन तर नेपालमा एमसीसी सम्बन्धी कुनै पनि गतिविधिमा चीनले नजर पक्कै लगाइरहनेछ । यसर्थ नेपाल थप अस्थिरता र द्वन्द्वको भूमि नबनोस् भन्नका लागि एमसीसी परियोजना सफल हुनु आवश्यक छ ।

राजनीतिक दलहरूको अदूरदर्शिताले निम्त्याएको विदेशी संलग्नताले जनस्तरमा अमेरिकी तथा चीनविरोधी भावना छरपस्ट देखिनु नेपालका लागि घातक हुन्छ । मुख्यतः वेइबो, वी च्याटजस्ता चीनका आधिकारिक प्लाटफर्महरूमा दुई–तीन वर्षयता नेपालको राजनीतिक घटनाक्रमबारे निकै छलफल हुने गरेको छ । नेपालबारे प्रायः अनभिज्ञ रहेका चिनियाँ नागरिकहरूले समेत तिनै प्लाटफर्ममा आएका राजनीतिक र आर्थिक विषयवस्तुबाट नेपालबारे अलग धारणा बनाएका छन् । यसको अर्थ हो- नेपालले चीनलाई निर्यात गर्न सक्ने सौम्य शक्ति (सफ्ट पावर) मध्ये राजनीतिक तथा सामाजिक घटनाक्रमहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । उदाहरणका लागि, चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दा धेरै चिनियाँ सर्वसाधारण तथा विद्यार्थीहरूले नेपालको राजनीतिबारे चासो राखेका थिए, जुन हाम्रा लागि अप्रत्याशित थियो । विश्वविद्यालयले नेपाल–चीन सम्बन्धबारे अन्तरक्रिया कार्यक्रम नै गर्‍यो, जहाँ द्विदेशीय आर्थिक–राजनीतिक सम्बन्धबारे पनि छलफल भएको थियो । त्यसैले ‘एभ्रिथिङ इज पोलिटिकल’ भनेझैं, भोलिका दिनमा जनस्तरमा सम्बन्ध खलबलिए, चिनियाँ पर्यटक ठूलो संख्यामा आउन सक्ने नेपालको पर्यटन क्षेत्रमा घाउचोट लाग्न सक्छ, जसलाई निको पार्न निकै लगानी गर्नुपर्ने हुन सक्छ ।

एमसीसीमा जस्तै तत्परता हामीले बीआरआईमा पनि देखाउनुपर्छ । बीआरआईले गर्न सक्ने दिगो विकासका लागि हामीले पूर्वतयारी गर्नुपर्छ । यस्ता परियोजनाका तथ्यपरक प्रतिवेदनहरू लेख्न र यथोचित सूचना प्रसार गर्न थिंकट्यांकहरू तथा विश्वविद्यालय मातहतका अनुसन्धान केन्द्रहरूलाई प्रोत्साहन गर्नुपर्छ, ताकि बीआरआईलाई लिएर एमसीसी प्रकरणमा जस्तै देखिएका भ्रमहरूलाई चिर्न सकियोस् । अनि मात्रै हामीले यस्ता महत्त्वपूर्ण परियोजनाहरूबाट लाभ उठाउन सक्छौं । लु ज्याङ जियाङले भनेझैं, आफ्नो कमजोरीको दास बनेका राजनीतिक दलहरूले पक्ष–विपक्षको जालझेल निम्त्याएर नेपालको दुर्बलताको परिचय दिनु हुन्न, किनभने कमजोर राष्ट्रको कूटनीति हुँदैन ।

प्रकाशित : चैत्र ४, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?