युद्धको मार महिलालाई बढी- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युद्धको मार महिलालाई बढी

सुशीला शर्मा

म हिला आन्दोलनबाट प्राप्त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक उपलब्धिहरूको सम्झनास्वरूप विगतमा झैं यस वर्ष पनि अन्तर्राष्ट्रिय महिला दिवस मनायौं । यो अभियानले विश्वभरि नै लैंगिक समानता, प्रजनन अधिकार र महिलाविरुद्धको हिंसा तथा दुर्व्यवहारका मुद्दालाई फेरि पनि छलफलमा ल्यायो । महिला आन्दोलनले कतिपय अधिकार सुनिश्चित गरे पनि महिलाहरूको अस्तित्वलाई समाजले अझै स्विकारिसकेको छैन । माहिलामाथिको विभेद, अन्याय तोडेर समतामूलक समाज बनाउन अझै लामो बाटो हिँड्नु छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार महिलाविरुद्धको हिंसा अनुमान गरेभन्दा धेरै गम्भीर छ र यो दिनानुदिन बढिरहेको छ । विश्वभरिका तीनमध्ये एक महिला बलात्कार, कुटपिट वा दुर्व्यवहारको सिकार हुने गरेको पनि विभिन्न अध्ययनले देखाउँदै आएका छन् । महिलाविरुद्धको हिंसा सबै समाजमा हुन्छ । तर, परम्परागत पितृसत्तात्मक प्रचलनहरूलाई जोड दिने समाजमा महिलाविरुद्धको हिंसाको दर उच्च हुन्छ । महिलाविरुद्धको हिंसा लैंगिक असमानताको परिणाम हो र यसले महिलाहरूलाई पूर्ण रूपमा अघि बढ्नबाट रोक्छ ।

यूएन विमेन अनुसार हिंसा, द्वन्द्व, राजनीतिक तथा मानवीय समस्याले गर्दा ८२.४ मिलियन मानिस घरबारविहीन भएका छन् । ११५ मिलियन मानिस उच्च गरिबीमा बाँचिरहेका छन् । १०० मिलियन मानिसलाई पर्याप्त खाना छैन । गत वर्ष अफगानिस्तान, इथियोपिया, म्यानमार लगायतमा गरी ७७ मिलियनभन्दा बढी महिला राजनीतिक हिंसाको सिकार भए । नेपालमा अहिले द्वन्द्व वा युद्ध छैन तैपनि महिला तथा बालिका हिंसाका घटनाहरू भने बढिरहेकै छन् । यसमा समाजको महिलाप्रतिको परम्परागत दृष्टिकोण दोषी छ । बाल विवाह, बलात्कारजस्ता घटनालाई सामान्यीकरण गर्न खोज्ने प्रवृत्तिले रीतिथिति र पितृसत्ता नेपाली समाजमा अझै हावी छन् भन्ने प्रस्ट पार्छ । महिला सुरक्षाका विभिन्न पक्षबारे पनि ध्यानै पुर्‍याइँदैन । जस्तो, दुर्गम क्षेत्रका किशोरी–बालिकाहरू दिनको दुई घण्टा हिँडेर विद्यालय आवतजावत गर्छन् भने त्यो अवधिमा उनीहरूको सुरक्षा कसरी गर्ने ? यस्तै, अनकन्टार बाटाहरूमा बालिकाहरूको बलात्कार र हत्यासम्म भएका घटनाहरू सार्वजनिक भइरहन्छन् ।

विश्व महिला आन्दोलन तथा मानव अधिकार आन्दोलनहरूले तय गरेका थुप्रै अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा नेपालले हस्ताक्षर र अनुमोदन गरेको छ । सो आधारमा बनेका कानुनबारे कैयौं सर्वसाधारणलाई थाहै छैन । थाहा पाउनेहरूले पनि अक्षरशः लागू गर्न हिचकिचाइरहेका छन् । सदियौंदेखि दोस्रो दर्जाका रूपमा हेरिँदै र व्यवहार गरिँदै आएका महिलाहरूको संवेदनशीलतामाथि खेलबाड गर्न शक्तिमा पुगेका पुरुषहरू अग्रसर नै हुने गरेका छन् ।

संसारका धेरै भागमा महिला र बालबालिकाविरुद्धको हिंसा सांस्कृृतिक र ऐतिहासिक अभ्यासमा आधारित छ । विशेष गरी अफ्रिका र मध्यपूर्वमा महिलाको यौनांग विच्छेदन महिला हिंसाको सामान्य रूप हो, जसबारे बल्ल बहस हुन थालेको छ । विवाहसँग सम्बन्धित महिला र बालिका हिंसाका विभिन्न रूप पनि छन् । अफ्रिका, दक्षिण र मध्य एसियामा बालविवाह र जबर्जस्ती विवाहलाई सामान्य मानिन्छ । महिला विकास, शान्ति–सुरक्षा र मानव अधिकारबीचको अन्तरसम्बन्धलाई कम आँक्न सकिँदैन । द्वन्द्व र युद्धमा शान्ति प्रक्रियाका लागि महिलाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । महिलाहरूले कुशलतापूर्वक देश हाँक्न सक्छन् भन्ने उदाहरण पनि प्रशस्तै भेटिन्छन् ।

अहिले युक्रेन र रुसबीच युद्ध भइरहेको छ, जसको विरोध संसारभरि भइरहेको छ । युद्धले सबैभन्दा बढी मार महिलाहरूमा पार्ने गर्छ । पहिलो र दोस्रो विश्वयुद्धको बढी असर पनि महिलामै परेको थियो । महिला हिंसा तथा बलात्कार ह्वात्तै बढेको थियो । त्यसैले पनि महिलाहरू युद्धको पक्षमा हुँदैनन् । अहिले पनि सामाजिक सञ्जालमा रसियाली तथा युक्रेनी महिलाहरू युद्ध रोक्नुपर्छ भन्ने अभियानमा छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले महिला समावेशीकरणले दिगो शान्तिको सम्भावनालाई बलियो बनाउँछ भन्ने मान्यता स्थापित गरिदिएको छ । शान्तिका कुरा गर्नुअघि हाम्रा समाजमा भएका अशान्तिको पाटो बुझ्नुपर्छ । महिलाहरू विभेदमा परिरहने वातावरण सुधार्ने योजना तथा कार्यनीतिमा ध्यान दिनुपर्छ ।

महिलाहरूको आर्थिक स्थिति सुधार्ने, राजनीतिमा उनीहरूको भूमिका र उपस्थिति बढाउनेतर्फ समाज–राज्य लाग्नुपर्छ । उनीहरूको भूमिका बढ्यो भने मात्र समाज शान्तिपूर्ण हुन्छ । यसका लागि महिला सचेतनाका क्षेत्रमा काम गर्नुपर्छ । उनीहरूलाई शिक्षित पार्ने तथा आफ्ना हक–अधिकारप्रति जानकार बनाउनेतर्फ राज्यले लगानी बढाउनुपर्छ ।

युद्ध आवश्यकता होइन र पुरुष होस् या महिला, कोही पनि युद्धमा होमिन चाहँदैनन् । यसले समाजलाई नै अस्तव्यस्त बनाउँछ । त्यसमा पनि महिलाहरू झनै जोखिममा पर्ने गरेका छन् । अहिलेको आवश्यकता भनेको शान्ति हो र महिलामैत्री समाज ।

त्यसका लागि विश्वका नेताहरूले पहल गर्नुपर्छ । र स्थानीयस्तरमा पनि शान्तिपूर्ण समाज बनाउन हरेक तह–तप्काले भूमिका खेल्नुपर्छ । यदि महिला राज्य सञ्चालनको नेतृत्वमा पुगे, अहिले भइरहेको जस्तो युद्ध पनि हुँदैन थियो होला किनभने उनीहरू युद्धको असरको बढी भुक्तभोगी हुन्छन् । र, त्यसको बढी मार आफैंले खेप्नुपर्छ भन्नेमा संवेदनशील पनि ।

प्रकाशित : फाल्गुन ३०, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

सांगीतिक कथाले राजनीतिक ‘पिर’

व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएका वास्तविक पात्रहरुको जीवनकथा बुनेर गीत र भिडियो बनाएको गायक प्रकाश सपुतको प्रतिक्रिया
जनकराज सापकोटा, दीपक सापकोटा

काठमाडौँ — गायक प्रकाश सपुतको नयाँ गीतले सशस्त्र द्वन्द्व, फेरिएको व्यवस्था र नफेरिएको अवस्थाबारे व्यापक बहस सिर्जना गराएको छ । गीतले ‘जनयुद्ध’ का लडाकुको अपमान गरेको भन्दै माओवादी नेता–कार्यकर्ताले आक्रोश पोखेका छन् । चार भ्रातृ संगठनले विज्ञप्ति नै जारी गरेर युट्युबबाटै भिडियो हटाउन र सार्वजनिक माफी माग्न सर्जकसँग माग गरेका छन् । उता सर्जक सपुतले भने वास्तविक पात्रहरूको जीवन कथा बुनेर गीत र भिडियो बनाएको प्रतिक्रिया दिएका छन् । 

गीतको पक्षविपक्षमा सामाजिक सञ्जालमा चर्को बहस चलिरहेका बेला कान्तिपुरलाई प्रतिक्रिया दिँदै गायक सपुतले हरेक दिन टेलिभिजनका पर्दा र पत्रपत्रिकाका पानामा देखिएका दृश्यलाई गीत/संगीतमा बुन्नु कसरी अस्वाभाविक भयो भनेर प्रश्न गरेका छन् । ‘पिरले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताका लागि सँगै लडेका कमरेडहरूबीच बढ्दै गएको असमान दूरी देखाउन मात्रै खोजेको हो । यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा समीक्षा लेखिँदै/पढिँदै आएको होइन र ?’ उनको प्रश्न छ ।

भिडियोमा देखिएका पात्र काल्पनिक नभएको र पूर्वछापामारलाई आफूले प्रत्यक्ष देखेको र संगत गरेको उनको भनाइ छ । ‘मैले करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने र पस्कनेमध्येका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे,’ सपुतले भने, ‘त्यो समयमा नै मैले यी विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो ।’ ‘सच्चा पात्र’ को अवस्था, स्वभाव, सोचको अध्ययन गरेर गीत रचिएको उनको दाबी छ ।

गीतको मुख्य पात्रका रूपमा गायक सपुत र सुरक्षा पन्त छन् । कलाकार पन्तको अभिनयलाई पनि धेरैले मुक्तकण्ठले सराहना गरेका छन् । त्यस्तै अर्की चर्चामा रहेकी कलाकार हुन् केशु पुन मगर (केशरी) जसले एक पूर्वछापामारको भूमिका खेलेकी छन्, उनी गुजाराका लागि देहव्यापारमा लागेको पात्रका रूपमा भिडियोमा देखिन्छिन् । यो दृश्यलाई माओवादी नेता–कार्यकर्ताले ‘जनयुद्ध’ मा लागेका समग्र महिलाको अपमानका रूपमा अर्थ्याएका छन् । भिडियोमा महिला छापामार हुँदै देहव्यापारमा संलग्न पात्रको भूमिका निर्वाह गरेकी केशरी वास्तविक जीवनमा जनवादी कलाकार हुन् । बागलुङ बरेङ गाउँपालिका निवासी केशरी कक्षा ३ पढ्दा नै जनवादी कलाकार बनेर हिँडिन् । उनले आफू ‘जनयुद्ध’ को समयमा गृहजिल्ला बागलुङदेखि गुल्मीसम्म गीत गाउँदै, जागरण भर्दै हिँडेको अनुभव सुनाइन् । म्युजिक भिडियो सार्वजनिक भएपछि आएका प्रतिक्रियालाई उनले स्वाभाविक रूपमा लिएकी छन् । ‘कसैले राम्रो भनेका छन्, कसैले नराम्रो पनि । तर, खासमा यो भिडियो नेपाली समाजको यथार्थ हो,’ उनले कान्तिपुरसँग भनिन् ।

कलाकार केशरीले यो पात्रका रूपमा प्रकाशले आफूलाई योग्य ठानेकोमै खुसी व्यक्त गरिन् । छापामारका अनेक संघर्ष देखेकी उनी गीत र भिडियोले सत्य घटनालाई टपक्क टिपेको मान्छिन् । ‘गीतमा भनिएजस्तो कथाव्यथाहरू हामीले देखेका छौं, सुनेका छौं,’ उनले भनिन् । केशरी चिया पसल चलाएर जीवन गुजारा गर्दैछिन् । काठमाडौंको नेपालटारछेउ शेषमती पुलनजिकै उनको पसल छ, उनी कलाकारितामा पनि संघर्षरत छिन् ।

सपुतले भने पूर्वछापामार देहव्यापारमा लागेको दृश्यमा आत्मालोचना गरेका छन् । ‘अलि बढी कोट्याइएको एउटा दृश्य छ, त्यो आत्मसम्मानसँग जोडिएको हो । प्रतीकात्मक रूपमा राखिएको दृश्यले कसैको आत्मसम्मानमा असर पुग्न जाने महसुस गरें । यसमा भने आत्मालोचना गर्छु,’ उनले भने ।

‘सबैखाले प्रतिक्रिया हेर्दै छु । आफ्नै सिर्जनालाई तपाईंहरूको नजरबाट पनि हेर्दै छु । मैले गलत गरेको हो कि ? तपाईंहरुले त बुझेको हो, समीक्षा गर्दै छु,’ उनले भने  ।

माओवादीका धेरै नेता–कार्यकर्ताले चुनावको मुखमा ल्याइएको यो गीत राजनीतिक प्रतिशोध प्रेरित भएको आरोप लगाएका छन् । माओवादी केन्द्रकी सांसद सत्या पहाडीले फेसबुकमा लेखेकी छन्, ‘चुनावको मुखैमा आएर प्रकाश सपुतले जनयुद्धको उपलब्धिलाई दिग्भ्रमित पार्दै वीरता, साहस र बलिदानीपूर्ण ढंगले परिवर्तनको आन्दोलनमा समर्पित वीर वीरंगनाको इतिहासलाई अपमान गर्दै गीतिकथा सार्वजनिक गरेर परिवर्तनविरोधी प्रवृत्तिको मतियार बनेका छन् ।’

सपुतले कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखेको पनि स्पष्ट पारेका छन् । ‘सबैमा सबै खाले क्षमता हुँदैन । मभित्र राजनीतिक चेत छ तर त्यति धेरै राजनीतिक विश्लेषण गर्ने क्षमता राख्दिनँ । जसरी अघिल्ला बोल माया, दोहोरी ब्याटल, गलबन्दी, बदला बरिलै, फुटेका चुरा, मेरो पनि हैन र यो देश, कुरा बुझ्न पर्छ गीतहरूमा कथा बुन्थें, पात्र बनाउँथें, टुक्का टिप्थें, लय हाल्थें र रेकर्ड/छायांकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।’ तर सपुतको भिडियो आपत्तिजनक भन्दै माओवादी पंक्तिले सामाजिक सञ्जालमा लगातार आक्रोश पोखेको छ ।

माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) का संयोजक सुमन देवकोटाले ट्वीटरमार्फत प्रकाश सुपतको गीत युट्युबबाट हटाउन माग गरेका छन् । लेखेका छन्, ‘देशको राजनीतिक रूपान्तरणका लागि लडेका महिला छापामारलाई चरित्रहीन नारीका रूपमा चित्रण गरिएको कथित म्युजिक भिडियो सह्य छैन । गणतन्त्रको सेनानीको अपमान हुने शब्द/दृश्य तुरुन्त हटाउन म प्रकाश सपुतसँग अनुरोध गर्दछु ।’ माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले पनि फेसबुक पोस्टमा भिडियो आपत्तिजनक मात्रै नभएर दण्डनीय भएको टिप्पणी गरेका छन् । माओवादीको भ्रातृ संगठन अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहले त गायक सपुतलाई चेतावनी दिएकी छन् । उनले फेसबुकमा स्टाटसको अन्तमा लेखेकी छन्, ‘पिर नामक भिडियो सार्वजनिकमा माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’

सकारात्मक र नकारात्मक प्रतिक्रिया आउँछन् भन्ने जान्दाजान्दै पनि हतोत्साही नै गराउन खोजिन्छ भनेर आफूले नठानेको सपुतको भनाइ छ । ‘यस्ता विषय उठान गर्दा आउने राजनीतिक दबाबहरूको केही अनुमान गरे पनि गीत हटाउनेसम्मकै माग उठ्छ भनेर आकलन गरेनछु । यसलाई गलत व्याख्या गरिन्छ र निरुत्साहित गर्न खोजिनेछ भन्ने कुराको हेक्का राखेनछु,’ उनले भने ।

माओवादी केन्द्रसम्बद्ध नेता तथा कार्यकर्ताले म्युजिक भिडियोमाथि आक्रोश र धम्कीपूर्ण अभिव्यक्ति दिए पनि जनयुद्धकै एक नेतृत्वकर्ता एवं जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले भने गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको भन्दै आपत्ति मान्नुपर्ने विषय नरहेको स्पष्ट पारेका छन् । ‘म पनि जनयुद्धको एक अगुवा हुनुका नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु, त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन,’ भट्टराईले भनेका छन् ।

माओवादीका पूर्वलडाकु तेज दोङले बिम्बहरू जीवन्त उतार्न सफल भएको भन्दै धन्यवाद दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पिर हेरेपछि विद्रोहमा सामेल सिपाहीको नाताले जे देखें/भोगें पिर जीवन्त रूपमा उतार्नु भएकामा साधुवाद ।’

त्यस्तै, गीतको प्रशंसा गर्दै सर्जकको पक्षमा ऐक्यबद्धता जनाउनेको संख्या असाधारण छ । सामाजिक सञ्जालमा आलोचना र प्रशंसाको चर्को बहसबीच भिडियो युट्युबका ‘ट्रेन्डिङ’ मा छ । शुक्रबार साँझ गायक सपुतकै युट्युब च्यानलमार्फत सार्वजनिक यो म्युजिक भिडियोले लगातार दर्शक तानिरहेको छ । आइतबार बिहान १० बजेसम्म भिडियोको ‘भ्युज’ १२ लाख हाराहारी थियो, प्रत्येक घण्टा एक लाखभन्दा बढीले यो गीत युट्युबमार्फत हेरिरहेका छन् । आइतबार मध्यरातिसम्म ३० लाख पटक यो भिडियो हेरिएको छ ।

कथात्मक शैलीमा प्रस्तुत म्युजिक भिडियोको केन्द्रीय पात्र छन्, सशस्त्र द्वन्द्वकै क्रममा जनवादी बिहे गरेका एक दम्पती । लडाइँमा घाइते भएका दम्पती शान्ति प्रक्रियापछिका दिनमा बाँच्नकै निम्ति कठिन संघर्ष गरिरहेको भिडियोमा देखाइएको छ । अनि क्रान्तिको नेतृत्व गरेको दल दिशाहीनतामा हराएको, राज्य नेतृत्वमा पुगेका नेताहरू आफ्नै कार्यकर्ताको दिनहीन हालतमाथि तमासे बनेको जस्ता विषयमाथि म्युजिक भिडियोले कठोर व्यंग्य गरेको छ । भिडियोमा लडाकुको सपना साकार नभएको र देहव्यापारदेखि वैदेशिक रोजगारीमा जानु परेकासम्म दृश्य छन् ।

संगीतकार आभाष म्युजिक भिडियोमाथि दलसम्बद्ध व्यक्तिबाट आएका आक्रोश र धम्कीपूर्ण अभिव्यक्ति समग्र वाक् स्वतन्त्रताकै विरुद्धका आएको टिप्पणी गर्छन् । यस्तो प्रवृत्तिलाई अनुदार राजनीतिको उदाहरणका रूपमा लिनुपर्ने बताउँदै उनले भने, ‘यो गीतमा त्यस्तो आपत्ति मान्नुपर्ने कुरै केही छैन । युद्ध लड्नेहरू अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने देखाइएको न हो ।’ उनले यस्तो प्रवृत्तिले गीत/संगीत सर्जकलाई भयपूर्ण अवस्थामा लैजाने र उनीहरूको कल्पनाशक्तिमाथि प्रहार हुने बताए ।

राजनीतिक विषयमा बनेका गीत र भिडियोमा दलका नेता–कार्यकर्ता उत्तेजित भएको यो पहिलो पटक भने होइन । तीन वर्षअघि लोकगायक पशुपति शर्माले जस्तो धम्कीपूर्ण टिप्पणी र आक्रोशको सामना गरेका थिए, अहिले ठ्याक्कै त्यही अवस्थामा छन् प्रकाश सपुत । २०७५ फागुनमा पशुपति शर्माको ‘लुटन सके लुट कान्छा, लुटन सके लुट’ बोलको गीत पनि तत्कालीन सत्तारूढ नेकपासम्बद्ध नेता–कार्यकर्ताको आक्रोशको तारोमा परेको थियो । त्यतिबेला नेकपाको भ्रातृ संगठन युवा संघका नेता किरण पौडेलले त फेसबुकमा स्टाटस नै लेखेर गायक पशुपति शर्मालाई बहिष्कार गर्न अपिल गरेका थिए । नेकपासम्बद्ध नेता तथा भ्रातृ संगठनको आक्रोश चर्किंदै गएपछि शर्माले गीत युट्युबबाटै हटाएका थिए । त्यतिबेला सत्तारूढ दल नेकपाकै नेता–कार्यकर्ता विरोधमा प्रस्तुत भएका थिए, अहिले पनि सत्तारूढ दल माओवादी केन्द्र विरोधमा अघि सरेको छ ।

संगीतकार आभाषले म्युजिक भिडियोमाथि दलका नेता–कार्यकर्ताको उत्तेजनालाई आलोचनात्मक प्रश्न गर्ने सक्ने समाजविरुद्धकै कदमका रूपमा पनि अर्थ्याए । ‘माओवादी मात्रै होइन अरू दल पनि उस्तै देखिन्छन् । असहिष्णु स्वभाव जुनसुकै पार्टीमा पनि छ । आलोचकमाथि खनिने प्रवृत्ति खतरनाक छ,’ उनले भने ।

राजनीतिक मात्र होइन, धार्मिक संगठन पनि गीत/संगीतको विरोधमा उत्रने गरेका उदाहरण छन् । २०७७ को साउनमा गायिका सोफिया थापाले ‘अबको तीज नो व्रत प्लिज बोल’ को गीतको म्युजिक भिडियो हाइलाइट्स नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी थिइन् । लगत्तै थापालाई हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय समिति नामक संस्थाका प्रतिनिधि बताउनेहरूले गीत हटाउन दबाब दिएका थिए ।

-कान्तिपुरमा साेमबार प्रकाशित यो समाचारमा केशुको परिचय पूर्वलडाकुकाे रुपमा चित्रित भएकोमा माफीसहित भूलसुधार गरिएको छ । - सम्पादक

प्रकाशित : फाल्गुन ३०, २०७८ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×