कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

छोरीलाई दाइजो हैन, शिक्षा

छोराछोरीको असली र स्थायी गहना र सीप भनेको उनीहरूले पाउने शिक्षा र अवसर नै हो ।
मधु राई

केहीअघि छोरीको विवाह सम्पन्न गरियो । बिहेताका केही आफन्तले ‘छोरीलाई दाइजो दिन केही तयार गर्नुभएको छ कि !’ भनेर सोधेपछि हामी दम्पती किंकर्तव्यविमूढ भएका थियौं । जनजाति समुदायमा न छोरीलाई दाइजो दिने चलन छ न छोराको बिहेमा दाइजोको आस नै गरिन्छ । तथापि पछिल्लो समय कतिपय हुनेखाने अभिभावकले अरू समुदायको देखासिकी गर्दै जनजाति समुदायमा पनि बिहेताका दाइजोका रूपमा सुनचाँदीका गहनासहित जिन्सी सामानहरू दिने प्रचलन बढ्दै छ ।

छोरीलाई दाइजो हैन, शिक्षा

गाउँघरमा जनजाति समुदायभित्र पर्ने राई–लिम्बू थरका कतिपयले छोराछोरीको बिहेताका ‘साम्चेक’ उठाउने प्रचलन रहिआएको छ । साम्चेक अर्थात् आफन्त र छरछिमेकले गर्ने जिन्सी र आर्थिक सहयोग । साम्चेकमा सहयोग गर्नेहरूको नामावली, सहयोगको प्रकार र मात्राबारे लिखित रूपमा राख्ने प्रचलन छ । त्यही लिखत हेरी त्यस्ता सहयोगीकहाँ बिहे पर्दा साम्चेककै रूपमा फर्काउने चलन छ । तथापि पछिल्लो समय सहरबजारमा यस्तो प्रचलन लोप हुँदै गएको छ भने कतिपयले साम्चेकमा उठेको रकम सामाजिक संस्थालाई दिने गर्छन् ।

जनजाति समुदायमा विगतदेखि चलिआएको दाइजोबिनाको बिहेबारी अरू समुदायका लागि अनुकरणीय भए पनि पछिल्लो समय नेपाली समाजमा दाइजो लिने र दिने प्रचलनले पराकाष्ठा नाघ्दै छ । छिमेकी मुलुक भारतमा दाइजो प्रथाका कारण छोरीबुहारीको जीवन कष्टप्रद बनेको मात्र छैन, यसले घरेलु हिंसालाई प्रोत्साहित गर्दै छ । यस्तो कुसंस्कारलाई नेपाली समाजले जानी–नजानी अंगीकार गर्दै छ । हुनेखानेहरूले बिहेताका गर्ने अतिरिक्त तामझाम र छोरीलाई दाइजो दिँदा आफ्नो आर्थिक हैसियत देखाउने प्रवृत्ति बढ्दै छ । यस्ता अभिभावकहरूमा जसरी पनि दाइजो दिनैपर्छ नत्र छोरीले दुःख पाउँछे भन्ने मानसिकता हावी हुँदै गएको छ । को हुनेखाने को हुँदाखाने, के अशिक्षित के शिक्षित, युवाहरूमा पनि ससुरालीबाट दाइजो पाइन्छ भन्ने लोभ बढ्दै छ ! कतिपय अवस्थामा वरपक्षले खुल्लमखुला ‘डिमान्ड’ गर्न थालेको देखिन्छ र त्यो माग पूरा गर्न नसके विवाहमण्डपबाट बरियात फर्काउने धम्कीसम्म दिने गरेका समाचारहरू बेलाबेला आउने गरेका छन् ।

वरपक्षको अतिरिक्त माग पूरा गर्न वधूपक्षले घरखेतसम्म बेच्नुपरेको हामी टोलछिमेकमै देख्न सक्छौं । घरखेत बेचेर तथा ऋणपान गरेर भए पनि छोरीलाई दाइजो दिएका कतिपय अभिभावकसँग वरपक्षले बिहेपछि पनि अतिरिक्त माग गर्ने गरेका छन् र त्यो पूरा नभए बुहारीलाई कतिपयले घरकी न घाटकी बनाएका छन् । कदंकदाचित् बिहेमा वधूपक्षबाट भनेजस्तो दाइजो नपाए वरपक्षले बुहारीमाथि हिंसा गर्न थाल्छ र कतिपय अवस्थामा माइतीको जिम्मा लगाउँछ, कतिपय सामाजिक संस्थाको शरणमा पुग्छन् । दाइजोकै कारण बुहारीको हत्यासम्म गर्न वरपक्ष पछि पर्दैन ।

केही दिनअघि कान्तिपुर दैनिकमै बिहे भएको आठ वर्षपछि दाइजो नदिएको निहुँ झिकेर दुई छोराछोरीसहित २४ वर्षीया रोशनी साहलाई परिवारले घरनिकाला गरेको समाचार छापिएको थियो । अहिले न्यायको खोजीमा रहेकी रोशनीलाई घरनिकाला गर्ने मिश्रीलाल साह रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकृत हुन् । विडम्बना, स्थानीय निकायका अधिकृत तहका कर्मचारीले दाइजो नपाएकै कारण श्रीमतीलाई दुई छोरीसहित घरनिकाला गर्दा पनि सरकार र समाज मुकदर्शक बनेका छन् । नेपाली समाजमा दाइजोकै कारण सामाजिक विसंगति र विकृतिहरू फैलिरहँदा नागरिक समाज लगायत हाम्रा नीतिनिर्माताहरूको मौनता बुझिनसक्नु छ । यसबाट उनीहरू स्वयं पनि दाइजो लिने–दिनेहरूको अग्रपंक्तिमा पर्छन् भन्ने बुझिन्छ किनभने राज्यले दाइजो लिनु–दिनु सामाजिक अपराध हो भनेको छ तथापि यसलाई व्यवहारमा उतार्न उनीहरू स्वयं चुकेका छन् । यसरी बिहेताका वधूपक्षबाट दाइजोको आस गर्नेहरूमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा गृहिणी सासूआमाहरू अग्रपंक्तिमा पर्छन् । यसो हुनुमा उनीहरूको पृष्ठभूमि र योग्यताले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । कतिपय सासूआमा त्यस्तै परिवेशबाट आएका हुन्छन्, शिक्षा र अवसरबाट वञ्चित भएका हुन्छन् । आफ्नै अभिभावकबाट वञ्चितीकरणमा परेका यस्ता सासूआमाहरू छोराको बिहेमा टन्न दाइजो पाइन्छ भनेर बसेका हुन्छन् । यस्ता सासूआमाका कतिपय छोरा जति नै शिक्षित र हुनेखाने भए पनि वधूपक्षबाट दाइजो पाइने आशामा हुन्छन् । त्यसो त छोराहरूलाई मात्र के दोष दिनु, कतिपय शिक्षित छोरीहरूले समेत ‘दाइजो लिने घरपरिवारमा बिहे गर्दिनँ’ भन्न सकेका छैनन् !

जनजाति समुदायमा दाइजो लिने–दिने चलनले प्रश्रय नपाउनुका थुप्रै कारणमध्ये एउटा हो— विभेदरहित हुर्काइ, जहाँ छोरीलाई पनि छोरासरह शिक्षा र अवसर दिइन्छ । कतिपय शिक्षित छोरीहरू त आर्थिक रूपले आत्मनिर्भर भएपछि मात्र बिहे गर्छन् । अरू समुदायमा छोरीले स्कुले शिक्षा पूरा गरेपछि वर खोज्न अभिभावक हतारिन्छन् भने जनजाति समुदायमा त्यस्तो चलन छैन । अरू समुदायका तुलनामा जनजाति समुदायका छोरीहरू बरु एकल बस्न रुचाउँछन् र अभिभावकले पनि बिहेमा करबल गर्दैनन् । जनजाति समुदायमा बिहे नगरेका र बिहे गरेका छोरीहरूले छोरासरह आफ्नो माइतप्रतिको जिम्मेवारी वहन गर्छन् ।

जनजाति समुदायले अंगीकार गर्दै आएका कतिपय सामाजिक सुसंस्कार अरू समुदायका लागि प्रेरणादायी भए पनि दाइजोजस्तो कुसंस्कारलाई अंगीकार गर्ने अभिभावकहरू बढ्दै छन् । यसो हुनुको कारण उनीहरूको हुर्काइ र शिक्षणसिकाइ पनि हो । विडम्बना, वर्तमान शिक्षाले सामाजिक कुरीति र विसंगतिविरुद्ध उभिन आफ्ना विद्यार्थीहरूलाई नैतिक रूपले तयार गर्न सकेको छैन । दाइजो लिनु–दिनु सामाजिक अपराध हो भनेर विद्यार्थीहरूलाई जागरुक बनाउन नेपाली शिक्षा पूर्णतया चुकेको छ । हुन पनि, बाल्यकालदेखि किशोरावस्थासम्म स्कुले शिक्षा हासिल गर्न समय र सीप खर्चेका बहुसंख्यक विद्यार्थी आज रोबोटजस्ता भएका छन् । रोबोटजस्ता बनेका यस्ता छोराछोरी जति नै शिक्षित भए पनि आफ्ना अभिभावकले जे भन्छन्, त्यही गर्न सधैं तत्पर हुन्छन् । यस अर्थमा आफूले पाएको ज्ञान, शिक्षा र विवेकलाई थाती राखी दाइजोजस्तो कुसंस्कारलाई अंगीकार गर्ने छोराछोरी र अभिभावकहरूका कारण पनि यसले नेपाली समाजलाई थिलथिलो बनाएको छ ।

पितृसत्तात्मक नेपाली समाजमा अझै पनि बहुसंख्यक अभिभावकले छोरीलाई छोरासरह शिक्षा र अवसर दिन कन्जुस्याइँ गर्दै आएका छन् । यस्ता अभिभावकहरूमा ‘अर्काको घर जाने छोरीलाई किन धेरै पढाउनुपर्‍यो’ भन्ने मानसिकताले जरो गाडेको छ । कतिपय हुनेखाने अभिभावकहरू छोरीलाई दाइजो दिए आफ्नो हैसियत पनि बढ्ने र छोरीले पनि सुख पाउँछे भन्नेमा विश्वस्त देखिन्छन् ।

घरेलु हिंसाका थुप्रै कारणमध्ये दाइजो पनि एक हो भनेर समाजशास्त्रीहरूले औंल्याउँदै आएको धेरै भयो । दाइजोका कारण बढ्दो विकृति र विसंगति रोक्न सर्वप्रथम पाठ्यसामग्रीलाई जतिसक्दो चाँडो परिमार्जन गर्न जरुरी छ । किनभने विद्यार्थी जीवनमा दाइजो लिने र दिने कुसंस्कारबारे थाहा पाएका विद्यार्थीहरू कालान्तरमा त्यसविरुद्ध उभिन सिक्छन् भने अभिभावकहरूलाई पनि दाइजो लिनु र दिनु सामाजिक अपराध हो भनेर बुझाउन सक्छन् । अभिभावकहरूले पनि बुझ्नुपर्छ— छोराछोरीको असली र स्थायी गहना र सीप भनेको उनीहरूले पाउने शिक्षा र अवसर नै हो । छोरासरह शिक्षा र अवसर पाएका छोरीहरू कुनै दृष्टिकोणले पनि कम हुँदैनन् ।

समग्रमा, दाइजोरूपी कुसंस्कार निर्मूल पार्न शिक्षित र हुनेखाने अभिभावकहरूले यसलाई सामाजिक अपराधका रूपमा स्विकार्नुपर्छ । छोरीहरूलाई दाइजो हैन, शिक्षा र अवसर दिनुपर्छ ताकि बिहेपछि पनि उनीहरूले आत्मसम्मान र स्वाभिमानका साथ जीवन निर्वाह गर्न सकून् ।

प्रकाशित : फाल्गुन २९, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?