१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जलवायु परिवर्तनले निम्त्याएका स्वास्थ्य–चुनौती

नेपालमा सन् २००६ मा पहिलोचोटि डेंगीको प्रकोप हुँदा ९ जिल्लामा ३२ जना मात्र संक्रमित भएका थिए भने २०१९ मा ६८ जिल्लामा १८ हजारभन्दा बढी संक्रमित भएको २०२१ मा बीएमसीको ‘गरिबीका संक्रामक रोगहरू’ जर्नलमा छापिएको लेखमा उल्लेख छ । २०१६ का तुलनामा, डेंगीका संक्रमितहरू २०१८ मा पाँच गुणा र २०१९ मा करिब १४० गुणा बढी थिए ।

जलवायु परिवर्तनले निम्त्याएका स्वास्थ्य–चुनौती

नेपालमा उपलब्ध तापक्रम र वर्षाको तथ्यांक अध्ययन–विश्लेषण गर्दा जलवायु परिवर्तन तीव्र गतिमा भइरहेको देखिन्छ । तापक्रमको प्राप्त तथ्यांक अनुसार नेपालको समग्र तापक्रममा वृद्धि भएको छ भने हिमाली र पहाडी भेगमा तापमान बढ्ने क्रम तराई र भित्री मधेशका तुलनामा बढी छ । वर्षाको तथ्यांकले जलवायु विषमता सम्बन्धी कुनै स्पष्ट भिन्नता नदेखाए पनि नेपालमा भारी तथा अत्यन्त कम वर्षा हुने दिनहरूको संख्या बढिरहेको छ । जलवायु परिवर्तनजनित तापमान वृद्धिका कारण छोटो समयमा धेरै वर्षा, लामो खडेरी, अत्यधिक बाढी, हिमताल विस्फोटन, धेरै दिनसम्म कुहिरो लाग्ने, ताप लहर, शीतलहर, पानीका स्रोतहरू सुक्ने, नयाँनयाँ रोगको प्रकोपमा वृद्धि हुनुका साथै नयाँ ठाउँमा रोगको प्रकोप फैलने, वनडढेलो लाग्नेजस्ता नकारात्मक असरहरू उत्पन्न हुन सक्नेछन् ।

केही वर्षयता जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असरबारे धेरै चर्चा हुने गरेको छ । जलवायु परिवर्तनका विनाशकारी प्रभावहरूले गर्दा यो सबैको चासोको विषय बनेको छ । जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी मञ्च (आईपीसी) का अनुसार, मानवीय क्रियाकलाप तथा प्राकृतिक अस्थिरताका कारण लामो समयावधिमा जलवायुमा हुने कुनै पनि किसिमको परिवर्तन नै जलवायु परिवर्तन हो । जलवायु परिवर्तनले असर पार्ने प्रमुख तथा महत्त्वपूर्ण क्षेत्रहरूमध्ये स्वास्थ्य पनि एक हो ।

लेखकद्वयको पछिल्लो अध्ययनले कीटजन्य रोगहरू र तापक्रम, वर्षा र सापेक्षिक आर्द्रताजस्ता मौसमी तत्त्वहरूबीच महत्त्वपूर्ण सम्बन्ध रहेको देखाएको छ । पहिले कहिल्यै यस्ता रोगहरू नपाइएका उच्च भूभागमा पनि मुख्यतः तापक्रम वृद्धिसँगै अहिले सहजै देखिन थालेका छन् । कीटजन्य रोगहरू सार्ने लामखुट्टे तथा भुसुनाहरू तापक्रम वृद्धिसँगै तराईबाट पहाडी जिल्लामा सर्दै गएको र बेलाबखत प्रकोपको रुममा देखिएको अनुमान गर्न गाह्रो छैन । यो प्रवृत्ति नेपालमा मात्र नभएर हिन्दुकुश पर्वतीय क्षेत्रमा अवस्थित भारत, भुटान, बंगलादेश, चीन, पाकिस्तान, अफगानिस्तान र म्यान्मार (बर्मा) मा पनि प्रस्ट देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, जलवायु परिवर्तनका कारण विश्वभर सन् २०३० देखि २०५० सम्म कुपोषण, मलेरिया, झाडाबान्ता र गर्मीका कारण थप २ लाख ५० हजार मानिसको मृत्यु हुनेछ । यस्ता समस्याले स्वास्थ्य क्षेत्रमा पार्ने क्षतिको लागत २०३० सम्म अन्दाजी २–४ अर्ब अमेरिकी डलर हुनेछ । कमजोर स्वास्थ्य संरचना रहेको नेपालजस्ता अल्पविकसित मुलुकहरूमा यसको क्षति अझ बढी हुने देखिन्छ ।

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असर बहुआयामिक हुन्छ । रोग सार्ने वाहक (भेक्टर) बाहेक जलवायु परिवर्तनले अन्य समस्या पनि निम्त्याउँछ । युरोपमा सन् २००३ मा आएको ताप लहरको प्रकोपका कारण ३० हजारभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको थियो, जसमा धेरैजसो फ्रान्सका ज्येष्ठ नागरिक थिए । २०१९ मा भारतको उत्तर प्रदेश र पाकिस्तानमा तापलहरले गर्दा सयौं मानिसले ज्यान गुमाएका थिए । पाकिस्तानको जकोबाबादमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेको थियो जुन पाकिस्तानकै अहिलेसम्मको उच्च तापक्रम हो । भर्खरै नेपालमा आएको बेमौसमी मुसलधारे वर्षा र बाढीले सयौं व्यक्तिको ज्यान लियो । यस्ता अकस्मात् आउने प्रकोपले वृद्धहरू, महिला र बच्चाहरूमा बढी असर पर्नेछ । धेरै वर्षको अन्तरालमा आउने यस्ता प्रकोपहरूसँग जुध्न हाम्रा भौतिक संरचनाहरू, मानवीय व्यवहार र अभ्यास पनि अक्षम हुने देखिन्छ ।

जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा दूषित पानी र खाना, वायु प्रदूषण र पोषणको कमीबाट उत्पन्न हुने रोग, चोटपटक तथा मनोरोग लगायत बढिरहेका छन् । नेपालजस्तो विकासोन्मुख र पर्वतीय भूभाग बढी भएको मुलुकमा जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धी खोज तथा अनुसन्धान गर्न विभिन्न चुनौती देखिएका छन्, जस्तै— तालिमप्राप्त जनशक्तिको कमी, कमजोर आर्थिक अवस्था, तथ्यांकको अभाव र उपयुक्त अध्ययन विधिको कमी आदि । नेपालमा भएका कीट विज्ञान तथा महामारी रोग सम्बन्धी अनुसन्धान अनुसार, जलवायु परिवर्तनका प्रारम्भिक असर कीटजन्य रोगहरूमा टड्कारो देखिएको छ ।

जलवायु परिवर्तनका असरहरूलाई तीन दशकको औसत तापक्रम र वर्षामा वृद्धि तथा अत्यधिक मौसमी फेरबदलका रूपमा देख्न सकिन्छ । यस्तै असरहरू शताब्दीको अन्त्यसम्म पनि हुने अनुमान गरिएको छ । यस्ता परिवर्तनले प्रत्यक्ष रूपमा मानवीय स्वास्थ्यमा वा अप्रत्यक्ष रूपमा रोग सार्ने कारकहरूमा र समग्रमा स्वास्थ्यस्थितिमा विचलन ल्याउन सक्छन् ।

नेपालजस्ता पर्वतीय देशहरूमा जलवायु परिवर्तनका असरहरू धेरै क्षेत्रमा परेको देख्न सकिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, विगत ४५ वर्षमा नेपालको अधिकतम तापक्रम २.५ डिग्री सेल्सियस (प्रत्येक वर्ष ०.०५६ डिग्री सेल्सियसको अनुपात) ले बढिसकेको छ । नेपाल लगायत अन्य पर्वतीय देश र क्षेत्रमा पनि लगभग यही अनुपातमा तापक्रम वृद्धि भएको अध्ययनले देखाएको छ । यो शताब्दीको अन्त्यतिर हिमाली क्षेत्रमा तापक्रम २.५ देखि ५.५ डिग्री सेल्सियससम्म बढ्ने विश्वव्यापी मौसम मोडलले देखाएको छ । विश्वको तापक्रम जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी) को पेरिस सम्झौता बमोजिम १.५ डिग्री सेल्सियसभित्रै सीमित गरिएको खण्डमा पनि हिमाली क्षेत्रको तापक्रम २ डिग्री सेल्सियस हाराहारी पुग्ने इसिमोडको हिन्दुकुश हिमालय मूल्यांकन प्रतिवेदनले देखाएको छ ।

आगामी दिनमा जलवायु परिवर्तनले पार्ने समग्र असरहरूका सन्दर्भमा मानवीय स्वास्थ्यको क्षेत्र अझ बढी चुनौतीपूर्ण हुने देखिन्छ । नेपालजस्तो पर्वतीय मुलुकमा तापक्रमको विधि र वर्षाको प्रकृतिमा हुने परिवर्तनले पहिले नदेखिएका रोगहरू पनि सामना गर्नुपर्ने चुनौती थपिएको छ । डेंगीजस्ता कम उचाइ भएका क्षेत्रमा देखिने रोगहरू आज लामखुट्टेको वासस्थान बढी उचाइतिर सरेसँगै पहाडी तथा हिमाली जिल्लामा पनि पाइन थालेका छन् । जलवायु परिवर्तनद्वारा सबै व्यक्ति वा समुदाय प्रभावित भइरहेका हुन्छन् तर सबै उत्तिकै वा समान रूपमा प्रभावित हुँदैनन् भन्ने कुरा भौगोलिक अवस्था, स्वास्थ्य प्रणालीप्रतिको पूर्वतयारी अथवा तत्परता, स्वास्थ्य अवस्था, उमेर, सामाजिक वर्ग र त्यसलाई सहायता पुर्‍याउने तत्परता आदिजस्ता पक्षहरूमा निर्भर हुन्छ । जलवायु परिवर्तनले गरिबी वा यसको रेखामुनि रहेका व्यक्ति वा समुदायको स्वास्थ्य अवस्थालाई अझ बिगार्न सक्छ । तसर्थ जलवायु परिवर्तनले निम्त्याउने स्वास्थ्य समस्यासँग जुध्न हाम्रो अनुकूलन क्षमता बढाउनुका साथै जलवायुप्रतिरोधी स्वास्थ्य प्रणालीलाई पनि बलियो तुल्याउनुपर्छ ।

धिमाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाल इसिमोडमा आबद्ध छन्  ।

प्रकाशित : फाल्गुन २९, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?