शिक्षकलाई प्रविधिको प्रबन्ध

बिना थिङ

कोभिड महामारीले हाम्रो समाजका धेरै सीमा उजागर गर्‍यो । शिक्षा प्रणालीमा रहेको सीमा तीमध्ये एउटा हो । ग्रामीण भेगको त कुरै छाडौं, विद्युत् र इन्टरनेटको पहुँचमा हुने शिक्षकहरू पनि नयाँ प्रविधि प्रयोग गरेर नयाँ विधिले पढाउन तयार भइसकेका छैनन् ।

शिक्षकलाई प्रविधिको प्रबन्ध

अर्कातर्फ विद्यालयहरू पनि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न तयार भइसकेका छैनन्, जसको उदाहरण मैले पढाउने विद्यालय हो । दुइटा कारणले हाम्रो विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सकेको छैन । पहिलो हो, विद्यार्थीको आर्थिक अवस्था । हाम्रो विद्यालयका सबैजसो विद्यार्थी निम्नवर्गीय परिवारका हुन् । उनीहरूमध्ये अधिकांशसँग न स्मार्ट फोन छ न त इन्टरनेटको पहुँच । दोस्रो कारण हो, शिक्षकहरूमा अनलाइन कक्षा सञ्चालन सम्बन्धी सीपको अभाव ।

कोभिडका कारण विद्यालयको शैक्षिक कार्यक्रम महिनौं ठप्प रह्यो । लामो समय शिक्षक र विद्यार्थीबीच सम्पर्कै नहुँदा पहिले सिकेको पनि बिर्सने जोखिम बढ्दै गएपछि खतरा मोलेर भए पनि हामीले भौतिक कक्षा सञ्चालन गर्‍यौं । बिस्तारै कोभिड कहर साम्य हुँदै गयो । हामीले सोच्यौं, अब सब ठीकठाक छ । नियमित कक्षा सञ्चालन गर्न सकिन्छ । तर अर्को वर्ष सोही समस्या दोहोरियो । हामी पहिलेकै प्रक्रिया दोहोर्‍याउन बाध्य भयौं । कारण, यसबीच न सरोकारवालाहरूले अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक ज्ञान लिन सुझाए न त हामीले नै त्यसबारे सोच्यौं । भोलिका दिनहरूमा पुनः यस्तो परिस्थिति नआउला भन्न सकिन्न । मोबाइल र कम्युटरको जोहो त हुँदै जाला तर त्यसअघि प्रविधिमैत्री, कम्प्युटर ज्ञान भएको र अनलाइनलाई पठनपाठनको अभिन्न हिस्सा बनाउन सक्ने शिक्षक तयार गर्नुपर्ने आवश्यकता छ । हामी परम्परागत शिक्षा प्रणालीबाट सूचना र सञ्चार प्रविधि (आईसीटी) को युगमा प्रवेश गरिसकेका छौं । त्यसै अनुसारका शिक्षक र कक्षा तयार नपारी धरै छैन ।

पहिले स्थानीय स्रोतबाट शैक्षिक सामग्री निमार्णमा जोड दिइन्थ्यो । अब इन्टरनेटका माध्यमबाट विषयवस्तुसँग सम्बन्धित सामग्री खोज्न र स्लाइड बनाई प्रोजेक्टरबाट सिकाउन थालिएको छ । ह्वाइटबोर्डमा मार्करको नृत्यले मात्र विद्यार्थीमा उत्साह ल्याउँदैन अब । अहिलेका विद्यार्थी ग्याजेट प्रयोगमा शिक्षकभन्दा एक कदम अगाडि छन् । उनीहरूलाई त्यही ग्याजेटमा विषयवस्तुसँग सम्बन्धित गेम, प्रश्नोत्तर, प्रोजेक्ट वर्क गर्न लगाउन सकिन्छ । विभिन्न शैक्षिक एपहरूको प्रयोगले उनीहरूलाई सक्रिय बनाउँछ । काहुट, एडपजल, मेन्टिमिटर, प्याडलेट, सोक्रेटिभजस्ता एप्लिकेसनमा पजल गेम, वैकल्पिक प्रश्नोत्तर निर्माण गर्नुका साथै रचानात्मक क्रियाकलाप तयार पार्न सकिन्छ । अफलाइन शिक्षामा पावर प्वाइन्टका माध्यमले स्लाइडहरू तयार पार्न सकिन्छ, प्रश्नपत्र टाइप गर्न सकिन्छ, उत्तर परीक्षण गर्न सकिन्छ । लेजर निर्माण र मार्कसिटसम्म सजिलै तयार पार्न सकिन्छ । यसरी प्रविधिको प्रयोग गर्दागर्दा विद्यार्थीहरू पनि शिक्षण सिकाइ प्रक्रियामा सक्रिय रूपले सहभागी हुन्छन् । सक्रियताले नै सिकाइ दिगो हुने हो ।

हिजोको शिक्षक ज्ञानको स्रोत हो, आजको शिक्षक ज्ञानको स्रोतसम्म पुग्ने र त्यसलाई पर्गेल्न सघाउने सहजकर्ता । इन्टरनेटमा पाइने ज्ञान भण्डारसँग विद्यार्थीको सम्बन्ध गाँसिदिए मात्र पनि धेरै ज्ञान स्वयं विद्यार्थीले लिन सक्छन् । यसका लागि शिक्षकहरूमा इन्टरनेटको प्रयोग गरेर पाठ योजना निर्माण, सामग्री खोजी, विद्यार्थीसम्म सम्प्रेषण गर्ने एप्लिकेसन सञ्चालन सम्बन्धी ज्ञान–सीप आवश्यक छ ।

अहिले पढाइरहेका पुरानो पुस्ताका थोरै शिक्षक मात्र आईसीटीमैत्री छन् । अधिकांश शिक्षकमा कम्प्युटर सम्बन्धी ज्ञान छिपछिपे छ । शिक्षकको न्यून तलब र महँगो प्रविधिले नयाँ सीप सिक्ने उत्साह न्यून हुनु स्वाभाविक हो । त्यसैले शिक्षकलाई उत्साह र तालिमको खाँचो छ । त्यो काम स्थानीय सरकारले गर्न सक्छ । स्थानीय सरकारले विद्यालयको भौतिक संरचनासँगै शिक्षकको पेसागत सीप, दक्षता अभिवृद्धिमा लगानी गर्ने हो भने आशानुरूप सफलता पाउन सकिन्छ । त्यसको एउटा उदाहरण बूढानीलकण्ठ नगरपालिकाले थालेको अभ्यास हो ।

बूढानीलकण्ठ नगरपालिकाको शिक्षा शाखा लगायतको पहलमा हालै ‘उत्प्रेरक प्रविधियुक्त सृजनशील सिकाइ दक्षता अभिवृद्धि’ तालिम गरियो । नगरपालिकाका सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षकलाई प्रविधिमैत्री बनाउनु त्यसको उद्देश्य थियो । त्यहाँका १९ सामुदायिक विद्यालयमध्ये आधारभूत तहबाट एक–एक र माध्यमिक तहबाट दुई–दुई जना शिक्षक त्यसमा सहभागी थिए । ती शिक्षकमध्ये कोही कम्प्युटर सम्बन्धी आधारभूत त कोही एडभान्स ज्ञान भएका थिए । तालिम पाइसकेका ती शिक्षकलाई ‘मेन्टर’ भनियो, जसलाई अहिले आ–आफ्ना

विद्यालयका सम्पूर्ण शिक्षकलाई कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान सम्प्रेषणको जिम्मा दिइएको छ । आधारभूत ज्ञानमा अंग्रेजी–नेपाली टाइपिङ, प्रोजेक्टरबाट शिक्षण, इन्टरनेटको सहायताले शैक्षिक सामग्री तयार, डिजिटल कक्षा, इमेल प्रयोग, इमिस अपडेट, वर्ड–एक्सल र पावर प्वाइन्टबाट स्लाइड निर्माण छन् । नगरपालिकाको यो पहलका कारण शिक्षकहरूमा उत्साह थपिएको छ । हरेक शुक्रबार १२ देखि ४ बजेसम्म आफ्नै विद्यालयमा शिक्षकहरू तालिम लिने गर्छन् । यस्तो अभ्यासका चुनौती नभएका भने होइनन् । केही विद्यालयमा पर्याप्त कम्प्युटर छैनन् । केही शिक्षक उमेरका कारण सक्रिय हुन सकेका छैनन् ।

यो त केवल एक उदाहरण हो । यसरी शिक्षक र स्थानीय तहको सहकार्यमा प्रविधिमैत्री विद्यालय, शिक्षक, विद्यार्थी उत्पादन गर्न सकियो भने शिक्षण सिकाइमा आमूल परिवर्तन ल्याउन सकिन्छ ।

प्रकाशित : फाल्गुन २७, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?