१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रवाद : जनतामाथि षड्यन्त्र

भ्रष्टाचार रोक्न कुन विदेशी साम्राज्यवादले रोकेको छ ? जनताले सेवा लिने सार्वजनिक क्षेत्रमा न्यूनतमसम्म सुधार गर्न पनि कुन विदेशी हस्तक्षेपले नदिएको हो ? अनि अमुक देशले गर्ने ठाडो हस्तक्षेपबारे आनन्दित हुनु, अर्को देशले गरेको त्यस्तै हस्तक्षेपलाई राष्ट्रियतामाथि हस्तक्षेप ठान्नु पनि आफ्नै देशको चिन्ताले हो कि अरुप्रतिकै वफादारीका कारणले ?
अब यति मात्र भन्न बाँकी छ, साम्राज्यवाद र विस्तारवादले हामी सबैलाई यसरी गाँजेको छ कि हाम्रो बुद्धि र मति कहाँबाट गतिलो काम गर्ने खालको हुनु ?
विष्णु सापकोटा

विपरीत प्रस्तावनाबाट विषयलाई हेरौं । उन्नति–प्रगतिको मार्गमा नेपाल यति पछि पर्नुको कारण हो— यहाँका धेरै नेता ‘राष्ट्रवादी’ हुनु । राष्ट्रवाद, राष्ट्रियता र देशप्रेमजस्ता शब्दले बोक्ने अर्थका लाक्षणिक भिन्नतालाई पनि छाडिदिऔं । यसलाई सोझै यसरी भन्दा पनि हुन्छ— नेताहरूले देशलाई माया गर्छु भन्नु जनताविरुद्धको एक प्रकारको षड्यन्त्र हो ।

राष्ट्रवाद : जनतामाथि षड्यन्त्र

यहाँनेर शब्दचयन अलिकति उग्र लाग्ला । तर सोचविचार गरेरै लेख्दा पनि, यस आलेखका अपेक्षित पाठकमध्ये तिनै षड्यन्त्रकारी पनि भएका कारण तिनीहरूसँग पुग्न यत्तिको शाब्दिक उग्रता नभई नहुने हुन सक्छ । देशको माया गर्छु भनेर राजनीति गर्ने नेताहरूले कसरी जनताको आफ्नो देशप्रति हुने स्वस्फूर्त मायालाई खोसेका छन् भनेर विवेचना गर्न र यो भाष्यलाई थप ‘हाइज्याक’ हुन नदिन ढिलो भइसकेको छ ।

नेपालमा राजनीतिकर्मीले सीधा, साना प्रश्न मन पराउँदैनन् । किनकि जनताको जीवनसँग दैनन्दिन जोडिने ती ‘साना’ कुराको जवाफ तिनीहरूसँग हुँदैन । ती प्रश्नको जवाफ दिने बौद्धिक क्षमता नै हुँदैन । क्षमता विकास गर्ने आवश्यकतै हुँदैन । त्यो आवश्यकता किन परेको छैन भन्ने विषय लेखको मूल तर्कसँग जोडिन्छ ! यसमा एकै छिनमा फर्कौंला । पहिले केही उदाहरण हेरौं, राजनीतिकर्मीले मन नपराउने ‘साना’ प्रश्नको । यी प्रश्नको चर्चा गरेपछि कसरी नेताहरूले ‘राष्ट्रवादी’ भएर जनताविरुद्ध षड्यन्त्र गरेका छन् भन्ने बुझ्न सजिलो हुन्छ ।

उनीहरूलाई सबैभन्दा मन नपर्ने प्रश्न हो— तपाईं राजनीतिमा किन लाग्नुभएको हो ? सुरुमा त केके भएर, परिस्थितिजन्य कारणले वा कसैको प्रेरणाले लाग्नुभयो होला तर अहिले किन यतै बसिरहनुभएको छ ? कहिल्यै सोच्नुभएको छ, तपाईं राजनीतिमा नलाग्नुभएको भए, यति धेरै समय यता नबस्नुभएको भए सायद नेपाली जनताको हालत अहिलेको भन्दा राम्रो हुन्थ्यो ?

र, केही जनतासँग सीधै जोडिने प्रश्न— इतिहासमा राष्ट्र भन्ने चीज बनेको त राजा–महाराजाले राज्य गर्न भन्ने पढिएको थियो । पछि, देश भनेको राजारानीका लागि हैन, जनताका लागी हो भन्ने सुनियो । आ–आफ्नो भूगोलमा बस्ने जनताका सामूहिक चाहना, संस्कृति र आफ्नोपनलाई नै राष्ट्रियता भनेर बुझियो । आ–आफूले सद्भावपूर्ण रूपमा गरिखाऊन्, बलिया देशले आफ्नो स्वार्थका लागि निर्धालाई दुःख नदिऊन् भनेर सार्वभौमिकताको अवधारणा आयो । तिनै जनताको सेवा गर्न, तिनैबाट कर उठाएर प्रशासन गर्न कर्मचारीतन्त्र बनाइयो । तिनै जनताको सेवा गर्छु भन्ने समाजसेवीहरू राजनीतिक नेताका रूपमा चिनिन थाले । जनताको जीवन सहज बनाउन उनीहरूकै चाहना अनुसार नियम–कानुन बनाउन थालियो । तर अब राजनीतिकर्मीलाई प्रश्न— तपाईंले गर्ने राजनीतिले जनतालाई के गरेको छ अहिलेसम्म ?

तपाईंको राजनीतिले बेरोजगारीका लागि जागिर कसरी सृजना गर्छ ? साधारण जीविकोपार्जनका कामका लागि समेत विदेश जानुपर्ने स्थिति फेर्नेबारे तपाईंले कहिल्यै केही सोच्नुभएको छ ? उच्च शिक्षाको गुणस्तर प्रत्येक वर्ष खस्केको छ भन्छन् सबैले, तपाईंको पार्टीका बैठकहरूमा यो विषयमा कहिल्यै छलफलसम्म भएको छ ? स्वास्थ्यको आधारभूत सेवासमेत औसत जनताको पहुँचभन्दा बाहिरको छ तर तपाईं स्वयं वा तपाईंका सहकर्मी नै स्वास्थ्यको व्यापारमा छन्, यसबारे कहिल्यै सोच्नुभएको छ ? दलको कोटामा मन्त्री भएर जाने प्रायःको त्यो विषयमा दक्षता हुने कुरा त बिर्सौं, मन्त्री भएर जाने नेताहरूमा मन्त्रालयका निकम्मा र भ्रष्ट कर्मचारीकै जति बौद्धिक स्तर पनि हुँदैन भन्नेबारे सूचना छ ? योग्यता नपुगेको मानिसले गाडी चलायो भने दुर्घटना होला भनेर सवारी अनुमतिपत्र बनाउने चलन आयो । सवारी चलाउन अनुमतिपत्र चाहिने, तर राज्यले त्यही अनुमतिपत्र पनि दिन नसक्ने भए त्यस्तो राज्यसंयन्त्र त जनतालाई घाँडो भएन र ?

एकातिर आधारभूत रोजगारीका लागि अधिकतम युवा देशबाहिर जानुपर्ने । देश छाड्दा राहदानी चाहिने नियम देश–देश मिलेर बनाएका छन् । जनताको पैसाबाटै, त्यही काम गर्न तलब खाएर बसे पनि समयमा र सहज रूपमा राहदानीसम्म दिन नसक्ने राज्यलाई अझै सफल राज्य नै मान्नुपर्ने हो ? यो सबै हुनुमा तपाईंको नकारात्मक योगदान छ कि छैन ? तपाईं केवल मुकदर्शक मात्र हो भने किन यो पेसामा रहिरहनुभएको छ ? कुनै पनि विषयमा आफूले जनताको उन्नतिका लागि योयो गर्छु भन्ने ठोस कुनै योजना छ तपाईंसँग ? भाषण गर्दा आफूले यो क्षेत्रमा यस्तोयस्तो गर्छु भन्न सक्नुहुन्छ ? पार्टीका बैठकमा यस्ता कुरा उठाउनुभएको छ कहिल्यै ?

यी प्रश्न केवल उदाहरण हुन् । यस्ता हजार छन् । तर धेरैजसो ‘नेता’ को यी सबै प्रश्नको जवाफ एउटै हुन्छ । त्यो हो— देशको राष्ट्रियता कमजोर भएकाले यी समस्या भएका हुन् । विदेशी हस्तक्षेपका कारण यस्तो भएको हो । साम्राज्यवादी र विस्तारवादीका कारणले यो सब हो । पुँजीवादले गर्दा हो ।

मानौं साम्राज्यवाद, विस्तारवाद र पुँजीवादले यसरी सूक्ष्म तरिकाले काम गर्छन् कि नेता र कर्मचारी धेरै भ्रष्ट भएको पनि यिनैले गर्दा हो । अब यति मात्र भन्न बाँकी छ, साम्राज्यवाद र विस्तारवादले हामी सबैलाई यसरी गाँजेको छ कि हाम्रो बुद्धि र मति कहाँबाट गतिलो काम गर्ने खालको हुनु ? पख्नोस् न, राष्ट्रियता अलिक बलियो बनाऔं, त्यसपछि हाम्रो बुद्धि र मति पनि सप्रिन्छ कि ?

अब विवेचना गरौं, कसरी राष्ट्रवादीहरू जनताको अधिकारका दुस्मन हुन् । राष्ट्रवादको नारा उचाल्नेमध्ये धेरै कम्युनिस्ट पार्टिका छन् । कम्युनिस्ट पार्टीमध्ये पनि तिनै धेरै छन् जसले त्योबाहेक जनताको दैनिकीसँग जोडिएको विषयमा भाषण गर्नेसम्मको पनि ज्ञान र सोच राख्दैनन् । किनकि उनीहरू राजनीतिमा आएकै त्यही सुन्दै हो, नेता भएकै त्यही कुरा गर्दै हो । योबाहेक पूर्वपञ्च र मण्डलेहरूले समेत आफू पनि यहाँ छौं है भनेर उपस्थिति जनाउन खोज्ने यही लफ्फाजीमार्फत

हो । प्रजातान्त्रिक आन्दोलनमा लागेका कार्यकर्ताहरू विदेशीको इसारामा चलेका अराष्ट्रिय तत्त्व हुन् भनेर उनीहरूलाई प्रशिक्षित जो गरिएको थियो । राजा महेन्ıले पञ्चायती तानाशाही लाद्न र वीरेन्ıले त्यसलाई निरन्तरता दिनका लागि सबैभन्दा बिकाउ अस्त्र नै यही थियो— देशलाई बाह्य खतराबाट जोगाउन उनीहरूले त्यस्तो गर्नुपरेको हो, प्रजातन्त्रभन्दा पहिले स्वाधीनता चाहिन्छ । अक्सर तानाशाहले उपयोग गर्ने यो सजिलो राष्ट्रवादी भाष्य थियो, जसलाई बोक्नेहरू अझै पनि धेरै नै छन् ।

राष्ट्रवादको नारामा, बाह्य हस्तक्षेपको भयदोहन गर्नेहरूले जनतालाई यस्तो भाष्यमा विश्वास गर्ने बनाएका छन्Ù जनताका लागि, जनताका आधारभूत मुद्दामा काम गर्ने कुरा गौण हो । राजनीति गर्नेले गर्ने काम भनेकै राष्ट्रियता जोगाउने मात्र हो । त्यसका लागि उनीहरूले गर्ने भनेको भाषण मात्र हो । त्योबाहेक जनताले केही अपेक्षा गर्नु हुँदैन । किनकि सबैभन्दा पहिले राष्ट्रियता जोगाउनुपर्छ । जनताको गरिबी हटाउन, सार्वजनिक सेवाको स्तर उठाउन, आर्थिक विकासका कार्यक्रम प्रस्ताव गर्न तिमीहरूले के गर्छौ त भनेर सोध्यो भने, उनीहरूको उत्तर हुन्छ— यो देशको विकास नभएकै वैदेशिक हस्तक्षेपको कारणले हो । त्यो ठीक गर्‍यो भने, आफैं राष्ट्रिय पुँजी निर्माण हुन्छ र जनताका समस्या समाधान हुन्छन् ।

हो, यही नै उनीहरूको जनतामाथिको षड्यन्त्र हो । जनताले सेवा नपाएको मूलतः यिनै राजनीतिकर्मीको अयोग्यताका कारणले हो । इच्छाशक्तिको कमीले हो । भ्रष्टाचारी भएर हो । कर्मचारीतन्त्र भ्रष्ट भएको नेता प्रायः भ्रष्ट भएर हो । विश्वविद्यालय बिगारेको विद्याको मूल्य नचिनेको दलीय नेतृत्वले हो ।

देशमा सुधार गर्नुपर्ने क्षेत्र यति छन् कि ती सम्झँदा पनि कहाली लाग्छ । तर लामो त के, दस–बीस वर्षको भिजनसम्म खासै कुनै क्षेत्रमा देखिँदैन । धनी र गरिब परिवारबीचको विद्यालय शिक्षाको गुणस्तरको भिन्नताको मुद्दा त छँदै छ । त्यसमाथी, महँगा स्कुलमा पढेका विद्यार्थीहरूले लोकसेवाको जाँच दिएर सरकारी जागिरमा जाने कल्पनासम्म गर्दैनन् । सरकारी सेवामा जानेहरूको शैक्षिक पृष्ठभूमि देशभित्रैका तुलनामा पनि कमसल खालकै मात्र छ । प्रतिभाशालीका लागि त्यो सेवा आकर्षक बनाउनेबारे सोच्न त केही भिजन हुनुपर्‍यो । त्यो लागू गर्ने प्रतिबद्धता हुनुपर्‍यो । रोक्न खोज्ने त भइहाल्छन्, तीसँग जुध्ने आँट हुनुपर्‍यो ।

व्यक्तिलाई आफ्नो ठाउँ, संस्कृति, देशको माया यसै लागिहाल्छ । कसैले सिकाउनुपर्ने कुरै होइन यो । तर राजनीति गर्नेले आफूले देशभित्र गरेका कुशासन ढाक्नका लागि राष्ट्रवादलाई जनताको हितविरुद्ध प्रयोग गरेका छन् । राज्यहरू जुन आधारभूत कुराका लागि बनेका हुन्, जनताका लागि, त्यो मर्म नै जनताबाट खोसेका छन् । राष्ट्रलाई एउटा अमूर्त अवधारणा बनाएका छन् । जनतालाई अति सामान्य रूपमा दिइनुपर्ने सेवासम्म दिन नसक्ने जत्थाले दशकौंदेखि राजनीतिक रंगमञ्च ओगटेका छन् । यो सबै जनताका नाममा गरिएको जनताकै विरुद्धको षड्यन्त्र हो भनेर चिर्ने भाष्य सशक्त नबनाउन्जेल उनीहरू र उनका बौद्धिक उपग्रहहरूले नेपालले काम गर्नुपर्ने जनताका अनगिन्ती मुद्दाबाट ध्यान अन्यत्रै मोडिरहनेछन् । भ्रष्टाचार रोक्न कुन विदेशी साम्राज्यवादले रोकेको छ ? जनताले सेवा लिने सार्वजनिक क्षेत्रमा न्यूनतमसम्म सुधार गर्न पनि कुन विदेशी हस्तक्षेपले नदिएको हो ? अनि अमुक देशले गर्ने ठाडो हस्तक्षेपबारे आनन्दित हुनु, अर्को देशले गरेको त्यस्तै हस्तक्षेपलाई राष्ट्रियतामाथि हस्तक्षेप ठान्नु पनि आफ्नै देशको चिन्ताले हो कि अरूप्रतिकै वफादारीका कारणले ? जनता भ्रष्टाचारविरुद्ध सडकमा उत्रे भने त यी सबैलाई गाह्रो पर्छ । त्योभन्दा पहिले नै जनतालाई अर्कै विषयमा जुरुक्क पारिदिएपछि नेताहरूको अकर्मण्यतामाथि प्रश्न कसले गर्ने ?

प्रकाशित : फाल्गुन २६, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?