२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रूपान्तरण अभियानको बजारीकरण

मीना पौडेल

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अथवा ८ मार्च कहाँबाट, कसरी, कसले र कुन उद्देश्य लिएर सुरुआत गर्‍यो भनेर पश्चिमा समाजवादी र पुँजीवादीहरूमाझ जस लिने होड नै चले पनि प्राज्ञिक अध्ययनहरूले पुष्टि गरे अनुसार, उत्तर अमेरिकाका समाजवादीहरूले सन् १९०९ मा राष्ट्रिय महिला दिवस भनेर घोषणा गरे ।

रूपान्तरण अभियानको बजारीकरण

ऐतिहासिक तथ्य अनुसार यो घोषणा टिरिजा माल्केइल र उनको समूहको सुझावमा गरिएको थियो । टिरिजा आफैं आप्रवासी श्रमिक महिला थिइन् । युक्रेनबाट श्रमिकका रूपमा उत्तर अमेरिका पुगेकी उनको सम्पर्क अमेरिकी समाजवादीहरूसँग भएको थियो, जसले गर्दा उनीसहित अन्य आप्रवासीमाथिका विभेदका सवाल उठाउन सहज भएको थियो । उता गैरसमाजवादी खेमाका अभियानकर्ताहरूको दाबी भने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सुरुआत न्युयोर्क सहरमा एउटा गार्मेन्ट कारखानाका मजदुरहरूको सन् १८५७ मा भएको प्रदर्शनलाई सम्झने क्रममा गरिएको थियो । तर प्रसिद्ध इतिहासकार र महिलावादी लेखिका टिमा कापलान लगायत धेरै अनुसन्धाता अनुसार न्युयोर्कको मजदुर प्रदर्शनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा जोड्नु एउटा भ्रम मात्र हो र त्यो भ्रम यो दिनलाई उसको आधारभूमि समाजवादी आन्दोलनबाट अलग्याउने चेष्टा मात्र हो ।

यो तर्कलाई केही वर्षअगाडि एउटा अन्तर्वार्तामा प्राध्यापक क्रिस्टिन घोड्सेले पुष्टि गर्दै थप भनेकी छन्- अमेरिकी समाजवादी पार्टीले सन् १९०९ मा सुरुआत गरे पनि वास्तविक रूपमा श्रमिक महिला दिवसकै रूपचाहिँ क्लारा जेट्किन, रोजा लक्जेम्बर्ग र लुइस जेटहरूले १९१० मा डेनमार्कको कोपनहेगनमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनमा लिएको थियो । १७ मुलुकका महिलाहरूले भाग लिएको त्यो सम्मेलनमा अघिल्लो वर्ष १९०९ मा टिरिजा लगायत आप्रवासी श्रमिक महिलाको नेतृत्वमा उचित ज्यालाका लागि भएको प्रदर्शनको सम्झना गरिएको थियो र तत्कालीन अमेरिकी सत्ताधारीहरूलाई श्रमिक महिलाहरूको माग सम्बोधन गर्न दबाबस्वरूप न्युयोर्कका श्रमिक महिला र समाजवादी पार्टीको अभियानमा ऐक्यबद्धता पनि जनाइएको थियो । विश्व महिला आन्दोलनबारे गहन अनुसन्धान गरी लेखिएको क्रिस्टिन घोड्सेको पछिल्लो पुस्तकमा यो भ्रमलाई प्रस्ट पार्ने प्रयास गरिएको छ । उसो त अरू थुप्रै समाजवादी र पुँजीवादी दुवै थरीका अनुसन्धाता/लेखकहरूबाट पनि भ्रमलाई प्रस्ट पार्ने कोसिस भएको पाइन्छ ।

सन् १९१० को डेनमार्क सम्मेलनको प्रभाव स्वाभाविकै रूपमा तत्कालीन समाजवादी मुलुकहरूमा सबैभन्दा बढी पर्‍यो । फलस्वरूप ती मुलुकहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा आफ्ना श्रमिक महिला र समग्र मजदुरको मुक्तिका लागि गरिएका महत्त्वपूर्ण आन्दोलनका सन्दर्भलाई रूपान्तरण गरी ८ मार्चलाई जन्म दिए । जर्मनी, अस्ट्रिया र स्विटजरल्यान्ड लगायतमा १९११ देखि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले महत्त्व पाउन थाल्यो र पहिलो विश्वयुद्धविरुद्ध अभियानका रूपमा पनि यो सन्दर्भलाई जोडियो ।

त्यसै गरी सन् १९१७ मा रुसमा महिला श्रमिकहरूले छेडेको फेब्रुअरी क्रान्ति तत्कालीन बोल्सेभिक नेताहरूलाई दबाब दिन सफल भयो । यस्ता प्रतिनिधिमूलक दबाब र सडक प्रदर्शनहरू तत्कालीन सोभियत संघ हुँदै चीन, क्युबा लगायतमा फैलिए जसले महिला श्रमिक, चाहे घरेलु श्रमिक होऊन् वा आप्रवासी, तिनको अन्तर्राष्ट्रिय अर्थतन्त्रमा र घरपरिवारको अर्थ व्यवस्थापनमा महत्त्वपूर्ण योगदान रहेको तथ्य औपचारिक रूपमा राज्यहरूलाई स्विकार्न बाध्य पारेको पुष्टि इतिहास, समाजशास्त्र र अर्थशास्त्रका अध्येताहरू गर्छन् ।

यसरी विभिन्न मुलुक हुँदै विस्तार भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले श्रमिक महिलाका लैंगिक विभेदलाई मूल रूपमा वर्गीय दृष्टिकोणबाट व्याख्या, विश्लेषण र सम्बोधन गर्दै जाँदा विभेदका संरचना र खाकाहरू पनि फराकिला हुँदै जानु त स्वाभाविकै हो र भयो पनि त्यस्तै । यसरी भूगोलको एउटा निश्चित सहरमा गरिएको विश्व सम्मेलनले यसको खाका तयार पारे पनि त्यो खाकाको जग भनेका विभिन्न मुलुकका घरेलु र आप्रवासी श्रमिक महिला र त्यसमा ऐक्यबद्धता जनाउने महिलावादी अभियानहरू हुन् भन्नेमा अनुसन्धाताहरूमा एकमत पाइन्छ ।

अझ महत्त्वपूर्ण पक्ष, श्रमिक महिलाका संघर्षहरूमा वैचारिक र रणनीतिक सहयोगचाहिँ समाजवादी धारसँग गाँसिएका वा बाहिरै रहेर सो धारलाई आलोचनात्मक समर्थन गरेका महिलावादीहरूबाट भयो । सम्भवतः वर्गीय विभेदका सवालबाट जन्मेको श्रमिक महिलाहरूको संघर्षको आयाम भएर होला, पुँजीवादी खेमाको संलग्नता धेरै पछि आएर मात्र देखिन्छ । पछि क्रमशः युद्धविरोधी, रंगभेदविरोधी, उपनिवेशविरोधि महिलावादीहरूको हातेमालो हुँदै दोस्रो विश्वयुद्धका बेला यौनदासीका रूपमा सैनिक शिविरहरूमा शोषित महिलाहरूका पक्षमा अभियान चलाउने एसियाली महिलावादीहरूको दरिलो साथले विभिन्न क्षेत्रमा संलग्न घरेलु र आप्रवासी श्रमिक महिलाहरूको अभियानलाई अझ संगठित र समयानुकूल बनाउन सघायो । यसमा मूल रूपमा गाब्रिएला र एसियाली महिला मानव अधिकार परिषद् लगायतका फिलिपिनी महिला संगठनहरू अग्रपंक्तिमा रहेको पाइन्छ । क्रमशः वातावरण संरक्षण र कृषि मजदुर महिलाका सवालमा अनुसन्धान गर्ने महिलावादीहरू पनि जोडिन पुगे ।

यसरी समाजवादी धारबाट संगठित गरिएको अन्तर्राष्ट्रिय श्रमिक महिला अभियानमा क्रमशः अन्य क्षेत्रका सबै खाले अन्तर्राष्ट्रिय महिलावादी समूहहरूको आकर्षण पनि बढ्दै गयो । यद्यपि अभियानलाई बुझ्ने, आत्मसात् गर्ने र मनाउने तरिका फरकफरक हुन थाले ।

यो क्रम महिलावादको दोस्रो वेभ/चरणसँगै झन् बढ्दै गयो । यसै क्रममा संयुक्त राष्ट्रसंघको महिला हेर्ने निकाय पनि जोडिन पुग्यो । सन् १९७५ मा संयुक्त राष्ट्रसंघद्वारा प्रायोजित पहिलो विश्व महिला सम्मेलनले महिलाको समस्या र अधिकारमा केन्द्रित अन्तर्राष्ट्रिय श्रमिक महिला अभियानलाई त्यसबाट निकालेर सामान्य अन्तर्राष्ट्रिय महिला महोत्सवमा परिणत गरिदियो । उसले आफ्नै तरिकाले, आफ्नै एजेन्डा तय गरी आफ्नै ढंगले ८ मार्चलाई सामान्य महिला दिवसका रूपमा मनाउन मात्र थालेन, सदस्यराष्ट्रहरूलाई आह्वान गरी अन्य गैससलाई पनि जोडेर समग्र महिला समानताका मुद्दा तय गरी अगाडि बढ्ने क्रममा एउटा मोटो लैंगिक समानताको खाकामा झार्‍यो र वर्गीय मुद्दा क्रमशः हराउन थाल्यो, जुन स्वाभाविकै हो किनकि संयुक्त राष्ट्रसंघजस्ता निकायले वर्गीय मुद्दामा रुचि राख्दैनन् । अझ संयुक्त राष्ट्रसंघद्वारै प्रायोजित १९९५ को चौथो विश्व महिला सम्मेलन–बेइजिङपछि त ८ मार्चका लागि वार्षिक नाराहरू नै तय हुन थाले । अनि एक्काइसौं शताब्दीको सुरुआतसँगै ८ मार्चका लागि संयुक्त राष्ट्रसंघले तय गरेका वाषर््िाक नाराहरूलाई पुँजीवादी बजारका कतिपय औद्योगिक घरानाहरूले आर्थिक र व्यापारिक प्रायोजन नै गर्न सुरु गरे । कतिपय सरकारले आफ्ना बिदाका वार्षिक पात्रोमा समावेश गरी आरामको दिनमा परिणत गरे ।

यसरी मुक्ति आन्दोलन र श्रमिकमाथिको लैंगिक र श्रम शोषणविरुद्ध आर्थिक–सामाजिक रूपान्तरणको अभियानको हिसाबले सुरु भएको श्रमिक महिला दिवस आज एउटा वर्गका लागि हर्षोल्लाससहितको महोत्सवमा बदलिएको छ भने कतिपय मुलुकमा सरकारी निकायहरूलाई बिदाको दिनमा । सामाजिक, लैंगिक, भौगोलिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विभेदका गौंडाहरूमा च्यापिएका श्रमिक महिलाका कुरा एवं तिनको संघर्षको चिन्तन–मननका पक्षहरू गौण मात्र बनेनन्, इतिहासका ठेलीहरूमा थन्किए । उसो त श्रमिकका नाममा स्थापना भएका मजदुर संगठनहरू नै साहुको भूमिकामा फेरिएको भान हुने आजको तीतो परिवेशमा श्रमिक, त्यसमा पनि महिलाका कुरा सुन्ने जाँगर र समय कसलाई छ !

समय कति बलवान् छ ! नेपालकै उदाहरण लिने हो भने पनि सहाना प्रधान, मोतीदेवी श्रेष्ठ, शान्ता मानवी, सानु मिश्र, गोमा देवकोटा र पछिल्लो समय अष्टलक्ष्मी शाक्यहरूले पञ्चायतविरोधी राजनीतिक परिवर्तनका पक्षमा श्रमिक महिलाहरूका सवाललाई आधार बनाएर महिलाहरूलाई संगठित गर्ने र संघर्षका अध्यायहरू थप्ने काममा नेतृत्व नगरेका भए नेपालको वामपन्थी आन्दोलनले फड्को मार्ने थिएन । अनि अर्को पक्ष के पनि बिर्सन हुन्न भने, पञ्चायतका अन्तिम वर्षहरूमा दरबारिया पृष्ठभूमिबाट आएका महिला संगठनहरूले तत्कालीन रानीहरूको गुणगान गाइरहँदा तीबाहेकका सबै खाले महिलाहरूको संयुक्त आन्दोलनले श्रमिक महिला दिवसमा श्रमिक मात्र होइन, समग्र महिलामाथि भएका सामाजिक, सांस्कृतिक, आर्थिक र कानुनी विभेदका सवाललाई समेट्ने गर्थ्यो । यसमा समाजवादी तथा वामपन्थी महिलाहरूको नेतृत्व सहाना प्रधान, गोमा देवकोटा र शान्ता मानवीहरूले गर्थे भने पुँजीवादी महिलाहरूको नेतृत्व मंगलादेवी सिंहहरूले गर्थे । यो संयुक्त राजनीतिक अभियानलाई साहित्य र संगीतमार्फत पारिजात, कुन्ता शर्मा, जेबी टुहुरे, रामेश, रायन, जीवन शर्मा लगायतका धेरै स्रष्टाको साथ हुन्थ्यो ।

उता जनयुद्धताकासम्म पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्व फरक ढंगबाट व्यवहारमा प्रकट गरिन्थ्यो । तर शान्ति प्रक्रियामा आइसकेपछि ती धारहरूमा पनि क्रमशः खिया लाग्न थाल्यो । संयोग नै हो कि जस्तो लाग्ने हाम्रो घरेलु वातावरण ! शान्ति प्रक्रियाको सुरुआत, गणतान्त्रिक व्यवस्थाको आरम्भको तयारी, संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चलाई वार्षिक नारा तोक्न सुरु गरेको बेला, विश्वपुँजीवादी बजारले त्यस्ता नाराहरूलाई प्रायोजन गरी नाफाको व्यापार गर्न थालेको समय अनि तीव्र गतिमा आफ्नो सञ्जाल फैलाउन सफल सामाजिक सञ्जाल र उसका प्रविधिहरूले यस्ता अभियानलाई समन्वयमार्फत करिबकरिब नियन्त्रण नै गर्न थालेको सन्दर्भ । कतिपय वेबसाइटले समेत वार्षिक नारालाई प्रायोजन गरी चलाएको पनि करिब दुई दशक हुन लाग्यो ।

एउटा मूल्य र सिद्धान्तमा ठडिएको सामाजिक, सांस्कृतिक र वर्गीय रूपान्तरणको अभियानलाई व्यापार गरी कमाउ अभियान बनाउने वेबसाइट, व्यापारिक घराना र केन्द्रद्वारा प्रायोजित कार्यक्रमहरूले दिने सन्देश भनेका ‘महिला दिवसलाई उत्सवका रूपमा मनाऔं, अब संरचनागत लैंगिक विभेद सकियो, महिला पुरुष बराबर भयौं’ जस्ता भ्रम छर्ने नारा हुने गर्छन्, जसले घरेलु र आप्रवासी श्रमिक महिलाका समस्या र हिजोदेखि उठाइएका संरचनागत सवाललाई समेट्दैनन् । किनकि यस्ता भ्रमपूर्ण नाराहरू व्यापारिक नाफा–नोक्सानतर्फ लक्षित हुने गर्छन् ।

अझ हाम्रो समाजमा पछिल्ला वर्षहरूमा त ८ मार्चमा पार्टी प्यालेसमा महिलाहरूका लागि भोजभतेर गर्ने, महँगा उपहार, फूल र शृंगारका सामान दिने चलन पनि सुरु भएको पाइन्छ । यसरी सिँगारिने र सिँगार्ने, क्षणिक मनोरञ्जनका लागि भोजभतेर गर्ने एवं सबै अधिकार प्राप्त भए र ठूलै उपलब्धि हात लाग्यो भनेझैं गरी हुने हर्षोल्लासका सहरिया कार्यक्रमहरूले ती श्रमिक महिलाहरू - जसको मुद्दालाई आधार बनाएर ८ मार्चको जग बसालियो - को जीवनमा तात्त्विक प्रभाव पार्ने त कुरै भएन, केवल फाइदा हुन्छ त बजार र उसका उत्पादनलाई । अनि रमाइलो होला त सहरिया सुकिलामुकिला वर्गका महिलाहरूलाई मात्र, जसले तिनै घरेलु र आप्रवासी महिलालाई कज्याई श्रम शोषण गरिरहेका हुन्छन् र नाफाको खेती गर्छन् । श्रमिक महिलाको असमान ज्यालाको समस्या ज्युँका त्युँ, कार्यस्थलमा यौन र गैरयौन हिंसा झन् बढ्दो ! अनि सन् १९०९–१० मा न्युयोर्कका आप्रवासी महिलाहरूले उठाएको मुद्दा र डेनमार्कमा भएको समाजवादी महिला सम्मेलनले तय गरेको रूपान्तरणको लक्ष्य जहाँको तहीँ मात्र होइन, बढ्दो बजारीकरण र अव्यवस्थित आप्रवासनले महिला श्रमिकको वस्तुकरण र त्यससँग जोडिएका शोषणका प्रकार र स्वरूपहरू झन्झन् फस्टाउँदा छन् ।

अनौठो संयोग नै मान्नुपर्छ, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको जग जुन भूगोलबाट उठ्यो, त्यतैबाट यो महत्त्वपूर्ण सन्दर्भको व्यापारीकरणको लहर पनि उर्ल्यो । तर हिजो जग बसाउने र आज नाफाको खेती गर्ने वैचारिक धरातलचाहिँ विपरीत ! सायद विश्व मानचित्रमा सीमान्तकृत देखिएको समाजवाद र नवउदारवादको चरणमा रहेको संक्रमणकालीन पुँजीवादबीचको प्रतिस्पर्धा नै होला, ८ मार्चजस्ता वैचारिक महत्त्वका सन्दर्भबाट कस्तो, कसरी, कसले र कति नाफा आर्जन गर्ने र जस लिने भन्नेमा होड बढ्दो देखिन्छ । उसो त यो प्रतिस्पर्धा ८ मार्चका सन्दर्भमा मात्र कहाँ हो र, अन्य मुक्ति आन्दोलनका प्रसंगमा पनि भेटिन्छ ! किनकि विचार र बौद्धिकतालाई वस्तुकरण गरी बजारमा प्रस्तुत गरेर नाफाको रणनीति बनाउन पश्चिमाहरू जति सिपालु छन्, विभिन्न कालखण्ड र सार्वजनिक महत्त्वका सन्दर्भमा सकारात्मक परिणामको जस लिन पनि उत्तिकै माहिर देखिन्छन् । विचार, दर्शन र अभियानलाई आफ्नो आर्थिक नाफा, सामाजिक प्रतिष्ठा र राजनीतिक लाभका लागि प्रयोग गरिएका पछिल्ला उदाहरणहरू थुप्रै छन् । चाहे त्यो रंगभेदी व्यवहारका कारण पीडित बनाई आजीवन सताइएका गान्धी र मण्डेलाहरूका सालिक बनाएर पखाल्न खोजिएको औपनिवेशिक मानसिकता होस् वा एउटा विचारलाई समाप्त पार्नका लागि क्रूर तरिकाले हत्या गरिएका चे ग्वेभाराको तस्बिरअंकित टिसर्ट र चुरोटको एस्ट्रेको व्यापार होस्, अथवा सामाजिक न्याय, लैंगिक र वर्गीय विभेदविरुद्धको ज्वाला निभाउन हत्या गरी नालीमा फालिएकी रोजा लक्जेम्बर्गको योगदानलाई वार्षिक नारामा परिणत गरी मार्च महिनाभरि दाता प्रायोजित भोजभतेर संस्कृति होस्, आखिर आदर्श, मूल्यमान्यता र मार्गदर्शनमा गहिरो बहस गरी एक्काइसौं शताब्दीको नवउदारवादका विकृतिलाई सम्बोधन गरी सामाजिक न्यायसहितको सुशासनका आधारहरू कसरी निर्माण गर्न सकिएला जसले सामाजिक, सांस्कृतिक, वर्गीय, लैंगिक र भौगोलिक पहिचानसहितको अधिकारको प्रत्याभूति गर्न सघाउँछ भन्ने कुरा त धेरै टाढा भयो । तर त्यही विभेदी नवउदारवादको नाफामुखी बजारलाई चाहिँ टिसर्ट, एस्ट्रे, सालिक र महोत्सवका भोजभतेरले नाफा थप्नेमा शंका भएन । अनि हाम्रो वर्तमान घरेलु परिवेशमा ती रूपान्तरणका विचार र बौद्धिकतालाई वस्तुकरण गरी सामाजिक–राजनीतिक जस लिने होड बढ्दो छ । यो प्रवृत्ति अझ संस्थागत हुने र पुस्तौंपुस्तालाई भ्रमको खुराक पनि बन्ने सम्भावनालाई नकार्न सकिँदैन किनकि यसलाई वस्तुकरण गर्ने र राजनीतिक जस लिनेमा नवउदारवादी र समाजवादी भनिनेहरूबीच चर्को प्रतिस्पर्धा देखिन्छ ।

प्रकाशित : फाल्गुन २४, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?