३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पानीका मुहान जोगाए जोगिन्छ जीवन

भूमिका थापा

बसाइँ जानेलाई ५ हजार रुपैयाँ जरिवाना र गाउँ आउनेलाई १ लाख रुपैयाँ पुरस्कार ! सुन्दै अनौठो लाग्ने यो दण्ड र प्रोत्साहनको नियम लगाएको थियो भोजपुरको रामप्रसाद राई गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले । तर यो नियमले पनि बसाइँ आउन प्रोत्साहित गरेन, बसाइँ जाने नै धैरै भए ।

पानीका मुहान जोगाए जोगिन्छ जीवन

२०७२ वैशाखको भूकम्पमा घर भत्किएकाहरूले पुनर्निर्माणका लागि अनुदान पाए । केहीले बनाए पनि । तर दीर्घकालसम्म बसाइँ दिगो हुने नदेखेर धेरै परिवार अन्यत्र सरे । बसाइँ जानेलाई पालिकाले रोक्न त खोज्यो तर समस्या हल गर्न सकेन । समस्या थियो- पानी ।

रामप्रसाद राई गाउँपालिकामा विगतमा पानीका मूलहरू प्रशस्त थिए । अहिले पनि धारा र पँधेरा त नाम सम्झिन नसकिने गरी नै छन्, फरक यत्ति हो, तिनमा पानी आउँदैन । पानी अभाव चुलिएपछि गाउँ छाड्नुको विकल्प नभएर बस्तीहरू नै बसाइँ सरेका छन् । उनीहरूमध्ये धेरै जिल्लै छाडेर मोरङ, सुनसरी, उदयपुर र झापा झरेका छन् । यस वडामा पर्ने साबिकको मानेभन्ज्याङ गाविस–८ र ९ का बस्ती लगभग शून्य भइसकेका छन् । ‘बाँकी १५ घरधुरी पनि बसाइँ जाने तरखरमा छन् । उनीहरू पनि हिँडे भने गाउँमा जागिरको कारण बाध्यताले बसेका २–४ घर मात्र बाँकी हुनेछन्,’ वडाका कार्यालय सहायक तीर्थ तामाङ सुनाउँछन्, ‘भूकम्पमा भत्किएका घर सरकारले दिएको राहतको पैसाले बनाए । तर ती बनेका २० घर एक पटक पनि मान्छे नबसी भत्कने भए ।’

गाउँ नै रित्तो हुने देखेर वडा कार्यालयले ल्याएको दण्ड योजनाले पनि काम गरेन । ‘पानीबिना बाँच्न कठिन भएकाले मानिसहरू ३० हजार रुपैयाँ भए पनि तिरेर अर्कै ठाउँमा जान चाहेकाले उक्त योजना असफल भयो,’ वडा सचिव तिलक कार्की भन्छन् । उनका अनुसार वडाका घोर्लेनी, अर्चले, दमाईछाप र ठूलो पँधेरोका बस्ती पूरै खाली भइसकेका छन्, र यही कारण पालिकाका अन्य ठाउँबाट पनि बसाइँ सर्ने क्रम जारी छ ।

भोजपुरकै पौवादुङमा गाउँपालिकाको समस्या पनि मानेभन्ज्याङको भन्दा फरक छैन । त्यहाँका ३, ४, ५, र ६ नम्बर वडाका बस्तीहरूमा खानेपानी अभावकै कारण थातथलो छाड्नेहरू बढ्दा धेरै घर रित्ता छन् । ‘यो क्षेत्रमा पहिलादेखि नै पानीका स्रोतको अभाव थियो । भएका मुहान पनि पछिल्ला वर्षहरूमा सुक्ने क्रम बढेकाले बस्ती नै बसाइँ सर्न थालेको हो,’ गाउँपालिकाका प्रवक्तासमेत रहेका पौवादुङमा–६ का वडाध्यक्ष दीपक साङपाङ राई भन्छन्, ‘अरू मुहान पनि भूकम्पपछि सुक्ने क्रममा छन् । बाँकी घरधुरीले पनि २ घण्टाभन्दा बढी समय लगाएर भेटिने मुहानबाट पानी बोकेर ल्याउनुपरेको छ ।’ गाउँका सानो दुङमा, ठूलो दुङमा, चाङपाङलगायतमा पानी संकट चुलिएको छ । ‘बाजेको पालामा पानीलाई छोरीको पेवा भनिन्थ्यो । २०६० सालसम्म ८६ घरधुरी थिए, मुहान सुक्दै गएपछि अहिले २४ घर मात्र बाँकी छन् । ती पनि बाध्यताले मात्र बस्नुपरेको छ,’ पालिका उपाध्यक्ष सम्झना राई भन्छिन् ।

रामप्रसाद राई गाउँपालिका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थल हो । रामप्रसाद राई र पौवादुङमा गाउँपालिकाका बासिन्दाले भोगिरहेको पानीको संकटबारे जोकोही जानकार छन् । समस्या समाधानका निम्ति स्थानीय सरकारले सारेका मुहान संरक्षणका योजना प्रभावकारी हुन सकेका छैनन् । भएका १–२ वटा मुहानमा सामान्य तारजालीबाहेक संरक्षणका अरू काम भएका छैनन् । मुहानै नभएपछि केलाई संरक्षण गर्ने, स्थानीय बासिन्दा अन्योलमा छन् । वैकल्पिक उपायका रूपमा लिफ्ट प्रणालीलाई दुवै गाउँपालिकाले प्राथमिकतामा राखेका छन् । यसका निम्ति संघ सरकारले नै बजेट दिएको छ । रामप्रसाद राई गाउँपालिकामा त ९० प्रतिशत काम भइसकेको छ । पौवादुङमामा पनि करिब १४ करोड लगानीमा सुरु गरिएको यो योजनाको भौतिक प्रगति ३२ प्रतिशत पुगेको छ ।

भोजपुरका यी दुई गाउँका कथा मुलुकका हिमाली र पहाडी बस्तीका प्रतिनिधि व्यथा हुन् । मुलुकका हिमाली, पहाडी, र चुरे क्षेत्रका स्थानीय तहमा नेपाल पानी सदुपयोग फाउन्डेसन (एनडब्लूसीएफ) र इसिमोडले गरेको अध्ययनमा ७४ प्रतिशतमा मुहान सुकेको देखिएको छ । स्थानीय तहहरूले यो समस्या नबुझेका होइनन् तर मुहान संरक्षणका उपाय प्रभावकारी बनाउने ज्ञान न्यून छ । धेरैले मुहान संरक्षणको साटो लिफ्ट र बोरिङजस्ता महँगा र अस्थिर वैकल्पिक उपाय अघि बढाएका छन् । यसरी भूमिगत स्रोत र नदीनालाको पानी माथिल्ला बस्तीसम्म लैजाने प्रणाली कति दिगो हुन्छ, प्रश्न टड्कारो छ । यस्ता महँगा योजनाले तत्कालका लागि राहत पुर्‍याए पनि भविष्यमा पानी संकट अझ बढ्न सक्छ ।

पानीका मुहानहरूबाट स्थानीय बासिन्दा त लाभान्वित भएका हुन्छन् नै, यिनले खोलालाई निरन्तर बगिरहन पनि मद्दत गर्छन्, यसबाट जैविक प्रणाली चलेको हुन्छ । त्यसैले मुहान किन सुके, कसरी तिनलाई सदाबहार पानी आउने बनाउन सकिन्छ भन्नेबारे सोच्न ढिला भइसकेको छ । महाभारत र चुरे पर्वत शृंखलाबाट निस्किएका खोला–नदीहरूको त आधार नै पहाडी क्षेत्रका मुहानहरू हुन् । पछिल्लो समय भएका मानवीय गतिविधिहरूले मुहानको पुनर्भरणमा असर पुर्‍याएका छन् । मुहान संरक्षणबारे फाट्टफुट्ट कुरा उठाए पनि सम्बन्धित निकायहरूले पुग्दो चासो दिएका छैनन् । त्यसैले यो समस्या अझै बढ्ने देखिन्छ । मुहानको महत्त्व बुझेका पालिका पनि संरक्षण गर्न के गर्ने भन्ने नीतिगत अस्पष्टता र प्राविधिक ज्ञान अभावका कारण अन्योलमा छन् । जलभण्डार रित्तिँदै जानु, पुनर्भरणमा कसैको चासो नदेखिनु, जलवायु परिवर्तनका असरहरू बढ्दै जानु र अस्थिर खालका वैकल्पिक अभ्यास बाक्लिनुले मानव मात्र नभई जीवजन्तु र खोलानालाको भविष्य पनि संकटमा पर्ने देखिन्छ ।

मुलुक संघीय संरचनामा गएपछि स्थानीय तहले धेरै अधिकार पाएका छन् । आफ्नो क्षेत्रको विकास योजना र बजेट निर्धारण जनप्रतिनिधिको जिम्मामा छ । नभई नहुने पानीका लागि उनीहरूले योजना ल्याउँदैनौं भन्न पाउँदैनन् । योजना ल्याएका पनि छन्, धेरैजसो योजना ठूलो खर्च हुने छनोट गरेका छन्, तिनमा काम भइरहेका छन् । तर हामीले दिगो योजनाहरू हेर्नुपर्छ । पानीका स्रोतहरू जोगाउँदा जैविक विविधताको चक्र खलबलिनु हुँदैन ।

पानीका स्थानीय स्रोत संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय सरकारको हो । पुनर्भरणको चक्रलाई सन्तुलित गर्न मुहान आसपासका वनजंगल जोगाउनुपर्छ । जथाभावी बस्ती बसाइनु हुँदैन । एनडब्लूसीएफ र इसिमोडको अध्ययन अनुसार मुहान संरक्षणका निम्ति कतिपय स्थानीय तहले योजना बनाएका छन्, वार्षिक कार्यक्रममा समावेश गरेर बजेट छुट्याएका छन् । धेरैजसोमा एक वडा एउटा पोखरी योजना छ । कतिपय स्थानीय तहका जनप्रतिनिधिलाई भौगर्भिक ज्ञान नभए पनि सानो वा ठूलो पोखरी खनेर वर्षातको पानीलाई जमिनमुनि पठाएमा पानीको संरक्षण गर्न सकिन्छ भन्ने लागेको छ । कतिपय पालिकालाई भने यो कुरा थाहै छैन, भए पनि चासो देखाएका छैनन् ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले निबुवा तांखुवा जलाधार संरक्षणका लागि भनेर ९ करोड बजेट प्रक्षेपण गरेको छ, इसिमोडसँग मिलेर मुहान संरक्षणका लागि पनि काम अगाडि बढाएको छ । इलामको सूर्योदय नगरपालिकाले ‘एक वडा एक पोखरी’ योजनालाई प्राथमिकतामा राखेको छ, मुहानवरपर फोहोर फाल्नेलाई जरिवानै तोकेको छ । मुहानवरिपरि सरसफाइ गर्ने, खेतीमा रासायनिक मल तथा औषधि प्रयोग गर्न नदिने, आकाशे पानी संकलन गर्ने पालिका नीति छ । अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउद पुनर्भरण पोखरी खन्नेमा अग्रपंक्तिमा पर्छन् । पुर्खाले जमिनमा पानी पुनर्भरणका लागि अपनाएको उपायलाई बुझेका उनले मुहान बचाउन अभियान चलाएका हुन् । उनका अनुसार चौरपाटीका सातवटै वडामा सानाठूला गरी लगभग ५ हजार रिचार्ज पोखरी खन्ने काम भइसकेको छ । पोखरी खनेपछि हिउँद नलाग्दै सुक्ने मुहानहरूमा अहिले वर्षभरि नै पानी छ । पोखरीको प्रभावकारिताका लागि पालिकासित प्राविधिक ज्ञानको भने खाँचो भएको साउद बताउँछन् ।

हिमाली भेगका मुहानहरूमा हिउँ पग्लेर पानी आए पनि पहाडी र चुरे क्षेत्रका मुहानका लागि मुख्य स्रोत आकाशे पानी नै हो । वर्षातको पानी जब रसाएर जमिनमुनिको जलभण्डार (ग्राउन्ड वाटर टेबल) मा जान्छ, त्यही नै पछि मुहानहरूबाट निस्कन्छ । नेपालजस्तो चार महिना पानी पर्ने, आठ महिना सुक्खा हुने देशमा जमिनमुनि सञ्चित पानीकै कारण सुक्खायाममा जीवनहरू धानिइरहेका हुन्छन् । कुन मुहानमा पानी कहाँबाट आएको छ भनेर थाहा पाउन उक्त क्षेत्रको अध्ययन गर्नुपर्छ । कुनै मुहानमा एउटै स्रोत तथा कुनैमा फरकफरक जलाधारबाट पानी आएको हुन्छ, जसका लागि मुहान क्षेत्रवरिपरिको भौगर्भिक अवस्थितिबारे जान्न जरुरी हुन्छ । मूलाधारको ज्ञानबिना मुहान संरक्षणको काम प्रभावकारी नहुन सक्छ । पानीको भूमिगत बाटो थाहा नपाई गरेका विकासका कामले क्षति पुर्‍याउँदा पनि कतिपय मूल सुकेका हुन्छन् । यसबारे स्थानीय तहमै अध्ययन र प्रशिक्षणहरू हुन जरुरी छ । यसले स्थानीय तहलाई विकासका काम गर्दा मुहानको संरक्षणमा सचेत बनाउन सहयोग गर्छ ।

थापा नेपाल पानी सदुपयोग फाउन्डेसनकी अनुसन्धानकर्ता हुन् ।

प्रकाशित : फाल्गुन २०, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?