विज्ञानमा महिला

शान्ति प्रियवन्दना

केहीअघि विज्ञानमा महिलाको पहुँचसम्बन्धी दिवस मनाइयो । महिला र बालबालिकाले पनि विज्ञान र प्रविधिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्, तसर्थ यी क्षेत्रमा उनीहरूको सहभागितालाई बलियो बनाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न केही वर्षदेखि यो दिवस मनाइँदै आइएको छ । महिलाको समान पहुँचलाई सुनिश्चित गर्न तथा अवसरका ढोका खोलिदिन पनि यस्तो दिवसको महत्त्व हुन्छ । तर, दिवस मनाएर मात्र हुन्न, त्यसका मान्यताप्रति पनि हामी प्रतिबद्ध हुनुपर्छ । 

विज्ञानमा महिला

विख्यात भौतिकशास्त्री र रसायनशास्त्री मेरी क्युरी नोबेल पुरस्कारबाट सम्मानित हुने पहिलो महिला वैज्ञानिक हुन् । उनले पोलोनियम र रेडियम नामक दुइटा तत्त्वको खोजी गरेकी थिइन् । सन् १८६७ मा जन्मिएकी उनको मृत्यु आफैंले पत्ता लगाएको तत्त्वको खतरनाक विकिरणले शरीरमा पुर्‍याएको गम्भीर असरका कारण ६६ वर्षको उमेरमा भएको थियो । उनको मृत्यु भएकै ९ दशक पूरा हुन लागेको छ । तर अझै विज्ञान र प्रविधिका क्षेत्रमा महिला सहभागिता सन्तोषजनक छैन । विकसित राष्ट्रहरूमा समेत विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरूको सहभागिता न्यून रहेको अवस्थामा नेपालका महिलाहरूको हालत कस्तो होला ? अनुमान लगाउन गाह्रो पर्दैन । तथापि यस क्षेत्रमा काम भने भइरहेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग आबद्ध महिलाहरू, विज्ञानमा महिला पहुँच बढाउने उद्देश्यका साथ संगठित भएका छन् ।

नेपालमा लिंगका आधार भेदभाव गरिन्छ । छोरीहरू यसैले पनि शिक्षाबाट वञ्चित छन् । ग्रामीण भेगका प्रायः बालिकाले बल्लबल्ल प्राथमिक तहको पढाइ पूरा गर्न पाउँछन् । थोरैले मात्र माध्यामिक तह पूरा गर्छन् । यसरी पढाइ पूरा गर्न नसक्नुको मुख्य कारण गरिबी नै हुने गर्छ । उसो त ‘छोरीलाई अर्काको घर जाने जात’ भनेर पनि तिनको पढाइमा लगानी नगर्ने बाबुआमाको संख्या उत्तिकै छ । समाजको यस्तो अवस्थाका कारण छोरीहरूले आफ्नो इच्छा अनुसारको विषय अध्ययन गर्न पाउनु त परको कुरा, विद्यालयको मुख देख्नसम्म पाएका हुन्नन् । अनि छिटै विवाह गर्ने हाम्रो चलनका कारण पनि छोरीहरूको पढाइ बीचमै रोकिन्छ । विवाहका लागि २० वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था भए पनि यो उमेरहदभन्दा पहिल्यै कतिपय महिलाले बच्चा जन्माइसकेका हुन्छन् । यसले गर्दा पनि शिक्षामा उनीहरू अगाडि बढ्न सकेका छैनन् ।

महात्मा गान्धीले भनेका छन्, ‘एउटा पुरुषलाई पढायौं भने एक व्यक्ति मात्र शिक्षित बन्छ, तर महिलालाई पढाउँदा सिंगो परिवार नै शिक्षित हुन्छ ।’ छोरीलाई शिक्षामा गरेको लगानीले परिवार, समुदाय, देश र सम्पूर्ण विश्वलाई नै परिवर्तन गर्न सक्छ भन्नेमा दुईमत छैन । कुनै पनि क्षेत्रमा अघि बढ्नका लागि ज्ञानको आवश्यकता पर्छ, र त्यसको स्रोत शिक्षा नै हो । शिक्षा पाएर नै महिलाले उमेर पुगेपछि मात्र विवाहको निर्णय लिन सक्छन्, सन्तान जन्माउने उपयुक्त समयबारे पनि थाहा पाउन सक्छन् । साथै जन्मान्तर कति राख्ने भन्नेमा पनि आफैंले निर्णय गर्न सक्छन् । शिक्षाको प्रभावले नै उनीहरूको जीवन सोचे अनुरूपको हुन्छ । यसले उनीहरूको आर्थिक पाटो पनि बलियो बनाउँछ, जसले गर्दा आफ्नो र परिवारको समेत भविष्य निर्माण गर्न सक्छन् । लैंगिक असमानता घटाउन पनि मद्दत पुग्छ । प्रत्येक अभिभावकले लिंगका आधारमा छोराछोरीलाई भेदभाव गर्नु हुन्न । उनीहरूको इच्छा अनुसार शिक्षामा लगानी गर्नु अहिलेको आवश्यकता हो । यदि महिलालाई घर–परिवारले नै सहयोग गरेर शिक्षामा अगाडि ल्याउन सकियो भने विज्ञान–प्रविधिको क्षेत्रमा पनि उनीहरूको उपस्थिति बढ्छ । महिलाहरूले पनि विज्ञान र प्रविधिका क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नका लागि अठोट गर्न जरुरी छ ।

प्रकाशित : फाल्गुन २०, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?