कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कैदी सुधार्न पुस्तकालय

शिवजी श्रेष्ठ

२८ वर्षअगाडि प्रहरी अधिकृतको आधारभूत तालिमको क्रममा हाम्रो सानो टोली केन्द्रीय कारागारको अवलोकनका लागि पुगेको थियो । त्यस बेला जेलरले पर्खालको प्रहरी पोस्ट देखाउँदै भन्नुभएको थियो, ‘ऊ त्यो गणेश बुर्जा, जहाँबाट गणेशमान सिंहले २००१ सालमा पर्खाल नाघेर भाग्नुभएको थियो ।’

कैदी सुधार्न पुस्तकालय

त्यति अग्लो पर्खाल कसरी पार गर्नुभयो भनेर हामी भने छक्कै परेका थियौं । जेलरले उभिनै नमिल्ने कैदी बस्ने कोठाहरू पनि देखाउनुभयो । जेलरबाट यस्तो साँघुरो कोठामा पूर्वआईजीपी डीबी लामाले चार वर्ष बिताउनुभएको थाहा पाएर हामी झन् अचम्ममा पर्‍यौं । जेलको वातावरण देखेर मलाई त्यति बेला उकुसमुकुस भएको थियो । गणेशमान सिंहको आत्मवृत्तान्त ‘मेरो कथाका पानाहरू’ मा एउटा प्रसंग छ- सुविधा र जेल सुधारको माग उठाउँदा जेल निरीक्षण गर्न आएका कर्णेल इन्द्रबहादुरले मलाई हेर्दै भन्नुभयो, ‘हेर नानी ! तिमीहरूलाई यहाँ चरित्र सुधारकै निम्ति राखिएको हो, अझै नचाहिने काम गर्दै हिँड्छौ ?’ यसले राणाकालमा जेललाई सुधारगृहका रूपमा लिइने रहेछ भन्ने देखाउँछ । अहिलेका शासकमा यस्तो बुझाइ छ ?

बहुदलीय व्यवस्थाका प्रायः प्रधानमन्त्री तथा मन्त्रीहरू कुनै न कुनै बेला जेल परेका थिए । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओली पञ्चायतकालमा लामो समय जेल बिताउनेहरूमध्ये नै पर्नुहुन्छ । कम्युनिस्ट नेता राधाकृष्ण मैनालीले ‘लुटिएका दुई थुँगा फूल’ र ‘नलेखिएको इतिहास’ किताबमा जेल जीवन र जेल सुधार्ने पक्षहरूबारे उल्लेख गर्नुभएको छ । जेलको अवस्थाबारे उहाँहरू बढी जानिफकार हुनुहुन्छ । पछि ओली दुई पटक प्रधानमन्त्री हुनुभयो, देउवा पाँच पटक । राधाकृष्ण मैनाली पनि पटक–पटक मन्त्री हुनुभयो । २०५२–२०६२ को जनयुद्धमा जेल परेका माओवादी नेताहरूका आत्मकथा पनि अचेल पढ्न पाइन्छन् । तिनै नेताहरूपछि थुप्रै पटक मन्त्री पनि भए ।

राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका बीपी कोइरालालाई गणेशमान सिंहसँगै सुन्दरीजल जेलमा राखियो । बीपीले ‘फेरि सुन्दरीजल’ मा त्यति बेलाको मनस्थितिबारे यस्तो लेख्नुभएको छ, ‘जेलको धुनमा मेरो ताल कहिल्यै मिल्दैन । बन्दी जीवन सहन बढी गाह्रो हुन्छ । पर्खालभित्र छिर्नासाथ म अनायास उदास, आफैंभित्र हराएको जस्तो विरक्त, भावुक, खिन्न भएको थिएँ । त्यसैले जेलमा रहँदा म नियमित रूपमा डायरी लेख्ने गर्छु ।’ अर्का प्रभावशाली नेता कृष्णप्रसाद भट्टराईले ‘मेरो म’ आत्मकथामा लेख्नुभएको छ, ‘सेन्ट्रल जेलमा कैदीहरूलाई एउटै कोठामा राखेर बस्ने, सुत्ने स्थान बित्ताले नापेर बाँड्ने चलन छ ।’ जेलको अवस्था अरूले भन्दा बढी यिनै नेताहरूले देखे–भोगेका छन् । त्यसैले यसको सुधारको महत्त्व पनि बुझ्नुपर्ने हो ।

जेल सुधारका लागि सरकारी स्तरबाट केही प्रयास पनि भएका छन् । श्री ३ पद्मशमशेरको पालामा जनरल सुवर्णशमशेरको नेतृत्वमा २००५ सालमा जेल सुधार आयोग गठन भएको थियो । प्रजातन्त्रको स्थापनापश्चात् अर्थमन्त्री हुँदा २००८ सालमा सुवर्णशमशेरकै संयोजकत्वमा यस्तै आयोग बनेको थियो । त्यसै गरी २०१६ सालमा गणेशमान सिंहको संयोजकत्वमा र २०२९ सालमा रामहरि शर्माको अध्यक्षतामा जेल सुधार आयोग गठन भए । यो सिलसिला बहुदल स्थापनापछि पनि कायमै रह्यो ।

अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले कारागार सुधार समिति गठन गर्नुभएको थियो, सो समितिले ४७ जिल्लाका ४९ कारागारको स्थलगत भ्रमण गरी सुधारका लागि ३३ सूत्रीय सुझाव समेटेर प्रतिवेदन पेस गरेको थियो । यीबाहेक पनि सुधारका नाममा थुप्रै आयोग, समितिहरू बनाइए तर जेलको अवस्था बीसको उननाइस भएको छैन । कुनै अपराध वा मुद्दामा जेल परेकाहरू पनि मानव हुन्, तिनका पनि आधारभूत आवश्यकता हुन्छन् भन्नेमा सरोकारवालाको नजर उति पुगेको छैन । जेल सुधारगृह हो कि यातनागृह भन्ने प्रश्न हाम्रा अगाडि अझै तेर्सिएकै छ । निरंकुशताविरुद्ध लडेका नेताहरू पटक–पटक सरकारमा हुँदा पनि जेलको अवस्था दयनीय नै भइरहनु विडम्बना हो ।

जेलमा बसेकाहरूको कथा पढ्दा पढ्नेलाई त उकुसमुकुस हुन्छ भने भोग्नेलाई कस्तो होला ? ९० वर्षअगाडि १९८८ सालमा राणा शासनविरुद्ध लाग्दा जेल परेका खड्गमान सिंहले ‘जेलमा २० वर्ष’ आत्मकथामा कैदीको मानसिक अवस्था कस्तो हुन्छ भनेर हृदयविदारक किसिमले लेखेका छन् । ती त निरंकुश राणा शासनकालका कुरा भए, अहिले त निरंकुशताविरुद्ध लडेका नेताहरू नै पटक–पटक सरकारमा पुगिसकेका छन् ! जेलमा उचित खाना, न्यानो नाना र सुरक्षित छानाजस्ता आधारभूत आवश्यकताबाहेक विश्वव्यापीकरणका कारण द्रुत गतिमा भइरहेको परिवर्तनबारे कैदीहरू अपडेट रहन अध्ययन सामग्रीको व्यवस्थापन पनि जरुरी छ । तर, यसका लागि जेलहरूमा पुस्तकालयहरू छन् त ?

यही प्रश्नको उत्तर खोज्दै नेपाल लाइब्रेरी फाउन्डेसनले केहीअघि जेलहरूमा पुस्तकालय बनाउने अभियान सुरु गरेको थियो । कर्णालीका जेलहरूबाट थालिएको सो अभियान अहिले ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सर्लाही, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, काभ्रेपलान्चोक, दोलखा, चितवनलगायतमा सञ्चालनमा छ । जेलमा कैदीहरूलाई बस्न र सुत्न ठाउँ नपुगिरहेका बेला पुस्तकालयबारे सोच्नु त टाढाको कुरा भयो । मैले हालै केही जिल्लाका जेलबारे बुझेको थिएँ, सोलुखुम्बुको कारागार महिला र पुरुष कैदी गरी जम्मा २५ जना अट्ने क्षमताको रहेछ तर छन् ९० जना । ओखलढुंगामा पनि त्यति थोरै क्षमतामा ९२ जना कैदी राखिएका छन् ।

ऐन–कानुनमा व्यवस्था गरेर मात्र कारागार र बन्दीको अवस्था रातारात सुधार हुँदैन, सोही अनुसारको भौतिक लगायत सुविधाको व्यवस्था गर्नुपर्छ । निकै अघि म जिल्ला प्रहरी कार्यालय, उदयपुरमा अधिकृत छँदा बालबालिका सम्बन्धी ऐन–२०४८ आकर्षित हुने आरोपित नाबालकलाई बाल सुधारगृहमा राखेर मुद्दा चलाउन जिल्ला न्यायाधीशले आदेश दिएका थिए । आदेशअनुसार नाबालकलाई राख्न बाल सुधारगृह त्यस बखत उदयपुरमा त के, पूर्व क्षेत्रमै थिएन । अझै पनि यस विषयमा धेरै परिवर्तन आएको छैन । कतिपय कैदीका नाबालक बच्चाहरू अभिभावकसँगै जेल बस्नुपर्ने पनि हुन्छ । जेलको वातावरणमा हुर्किएका बालबालिकाको मनस्थिति कस्तो होला र उनीहरूको व्यक्तित्व कस्तो बन्ला भन्नेमा पनि उत्तिकै ध्यान दिनुपर्छ । त्यस्तै, पढ्दै गरेका नाबालक वा विद्यालय–विश्वविद्यालय पढ्दै गरेका अलि ठूला कैदीहरू रहेछन् भने पनि अध्ययनको समुचित व्यवस्था हुन नसकेमा उनीहरूको पढाइबीचमै समाप्त हुन्छ । अध्ययनबाट आफूलाई रूपान्तरण गर्न चाहने यस्ता कैदीहरूलाई कारागारमा हुने पुस्तकालय वा अध्ययनको वातावरणले धेरै फरक पार्छ ।

अहिले पश्चिमी मुलुकको न्याय प्रणालीमा जघन्य अपराधबाहेकका अपराध र नाबालकहरूलाई जेलमा नपठाई सुधारको मौका दिइने परिपाटीको विकास भइरहेको छ । कतिपय कैदीलाई अपराधको प्रकृति र प्रवृत्ति हेरेर जेल नपठाई निश्चित घण्टा वा दिनसम्म सजायस्वरूप सामाजिक कार्यमा लगाउने गरिन्छ । यसो गर्दा ती व्यक्तिहरूले आफू जेल परेकामा हीनताबोध पनि नगर्ने र सामाजिक काम पनि गर्ने हुँदा राज्य वा समाजलाई सहयोग पुग्ने देखिन्छ । हाम्रो देशको न्याय प्रणालीमा पनि व्यक्तिको अवस्था र अपराधको प्रकृति र प्रवृत्ति हेरेर सामाजिक कार्यमा लगाउने किसिमको सजायको व्यवस्था गर्न सके सामाजिक र न्यायिक सुधारलाई अझ अगाडि लैजान सकिन्छ ।

जेलमा स्वाभाविक रूपमा हुनुपर्ने सुधार नहुनुको मुख्य कारक हो- त्यहाँ सामान्य कैदीहरू मात्रै रहनु । प्रभावशाली कैदीहरू कुनै न कुनै निहुँमा जेलबाहिरै बसेर कैद भुक्तान गरिरहेका हुन्छन् । विशेषतः भ्रष्टाचार अभियोगमा मुद्दा चलाइएका नेता वा विशिष्ट श्रेणीका कर्मचारी अनि व्यापारीहरू बिरामीको बहानामा अस्पतालका सुविधासम्पन्न कोठामा बसेर ‘कैद भुक्तान’ गर्ने गर्छन् । जबसम्म यस्ता व्यक्तिहरूले जेलमा कैद व्यतीत गर्नुपर्दैन तबसम्म सुधारका लागि दबाब दिने शक्ति हुँदैन । जेल कैदीहरूले आफूले गरेका गल्ती वा अपराधमा पश्चात्ताप गर्ने अनि आफूलाई सुधार्ने थलो हो, यसलाई यही रूपमै विकास गर्दै लैजानुपर्छ ।

राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिँदा ठाउँठाउँमा नेताहरूलाई पक्रेर थुनामा राख्नुपर्ने भो, यसै क्रममा म कार्यरत लमजुङ जिल्लाका नेताहरू पक्राउ गर्नुपर्‍यो । सो क्रममा रामबहादुर गुरुङ, हरिभक्त अधिकारी, जमिन्द्रमान घलेलगायत जिल्लाका प्रभावशाली नेतालाई समातेर यथोचित तवरले जेलमा राख्दा उहाँहरूको अनुरोध थियो- पुस्तक पढ्न र रेडियो सुन्न पाउनुपर्छ । जेलबाट छुटेपछि उहाँहरूले भन्नुभयो, ‘पुस्तक र रेडियोको सुविधा नदिनुभएको भए हामी डिप्रेसनमै जान्थ्यौं ।’ हो पनि, जेलले डिप्रेसनमै पुर्‍याउँछ । तर यसलाई थोरै सुविधासम्पन्न बनाउने हो भने यो सुधारगृह पनि हुन सक्छ । सोका लागि सानै भए पनि पुस्तकालयको व्यवस्था गर्न सकियो भने कैदीहरूको मानसिक अवस्थामा धेरै सुधार ल्याउन सकिन्छ । कारागारबाहिर आएपछि समाजमा घुलमिल हुन पनि सजिलो हुन्छ । जेलमा सबै आपराधिक प्रवृत्तिका नै हुन्छन् भन्ने छैन, धेरैजसो परिस्थिति अनि परिबन्दले पनि परेका हुन्छन्; त्यस्ता कैदीहरूलाई मानसिक अनि आध्यात्मिक साथ–सहयोगको खाँचो हुन्छ, जुन केही हदसम्म पुस्तकालयले दिने गर्छ ।

नेपाल प्रहरीका पूर्वअधिकृत श्रेष्ठ हाल बेलायतको ह्याम्प्सायर पुलिस कन्स्टेबुलरीमा सल्लाहकार छन् ।

प्रकाशित : फाल्गुन १५, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?