२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२
जलवायु परिवर्तन विशेष

सहर असुरक्षित

जनघनत्व र आर्थिक क्रियाकलापको सघनता बढी हुने भएकाले प्रकोपको असर अन्यत्रभन्दा सहरमा बढी घातक 
उत्तमबाबु श्रेष्ठ

केन्द्रीय तथ्यांक विभागद्वारा हालै सार्वजनिक जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार मुलुकको कुल जनसंख्याको ६६.०८ प्रतिशत सहरी क्षेत्रमा बस्छन् । विभागले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९३ नगरपालिकालाई सहर र त्यसमा बस्नेलाई सहरी जनसंख्या मानेको छ ।

सहर असुरक्षित

सरकारले वर्गीकरण गरेको नगर क्षेत्र र तथ्यांक विभागको सहरी जनसंख्याको परिभाषालाई प्रश्न गर्न सकिने ठाउँहरू प्रशस्त छन् । सरकारले घोषणा गरेका देशका कतिपय नगरपालिकाहरू त नाम मात्रैका छन् र हाम्रा बनिसकेका सहर पनि सहर भन्न लायक छैनन् । तथापि मुलुकमा सहरीकरणको तीव्र वृद्घि अकाट्य सत्य हो । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले प्रकाशित गरेको प्रतिवेदनअनुसार नेपाल विश्वमै उच्च गतिले सहरीकरण भइरहेको मुलुकहरूमध्येमा पर्छ । त्यसैले अब नेपाल गाउँ नै गाउँको देशबाट सहरउन्मुखमा फेरिइसकेको छ ।

मानव इतिहासमा सहरको इतिहास वा मानिस सहरमा बस्न थालेको लगभग ७ हजार वर्ष भएको छ । प्राचीन मेसापोटामियामा अवस्थित संसारकै पहिलो सहर अरिख बनेयता केही अपवादलाई छाड्ने हो भने विश्वभर सहरी जनसंख्या निरन्तर बढ्दो छ । विशेषगरी औद्योगिक क्रान्तिपछि विश्वभर नगरवासीहरूको संख्यामा निरन्तर वृद्घि भइरहेको छ, जसको रफ्तार सन् १९५० पछि उल्लेख्य रूपमा बढेको छ । सन् १९५० मा विश्वका एक अर्ब मान्छे सहरमा बस्थे । अहिले त्यो संख्या बढेर ४ अर्ब ३० करोड पुगेको छ । सहरवासी जनसंख्याको यस्तो निरन्तर वृद्घिले सन् २००७ मा पहिलो पटक विश्वमा सहरियाको संख्याले गाउँले जनसंख्यालाई उछिन्यो । संयुक्त राष्ट्रसंघको पछिल्लो प्रक्षेपणअनुसार सन् २०५० सम्ममा विश्वको ६८ प्रतिशत जनसंख्या सहरिया हुनेछ । त्यसकारण सहर आधुनिक मानव सभ्यता विकास र आर्थिक समृद्घिको प्रमुख स्वरूप हो ।

सहरको परिभाषा देशअनुसार फरक–फरक छन् । तर धेरैजसो देशमा कुनै एउटा ठाउँको कुल जनसंख्याले निश्चित संख्या (थ्रेसहोल्ड) पार गरेपछि त्यसलाई सहरको उपमा दिने गरिन्छ । जनसंख्याका साथै कुनै निश्चित भूगोलमा विद्यमान पूर्वाधारको अवस्था, अधिकांशको प्रमुख पेसा (कृषिबाहेक) र जनघनत्व पनि सहरी वर्गीकरणका थप आधारहरू हुन् । त्यसैले सहर भनेको भौतिक पूर्वाधारहरू थुप्रिएको ठाउँ मात्रै होइन, सामाजिक र आर्थिक गतिविधिका हिसाबले, पेसागत विविधताको कारण र संस्कृतिको दृष्टिकोणले पनि गाउँभन्दा पृथक् संरचना हो । जहाँ गाउँका तुलनामा सेवा प्रवाह र गुणस्तरको अवस्था राम्रो हुन्छ । गुणस्तरीय सेवा सुविधामा पहुँच, बन्दव्यापार र रोजगारीको अवसर धेरै हुनाले सहरले मानिसलाई आकर्षित गर्छ । ओइरिनेहरूमध्ये धेरै र मेधावी मानिसहरूलाई आकर्षित गर्ने हुनाले विश्वमै शिक्षित, अभिनवी (इनोभेटिभ) र उद्यमशील मानिसहरूको केन्द्र हो सहर । सहरमा हुने त्यस्ता अभिनव र उद्यमले मानव सभ्यतालाई नै थप प्रगतितिर डोर्‍याउन मद्दत गरेका हुन्छन् ।

सहरको जलवायु परिवर्तनसँग साइनो


सहर निर्माण मानव प्रगतिको सूचक भए तापनि यसको चर्को वातावरणीय मूल्य पनि छ । पृथ्वीको कुल भूभागको २ प्रतिशत मात्र सहरी इलाकाले ओगटे पनि सहर कार्बन उत्सर्जनको प्रमुख स्रोत हो । यूएन ह्याबिट्याटका अनुसार, विश्वभरको कार्बन उत्सर्जनको लगभग ६० प्रतिशत हरितगृह ग्यास उत्सर्जन सहरी क्षेत्रबाट हुने गर्दछ । सहरी यातायात, कलकारखाना, घर, अफिसजस्ता पूर्वाधारहरूबाट उत्सर्जन हुने हरितगृह ग्यास नै जलवायु परिवर्तनको मुख्य कारक हो । साथै सहरमा मानव जनसंख्यासँगै कंक्रिट, सिसा र धातुका विभिन्न संरचनाहरू अर्थात् आर्थिक र भौतिक सम्पत्तिहरू पनि थुप्रिएका हुनाले जलवायु परिवर्तनको सबैभन्दा ठूलो जोखिम पनि सहरमा नै हुन्छ । जनघनत्व र आर्थिक क्रियाकलापको सघनता पनि सहरमा बढी हुने भएकाले जलवायु परिवर्तनजन्य प्रकोपको असर अन्यत्रभन्दा सहरमा ज्यादा घातक हुने गर्दछ ।

त्यसका साथै हाम्रो जस्तो अल्पविकसित मुलुकहरूमा निर्माण भएका अव्यवस्थित र विनायोजनाका सहरहरूले सुकुम्बासी बस्ती, अनौपचारिक र गैरकानुनी संरचना र न्यून गुणस्तरीय पूर्वाधारहरू विस्तारको समस्या निम्त्याउँछ । रोजगारीको खोजीमा सहर पसेका न्यून आय भएकाको जनसंख्याले निर्माण गर्ने यस्ता बस्तीहरू नै जलवायुजन्य विपद्हरू जस्तै– अतिवृष्टि, बाढी, डुबान, पहिरो, सुक्खा, प्रचण्ड गर्मी, वायु प्रदूषणबाट सबैभन्दा धेरै प्रभावित हुने गर्दछन् । साथै त्यस्ता बस्तीहरूमा बस्ने जनसंख्याको जलवायु परिवर्तनसँग जुध्ने आर्थिक अवस्था पनि कमजोर हुन्छ । जसले गर्दा जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी मारमा सहरी गरिब र कमसल गुणस्तरले बनेका सहरी पूर्वाधारहरू पर्दछन् । त्यसैले सहर जलवायु परिवर्तनको कारक र त्यसको प्रभावबाट सबैभन्दा जोखिमयुक्त संरचना पनि हो ।

सहरमा मानिस, निजी र सार्वजनिक सम्पत्ति, उत्पादनका सम्बन्धहरू, भौतिक पूर्वाधार, सेवा सुविधाका सञ्जालहरू एकअर्कासँग अन्तरसम्बन्धित र निर्भर हुने भएकाले जलवायु परिवर्तनका असर एक क्षेत्रमा देखिँदा अर्को क्षेत्र पनि प्रभावित हुन्छ । उदाहरणका लागि जलवायुजन्य अतिवृष्टिको सहरमा पर्ने प्रभाव बहुआयामिक हुन्छ । जमिनले मुसलधारे वर्षालाई सोस्न नसकेपछि त्यसले डुबानको समस्या निम्त्याउँछ । जसले मानवीय क्षति र सम्पत्तिमा नोक्सानी पुर्‍याउँछ । त्यसमाथि सहर निर्माणका क्रममा वर्षात्को पानी सोस्ने सिमसारजस्ता संरचनाको नष्ट गरिँदा, खोला, नदीका किनार, बाँध क्षेत्रहरू मिचेर संरचना बनाउँदा जलवायु परिवर्तनको कारण हुने चरम वर्षाको घटनाको प्रभावलाई थप घनिभूत पार्दछ । नेपालका तराईका र काठमाडौं उपत्यकाका सहरी क्षेत्रहरूमा पछिल्लो समयमा देखिएको डुबानको समस्या यिनै कारणहरूबाट सिर्जित हुन् ।

वर्षात्को कारण काठमाडौंको फोहोर विसर्जन गर्ने ठाउँसम्म जाने बाटो अवरुद्घ भयो र उपत्यकामा फोहोर उठ्न सकेन । त्यसैले जलवायु परिवर्तनजन्य बाढीको जोखिम सहरको निश्चित क्षेत्रमा अधिक भए तापनि त्यसले पार्ने समग्र प्रभाव बहुआयामिक र व्यापक हुन्छ ।

जलवायु परिवर्तनले सहरमा बस्ने मानिसको जीउधन, जीवनशैली, भौतिक पूर्वाधार र पानी, ढल र सरसफाइका संरचना, विद्युत्, खाद्यान्नजस्ता मानवीय सेवा र सुविधाको आपूर्तिमा सोझै प्रभाव पार्ने मात्र होइन, जनस्वास्थ्यमा प्रभाव पार्दछ । तापमान वृद्घि र वर्षात्को सघनता, आवृत्तिमा हुने वृद्घिले जनस्वास्थ्यमा प्रभाव पार्नुका साथै सरुवा रोगका जीवाणु र फैलावटलाई पनि असर पार्दछ । जलवायु परिवर्तनले डेंगु, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिसजस्ता रोगका कारकको भौगोलिक फैलावटलाई बढाउने अध्ययनहरूले देखाएका छन् । सहरको जनघनत्व उच्च हुने भएकाले यस्ता रोगहरूका कारकको फैलावटसँगै सहरमा तुरुन्तै महामारी फैलने र त्यसले ठूलो क्षति गर्ने सम्भावना पनि हुन्छ ।

सहरमा जलवायु परिवर्तनको अर्को प्रमुख असर सहरी तापमानलाई थप बढाउनु हो । सहरमा भौतिक पूर्वाधारहरू र जनघनत्व बढी हुने भएकाले तापक्रम सामान्य अवस्थामा पनि अन्यत्रभन्दा बढी हुन्छ । त्यसैले सहर औसत तापमानको हिसाबले वरपरका स्थानभन्दा अधिक तापमान हुने टापु (अर्बन हिट आइल्यान्ड) हो । जलवायु परिवर्तनसँगै तापमानमा वृद्घि हुँदा त्यसले सहरको आफ्नै संरचनाले बढेको तापक्रमलाई झनै बढाउँछ । त्यसैले अन्यत्रभन्दा जलवायु परिवर्तनले निम्त्याउने प्रचण्ड गर्मीको प्रभाव सहरी क्षेत्रमा बढ्दा हुन्छ ।

भविष्यको जोखिम
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) को पछिल्लो प्रतिवेदन (एआर—सिक्स) ले सन् २०३४ सम्ममा पृथ्वीको तापमानमा १.५ डिग्रीले बढ्ने अनुमान गरेको छ । पृथ्वीको तापमानको क्रमिक वृद्घिसँगै त्यसले गर्मी र भारी वर्षातको परिमाणलाई घातक हुने गरी बढाउने अनुमान उक्त प्रतिवेदनमा गरिएको छ । वैज्ञानिकहरूले पृथ्वीको तापमानमा १.५ डिग्रीभन्दा बढीको अवस्थालाई असुरक्षित र पुरानै अवस्थामा फर्काउन नसकिने भनेका छन् । उक्त प्रतिवेदनमा हिमालय क्षेत्रमा प्रचण्ड गर्मी बढिरहेको र चिसोपनाको सघनता र आवृत्ति घटिरहेको देखाइएको छ । त्यसले एसियाका धेरै भूभागमा वर्षात्को चरित्रमा फेरबदल आउनुका साथै भारी र आरीघोप्टे वर्षा हुने क्रम बढाएको देखाएको छ । यस्तो

वर्षात्को दर र प्रभाव भविष्यमा अझै बढ्ने प्रतिवेदनमा अनुमान गरिएको छ । त्यसकारण नेपाललगायतका दक्षिण एसियाका सहरहरूले आगामी दिनहरूमा झनै ठूलो वर्षात्को सामना गर्नुपर्ने हुन सक्छ ।

जसले यस क्षेत्रमा डुबान र बाढीपहिरोको प्रकोपलाई थप बढाउन सक्छ । साथै भविष्यमा तापमान वृद्घिसँगै बढ्ने तातो हावाको सघनता र आवृत्ति उच्च हुँदा त्यसले अहिले नै प्रचण्ड गर्मी हुने हाम्रा तराईका कतिपय सहरको जनजीवनलाई थप अस्तव्यस्त पार्ने निश्चित छ ।

जलवायु परिवर्तनले सहरमा अहिल्यै ल्याइसकेको प्रभाव र भविष्यमा ल्याउन सक्ने यस्ता प्रभावहरूलाई न्यूनीकरण गर्नका लागि नेपाल जस्तो कम आर्थिक स्रोत तर धेरै प्राकृतिक विविधता भएको देशका लागि प्राकृतिक अनुकूलनका कार्यक्रमहरू जस्तै परिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन बढी प्रभावकारी साथै कम खर्चिलो हुन सक्छ ।

परिस्थितिकीय प्रणाली वा प्रकृतिलाई प्रयोग गरेर जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उपाय हो अनुकूलन । जसले जलवायु परिवर्तनको असरबाट मानिस र भौतिक पूर्वाधारलाई जोगाउँछ । न्यूनीकरणको यस्तो उपायलाई हिजोआज सस्तो र बहुआयामिक फाइदाजनक उपाय ठानिन्छ । यसअन्तर्गत सहरमा खैरो पूर्वाधार (सिमेन्ट कंक्रिट प्रयोग गरिने) मात्र होइन, हरित पूर्वाधारहरू सहरी वन हुर्काउने, रूखबिरुवा रोप्ने र नीलो पूर्वाधारहरू जस्तै– नदीका बाढी क्षेत्र, पोखरी, राजकुलो, नहरजस्ता सहरका सिमसारको संरक्षण गर्ने कामहरू पर्छन् ।

यस्ता हरित र नीला पूर्वाधारको संरक्षण र प्रवर्द्धनले ठूलो वर्षातमा बाढी घटाउन (पानी सोसेर), प्रचण्ड गर्मीमा सहरलाई चिस्याउन (बोटबिरुवाबाट आद्रता वायुमण्डलमा जाने भएकाले), जलीय चक्रलाई सन्तुलित राख्न र भूमिगत पानीको भण्डारणलाई पुनर्भरण गरिराख्न मद्दत गर्दछ । हरित पूर्वाधारहरूले सहरमा आएका फोहोर पानीलाई प्रशोधन गर्ने र पानीका बाटाहरूलाई स्वस्थ र स्वच्छ राख्न मद्दत गर्दछ । त्यसका साथै पोखरी, नदी जस्ता नीला र सहरी वन जस्ता हरिया पूर्वाधारको सामीप्यताले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ ।

अन्त्यमा, सहरको वृद्घिदरमा मात्रै होइन, जलवायु परिवर्तनको कारक मानिएको प्रतिव्यक्ति कार्बन उत्सर्जनको वृद्घिदरमा पनि नेपाल दक्षिण एसियाकै अग्रणी छ । हाम्रा सहर अव्यवस्थित र अनधिकृत संरचनाले कुरूप मात्र बनेका छैनन्, प्रकोपको हिसाबले पनि संकट सन्निकट छन् । त्यसकारण सहर बनाउँदा अव्यवस्थित खैरा पूर्वाधार (कंक्रिटका संरचना) मात्रै होइन, नीला पूर्वाधार (पोखरी, नदी) र हरिया पूर्वाधार (वन, रूखबिरुवा) को पनि प्रचुरतामा ध्यान दिन जरुरी छ । अबका सहरमा पूर्वाधारलाई जलवायु उत्थानशील (रेजिलिएन्ट) नबनाउने हो भने हामीले सहरवासीलाई जलवायुजन्य जोखिमतर्फ धकेलिरहेका हुनेछौं ।

प्रकाशित : फाल्गुन ७, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?