१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अयोग्यताको लाजले अतिवाद

विष्णु सापकोटा

रूपमा आफ्नो व्यक्तिगत अयोग्यताका लाजलाई ढाक्न जसरी एउटा वा अर्को अतिवादतिर रुझान देखाइरहेका छन्, त्यसले गर्दा आफूले नेतृत्व गर्ने पार्टीको ‘डीएनए’ नै फेरिने प्रक्रिया पनि सायद सुरु भइसकेको छ । सायद उनीहरूलाई यो यात्राको वैचारिक गन्तव्य के हो या यसको गन्तव्य नै छ कि छैन भन्ने पनि थाहा छैन । र, आफ्नो असरल्ल पोखिइरहेको अयोग्यताको लाजले उनीहरू विभिन्न विशेषताका अतिवादलाई आफ्ना पार्टीमा समाहित बनाउन प्रवृत्त भएका छन् । 

अयोग्यताको लाजले अतिवाद

जति समावेशी हुन खोजे पनि सबै पात्रको विवेचना गर्नका लागि ठाउँ त पुग्दैन नै, त्यसैले सबैभन्दा ठूलो पार्टीका अध्यक्ष केपी ओलीबाट सुरु गरौं । ओलीको सबैभन्दा ठूलो राजनीतिक ‘उपलब्धि’ भनेको एमालेको अध्यक्ष र प्रधानमन्त्री हुनु अनि त्यसपछि माओवादीसँग पार्टी एकता गरेर नेकपा गठन गरी ‘७० वर्षको नेपाली कम्युनिस्ट सपना’ लाई साकार पार्नु थियो । त्यसबीच भारतीय नाकाबन्दीका बेला अडान र संविधान जारी गर्ने बेलाको भूमिका उनको लेगेसीसँग जोडिन सक्ने कुरा थिए । र, उनको संघर्षको इतिहास के हो त भन्दा, उनी चौध वर्ष जेल बसेका मान्छे हुन् । अब यी सबै कुरालाई एकैछिन् गहिरिएर सोचौं ।

विगतका वर्षमा उनले पटकपटक सार्वजनिक रूपमा भनेका छन्- उनी लोकतन्त्रका लागि त्यत्रो समय जेल बसेका थिए । जबकि उनी २०४४ सालमा जेलबाट निस्कँदासम्म तत्कालीन नेकपा मालेमा लोकतान्त्रिक भँगालोमा मिसिने कि नमिसिने भन्ने बहससम्म सुरु भएको थिएन । उनी जेल बसेको ‘साम्यवाद’ का लागि थियो, लोकतन्त्रका लागि थिएन । तर मूल विषय त्यो होइन । एउटा सिद्धान्तका लागि जेल बसेको राम्रो, अर्कोका लागि बसेको कस्तो भन्ने विषय पनि छुट्टै बहसको कुरा हो । अहिलेको सन्दर्भ के हो भने, ओलीलाई भित्रभित्र कति पीडा हुँदो हो कि उनी जुन कारणका लागि त्यति लामो समय जेलमा बसे, उनी आफैंले त्यो कारण स्वयंलाई अहिले बंग्याएर भन्नुपरेको छ । हैन, यदि उनलाई त्यो साँच्चै लोकतन्त्रकै लागि थियो भन्ने लाग्छ- किनकि वामपन्थीले पनि त जनवाद भनेकै हुन्छन्- भने फेरि माओवादी ‘जनयुद्ध’ देखि अहिलेका अरू फुटकर कम्युनिस्टसम्मले गरेका सबै ‘संघर्ष’ पनि त्यही लोकतन्त्रका लागि हुन् त जुन अहिलेको संविधानले आत्मसात् गरेको छ ? होइनन् ।

हुन त त्यो सुरुदेखि नै कृत्रिम थियो । तर एमाले र माओवादीको ऐतिहासिक भनेर बिगुल फुकिएको एकता जोगाउने क्षमता ओलीमा एकरती देखिएन । त्यति मात्र भए पनि हुन्थ्यो । ‘एकता’ अघिको त्यस्तो सग्लो एमाले, जसको जिम्मा कार्यकर्ताले उनलाई दिएका थिए, छिन्नभिन्न भएको छ । उनको आफ्नै अर्को लेगेसी थियो, पार्टीभित्र माओवादी उग्रताको डटेर विरोध गर्ने । अब त्यही उग्रताभित्रका पनि उग्र रामबहादुर थापा ‘बादल’ लाई आफ्नो उपाध्यक्ष अनि टोपबहादुर रायमाझी र लेखराज भट्टलाई नेतृत्वमा ल्याएपछिको एमाले अध्यक्षले माओवादीका तत्कालीन क्रियाकलापप्रतिका आफ्ना पूर्वकठोरतालाई सधैं संशोधन गर्नुपर्नेछ । किनकि तिनै माओवादी अब एमाले हाँक्ने सहजिम्मेवारीमा आएका छन् । आफ्नो अयोग्यताका कारण जोगाउन नसकेको नेकपाको र एमाले स्वयंको एकतालाई बादल र भट्टहरूले ल्याउने दुई–चार सय कार्यकर्ताले कति टाल्लान्, देखिइहाल्ने नै छ । तर यहाँनेर पनि महत्त्वपूर्ण प्रश्न एमाले आगामी चुनावमा कत्रो पार्टी होला भन्ने होइन । मूल कुरा, एमाले सीके राउतदेखि नेत्रविक्रम चन्द ‘विप्लव’ सम्म र राप्रपाबाट उछिट्टिएकादेखि हरेक कित्ताका, ओलीकै पहिलेका शब्दमा, उग्रवादी र अतिवादीजतिसँग समीकरण गर्ने तत्परताको सम्भावना देखाएर आफ्नो डीएनए नै फेर्ने बाटोमा जान लागेको हो ? एउटा मार्क्सवादी पार्टीको नेता र कमरेडबाट घटुवा भएर ‘बा’ बन्न चाहन्छÙ मौका पर्नासाथ इतिहासलाई हेर्ने दृष्टिकोणमा मार्क्सवाद कम, पूर्वीय दर्शनको विशालता आफ्नो आदर्श भएको हाकाहाकी भन्छ र बजारमा उपलब्ध सबै खाले कन्जरभेटिभलाई आफ्नो पार्टीमा स्वागत गर्न तत्पर रहन्छ भने त्यो पार्टीको आत्मा त्यही नै रहन्छ जुन पहिले थियो ?

ओली आफैंले नेतृत्वदायी भूमिका खेलेर बनाएको संविधानलाई आफैंले असंवैधानिक रूपमा संसद् विघटनको प्रयास गरेर खण्डित गरे । नाकाबन्दीका बेलाको राष्ट्रवादी अडान प्रधानमन्त्री छँदै गोप्य रूपमै खुफिया प्रमुखमार्फत फिर्ता गरे । सग्लो पार्टीलाई विभाजनमा जाने बनाए । यो सबै असफलता र अयोग्यताको लाजले अहिले उनी कसका मित्र हुन् र कसका होइनन्, थाहै छैन । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारे यसरी थाहै हुन छाडेको भने ओलीको भन्दा पनि धेरै लामो समय भयो । प्रचण्डले नेतृत्व गरेको ‘जनयुद्ध’ सुरु गर्दाको मूल भाष्य थियो- संसदीय प्रजातन्त्रमा यति धेरै विकृति देखिए कि यसबाट हुँदै हुँदैन । इतिहासको व्यंग्य नै भनौं, २०६३ पछि नेपालको लोकतन्त्रलाई पहिलेको भन्दा पनि विकृत बनाउने अभियानको नेतृत्व पनि प्रचण्ड स्वयंले गरिराखेका छन् । नेपाललाई गणतन्त्रमा लगेको जस पनि उनले दाबी गर्न मिल्दैन । किनकि उनले त सकेसम्म राजासँग मिलेर संसद्वादी पार्टीलाई पाखा लगाई आफू सत्तामा आउन खोजेका रहेछन् भन्ने कुरा अब सार्वजनिक रूपमै स्विकारिएका तथ्य भएर स्थापित छन् ।

माओवादी आन्दोलनले अल्पसंख्यक र पछाडि पारिएका समुदायका मुद्दालाई बहसको अग्रस्थानमा ल्याएको त हो तर सत्ता राजनीतिमा आएपछिको माओवादी नेतृत्वको आफ्नै सांस्कृतिक पतनको गहिराइ र विचलनका अनगिन्ती शृंखलाले गर्दा उसले ती मुद्दामा आफ्नो स्वामित्व दाबी गर्ने वैधता गुमाइसकेको छ । भन्न त परिवर्तनको नेतृत्वकर्ता दुई जनामध्ये एक भनेर आफूलाई गिरिजाप्रसाद कोइरालासँग मौका पाउनासाथ जोडिहाल्छन् प्रचण्डले, तर शान्ति प्रक्रिया सुरु भएपछिको उनको अयोग्यताले गर्दा उनलाई अस्थिर राजनीतिकर्मीको पदवी दशकअगाडि नै मिलेको थियो । अहिले उनको हैसियत केवल राजनीतिक ओत खोज्ने एक अलपत्र पात्रका रूपमा खुम्चिएको छ । माओवादी आन्दोलनको व्यावहारिक अवस्था भनेको यसको विसर्जन भई नै सक्यो । यस्तो स्थितिमा आफ्नो अयोग्यताको लाजले प्रचण्ड थप जता पनि ढल्किन सक्छन्, जे पनि बोल्न सक्छन् र जसका पनि हुन सक्छन्Ù आफूले जसका लागि लडें भनेका थिए, ती जनताको बाहेक । राजनीतिमा टिक्ने अहिलेका उपाय पनि सकिए भने भविष्यमा उनले माओवादीले बिसाइसकेका इतिहासका अतिवादतर्फ फर्कने कोसिस फेरि गर्न सक्नेछन् ।

सानोतिनो जस्तो भए पनि आफ्नो राजनीतिक स्पेस बनाउनका लागि शरण खोजेका सीके राउतदेखि विप्लवसम्मको मात्र कुरा कहाँ भयो र ? तिनीहरूको सुरुवात नै असफल हुन योग्य थियो र भई नै सक्यो । उनीहरूले अब गर्ने भनेकै आफूतिर ध्यान खिच्न सक्ने दुई–चारवटा केही ‘स्टन्ट’ र ओली वा त्यस्तै कुनै बहुरूपी राजनीतिक मानस पिताको काख लागेर केही ‘हासिल’ गर्ने हो । तर आफूलाई मधेश आन्दोलनको एक मात्र वैधानिक प्रतिनिधि दाबा गर्ने उपेन्ı यादवदेखि महन्थ ठाकुरसम्म एकातिर र आफ्नो इतिहास अर्कातिर भएका छन् । ठाकुर र राजेन्ı महतो मधेस आन्दोलनप्रति सबैभन्दा बढी अनुदार शक्तिसँग सत्तामा मात्र नभएर मानसिक रूपमै जुन दिनदेखि जसरी ऐक्यबद्ध भए र जुन बाह्य शक्तिप्रति उनीहरू अहिले पनि नतमस्तक नै छन् भन्ने देखाए, त्यसपछि उनीहरू आफ्नो अयोग्यताका लागि अरूलाई दोष दिनेबाहेक अन्य विकल्प नभएको स्थितिमा पुगेका छन् ।

हुन त सुरुमै चर्चा गरेको भए पनि हुने थियो तर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पृष्ठको जुन ठाउँमा लगेर राखे पनि हुन्छ । पछि इतिहासको किताबमा उनलाई खोज्दा उनी भएको पन्ना हुने पनि अध्यायको कतै पुच्छरतिरै हो । किनकि प्रधानमन्त्री त सायद पाँचौंपटक भएका छन् क्यारे, अहिले र भविष्यमा पनि होलान्, तर इतिहासले उनलाई सम्झिने प्रत्येक पटक प्रधानमन्त्री हुँदा उनले कुनचाहिँ पटक केके बिगारेका थिए भनेर हो । उनको स्वर्णिम काल त्यही हुने पक्का छ जुनमा उनले खासै केही पनि (काम) गरेनन् । किनकि उनी २०५२ सालमा पहिलो पटक यो पदमा गएदेखि अहिलेसम्म त्यहाँ गएको केवल त्यहाँ जानका लागि मात्र हो । के गर्न नेतृत्वमा जाने भन्ने उनले कहिल्यै बताउनुसमेत परेको छैन । कांग्रेस पंक्तिको सामूहिक असफलता र अयोग्यताको सिँढी नै उनका लागि सफलताको एकल बाटो भएको छ, पटकपटक । त्यसैले उनी सत्ता सुरक्षाका लागि मिल्नुपर्ने सबैसँग त्यसरी नै मिल्छन् जसरी अहिलेसम्म मिल्दै आएका छन् ।

सत्तामा जानका लागि बाटो बनाउन र त्यहाँ गएपछि गरेका सम्भावित अपराधको जवाफदेहीको मूल्य भविष्यमा चुकाउनुपर्ने भयले गर्दा राजनीतिकर्मीमा अयोग्यताले ल्याउने असुरक्षाभाव आम मानिसको भन्दा गहिरो हुन्छ । त्यसैले उनीहरू आफू केका लागि राजनीतिमा आएको थिएँ भन्ने त सजिलै बिर्सिन्छन् । अनि उनीहरूको एक मात्र ध्याउन्न कुन हिसाबमा सानोतिनो शक्ति आर्जन गरिरहने भन्ने मात्र हुन्छ, जसका कारण प्रकट हुने उनीहरूको विक्षिप्ति र निजी कुण्ठाको परिणाम देशले चुकाउनुपरिरहेको मूल्यमा परिणत भइहाल्छ । लेखमा उदाहरणस्वरूप चर्चा गरिएका केही पात्रबाहेक अरूलाई पनि सम्झौं त, कति छन् नेपालमा आफ्नो अयोग्यताको लाजले ‘पपुलिजम’ र अतिवादतर्फ लागेका/ लाग्न खोजेकाहरू ?

प्रकाशित : फाल्गुन ४, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?