कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लैंगिक सम्बन्ध र सामाजिकीकरण

कहिले राजनीतिक दलका जिम्मेवार नेताहरूले त कहिले बैंकहरूले महिलाको शरीर र यौनिकतामाथि प्रहार गर्छन् । विरोधपछि माफी माग्नु पनि फेसनजस्तै भइसकेको छ ।
रीता साह

एउटा पारिवारिक जमघटमा महिला–पुरुषको व्यवहारबारे छलफल हुँदै थियो । एक मित्रले भने, ‘थाहा छ ? महिलाहरू हकुवा हुन्छन् । उनीहरूबाट सबैले डराउनुपर्ने हुन्छ ।’ हकुवालाई मधेसका गाउँ–देहातमा अदृश्य र डर लाग्ने शक्तिका रूपमा चित्रण गरिन्छ । बच्चाहरूलाई तर्साउनुपर्‍यो भने हकुवाको नाम लिने चलन अझै पनि छ । महिलालाई त्यसरी हकुवासँग तुलना गर्ने ती पारिवारिक मित्र शिक्षित व्यक्ति हुन् ।

लैंगिक सम्बन्ध र सामाजिकीकरण

गएको भदौमा ऋषि पञ्चमीको अवसरमा एक–दुई बैंकले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिएका थिए । एनआईसी एसिया बैंकले लेखेको थियो, ‘...आजको दिन रजस्वला हुन सुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरूको शुद्धिका लागि पूजा–अर्चना गर्दछन् ।’ त्यस्तै, नबिल बैंकको सन्देशमा उल्लेख थियो, ‘...पौराणिक कथन अनुसार नारीहरूले रजस्वला हुँदा जानेर वा नजानीकनै गरेका जति पनि पापहरू छन्, त्यसबाट मुक्ति पाउनका लागि ऋषि पञ्चमी व्रत बस्ने गरेको विश्वास छ ।’ महिला अधिकारकर्मीहरूले यी दुवै सन्देशको व्यापक विरोध गरे । त्यसपछि दुवै बैंकले सार्वजनिक रूपमा क्षमायाचना गर्दै ती सन्देश हटाए ।

माथिका घटना पहिलो पटक भएका होइनन् । महिला शरीर र यौनिकतामाथि प्रहार हुने गरेका घटना अनेकौं छन् । कहिले राजनीतिक दलका जिम्मेवार नेताहरूले महिलाका शरीर र यौनिकतामाथि प्रहार गर्छन् भने कहिले कुनै संस्थाले यस्ता सन्देशमार्फत महिलाप्रतिको दृष्टिकोण सार्वजनिक गर्छन् । विरोधपछि माफी माग्नु पनि फेसनजस्तै भइसकेको छ । यस्ता कतिपय अभिव्यक्ति नजानिँदो तरिकाले पनि आउने गरेका छन् । तर जिम्मेवार व्यक्ति वा संस्थाहरूबाट किन बारम्बार यस्ता अभिव्यक्ति आउने गरेका छन् ? यस्तो सोच कसरी आउँछ, जरा खोतल्नु जरुरी छ । यसका लागि परिवार, समाज, संस्था लगायतमा लैंगिक सामाजिकीकरणबारे विश्लेषण गर्नुपर्ने हुन्छ । लैंगिक सामाजिकीकरण र यसका एजेन्टहरू केके हुन्, यिनले कसरी महिलाप्रतिको सोच र व्यवहार बनाउँछन् भन्नेबारे व्यापक बहस र छलफल आवश्यक छ ।

लैंगिक सामाजिकीकरण

लैंगिक सामाजिकीकरण यस्तो प्रक्रिया हो, जसले प्रत्येक व्यक्तिलाई उसको लिंगका आधारमा व्यवहार गर्न सिकाउँछÙ जस्तै— छोरा हो भने के काम गर्नुपर्छ र कस्तो लुगा लगाउनुपर्छ, छोरी हो भने कुन काम गर्नुपर्छ र कुन काम गर्नु हुँदैन । व्यक्तिले परिवार, समाज तथा अभिभावकबाट लैंगिक भूमिका र व्यवहार सिक्ने गर्छ । सामाजिक संरचना, मूल्यमान्यता तथा चलन अनुसार लैंगिक सामाजिकीकरणको स्तर पनि फरकफरक हुन्छ । यसै अनुसार समाजविशेषमा गरिने लैंगिक आचरण पनि निर्धारण भएको हुन्छ । लैंगिक सामाजिकीकरण समाजका मूल्यमान्यता, आदर्श, संस्कार विकासको अवस्था, संरचना आदिबाट निर्देशित हुन्छ । यसले व्यक्तिको जन्मदेखि मृत्युसम्मको हरेक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्छ । यसलाई सिकाउने केही एजेन्ट हुन्छन्, जसले बच्चालाई जन्मेदेखि नै लिंगका आधारमा बोल्न, व्यवहार गर्न पोख्त बनाउँछन् । ती एजेन्ट हुन्— परिवार, शैक्षिक संस्था, समाज, बजार, धर्म–संस्कृति, मिडिया आदि ।

परिवार

परिवारलाई लैंगिक सामाजिकीकरणको पहिलो पाठशाला मानिन्छ । हरेक व्यक्तिको सामाजिकीकरणमा उसको परिवारको ठूलो र महत्त्वपूर्ण भूमिका हुन्छ । परिवारका सदस्य र अभिभावकहरूको लैंगिक व्यवहार, आचरण बालबालिकाले सिकिरहेका हुन्छन् । नेपाली समाज पितृसत्तात्मक संरचनामा आधारित रहेकाले बालबालिकालाई सानै उमेरदेखि छोरा र छोरीबीचको फरक छुट्ट्याउन सिकाइन्छ । छोरालाई घरबाहिरको काममा लगाउने, रुनु हुँदैन भन्ने, छोरा बलियो हुने तर्क निर्माण गर्ने लगायतका सामाजिकीकरणबीच हुर्काउने आम चलन छ । छोरीलाई भने घरको काम गर्नुपर्छ, ठूलो स्वरले हाँस्नु हुँदैन, बेलुका अबेरसम्म घरबाहिर बस्नु हुँदैन, अरूको संरक्षणमा बस्नुपर्छ लगायतका व्यवहार परिवारबाटै सिकाइन्छ । परिणामतः यस्तै सोच अनुसार उनीहरूको लैंगिक व्यवहारको पनि विकास हुन्छ ।

शैक्षिक संस्था

लैंगिक सामाजिकीकरणका लागि परिवारपछि सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ शैक्षिक संस्थाको । शैक्षिक सामग्री, विशेष गरेर पुस्तकहरूमा महिला र पुरुषलाई कसरी प्रस्तुत गरिन्छ, त्यसको प्रभाव पनि बालबालिकामा पर्छ । जस्तै— बुबाबारे वाक्य बनाउनु छ भने इन्जिनियर वा डाक्टर लेख्ने र आमाको नाममा वाक्य बनाउनु छ भने गृहिणी लेख्ने चलन अद्यापि छ । महिलाहरूलाई जहिले पनि गृिहणी, नर्सजस्ता सेवामूलक काम गर्ने अनि पुरुषहरूलाई डाक्टर, इन्जिनियर, वकिलजस्ता आय आर्जनवाला काम गर्नेका रूपमा चित्रण गरिन्छ । यसबाट पनि बालबालिकामा लैंगिक भूमिकाप्रति एक किसिमको दृष्टिकोण बन्ने गर्छ । स्कुले पाठ्यक्रमले पनि महिलाप्रति दृष्टिकोण बनाउन मद्दत गर्छ । बालकलाई गणित र विज्ञान विषय पढ्न प्रोत्साहन गरिन्छ भने बालिकालाई गृह विज्ञान, खाद्य विज्ञान । केटाहरूलाई फुटबल र भलिबल खेल्न प्रोत्साहन गर्ने र केटीहरूलाई पेन्टिङ गर्न लगाउनेजस्ता अभ्यासले पनि ‘जेन्डर स्टेरियोटाइप’ धारणा बनाइदिने गर्छ ।

समाज

लैंगिक सामाजिकीकरणमा समाजको पनि मुख्य भूमिका हुन्छ । कुनै पनि व्यक्ति कस्तो सामाजिक संरचनामा हुर्के–बढेको छ, त्यसकै प्रभाव उसको व्यवहारमा देखिन्छ । नेपाली समाज पितृसत्तात्मक रहेकाले हरेक तह र तप्कामा पुरुषकै वर्चस्व छ । महिलालाई कमजोर प्राणी ठानिन्छ । समाजले लिंगका आधारमा काम, लुगा, नियम–कानुन र तौरतरिकाबारे फरकफरक मापदण्ड बनाएको हुन्छ । व्यक्तिहरू यस्तै व्यवहारमा अभ्यस्त हुँदै जान्छन् र कालान्तरमा त्यस्तै व्यवहार प्रदर्शन गर्न थाल्छन् । तर एउटै समुदायभित्र पनि जात र धर्म अनुसार लैंगिक सम्बन्ध फरकफरक हुने गर्छ । त्यसैले कस्तो समुदायमा जन्मे–हुर्केको हो, त्यसै अनुरूपको लैंगिक व्यवहार विकास हुने गर्छ ।

सञ्चारमाध्यम

सञ्चारमाध्यमहरूले धेरै प्रकारका स्टेरियोटाइप सोच बनाइदिने गर्छन् । टेलिभिजनका अधिकांश विज्ञापनलाई उदाहरणका रूपमा लिन सकिन्छ । मसला, सर्फ, साबुन, वासिङ मेसिनजस्ता सामग्रीहरूको विज्ञापनमा महिलालाई देखाइन्छ । सुन्दर देखिने क्रिम पाउडरहरूको विज्ञापन गरेर महिला सुन्दर बन्नुपर्ने सन्देश पनि दिने गरिन्छ । रक्सी र चुरोटजस्ता विज्ञापनमा महिलालाई मनोरञ्जनका वस्तुका रूपमा प्रयोग गरिएका उदाहरण पनि प्रशस्तै छन् । यस्ता विज्ञापनहरूले महिलाप्रति एक किसिमको दृष्टिकोण बनाइदिने गर्छन्, जसको प्रभाव व्यक्तिहरूमा नजानिँदो तरिकाले परिरहेको हुन्छ । ‘ए ससुरा बा, मलाई साली मन पर्‍यो’ जस्ता गीतहरू समाजमा सजिलै पाच्य हुन्छन् तर कुनै महिलाले ‘मलाई देवर मन पर्‍यो’ भनिन् भनेचाहिँ अपाच्य हुन्छ । यस्ता अनेकौं उदाहरण सिनेमा, गीत–संगीत तथा विज्ञापनहरूमा देख्न सकिन्छ, जसले लैंगिक सामाजिकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

धर्म

धर्म सबैभन्दा बढी पितृसत्तात्मक सोचबाट निर्देशित हुन्छ । हिन्दु धर्ममा जति पनि व्रतहरू छन्, अपवादबाहेक सबै महिलाले नै लिनुपर्ने किसिमका छन् । तीजमा पतिको दीर्घायुका लागि, ऋषि पञ्चमीमा महिनावारी हुँदाको पाप कटाउन, जितियामा छोराको दीर्घायुका लागि, मधुश्रावणीमा पतिका लागि व्रत बस्नुपर्ने अनिवार्यता समाजले लगाएको छ । यस्ता व्रत नबस्ने महिलालाई परिवार र समाजले नराम्रो मान्ने चलन छ । यस्ता धर्म, संस्कार र संस्कृति पालना गर्न सानैदेखि सिकाइन्छ र यस्ता संस्कारहरू हजुरआमाबाट आमा र आमाबाट छोरीमा पुस्तान्तरण पनि हुने गर्छन् । बैंकहरूले महिलाको शरीर अपवित्र हुने सन्देश दिनु यस्तै कुसंस्कारको उपज हो ।

तसर्थ लैंगिक समानता र विभेदमुक्त परिवार, समाज, धर्म, संस्था र राज्य निर्माण गर्नका लागि यस विषयमा बहस गर्नु आवश्यक छ । यस्ता बहसको सुरुआत परिवार, शैक्षिक संस्था, विभिन्न सार्वजनिक संस्था, राजनीतिक दल, सञ्चारमाध्यमले गर्नुपर्छ ।

प्रकाशित : माघ २७, २०७८ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?