त्यत्रो पढेको मान्छे !- विचार - कान्तिपुर समाचार

त्यत्रो पढेको मान्छे !

पढेको मानिस जति नै पढेको भए पनि ऊ कुनै निश्चित क्षेत्रमा मात्रै महान्, विज्ञ, बौद्धिक वा सीपयुक्त हुन सक्छ, मानव जीवनका सबै क्षेत्रमा पोख्त हुँदैन ।
नारायणी देवकोटा

बेलाबेलामा हामी कुनै डाक्टर वा प्राध्यापक (केही दशकअगाडि सम्म विद्यालयका शिक्षक–शिक्षिका) वा समाजले बौद्धिक भनेको मानिसले सामाजिक रूपमा गलत मानिएको काम गर्‍यो भने ‘त्यत्रो पढेको मानिस भएर पनि’ वा ‘त्यत्रो पढेर पनि’ जस्ता फुँदा जोडेर उसका गल्तीहरूमाथि गफ गर्छौं । यस्ता गफहरूमा प्रायः विश्वविद्यालयका प्राध्यापकले आफ्ना महिला विद्यार्थीलाई गर्ने दुर्व्यवहार, बौद्धिकताको खोल ओढेका भ्रष्ट व्यक्ति, घरपरिवारप्रति प्रतिबद्ध नभएको जस्ता सन्दर्भको लामो सूची बनाउन सकिन्छ ।

यो लेख वर्तमान आधुनिक शिक्षा, त्यसको आवश्यकता र शिक्षाले समाजमा पार्ने प्रभावबारे हामीले समाजशास्त्रका कक्षाहरूमा गर्ने छलफलमा आधारित भएर तयार गरिएको छ । गत हप्ता एमए पहिलो सेमेस्टरको कक्षामा निकोज पाउलान्तासको ‘सोसल क्लासेस एन्ड देयर एक्स्टेन्डेड रिप्रडक्सन’ माथि छलफल थियो । जहाँ निकोज भन्छन्, ‘शिक्षा लगायत (यसमा फिल्म, नाटक, सञ्चार माध्यम, साहित्यलाई पनि जोड्न सकिन्छ) का वैचारिक व्यवस्थाले समाजमा फेसनको निर्माण गर्छन् र उक्त फेसनका कारण उच्च शिक्षा हासिल गरेका मानिसले शारीरिक श्रम गर्नुपर्ने जागिरका फारम भर्दैनन् ।’

यसलाई हाम्रो जिन्दगीका अनुभवका आधारमा कसरी व्याख्या गर्न सकिएला त भन्ने मेरो प्रश्नमा विद्यार्थीहरूले दिएका केही जवाफ थिए— उच्च शिक्षा हासिल गरेपछि आफ्नै खेतबारीको काम नगर्ने र अरूले दिने जागिरको खोजी गर्ने, नेपालमा जस्तोतस्तो काम नगर्ने तर पहिलो विश्वमा जस्तोसुकै काम गर्नका लागि जाने र यसरी जाँदा जति नै पैसा तिर्न परे पनि तयार हुने, काठमाडौंमै भए पनि शारीरिक श्रम गर्नुपर्ने ठाउँमा काम गर्नभन्दा बरु बेरोजगार बस्ने... । विद्यार्थीले उत्तर दिँदै गर्दा म भने कसैले सामाजिक सञ्जालमा लेखेको ‘दिनभरि खेताला खोजेर नपाएको बुबा र दिनभर जागिर खोजेर नपाएको छोराले साँझ एकै पटक सुस्केरा छोड्छन्’ पोस्ट सम्झिरहेकी थिएँ, जुन गाउँबाट आएर सहरमा संघर्ष गरिरहेका धेरैको साझा कहानी पनि हो । उक्त कथामा बाआमालाई वा सासू–ससुरालाई पढाइ सकेर म तपाईंकै खेतीपाती र गोठ–खोर सम्हाल्छु भन्दा ‘यही हिलोधूलोमा घसारिनका लागि हो र तँ (वा तिमी) लाई पढाएको ?’ भन्ने तीतो जवाफलाई उपकथाका रूपमा पनि जोड्न सकिन्छ । शिक्षाबारे अलिकति आलोचनात्मक कुरा गर्नेबित्तिकै कैयौं मानिस ‘आफू पढ्ने र पढाउने काम गर्ने अनि यस्तो कुरा गर्ने’ भनेर थप प्रश्न गर्छन् । तर, यस्ता प्रश्न गर्ने धेरैले ‘यस्तो’ भनेको कस्तो भनेर खासै खुलाउँदैनन् वा खुलाउन जरुरी मान्दैनन् ।

कुनै पनि ज्ञान, सीप, कला, मूल्य, मान्यता, संस्कार, संस्कृति एक व्यक्तिबाट अर्कोमा हस्तान्तरण हुने प्रक्रियालाई शिक्षा भनेर आम रूपमा बुझ्ने गरिन्छ । शिक्षाका माध्यमबाट मानव समुदायका सदस्यहरूको सामाजिकीकरण, समाज विकास र परिवर्तन गर्न सहज हुन्छ भन्ने मानिन्छ । साथै शिक्षाको कुरा आउँदा कुन शिक्षा (औपचारिक, अनौपचारिक), कस्तो शिक्षा (व्यावसायिक, नैतिक, सांस्कृतिक, कला), शिक्षाको पहुँच (जात, वर्ग, लिंग, वर्ण), कसको शिक्षा (पूर्वीय, पाश्चात्य, परम्परागत, धार्मिक) जस्ता पक्ष जोडिएर आउँछन् ।

शिक्षाप्राप्तिको प्रक्रिया मानव समाज विकासको क्रमअनुरूप फरकफरक हुँदै आएको छ । ‘सिकारी–संकलक समाजमा मान्छेले आफ्ना झुन्ड वा समूहमा रहेका आफूभन्दा ठूला सदस्यबाट सिक्थेÙ किशोरहरू आफ्ना बा, काका, मामा वा दाइहरूसँग कसरी सिकार गर्ने भन्नेबारे सिक्थे भने, किशोरीहरू आमा, दिदी, फुपूहरूबाट कसरी कन्दमूल, फलफूल संकलन गर्ने र त्यसलाई भण्डारण गर्ने भनेर सिक्थे’ भनी हामी समाजशास्त्रका ग्रन्थभित्र पटकपटक पढिरहन्छौं वा पढाइरहन्छौं ।

कृषि समाजमा आउँदा शिक्षा दुई भागमा बाँडियो । एक थरीले धर्म, संस्कृति, राजकाजबारे गुरुकुलमा बसी गुरु थापेर पढ्ने भए । यो वर्गका मानिसहरू निश्चित जात, धर्म, लिंग र वर्णका थिए । समाजको अर्को वर्गका आम मानिस खेतीपाती र पशुपालनमा संलग्न भएका हुँदा आफ्नो स्थान अनुसारको खेतीपाती गर्ने, पशुपालन गर्ने र त्यसबारे काम गर्दागर्दै ज्ञान हासिल गर्ने क्रम जारी रह्यो । तर, यी दुवै थरीका शिक्षा अनौपचारिक थिए । यत्ति जान्न समाजशास्त्र वा शिक्षाशास्त्रको कुनै ग्रन्थ पल्टाउनुपर्दैन, हाम्रै समाजमा तीन–चार पुस्ताअगाडिका कथाहरू खोतले पुग्छ ।

औद्योगिक समाजमा आउँदा शिक्षा सिकाइभन्दा पनि औपचारिक र वर्गीकृत हुँदै जान थाल्यो । मानिसहरूलाई जागिर वा व्यापार–व्यवसाय गर्ने सीप र त्यस प्रकारको सीप भएको पुष्टिसहितको योग्यता, क्षमता भएको प्रमाणपत्र निश्चित संस्थाहरूले वितरण गर्न थाले । यसको सुरुआत पाश्चात्य समाजबाट सुरु भयो र हाम्रो जस्तो अझै औद्योगिक हुन नसकेको समाजमा पनि आयो (यो किन र कसरी आयो भन्नेबारे लेख्न यहाँसम्भव भएन) । आज यस्ता योग्यता, सीप, क्षमताका प्रमाणपत्रहरू प्रतिस्पर्धामा आधारित हुने अनुमान र अपेक्षा गरिन्छ । यही आधुनिक औपचारिक शिक्षालाई हामी शिक्षा र त्यसको प्रमाणपत्र भएको व्यक्तिलाई शिक्षित भन्ने गर्छौं । शिक्षाले आम मानिसको जीवनमा केकस्तो प्रभाव पार्छ वा अवसरहरू निर्माण गर्छ भन्नेबारे समाजशास्त्रमा फरकफरक विचार छन् । र, हामी तिनलाई एकसाथ पढाउँछौं (व्यक्तिगत रूपमा मेरो विचार मार्क्सवादीहरूसँग मिल्छ, यो फरक कुरा हो) ।

समाजशास्त्री माइकल हारालम्बस र उनका साथीहरू ‘सोसियलजी थिम्स एन्ड पर्सपेक्टिभ’ पुस्तकमा प्रकार्यवादी सिद्धान्तकारहरू शिक्षाका विषयमा दुइटा प्रश्नबाट निर्देशित भएको पाइने उल्लेख गर्छन् । ती दुई प्रश्न हुन्— पहिलो, पूरै समाजका लागि शिक्षाको भूमिका; र दोस्रो, शिक्षा र समाजका अरू व्यवस्थाहरूसँगको कार्यगत सम्बन्ध । यसै पनि प्रकार्यवादीहरू शिक्षाले सामाजिक व्यवस्थालाई व्यवस्थापन र नियमन गर्ने गरी सकारात्मक भूमिका खेल्छ भन्नेमा विश्वस्त रहेको उनीहरूको तर्क छ । समाजशास्त्री इमाइल दुर्खेइम समाजका सदस्यहरूमा आवश्यक मात्रामा एकरूपता भए मात्रै समाज बाँच्न सक्छ र त्यस्तो एकरूपता ल्याउनका लागि शिक्षाले बच्चाहरूमा सुरुदेखि नै सामूहिक जीवनबारे स्थायी रूपमा सबलीकरण गर्छ भन्ने तर्क गर्छन् । उनका अनुसार, जटिल औद्योगिक समाजमा विद्यालयले अरू मानिस (साथीभाइ, परिवार र समुदायबाहिरका) सँग कसरी सहकार्य गर्ने भन्ने सीप सिकाउँछ, जुन परिवार र समुदायले सिकाउन सक्दैन ।

हारालम्बस र उनका साथीहरू लेख्छन्, ‘विद्यालयमा बच्चाले निर्धारित नियममा रही संवाद गर्छ । उक्त अनुभवले गर्दा उसलाई समाजमा भएका नियममा रहेर समाजका अरू सदस्यसँग संवाद गर्न सहज हुन्छ ।’ र, दुर्खेइम विद्यालयले नियमहरूलाई कडाइपूर्वक लागू गर्नुपर्ने तर्क गर्छन् । यसरी कडा अनुशासनले गर्दा समाजको धारविपरीत जाँदा कसरी गल्ती हुन्छ भन्नेबारे विद्यार्थीले स्वअनुशासन सिक्छ । त्यही आत्मानुशासनमार्फत डरभन्दा पनि बानीका कारण मानिस समाजका नियमहरू मान्न थाल्छ भन्ने दुर्खेइमको तर्क छ ।

अमेरिकी समाजशास्त्री टाल्कोट पार्सन्सले शिक्षाले कसरी प्रकार्यका रूपमा काम गर्छ भन्ने सन्दर्भमा अमेरिकी समाजको उदाहरण दिँदै विद्यालयले उपलब्धिको मूल्य, अवसरमा समानताको मूल्य स्थापित गरेको उल्लेख गरेका छन् । उनका अनुसार, शिक्षाले व्यक्ति भविष्यमा कुन क्षेत्रमा जाने भन्ने छनोट गर्न सघाउँछÙ यसका लागि विद्यालयले विद्यार्थीको परीक्षा लिने, मूल्यांकन गर्ने, प्रतिस्पर्धा गराउने र उनीहरूभित्र रहेको प्रतिभा, सीप, क्षमता पहिचान गर्ने गरेर सघाउ पुर्‍याउँछ ।

तर, उनीहरूको तर्कमा मार्क्सवादीहरूका गम्भीर प्रश्नहरू छन् । निकोज पाउलान्तास भन्छन्, ‘राज्य व्यवस्थाले सधैं समाजमा एकता कायम गर्नुपर्ने हुन्छ, त्यसका लागि शिक्षालाई एउटा हतियारका रूपमा प्रयोग गरिन्छ । प्रकार्यवादीहरूले विद्यालयले निश्चित मूल्यमान्यता स्थापित गराउँछ भन्दै गर्दा, उक्त मूल्यमान्यता कसको हो त (शासक वर्ग वा वर्चस्वशालीहरूको हो कि आम मानिसको) भन्ने प्रश्न सधैं आउँछ ।’ वर्तमान आधुनिक शिक्षाले कृषिलाई त पेसै मान्दैन, त्यस शिक्षालाई ग्रामीण क्षेत्रसँग पनि जोड्दैन । आज नेपालका कैयौं पहाडमा पूरै गाउँ खाली भएको सत्य वा दिनभरि खेताला खोजेर नपाएको अभिभावक र जागिर खोजेर नपाएपछि परराष्ट्र मन्त्रालयको गेटमा लाम लागेको सन्तानको अवस्थाले यही बताउँदैन र ? प्रकार्यवादी मार्क्सवादीहरू यस्ता मूल्यमान्यताले शासक वर्गको संस्कृति वा उनीहरूको रुचिको संस्कृतिलाई बढावा दिन्छन् भन्ने मान्यता राख्छन् ।

अमेरिकी अर्थशास्त्री तथा समाजशास्त्री स्यामुअल बोउल र हर्बर्ट गिन्टिजले आफ्नो पुस्तक ‘स्कुलिङ इन क्यापिटालिस्ट अमेरिका’ मा लेखेका छन्, ‘पुँजीवादी समाजमा शिक्षाको मुख्य काम कामदारहरूको पुनरुत्पादन गर्नु हो ।’ श्रमशक्तिमाथि जसको नियन्त्रण छ वा जो उत्पादनका साधनको मालिक हो, वा आम भाषामा पुँजीपति वर्ग हो, शिक्षाले सोही वर्गको अधीनता स्वीकार गर्छ । नेपालका सन्दर्भमा पनि पण्डित, गुरु वा ऋषिहरूले सधैं उच्च जात, वर्ग र लिंगको सेवा गरेको पाइन्छ । नाफा कमाउन पुँजीवादीहरूलाई कडा मिहिनेत गर्ने, नियन्त्रण मन पराउने, आज्ञाकारी, उच्च उत्प्रेरित कामदारको आवश्यकता पर्छ, जसलाई विभाजित गरेर प्राधिकरण (बोस) विरुद्ध जान नसक्ने बनाउन सकियोस् । पुँजीपतिहरूको उक्त उद्देश्य विद्यालयहरूले अदृश्य पाठ्यक्रममार्फत पूरा गरिदिन्छन् । यस्तो काम विद्यालय वा विश्वविद्यालयमा पढाइने पाठ्य सामग्री र विद्यालय वा शैक्षिक बोर्डले लिने परीक्षामा मात्रै हुँदैन, दैनिक रूपमा सिक्ने–सिकाउने तरिकामार्फत गरिन्छ । यस्ता तरिकामा सफा युनिफर्म मिलाएर लगाउनुपर्ने, कपाल राम्ररी कोरेको–बाटेको हुनुपर्ने, नङ काट्नुपर्ने, गृहकार्य अनिवार्य गर्नुपर्ने र यी काम नगरेमा दिइने सजाय पर्ने गर्छन् । यी विषय विद्यार्थीहरूले दैनिक रूपमा भोगेर सिक्छन् । अर्थात्, चल्दै आएको यही व्यवस्थाप्रति आफूलाई समर्पण गर्छन् ।

अदृश्य पाठ्यक्रमले विश्लेषण मन नपराउने, नियन्त्रण मन पराउने श्रमशक्ति तयार गर्नमा सहयोग पुर्‍याउँछ; समाजमा भएको मानव श्रेणीकरणलाई मन पराउन प्रोत्साहित गर्छ । उदाहरणका लागि, यसले विभिन्न पुरस्कारको व्यवस्था गरेर कुनै विद्यार्थीलाई आम विद्यार्थीबाट छुट्याई विशिष्ट घोषणा गर्छ जसले विद्यार्थीलाई म विशिष्ट हो कि होइन भन्नेमै अलमल्याइरहन्छ । विद्यालयमा विद्यार्थीलाई खेलकुद, साहित्य वा अरू क्षमतालाई लिएर पुरस्कृत र सम्मानित गरिन्छ, जसले उनीहरूमा नियमित गरिने कामबापत पाउनुपर्ने श्रमको बार्गेनिङ गर्नभन्दा बाहिरी सम्मानमा अल्झिने बानी पार्छ ।

अन्तमा, अहिलेको समाजमा आफ्ना अभिभावक, परिवार, आफन्त र समाजको दायरामा भएका मानिसले दिने शिक्षाले मानिसलाई बाँचिखान सक्ने बनाउँदैन । त्यसैले मानिसलाई विद्यालय वा त्योभन्दा उच्च शिक्षा जरुरी भएको छ । तर, पढेको भन्दैमा उसले विभेद भोग्दैन भन्ने हुँदैन । पढ्ने क्रममै पनि मानिसले एउटै कक्षामा, एउटै विषयमा आफ्नो जात, वर्ग, लिंग, भाषा, धर्म, वर्ण, शारीरिक क्षमता, यौनिक अभिमुखीकरणका आधारमा विभिन्न विभेद भोग्नुपरिरहेको हुन्छ । सबैलाई शिक्षा भनिए पनि सबैलाई आधारभूत शिक्षा समान प्रकारले प्राप्त भएको हुँदैन । अनि पढेको मानिस जति नै पढेको भए पनि ऊ कुनै निश्चित क्षेत्रमा मात्रै महान्, विज्ञ, बौद्धिक वा सीपयुक्त हुन सक्छ, मानव जीवनका सबै क्षेत्रमा पोख्त हुँदैन । त्यसै गरी उच्च शिक्षामा शिक्षित हुँदैमा वा नामका अगाडि डाक्टर वा प्राध्यापक हुँदैमा वा केही किताब लेखेकै आधारमा उसले अपराध, असामाजिक काम गर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।

प्रकाशित : माघ २५, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

बालबालिकालाई नबुझ्ने हामी

यमुना पराजुली अधिकारी

लगभग बाइस वर्षअघि म विद्यालयमै छँदा, शौचालयमा एक विद्यार्थीले ज्यान गुमाउनुपरेको घटनाले समाज नै स्तब्ध थियो । सामान्य गल्तीका कारण शिक्षकले तिनलाई शौचालयमा थुनेका थिए, पछि निकाल्न बिर्सिए । संयोगले दसैं बिदा सुरु हुनुभन्दा अघिल्लो दिन थियो त्यो । त्यस बालकले गृहकार्य नगरेको, कक्षाकोठामा चकचक गरेको वा हदै भए साथीसँग झगडा गरेको न थियो होला ! तर यसका लागि उसलाई त्यति कठोर सजाय दिइयो ।

बालबालिकालाई कुटेर मात्र तह लगाउन वा पढाउन सकिन्छ भन्ने मानसिकता थियो, त्यति बेला । अहिले यस्तो मानसिकतामा निकै परिवर्तन आइसक्यो, बालबालिकालाई कुटपिट गरे कानुन अनुसार सजाएको भागीदार हुनुपर्छ । तैपनि यस्ता घटना रोकिएका छैनन् । सानै गल्तीका कारण बालबालिकाका आँखा फुटेका, हात भाँचिएका, नीलडाम बोकेर घर फर्किएका र कतिपयले त ज्यानै गुमाउनुपरेका समाचार बारम्बार आइरहन्छन् । आफ्नो हक तथा अधिकारबाट बालबालिका वञ्चित छन् ।

केही महिनाअघि म एक आफन्तकहाँ गएकी थिएँ । ती आफन्तको छोरो पढ्नमा एकदमै अब्बल छ । म त्यहाँ पुग्दा जहिल्यै उसको हातमा पुस्तक हुने गर्थ्यो । त्यो दिन पनि ऊ पढिरहेकै थियो । हामी उसको छेउमै गफ गरिरहेका थियौं । त्यति नै बेला बाबुको मोबाइल बज्यो, फोन उठाउनासाथ उतापट्टिबाट हामीले समेत सुन्ने गरी गाली बर्सियो, बाबुले कसैको ज्यानै लिएजसरी । हेर्दाहेर्दै बाबु नीलोकालो भयो । फोन राखेपछि हामीले कसको हो, किन त्यसरी गाली गरेको भनेर सोध्यौं । बाबुले फोनमा कराउने दिदी कलेज प्रशासनकी भएको र कक्षाकोठामा हल्ला गरेकाले गाली गरेको बतायो । उसको कुरा सुनेर हामी छक्कै पर्‍यों । त्यति गल्तीका लागि त्यति धेरै गाली ? ती दिदीले बाबुकै भलाइका लागि गाली गरेकी भए पनि उनको तरिका सही थिएन । पहिले अभिभावकसँग उसलाई कसरी सम्झाउन सकिन्छ भनेर छलफल गर्नुपर्थ्यो । सीधै त्यसरी कराउँदा उसको मानसिक अवस्था कस्तो भयो होला ? फेरि बाबुको परीक्षा पनि चलिरहेको थियो ।

मान्छेकै अगाडि सानालाई सम्झाएजस्तो गरी गाली गर्ने ठूलाहरू हाम्रो पालामा पनि थिए, अहिले पनि छन् । यस्तो गर्नाले बालबालिका ठूलासित हमेसा डराइरहने र कुलततिर लाग्ने सम्भावना अधिक हुन्छ । हामीले सानाको हरेक गल्तीमा अनावश्यक गाली मात्रै गर्न थाल्यौं भने तिनले आफ्नो कुरा खुलेर राख्न सक्दैनन् । अझ कतिपय अवस्थामा त परिवार वा आफूवरिपरिका ठूला व्यक्तिहरूलाई शत्रु नै ठान्छन् । यस्तो भएपछि बालबालिकाले अभिभावक वा शिक्षकहरूलाई भन्नैपर्ने कुरा पनि भन्न सक्दैनन् । तब भित्रभित्रै बालबालिका कुण्ठित हुन पुग्छन् । यसले बालबालिकालाई अपराधतिर पनि धकेल्न सक्छ । बालबालिकाले सोच्नै नसक्ने अपराध गरेका हामीले बेलाबेला देखे–सुनेका छौं, त्यसको पछाडिका कारण खोतल्यो भने बालबालिकालाई गाली गर्नु मुख्य कारकका रूपमा देखा पर्छ । माया नगर्नु, अभिभावकले पर्याप्त समय दिन नसक्नु तथा कुराहरू नसुनिदिनु पनि त्यस्ता कारक हुन् ।

दुई वर्षअघि ललितपुरमा एक बालकले आत्महत्या गरे । आत्महत्या गर्नुपूर्व उनले नोटमा लेखेका रहेछन्, ‘मलाई बुबाआमाले माया नै गर्नुहुन्न, सानो गल्तीका लागि पिटिरहनुहुन्छ, गाली गर्नुहुन्छ । मलाईभन्दा धेरै भाइलाई माया गर्नुहुन्छ । त्यही भएर मलाई बाँच्नै मन लागेन ।’ यसबाटै बुझ्न सकिन्छ, बालबालिका कति संवेदनशील हुन्छन् भनेर । हामीलाई सानो लाग्ने कुरालाई उनीहरूले कसरी लिइरहेका हुन्छन् भन्ने बुझ्नु आवश्यक छ । हामी बालबालिकाका अगाडि एकदमै संयम बन्नुपर्छ, उनीहरूको अनुसार सोच्ने प्रयास गर्नुपर्छ । सानो गल्ती गर्दैमा बालबालिकालाई सजाय दिन तम्सिहाल्नु हुन्न ।

गल्ती बालबालिकाले भन्दा ठूला व्यक्तिहरूले नै धेरै गर्ने गर्छन् । तर, सानाका गल्ती ठूलाले चाँडै देख्छन् अनि सजाय पनि दिइहाल्छन् । यसो गर्दा बालबालिकालाई कस्तो मानसिक असर पर्छ भन्ने हेक्का हामीमा हुँदैन । केही गल्ती गरिहाले भने बालबालिकालाई ‘तिमी त यस्तो ज्ञानी मान्छे, यस्तो गर्नु हुन्न नि !’ भनेर मायाले सम्झाउनुपर्छ । एकोहोरो गल्ती मात्र देखाएर खेद्न थालियो भने कुनै अप्रिय घटना नहोला भन्न सकिन्न । गल्ती कस्तो प्रकारको हो बुझेर त्यही अनुसार बालबालिकाले बुझ्ने भाषमा कुरा गर्नुपर्छ, उनीहरूका कुरा पनि सुन्नुपर्छ ।

प्रकाशित : माघ २५, २०७८ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×