नेपालमा १७८ वर्षपछि फेला परेको चरा

अध्येताहरूमा कुनै चराबारे राम्ररी खोज–अनुसन्धान नगरी नेपालबाट लोप भयो भनेर लेखिहाल्ने चलन बसेको छ, जुन मनासिब होइन ।
कमल मादेन

झापाको काँकरभिट्टाका वाइल्डलाइफ फोटोग्राफर देवेन खरेल यही माघ १७ गते इलामको रोङ गाउँपालिकामा आफूले नचिनेको वर्बलर समूहको एउटा चराको फोटो खिचे । निकै खोजबिनपछि उनी त्यो चरा ब्राउन बुस वर्बलर हो भन्ने निष्कर्षमा पुगे । यो चरा नेपालमा ब्रायन हड्सनपछि अरूले अहिलेसम्म भेटेको छैन भनी लेखिएको छ ।

नेपालमा १७८ वर्षपछि फेला परेको चरा

खरेल चराविज्ञबाट पनि यो चरा ब्राउन बुस वर्बलर हो भनी पुष्टि गर्न चाहन्थे । त्यसपछि चराको फोटो केही विज्ञलाई पठाए । तीमध्ये केहीले त्यो चरा ह्वाइट बेलिड रेडस्टार्ट भनिने प्रजातिको पोथी हो भन्ने ठहर्‍याए । यसबीच मैले ब्राउन बुस वर्बलरका बारेमा लेखिएको पहिलो सामग्रीसहित यसबारे अन्य जानकारी अध्ययन गरेँ, जसबाट यो चरा ब्राउन बुस वर्बलर नै हो भन्ने ठहर भयो । बरु, यसबारे जानकारी केही अधुरो र अस्पष्ट पाइयो ।

बीसौं र एक्काइसौं शताब्दीमा उक्त चराका बारेमा जेजति लेखिएका छन्, ती सबैमा यो ब्रायन हड्सनले नेपालबाट सन् १८४५ मा विश्वका निम्ति ‘डिस्कोभर्ड’ गरेका हुन् भनी लेखिएको छ । तर, यो चरा हड्सनले सन् १८४४ मा डिस्कोभर्ड गरेका हुन् । अर्को कुरा, कुनै जन्तु वा वनस्पति कुन प्रजातिको हो भन्ने व्यापक सन्देह उब्जियो भयो भने त्यसको निर्क्योल गर्ने विधि हो— त्यो प्रजाति डिस्कोभर्ड गर्दा त्यसबारे विवरण तयार गर्न प्रयोग गरिएको नमुना अध्ययन गर्नु । यस्ता संगृहीत नमुनालाई होलोटाइप स्पेसिमेन भनिन्छ । वनस्पति र जन्तुका अधिकांश होलोटाईप स्पेसिमेन विश्वका विभिन्न संग्रहालयमा छन् । त्यस्ता नमुनालाई संग्रहालयको मुख्य सम्पत्ति नै मानिन्छ । दुर्भाग्य नै भन्नुपर्छ, चराको हकमा नेपालमा डा. हेमसागर बरालले विश्वका निम्ति डिस्कोभर्ड गरेको एउटा चरा उप–प्रजातिको नमुना मात्र काठमाडौंको स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयमा छ ।

यसकारण, देवेन खरेलले खिचेको चरा ब्राउन बुस वर्बलर हो या ह्वाइट बेलिड रेडस्टार्टको पोथी हो भनेर पर्गेल्न ती दुईका होलोटाइप स्पेसिमेन अध्ययन गर्न सम्भव भएन । यसपछि दोस्रो भरपर्दो उपाय ती प्रजाति डिस्कोभर्ड गर्दा होलोटाइप स्पेसिमेनका आधारमा तयार गरिएको विवरण मात्र रह्यो । संयोगले भनौं, ब्राउन बुस वर्बलरबारे होलोटाइप स्पेसिमेनका आधारमा हड्सनले लेखेको सामग्री हेर्न पाइयो ।

हड्सनको अभिलेख
ब्रायन हड्सनले ब्राउन बुस वर्बलरको वैज्ञानिक नामकरण ट्रिबुरा लुटिओवेन्ट्रिस गरेका थिए । अचेल यसको वैज्ञानिक नाम नयाँ जुराइएको छ— लोकुस्टेल्ला लुटिओभेन्ट्रिज । यस्तै, यसको कमन नाममा बुस हटाएर ब्राउन ग्रासहोपर–वर्बलर गरिएको छ । हड्सनलिखित यो चराबारे विवरण सन् १८४४ मा प्रकाशित भएको ‘प्रोसिडिङ्स अफ द जुलोजिक सोसाइटी अफ लन्डन,’ पार्ट १२ शीर्षक पुस्तकको पृष्ठ ३०–३१ मा छ । यसअनुसार, यो चरा ओलिभ–ब्राउन रङको हुन्छ । ओलिभ भन्ने वनस्पति हुन्छ, जसको फल पाक्दा फलाममा खिया लागेको जस्तो रङ हुन्छ । तर, पोथी ह्वाइट बेलिड रेडस्टार्टमा यस्तो रङ हुन्न । त्यो दस्तावेजमा चराको रङ लुटियस लस्चर अर्थात् हल्का सुन्तले हुन्छ भनी लेखिएको छ । आँखामाथि हल्का सेतो घेरा हुने र ठुँडो (चुच्चो) डस्की ब्राउन अर्थात् हल्का अँध्यारो खैरो हुने जनाइएको छ, जबकि पोथी ह्वाइट बेलिड रेडस्टार्टको हल्का कालो हुन्छ । खुट्टा कार्नियस अर्थात् मासुजस्तो हुन्छ । उक्त पुस्तकमा लेखिएका योसहित अन्य विवरण खरेलले खिचेको फोटोसँग मिल्छन् ।

सन् १८४५ मा प्रकाशित ‘जर्नल अफ द एसियाटिक सोसाइटी अफ बंगाल,’ भोल्युम १४ को पृष्ठ ५८४ मा एक ठाउँ अर्कै चराको प्रसंगमा ट्रिबुरा लुटिओवेन्ट्रिस नाम उल्लेख छ । त्यसमा ब्राउन बुस वर्बलरको थप विवरण छैन । यस्तै, सन् १८४६ मा प्रकाशित ‘क्याटलग अफ द स्पेसिमेन्स एन्ड ड्रविङ्स अफ म्यामलिया एन्ड बर्ड्स अफ नेपाल एन्ड टिबेट’ शीर्षक पुस्तकको पृष्ठ ६४ मा पनि ट्रिबुरा लुटिओवेन्ट्रिस लेखिएको छ । यसमा चराको रङबारे मात्र द लुटियस–बेलिड लेखिएको छ । यसले चराको पेटतर्फको रङ ओरेन्ज–एल्लो वा ग्रिनिस थेल्लो भएको जनाउँछ, जुन खरेलले खिचेको फोटोसँग मिल्छ, जबकि ह्वाइट बेलिड रेडस्टार्टको पोथीको पेटमा हल्का सेतो रङ हुन्छ । पखेटाको अगाडितिरको र टुप्पोको प्वाँख कुनैकुनैमा हल्का कालो देखिन्छ । भाले ह्वाइट बेलिड रेडस्टार्टको पेट प्रस्टै सेतो र शरीर हल्का नीलो–कालो हुन्छ । ब्राउन बुस वर्बलर र ह्वाइट बेलिड रेडस्टार्टका खुट्टाको रङ निकै भिन्न हुँदो रहेछ । अघिल्लोको रङ हड्सनले उल्लेख गरेजस्तै, पछिल्लोको भने खरानी रङको र पन्जासहित औंला हल्का कालो छालाजस्तो देखिन्छ ।

वर्बलर चरा
चरा अध्येताका निम्ति वर्बलर भनेको चराको गन्जागोल समूह हो । अर्थात्, ठ्याक्कै चिन्ने खासै कुनै विशिष्टता नहुनु । सामान्यतया कुनै पनि सानो सङ बर्ड्स (गीत गाउने) प्रजातिलाई वर्बलर भन्ने गरिन्छ । चराको वर्गीकरण अनुसार, प्यास्रिफर्मिस अडर अन्तर्गतका केही परिवारमा समूहकृत गरिएका साना चराहरू — जसले बगैंचा, रूख भएका ठाउँ तथा चिस्यानहरूमा सक्रिय रूपमा कीरा खोजी खान्छन् — लाई वर्बलर भनिन्छ । यस्ता चरा सयौं प्रजातिका छन् । यी चराहरू लिफ वर्बलर, बुस वर्बलर, ग्रास वर्बलर, मार्स एन्ड ट्री वर्बलर, ट्रियु वर्बलर आदि हुँदा रहेछन् । क्रिस्टोफर हेल्मद्वारा सन् २०१० मा प्रकाशित ‘रिड एन्ड बुस वर्बलर्स’ शीर्षक पुस्तकको पृष्ठ १७८–१८१ मा ब्राउन बुस वर्बलरको चर्चा छ । उक्त पुस्तकमा यो चराको रङ हड्सनले उल्लेख गरेजस्तै छ । यसमा थप यो चराको चिउँडोबारे क्रिमी ह्वाइट चिन लेखिएको छ । तर, पोथी ह्वाइट बेलिड रेडस्टार्टको चिउँडो खरानी रङको देखिन्छ । खुट्टाको रङ पिन्किस ग्रे हुने उल्लेख छ ।

सन् २०२१ मा क्यारोल इन्स्किप र अरूहरूले लेखेको एउटा सामग्रीमा यो चरा नेपालमा लोप भएको उल्लेख छ । तर त्यस्ता नभई यसबारे राम्ररी अध्ययनचाहिँ नभएको हो । नेपालका चरा अध्येताहरूले देवेन खरेलले माघ १७ गते खिचेको फोटोसहित माथि उल्लिखित सामग्रीको मूल पाठ खोजेर अध्ययन गर्नु अत्यावश्यक छ । अध्येताहरूमा कुनै चराबारे राम्ररी खोज–अनुसन्धान नगरी नेपालबाट लोप भयो भनेर लेखिहाल्ने चलन बसेको छ । चरा अध्येताले नदेख्नेबित्तिकै नेपालमा लोप भयो भनेर लेख्नु मनासिब होइन । अध्येताहरूले वास्तविकतामा आधारित भएर लेख्नुपर्छ । तथ्यांकको वास्तविकता भनेको स्थलगत रूपमा गहन खोज–अनुसन्धान हो ।

प्रकाशित : माघ २३, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?