क्यान्सर उपचारमा चाँदीको घेरा

हामीलाई आवश्यक औषधिका लागि सधैं विकसित देशहरूको मुख ताकेर बस्न हुँदैन । आफ्नो माटोसुहाउँदो निदान र उपचार विधिहरू विकास गर्न नेपाल आफैं अग्रसर हुनुपर्छ ।
रञ्जन मिश्र

मानिस पनि बाँच्न चाहन्छ, क्यान्सर कोशिकाहरू पनि । तर यो महायुद्धमा प्रायः क्यान्सर कोशिकाको विजय हुने गर्छ, अनि बिरामीको मृत्यु ! तर हाल विकास भइरहेका उपचार विधिहरूले क्यान्सरको उपचारमा नयाँ आशा जगाएका छन् ।

क्यान्सर उपचारमा चाँदीको घेरा

क्यान्सर प्राणघातक रोग हो, जसले बर्सेनि करिब १ करोड मानिसको ज्यान लिने गर्छ । एक तथ्यांक अनुसार, बर्सेनि २० हजारभन्दा बढी नेपालीलाई क्यान्सर लाग्ने गरेको छ र करिब १८,००० ले मृत्युवरण गर्ने गरेका छन् । नेपालीहरूमा स्तन, फोक्सो, पाठेघर, पेट आदिको क्यान्सर बढी मात्रामा भएको पाइन्छ ।

क्यान्सरको उपचार एकदम खर्चिलो त छ नै, अझ लाखौं खर्च गरेर वर्षौं उपचार गर्दा पनि पूर्ण रूपमा निको हुँदैन । रोगले पीडा मात्र दिँदैन, बिरामीलाई अशक्त बनाएर रोजीरोटीको बाटो पनि खोस्छ । यसले गर्दा बिरामीहरू उपचारका लागि परिवारमा आश्रित हुन पुग्छन् । अन्त्यमा क्यान्सरले बिरामीलाई मात्र लाँदैन, परिवारलाई पनि ठूलो आर्थिक खाडलमा हालिदिन्छ । यस प्राणघातक रोगलाई पूर्ण रूपमा निर्मूल पार्न विश्वभरि लाखौं वैज्ञानिक अहोरात्र खटिरहेका छन् । केही महत्त्वपूर्ण उपलब्धि पनि हात परेका छन् । क्यान्सर निदान तथा उपचारमा भएका नयाँ प्रविधिहरूको विकाससँगै बिरामीहरूको आयु उल्लेखनीय रूपमा लम्बिएको पनि छ तर रोग पूर्ण रूपमा निर्मूल पार्नबाट हामी अझै धेरै टाढा छौं ।

क्यान्सर कसरी सुरु हुन्छ ?

जब हाम्रो शरीरको कुनै एक कोशिका तीव्र र अनियन्त्रित तबरले विभाजन हुन थाल्छ, उक्त कोशिकाबाट द्रुत रूपमा असंख्य असामान्य कोशिकाहरू बन्छन् । यसरी बनेका कोशिकाहरूले निर्धारित सीमाबाट बाहिर गएर वरिपरिका भागहरूमा आक्रमण गर्छन्, जुन अवस्थालाई क्यान्सर भनिन्छ । क्यान्सर शरीरको जुनसुकै अंगमा पनि हुन सक्छ । सुरु भएको अंगका आधारमा क्यान्सरलाई वर्गीकरण गर्ने चलन छ ।

हाम्रो शरीर असंख्य कोशिकाले बनेको छ । ती कोशिकाहरू शरीरको आफ्नो निर्धारित स्थानमा बसेका हुन्छन, र अन्य कोशिकासँगको समन्वयमा शरीरले गर्नुपर्ने कार्यहरू हासिल गर्छन् । जब ती कोशिकाहरू पुराना हुन्छन्, नियमित प्रक्रिया अनुसार आफैं मर्ने गर्छन् र तिनलाई नयाँ कोशिकाहरूले प्रतिस्थापन गर्छन् । हाम्रो शरीरले यी प्रक्रियाहरूलाई कडाइका साथ नियमन गर्छ । तर जब यसरी पुरानो मर्ने र नयाँ बन्ने प्रक्रियामा नियन्त्रण गुम्छ, कोशिकाहरू तीव्र तथा असीमित तवरले विभाजन हुन थाल्छन् ।

सुरुमा क्यान्सर प्राथमिक स्थानमा सीमित हुन्छ, जुन अवस्थालाई ‘बैनाइन’ ट्युमर भानिन्छ । तर समय बित्दै जाँदा क्यान्सर कोशिकाहरूले एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्ने क्षमता विकास गर्छन् र टाढाटाढाका अंगलाई पनि आक्रमण गर्न थाल्छनु, जसलाई ‘मेटास्टेसिस’ भनिन्छ । करिब ९० प्रतिशत क्यान्सर बिरामीको मृत्यु मेटास्टेसिसकै कारण हुने गर्छ ।

परम्परागत रूपमा क्यान्सरलाई तीन तरिकाले उपचार गरिन्छ । क्यान्सर प्राथमिक साइटमा छ भने शल्यक्रियाद्वारा हटाउन सकिन्छ । क्यान्सर नफैलिएको भए यो उपचार विधि एकदम प्रभावकारी हुन्छ । अर्को उपचार विधि भनेको ‘केमोथेरापी’ हो जसमा औषधिका माध्यमबाट क्यान्सर कोशिकाहरूलाई बढ्न, विभाजन गर्न र थप कोशिकाहरू बनाउनबाट रोक्ने गरिन्छ । विकिरणमार्फत क्यान्सर कोशिकाहरूलाई मार्ने तथा ट्युमरलाई संकुचित पार्ने उपचार विधिलाई ‘रेडियो थेरापी’ भनिन्छ । नेपालमा गरिने क्यान्सर उपचार मुख्यतः यी तीन विधिमा आधारित भएको पाइन्छ ।

क्यान्सर उपचारमा अत्याधुनिक प्रविधि

१. टार्गेटेड थेरापी : आणविक जीवविज्ञानमा भएको चामत्कारिक विकाससँगै क्यान्सर उपचारमा अत्याधुनिक प्रविधिहरू आउन थालेका छन् । हाल उपलब्ध प्रविधिको प्रयोग गरी हामी कुनै पनि क्यान्सर बिरामीको ‘बायोप्सी’ लिएर आणविक स्तरमा किन उक्त बिरामीलाई क्यान्सर लाग्यो भनेर पत्ता लगाउन सक्छौं । जस्तै— बिरामीमा भएका आनुवंशिक उत्परिवर्तनका साथै कुन प्रोटिनको काममा कमी वा बढोत्तरी हुँदा उक्त बिरामीका क्यान्सर कोशिकाहरू अनियन्त्रित तवरले बढेका हुन् भनेर थाहा पाउन सकिन्छ ।

यस्ता जानकारीका आधारमा सामान्य कोशिकाहरूलाई असर नपर्ने गरी तर क्यान्सर कोशिकालाई लक्ष्य गरेर औषधिहरू विकास गरिएका छन् । यस्तो उपचार प्रविधिलाई ‘टार्गेटेड थेरापी’ भनिन्छ । परम्परागत केमोथेरापीले स्वस्थ तथा क्यान्सर कोशिकाहरू दुवैलाई नोक्सान पुर्‍याउन सक्छ भने लक्षित प्रभावका कारण टार्गेटेड थेरापीले भने चयनात्मक तबरले क्यान्सर कोशिकालाई विभाजन गर्न र नयाँ क्यान्सर कोशिकाहरू बनाउनबाट रोक्छ ।

व्यापक अनुसन्धानसँगै दिनानुदिन नयाँ प्रोटिन टार्गेटहरू पत्ता लाग्न थालेका छन्, र त्यस्ता प्रोटिनलाई लक्ष्य गरी नयाँ–नयाँ उपचारहरू विकास हुन थालेका छन् । योसँगै विकसित मुलुकहरूमा परम्परागत उपचार विधिहरूभन्दा टार्गेटेड थेरापी व्यापक हुन थालेको छ । नेपालमा पनि यसको सुरुआत भए पनि क्यान्सर बिरामीको पहुँचमा अझै राम्रोसँग पुगेको देखिँदैन ।

२. इम्युनोथेरापी : सामान्यतया, हाम्रो शरीरका प्रतिरक्षा कोशिकाहरूले क्यान्सर कोशिकाहरूलाई ‘बाह्य’ वा ‘असामान्य’ रूपमा पहिचान गर्छन् र तिनीहरूलाई हटाउन सक्छन् । जबसम्म प्रतिरक्षा प्रणाली त्यसो गर्न सक्षम रहन्छ, क्यान्सर नियन्त्रणमै हुन्छ । यद्यपि, बिस्तारै क्यान्सर कोशिकाहरूले शरीरको प्रतिरक्षा प्रणालीबाट बच्ने संयन्त्रहरू विकास गर्छन्, अनि क्यान्सर अनियन्त्रित रूपमा फैलिन थाल्छ । यतिसम्म कि क्यान्सर कोशिकाहरूले प्रतिरक्षा गर्नुपर्ने कोशिकाहरूलाई आफ्नो वृद्धि र विस्तारमा प्रयोग गर्न थाल्छन् ।

‘इम्युनोथेरापी’ नवीन क्यान्सर उपचारको विधि हो जसमा असमर्थ प्रतिरक्षा प्रणालीको एन्टी–ट्युमर कार्यलाई पुनःस्थापित गरिन्छ ताकि प्रतिरक्षा कोशिकाहरूले ट्युमर कोशिकाहरू हटाउन सकून् । यस्तो उपचारमा औषधि दिएर बिरामीको शरीरका प्रतिरक्षा कोशिकाहरूलाई क्यान्सर कोशिका मार्न पुनः सक्षम बनाइन्छ । त्यस्तै, शरीरका प्रतिरक्षा कोशिकाहरूलाई प्रयोगशालामा परिमार्जन गरी हामीले निर्दिष्ट गरेका क्यान्सर कोशिकाहरू पहिचान गरी मार्न सक्ने बनाएर बिरामीलाई पुनः दिइन्छ ।

शरीरको प्रतिरक्षा प्रणालीलाई प्रयोग गरी क्यान्सर उपचार गर्ने प्रविधिको विकासलाई सन् २०१३ मा विश्व प्रसिद्ध ‘साइन्स’ म्यागजिनले वर्षको सफलता घोषणा गरेको थियो । साथै यो प्रविधि विकास गर्ने वैज्ञानिकहरूलाई सन् २०१८ मा नोबेल पुरस्कार दिइएको थियो ।

इम्युनोथेरापीबाट मेलानोमा, मृगौला लगायतको क्यान्सर उपचारमा उल्लेख्य सफलता पाइएको छ । तर यो उपचार एकदमै महँगो हुने हुँदा प्रायः बिरामीको पहुँचमा छैन । यो उपचार बनाउन धेरै समय खपत हुने तथा व्यक्तिगत रूपमा बनाउनु पर्न सक्ने हुँदा प्रतिबिरामी उपचारमा कम से कम एक करोड लाग्ने गर्छ । यदि विभिन्न इम्युनोथेरापी संयोजन गर्नुपरेको खण्डमा खर्च दुई–तीन गुणा बढ्छ । अमेरिका, युरोप लगायतमा समेत यस्ता औषधिहरूलाई प्रायः स्वास्थ्य बिमाले ‘कभर’ गर्दैनन् । यो उपचार विधि नेपालमा आइपुग्न तथा बिरामीको पहुँचमा पुग्न त झन् धेरै वर्ष कुर्नुपर्ने देखिन्छ ।

क्यान्सर उपचारमा जटिलता

क्यान्सर उपचारमा धेरै प्रविधिको विकास भएको छ । तर कुनै पनि विधिले सबै क्यान्सरलाई प्रभावकारी तवरले उपचार गर्न सकेको छैन । यसको मुख्य कारण क्यान्सरमा हुने विविधता हो ।

विभिन्न अंगमा लाग्ने क्यान्सर फरक हुन्छ, एउटै अंगमा लाग्ने क्यान्सर पनि विभिन्न मान्छेमा फरक हुन्छ, एउटै क्यान्सर पनि प्राथमिक ठाउँमा र मेटास्टेसिस ठाउँमा फरक हुन्छ । एकै ट्युमरभित्र रहेका क्यान्सर कोशिकाहरूले समेत औषधिसँग भिन्न–भिन्न प्रतिक्रिया देखाउँछन् । यसले गर्दा एउटा उपचारले कुनै बिरामीलाई काम गर्दा अर्कोलाई गर्दैन । अझ क्यान्सर कोशिकाहरू निरन्तर रूपमा परिवर्तन भइरहेका हुन्छन्, जसले गर्दा पहिले काम गर्ने औषधिले समेत केही समयपछि त काम नगर्न सक्छ । यस्ता विभिन्न जटिलताले गर्दा लाखौं वैज्ञानिक दिनरात खटे पनि क्यान्सर उपचारमा अपेक्षित सफलता पाउन सकिएको छैन ।

नेपालले अवलम्बन गर्नुपर्ने बाटो

क्यान्सरको पूर्ण उपचार पत्ता नलागेको भए पनि निदान तथा उपचारका नयाँनयाँ विधिहरूले बिरामीको आयु लम्ब्याएका छन् । विशेष गरी टार्गेटेड थेरापी र इम्युनोथेरापीले निश्चित प्रकारका क्यान्सर बिरामीलाई बादलमा चाँदीको घेरा देखाएका छन् ।

हालै क्यान्सर निदान र उपचारमा भएका नयाँ प्रगतिबाट नेपाली बिरामीहरू पनि लाभान्वित हुन सक्ने गरी नेपाल अगाडि बढ्नुपर्छ ।

हामीले अलिकति प्रयास गर्‍यौं भने नेपालमै क्यान्सर रोगीहरूलाई टार्गेटेड थेरापी सरल रूपमा उपलब्ध गराउन सकिन्छ । कोभिड महामारीले ठूलो आघात पुर्‍याएको भए पनि आणविक जीवविज्ञानका क्षेत्रमा नेपालको क्षमता बढाउन ठूलो टेवा दिएको छ । अहिले हामीसँग आणविक जीवविज्ञान स्रोत र प्राविधिक जनशक्ति दुवै छन् । अब कोभिड महामारी बिस्तारै घट्दै जाँदा हाम्रो क्षमतालाई क्यान्सर रोगीहरूको निदान र उपचारमा प्रयोग गर्न सकिन्छ । पीसीआर र अनुक्रमणिका प्रविधि प्रयोग गरी कस्तो खालको टार्गेटेड थेरापी दिँदा बिरामीलाई धेरै फाइदा पुग्छ भनेर पत्ता लगाउन सकिन्छ र सोही अनुसारको औषधि अभ्यास गर्न सकिन्छ । यसो गर्न सकेमा नेपाली क्यान्सर बिरामीहरूले उल्लेख्य लाभ लिन सक्नेछन् । तत्कालै इम्युनोथेरापीमा नेपाली बिरामीहरूको पहुँचमा नपुग्न सक्छ । तथापि हामीले आवश्यक नीति बनाए हाम्रा बिरामीहरूले विश्वव्यापी रूपमा भएका इम्युनोथेरापीका क्लिनिकल परीक्षणहरूमा भाग लिई लाभ लिन सक्ने वातावरण बनाउन सकिन्छ । अमेरिका र युरोपका प्रायः बिरामीले समेत क्लिनिकल परीक्षणहरूमा भाग लिएर यस्ता औषधिबाट लाभ लिएका हुन्छन् ।

हामीलाई आवश्यक औषधिका लागि सधैं विकसित देशहरूको मुख ताकेर बस्न हुँदैन । विकसित मुलुकहरूले नयाँ औसधि बनाइहाले भने पनि त्यो हाम्रो गच्छेभन्दा प्रायः बाहिर हुने गर्छ । यस सन्दर्भमा आफ्नो माटोसुहाउँदो निदान र उपचार विधिहरू विकास गर्न नेपाल आफैं अग्रसर हुनुपर्छ । यसका लागि नेपाल सरकारले आवश्यक स्रोत र पूर्वाधार खडा गरेर अनुसन्धान आदिलाई प्रवर्द्धन गर्न विलम्ब गर्नु हुन्न । नेपाल र विकसित मुलुकहरूबीच रहेको वैज्ञानिक तथा प्राविधिक अन्तरलाई विदेशमा अत्याधुनिक अनुसन्धान गरिरेहका क्यान्सर वैज्ञानिकहरूले पूर्ति गर्न सक्छन् । यसो गर्न सकेमा क्यान्सरको पीडामा रहेका बिरामीमा तथा उनीहरूको परिवारमा थोरै भए पनि आशा जगाउन सकिन्छ । आजको एक दिन मात्र क्यान्सर बिरामीलाई सम्झेर होइन, नेपाली क्यान्सर बिरामीले पनि हालै विकास गरिएका अत्याधुनिक उपचार पाउने सुनिश्चितता गर्न सकेमा मात्र विश्व क्यान्सर दिवस मनाउनुको सान्दर्भिकता रहनेछ ।

मिश्र अमेरिकाको एमआईटीमा कार्यरत क्यान्सर वैज्ञानिक हुन् । उनी दाना–फार्बर/हार्वर्ड क्यान्सर सेन्टर अन्तर्गतको डिम्बग्रन्थि क्यान्सर अनुसन्धान कार्यक्रममा पनि सम्बद्ध छन् ।

प्रकाशित : माघ २१, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?