गान्धी किन मर्दैनन् ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गान्धी किन मर्दैनन् ?

अहिलेको नेपाली भूमि लुम्बिनीमा जन्मिएर सिद्धार्थ जसरी विश्व–प्रणम्य हुन पुगेका छन्, त्यसरी नै गान्धी कुनै पनि देशको राजनीतिक भूगोलभन्दा अग्ला छन् ।
चन्द्रकिशोर

३० जनवरी १९४८ मा महात्मा गान्धीमाथि दिल्लीमा आयोजित प्रार्थनासभामा गोली प्रहार भो, उनी भौतिक रूपमा ढले । सुनियोजित षड्यन्त्र गरी गान्धीको हत्या गर्ने नाथुराम गोडसे थिए । त्यो दिनदेखि फाँसी नलागुन्जेल एक वर्ष नौ महिना सोह्र दिनसम्म गोडसे आफूले गान्धीलाई सधैंका लागि भारत र दुनियाँबाट समाप्त गरिदिएको विश्वासमा थिए ।

जुन विचारधाराले गोडसेलाई गान्धीको हत्या गर्न उक्सायो, त्यो विचार राख्नेहरू गान्धी अझै पनि मर्न नसकेकामा उद्वेलित छन्; गान्धी विचार र कर्मप्रति अनेक थरी मिथ्या तर्क र तथ्य तिनीहरूबाट प्रक्षेपण गरिँदै छन् । तर अचम्म, गान्धीको प्रकाश दुनियाँभर झन्झन् फैलिँदै गएको छ ! यसबाट आत्तिएर गोडसेपन्थीहरू गान्धीको तस्बिरमाथि नै गोली चलाउँदै छन् । गान्धी आज पनि दुनियाँको सबैभन्दा ठूलो तागत हुन् र आफ्नो जीवनकालभन्दा बढी वर्तमानमा प्रासंगिक छन् । तसर्थ गान्धी जिउँदै छन्, उनलाई गोलीले समाप्त पार्न सकिँदैन ।

निक विगतमा, भारतमा लामो समयदेखि चल्दै आएको सरकारविरुद्धको किसान आन्दोलनको सफलतालाई गान्धीवादी तरिकाको जित हो भनेर बताइन्छ । त्यहाँ किसानहरू एक वर्षभन्दा बढी धर्ना बसे । चिसो, गर्मी, वर्षा झेल्दै संघर्षको मोर्चामा डटिरहे । आफ्नो अडानमा अडिग बनिरहे । कैयौं किसान संघर्षकै क्रममा मरे । आन्दोलनका क्रममा सरकारी पक्षबाट कैयौं आरोप लगाइए, तर पनि उनीहरूले बडो इमानदारीपूर्वक आफूमाझ लुकेका असामाजिक तत्त्वहरूलाई प्रहरीको जिम्मा लगाए । एक वर्षसम्म धैर्यपूर्वक संघर्षलाई कायम राखे र सरकारी षड्यन्त्रलाई संयमपूर्वक बेहोरे । जब सरकारले आफूहरू अघि बढ्दै गरेको बाटामा किला ओछ्याइदिए तब उनीहरूले त्यसमाथि माटो हालेर फूल उमारिदिने भनाइ राखे ।

अर्कातिर, आन्दोलनकारीहरूले सुरुआतमा अन्य भारतीय क्रान्तिकारी स्वतन्त्रता सेनानीहरूका पोस्टर टाँसे पनि आफूलाई गान्धीवादी भनाउन चाहेनन् । जो आफूलाई ज्यादा आक्रामक, उग्र र जोसिला ठान्छन्, तिनीहरू गान्धीको नाम वा तस्बिरबाट आफूलाई परै राख्न चाहन्छन् । वास्तवमा अप्ठ्यारो शान्तिपूर्ण संघर्ष गर्नेहरूको होइन, यो त त्यस्तो मनोविज्ञानको हो जहाँ ‘गान्धी गोरेटो’ लाई कायरहरूको प्रयोग बताइन्छ । उसो त आन्दोलनकारीहरूको गान्धीप्रतिको अलमल लामो समयसम्म टिक्न सकेन । अन्ततिर उनीहरू आफ्नो आन्दोलन अहिंसक रहेको दाबी गर्न थाले ।

जहाँ शान्तिपूर्ण आन्दोलन गरिन्छ, संवादद्वारा समाधान खोजिन्छ, प्रतिपक्षी कित्तामा रहेको असल पक्षलाई मान्यता दिइन्छ, कुनै पनि सत्ताको सामुन्ने भयमुक्त भई खडा होइन्छ, त्यहाँ गान्धीको प्रयोगले निरन्तरता पाएकै हुन्छ । लाठी होस् वा गोली चलाउने आकर्षणले केवल आफू वा अर्को पक्षलाई क्षति पुर्‍याउन सकिन्छ । आजको समयमा सरकारसँगको संघर्षमा कोही एक्लो व्यक्ति खुकुरी चम्काएर टिक्न सक्दैन । त्यस्तो उपक्रमलाई, निर्वाचित सरकार नै किन नहोस्, बल वा कानुन प्रयोग गरेर निमोठ्न तत्पर रहन्छ । तर मुठी कसेर संघर्षमा टिक्न खोज्दा, त्यस्तो प्रयासमाथि दमन गर्दा कुनै सैनिक सरकारले समेत अनेकौं ठाउँमा जवाफ दिनुपर्छ । लोकतान्त्रिक तरिकाले गरिएको विरोधलाई स्वीकार गर्ने र त्यस विरोधको सामुन्ने निहुरिन सक्ने व्यवस्था मात्र टिक्छ । शान्तिपूर्ण आन्दोलनले समय लामो लिए पनि अन्ततः आफूलाई उपलब्धिसमक्ष पुर्‍याउँछ नै । जहाँ जुनसुकै पक्षबाट यस्तो लोकतान्त्रिक चेतनालाई विस्तार दिने काम गरिन्छ, त्यहाँ गान्धी बाँचेकै हुन्छन् ।

जो हिजो शान्तिपूर्ण संघर्ष गरेर वा सशस्त्र संघर्ष गरेर सत्तामा पुगेका छन्, तिनीहरूमा पनि सडकबाट उठाइएका असहमतिका हातहरू भाँच्ने सोच देखिन्छ । कुनै पनि सरकारको चरित्र नै थिचोमिचो गर्ने हुन्छ, हतपती जनआलोचना सहन गर्दैन । सरकारमा बसेकाहरूलाई लाग्छ, ‘मलाई सबै कुरा थाहा छ ।’ । थाहा पाउने अरूको हकको कदर गर्ने विनम्रता उसले देखाउँदैन । यहाँ सरकारलाई लोकतान्त्रिक चेतनाले युक्त हुन प्रेरित गर्नुपर्ने खाँचो जति छ, त्यति नै सडकमा आवाज उठाउनेहरू संयमित हुन । शान्तिपूर्ण आन्दोलन भनिएको हुन्छ, तर ढुंगा–इँटा बर्साइन्छ, तोडफोड गरिन्छ, प्रहरीमाथि अनाहक प्रहार गरिन्छ । सरकारले पनि जबसम्म सडक उत्तेजित हुँदैन तबसम्म कान बन्द गरेर बस्छ । उता संघर्ष गर्ने पक्षलाई पनि लाग्छ, थोरबहुत तोडफोड नहुन्जेल सरकारले बेवास्ता गरिरहन्छ ।

लोकतन्त्र प्राप्त गरेर मात्र पुग्दैन, नागरिकहरूबीच सामञ्जस्य स्थापित हुनु पनि पर्छ । लोकतन्त्रको रक्षासँगसँगै मुलुकको राष्ट्रिय एकताको प्रश्न जल्दोबल्दो रूपमा अघि आएको छ । इतिहासले स्थापित गरेको शिक्षा के हो भने, स्वतन्त्रता–लोकतन्त्र तबसम्म जोगिन्छ जबसम्म राष्ट्रिय एकता कायम रहन्छ । जबजब एकता झ्याल खोलेर निस्किन्छ तबतब स्वतन्त्रता–लोकतन्त्र मूल ढोका खोलेर हिँडिदिन्छ । जो विविधतालाई अनेकता मान्छन् र विविधतालाई निमिट्यान पारेर एकता ल्याउन चाहन्छन्, उनीहरू कहिल्यै सफल हुँदैनन् । विविधतालाई कायम राख्दै जुन ऐक्यबद्धता ल्याइन्छ त्यो टिकाउ पनि हुन्छ, त्यस्तै एकताको कामना पनि गरिन्छ । सबै नागरिक एउटैजस्तो भाषा, भेष–परिधानमा जबर्जस्ती देखिनुभन्दा बहुल स्वरूपमै रहेर एकअर्कालाई राम्रोसँग बुझ्न सकिन्छ ।

सांस्कृतिक एकीकरण वा कृत्रिम राष्ट्रवादको राप–तापको माहोलमा महात्मा गान्धी यस्तो नैतिक, मानवीय दृष्टिकोण हुन् जो जहाँ पनि प्रासंगिक छन् । गान्धी भौतिक रूपमा रहँदासमेत उनको आलोचना र विरोध कम भएन तर उनी प्रत्येक मोडमा झन् चम्किलो भएर देखा परे । गान्धी भन्थे, ‘सत्य मसँग मात्र छैन, त्यसको अर्को हिस्सा अरूसँग पनि हुन सक्छ ।’ अरूको विचार र पहिचानप्रतिको सहिष्णुताको व्यवहार आज पनि त्यत्तिकै अपरिहार्य छ । प्रश्न उठाउने र प्रश्न स्वीकार गर्ने मानसको सामाजिकीकरण नहुन्जेल द्वन्द्व रहिरहन्छ ।

गान्धीको ज्यान मार्ने प्रयास कैयौं पटक भएको थियो । तर उनले कहिल्यै प्रतिरोध गरेनन् । बरु सदा आफ्ना विरोधीसमक्ष समेत छाती फैलाएर खडा भए, संवादका लागि । आफ्नो हत्याको प्रयास गर्ने कुनै पनि व्यक्तिमाथि कहिल्यै मुद्दा हालेनन् । सधैं उनी कामना गर्थे, ‘सब को सम्मति दे भगवान् ।’ उनी उच्च मानवीय विवेकको अपेक्षा राख्थे । जसले गान्धीको भौतिक हत्या गर्न सफलता पाए, ती चुकेका भए गान्धीले तिनका लागि समेत प्रार्थना गर्थे होलान् । तिनलाई संवादका लागि निम्त्याउँथे होलान् । अनि भन्थे होलान्, ‘त्यो गोडसेलाई छाडिदेऊ । आफूले के गरेँ भन्ने उसलाई थाहा छैन ।’ गान्धीप्रति औपनिवेशिक बेलायती वर्चस्वशाली पुस्ता कम रिसाएको थिएन, तत्कालीन भारतीय कम्युनिस्टहरू कम आलोचना गर्दैनथे, अम्बेडकरवादीहरूसँग कम्ती घर्षण परिरहेको थिएन, जिन्नाको नेतृत्वमा मुस्लिमहरूको एउटा तप्काले उनीविरुद्ध घृणा फिँजाउँदै थियो, तर गोली कसैले पनि हानेन । निकै लामो बहस–विमर्श र आत्ममन्थनपश्चात् तिनले बिस्तारै गान्धीलाई बुझ्न थाले, उनका संवाद र शान्तिपूर्ण विमतिको प्रयोगको युगबोध स्वीकार गर्न थाले ।

गान्धी प्रत्येक व्यक्तिलाई अभय बनाउन चाहन्थे । तर गोडसेलाई सुकृत्य गरेको मान्नेहरू प्रत्येक व्यक्तिलाई भयभीत पार्न चाहन्छन् । गान्धी प्रत्येक व्यक्तिलाई आफ्नो बराबरीमा ल्याउन चाहन्थे । उनी श्रेष्ठता भावबाट मुक्त थिए र यही भावनाले उनलाई एक जाग्रत नागरिकका रूपमा स्थापित गर्छ । उनी कुनै पनि जाति–समुदायको श्रेष्ठता स्वीकार गर्दैनथे । उनी अहिंसामाथि भरोसा गर्थे । तर यो अहिंसाले उनलाई निरीहता सिकाउँदैनथ्यो । यो अहिंसाले उनलाई संघर्षपथमा पिठ्यूँ फर्काएर भाग्न सिकाउँदैनथ्यो । उनलाई हिंसाको बाटो कुनै पनि समस्याको समाधान होइन भन्ने थाहा थियो । उनलाई आफू ‘हिन्दु’ हुनुमा गर्व थियो तर उनको हिन्दु हुनुले अरू धर्मावलम्बीप्रति घृणा गर्न सिकाउँदैनथ्यो । आजका सन्दर्भमा प्रत्येक राष्ट्रले गान्धीले भोगेका चुनौतीहरू आआफ्नै ढंगले बेहोरिरहेको छ, अहिले देखिएका कतिपय चुनौतीको त्यतिखेर कल्पनासम्म गर्न सकिँदैनथ्यो । तर, गान्धीमार्ग सबै खाले झञ्झावातको निदान हो भनी मान्नेहरू प्रत्येक दिन बढ्दै गएका छन् ।

आज जब हाम्रो सार्वजनिक जीवनमा नैतिक मूल्यको क्षरण हुँदै गएको छ, संस्थाहरूको स्थापित मानक खण्डित हुँदै छ, निजी जीवनमा नैतिक मूल्यप्रतिको सजगता हराउँदै गएको छ, यस्तोमा गान्धीले स्थापित गरेको प्रभावी विकल्पतर्फ दुनियाँको ध्यानाकर्षण भएको छ । महामारीको यस संक्रमणकालले हाम्रो विकासको मोडल मौलिक रूपमै कति त्रुटिपूर्ण छ भन्ने देखाएको छ । गान्धीको आर्थिक दर्शन स्थिर छैन, त्यो त जीवन्त र व्यापक छ; मेसिनभन्दा मान्छेकेन्द्रित छ । प्रकृतिबाट के र कति लिने ? त्यससँग तालमेल कसरी मिलाउने ? प्रकृतिसँगको सम्बन्धबारे गान्धीका विचारहरू आज पनि प्रासंगिक छन् ।

निश्चित रूपमा गान्धी भगवान् थिएनन् । उनले आफ्ना अन्धभक्तहरूबाट आफूलाई भगवान् घोषित हुनबाट जोगाए । उनीसँग असहमति र आलोचना राख्न पाइन्छ तर आलोचना केको गर्ने ? सत्य बोल्ने आग्रहको, अहिंसाको प्रणको, विपक्षी मतबाट समेत असल नौनी निकाल्ने वा संवाद र सामञ्जस्यको प्रयोगको, एउटा वञ्चित व्यक्तिले समेत हाकाहाकी प्रश्न गर्न सक्ने मन्त्रको ? यी सवाल र सरोकारहरू रहेसम्म गान्धी मर्दैनन् । नेपालमा गान्धीको चर्चा गर्दा उनलाई ‘भारतीय नागरिक’ भनेर उपेक्षा गर्नुपर्ने कतिपयको बुझाइ छ । अहिलेको नेपाली भूमि लुम्बिनीमा जन्मिएर सिद्धार्थ जसरी विश्व–प्रणम्य हुन पुगेका छन्, त्यसरी नै गान्धी कुनै पनि देशको राजनीतिक भूगोलभन्दा अग्ला छन् ।

प्रकाशित : माघ २०, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

चीन जोड्ने प्रसारण लाइन डबल सर्किट बनाइने

बीआरआईअन्तर्गतको रातामाटे–रसुवागढी–केरूङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमा त्रिशूली थ्री–बी हबदेखि रातामाटेसम्म २२० केभीको अर्को लाइन पनि थप्ने निर्णय
कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने भनिएको रातामाटे–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनको केही हिस्सा डबल सर्किट बनाइने भएको छ ।

प्रसारण लाइनलाई यसअघि तय भएको रुट नेपाल विद्युत् प्राधिकरणले परिवर्तन गरेपछि एकै ठाउँमा २ वटा आयोजना परेका थिए । चिलिमे हबबाट रातामाटेसम्म ४ सय केभी र २२० केभीका छुट्टाछुट्टै प्रसारण लाइनका आयोजना बनाउनका लागि अध्ययन भइरहेको थियो । तर एकै ठाउँ एकै प्रकृतिका दुई आयोजना बनाउनुभन्दा रातामाटे–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनलाई नै डबल सर्किट बनाएर लैजाने निर्णय प्राधिकरणले गरेको आयोजना प्रमुख कोमलनाथ आत्रेयले जानकारी दिए ।

‘त्रिशूली थ्री–बी हबबाट रातामाटेसम्म आउने छुट्टै २२० केभीको प्रोजेक्ट थियो । त्यसलाई पनि हामीले ४ सय केभी लाइनबाटै ल्याउने निर्णय गरेका छौं,’ आत्रेयले भने, ‘एउटै ठाउँबाट २ वटा प्रसारण लाइन बनाउँदा राइट अफ वे, जग्गा मुआब्जा र निर्माणका लागि खर्च बढी हुने भएपछि अन्तरदेशीय प्रसारण लाइनलाई डबल सर्किट बनाउन लागिएको हो ।’

अब त्रिशूली थ्री–बी हबदेखि रातामाटेसम्मको २६ किलोमिटर प्रसारण लाइनका विद्युत् टावरमा माथि ४ सय केभी र तल २२० केभी क्षमताका लाइनहरू जडान गरिनेछन् । चिलिमेबाट त्रिशूली थ्री–बी हबसम्म छुट्टै प्रसारण लाइन बनिरहेकाले त्रिशूली बेसिनका आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या नहुने पनि आत्रेयले दाबी गरे । त्रिशूली बेसिनमा अपर त्रिशूली थ्री–ए, अपर त्रिशूली थ्री–बी, अपर त्रिशूली–१, सान्जेन, रसुवागढी र निजी क्षेत्रका अरू केही आयोजनाहरूसमेत बनिरहेका छन् ।

प्राधिकरणले केही समयअघि मात्र चीन जोड्ने प्रसारण लाइनको रुट परिवर्तन गरेको थियो । प्राविधिक रूपमा पनि पुरानो रुट लामो पर्ने भन्दै प्राधिकरणले लाङटाङ राष्ट्रिय निकुञ्ज भएर नयाँ रुटको सम्भाव्यता अध्ययन गरेको हो । यसअघि निर्धारित रुटमा भौगोलिक विकटताका कारण पहुँचमार्ग निर्माण र सामान ढुवानी गर्न समस्या हुने ठानिएको थियो । तर अहिले प्रसारण लाइन १० किमि घना जंगल र मध्यवर्ती क्षेत्रसमेत गरेर निकुञ्जभित्रको कुल २६ किमि बाटो भएर निर्माण गर्ने गरी सर्वेक्षण गरिएको छ । यसरी रुट परिवर्तन गर्दा प्रसारण लाइन ५ किमि छोटो पर्ने र १ अर्ब रुपैयाँ लागत घट्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ । यसअघि तय भएको रुटमा २ सय १४ वटा विद्युत् टावर लाग्ने अनुमान गरिएकामा नयाँ रुटमा १ सय ७१ वटा टावर मात्रै बनाइने छन् ।

चीनसँगको विद्युत् व्यापारका लागि कोसेढुंगाका रूपमा हेरिएको यो प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायत काम भने टुंगिएका छैनन् । आयोजनाको डीपीआर बनाउने जिम्मा चिनियाँ सरकारी स्वामित्वको कम्पनी स्टेट ग्रिड कर्पोरेसन अफ चाइना (एसजीसीसी) र नेपाल विद्युत् प्राधिकरणले पाएका छन् भने ईआईएको काम एनईए इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । तर कोरोना महामारीको कारण देखाउँदै डीपीआर र ईआईए दुवै काम अझै टुंगिन सकेको छैन ।

स्टेट ग्रिड र विद्युत् प्राधिकरणका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक समूह (जेटीजी) ले सन् २०१८ मै डीपीआर बनाइसक्ने भनिए पनि लामो समयदेखि यसको बैठकसमेत बस्न सकेको छैन । स्टेट ग्रिड र प्राधिकरणबीच २०१८ जुनमा आयोजना विकाससम्बन्धी साझेदारी सम्झौता (पीडीए) भएको थियो । २ वर्षका लागि भएको पीडीए सम्झौतासमेत नवीकरण हुन सकेको छैन । पीडीए नवीकरण गर्न दुवै पक्षबीच सहमति भए पनि बैठक बस्न नसक्दा लामो समयदेखि रोकिएको हो । यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग जानकारी मागिएको र चीनको नयाँ वर्ष तथा उसले आयोजना गर्न लागेको ओलम्पिकका कारण जवाफ पाउन ढिलाइ भएको पनि आयोजना प्रमुख आत्रेयले बताए ।

बीआरआईमा सहभागी हुन नेपालले सन् २०१७ मे १२ मा सहकार्यका लागि सम्झौता गरेसँगै यो प्रसारण लाइन निर्माण सुरु भएको थियो । तर बीआरआईअन्तर्गतका आयोजना कार्यान्वयनमा ढिलाइका कारण यो प्रसारण लाइन निर्माणको काम पनि निकै सुस्त देखिन्छ । स्टेट ग्रिड र प्राधिकरणबीच भएको पीडीएअनुसार प्रसारण लाइन निर्माणका लागि ९ करोड ६७ लाख ९० हजार (९६.७९ मिलियन) अमेरिकी डलर लागत अनुमान गरिएको थियो ।

प्रकाशित : माघ २०, २०७८ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×