कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेता र सामाजिक रूपान्तरण

लोकराज बराल

एक्काइस वर्षपहिले प्रकाशित क्याथरिन फ्र्यांंकको ‘इन्दिरा : द लाइफ अफ इन्दिरा नेहरू गान्धी’ कोभिड महामारीका डरले घर बस्ता फेरि एकपल्ट पढ्न मन लाग्यो । यसको मुख्य कारण समाज रूपान्तरणको प्रयास गर्ने नेताबारे जान्ने उत्सुकता हो । इन्दिरा गान्धी असाधारण नेतृत्व भएकी महिला भएकामा कसैले नकार्ने ठाउँ छैन तर उनलाई शक्ति आर्जनका लागि जस्तोसुकै निर्णय लिने एक अति आत्मकेन्द्रित राजनीतिज्ञका रूपमा पनि धेरैले लिन्छन् ।

नेता र सामाजिक रूपान्तरण

गहिरिएर हेर्दा यस्ता महत्त्वाकांक्षी नेता सबै देशमा पाइन्छन् तर निर्णयक्षमता विरलैमा हुन्छ । यो जीवनीमा इन्दिरा गान्धी र फिरोज गान्धीको प्रेमकथाका साथै बिहेको प्रसंगको विस्तृत विवरण पाइन्छ । फिरोज पारसी र साधारण परिवारका भएकाले अनि उनको चरित्रबारे केही भ्रमले इन्दिराको परिवार बिहेका पक्षमा थिएन । तर उनी आफ्नो बिहे भरसक सर्वसम्मतिबाटै होस् भन्ने चाहन्थिन् । अन्त्यमा, महात्मा गान्धीसित राय लिन गइन् तर गान्धीका अनौठा कुराप्रति उनी असहमत भइन् । गान्धीले यौन सन्तुष्टिका लागि बिहे गर्न लागेको हो भने यस्तो बिहे गर्न नहुने र यदि गरे पनि यौन जीवनबाट पर (सेलिबेसी) रहनुपर्छ भन्दा उनी उत्तेजित भई यस्तो वैवाहिक जीवन सम्भव नहुने भनी गान्धीका विचारलाई लत्याइन् र आफ्नो दृढता व्यक्त गरिन् । ठूलाले भने भन्दैमा आत्मसमर्पण नगर्ने उनको दृढता यस सन्दर्भले दर्साउँछ । बीपी कोइरालासमक्ष जनमतसंग्रहका लागि सर्त सबै नेता र दलले राखे पनि बीपीले अस्वीकार गरे र आफू आलोचित भए । तर आज एमसीसी पास गर्न पहिले प्रतिबद्ध हुने सबै नेता आलोचनाको डरले त्यसलाई पन्छाउन खोज्दै छन् ।

इन्दिरा गान्धीले आफ्ना दुई छोराको बिहे अति साधारण रूपले गराइन् । मजिस्ट्रेटलाई बोलाई एक पारिवारिक साथी साक्षी राखी बिहे गराइदिएकी थिइन् । बीपी कोइरालाले छोरीको बिहे अड्डामा नगरे पनि चिया र समोसाले पाहुनाहरूको स्वागत गरेको म अझै सम्झन्छु । शेरबहादुर देउवाले आफू गृहमन्त्री हुँदा आरजु राणासित बिहे गरे । उनले पनि चिया र समोसाले अतिथिको स्वागत गरेका थिए । यो सराहनीय काम थियो । केही युवा तथा युवतीले प्रमुख जिल्ला अधिकारीका अफिसमा बिहे दर्ता गराउने खबरले म हर्षित हुने गरेको छु । २००७ सालपछि नेपालका पाँच प्रधानमन्त्री (तुलसी गिरिसहित) ले अन्तरजातीय बिहे गरेका हुन्, तर ती सबै यो परिपाटी अघि बढाउन सक्रिय देखिएनन् ।

महात्मा गान्धीले जातको भेद अन्त्य गर्न दलितलाई हरिजन मानी भगवान्का लागि सबै मानिस बराबर छन् भन्ने सन्देश दिए, सबै ईश्वर एकै भएको मानी धार्मिक विभेद अन्त्यका लागि प्रयत्नशील भए । भीमराव अम्बेडकरले जातमा आधारित धार्मिक मानिएको सामाजिक व्यवस्था परिवर्तन गर्नु अति कठिन ठानी बौद्ध धर्म ग्रहण गरे । हिन्दु धर्म अति उदार भए पनि जात प्रणालीलाई धर्ममा जोडेर समाज रचना गरिँदा चार जातको अवधारणाले रूढिवादी व्यवस्था जन्मायो । यसको अन्त्यका लागि राजनीतिक चेतना अति आवश्यक पूर्वसर्त हो । कुनै एक धर्मप्रतिको अति विश्वासले धर्मले संगठनको रूप लिन्छ र राजनीतिक–सामाजिक द्वन्द्व बढाउँछ, जसका उदाहरण विश्वभर छन् । भारतका सद्गुरु कुनै एक धर्मको अन्धभक्त नभएको भन्दै आफू संगठित धार्मिक परम्पराभन्दा माथि भएको ठान्छन् ।

धर्म र राजनीति जोडी धर्मलाई अस्त्रका रूपमा लिइँदा आज सामाजिक रूपान्तरणको बाटो अलमलिएको छ । समाजवादको नारा जति जपे पनि समाजको सोचमा खासै परिवर्तन भएको पाइँदैन । समाजमा परिवर्तनका लागि केही न केही विद्रोही चरित्रको निर्माण हुनैपर्छ । ६१ वर्षपहिले मेरा बाले मलाई ‘अजात’ मा बिहे नगर्न आफैंले र अरूलाई भन्न लगाए पनि मैले बिहे निजी विषय भएकाले आफ्नो निर्णय नबदल्ने जवाफ दिएको थिएँ । केही वर्षपछि परिवारमा यो विषय सामान्य भयो ।

परिवर्तनका लागि राजनीतिक दलहरूका नेता, कार्यकर्ता, सञ्चारकर्मी र शैक्षिक क्षेत्रको ठूलो भूमिका हुन्छ । दलितको आजका उच्च जात भनिने समूहसित अन्तरजातीय बिहे हुन नसक्नुमा राजनीतिक अठोटको कमी छ । आज दलित केटाले बाहुन–क्षेत्रीकी छोरीसित प्रेम बिहे गर्नु अपराध मानी हत्याका घटना भइरहेका छन् । कानुन भए पनि व्यवहारमा सबै पुरानै ढर्रामा चलिरहेका छन् । तर राजनीतिक नेतृत्वले एकस्वरले यसको प्रतिकार गरेको ठ्याम्मै देखिँदैन । मीन विश्वकर्माले बाहुनी श्रीमती ल्याएकामा स्याबासी दिन कन्जुस्याइँ गरिनु हुन्न । उदितनारायणले आफू मैथिल बाहुन भए पनि दीपा गहतराजसित बिहे गरी सुखी वैवाहिक जीवन बिताउनुलाई अति प्रेरणादायी मान्नुपर्छ । उदितजीको गायनको ख्यातिका कारण जात तिरस्कृत भएको छ र आज नेपालमा उनीहरू आउँंदा यसले बाधा पारेको देखिँदैन । के कविशिरोमणि लेखनाथ पौड्यालको ‘बडाले जो गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत’ भन्ने श्लोक यस्ता मुद्दामा लागू भएको त होइन ? कि ‘जो होचो उसको मुखमा घोचो’ हुँंदै आएको हो ? मेरा हजुरबा महिलाका कुरामा अति लचिलो हुनुहुन्थ्यो । धोती फेरेर भात खाने र पुरेत्याइँ गर्ने तर यौनसम्पर्क जोसित पनि गर्दा हुने भन्ने उहाँको कुरा अहिले पनि सम्झन्छु ।

२००८ सालमा इरौंटार (अहिलेको शान्तिनगर, झापा) को प्राथमिक स्कुलमा तीन कक्षामा पढ्दा केबी थापा (साना सर) ले डिल्लीराम परियार भन्ने लाबर दमाईको छोरालाई चिया छुन लगाई अरू सबै विद्यार्थीलाई पिउन लगाउँदा गाउँमा होहल्ला भई मास्टरलाई माफी मगाउन आफ्नै बा लागेकामा म अति दुःखी भएको थिएँ । इलाम आदर्श हाइस्कुलमा पढ्दा मेरो कक्षाका कमल गजमेर सबैभन्दा नजिकका साथी भए । साइँला कामीका छोरा कमल र म मेरो डेरामा सधैं सँगै खाजा खान्थ्यौं र मैले कमलको घरमा कति पटक खाजा खाएको सम्झन्छु । मलाई इलाममा ‘कामीको संगत भएको बाहुन’ भन्ने निकै थिए । कन्या स्कुलकी प्रधानाध्यापिका लक्खीदेवी सेवा (पछि सुन्दास) गणेशबहादुर प्रसाईका घरमा बस्ने गरेकाले त्यो घरमा चिया नखाने धेरै थिए । यस्ता कुरा आज अलिक कम भए पनि मानिसको सोचमा गुणात्मक परिवर्तन आएको पाइँदैन ।

राजनीतिक नेतृत्वको सन्दर्भ सबै पक्षसित जोडिन्छ । माओवादी जनयुद्धले समाज परिवर्तनका दिशामा उल्लेख्य काम गरे पनि त्यो अभियानबीचैमा हरायो । माओवादी फौजमा ३५ प्रतिशतभन्दा माथि महिला थिए र त्यसमा पनि दलितको संख्या उल्लेख्य थियो । हिसिला यमीले आफ्नो पुस्तकमा पनि यसको वर्णन गरेको पाइन्छ । तर हिसिलाजीको पुस्तकको शीर्षक ‘फ्रम रिभोलुसनरी टु फस्ट लेडी’ ले उनमा पनि मर्यादाक्रमबारे भ्रम परेको देखाउँछ । प्रधानमन्त्रीकी श्रीमतीलाई ‘प्रथम महिला’ भन्ने चलन कतै पाइँदैन । तर विषयगत रूपमा पुस्तक परिवर्तनको पक्षप्रति संवेदनशील छ । उनका श्रीमान् डा. बाबुराम भट्टराई अरू प्रधानमन्त्रीभन्दा समाज रूपान्तरणका मामिलामा फरक पाइएका हुन् । प्रत्येक महिना दलितको घरमा बस्ने र खाना खाने अभियानले सांकेतिक रूपमा भए पनि सकारात्मक सन्देश दिन्छ ।

उनका आलोचकले यस्ता गतिविधिलाई देखावटी भने पनि मैले यसलाई अति सराहनीय काम ठानेको थिएँ । आलोचना पनि उनको दलितलक्षित अभियानतिर थिएन, प्रधानमन्त्रीले लावालस्कर लिएर हिँडेको भनी खिसी गर्थे । तर प्रधानमन्त्री हिँड्दा केही मान्छे त स्वतः हुन्छन् भन्नेमा हाम्रो ध्यान जाँदैन । उद्देश्य ठीक कि बेठीक भन्नेमा पो बहस चलाउने हो । त्यसपछि पनि बाबुरामजीले दलित उत्थान अभियान झन् तीव्र गतिमा अघि बढाउनुको साटो अरूतिर अलमलिएका छन् । बृहत् दलित अनि अरू पिछडिएका जात र वर्गको उत्थानका लागि सामाजिक विषमता द्रुत गतिमा घटाउन समाजलाई आन्दोलित पार्नुपर्छ । तर दलित उत्थानका लागि तर मार्ने दलित नेताले सबैको हित हुने प्रभावकारी काम गरेको पाइँदैन । यसका लागि राजनीति गर्नेहरूको नयाँ अभिमुखीकरण अभियान चलाएर राजनीतिलाई सही रूपमा समावेशी बनाई रूपान्तरणको बाटो फराकिलो र पक्का पार्दा मात्र दलितको हित हुन्छ । विडम्बना, राजनीतिकर्मी आफैं वाहक बन्न सकेका छैनन् । उनीहरू अब रूपान्तारणका वाहकभन्दा पनि यथास्थितिवादी बढी देखिएका छन्, बढी कामचलाउवादी र कम रूपान्तरणका वाहक भएका छन् ।

नेपालको वर्तमान राजनीति दिशाहीन अवस्थाबाट गुज्रिरहेको छ, न यसको उद्देश्य प्रस्ट छ न त गन्तव्य । सिद्धान्त एकातिर, क्रियाकलाप अर्कैतिर मोडिएपछि सबैतिर अस्थिरता छाएको छ । राजनीतिक कार्यसूचीहरू हराएका छन् भने पीडित र दलित वर्ग अझ बढी ओझेल परेका छन् । सबै वाद अब असान्दर्भिक भइरहेका छन् र नयाँ वाद या कार्यदिशा गायब छन् । राजनीति ठीक भए अरू नीति र व्यवस्था ठीक हुने भए पनि राजनीति सुध्रिने लक्षण कतै देखिँदैन । निर्णय लागू गर्ने क्षमता हराउँदै गएकाले राजनीतिक नेताहरू एकअर्काको खोइरो खन्नतिर मात्र लागेका छन् ।

प्रकाशित : माघ १९, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?