एमाले-माओवादी महाधिवेशन र भारतबारे मौनता- विचार - कान्तिपुर समाचार

एमाले-माओवादी महाधिवेशन र भारतबारे मौनता

प्रमुख राजनीतिक पार्टीहरूको विदेशनीति र देशको कूटनीतिक मार्गचित्रको मूल खाकामा तादात्म्य यति बेलाको आवश्यकता हो।
शुभशंकर कँडेल

नेपालका प्रमुख राजनीतिक पार्टीहरूको विदेशनीतिको चर्चा गर्नुपूर्व देशको विदेशनीति कस्तो रहँदै र कसरी बन्दै आएको छ भन्ने स्मरण गरिनुपर्छ । नेपालको विदेशनीति भन्नु नै कसरी भारतलाई रिझाउने र चीनको चित्त नदुखाउने तथा वैश्विक बहावमा ताल मिलाएको अभिनय गर्ने भन्नेमा केन्द्रित रहँदै आएको छ ।

सन् १९९० को दशकपछि बाहिरी दुनियाँसँग झ्याप्पै सम्बन्ध बनाउनुपर्ने बाध्यतामा रहेको नेपालमा अहिलेसम्मका सरकारहरूले विदेशनीतिका सन्दर्भमा कुनै मौलिक योगदान दिन सकेका छैनन् । हुन त बहुदलीय व्यवस्थायता नेपाली जनताले उल्लेखनीय तीनवटा राजनीतिक कालखण्ड बेहोरेका छन् । तीनवटै कालखण्डमा स्वदेशीभन्दा विदेशी शक्तिकेन्द्र र छिमेकीहरूको संलग्नता रहेको सर्वविदितै छ । तर नेपालका राजनीतिक पार्टीहरू, विशेषतः वामपन्थी धारका मुख्य दुइटा ठूला पार्टीले दस्तावेजीकरण गरेको विदेशनीति अर्थात् भारत नीति र नियतिका बीच धरती–आकाशको फरक रहँदै आएको छ ।

एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा भारतीय पक्षलाई छलेर चीनको चाहनामा गरिएको एकीकरण थियो भन्ने मान्यता पनि छ । व्यवहारतः नेकपाका दस्तावेज, एमसीसी र बीआरआईका सन्दर्भमा नेकपाले अख्तियार गरेको नीतिले यही कथ्यलाई बल पुर्‍याउँछ । त्योभन्दा पनि ‘अमेरिकाको चीन घेर्ने रणनीति’ विरुद्ध आफूलाई उभ्याएको नेकपालाई नेपालको भन्दा बढी चिन्ता चीनको रहेको प्रतीत हुन्थ्यो ।

दक्षिण एसियामा अमेरिकी नीति भन्नु भारतीय नीति हो भन्नेमा कूटनीतिज्ञहरूको मतैक्य देखिन्छ । विश्व राजनीतिक मञ्चमा अमेरिका र भारत एकातिर, चीन अर्कातिर बन्ने घटना दोहोरिइरहेका छन् । एसियाली महाद्वीपमा चीन र भारतको मुख्य प्रतिद्वन्द्विता एवं विश्वरणनीतिमा चीन र अमेरिकाबीच प्रतिस्पर्धा चलेका बेला नेपाल पनि त्यही लयमा लतारिने कि दुई छिमेकी देशहरूबाट लाभ लिन लाग्ने भन्ने चुनौती खडा छ । यस्तो क्षेत्रीय तथा घरेलु धरातलीय यथार्थबीच नेपाल र विशेष गरी पछिल्लो समय सरकार सञ्चालनमा निर्णायक मानिएको वाम शक्ति दस्तावेजमा चीनको चित्त खुसी पार्ने तर व्यवहारमा दिल्लीको दलाली गर्ने अन्तरविरोधमा फस्दै आयो ।

नेपालका वामपन्थी पार्टीहरूको कथनी र करनीबीच अझैसम्म तादात्म्य देखिन सकेको छैन । एकीकृत नेकपा भएका बेला उसको छिमेकनीति कथित राष्ट्रवादका लागि भारतको विरोधी र चीनको समर्थकजस्तो देखिएको थियो । नेकपा विभाजन भएर पूर्ववत् अवस्थामा फ्याँकिएपछि हालै सम्पन्न ती दलका महाधिवेशनमा भारतनीतिको दस्तावेजीकरणमा गम्भीर ‘प्याराडाइम सिफ्ट’ देखिएको छ । त्यो पनि एकीकृत नेकपाप्रति भारतको चर्को बेखुसी र त्यसकै परकम्पमा विभाजन भएको स्थितिमा बनेका दुवै दल एमाले र माओवादी केन्द्र दस्तावेजीकरणमा भारत र चीन दुवैलाई खुसी पार्ने तहमा झरेका (वा, उक्लेका ?) छन् । अझ माओवादी केन्द्रको परम्परागत भारतविरोधी नीतिमा एक सय असी डिग्रीको परिवर्तन देखिएको छ । एमाले त यसै पनि भारतप्रति मधुरो विरोधी स्वर दस्तावेजीकरण गर्ने दल बनेको थियो, मदन भण्डारीको अवसानसँगै ।

माओवादी दस्तावेजमा २०४७ देखि २०७८ सम्मका दस्तावेजहरू सरसर्ती हेर्ने हो भने, थोरै शब्दावलीको यताउता भए पनि हालैको आठौं महाधिवेशनमा बाहेक भारतप्रति परम्परागत उग्रताको प्रतिबद्धता थियो । यस पटक प्रचण्डले भारत वा विदेशनीतिमा मात्र नभएर राजनीतिक शक्तिको विश्लेषण, वर्गसंघर्षको अवस्था तथा भावी कार्यदिशामा साँच्चिकै क्रमभंग गरेका छन् । छलाङ भने मारिहालेका छैनन् । सम्भवतः केही समयपछि हुने भनिएको विशेष वा अर्को महाधिवेशनमा त्यो पनि होला । अझै माओवादीले कति सुस्पष्ट रूपमा आफ्ना नीति र योजना अघि बढाउला, मनमा भएकै कुरा मुखले भन्न साँच्चिकै तयार होला कि नहोला, यकिन गर्न गाह्रो छ । तर प्रचण्डले चाहेमा त्यो सजिलै गर्न सक्ने र गर्नैपर्ने चुनौती भने अवश्य हो ।

दसौं महाधिवेशनको नीति बन्ने गरी गरिएको विधान अधिवेशनपश्चात् एमालेले जारी गरेका प्रस्तावका दुइटा बुँदामा भारतसँगको आक्रोश र विरोध थियो । तर दसौं महाधिवेशनपछि जारी गरिएको समसामयिक प्रस्तावमा भने न लिपुलेक न नयाँ नक्साकै सन्दर्भ उठाइएको छ । भारत, अमेरिका वा चीनप्रति पूर्ण मौनता साधिएको छ । तर बोलीवचनमा एमाले माओवादी केन्द्रभन्दा धरती–आकाशकै फरकमा राष्ट्रवादी रहेको, ओलीबाहेक कोही पनि राष्ट्रवादी नेता नै नरहेको, भारतसँग लड्ने एक मात्र ‘राजनेता’ ओली रहेको प्रचारबाजी अद्यापि जारी छ । भारतीय कूटनीतिज्ञहरूका बुझाइमा एमालेको मतदाता रिझाउने ‘ट्याक्टिस’ मात्र हो यो, जसले दिल्लीलाई केही फरक पार्दैन । तसर्थ दिल्लीका नीतिनिर्माताहरूलाई एमालेको विदेशनीतिबारे खासै अरुचि छैन । दसौं महाधिवेशनसम्म आउँदा दस्तावेजीकरणबाटै एमालेलाई गुडबुकमा राख्न मिल्ने बनाउन दिल्ली सफल भएको छ भन्नु अन्यथा हुनेछैन ।

प्रचण्डले गरेको क्रमभंग के हो भने, उनले पहिलो पटक नेपालको संविधान अन्तर्गतको कुनै पनि स्वदेशी शक्तिलाई दुस्मन घोषणा गरेनन् । त्यसो गर्नेबित्तिकै हिजोका परम्परागत ‘साम्राज्यवादी’ र ‘विस्तारवादी’ भनिएकाहरूप्रति शास्त्रीय परम्परा धान्नु नपर्ने स्वतः स्पष्ट भयो । यही कारण प्रचण्डले विश्वका पिछडिएका तथा विकासोन्मुख देश अनि श्रमजीवी जनता एवं विश्व एकाधिकार र दलाल पुँजीवादबीचको अन्तरविरोधलाई नै मुख्य अन्तरविरोध मान्न पुगे । पहिलेजस्तो अन्तर्राष्ट्रिय रूपमा ‘अमेरिकी साम्राज्यवाद’ र क्षेत्रीय रूपमा ‘भारतीय विस्तारवाद’ वा ‘प्रभुत्ववादी शक्ति’ लाई मुख्य दुस्मन भन्ने विश्लेषणमा माओवादी केन्द्र अलमलिएन ।

माओवादी महाधिवेशनको अन्तमा हतारमा गिरिराजमणि पोखरेलले वाचन गरेको ४५ बुँदे समसामयिक प्रस्ताव पारित गरिएको चर्चा भए पनि माओवादी नेतृत्वले हालसम्म त्यसलाई आधिकारिकता दिएको छैन । ४५ बुँदे प्रतिवेदनमाथि पानी फ्याँक्ने ४५ बुँदे प्रस्तावको कुनै अर्थ पनि छैन । त्यो बेवारिसे प्रस्तावका दुइटा बुँदामा भारतनीतिबारे परम्परागत रूपकै बेढंगी भाषामा (राजनीतिक प्रतिवेदनको स्पिरिटसँग तादात्म्य नमिल्ने) उल्लेख गरिएको थियो । त्यसले भित्रभित्रै तुफान ल्याएर प्रस्तावै तुहिन पुगेको हुनुपर्छ । राजनीतिक प्रतिवेदनविरुद्ध कुनै कुरा जस्केलाबाट छिराउनु आफैंमा बेइमानी हो । जे भन्न खोजेको हो, त्यो प्रस्टै भनिनुपर्छ । कतै भन्न खोजेजस्तो स्वाङ गर्नुपर्ने, कतै भनिएकै छैन भन्नुपर्ने द्वैध प्रवृत्तिबाट मुक्त नहुने हो भने माओवादी केन्द्र रूपान्तरित भइसक्दा विसर्जन पनि हुन सक्छ ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा विश्व पुँजीवाद र डिजिटल क्रान्तिबारे जबर्जस्त व्याख्या गर्ने जमर्को देखिन्छ । सम्भवतः शास्त्रीय मार्क्सवादी परम्परा अनुसार केवल वर्गसंघर्ष र अनिवार्य बल प्रयोगको सिद्धान्तको पछिल्लो व्याख्याले प्रचण्डलाई नवमार्क्सवादी धारणाको नजिक धकेलिदिएको छ, जहाँ पर्यावरण, नागरिक समाज, मिडिया, समुदाय र अन्य गैरभौगोलिक तथा नैतिकतावादी समूहहरूको समेत सामाजिक आन्दोलन र परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहने गर्छ ।

यति बेला नेपालको परिवेश र विश्व भूराजनीतिक परिदृश्य मौलिक रूपमा बदलिएको छ । शोषणको रूप एक नभएर अनेक भएको छ भने राष्ट्र, राष्ट्रियता र अन्तर्राष्ट्रियतावादलाई भूमण्डलीकरणको कुहिरोले छोपेको छ । यही तुँवालोभित्रबाट यथार्थवादी धरातलमा उभिएर बाहिर निस्कन चाहेको हो भने प्रचण्डले पछिल्लो प्रतिवेदनको समुचित व्याख्या गर्नुपर्ने हुन्छ । अन्यथा बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र मदन भण्डारीको जबजको हालत अहिले जसरी तन्नम भएको छ, प्रचण्डको धारणाले त्यस्तो ‘स्पेस’ पनि पाउनेछैन । प्रचण्डको यस्तो धारणा शान्ति सम्झौताकै समयमा आएको भए के हुन्थ्यो भन्ने अनुमान गर्नेबित्तिकै माओवादी कित्ताको शास्त्रीय समूहको पनि निद्रा खुल्न सक्छ । यति बेला कुनै अपराध भएको छैन, गम्भीर भूल भएको आजभन्दा डेढ दशकअघि नै हो, जसलाई प्रचण्डकै दस्तावेजले स्पष्ट भाषामै भनेको छ ।

सशस्त्र संघर्षको उत्कर्ष र माओवादीको राजनीतिक डिपार्चरको अन्तिम विन्दुमा भएको चुनबाङ बैठकमा प्रचण्ड र बाबुराम भट्टराईको भाषण दार्शनिक प्रवचनजस्तै बनेको भिडियो सार्वजनिक भएको थियो । बाबुरामले आइन्स्टाइनको ज्ञान सिद्धान्तको चर्चा गर्दै प्रचण्डलाई लेनिनसँग तुलना गरेका थिए । प्रचण्डले आफ्नो नेतृत्व समूहलाई सर्वश्रेष्ठ वैज्ञानिकहरूसँग तुलना गरेका थिए । ‘कूटनीतिक कला भनेको शत्रु नबनाई लक्ष्य गर्ने सीप हो’ भन्ने आइज्याक न्युटनको ज्ञान प्रचण्डमा ढिलो गरी यति बेला आएको पनि हुन सक्छ । ढिलो भएको बारेमा त प्रचण्डले ४५ पृष्ठ लामो दस्तावेजमा कठोर ढंगले स्वीकार गरेका छन् । तथापि फ्रान्सेली बौद्धिक मिसेल फुकोले भनेजस्तै, सत्तामा नभएका बेला ‘एक अथक ज्ञान र वैकल्पिक स्रोतहरू खोज्ने काम’ मा राजनीतिक पार्टीका नेताहरूबाट कति आशा गर्न सकिएला, अर्को गम्भीर प्रश्न त छंँदै छ । यही कारण नै तत्कालीन परिवेशमा महान् भनिएका लेनिनसँग रोजा लक्जेम्बर्गले राजनीतिक पौंठेजोरी खेल्ने हिम्मत गरेकी थिइन् ।

‘सरकारका समर्थक वा पार्टी सदस्यहरूका लागि मात्र हुने स्वतन्त्रता स्वतन्त्रता होइन, स्वतन्त्रता भनेको फरक सोच हुनु हो’ भन्ने धारणा अघि सार्ने रोजा स्वयं जर्मन मजदुर पार्टीकी प्रमुख नेता पनि थिइन् । तर आजको परिवेशमा वामपन्थी पार्टीहरूमा यस्तो स्पष्ट विचार राख्ने मानिस कति होलान् ? यस सन्दर्भमा नेपालका राजनीतिक पार्टीहरूभित्रबाटै स्मरण गर्दा प्रदीप गिरिको नाम निःसंकोच लिन सकिन्छ । तर कम्युनिस्ट पार्टीहरूमा त्यस्तो नवीन विचार र धारणाको सर्वथा अभाव छ । बरु बढी परम्परावादी बनेर कथित क्रान्तिकारी भन्ने होडजस्तो देखिन्छ ।

यही कारण घरेलु वा विदेशनीति चयनको जिम्मा मानौं आधुनिक राजनीतिशास्त्री मेकियाभेलीलाई दिइएको छ, ‘राजा वा शासक (वा, पार्टी प्रमुख) ले जे भन्छ, त्यही नै सत्य हो ।’ तर यो, प्रचण्ड र ओलीकै शब्द र सम्भवतः बुझाइमा समेत, एक्काइसौं शताब्दीको सूचना प्रविधि र पुँजीले वैश्विक शासन गरेको समय हो, सोह्रौं शताब्दी होइन । नेपाली राजनीति आधुनिक विचारकहरूमाथिको विमर्शबाट लाभ लिनेभन्दा ‘मेकियाभेलियन फोबिया’ मै रमाउन मन पराउने परम्पराबाट बाहिर निस्कन सकेको छैन । त्यसकै मुख्य हिस्सेदारमध्येको एक माओवादी केन्द्र कति अछुतो रहला ?

शक्ति भनेको सामाजिक परिप्रेक्ष्यमा आफ्नो स्वार्थ थोपर्ने यस्तो मौका हो, जहाँ अवसर र इमानदारीको समेत वास्ता हुँदैन भन्ने नवमार्क्सवादी अध्येता म्याक्स वेबरको धारणासँग नेपाल र भारतबीचको सम्बन्ध मेल खाएको मान्न पनि सकिन्छ, पछिल्ला वर्षहरूमा । नेपालको संविधान निर्माण, नेकपाको एकता र विभाजन तथा नेपालको संसद्बाट सर्वसम्मत रूपमा नयाँ नक्सा जारी गर्ने प्रपञ्चजस्ता घटना यसका ज्वलन्त उदाहरण हुन् । निष्कर्षमा, अझै पनि एमाले र माओवादी पार्टी नेतृत्व कार्यकर्ता र मतदातालाई नक्कली र शक्ति समूहहरूलाई असली बताउने मनोदशाबाट मुक्त भएका छैनन् । कूटनीतिमा हुनुपर्ने यसको ठीक उल्टो हो । पछिल्लो पटक एमाले र माओवादी महाधिवेशनले भारतनीतिबारे अख्तियार गरेको धारणा मौनता हो । तर आवश्यकताचाहिँ बढी सुस्पष्टता र सोहीअनुसारलाई पार्टी र देशलाई प्रशिक्षित गर्नुपर्ने हो ।

प्रचण्डलाई समकालीन नेपाली राजनीतिमा सबैभन्दा ‘करिस्म्याटिक’ नेता मानिन्छ । पछिल्लो पटक पार्टी महाधिवेशनको बन्दसत्रमा झन्डै तीन घण्टा बोल्दा पनि उनी त्यो छाप छोड्न सफल भए । तर प्रचण्डकै शब्दको धरातलीय यथार्थमा उभिन उनका लागि म्याक्स वेबरको भनाइ सापटी लिनु उपयुक्त हुनेछ, ‘करिश्मा माथिबाट आएको उपहार हो, जहाँ नेताले आफूभित्रबाट के गर्ने भनेर जान्दछ ।’ प्रचण्डले यस पटक कथित कम्युनिस्ट पार्टीहरूको कुनै अन्तर्राष्ट्रिय संगठन बन्न नसक्ने बताएर मौजुदा वैश्विक व्यवस्थासँग अनावश्यक निहुँ नखोज्ने नीति लिएका छन् । यो माओवादी केन्द्रको अर्को नीतिगत सिफ्ट हो । तसर्थ आगामी दिनमा प्रचण्डले घरेलु तथा छिमेक नीतिमा आफूमा अन्तर्निहित करिश्माको कति र कसरी उपयोग गर्नेछन् भन्नेमा उनको दल र विशेष गरी नेपालमा वामपन्थको भविष्य निर्धारण हुनेछ ।

जसरी नेपालका प्रमुख दुई वाम पार्टीहरूबारे अन्य दलप्रति जसरी नै चर्को राजनीतिक आलोचना र आम जनता तथा बुद्धिजीवीबीच नकारात्मकता छ, त्यो समयमा कथित परम्परागत ढर्राबाट बाहिर निस्कन खोजिएको प्रयत्न नराम्रो होइन । नेपोलियनको भूगोलले मित्र र शत्रु निर्धारण गर्छ भन्ने युद्धकालीन धारणा एक्काइसौं शताब्दीमा आइपुग्दा पुँजी, प्रविधि र भूमण्डलीकरणको प्रवाहले शत्रु र मित्र बढीभन्दा बढी आर्थिक लेनदेनको तहमा सिफ्ट भएको छ । यही सन्दर्भमा भूगोलको जोखिमभन्दा भूराजनीतिक वैश्विक रणनीतिक दाउपेच खतराको स्तरमा पुगेकाले विश्वपरिवेशलाई थप होसियारीसाथ नयाँ तरिकाले हेर्नुपर्नेछ ।

पार्टी विभाजनका बावजुद आगामी दिनमा पनि वाम ‘डोमिनेटेड’ सरकार बन्न सक्ने प्रचुर सम्भावना जीवितै रहेका सन्दर्भमा वाम दल र तिनका नेतृत्वले छिमेकीबाट कति आर्थिक फाइदा लिन सक्नेछन् भन्नेमा उनीहरूले अख्तियार गर्न खोजेको व्यवहारवादी कूटनीतिको सफलता निर्भर गर्नेछ । अन्यथा मौनताको मूल्य अरू बढी चर्को पनि पर्न सक्नेछ भन्नेबारे माओवादी केन्द्रको नेतृत्व समूह सचेत र चुनौतीलाई रचनात्मक रूपमा स्वीकार गर्न तयार हुनुपर्छ । उता, एमाले नेतृत्व समूहलाई भने माओवादीका तुलनामा जोखिम कम र सनातनी अवसर त यथावत् नै छ ।

प्रमुख राजनीतिक पार्टीहरूको विदेशनीति र देशको कूटनीतिक मार्गचित्रको मूल खाकामा तादात्म्य यति बेलाको अर्को आवश्यकता हो । क्षणिक राजनीतिक लाभका लागि विगतमा गरिएका अदूरदर्शी निर्णय र नीतिको मूल्य त फेरि पनि यिनै दलहरूले चुक्ता गरिरहनुपर्छ नै ।

प्रकाशित : माघ १८, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

महिला तस्करी, अनुराधा र खड्गबहादुर

अग्लो बिल्डिङबाट कसैले एउटा कागज फ्याँकेपछि खड्गबहादुर सिंह विष्टले उकालो हेर्दा एउटी महिलाले त्यो पढ्न भनी इसारा गरिन्। उनले हतारसाथ पत्र खोलेर पढे। बनारसमा बस्ने एक नेपालीले ती अठार वर्षीया राजकुमारी मैयालाई झुठो आश्वासन दिएर कलकत्ता ल्याई व्यापारीलाई बेचेका रहेछन्।
महेन्द्र पी‍. लामा

लगभग सय वर्षअघिको अखिल भारतीय गोर्खा लिगको कलकत्ता प्रशाखाका मूल मन्त्री खड्गबहादुर सिंह विष्ट र आजको काठमाडौंस्थित अनुराधा कोइरालाको नेतृत्वमा रहेको माइती नेपाललाई एउटै मञ्चमा उभ्याएर देह व्यापारका निम्ति गरिने नेपाली महिलाहरूको तस्करीबारे सोधे सायद एउटै जवाफ पाउँछौं । महिला तस्करी बजार व्यवस्थाको एउटा अभिन्न अंग हो ।

बजारमा झैं माग र आपूर्ति (डिमान्ड–सप्लाई) को एउटा समागम हो । डिमान्ड छ र नै सप्लाई हुन्छ अनि बजार व्यवस्था कायम रहन्छ । अर्कातिर, अर्थशास्त्रमा सेजको नियम भनेझैं सप्लाई पहिलो कुरो हो, डिमान्ड स्वतः हुन्छ । बजार व्यवस्था नै मूल्य र मुनाफामा आधारित भएको हुनाले जुन वस्तु बजारमा ल्याउँदा मूल्य–मुनाफा हुन्छ, त्यही वस्तुमाथि व्यापार–वाणिज्य अघि बढ्छ । वस्तु केही–कुनै पनि हुन सक्छ— डाइजेस्टिभ बिस्कुट, अमूलको मक्खन, सामसुङको फ्रिज, फ्रान्सको राफेल हवाईजहाज, कोभिडको खोप र सिंगल माल्ट ह्विस्की । यी सबै पुँजीपतिहरूले कारखानामा बनाउँछन् र बजारमा ल्याउँछन्, जनता–जनार्दन उपभोक्ताको कल्याण–सन्तुष्टि–आपूर्तिका निम्ति । तर यी सबै सामान–वस्तुहरू निष्प्राण हुन्छन्, मुस्कान र आत्मा हुँदैन र बोल्न सक्तैनन्, पीडा–चीत्काररहित हुन्छन् ।

देह व्यापारका निम्ति महिलाहरूको तस्करी र मूल्य–मुनाफाका निम्ति मात्रै वस्तु उत्पादन गर्ने कारखानाहरूबीच भिन्नता यही छ । एउटाले निर्जीव वस्तुहरू बेच्छ र अर्कोले जीवित । तथापि बजार व्यवस्थासँग मेल खाने काम भने दुवैले गर्छन् । अर्कातिर, प्राण भएको व्यक्तिले निष्प्राण ओप्पो मोबाइल र हुन्डाई गाडी निर्माण गर्छ, उतापट्टि फेरि प्राण भएको व्यक्तिलाई निष्प्राण बनाउन बजारमा घुसाउँछ । बजार व्यवस्था हुँदाहुँदै, चीजबीजको किनबेच हुँदाहुँदै अनि डिमान्ड र सप्लाईको खेल रहँदारहँदै, महिला–बालिकाहरूलाई बजार व्यवस्थाको वस्तु बन्न नदिन कोसौं दूर आपूर्तिका केन्द्रहरू नै भत्काउने प्रयास गर्छन् अनुराधा र खड्गबहादुरहरू । कारण, महिला तस्करी र देह व्यापारको जड नै गरिबी–असाक्षरता र अनभिज्ञतामा मुछिएको परिस्थिति हुन् । यसको मुटु नै आफ्नै राष्ट्रले लाजै नमानी अविकसित राखेका परिवार, समुदाय र गाउँघर हुन् । र यसको आत्मा नै सत्ता–सरकार–राज्यले बनाएको निन्दनीय प्रथा र प्रणाली हुन् ।

सन् १९२० को दशकमा कलकत्तामा भएको घटनाक्रम र त्यसको सय वर्षपछि सन् २०२० को दशकमा हुँदै गइरहेको उत्पीडनले नेपाली महिलाहरूको तस्करीलाई सीधै जोड्छ अनि सबैमा फेरि करुणा र केही गर्न नसकेको बोधको डढेलो लाग्छ । अनुराधा र खड्गबहादुरको समाज–जाति–राष्ट्रप्रतिको झुकाव र योगदानका कथाहरू उल्लेखनीय र अद्वितीय नै छन् ।

अप्रिल १९२६ मा कलकत्तामा गोर्खा कल्याण संघले चितपुर रोडको आफ्नो कार्यालयमा भारतको स्वतन्त्रता संग्राममा केही आर्थिक दान जुटाउन एउटा समारोह गरेको थियो । तिनताक खड्गबहादुर भर्खरै बीकममाथि कलेजको डिग्री हासिल गरेर स्वतन्त्रता संग्राममा होमिएका थिए । त्यस दिन संघको सभामा गइरहेको समय एउटा अग्लो बिल्डिङबाट कसैले तलतिर एउटा कागज–चिठी फ्याँकेपछि उनले उकालो हेर्दा एउटी महिलाले त्यो चिठी पढ्न भनी इसारा गरिन् । उनले हतारसाथ पत्र खोलेर पढे । त्यहाँ लेखिएको थियो— पद्मप्रसाद भनिने बनारसमा बस्ने एक नेपालीले ती अठार वर्षीया राजकुमारी मैयालाई झुठो आश्वासन दिएर कलकत्ता ल्याई व्यापारी हीरालाललाई बेचेछन् । हीरालालले राजकुमारीलाई आफ्नै घरमा देह व्यापारमा राखेको रहेछ । खड्गबहादुरलाई यस पत्रले अवाक्–भावुक मात्रै नबनाएर, उनलाई कैयौं नेपाली महिलालाई तस्करी गरी बनारस हुँदै कसरी कलकत्ता पुर्‍याइँदो रहेछ भन्ने कुराले घोच्न थाल्यो । राजकुमारीलाई हीरालालबाट कसरी मुक्ति दिलाउने र खोसेर घर पुर्‍याइदिने भन्नेतिर उनले सोच्न लागे । अन्तमा उनले तय गरे— तस्करीको यो घीनलाग्दो शृंखला र रोगलाई स्वाहा पार्न हीरालालको हत्या गर्नैपर्छ ।

केही दिनपश्चात् खड्गबहादुर अर्कै पहिरन लगाई धारिलो खुकुरी बोकेर हीरालालको घर पुगे । कुरा कोट्याउनलाई र सच्चाइ बुझ्नलाई उनले हीरालाललाई भने, ‘मलाई बनारसबाट पद्मप्रसादले पठाएका हुन् ।’ यति भन्दा नै हीरालालले उनलाई घरभित्र पसायो र आफ्नो भव्य बैठककोठामा बसायो । हीरालाललाई देखेर उनी तीनछक परे । चाउरी परिसकेको वृद्ध, केश रंगाएको र सिरानीमा अडेस लागेर कुराकानी गर्ने । उनले अझै कुरा बुझ्न भने, ‘पद्मप्रसादले सोह्र–सत्र वर्षका दुई ठिटीहरूलाई बनारस ल्याएका छन् । तर तपाईंकोमा पुर्‍याउनलाई अलिक निकै पैसा चाहिन्छ भन्दै छन् । उनले तपाईंलाई बनारस आउन भन्नका लागि मलाई यहाँ पठाएका हुन् ।’ हीरालालले गदगद हुँदै भन्यो, ‘मैले राजकुमारीलाई पाउन त्यति धेरै रकम दिएको थिएँ तर यसलाई मैले कज्याउनै सकेको छैन, अहिलेसम्म पनि ।’ खड्गबहादुरलाई यही कुरो टुंगो गर्नु थियो । अनि त्यति नै बेला उनले धारिलो–चम्किलो खुकुरीले हीरालालको हत्या गरिदिए । त्यसपछि पद्मप्रसादलाई पनि मार्छु भन्दै उनी बनारस जान लाग्दा मन फर्काएर नजिकैको लालबजार पुलिस थानामा गए र मैले यसो गरें भन्दै आफूलाई सुम्पिए ।

अर्को दिन हीरालालको हत्याबारे समाचार चारैतिरका खबरकागजको शीर्ष स्थानमा छापियो । भय र त्रासले हीरालालजस्तै अन्य धेरैले शारीरिक मज्जाका निम्ति राखेका कैयौं नेपाली महिलालाई मुक्ति दिए । खड्गबहादुर सिंह विष्टलाई रिहा गरिनुपर्छ भन्दै कलकत्ता महानगरीभित्र भयानक रूपमा विरोध प्रदर्शन सुरु भयो । कसैले रिहाइका निम्ति पैसा–धन बटुल्न थाले, कसैले न्यायाधीशलाई पत्र लेखे । न्यायालयमा उभ्याइएका खड्गबहादुरले भने, ‘मैले केही भूल गरेकै छैन, कानुनमुताबिक वा नैतिक आधारमा । मैले हीरालालको हत्या गरेको हुँ । तर यदि मेरो दायित्व यस्तो घटना देख्दा पनि चुप लागेर बस्नु हो, आफ्नै चेलीबेटीको पीडा–दुःखमा मौन धारण गर्नु हो भने अनि यदि म समाजका निम्ति हीरालाल र त्यस्तै दुष्टहरूभन्दा अझै खतरनाक छु भने मलाई सजाय दिनुहोस् ।’ तर न्यायाधीश ग्रेगोरीले आठ वर्षको सजाय घोषणा गरे । उनलाई कारावासमा थुनियो । व्यापक विरोध सुरु भयो ।

यसैबीच अखिल भारतीय गोर्खा लिगका अध्यक्ष र देहरादूनबाट निस्कने अंग्रेजी पत्रिका ‘हिमालय टाइम्स’ अनि नेपाली पत्रिकाहरू ‘गोर्खा संसार’ र ‘तरुण गोर्खा’ का सम्पादक ठाकुर चन्दन सिंहले यस सजायका विरुद्ध युद्ध नै छेडे । भारतभरि नै विरोधको आवाज उठाउँदै ठाकुर चन्दन सिंह — जो भारतीय स्वतन्त्रता संग्राममा अहम् भूमिका निभाउँदै थिए — ले चारैतिर सभा–जुलुसहरू गर्न थाले । आइतबार २७ मार्च १९२७ मा उनले कलकत्ताको अल्बर्ट भवनमा ठूलो सभा गरे र तिनताकका नेताहरू सुवासचन्द्र बोस, बीसी रोय, सरोजिनी नायडु, मोतीलाल नेहरू, वीर सावरकर, महात्मा गान्धी, पण्डित नेहरू आदिलाई खड्गबहादुरको रिहाइको अपिल गरे । भनिन्छ, कलकत्ताको त्यस दिनको जुलुसमा एक लाख मानिसले भाग लिएका थिए । ठाकुर चन्दन सिंहले अति नै मन छुने भाषण दिएका थिए । भाषणमा उनले खड्गबहादुरलाई दिएको सजाय अति नै कडा एवं भर्त्सनायोग्य हो भन्दै दुष्टहरूको विरोधमा लड्ने समाजसेवक र देशभक्तहरूलाई नियम–कानुनले छुट्याउन सक्नुपर्छ भने । सभामा गोर्खा, बंगाली, युरोपेली जाति सबैले बोले र सजायको निन्दा गरे । विपिनचन्द्र पालले सभाको अन्ततिर प्रस्ताव पढी सुनाए, जसमा त्यसताकका राज्यपाललाई खड्गबहादुरलाई रिहाइ गर्ने अपिल गरिएको थियो । कलकत्ताका अखबारहरूले सम्पादकीयहरू पनि लेखे । नभन्दै दुई वर्ष बाह्र दिन कारावासमा बसेपछि खड्गबहादुरलाई ३१ मार्च १९३० मा रिहा गरियो, सधैंका लागि । उनले अब सबै महिलालाई आफ्नै दिदी–बहिनी सम्झँदै र मान्दै जीवनभरि विवाह गर्नेछैन भन्ने प्रण गरे । र उनकै अभिन्न साथी खरसाङका नारायण प्रधानले ती राजकुमारीलाई २४ अप्रिल १९३० मा विवाह गरे ।

महिलालाई तस्करी गरेर देह व्यापारमा हाल्ने दलाल गिरोहका निम्ति एउटा सग्लो धक्का थियो यो । स्वतन्त्रता संग्राममा होमिएका सम्पूर्ण भारत–कलकत्तावासीहरूका निम्ति ब्रिटिस साम्राज्यको विरोधमा एउटा नौलो सामाजिक लडाइँ थियो यो । ठाकुर चन्दन सिंहले आफ्नो राष्ट्र भारतका निम्ति र नेपालमा राणा शासनको विरोधमा गरेका कतिपय प्रयत्नबारे मैले दिल्लीस्थित साहित्य अकादमीद्वारा प्रकाशित पुस्तक ‘ठाकुर चन्दन सिंह’ मा विस्तृत रूपमा जानकारी दिएको छु । सन् १९९७ मा अकादमीको प्रतिष्ठित साहित्य शृंखला ‘मेकर्स अफ इन्डियन लिटरेचर’ अन्तर्गत प्रकाशित यस पुस्तकमा जी छिरिङले लेखेको लेख ‘वीर खड्गबहादुर सिंह विष्ट’ (‘हाम्रो संसार,’ कलकत्ता, अक्टोबर–नोभेम्बर १९६१) र हिमाचल प्रदेशको धर्मशालास्थित भाग्सुको श्याम नगरका मगन पथिकको सन् १९८७ मा छापिएको पुस्तकको सन्दर्भ पनि चलाइएको छ ।

सन् २०१० मा सिक्किम विश्वविद्यालयको ‘विश्व व्याख्यान शृंखला’ मा महिलाहरूको तस्करीबारे बोल्न विश्वप्रसिद्ध संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई गान्तोकमा निम्त्याइएको थियो । गान्तोकको चिन्तन भवन विद्यार्थी–शिक्षक–अतिथिहरूको भीडले खचाखच थियो । पहिले त सबैले मानेकी, तस्करी विरोधकी योद्धालाई हेर्न अनि फेरि के भन्छिन् भनी सुन्न पनि । अनुराधाले देह व्यापार गर्नलाई किन, कहाँ, कसरी महिलाहरूको तस्करी गरिन्छ, कसले तस्करी गर्छ, भारत–नेपालको सिमाना कसरी पार गराइन्छ, यता नेपालमा उता भारतमा दलालहरूको गिरोहबीच के–कस्तो सम्बन्ध हुन्छ र कुन मार्ग अपनाएर यी अबोध महिला–बालिकाहरूलाई दिल्लीको जीबी रोड, कलकत्ताको सोनागाछी, सिलिगुडीको खालपाडा, बम्बईको कामठीपुरा र अन्य धेरै सहर–नगरमा पुर्‍याइन्छ भन्ने कुरा अति नै मर्मस्पर्शी ढंगमा राखिन् । चिन्तन भवन सुनसान थियो, उनले अब के भन्छिन् भनेर । बिस्तारै वर्णन गर्दै उनी अघि बढिरहिन् ।

वेश्यालयको कोठाबाहिर र भित्र के हुन्छ, कसरी महिला–बालिकाहरूलाई कुखुरा–बाख्राझैं खाँदेर राखिन्छ, वेश्यावृत्तिमा अघि बढ्नै नमान्नेहरूका शरीरका विशेष अंगहरू कसरी जलाइन्छन्–पोलिन्छन्, शारीरिक यातनाको टुप्पोमा सम्भोगका कुरूपहरू कसरी अघि ल्याइन्छन् भन्दै दृश्यहरू आँखाअघि देखाइदिएपछि प्रायः सबै सुँकसुँक गर्दै रोएका थिए । त्यति मात्रै कहाँ हो र, महिला–बालिकालाई कसरी फकाइन्छ, भगाइन्छ र वेश्यालयमा पुर्‍याइन्छ भन्नेसम्मका कारुणिक दृश्यहरूसमेत देखाइए ! कहिल्यै सहर नदेखेका, कहिल्यै राम्रो नखाएका र लुगाफाटा नलगाएका, गरिबीले आमाको गर्भमै थिचेका, जन्मेपछि फेरि गरिबीको ओखलीमा पिसिएका, केही खान–लाउन पाउँछु कि, आफ्नो परिवारलाई गरिबी–पीरमर्काको आगोबाट निकाल्न सक्छु कि भन्ने सपना देख्ने यी महिला–बालिकाहरू तस्कर–दलालहरूको जालमा कसरी फस्छन् भन्दै अनुराधाले अविरल ढंगमा सुनाएको दर्दनाक कथा सुन्नेहरूले आफू नै दलालको जालमा फसेको अनुभव पनि गरेका थिए ।

अनुराधाले वेश्यालय र सर्कसदेखि टाढा दुबई, अफ्रिका, अमेरिका, थाइल्यान्डमा पनि नेपाली महिलाहरूको तस्करी कसरी हुँदै छ, कसरी कतिका किड्नीसम्म बेचिँदै छन् र कसरी श्रीलंकाको कोलोम्बो, भारतको मणिपुर र बंगलादेशको चटगाउँजस्ता तस्करीका नयाँ मार्गहरू खोलिएका छन् भन्ने भयानक प्रवृत्तिहरूबारे समेत जानकारी दिइन् । अनुराधाको डेढ घण्टाको वार्ताले विद्यार्थी–शिक्षकहरूमा आगो नै बाल्यो । धेरैले अनुराधाको बाटो र पेसा अपनाए, अनि धेरैले यस विषयमा अध्ययन गर्दै डाक्टरेट डिग्रीसमेत पाउँदै छन् । सभाको अन्तमा, विश्वविद्यालयको कुलपति भएकाले मैले बोल्नैपर्ने थियो । दार्जिलिङ तलतिरको जिङलाम चिया कमानमा भारतीय सेनाको एउटा प्रतिष्ठित परिवारमा जन्मेकी अनुराधाका पिता–मातालाई फुटबल खेल हेर्दा सदैव देखेको र उनकै दाइ अभय गुरुङ फुटबलमा हाम्रो आदर्श नै भएको कुरो बताउँदै आँखा रसाएका श्रोता वर्गलाई अर्को दिशातिर लैजाने कोसिस गर्दै थिएँ, अचानक मभित्रको ‘म’ ले अघिका दृश्यहरू आँखाअघि ल्याएपछि मैले पनि उभिईउभिई आँसु झारेको थिएँ । र नै हाम्रो हिउँदे यात्रा कार्यक्रममा मानव तस्करीबारे एउटा विशेष प्रोजेक्ट सुरु गर्‍यौं ।

पछि, एक दिन अनुराधा कोइरालासँग फेरि भेट भयो । आङ जिरिङ्ङ भयो । सन् १९८० मा दिल्लीमा मदर टेरेजालाई भेट्दाझैं नतमस्तक भएँ । उनीमाथि मैले ‘विश्वशान्तिको छहारीमा’ शीर्षक पुस्तक लेखेको थिएँ । मैले पुस्तक प्रदान गर्दा मदरले चिसो कठ्यांग्रिएको हात मेरो शिरमा राख्दा शरीर नै न्यानोपनले बलेको थियो । अनुराधाले यस भेटघाटमा सुनाएको तस्करीमा लागेका नेपालका एक दलालले कसरी सुध्रिएर डाक्टरेट डिग्री हासिल गरे र आफ्नी श्रीमतीलाई मन्त्रीसमेत बनाए भन्ने घटनाले मलाई खड्गबहादुर सिंह विष्टको याद दिलायो । अनुराधाले बम्बईबाट ती दलाललाई पक्रेर काठमाडौं पुर्‍याउँदा उनको नग्न शरीर–अंग ढाक्न तौलिया–गम्छा बेर्नुपरेको थियो रे ! न्यायालयले कैयौं वर्षका लागि कारावासमा पठाएपछि अनुराधालाई उनले बिन्ती गरेका थिए रे, ‘म झ्यालखानाभित्रबाटै शिक्षा हासिल गर्छु ।’ अनुराधाले आफ्नै खर्चमा उनलाई पीएचडीसम्म गराइन् । जेलबाट छुटेपछि उनले कारावास सुधारको एनजीओ पनि खोले र पछि एउटा राजनीतिक दलको सचिवसम्म बने । अनुराधाले पनि खड्गबहादुरझैं राष्ट्र–समाज–समुदायले भोगेको, विकराल रूप धारण गरेको देह व्यापारको रोगलाई जरैबाट उखेलेर फ्याँक्ने जमर्को गर्दै छिन् ।

सरकार–राजनीतिक दल–न्यायालय–समाज सबैले एक भई यो राष्ट्रिय रोगलाई उन्मूलन गर्नैपर्ने हो । नेपालजस्तै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका पनि ऐतिहासिक रूपमा पीडित रहेकाले नै सन् २००२ मा सार्कस्तरमा यसमाथि विशेष हमला गर्न सामूहिक सम्झौतामाथि हस्ताक्षर नै गरेका छन् । तर सार्कका अन्य कार्य र कार्यक्रमझैं यो सम्झौता पनि कार्यान्वयन हुनै सकेन । सरकारहरूको सम्झौता फेल भयो, अब जनता–जनार्दनबीच सम्झौता हुनुपर्छ । अनुराधा कोइरालाले आफ्नो जीवनको यात्रामा यो काम फत्ते गर्नु नै पर्छ, सबै–सबैलाई साथमा लिएर । खड्गबहादुर सिंह विष्टले हीरालालको हत्या गर्दा देखेको सपना तब मात्रै पूरा–विफना हुन्छ ।

प्रकाशित : माघ १८, २०७८ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×