संविधानका आँखामा चोलेन्द्रशमशेर राणा- विचार - कान्तिपुर समाचार

संविधानका आँखामा चोलेन्द्रशमशेर राणा

बलराम केसी

चोलेन्द्रशमशेर राणाका दुई व्यक्तित्व छन् । एउटा, नेपालको संविधान–२०७२ को धारा १६(१) बमोजिम ‘सम्मानपूर्वक बाँच्न पाउने’ मौलिक हक सम्पन्न नागरिक व्यक्तित्वको । यो हैसियतमा उनलाई धारा २८ को गोपनीयताको हकले संरक्षण गर्छ । यो हैसियतका चोलेन्द्रशमशेर राणाका बारेमा छलफल, चर्चा वा आलोचना हुन सक्दैन ।



उनको अर्को व्यक्तित्व संविधानको धारा १२९(१) अनुसार सार्वजनिक पद धारण गरेको सर्वोच्च अदालतको प्रधान न्यायाधीशको हो । दोस्रो व्यक्तित्वले सर्वोच्च अदालत ऐन–२०४८ को दफा ८ अनुसारको ढाँचामा शपथ खाएको हुन्छ । शपथ खाएपछि उनि दोस्रो व्यक्तित्व हुन्छन् । यो व्यक्तित्वको शपथले गर्दा उनले गरेको हर काम ‘पब्लिक डोमेन’ भित्र पर्छ । यो व्यक्तित्वको हर कामको चर्चा हुन सक्छ । यो लेख यही दोस्रो व्यक्तित्वमा केन्द्रित छ ।

दोस्रो व्यक्तित्वका चोलेन्द्रशमशेर राणा राज्यका तीन अंगमध्येको न्यायपालिकाका नेता हुन् । ६०१ जना सभासद्ले बनाएको संविधानको व्याख्या गर्ने अधिकार राख्छन् । २७५ सांसदले बनाएको कानुनको संवैधानिकता परीक्षण गर्ने अधिकार राख्छन् । संविधानसँग बाझेको देखिएमा अन्य चार न्यायमूर्तिलाई साथ लिएर त्यस्तो ऐन बदर गर्ने अधिकार राख्छन् । संविधान नै पनि तोकिएको प्रक्रियाविपरीत संशोधन भएको रहेछ भने त्यस्तो संशोधनसमेत अमान्य गर्ने अधिकार राख्छन् । कार्यकारी प्रमुख प्रधानमन्त्रीले गरेको कार्यकारी निर्णय स्वेच्छाचारी, मनपरी, कानुनविपरीत, भेदभावकारी, प्राकृतिक न्यायको सिद्धान्तविपरीत अधिकार मिचेर गरिएको रहेछ भने राष्ट्रप्रमुखको अनुमोदन भए पनि बदर गर्ने अधिकार राख्छन् । संविधान, स्वतन्त्र न्यायपालिका, मौलिक हक र मानव अधिकारको अभिभावक र संरक्षकको हैसियत राख्छन् ।

दोस्रो व्यक्तित्वका चोलेन्द्रशमशेर राणा आफ्नै सहयोगीसहित सबै न्यायाधीशलाई आफैं नियुक्त गर्छन् । त्यस्तो परिषद्को आफैं अध्यक्षता गर्छन् । प्रदेश–प्रदेश र प्रदेश–संघ विवादमा पनि आफैं अध्यक्ष भएर निर्णय दिन्छन् । संवैधानिक र कानुनी प्रश्न समावेश भएको समाजमा चलेको गम्भीर मानव अधिकार उल्लंघन वा गम्भीर घोटाला आदि सार्वजनिक सरोकारका विषयमा अदालतमा कसैले निवेदन नल्याए पनि आफैं जानकारीमा लिएर सरकारलाई बोलाई कुरा सुनेर पूर्ण न्याय प्रदान गर्न आवश्यक जस्तोसुकै आदेश गर्ने असाधारण अधिकार राख्छन् । नेपालका प्रधान न्यायाधीशको अधिकार, भारतको भन्न सकिँदैन तर अमेरिका र बेलायतको सर्वोच्च अदालतका प्रधान न्यायाधीशको भन्दा बढी छ भन्न हिचकिचाउनुपर्दैन । अधिकार पाए पनि चोलेन्द्रशमशेर राणाले सही प्रयोग कहिल्यै गर्न सकेनन् । अधिकार कि दुरुपयोग गरे कि खेर फाले ।

उनी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सर्वाधिकारसम्पन्न छन् । अन्य न्यायाधीश बिचौलियाको नाइके बनेछन् भने वा भ्रष्टचार गरेछन् भने कारबाही गर्ने अधिकार राख्छन् । कुनै न्यायाधीशले तत्कालीन मुलुकी ऐनको अ.बं. १८८ र हालको फौजदारी कार्यविधिको ‘सेन्टेन्सिङ पोलिसी’ विपरीत ज्यादै दयालु र कोमल भएर चित्त दुखाई तल्लो अदालतले दोषी ठहर्‍याएकोलाई कारागार ऐन लगाएर सजाय स्वाट्टै घटाएर जेलमुक्त गरेछन् भने त्यस्तो न्यायाधीशलाई कारबाही गर्ने अधिकार राख्छन् । राजस्व र कर मुद्दामा सरकारलाई बेफाइदा र करदातालाई अत्यधिक फाइदा हुने गरी फैसला गरेका न्यायाधीशलाई कारबाही गर्ने अधिकार राख्छन् ।

विभिन्न संवैधानिक आयोगमा राम्रा, इमानदार, अनुभवी र विषयवस्तुको ज्ञान भएको व्यक्ति नियुक्त गर्न संवैधानिक परिषद् बनाइयो । त्यस्ता आयोगहरूमा नियुक्तिको जिम्मा कार्यपालिकालाई मात्र दिइयो भने भर्तीकेन्द्र बनाउँछ भनेर रोक्न प्रधान न्यायाधीशलाई त्यसमा दोस्रो नम्बरको सदस्य बनाइयो । त्यसैले उनले परिषद्मा प्रभावकारी अधिकार राख्छन् । त्यति मात्र होइन, व्यक्तिव्यक्तिबीचको अत्यन्त घरायसी र पारिवारिक निजी मुद्दासमेत हेर्न अधिकारसम्पन्न छन् । तर प्रधान न्यायाधीशले बदमासी अरूले गरे भने कारबाही गर्नुपर्नेमा आफैंले धेरै गरेका छन् ।

प्रधान न्यायाधीश आफैंमा एउटा संस्था हो । कानुनी शासन र नागरिकहरूको हकको अभिभावक हो । अदालत न्यायको मन्दिर हो । वरिष्ठताका आधारमा धेरै न्यायाधीशमध्ये प्रधान न्यायाधीश हुन पाएका चोलेन्द्रशमशेर राणाले नेतृत्व सम्हाल्न पाए । संवैधानिक परिषद् र संसदीय सुनुवाइले उनीमाथि विश्वास गर्‍यो । उनीबाट निष्पक्ष, स्वच्छ, इमानदारीपूर्वक न्याय र उच्च नैतिकता अपेक्षा गरिएको थियो । संसदीय सुनुवाइले पनि त्यही अपेक्षा गरेको थियो । त्यही अपेक्षामा उनलाई राष्ट्रपतिसमक्ष शपथ खुवाइयो । उनले खाने शपथको ढाँचा सर्वोच्च अदालत ऐन–२०४८ को दफा ८ मै ढालियो ।

शपथ खाँदा उनले त्यो ढाँचा अनुसार ईश्वर सम्झेर सार्वजनिक रूपमा भने, ‘म संविधान र कानुनको पालना गर्छु । म वफादार बन्छु । म कसैलाई पक्षपात गर्दिनँ । म लोभलालचमा पर्दिनँ ।’ यसको मतलब ‘म निष्पक्ष बन्छु, घूस कदापि खान्नँ’ भनेको हो । तर चोलेन्द्रशमशेर राणाले ईश्वर, भगवान् र नेपालीलाई ढाँटे । ३ करोड नेपाली र ईश्वरलाई पनि धोका दिए । गर्दिनँ भनेको कुरा सबै गरे । यो कुरा नेपाल बारको उनीविरुद्धको १७ बुँदे आरोपले देखायो । बारजस्तो जिम्मेवार संस्थाले भ्रष्टाचारी, बिचौलियाको नाइके, संवैधानिक अंगमा भागबन्डा खोजेको आदि भन्दै लिखित आरोप लगाउनु भनेको उनले ईश्वर र नेपालीलाई ढाँटेको र झुक्याएको बलियो प्रमाण हो । आज सर्वोच्च अदालत उनकै बन्धकमा छ ।

प्रधान न्यायाधीशको पदमा पुग्ने व्यक्तिले भ्रष्टाचार गर्ने त कुरै नगरौं, स्वतन्त्र न्यायपालिकालाई समेत कहिल्यै बन्धक बनाउन पाउँदैन । त्यो पदमा पुग्ने व्यक्तिले न्यायपालिकाको विश्वास र स्वतन्त्रतामा आँच आउन दिँदैन । आएछ भने राजीनामा गर्छ । पश्चात्ताप गर्छ । आत्मालोचना गर्छ । तर चोलेन्द्रशमशेर राणामा लाजसरम भन्ने रहेनछ । उनी सर्वोच्च अदालत विवादित बनेको हेरिरहेका छन् ।

प्रधान न्यायाधीशविरुद्ध बार आन्दोलनमा उत्रेको तीन महिना भइसकेको छ । चोलेन्द्रशमशेर राणाले राजीनामा मागलाई एक कानले सुनेर अर्को कानले उडाउने गरिरहेका छन्, कानमा तेल हालेर बसिरहेका छन् । बारको आन्दोलनको अन्त्यको बटम लाइन उनकै राजीनामा छ । अन्त्य कसरी र कहिले, बार आफैं भन्न नसक्ने अवस्थामा छ । २०७९ मंसिरमा प्रधान न्यायाधीश ६५ वर्ष पूरा भएर उमेरको हदका कारण अवकाश हुने बुझिएको छ ।

उनी ६५ वर्षमा अवकाश हुने र बारले आफ्नो इज्जत जोगाउन त्यही दिन ‘हाम्रो माग पूरा भयो, आन्दोलन आजैबाट अन्त्य गरिएको छ’ भनेर विज्ञप्ति जारी गर्न नपरोस् । बार भनेको हातमा कलम र मुखमा बोलीको शक्ति र तागत भएका बौद्धिक व्यक्तिहरूको संगठन हो । यस्तो संस्थाले ऐक्यबद्धताका लागि सडक आन्दोलन सांकेतिक रूपमा केही दिनका लागि गरेर अदालतको इजलासमा कानुनी लडाइँमा विश्वास गर्नुपर्ने हो । बारको पुनीत उद्देश्यमाथि शंका गरिएको होइन । तर बारले संसद् र सरकारको सहयोग र समर्थन पाएन । सरकार र संसद्को समर्थन त प्रधान न्यायाधीशले नै पाएको देखियो । यत्रो विरोध हुँदा पनि राजीनामा नगर्नुको मतलब संसद् र सरकारले ‘पदमा बसिरहे हुन्छ, राजीनामा गर्नु पर्दैन, हामी हटाउँदैनौं’ भनेर आश्वासन दिएका छन् भनी शंका गर्ने ठाउँ छ ।

बार र प्रधान न्यायाधीशबीचको शीतयुद्धया ‘आइस ब्रेक’ गर्ने संयन्त्र संविधानमा राखिएन । हाम्रो मात्र होइन, संसारभरकै संविधाननिर्माताहरूले न्यायपालिकाका बारेमा लेख्दा हाम्रा प्रधान न्यायाधीशजस्तो व्यक्ति पनि प्रधान न्यायाधीश हुन्छ र भनी संविधान बनाएकै हुँदैनन् । अन्य देशमा हाम्रा प्रधान न्यायाधीशजस्ता प्रधान न्यायाधीश हुँदैनन् । भैहाले पनि हाम्रो जस्तो आ–आफ्नै स्वार्थले भरिपूर्ण पाँचदलीय गठबन्धन सरकार हुँदैन । भैहालेछ भने पनि नेपालको जस्तो गैरजिम्मेवार र अवसरवादी विपक्षी दल अन्य देशमा हुँदैन । अन्यत्र यस्तो डेडलक नहुने हुनाले आइस ब्रेक गर्नुपर्ने संयन्त्र राखिँदैन ।

अन्यत्र प्रधान न्यायाधीश हाम्रोमा झैं तल्लो स्तरका र विवादित बन्दैनन् । बनिहाले पनि बारले बहिष्कार गर्नासाथ आफ्नो इज्जत र न्यायपालिका जोगाउन राजीनामा गर्छन् । शक्तिकेन्द्रबाट संकेत नआई यही अवस्थामा प्रधान न्यायाधीशको राजीनामा आयो भने अनौठो माने हुन्छ । प्रधान न्यायाधीशले राजीनामा तीन कारणले दिन्छन् । एउटा, जिम्मेवारीबोध गरेर । उनी आफैं गैरजिम्मेवार भएकाले जिम्मेवारीबोध गर्ने कुरा आएन । दोस्रो, न्यायपालिका नबिग्रियोस् भन्ने चिन्ताले । उनी स्वतन्त्र न्यायपालिकाप्रति भित्री मनले कटिबद्ध, वफादार, इमानदार व्यक्ति नै होइनन् । त्यसले गर्दा उनमा संस्था बिग्रेला भन्ने मतलब भएन । तेस्रो, महाभियोगको प्रस्ताव सामना गर्नु नपरोस् भनेर । तर महाभियोग नआउनेमा उनी ढुक्क छन् ।

नेपाल बारले प्रधान न्यायाधीशमाथिका विभिन्न सत्र आरोप लिखित रूपमै सरकार एवं प्रमुख नेताहरूलाई बुझाइसकेको छ । प्रधान न्यायाधीशमाथि भ्रष्टाचारी, बिचौलियाको नाइके आदि शब्द प्रयोग हुनु भनेको बोल्न पाइनेजति कडा बोलेको हो । त्योभन्दा तल गएर बोल्नु भनेको नांगो हुनु हो । तैपनि उनी पद छाड्दैनन्, न्यायपालिकालाई नै डेडलक बनाएर बस्छन् भने अब पनि राजीनामाको आशा गर्ने ? उनले लाज पचाइसके । सम्माननीय भएर धेरै असम्मानित काम गरे । त्यसैले बारको भाषण, राजीनामा माग, विरोध प्रदर्शन, जुलुस, नगर परिक्रमा, कालोपट्टी, दस–बाह्र बजेसम्म वकिलको धर्ना, मूल गेट घेराउले उनलाई छुँदैन । छुने भए राजीनामा आइसक्थ्यो ।

प्रधान न्यायाधीशले राजीनामा नगर्नुका अरू कारण पनि देखिन्छन् । उनीमाथि हालै सम्पत्ति शुद्धीकरण आयोगमा नागरिक समाजका अगुवा डा. गोविन्द केसीसमेतको जाहेरी परेको छ, उनको परिवारको सम्पत्ति छानबिन हुने देखिएको छ । पदमा बसुन्जेल उनीमाथि छानबिन हुन सक्दैन, उन्मुक्ति प्राप्त छ । राजीनामा गरेमा त्यस्तो उन्मुक्ति पाइने भएन । त्यसले पनि उनले राजीनामा के गर्लान् ? अर्को, हाल सर्वोच्च अदालत अस्तव्यस्त छ । न्यायाधीश नियुक्ति, सरुवा–बढुवा बन्द छ । उनी न्यायपालिका बिग्रेकामा चित्त दुखाउने मानिस नै होइनन् । उनले छाडेमा वरिष्ठतम न्यायाधीशले स्वतः कायममुकायम सम्हाल्छन् र सुधार अगाडि बढ्छ । डेडलकको फाइदा उनैलाई छ । उनीभन्दा अगाडिका दुई प्रधान न्यायाधीशले तीन सदस्य मात्र भएर बालुवाटार निवासबाटै न्यायाधीश नियुक्ति गरिदिएकै हुन् । त्यस्तै मौका कुरेको पनि हुन सक्छ । त्यस्तै, राजीनामा नगर्नुको तेस्रो सम्भावित कारण हो— संवैधानिक आयोगमा भागबन्डामा गरिएका नियुक्तिहरू । ती नियुक्तिमाथि परेका रिट निवेदनहरू उनकै कारण एक वर्षभन्दा बढी समयदेखि थन्किरहेका छन् । उनले राजीनामा गरेपछि नियुक्त प्रधान न्यायाधीशले ती रिटहरूलाई प्रक्रियामा हालेर अगाडि बढाएमा उनको उद्देश्य पूर्ति नहुन पनि सक्छ । त्यसैले राजीनामा गर्दैनन् ।

चौथो, आगामी मंसिरताका आम चुनावको घोषणा हुनैपर्छ । यसभन्दा अगाडि खिलराज रेग्मीले चुनाव गराएकै हुन्, रेग्मी कार्यकारी प्रमुख र न्यायपालिकाको प्रमुख एकै पटक बने । नेपालका राजनीतिक दलहरू संविधान उल्लंघन गर्नमा एक नम्बरमा पर्छन्, एकआपसमा विश्वास गर्दैनन्, त्यसैले चोलेन्द्रशमशेर राणामा अर्को खिलराज बन्ने आकांक्षा नहोला भन्न सकिन्न । वा, आश्वासन नै पाइसकेका छन् कि ? हाल राजीनामा गर्दा असम्मानित बहिर्गमन हुन्छ । भाग्यले साथ दिए चुनाव गराएर अवकाश हुँदा मन्त्रिपरिषद्को अध्यक्षमा बढुवासहितको सम्मानित बहिर्गमन हुने हुनाले त्यो अवसर पनि उनले कुरिरहेका हुन् कि ? यी कारणले गर्दा पनि बारले आशावादी आन्दोलन गर्नुभन्दा रिट निवेदक भएर कानुनी लडाइँ लड्नु नै राम्रो हुन्छ । कानुनी लडाइँ भनेको राजीनामा गर्नू भन्ने आदेश माग गर्ने होइन । राजीनामा गर्ने कुरा न्यायिक पुनरवलोकन हुन सक्दैन । धारा १२९(६) मा वरिष्ठ न्यायाधीश कायम मुकायम हुन सक्ने चार अवस्था उल्लेख भएकाले तिनैमाथि न्यायिक पुनरवलोकन हुन सक्छ र रिटमार्फत यही माग गर्नुपर्छ । बारलाई निरन्तर सडक आन्दोलन सुहाउँदैन । कानुन थाहा भएको, हक प्रचलन गराउने फोरम थाहा भएको बार आफैं निवेदक बनेर रिट गर्नु नै उचित हुनेछ ।

बारको सत्रबुँदे आरोपमा एउटा संवैधानिक आयोगमा नियुक्तिविरुद्धको रिट पेसीमा नचढाई थन्क्याएको भन्ने पनि छ । प्रधान न्यायाधीशकै स्वार्थका कारण त्यो थन्किएको सार्वजनिक छ । संविधान, सर्वोच्च अदालत ऐन र सर्वोच्च अदालत नियमावलीले प्रधान न्यायाधीशलाई दैनिक प्रशासनमा हस्तक्षेप गर्ने अधिकार दिँदैनन् । कजलिस्ट तोक्ने अधिकार प्रधान न्यायाधीशमा थियो, जुन अब खोसियो । सर्वोच्च अदालत नियमावलीका नियम ७(१), ८(१)(क) मा ‘प्रधान न्यायाधीशको सामान्य निर्देशन र नियन्त्रणमा रही मुख्य रजिस्ट्रारले अदालतको प्रशासकीय प्रमुखका रूपमा रही काम गर्नेछ’ भन्ने व्यवस्था छ । ‘प्रधान न्यायाधीशको सामान्य निर्देशन र नियन्त्रण’ शब्दावलीबारे गलत बुझाइ र व्याख्या प्रधान न्यायाधीश र मुख्य रजिस्ट्रारबाट भएको देखिन्छ । ‘सामान्य निर्देशन र नियन्त्रण’ भन्नुको अर्थ मुख्य रजिस्ट्रारको अधिकार प्रधान न्यायाधीशले प्रयोग गर्ने भन्ने होइन, अदालत कसरी चलेको छ, के भैरहेको छ, रिटहरू कति र कस्ता छन् आदि विषयमा न्यायपालिकाको नेता भएका नाताले बेलाबेलामा जानकारी राख्ने भनेको हो । रिट निवेदन दर्ता गर्न ल्याउनासाथ मुख्य रजिस्ट्रार वा रजिस्ट्रारले प्रधान न्यायाधीशलाई दर्ता गरौं कि नगरौं भनेर सोध्ने, प्रधान न्यायाधीशले दर्ता गर्नू भने दर्ता गर्ने भनेको होइन । आलटाल गर्ने, भोलि आउनू भनेर झुलाउने पनि होइन ।

रिट दर्ता गरौं कि नगरौं भनेर प्रधान न्यायाधीशलाई सोध्नै हुँदैन । मुख्य रजिस्ट्रारले धारा ७५(१) पढ्नुपर्‍यो । ७५(१) मा पनि नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन मन्त्रिपरिषद्ले गर्ने भन्ने छ । यसको मतलब र अर्थ जिल्लामा अशान्ति भयो भने प्रमुख जिल्ला अधिकारीले प्रहरी परिचालन गर्न मन्त्रिपरिषद्लाई सोध्ने र मन्त्रिपरिषद्को आदेश कुर्ने होइन । नियम ८(१)(७) र नियम ४५(१) रजिस्ट्रार र मुख्य रजिस्ट्रार, जो अधिकारवाला हुन्, उनीहरूबाट उल्लंघन भैरहेको छ । ८(१)(ठ) मा दर्ता गर्न ल्याएको लिखत दर्ता गर्न नमिल्ने रहेछ भने दरपीठ गर्ने स्पष्ट व्यवस्था छ । नियम ४५(१) मा दर्ता गर्ने निवेदन ढाँचा अनुसार मिलेको छ कि छैन जाँच्ने, मिलेको रहेछ भनी दर्ता गरी पेस गर्ने व्यवस्था छ । नियुक्ति सम्बन्धी ती रिटहरूमा सर्वोच्च अदालत प्रशासनबाट जुन खेलबाड गरियो, सर्वोच्च अदालत नियमावलीको मात्र होइन धारा ४६ कै ठाडो उल्लंघन भयो ।

सर्वोच्च अदालत प्रशासन अर्थात् मुख्य रजिस्ट्रार वा रजिस्ट्रार प्रधान न्यायाधीशप्रति उग्र वफादार देखियो । कानुन मिचेर वफादारी हुनु हुँदैन । मुख्य रजिस्ट्रार निजामती कर्मचारी हो । उसले कानुनविपरीत काम गर्न सक्दैन । प्रधान न्यायाधीशको इसरामा दर्ता नगर्नु कानुनमिचाइँ हो । हाम्रो संविधानको धारा २८० भारतको संविधानका धारा ३०८ र ३०९ जस्तै हो । ती धाराको विवेचना गर्ने सम्बन्धमा मोरिसनलिखित ‘गभर्मेन्ट एन्ड पार्लियामेन्ट’ शीर्षक पुस्तकको पृष्ठ ३२४ मा स्पष्ट लेखिएको छ— निजामती कर्मचारीले माथिको आदेश कानुन बमोजिमको छ भने पालना गर्नुपर्छ, होइन भने इन्कार गर्नुपर्छ । कानुनी शासन भनेकै यही हो । सर्वोच्च अदालत प्रशासनले छानीछानी कुनै रिट निवेदन दर्तामा आनाकानी गर्ने, ढिलाइ गर्ने, दर्ता गरिहाले पनि पेसी लम्ब्याइदिने प्रचलन गैरकानुनी हो । बन्द गर्नुपर्छ यस्तो प्रचलन ।

रिट दर्ता र पेसी चढाउने काममा कानुनले प्रधान न्यायाधीशलाई चिन्दैन । यदि १ वर्षदेखि थन्क्याएर राखिएको रिटमाथि निष्पक्ष न्यायिक जाँच गर्ने हो भने त्यसमा मुख्य रजिस्ट्रार/रजिस्ट्रारले नै गैरकानुनी र अनुशासनहीन काम गरेको ठहरिन सक्छ । मुख्य रजिस्ट्रारलाई, विगतको अनुभवले, प्रधान न्यायाधीशलाई रिझाएमा एकै पटक उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्ति पाउने आशा हुन सक्छ । तर विचार गरौं, न्याय परिषद्का सदस्यहरू कुनै दिन कानुन नछाड्ने, निष्पक्ष, स्वतन्त्र न्यायपालिकाका लागि मरिमेट्ने परे भने यी कुराहरू ध्यानमा राखेर नियुक्ति गर्न आपत्ति गर्नेछन् । त्यति मात्र होइन, भाग्यवश संसदीय सुनुवाइ हुने पदमा पुग्ने अवसर आयो भने र हाम्रा सांसदहरू अमेरिकाका सिनेटरजस्ता भए भने यी कुरालाई नोटिसमा लिएर अनुमोदन इन्कार गर्न सक्छन् । त्यसैले प्रधान न्यायाधीशको पछि लागेर कानुन उल्लंघन नगर्नु राम्रो हुन्छ ।

अन्त्यमा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा पद अनुसार महान् प्रधान न्यायाधीश बन्न सकेनन् । अति विवादित बने । प्रतिष्ठा गुमाए । न्यायको मन्दिर सर्वोच्च अदालतलाई अरू विवादित नबनाउन राजीनामा गर्नु समयोचित हुन्छ ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : माघ १२, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

बारले अब कानुनी लडाइँ लड्नुपर्छ

पहिले प्रधान न्यायाधीशको कार्यव्यस्तताले होला, इजलास तोक्न बिर्सनाले कुनै न्यायाधीश इजलासविहीन हुन्थे । त्यसरी खाली बस्नुपर्दा इजलास नतोकिएको न्यायाधीशमा ‘नैराश्य र क्षणिक अपमान’ महसुस हुन्थ्यो । तर सदाका लागि बहिष्कार हुँदा पनि चोलेन्द्रशमशेर राणालाई चाहिँ असर गरेन ।
बलराम केसी

नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गरेर आन्दोलन गरेको डेढ महिना भयो । राजीनामा गर्ने लक्षण छैन । उहाँ बार एवं न्यायाधीशबाट बहिष्कृत व्यक्ति हुनुहुन्छ । बार र सहयोगी न्यायाधीशहरूले बहिष्कार गर्नु भनेको सर्वोच्च अदालतकै अवाञ्छित र निमन्त्रणा नगरेको पाहुना बन्नु हुन्छ । तैपनि उहाँ दिनहुँ अदालत पुग्नुहुन्छ ।

पुस ५ को ‘अन्नपूर्ण पोस्ट’ ले ‘जबरा सर्वोच्च पुग्छन्, त्यसै फर्किन्छन्’ शीर्षकमा समाचार लेख्यो । उहाँले अब मुद्दा हेर्ने कुरा आउँदैन । न्यायाधीशका लागि वकिलहरूले इजलास बहिष्कार गर्नु भनेको बेइज्जत र अपमान हो । इज्जत र मानमा ठूलो धक्का हो । सहयोगी न्यायाधीशहरूबाटै बहिष्कृत हुँदा पनि राजीनामा नगरी अदालत आउनु अनौठो कुरा हो । चोलेन्द्रशमशेरले ‘श्रीमान्‌को पगरी’ र ‘कालो कोट’ लगाउने हैसियत सदाका लागि खोसिइसकेको छ ।

नेपाल बार र सर्वोच्च बारको दिनहुँ दुई घण्टा धर्नाले उहाँलाई असर गरेन । ‘मेरा सहयोगी न्यायाधीशहरू र बारका सम्पूर्ण वकिलहरूले मलाई विश्वास गरेनन्; मेरो चरित्रमाथि नै शंका गरे, अदालत प्रवेश गर्न नै प्रहरीको घेराबाट लुकेर पस्नुपर्ने भयो; मेरो महत्त्वपूर्ण अधिकार, कजलिस्ट तोक्ने, पनि खोसियो; त्यो ममाथि ठूलो अपमान र अविश्वास हो; मलाई वकिलहरू र सहयोगी न्यायाधीशले पनि बहिष्कार गरे; यी कुराबाट म अपमानित र अपहेलित भएँ; विश्वास गुमाएको व्यक्ति पो भएँ; मभन्दा अगाडिका कुनै पनि न्यायाधीश वा प्रधान न्यायाधीशमाथि यस्तो अविश्वास, अपमान र व्यवहार गरिएन; त्यसैले अब म पदमा बस्नु भएन’ भन्ने चेत उहाँमा आएन ।

बोलीचालीको भाषामा ‘कजलिस्ट’, कानुनी भाषामा ‘इजलास गठन’ बारे सर्वोच्च अदालतमा विरलै घट्ने एउटा घटनाको छोटो सम्झना गर्नु सान्दर्भिक हुन सक्छ । यो घटना सर्वोच्चमा न्यायाधीश भैसकेका र भैरहेका सबै व्यक्तिले महसुस गर्ने कुरा हो । चिट्ठा प्रणाली लागू गर्नुअगाडि अर्थात् पंक्तिकार सर्वोच्चमा हुँदाको घटना हो यो । प्रत्येक दिन दस बजे बिहान प्रत्येक न्यायाधीशको चेम्बरमा कजलिस्ट वितरण गरिन्थ्यो । त्यही हेरेर कि आफू सिनियर न्यायाधीशको इजलासमा बेन्च सेयर गर्न जानुपर्थ्यो, कि जुनियर न्यायाधीश बेन्च सेयर गर्न आफ्नो इजलासमा आउँथे । दुई जना मिलेर मुद्दाको सुनुवाइ हुन्थ्यो ।

मलाई त भएन, तर कहिलेकाहीँ प्रधान न्यायाधीशको कार्यव्यस्तताले होला, कुनैकुनै न्यायाधीशलाई इजलास तोक्न बिर्सनाले कुनै न्यायाधीश इजलासविहीन हुन्थे । दिनभर मुद्दा नहेरी बिताउनुपर्थ्यो । मलाई सम्झना छ, त्यस्तो दिनमा चियाको समयमा प्रधान न्यायाधीशको कोठामा जम्मा हुँदा यसबारे कुरा हुन्थ्यो र प्रधान न्यायाधीशले ‘बिर्सिइएछ, सरी’ भन्नुहुन्थ्यो । त्यसरी न्यायाधीश खाली बस्नुपर्दा इजलास नतोकिएको न्यायाधीशमा ‘नैराश्य र क्षणिक अपमान’ महसुस हुन्थ्यो । तर आफू सदाका लागि बहिष्कार हुँदा पनि चोलेन्द्रशमशेर राणालाई असर गरेन ।

२०६१ सालताकाको चर्चित रबिन्सन काण्डमा दुई न्यायाधीशलाई उनीहरूविरुद्धको छानबिन पूरा नहुन्जेल झन्डै एक महिना कजलिस्ट तोकिएन । ती दुई न्यायाधीश नेपाल बार र सहयोगी न्यायाधीशबाट बहिष्कृत भएका थिएनन्, छानबिन पूरा नहुन्जेल मुद्दा मात्र तोकिएको थिएन । उनीहरू दुवै नियमित दस बजे सर्वोच्च आउँथे, इजलासविहीन भएर बस्थे, हाजिर गर्थे, फर्कन्थे ।

ती दुई न्यायाधीशहरूले छानबिनको प्रतिवेदन र कजलिस्ट नतोकिएकै कारण पदबाट राजीनामा गरे । उनीहरूले राजीनामा गर्दिनँ वा महाभियोग लगाइयोस् भनेनन् । अपमानित र अवहेलित भएको महसुस गरेर राजीनामा गरे । दुवै जनाले बहिष्कृत न्यायाधीश अवाञ्छित, अपमानित र अपहेलित भएर बस्यो भन्ने मौकै दिएनन् ।

आज सर्वोच्च अदालत अस्तव्यस्त छ । अन्तर्राष्ट्रिय समुदायले नेपालको न्यायपालिकालाई नजिकबाट हेरिरहेको छ । सायद विदेशी लगानीकर्ताहरू नेपालको न्यायपालिकाको भ्रष्टाचार र अस्तव्यस्तता देखेर नेपालमा लगानी गर्न हच्किएका पनि हुन सक्छन् । विदेशी दातृ राष्ट्र र अन्तर्राष्ट्रिय संगठनले नेपालमा ऋण सहायता अथवा अनुदान दिन पनि पुनर्विचार गरिरहेका होलान् । हामीले दिएको रकम भ्रष्टाचार त हुने होइन भन्ने चिन्ता होला । स्वतन्त्र न्यायपालिका र विदेशी लगानी एकअर्कासँग सम्बन्धित विषय हुन् । मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्थालाई नेपालको मानव अधिकार हननको चिन्ता बढ्दो छ किनभने मानव अधिकारको संरक्षक नै सर्वोच्च अदालत हो । तर सर्वोच्च अदालत आफैं विवादित छ । सर्वोच्च अदालत नै विवादित बनेपछि मानव अधिकार हनन बढ्न सक्छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलजस्ता संस्थाहरूलाई सर्वोच्च अदालत नै भ्रष्टाचारमा मुछिएको भन्ने समाचारले चिन्ता बढ्यो होला । नेपाली नागरिकलाई त मानव अधिकार हननको चिन्ता बढ्ने नै भयो । मुद्दाका पक्षहरू चिन्तित हुने नै भए । मुद्दाहरू लम्बिने भए । न्याय महँगो हुने भयो, न्याय सजिलो नहुने भयो, न्याय सुलभ पनि नहुने भयो ।

समस्या चाँडै समाधान हुनेवाला देखिँदैन । समस्या पनि चोलेन्द्रशमशेर राणा नै हुनुहुन्छ, समाधान पनि उहाँकै राजीनामा हो । उहाँले राजीनामा दिँदैमा भोलि नै न्यायपालिका विवादमुक्त हुने त होइन तर विवादित नेतृत्वको बहिर्गमन हुँदा सेवाग्राही र न्यायकर्मीहरूमा मनोबल बढ्ने थियो । सुधारको सुरुआत हुन सक्थ्यो । महाभियोगका सम्बन्धमा संसद्को अधिवेशन बस्दैमा अब दलहरूले महाभियोगको कारबाही सुरु गर्छन् भनेर आशा र भर नगर्दा निराश हुनु पर्दैन । संकेतहरूबाट भन्न सकिन्छ, न राजीनामा आउँछ न महाभियोगको कारबाही अगाडि बढ्छ । केही हुनेवाला छैन ।

चोलेन्द्रशमशेर राणालाई प्रधान न्यायाधीशबाट हटाउने नेपाल बार र सर्वोच्च बारको आजसम्मको अभियानलाई हामी सबैले भित्रैदेखि स्वागत गर्नुपर्छ । तर बारले अब विकल्प सोच्नुपर्छ । बारले बिहान दुई घण्टा विरोध गर्ने कार्यक्रम बन्द गरेर कानुनी लडाइँ लड्नुपर्छ । बारको अभियान भ्रष्टाचारमुक्त, छिटोछरितो न्याय र स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाका लागि हो । बारको योबाहेक अर्को कुनै स्वार्थ छैन । बारको यो अभियानमा स्वतन्त्र न्यायपालिकाप्रेमी सबैले खुलेर समर्थन गर्नुपर्छ ।

चालु आन्दोलनको माग हो— विवादित प्रधान न्यायाधीशको राजीनामा वा महाभियोगबाट बहिर्गमन । यत्रो अभियान चलाउँदा पनि राजीनामा पनि नआएको र महाभियोगको पनि संकेत नदेखिएकाले अब आन्दोलन बन्द गर्ने बेला आयो । अब बारले वरिष्ठतम न्यायाधीशलाई धारा १२९(६) बमोजिम कायम मुकायम प्रधान न्यायाधीश बनाउन कानुनी लडाइँ लड्नुपर्छ । बारजस्तो संगठनले अनिश्चित अवधिसम्म सडक आन्दोलन झल्किने आन्दोलन गर्दा राम्रो मेसेज जाँदैन ।

बारको हतियार भनेको वकिलको बहस र कलम हो । वकिलहरूको संगठनलाई बार एसोसिएसन किन भनियो ? यसका लागि बेलायतको इतिहास हेर्नुपर्छ । बेलायतबाट बार एसोसिएसन सुरु भएको हो । धेरै मानिस बार भन्नाले होटलमा मदिराकुनो सम्झन्छन् । त्यो पनि एउटा बार हो, तर वकिलहरूको संगठन त्यो बार होइन । शताब्दियौं अगाडि बेलायतमा इजलास गठन व्यवस्थित थिएन । इजलास व्यवस्थित गर्नुपर्‍यो भन्ने योजना बन्यो ।

इजलासमा को वकिल, को कर्मचारी, को सर्वसाधारण, को मुद्दाका पक्ष भन्ने नै छुट्टिएन । छुट्याउन बार (छेकबार) लगाउने निर्णय भयो । एकापट्टि वकिल र अदालतका कर्मचारी मात्र बस्ने, अर्कापट्टि मुद्दाका पक्ष–विपक्ष साक्षी र सर्वसाधारण दर्शक बस्ने गरी बार लगाइयो । वकिललाई यो बार मन परेन । वकिलहरू कर्मचारीसँग बस्दैनौं, हामी छुट्टै संगठन खोल्छौं भनेर बारबाट बाहिरिए । त्यसैलाई बार एसोसिएसन भन्न लागियो ।

बार यस्तो संगठन हो जसका सदस्यहरू अदालत भवनभित्र इजलासमा गाउन लगाएर किताब र कानुन पत्रिकाको अनि आफ्नो वाक्शक्तिका आधारमा कानुनी लडाइँ लड्छन् र असत्यमाथि सत्यको जित निकाल्छन् । बारमा त्यस्ता प्रबुद्ध व्यक्तिहरू हुने भएकाले नै न्यायाधीशहरूले पनि वकिललाई विद्वान् भनेर सम्बोधन गर्ने गरेका हुन् । त्यसैले अब नेपालको संविधान–२०७२ को धारा ४६ का आधारमा धारा १३३(२) को सर्वोच्च अदालको असाधारण अधिकारमा पीआईएलमार्फत बहस गरेर धारा १२९(६) अनुसार वरिष्ठतम न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीश स्वतः भएको न्यायिक आदेश गरिपाऊँ भनेर रिट दर्ता गर्नुपर्छ । ‘कमन ल’ बाट प्रभावित हाम्रोजस्तो ६५ वर्ष उमेर हदका कारण अवकाश हुने प्रणालीमा चार वर्ष प्रधान न्यायाधीश हुन पाउनु ठूलो अवसर थियो । त्यसमाथि संवैधानिक इजलासको अध्यक्षता गर्न पाउने यस्तो अवसर १

यदि योग्य व्यक्तिले त्यो अवसर पाएको भए विश्वस्तरको संवैधानिक व्याख्या गरेर ल्यान्डमार्क फैसला दिने थिए, धारा १३६ अनुसार न्यायपालिकामा व्यापक सुधार गर्ने थिए । कुनै पनि भएन । यस्तो सुनौलो मौका चोलेन्द्रशमशेरले प्रयोग गर्नै जान्नुभएन । उहाँमा ढंग रहेनछ भन्ने आफैंले देखाइदिनुभयो । उहाँ यसरी विवादित नहुनुभएको भए पनि नेपालको न्यायपालिकाले उहाँबाट कुनै आशा नगरे हुने भैसकेको थियो । उहाँलाई बिदाइ गर्दा कुनै पश्चात्ताप गर्नुपर्ने कारण छैन ।

संविधानको धारा १२९ को उपधारा ६ मा वरिष्ठतम न्यायाधीश कायम मुकायम हुने व्यवस्था छ । वर्तमान संविधानअनुसार कायम मुकायम प्रधान न्यायाधीश राष्ट्रपतिले अथवा कसैले तोक्ने होइन । उपधारा ६ आफैं सक्रिय हुने धारा हो । उपधारा ६ मा चार अवस्थामा वरिष्ठतम न्यायाधीश स्वतः कायम मुकायम प्रधान न्यायाधीश हुने व्यवस्था छ । उपधारा ६ अनुसार पहिलो, ‘प्रधान न्यायाधीशको पद रिक्त भएमा’ भन्ने प्रावधान यहाँ लागू भएन । दोस्रो अवस्था, ‘प्रधान न्यायाधीश आफ्नो काम गर्न असमर्थ भएमा’ भन्ने यहाँ लागू हुन्छ । तेस्रो अवस्था ‘बिदा बसेमा’ भन्ने छ, चोलेन्द्रशमशेर राणा बिदा नबस्नाले नै समस्या आएको हो ।

चौथो अवस्था, ‘नेपालबाहिर गएमा’ भन्ने परिस्थिति पनि अहिले होइन । वरिष्ठतम न्यायाधीश कायम मुकायम हुन दोस्रो अवस्था स्वतः लागू हुन्छ । नेपालको संविधानले सर्वोच्च अदालतलाई अन्तर्राष्ट्रिय स्तरको स्वतन्त्र बनाएको छ । स्वच्छ सुनुवाइ नेपालको न्यायपालिकाको मुटु र रक्तसञ्चार हो । संविधानको धारा २०(९) तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धि–१९६६ को धारा १४(३)(घ) अनुसार वकिलको बहस नसुनी फैसला गर्नु हुँदैन । बहस नसुनी फैसला गर्दा स्वच्छ सुनुवाइ हुँदैन ।

वकिलहरूले बहिष्कार गरेको इजलास असंवैधानिक र मानव अधिकारविरोधी हुन्छ । वकिल मात्र होइन, उहाँ सहयोगी न्यायाधीश र कानुन व्यवसायीबाट पनि घोषित बहिष्कृत प्रधान न्यायाधीश हुनुभयो । मुद्दा फैसला गर्नलाई कम्तीमा संयुक्त इजलास आवश्यक पर्छ । सर्वोच्च अदालतकै १९ न्यायाधीशबाट बहिष्कृत भएकाले उहाँ न्यायाधीशको काम गर्न असमर्थ हुनुभयो । मुद्दा छिन्न अर्को साथी पाउनुहुन्न । मुद्दा छिन्न मुद्दाका सबै पक्षको उपस्थितिमा खुला इजलासमा सबै पक्षका वकिलहरूको बहस सुनिनुपर्छ । त्यसपछि इजलासको अर्को सहयोगी न्यायाधीशसँग सल्लाह गरेर मात्र फैसला गर्नुपर्छ । उहाँ वकिल र न्यायाधीशहरूबाट बहिष्कृत भएकाले मुद्दा छिन्न असमर्थ हुनुभयो । धारा १२९ को उपधारा (६) मा ‘कुनै कारणले काम गर्न असमर्थ भएको’ भनेकै यही हो ।

वरिष्ठतम न्यायाधीशलाई स्वतः कायम मुकायम प्रधान न्यायाधीश बनाउनुपर्‍यो । चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालतलाई झुलाउने अवसर दिनुभएन । उहाँ ‘प्रधान न्यायाधीशको काम गर्न असमर्थ भएको’ योभन्दा ठूलो आधार र प्रमाण नै केही चाहिँदैन । असमर्थ भनेको बिरामी भएर भनेको होइन । त्यस्तो विवाद नआओस् भनेर उपधारा (६) मा ‘कुनै कारणले असमर्थ भएमा’ भनिएको छ । बहिष्कृत भएकाले मुद्दा छिन्ने काममा संविधानले नै उहाँलाई सदाका लागि असमर्थ बनायो ।

अमेरिकाका राष्ट्रपति सम्झेर एउटै पदमा दुई व्यक्ति प्रधानन्यायाधीश हुने हो कि भन्ने गलत सोच राख्नै भएन । अमेरिकाको संविधानमा कायम मुकायम राष्ट्रपति हुने व्यवस्था छैन, ऊ जहाँ गए पनि ह्वाइट हाउसको ओभल अफिस एयर फोर्स वानमा बोकेर जाने हुनाले । कायम मुकायम भनेकै अर्को व्यवस्था नहुन्जेल एउटै पदमा दुई व्यक्ति हुने हो तर अधिकार एउटाले मात्र प्रयोग गर्छ । वरिष्ठतम न्यायाधीशलाई कायम मुकायम नबनाउने हो भने धारा १३७ का संवैधानिक इजलासका सेवाग्राहीहरू अर्को एक वर्षसम्म न्यायबाट बहिष्कृत भैरहन्छन् । ‘बनाना रिपब्लिक’ वा ‘असफल राष्ट्र’ मा त्यस्तो हुन सक्ला ।

हाम्रोजस्तो थिति बसेको, लामो इतिहास भएको र लिखित संविधान भएको देशमा अरू धाराका सेवाग्राहीले न्याय पाउने तर धारा १३७ काले नपाउने हुन सक्दैन । असमान व्यवहार हुन्छ । प्रधान न्यायाधीश आफ्नो काम गर्न असमर्थ भएमा वरिष्ठतम न्यायाधीश स्वतः कायम मुकायम प्रधान न्यायाधीश हुने व्यवस्था भए पनि, चोलेन्द्रशमशेर राणाको व्यवहार र गतिविधि हेर्दा उहाँले आफू मुद्दा हेर्न असमर्थ भएको कुरालाई लत्याएर ‘म प्रधान न्यायाधीश हुँदाहुँदै वरिष्ठतमले प्रधान न्यायाधीश दाबी गर्‍यो’ भन्ने वक्तव्य जारी गरी ‘स्क्यान्ड’ गरेर प्रधान न्यायाधीश पदकै अपमान हुने वातावरण सृजना हुने स्पष्ट देखिएकाले, बृहत् पूर्ण इजलास गठन गरेर धारा १३३(२) बाट न्यायिक आदेश गरेर ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रधान न्यायाधीश पदको काम गर्न असमर्थ भएकोले वरिष्ठ न्यायाधीश श्री ... स्वतः कायम मुकायम प्रधान न्यायाधीश भएको’ ठहर गर्नुपर्छ । यसो गर्न मिल्छ । यो विषयमा संवैधानिक प्रश्न छ । यो सार्वजानिक सरोकारको विषय हो । त्यसैले बार आफैं निवेदक बन्नुपर्छ । इतिहास बन्छ ।

नेपाल बार, सर्वोच्च बार र संवैधानिक वकिलहरूको फोरमले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै स्वतन्त्र न्यायपालिकाका लागि सक्रिय भूमिका खेलेका छन् । स्वतन्त्र न्यायपालिका यी तीन निकायको अति सरोकारको विषय हो । रिट गर्न पाउने हकको प्रश्न उठ्दैन । भारतको सर्वोच्च अदालतको सन् १९८२ को एसपी गुप्ता अर्थात् जजेज केसेस–१ को मुद्दामा स्वतन्त्र न्यायपालिकासम्बन्धी जुनसुकै विषयमा पनि रिट गर्न पाउनु वकिलको हक हुन्छ भनेर स्थापित भैसकेको छ । हामीले पनि त्यही अपनाएका छौं ।

केवल बारको आँट चाहियो । धारा ४६ र धारा १३३(२) ले बारलाई अधिकार शक्ति प्रदान गर्छन् । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा बार र सर्वोच्चका न्यायाधीशहरूबाट बहिष्कृत हुनुभएकाले धारा १२९(६) अनुसार उहाँ ‘आफ्नो पदको काम गर्न असमर्थ भएकाले’ वरिष्ठतम न्यायाधीश धारा १२९(६) अनुसार स्वतः कायम मुकायम भएको घोषणा माग गर्दै धारा १३३(२) बमोजिम प्रधान न्यायाधीश र संसद्लाई विपक्षी बनाएर बारले रिट दर्ता गर्नुपर्छ । संसद्लाई विपक्षी बनाउनुपर्नाको कारणचाहिँ यस्तो अवस्था हुँदा पनि महाभियोग किन नलगाएको भनेर जवाफ माग्न हो ।

बारले रिट दर्ता गरेपछि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले प्रधान न्यायाधीश र संसद्सँग स्वच्छ सुनुवाइ अनुसार लिखित जवाफ माग्नुपर्छ, ताकि आदेश गर्न सजिलो होस् । अनि विवादको अन्त्य हुन्छ । सर्वोच्च अदालतप्रति आस्था बढ्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सर्वोच्च अदालतको प्रतिष्ठा बढ्छ । भविष्यमा चोलेन्द्रशमशेर राणा जस्ता अरू विवादित प्रधान न्यायाधीशले महाभियोगलाई हतियार बनाएर अदालतलाई ‘डेडलक’ बनाउने आँट गर्दैनन् ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : पुस ९, २०७८ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×