सम्बोधन संस्कृतिमा उचनीच- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्बोधन संस्कृतिमा उचनीच

सम्बोधनमा उचनीच आधारभूत रूपमै मानवता र समानताविरोधी अवधारणा हो ।
आहुति

प्रगतिशील लेखक श्यामप्रसाद शर्माले साठी वर्षभन्दा अघि लेखेको एउटा कालजयी निबन्ध थियो— ‘तँ, तिमी, तपाईं, हजुर’ । निबन्धको शीर्षकमा सम्बोधनमा प्रयोग हुने चारवटा मात्र शब्द परे पनि उक्त निबन्धले त्यति बेलाको समाजको उचनीचमय तहगत संरचना (हाइरार्की) को व्यापक आयाममाथि प्रश्न उठाएको थियो ।

त्यो समय देश राजा–महाराजाको थियो, गाउँहरू सामन्तहरूका कब्जामा थिए र राजधानीमा समेत काजीहरूको हालीमुहाली थियो । सबै सामन्तवादी समाजमा जस्तै त्यति बेला नेपालमा पनि उचनीचमय सामन्तवादी संस्कृति थियो र त्यसैको प्रतिविम्ब व्यक्तिहरूलाई सम्बोधन गर्दा पनि प्रकट हुनु स्वाभाविक हो । जात व्यवस्थाका आधारमा सामाजिक सम्बन्धहरू निर्धारित थिए । त्यसैले अन्य सामन्तवादी समाजमा जस्तो केवल वर्गका आधारमा मात्र उचनीचमय सम्बोधन बनेको थिएन बरु जात व्यवस्थाका आधारमा उचनीचका सम्बन्धहरू जबर्जस्त रूपमा क्रियाशील थिए । करिब पौने शताब्दी पुग्न लाग्यो त्यस निबन्ध रचनाको समयलाई गणना गर्दा, यसबीच चारवटा राजनीतिक प्रणाली पनि फेरिए तर त्यस निबन्धले उठाएको समानताको मूल मर्मको छेउछाउ पनि नेपाली समाज पुग्न अझै सकेको छैन । राणा नेतृत्वको शासनको अन्त्यसँगै तीनवटा सम्बोधनमा उचनीच व्यक्त गर्ने शब्दहरू औपचारिक रूपमा अन्त्यतिर गएछन्— महाराज, ख्वामित र जदौ । गणतन्त्रको स्थापनासँगै औपचारिक रूपमा दुइटा शब्द इतिहास भएछन्— मौसुफ र सरकार । करिब पौने सय वर्षमा केवल पाँचवटा शब्दको असान्दर्भिकता भनेको उचनीचको जंगल नै भएको समाजमा निकै डरलाग्दो स्थिति हो । यस्तो अवस्था किन आयो भन्ने प्रश्नको उत्तरमा एक थरीले नेपाली समाज अझै अर्धसामन्ती नै छ भन्ने निष्कर्ष निकाल्ने गरेका छन् भने, अर्का थरीले संस्कृतिका क्षेत्रमा सामन्तवाद जबर्जस्त बाँकी छ भन्ने व्याख्या गर्ने गरेका छन् । प्रत्येक नेपालीले बिहानदेखि साँझसम्म माल (कमोडिटी) मै बाँच्नुपर्ने अवस्था अनि देश–विदेश गरी सबै ज्यालादारी श्रमिकमा रूपान्तरण भएको समाजलाई अझै अर्धसामन्ती भन्ने विश्लेषण कदापि सही मान्न सकिन्न । समाज मूलतः पुँजीवादी भइसके पनि संस्कृतिका क्षेत्रमा सामन्तवाद जबर्जस्त बाँकी छ भन्ने जुन अर्को व्याख्यान छ, त्यसमाथि पनि थप सिंहावलोकन आवश्यक हुन गएको छ । वास्तवमा भारत र नेपालजस्ता देशको वर्ग र संस्कृति निर्माणमा मुख्य भूमिका जात व्यवस्थाले खेलेको हो, यहाँको पुँजीवादले जात व्यवस्थासँग संघर्ष गर्न चाहेन, यहाँको पुँजीवादले जात व्यवस्थालाई सहवरण गर्न पुग्यो । त्यसैले सामन्तवादी संस्कृति जबर्जस्त रूपमा बाँकी रहेको नभई जात व्यवस्था, पितृसत्ताजस्ता संरचना एवम् संस्कृतिलाई पुँजीवादले आफ्नै बनाएर निरन्तरता दिएको अर्थमा संश्लेषण नगरी उचनीचमय सम्बोधनहरूको निरन्तरताको सन्दर्भलाई पनि कदापि बुझ्न सकिने अवस्था छैन ।

सम्बोधनमा कायम उचनीचमय शब्दहरूले मूलतः समाजमा विद्यमान आर्थिक, जातीय, समुदायगत र लिंगीय असमानताहरूलाई नै छरपस्ट प्रकट गरिरहेको हुने यथार्थ स्पष्टै छ । यस कोणबाट हेर्दा श्यामप्रसाद शर्माले व्याख्या गरेको आधा शताब्दीभन्दा अघिको उचनीचमय समाज आधारभूत रूपमा जस्ताको तस्तै छ । परम्परागत ‘विष्ट’ पहाडमा जिउँदै छ । विष्टको पनि बाउ ‘बाहुन बाजे’ टाठै छ अनि बाजेको पनि बाउ ‘बराजु’ मरेको छैन । मधेसी समाजको मालिक त अझै बैंसमै छ । ठकुरी ‘बाउ साहेब’ र मधेसी समाजका ‘बाबु साहेब’ हरू हालहुकुममै छन् । बच्चाहरू आम रूपमा आज पनि ‘तँ’ भनिन्छन् । महिलाहरू प्रत्येक घरमा दोस्रो दर्जाकै सम्बोधनले किचिन्छन् । अहिले पनि सम्बोधनको पीँधमा दलित नै छ । आधुनिक प्रेमी बनेका युवायुवती बिहेपछि स्वतः झैं एकअर्काका ‘तपाईं’ र ‘तिमी’ मा रूपान्तरण भइरहेछन् । समग्रमा ‘तँ, तिमी, तपाईं र हजुर’ को खाडल कार्यकारी छ । राजनीतिक प्रणालीका सम्बन्धमा बातैपिच्छे लोकतन्त्रको कुरा छ तर त्यसको स्थायी संयन्त्र कर्मचारीतन्त्र उचनीचमय सम्बोधन र संरचनाको दासत्वपूर्ण परिपाटीबाट ग्रस्त देखिन्छ । प्रत्येक कर्मचारीको ओठबाट पलपलमा निस्कने उपल्लो कर्मचारी वा राजनीतिक नेतृत्वप्रतिको ‘हजुर ...हजुर’ को टीठलाग्दो सुगारटान देख्दा यस्तो लाग्छ, सम्बोधनमा रहेको उचनीचको नाभिकेन्द्र नै यही हो । कर्मचारीहरूको ओठमै झुन्डिएको ‘हजुर’ सुनेर पटक्कै असजिलो महसुस नगर्ने ‘क्रान्तिकारी’ राजनेताहरूको लोकतान्त्रिक चेतना पनि त्यही उचनीचमय सांस्कृतिक दलदलमा भासिएको देखिन्छ किनभने कर्मचारीलाई चाहिँ उसले ‘हजुर’

होइन, ‘तपाईं’ मात्र भन्छ । सरकार र मन्त्रालयहरूमा ठूला पदकाहरूले ‘ज्यू’ शब्द कब्जा गर्छन् । ‘मन्त्रीज्यू, सचिवज्यू’ हुन्छन् तर पीँधको कर्मचारीसँग कुनै ‘ज्यू’ शब्द हुन्न, हुन्छ त केवल नासु, खरिदार वा कार्यालय सहयोगी रामबहादुर खत्री वा केसरी माया राईवाला चुत्थो मानिने परिचय । सेना संगठनको हालत पनि

यस्तै हो; बुझेकै विषय हो, त्यता झन् चर्को नै छ । सेनाको संगठनमा ‘ज्यू’ होइन, ‘सा’प’ शब्दले उचनीच व्यक्त गर्छ । चीफ सा’प, मेजर सा’प अनि पीँधमा हुन्छन् हजारौं सा’पविहीन जवान रामबहादुर मगरहरू । कसले कसलाई हजुर, कसले कसलाई तपाईं अनि कसलाई तँ भन्ने संस्कृति त्यहाँ बनिबनाउ छ; परम्परागत रूपमै निरन्तर छ । प्रहरी संगठनको संस्कृति पनि मूल रूपमा

त्यही हो भन्ने जगजाहेर छ । राज्यको अर्को निकाय झ्यालखानाको कुरा गर्नु सायद जरुरी नै छैन । राज्यका आधारभूत निकाय परम्परावादी भएकाले यस्तो भयो होला भन्ने ठाउँ पनि छैन किनभने, अरू त अरू, समाजशास्त्रका धेरै प्रोफेसर आफ्ना विद्यार्थीलाई ‘तिमी’ भन्छन्, आफू ‘तपाईं/हजुर’ खान्छन् । अनुभवले वरिष्ठ डाक्टरहरू कनिष्ठ वा पढ्दै गरेका डाक्टरलाई ‘तिमी’ भन्छन् । स्थापित गायकहरू, सिनेकर्मीहरू नव कलाकारहरूलाई ‘तिमी’ भन्छन्, ’तिमी’ ले डसिन बाध्यहरू पनि खुसी नै हुन्छन् । यसरी नेपाली समाजको घरदेखि राज्यसम्म सर्वत्र सम्बोधनमा उचनीच एउटा आधारभूत संस्कृति भएको छ । यस्तो स्थिति भनेको

समाज अहिले पनि कहालीलाग्दो असमानताको दलदलमा पौडिरहेको अकाट्य प्रमाण हो ।

कतिपयलाई लाग्ने गरेको छ, सम्बोधनमा उचनीच केवल पदीय जिम्मेवारीको फरकपना मात्र हो तर त्यसो होइन । पदीय जिम्मेवारी भनेको उत्तरदायित्वको फरकपना हो, उचनीचमय सम्बोधनचाहिँ एउटा मानिस र अर्को मानिसमध्ये एउटा कमसल र अर्को अब्बल भन्ने अवधारणा हो । बुझ्नका लागि, आमा र बच्चाको जीवन फरक आवश्यकतामा आधारित हुन्छ, त्यो सम्बन्ध उचनीचको होइन किनकि आमा वा बच्चा भएकै कारण एकले अर्कोलाई शोषण, उत्पीडन र अपमान गर्नु छैन । तर पितृसत्तात्मक परिवारका श्रीमान् र श्रीमतीको मानचाहिँ उचनीचमा आधारित हो किनभने श्रीमान् र श्रीमती भएबापत प्रत्येक आधारभूत अधिकार र मानवीय सम्मान नै तल वा माथिको उपलब्ध हुन्छ । त्यसैले सम्बोधनमा उचनीच आधारभूत रूपमै मानवता र समानताविरोधी अवधारणा हो । सम्बोधनमा उचनीचको सम्बन्ध दर्शनशास्त्रसम्म तन्कायो भने स्वतः कोही मानिस जन्म वा कर्मका आधारमा कमसल हुन्छ र त्यो कमसलपनालाई आफ्नो भाग्यका रूपमा उसले स्वीकार गर्नुपर्छ भन्ने भाग्यवाद वा कर्मफलवादसम्म पुग्छ । राजनीतिक रूपमा चाहिँ सम्बोधनमा उचनीचको अवधारणाले केवल शोषक वर्गलाई फाइदा पुर्‍याउँछ किनभने शोषितहरूको सम्मान स्वतः कमसल हुन्छ भनी यसले वकालत गर्छ । यहाँसम्म कि, सौन्दर्यशास्त्रलाई समेत सम्बोधनमा उचनीचको अवधारणाले विकृत बनाइदिन्छ किनभने कमसल सम्बोधनमा पर्ने व्यक्तिलाई स्वतः कुरूप देख्न यस अवधारणाले समाजलाई प्रशिक्षित गर्छ । सामन्तवादी युगको उचनीचको अवधारणाका विरुद्ध पुँजीवादी क्रान्तिले काफी क्रान्तिकारी फेरबदल ल्याएको हो । सामन्तवादी युगका त्यस्ता व्यापक अवधारणालाई पुँजीवादी व्यवस्थाले ध्वस्त बनाएकै थियो तर पुँजीवादी व्यवस्थाको त्यो प्रगतिशीलता कायम रहिरहन सकेन । एक त सामन्तवादका कैयौं सांस्कृतिक पक्षहरूसँग पुँजीवादले सम्झौता गर्नाले ती पक्षसँग जोडिएका सम्बोधनका उचनीच कायम नै राख्नुपर्ने बाध्यतामा पुँजीवाद पुग्यो । युरोप लगायतका स्थानमा बाँकी राखिएका राजसंस्था र तिनलाई गरिने विशिष्ट सम्बोधन यस विषयका ठोस उदाहरण हुन् । अर्कातिर, पुँजीवादी समाजमा गहिरिँदै जाने वर्गीय खाडल र शक्तिको केन्द्रीकरणले पनि नयाँनयाँ उचनीच स्थापित गर्नैपर्ने, त्यो उचनीचलाई सम्बोधन संस्कृतिका रूपमा प्रचलनमा ल्याउनैपर्ने आवश्यकता अनिवार्य बन्न पुग्यो । पुँजीवादी व्यवस्थाभित्रको यही वस्तुगत आवश्यकताले गर्दा राजनीतिक, प्रशासनिक संरचनाहरूमा सम्बोधनमा समेत उचनीच जबर्जस्त रूपमा अभ्यास हुन पुगेको हो । कुरा समाजवादको गर्ने राजनीतिक पार्टीहरूचाहिँ त्यस्तो उचनीचमय संस्कृतिको रक्षकका रूपमा उभिएका छन् । सम्बोधनमा रहेको यो कुसंस्कृति क्रमशः भत्किएर समानतातिर जानुको सट्टा थप नयाँ सम्बोधनका उचनीच थपिँदै छन् । यस्तो संस्कृतिलाई बढावा दिने काममा राज्य नै एक कदम अगाडि छ । राज्य आफैंले कसैलाई सम्माननीय भन्छ, कसैलाई माननीय भन्छ अनि आम नागरिकलाई मानबिनाको मानिसका रूपमा उचनीचको व्यवहार खप्न बाध्य पार्छ । एउटै पार्टीका कार्यक्रमहरू उचनीचको संरचना र सम्बोधनले ग्रस्त छन् । प्रमुख अतिथि, विशेष अतिथि, अतिथि अनि सहभागी । पुँजीवादी व्यवस्थाको यो रबैयालाई दृष्टिगत गर्दा सजिलै भन्न सकिन्छ, सम्बोधनमा उचनीच यस व्यवस्थाको पनि एउटा अनिवार्य अंग बनिसकेको छ ।

अर्थतन्त्र नै मानव समाजको भौतिक जग हो । अर्थतन्त्रको स्वामित्वमा कायम रहने असमानताले संस्कृतिका क्षेत्रमा असमानतालाई अनिवार्य बनाइदिन्छ । यस कोणबाट हेर्दा, जबसम्म समानतामा आधारित समाजवादी अर्थतन्त्र निर्माण गरिने राजनीतिक युगमा समाज प्रवेश गर्दैन, तबसम्म संस्कृतिमा रहेका र जन्मिरहने असमानताहरू अन्त्यको प्रक्रिया आम रूपमा सुरु हुनेछैन । यही आधारभूत सूत्र नै सम्बोधनमा रहेका उचनीचका सम्बन्धमा पनि लागू हुन्छ । तर अर्थतन्त्र र संस्कृतिबीचको चलायमान सम्बन्धका सन्दर्भमा अर्को नियम पनि लागू हुन्छ । त्यो के भने, अर्थतन्त्रको जगमा संस्कृति निर्माण र चलायमान हुने मात्र होइन, बरु संस्कृतिले स्वयम् खराब संस्कृति र अर्थतन्त्रमाथि हस्तक्षेप पनि थाल्छ । यो पक्ष महत्त्वपूर्ण छ । त्यसैले सम्बोधन संस्कृतिमा रहेका उचनीचहरू समानतामा आधारित समाजवादी अर्थतन्त्रको युग सुरु नभएसम्म कायम रहिरहन्छन् वा राख्न बाध्य हुनुपर्छ भन्ने निष्कर्षमा पुग्नु कदापि सही हुन सक्दैन । अहिलेदेखि समाजवादी सांस्कृतिक आन्दोलन र सचेत नागरिक समाजले सम्बोधनमा रहेका उचनीचहरूलाई अन्त्य गर्दै अघि बढ्ने कार्यसूची बनाउनैपर्छ । संस्कृति र सम्बोधनमा रहेका तमाम प्रकारका उचनीचमाथिको प्रहार छरपस्ट रूपमा सुरु गरेर फलदायी हुन सक्दैन, यसको साटो आम जनजीवनमा समानता प्रकट हुने सम्बोधनलाई एउटै बनाउन सुरु गर्न थाल्नु सही तरिका हुनेछ । आम जनजीवनमा सम्मान र समानताबोध हुने शब्द ‘तपाईं’ नै हुन सक्छ । कैयौं प्रसंगमा ‘तिमी’ शब्दले ज्यादा न्यानो अनुभूति गराउने गरेको त छ तर त्यसले आम समाजका सबै सन्दर्भमा समानता र सम्मानबोध गराउन सक्ने स्थिति छैन । तसर्थ, तँ, तिमी, हजुर आदि सम्बोधनलाई अब आम सम्बोधन संस्कृतिबाट हटाउने अभियान सुरु गर्नैपर्छ; ‘तपाईं’ सम्बोधनलाई मात्र सर्वस्वीकृत सम्बोधन संस्कृतिका रूपमा स्थापित गर्नुपर्छ ।

प्रकाशित : माघ ९, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

गीतसंगीतको निरन्तर चोरी

सम्पादकीय

संगीतज्ञ अम्बर गुरुङले उहिल्यै ‘सुनको तारा खसाउने गीत’ र ‘अन्तर्वार्ता र अनुभव’ लेखमार्फत गीतसंगीत चोरीबाट आफू आजित भएको दुखेसो पोखेका थिए ।

प्रविधिले फड्को मारेसँगै गीत प्रसारणका माध्यमहरू परिवर्तन भएका छन्, तर अम्बर गुरुङको पुस्ता र अहिलेको पुस्ताको अनुभवमा भने खासै भिन्नता आउन सकेको छैन । बजारमा उस्तैउस्तै सुनिने गीतहरू छ्यापछ्याप्ती भेटिन्छन्, सुन्ने–हेर्नेले कुनको चोरी वा नक्कल कसले गरेको हो भनेर खुट्याउनै नसक्ने गरी । गुरुङको बेलाको तुलनामा अहिले आमसञ्चार माध्यमको व्यापक विस्तार भएकाले गीतसंगीत चोरीका घटना सार्वजनिक हुने क्रम बढेको छ । यो समस्याको समाधानको उपाय भने पत्ता लगाउन सकिएको छैन । उसो त, बौद्धिक चोरी रोक्ने उपाय यही हो भन्न सकिँदैन पनि । यो संसारभरि नै धेरै हदसम्म समाज–स्रष्टाको चेतनामै भर पर्छ, तर यस विषयमा निरन्तर छलफल भने भइरहनुपर्छ ।

अम्बर गुरुङदेखि आजसम्म आइपुग्दा गीतसंगीतको चोरीको निरन्तर बहसले यसको सुनुवाइका लागि संस्थाहरूको परिकल्पना भने गर्‍यो, जुन आफैंमा उपलब्धि नै हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र गीतकार तथा संगीतकारहरूका विभिन्न संघसंस्था यसै बहसका उपज हुन् । यसले

कम से कम पहिलेजस्तो सृजना चोरी हुँदा स्रष्टाहरू एक्लैएक्लै लड्नुपर्ने बाध्यताको अन्त्य गरेको छ । अहिले यो समस्यासँग जुध्नुपरे स्रष्टाहरूले संस्थागत साथ पाउँछन्, यिनै संस्थाले चोरी भएको हो/होइन भन्ने छिनोफानो पनि गरिदिन्छन् । अदालत जान सहजीकरणसमेत गर्छन् । तर, हाम्रोमा गीतसंगीत चोरीका घटना सार्वजनिक हुँदा पनि, चोर्नेहरूलाई पटक्कै लज्जाबोध हुँदैन, दर्शक–श्रोताहरूले पनि यस विषयलाई सामान्य मान्ने गरेका छन् । गीतसंगीत चोरी गरेको प्रमाणित भए पनि, कानुनअनुरूप कारबाही भएका उदाहरण कमै छन् । यस्ता मुद्दाहरू प्रायः आर्थिक लेनदेनबाटै टुंग्याइने गरिन्छन् । एउटा स्रष्टा कानुनी लडाइँका लागि तम्सिए पनि, त्यसमै लागिरहन व्यावहारिक हुँदो रहेनछ भन्ने सहमति खोज्ने यस्तो प्रवृत्तिले उजागर गर्छ । हुन पनि, आफ्नो सृजनशील समय जोगाउने ध्याउन्नमै हुन्छन् स्रष्टाहरू । त्यसले गर्दा बौद्धिक चोरी समाधानको उपाय कानुनी बाटो मात्र पनि हुन्न । यसलाई नैतिकताको कसीमा राखेर हेर्नुपर्ने हुन्छ । तर यस मामिलामा हामी निकै कमजोर छौं, स्थापित स्रष्टाहरू नै चोरीमा संलग्न हुँदा पनि दर्शक–श्रोताले तिनमाथि प्रश्न उठाउन सकेका छैनन् । सर्जक र पाठक–दर्शक–श्रोतामाझ प्रतिलिपि अधिकार र बौद्धिक चोरीको बुझाइ र मान्यतालाई स्थापित गर्नु आजको सबैभन्दा ठूलो चुनौती बनिरहेको छ ।

कुनै चलचित्र ‘रिलिज’ हुनुअघि चलचित्र विकास बोर्डअन्तर्गतको सेन्सर बोर्डले पास गर्नुपर्छ, तर गीतसंगीतको हकमा यस्ता नियामक निकाय अस्तित्वमा छैनन् । रेडियो नेपालको दबदबा हुँदा केही हदसम्म यसले नियामक निकायको काम गरेको थियो । स्रष्टाहरूले श्रेय पाउँथे, गीतसंगीत उत्पादनका माध्यमहरू निकै कम थिए । एफएम, क्यासेट, सीडी हुँदै युट्युबजस्ता डिजिटल माध्यमसम्म आइपुग्दा, गीत जसले पनि सहजै उत्पादन र प्रसारण गर्न सक्ने भएको छ । जुनै प्रयोजनका लागि पनि अरूका शब्द, धुन र लय प्रयोग गर्न सजिलो भएको छ ।

पछिल्ला वर्षहरूमा म्युजिक कम्पनी बढिरहेका छन्, यससँगै प्रतिलिपि अधिकार कोसँग रहने भन्ने विवाद पनि चर्किरहेको छ । गीतसंगीत सृजनामा गीतकार, संगीतकार, गायक/गायिका, म्युजिक कम्पनीलगायतको समय र मिहिनेत उत्तिकै परेको हुन्छ तर प्रतिलिपि अधिकार भने हाम्रोमा प्रायः लगानीकर्ताले आफ्नो पोल्टामा पार्ने गरेका छन् । आम्दानी र स्रष्टाहरूको जीविकासँग प्रत्यक्ष जोडिएको प्रतिलिपि अधिकार कोसँग हुने भन्ने पक्षमा स्पष्ट नभए गीतसंगीत चोरी हुँदा कसको आर्थिक नोक्सानी भइरहेको छ भन्ने निर्क्योल गर्न सकिन्न । स्रष्टाहरूको आर्थिक सुरक्षाका लागि पनि यस क्षेत्रमा प्रतिलिपि अधिकारको बाँडफाँट र रोयल्टीका विषयमा एकरूपता ल्याउनु आवश्यक छ । यसका लागि सम्बन्धित क्षेत्रका व्यक्ति तथा संघ–संस्था आफैं अग्रसर हुनु जरुरी छ ।

बौद्धिक सम्पत्तिको चोरी गीतसंगीतमा मात्र सीमित छैन । हाम्रोमा विश्वविद्यालयका थेसिसहरू सहजै किन्न पाइन्छन्, विश्वविद्यालयकै कतिपय प्राध्यापकले अरूको हुबहु सारेर थेसिस, लेख बनाएका बारे बारम्बार चर्चा–परिचर्चा भइरहन्छ । यस्तो चर्चाले बौद्धिक सम्पत्तिको अधिकार र संरक्षणको बहसलाई केही हदसम्म अघि बढाइरहेको छ, धेरैलाई यसबारे जानकारी पनि दिइरहेको छ । सर्जकलाई प्रोत्साहन तथा आर्थिक सुरक्षा दिन बौद्धिक सम्पत्तिमाथि निश्चित समयको एकाधिकार दिइने विश्वव्यापी मान्यताकै आधारमा नेपालमा प्रतिलिपि अधिकारसम्बन्धी हाल प्याटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन–२०२२, प्रतिलिपि अधिकार ऐन–२०५९ तथा प्रतिलिपि अधिकार नियमावली–२०६१ प्रचलनमा छन्, जसले न्यायालयको बाटो खोलिदिएका छन् । तर, बौद्धिक सम्पत्तिको अधिकारसम्बन्धी चेतना विस्तार नभएसम्म सृजनाको संरक्षण र संवर्द्धन हुन सक्दैन । बौद्धिक चोरी निरुत्साहित गर्न निरन्तर आवाज उठाइरहनुको विकल्प छैन ।

प्रकाशित : माघ ९, २०७८ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×