कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गीतसंगीतको निरन्तर चोरी

सम्पादकीय

संगीतज्ञ अम्बर गुरुङले उहिल्यै ‘सुनको तारा खसाउने गीत’ र ‘अन्तर्वार्ता र अनुभव’ लेखमार्फत गीतसंगीत चोरीबाट आफू आजित भएको दुखेसो पोखेका थिए ।

गीतसंगीतको निरन्तर चोरी

प्रविधिले फड्को मारेसँगै गीत प्रसारणका माध्यमहरू परिवर्तन भएका छन्, तर अम्बर गुरुङको पुस्ता र अहिलेको पुस्ताको अनुभवमा भने खासै भिन्नता आउन सकेको छैन । बजारमा उस्तैउस्तै सुनिने गीतहरू छ्यापछ्याप्ती भेटिन्छन्, सुन्ने–हेर्नेले कुनको चोरी वा नक्कल कसले गरेको हो भनेर खुट्याउनै नसक्ने गरी । गुरुङको बेलाको तुलनामा अहिले आमसञ्चार माध्यमको व्यापक विस्तार भएकाले गीतसंगीत चोरीका घटना सार्वजनिक हुने क्रम बढेको छ । यो समस्याको समाधानको उपाय भने पत्ता लगाउन सकिएको छैन । उसो त, बौद्धिक चोरी रोक्ने उपाय यही हो भन्न सकिँदैन पनि । यो संसारभरि नै धेरै हदसम्म समाज–स्रष्टाको चेतनामै भर पर्छ, तर यस विषयमा निरन्तर छलफल भने भइरहनुपर्छ ।

अम्बर गुरुङदेखि आजसम्म आइपुग्दा गीतसंगीतको चोरीको निरन्तर बहसले यसको सुनुवाइका लागि संस्थाहरूको परिकल्पना भने गर्‍यो, जुन आफैंमा उपलब्धि नै हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र गीतकार तथा संगीतकारहरूका विभिन्न संघसंस्था यसै बहसका उपज हुन् । यसले

कम से कम पहिलेजस्तो सृजना चोरी हुँदा स्रष्टाहरू एक्लैएक्लै लड्नुपर्ने बाध्यताको अन्त्य गरेको छ । अहिले यो समस्यासँग जुध्नुपरे स्रष्टाहरूले संस्थागत साथ पाउँछन्, यिनै संस्थाले चोरी भएको हो/होइन भन्ने छिनोफानो पनि गरिदिन्छन् । अदालत जान सहजीकरणसमेत गर्छन् । तर, हाम्रोमा गीतसंगीत चोरीका घटना सार्वजनिक हुँदा पनि, चोर्नेहरूलाई पटक्कै लज्जाबोध हुँदैन, दर्शक–श्रोताहरूले पनि यस विषयलाई सामान्य मान्ने गरेका छन् । गीतसंगीत चोरी गरेको प्रमाणित भए पनि, कानुनअनुरूप कारबाही भएका उदाहरण कमै छन् । यस्ता मुद्दाहरू प्रायः आर्थिक लेनदेनबाटै टुंग्याइने गरिन्छन् । एउटा स्रष्टा कानुनी लडाइँका लागि तम्सिए पनि, त्यसमै लागिरहन व्यावहारिक हुँदो रहेनछ भन्ने सहमति खोज्ने यस्तो प्रवृत्तिले उजागर गर्छ । हुन पनि, आफ्नो सृजनशील समय जोगाउने ध्याउन्नमै हुन्छन् स्रष्टाहरू । त्यसले गर्दा बौद्धिक चोरी समाधानको उपाय कानुनी बाटो मात्र पनि हुन्न । यसलाई नैतिकताको कसीमा राखेर हेर्नुपर्ने हुन्छ । तर यस मामिलामा हामी निकै कमजोर छौं, स्थापित स्रष्टाहरू नै चोरीमा संलग्न हुँदा पनि दर्शक–श्रोताले तिनमाथि प्रश्न उठाउन सकेका छैनन् । सर्जक र पाठक–दर्शक–श्रोतामाझ प्रतिलिपि अधिकार र बौद्धिक चोरीको बुझाइ र मान्यतालाई स्थापित गर्नु आजको सबैभन्दा ठूलो चुनौती बनिरहेको छ ।

कुनै चलचित्र ‘रिलिज’ हुनुअघि चलचित्र विकास बोर्डअन्तर्गतको सेन्सर बोर्डले पास गर्नुपर्छ, तर गीतसंगीतको हकमा यस्ता नियामक निकाय अस्तित्वमा छैनन् । रेडियो नेपालको दबदबा हुँदा केही हदसम्म यसले नियामक निकायको काम गरेको थियो । स्रष्टाहरूले श्रेय पाउँथे, गीतसंगीत उत्पादनका माध्यमहरू निकै कम थिए । एफएम, क्यासेट, सीडी हुँदै युट्युबजस्ता डिजिटल माध्यमसम्म आइपुग्दा, गीत जसले पनि सहजै उत्पादन र प्रसारण गर्न सक्ने भएको छ । जुनै प्रयोजनका लागि पनि अरूका शब्द, धुन र लय प्रयोग गर्न सजिलो भएको छ ।

पछिल्ला वर्षहरूमा म्युजिक कम्पनी बढिरहेका छन्, यससँगै प्रतिलिपि अधिकार कोसँग रहने भन्ने विवाद पनि चर्किरहेको छ । गीतसंगीत सृजनामा गीतकार, संगीतकार, गायक/गायिका, म्युजिक कम्पनीलगायतको समय र मिहिनेत उत्तिकै परेको हुन्छ तर प्रतिलिपि अधिकार भने हाम्रोमा प्रायः लगानीकर्ताले आफ्नो पोल्टामा पार्ने गरेका छन् । आम्दानी र स्रष्टाहरूको जीविकासँग प्रत्यक्ष जोडिएको प्रतिलिपि अधिकार कोसँग हुने भन्ने पक्षमा स्पष्ट नभए गीतसंगीत चोरी हुँदा कसको आर्थिक नोक्सानी भइरहेको छ भन्ने निर्क्योल गर्न सकिन्न । स्रष्टाहरूको आर्थिक सुरक्षाका लागि पनि यस क्षेत्रमा प्रतिलिपि अधिकारको बाँडफाँट र रोयल्टीका विषयमा एकरूपता ल्याउनु आवश्यक छ । यसका लागि सम्बन्धित क्षेत्रका व्यक्ति तथा संघ–संस्था आफैं अग्रसर हुनु जरुरी छ ।

बौद्धिक सम्पत्तिको चोरी गीतसंगीतमा मात्र सीमित छैन । हाम्रोमा विश्वविद्यालयका थेसिसहरू सहजै किन्न पाइन्छन्, विश्वविद्यालयकै कतिपय प्राध्यापकले अरूको हुबहु सारेर थेसिस, लेख बनाएका बारे बारम्बार चर्चा–परिचर्चा भइरहन्छ । यस्तो चर्चाले बौद्धिक सम्पत्तिको अधिकार र संरक्षणको बहसलाई केही हदसम्म अघि बढाइरहेको छ, धेरैलाई यसबारे जानकारी पनि दिइरहेको छ । सर्जकलाई प्रोत्साहन तथा आर्थिक सुरक्षा दिन बौद्धिक सम्पत्तिमाथि निश्चित समयको एकाधिकार दिइने विश्वव्यापी मान्यताकै आधारमा नेपालमा प्रतिलिपि अधिकारसम्बन्धी हाल प्याटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन–२०२२, प्रतिलिपि अधिकार ऐन–२०५९ तथा प्रतिलिपि अधिकार नियमावली–२०६१ प्रचलनमा छन्, जसले न्यायालयको बाटो खोलिदिएका छन् । तर, बौद्धिक सम्पत्तिको अधिकारसम्बन्धी चेतना विस्तार नभएसम्म सृजनाको संरक्षण र संवर्द्धन हुन सक्दैन । बौद्धिक चोरी निरुत्साहित गर्न निरन्तर आवाज उठाइरहनुको विकल्प छैन ।

प्रकाशित : माघ ९, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?