कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बालबालिका मनोरञ्जनका साधन होइनन्

लेखनाथ भण्डारी

नेपाली गीत–संगीतको विकास र विस्तारका लागि पछिल्लो समय अनेक प्रयास भइरहेका छन् । तीमध्ये चर्चा र आकर्षणको केन्द्रमा छन्— अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी सोहरू ।

बालबालिका मनोरञ्जनका साधन होइनन्

यी सोहरूले देशका विभिन्न स्थानमा रहेका प्रतिभाहरूको उजागर र प्रवर्द्धन गर्ने गरेका छन् । तर, बालबालिकासम्बन्धी सोहरूबारे भने पुनर्विचार गर्नैपर्ने भएको छ । यस्ता सोहरू बालबालिकाको मनोविज्ञानलाई केन्द्रमा राखेर डिजाइन गरिएका हुन्नन् । कार्यक्रम बालमैत्री र बालबालिकाको उमेर र रुचिअनुकूल कत्ति पनि छैनन् । व्यावसायिक लाभका लागि असाध्यै मिहिनेत गरिएको छ तर बाल मनोविज्ञानलाई ख्यालै गरिएको छैन । बालबालिकाको ज्ञान र रुचिका लागि नभएर यस्ता सोहरू वयस्क दर्शकका लागि मनोरञ्जनको माध्यम बनाइएका छन् ।

संस्कृति संरक्षण र मनोरञ्जन कतिपय सन्दर्भमा जोडिएर आउँछन् । अभिभावकहरूले छोराछोरीलाई संस्कृति बुझून् भनेर आफ्नो घर वा समुदायमा विशेष अवसरमा हुने नाचगानमा सहभागी गराउँछन् । तर यस्ता अवसरमा पनि बालबालिकाको सहभागिता अभिभावक वा दर्शकको रुचि अनुसार मनोरञ्जनका लागि मात्र हुने गर्छ । बालबालिकाको मानसिक स्वास्थ्य तथा व्यक्तित्व विकासका लागि यस्ता कार्यक्रममा तिनको उमेर, चेतना र रुचिलाई ख्याल गर्नैपर्छ । उनीहरूको ज्ञान–चेतनामा सहयोग पुर्‍याउने कार्यक्रममा मात्र उनीहरूलाई सहभागी गराउने गर्नुपर्छ । हुर्कंदै गरेका बालबालिकालाई संस्कृति प्रवर्द्धन वा संरक्षणका नाममा ‘दोहोरो मार’ मा नपार्न अभिभावक तथा सोका डिजाइनरहरू पनि सचेत हुनुपर्छ ।

विभिन्न फ्रेन्चाइज सोहरूमा बालबालिकाको सहभागिता स्वाभाविक नलागे पनि कसैले प्रश्न गरेको पाइँदैन । यो बालबालिकाको दुरुपयोग/शोषण हो । हाम्रोमा हात्तीलाई पोलो खेलाउनु, बाँदरलाई नचाउनु र बालबालिकालाई सर्कसमा खेलाउनु हुन्न भन्ने आवाज उठिरहेकै छ । यसै सन्दर्भमा यी सोहरूमा बालबालिकाको सहभागितालाई कसरी हेर्ने ? त्यहाँ उनीहरूको सान्दर्भिकता र औचित्य कति छ ? यो शोषण वा अप्रत्यक्ष बेचबिखन त होइन ? के उनीहरू व्यापार, लाभ र मनोरञ्जनका साधन हुन् ? त्यहाँको गायन, नृत्य तथा शब्द छनोट आदि बालबालिकाको उमेर वा ज्ञान अनुसार छन् त ? यसबाट बालबालिकामा पर्ने मनोवैज्ञानिक असर कस्तो हुन्छ ? तिनको उमेर, रुचि र ज्ञानको सीमा हेरिनुपर्दैन ?

प्रतिभाको खोजी र संरक्षण गर्दा, आम दर्शक–अभिभावकको मनोरञ्जन तथा आयोजक, सञ्चार प्रतिष्ठान लगायत प्रदायकका लाभ र कमिसन मात्र प्राथमिकतामा पर्नु हुन्न । यसो भनेर बालबालिकालाई सांस्कृतिक अवसरमा सहभागी गराउनु हुन्न भन्न खोजेको होइन । उनीहरूलाई पर्वहरूको महत्त्व तथा मनोरञ्जनबारे उमेर र रुचि अनुसार जानकारी दिँदै सहभागी गराउनुपर्छ । तर व्यावसायिक भनिएका सोहरूमा तिनका अभिभावक र व्यावसायिक घराना/कम्पनीले बालबालिकालाई खोरमा राखेर वयस्कहरूको मनोरञ्जनको साधन बनाउनु संस्कृतिको संरक्षण र बाल प्रतिभाको विकास हुनु होइन ।

सांस्कृतिक कार्यक्रम विशेषतः गीत–नृत्य आदिमा बालाबालिकालाई उमेर, चेतना र रुचि अनुसार सहभागी गराउँदा वैयक्तिक विकाससँगै त्यसमा चासो पनि बढ्न सक्छ । अभिभावक वा दर्शक–श्रोताले क्षणिक मनोरञ्जनका लागि बालबालिकाको प्रयोग हुन दिनु हुन्न । यसो गर्दा, उनीहरूको चेतना र वैयक्तिक विकाससँगै संस्कृति तथा नाचगानप्रति नै रुचि घट्दै जान्छ । बालबालिका सहभागी हुने गीत–नृत्य आदिका शब्द, अर्थ वा सन्देशमा ध्यान दिएर उपयुक्त छनोट गर्नुपर्छ । रियालिटी सोहरूमा सहभागी भएका बालबालिकाको उपचारका लागि अभिभावकहरू मनोचिकित्सककहाँ धाइरहनुपरेको वास्तविकता अचेल सार्वजनिक भैइरहेका छन् । भोटको अस्वस्थ प्रतिस्पर्धाका कारण सोहरूमा सहभागी बालबालिकाका अभिभावक बैंकको ऋणमा डुबेका पनि भेटिन्छन् ।

यस्ता प्रयोग/प्रदर्शन अन्य देशमा पनि हुन्छन् भनेर तर्क गर्न सकिएला तर अन्यत्रका सबै कुरा हामीले जस्ताको तस्तै अपनाउनु हुँदैन, सक्दैनौं पनि । समाज र अभिभावकको चेतना, बालबालिकाले गाउने गीतका शब्द र संकेत, जज वा सञ्चालकहरूका प्रश्न र प्रस्तुति हेर्दा यस्ता कार्यक्रमलाई बालमैत्री बनाउन बाल अधिकार अभियन्ता र बाल मनोविद्हरूको सहभागिता तथा भूमिका छ भन्ने कुनै आधार भेटिन्न । अन्यत्रको उदाहरण देखाएर यस्ता कार्यक्रमको औचित्य पुष्टि गर्ने प्रयास बेकार छ, किनभने हाम्रोमा उनीहरूको जस्तो सामाजिक चेतनाको विकास भएको छैन, उनीहरूको स्तरमा पुग्ने अवस्थामा पनि छैनौं ।

यस्ता कार्यक्रमको अनुगमन कसले–कसरी गर्छ, बाल विशेषज्ञहरूको सहभागिता र भूमिका कस्तो छ, यसका लागि को–को छन् जस्ता विषय पारदर्शी हुनुपर्छ कि पर्दैन ? बालबालिकासँग ‘मैले के बोलिरहेको छु’ भन्ने ज्ञान हुन्पुर्छ कि पर्दैन ? यस्ता कार्यक्रमको उद्देश्य बालबालिकाको प्रतिभा विकास हो भने तिनमा उमेर अनुसार सिकाइ मापदण्ड लागू हुनुपर्छ कि पर्दैन ?

हिजो लोकसंस्कृतिका नाममा सामाजिक मर्यादा र मापदण्डविपरीत भए भनेर चर्चा र विवादमा आएका कतिपय दोहोरो अर्थ लाग्ने गीतहरूमा बालबालिकासँगै अभिभावकसमेत यी सोहरूमा नाचिरहेका छन् । यो बालबालिकाको प्रतिभा र व्यक्तित्व विकासका लागि स्वाभाविक छैन । अभिभावकले छोराछोरी यस्ता सोहरूमा पठाउँदा माथिका धेरै अनुत्तरित प्रश्नको जवाफ खोज्नुपर्छ । जवाफ भेटे मात्र बालबालिकालाई यस्ता सोहरूमा पठाउनुपर्छ । बालबालिकाले अवसर पाएका छन् भनेर यस्ता सोहरूको सञ्चालनका तरिका र विधिबारे अभिभावकहरूले आँखा चिम्लिने हो र सञ्चालकहरूले पनि बालमैत्री निश्चित विधि र मापदण्ड नअपनाउने हो भने, यी प्रतियोगिता र सर्कसमा केही भिन्नता हुँदैन । दुवैले बालबालिकाको कष्टलाई मनोरञ्जन बनाउने हुन् ।

हिजो सुन्दरी प्रतियोगिताको विरोधमा ढुंगामुढा गरेका हामी यति छिट्टै बालबालिकाका व्यावसायिक सोहरू गर्न सक्षम भएका हौं भने यो हामीले मारेको चेतनाको ठूलै फड्को हो । तर, संस्कृति प्रवर्द्धन, बाल प्रतिभाहरूको खोजी र प्रोत्साहनका नाममा बालबालिकाको मनोविज्ञानमा असर पुर्‍याउनु र तिनलाई आमदर्शक–श्रोताको मनोरञ्जनको साधन र व्यावसायिक लाभको माध्यम बनाउनु हुँदैन । यस सम्बन्धमा अब कार्यक्रम आयोजक, प्रायोजक, जज, अभिभावक, राज्यका नियमनकारी निकाय तथा बाल अधिकारका अभियन्ताहरूले समन्वय गर्नुपर्छ ।

प्रकाशित : माघ ५, २०७८ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?