अमेरिकामा घर किन्नु सस्तो कि महँगो ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा घर किन्नु सस्तो कि महँगो ?

मैना धिताल

नेपालबाट अमेरिका गएकाहरूले केही वर्षपछि नै आकर्षक घरको फोटो खिचेर सामाजिक सञ्जालका भित्तामा पोस्टिँदा यता नेपालमा बस्नेहरूले सोच्छन्, ‘अहो, फलानोले त कति छिटो प्रगति गरिसकेछ ! पैसा टन्न कमाएर घर पनि जोडिसकेछ ।’ झट्ट हेर्दा त्यस्तो लाग्नु स्वाभाविकै हो । किनकि नेपालमा अलिकति पैसा भए पहिला जग्गा किन्छन्, अनि त्यसपछि घर । घर छ भने आर्थिक रूपमा धेरै बलियो भएको मानिन्छ । तर, अमेरिकी घरजग्गाको कथा अलि फरक छ ।

किन्नभन्दा ‘मेन्टेन’ गर्न खर्च बढी
अमेरिकामा घर किन्नलाई मुख्य रूपमा छ कुरा चाहिन्छन्— राम्रो क्रेडिट स्कोर, आम्दानी र रोजगारी, बचत, तिरिरहेको अरू ऋणको मात्रा, कर तथा बैंक ब्यालेन्स लगायतका आवश्यक कागजात र कर्जाका लागि पूर्वस्वीकृति । नियमित आम्दानी हुनेलाई अमेरिकामा घर किन्न सजिलै छ । कर्जा लामो समय (प्रायः २०–३० वर्ष) का लागि हुँदा किस्ता कम पर्न जान्छ । अरू ऋण छैन भने दुई–चार वर्ष काम गरेर केही बचत गर्नेहरूले (न्युयोर्क सिटी, सान फ्रान्सिस्कोजस्ता महँगा सहरबाहेक अन्यत्र) घर किन्न सक्छन् । झट्ट हेर्दा घरको मूल्य सस्तो देखिन्छ । तर, महिनैपिच्छे तिर्ने कर र अन्य मर्मतसम्भार खर्चले कालान्तरमा यसको लागत निकै बढाउँछ ।

मासिक रूपमा तिर्नुपर्ने अरू खर्चमा घरजग्गा कर, बिमा, ल्यान्डस्केपिङ खर्च, सरसफाइ, ढल, ग्यास–बत्ती–पानी र मर्मतसम्भार लगायत पर्छन् । यूएस न्युज र फ्रेडी म्याकको एक अध्ययनले घरधनीहरूले घरको मूल्यको औसतमा ४ प्रतिशत बजेट मर्मतसम्भारका लागि छुट्ट्याउनुपर्ने देखाएको छ । यो भनेको ३ लाख डलर पर्ने घर किनिएको छ भने मासिक १ हजार डलर मर्मतसम्भारका लागि मात्रै छुट्ट्याउनुपर्ने हुन्छ । यो घरको मासिक किस्ताबाहेकको रकम हो । त्यसैले नगदै तिरेर लिनेहरूलाई पनि नियमित र भरपर्दो आम्दानीको स्रोत छैन भने घर राखिराख्न गाह्रो हुन्छ ।

घरलाई आगलागी, बाढी, आँधीबेहरीजस्ता सम्भावित विपत्तिबाट हुन सक्ने क्षतिबाट आर्थिक रूपमा सुरक्षित राख्न बिमा गर्नुपर्छ । बिमाको दर पनि घर आफू मात्रै बस्नलाई प्रयोग भएमा कम पर्छ, भाडामा लगाउने हो भने अझ बढी पर्छ । बिमा मुख्य गरी तीन खालका छन् । पहिलो, घरको संरचना (जस्तै— भुइँ, पर्खाल, छत आदि) सम्बन्धी । दोस्रो, घरभित्रका सामग्रीसम्बद्ध (फर्निचर, लत्ताकपडा आदि) । तेस्रो, व्यक्तिगत दायित्व (जस्तै— आगन्तुक घरभित्र वा घरपरिसरमा कतै शारीरिक रूपमा घाइते हुँदा दिइने क्षतिपूर्ति) सम्बन्धी । यीबाहेक ठाउँ हेरेर बाढी, भूकम्प र पानी तथा ढलबाट हुन सक्ने क्षतिबाट सुरक्षित राख्न पनि बिमा गर्नुपर्ने हुन्छ ।

अर्को, घर मर्मत वा अद्यावधिक गरेमा पनि बढी कर तिर्नुपर्ने हुन्छ । उदाहरणका लागि, तपाईंले ३ लाख डलरमा घर किन्नुभयो । एक वर्षपछि त्यो घरमा तपाईंले पुरानो मोडलको भान्साकोठालाई नयाँ स्वरूप दिनुभयो र एउटा कोठा थप्नुभयो । त्यति हुनेबित्तिकै स्थानीय कर मूल्यांकन अधिकारीले तपाईंको घरको मूल्य बढाइदिन्छन् । घरको मूल्य बढ्नु भनेको मासिक रूपमा तिर्ने करको मात्रा पनि बढ्नु हो ।

राज्यअनुसार फरक मूल्य र कर
पछिल्लो समय नेपालीसहितका आप्रवासीहरू क्यालिफोर्निया र न्युयोर्कजस्ता महँगा राज्यबाट टेक्ससतिर सर्ने क्रम बढी छ । त्यसको एउटा कारण घरजग्गाको मूल्य कम हुनु पनि हो । टेक्ससमा सन् २०२० को जनगणनाअनुसार त्यो वर्ष ४० लाख नयाँ बासिन्दा थपिए । टेक्ससका घरहरू क्यालिफोर्नियाका तुलनामा ५९ प्रतिशतले सस्तो र १४ प्रतिशत बढी फराकिलो रहेको २०१९ को एउटा अध्ययनले देखाएको छ । अझ घरजग्गा कारोबारसम्बन्धी वेबसाइट जिलोका अनुसार मूल्य–अन्तर अझ ठूलो देखिन्छ । जस्तो कि, न्युयोर्क राज्यमा सन् २०२१ मा घरको औसत मूल्य ३ लाख ७२ हजार डलर हुँदा टेक्ससमा २ लाख ७१ हजार डलर र क्यालिफोर्नियामा ७ लाख २७ हजार डलर थियो ।

अमेरिकामा स्थानीय विद्यालय, प्रहरी सेवा, सडक, सरसफाइ लगायत घरधनीहरूले तिरेको करबाट चल्छन् । घरजग्गामा लाग्ने कर सबै राज्य र काउन्टीमा एउटै भने छैन । उदाहरणका लागि, हवाईमा यस्तो कर सबैभन्दा सस्तो (०.३७ प्रतिशत) र न्युजर्सीमा सबैभन्दा महँगो (२.२० प्रतिशत) छ । एउटै राज्य वा काउन्टी (जिल्ला) मा पनि फरक दर हुन्छ । टेक्ससमा राज्यले ‘प्रोपर्टी ट्याक्स’ नलिए पनि सिटी, काउन्टी (जिल्लासरह), विद्यालय र विशेष जिल्लालाई भने कर तिर्नुपर्छ । यहाँको औसत प्रोपर्टी ट्याक्स १.८० प्रतिशत छ । घरजग्गामा लाग्ने कर सस्तो नभए पनि टेक्ससमा आयकर नलाग्ने र घरको मूल्य पनि कम हुने हुँदा धेरैले सजिलै घर किन्न सक्छन् ।

घरसम्पत्ति करले चल्छन् विद्यालय अमेरिकामा सार्वजनिक विद्यालयहरू निःशुल्क छन् । तर, तिनको धेरैजसो खर्च घरसम्पत्तिको करबाट चल्छ । त्यसैले राम्रो विद्यालय धनी र नराम्रा विद्यालय गरिब भनेर चिनिन्छन् । किनकि अमेरिकामा विद्यालयको आर्थिक स्रोत मुख्य गरी स्थानीय रूपमै जुटाउनुपर्छ । संघीय सरकारले ८ प्रतिशत हाराहारी मात्रै बजेट दिन्छ । बाँकी स्थानीय र राज्य सरकारले नै जुटाउँछन् । त्यसैले ‘स्कुल डिस्ट्रिक्ट’ भित्र पर्ने ठाउँमा घरजग्गाको स्थानीय कर बढी हुन्छ ।

त्यही भएर बालबच्चा हुने परिवारले घर किन्दा विद्यालयको गुणस्तर राम्रो भएको ‘नेबरहुड’ छान्ने गर्छन् । नेसनल एसोसिएसन अफ रियल्टर्सको तथ्यांकअनुसार हाल सालैका घर खरिदकर्तामध्ये २६ प्रतिशतको कुन क्षेत्रमा घर किन्ने भन्ने निर्णयमा स्कुल डिस्ट्रिक्टले भूमिका खेलेको थियो । अझ ३०–३९ वर्ष प्रतिशत उमेर समूहका ४६ प्रतिशतले स्कुल डिस्ट्रिक्टलाई कुन ठाउँमा घर किन्ने भन्नेमा मुख्य आधार बनाएका थिए । अनि घरको मूल्यवृद्धि पनि त्यस्तै क्षेत्रमा बढी हुन्छ । यसैले बढी कर तिर्ने क्षेत्रका विद्यालय पनि राम्रा हुन्छन् । तिनै क्षेत्रमा अभिभावकहरू बस्न चाहन्छन् । अर्कातिर, बालबच्चा पनि निःशुल्क पढ्न पाउँछन् ।

तर, यसले जातीय विभेद पनि ल्याइरहेको छ । स्कुल डिस्ट्रिक्टले नै गरिब र धनी भनेर छुट्ट्याइदिन्छ । प्रायः गरिब नेबरहुडमा अफ्रिकी–अमेरिकी र हिस्प्यानिक आप्रवासीहरू रहने क्षेत्र पर्छन् । स्कुल डिस्ट्रिक्ट भौगोलिक आधारमा विभाजन गर्दा त्यसले विभेद निम्त्याए पनि सर्वोच्च अदालतले सन् १९५४ मा त्यसलाई बन्देज लगाएको थियो । तर पनि अभ्यासमा अझै छ । त्यसैले गोराहरू बसोबास गर्ने क्षेत्रमा स्कुलहरूलाई बढी फन्ड मिल्ने गरेको सीबीएसले १९ फेब्रुअरी २०२० मा प्रकाशित गरेको लेखमा उल्लेख छ ।

कोभिडसँगै फस्टायो कारोबार
कोभिड महामारीपछि भने अमेरिकामा घरजग्गा कारोबार निकै फस्टाएको छ, जुन १५ वर्षयताकै उच्च हो । सीएनएन अनुसार सन् २०२१ मा मात्रै २१ लाख घर बिक्री भए । त्योसँगै मूल्य पनि निकै अकासियो । औसत घरको मूल्यमा २० प्रतिशतले वृद्धि

भएको फेडरल हाउजिङ फाइनान्स एजेन्सीको आँकडा छ । तर, कतिपय क्षेत्रमा घरको मूल्य दोब्बरले नै बढ्यो । जिलोका अनुसार अमेरिकामा सन् २०२१ मा घरको औसत मूल्य ३ लाख १६ हजार डलर रह्यो ।

बढ्दो मागले गर्दा एउटै घरमा धेरै आकांक्षीले प्रतिस्पर्धा गर्न थाले । र, सबै नगदमै तिर्ने अफर आउन थाल्यो । कुरूप र थोत्रिएका घरहरू पनि बिक्री भए । त्यो पनि राम्रो दाममा । अवस्था कतिसम्म भयो भने, कुनै घर हेर्न गयो र आफूलाई मन पर्‍यो भने तुरुन्तै अफर गरिहाल्नुपर्ने । घरधनीले भनेको मूल्यभन्दा बढाएर लिन खोज्दासमेत पाएनन् कतिपयले । मेरा एक साथीको परिवारले न्युह्याम्सियरतिर मन परेको घर मूल्यभन्दा २० हजार डलर बढी अफर गर्दा पनि पाएन । दोस्रो पटक अर्कै घरलाई ४० हजार डलर बढी अफर गरेपछि उनीहरूले बल्ल पाए । क्यालिफोर्नियातिर सूचीकृत मूल्यभन्दा १–२ लाख डलर नै बढी अफर गर्दा पनि घर नपाउनेहरू थुप्रै थिए ।

कोभिड महामारी सुरु भएलगत्तै फेडरल रिजर्भ (केन्द्रीय बैंक) ले ब्याजदर घटाएर शून्य प्रतिशतमा झार्‍यो । यो भनेको बैंक तथा वित्तीय संस्थाबीच छोटो समयका लागि लिइने कर्जाको ब्याजदर हो । यसले उपभोक्तालाई दिने कर्जामा पनि प्रभाव पार्छ । सोही कारण बैंकहरूले सस्तो (३ प्रतिशत हाराहारी) मा घरजग्गामा कर्जा दिन थाले । अर्कातिर, कोभिडले गर्दा ‘वर्क फ्रम होम’ सुरु भयो । अफिस जान नपर्ने र घरबाटै काम गर्न मिल्ने हुँदा धेरै जना न्युयोर्कजस्ता महँगा सहरबाट साना सहर वा सहरोन्मुख क्षेत्रमा सर्न थाले । र, ती क्षेत्रमा घरको माग बढ्न थाल्यो । ठूला सहरमा घरको मूल्य घट्ने र साना ठाउँमा बढ्ने हुन पुग्यो । पछिल्लो समय यो गतिमा केही कमी आए पनि अझै ओरालो लागेको छैन ।

यस्तै, किस्ता तिर्न नसक्नेहरूलाई थप म्याद दिन कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्युरोले ‘फरबेरेन्स’ कार्यक्रम ल्यायो । यसबाट घरधनीले केही समयका लागि किस्ता तिर्नबाट राहत पाए । यसमा किस्ता तिर्न ढिलाइ गर्न पाउने अवधि ३ देखि ६ महिनासम्म दिइयो । केही विशेष केसमा त्योभन्दा बढी सुविधा पनि दिइयो ।

अमेरिकामा ब्रोकरले नेपालमा जस्तो जथाभावी घरजग्गाको मूल्य बढाउँदैनन् । ब्रोकर तथा रियलस्टेट एजेन्टले पारदर्शी रूपमा आफ्नो शुल्क राख्छन् र सम्भावित क्रेतालाई सूचना उपलब्ध गराउँदै मध्यस्थकर्ताको भूमिका खेल्छन् । त्यसैले घरजग्गाको मूल्य कृत्रिम रूपमा बढ्न पाउँदैन । अमेरिकामा घर आधारभूत आवश्यकता हो । तर, योसँगै थुप्रै आर्थिक र सामाजिक दायित्व पनि गाँसिएर आउँछन् । त्यसका लागि तयार नभए घर भए पनि सडकको बास हुन बेर लाग्दैन ।

प्रकाशित : माघ ५, २०७८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

केयूले ल्यायो ‘मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स’

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं विश्वविद्यालयले ‘मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स’ विषयको पठनपाठन सुरु गरेको छ । विश्वका चर्चित हार्वर्ड, सिकागो, मिसिगन युनिभर्सिटीमा पठनपाठन हुँदै आएको विषय नेपालमा पहिलो पटक लागू गर्न लागेको जनाइएको छ । केयूले २०५० सालयता स्नातकोत्तर तहमा एमबीए, ईएमबीए र एमपीपीएम विषय पठनपाठन गर्दै आएको छ । 

‘यस कार्यक्रमको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय जगतमा अर्थशास्त्र विधामा भएका नवीन खोज तथा अनुसन्धानलाई व्यवस्थापन शिक्षासँग समायोजन गरी भविष्यमा मुलुकलाई चाहिने बिजनेस इकोनोमिक्सका विज्ञहरूको उत्पादन गर्नु हो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा केयू स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक अच्युत वाग्लेले भने, ‘हाम्रा विश्वविद्यालयमा अहिलेसम्म बिजनेस र इकोनोमिक्स विषय फरक–फरक विषयका रूपमा पढाइन्थ्यो । अन्तर्राष्ट्रियस्तरमा गुणात्मक अनुसन्धान निम्ति यो कोर्स कामयाबी छ ।’

देशको नीतिगत तहमा अध्ययन अनुसन्धान गर्न आवश्यक जनशक्ति उत्पादनमा लक्षित गरिएको वाग्लेले बताए । दुईवर्षे अर्थात् चार सेमेस्टरको कार्यक्रम ६६ क्रेडिटको छ । अर्थशास्त्र, व्यवस्थापन, विज्ञान र इन्जिनियरिङमा स्नातक गरेकाले पढ्न पाउने जनाइएको छ ।

केयू स्कुल अफ म्यानेजमेन्टका डिन प्रा. देवीप्रसाद बिडारीले बृहत् रूपमा छरिएको विषयलाई एउटै बनाइएको बताए । ‘अहिले केयूले मात्र सञ्चालन गर्दै छ र यदि अन्य विश्वविद्यालय तथा क्याम्पसले आवश्यक ठानेमा सञ्चालन अनुमति दिइनेछ,’ सामाजिक उत्तरदायित्वसहितको विषय रहेको उनले जनाए । कोर्सबारे विषयविज्ञ दीपेश कार्कीले चर्चा गरेका थिए ।

प्रकाशित : माघ ५, २०७८ १०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×