पिँढी नै अस्ताउँदै गएपछि- विचार - कान्तिपुर समाचार

पिँढी नै अस्ताउँदै गएपछि

लैनसिंह बाङ्देलसँग मोहनमान सैंजुको घरमा प्रथम पटक भेट भएको थियो । हर्क गुरुङ मलाई भेट्न दिल्लीमा पेरियार होस्टलमै आएका थिए । लोकराज बराल, भेख थापा, कमलमणि दीक्षित, सैंजु, हृषीकेश शाह आदिसँगको कुराकानीले मलाई सदैव झकझकाइरहन्छ ।
महेन्द्र पी‍. लामा

हामी धेरै भाग्यमानी, एउटा सग्लो पिँढीलाई पछ्यायौं लामो समयसम्म । त्यो पिँढी जसले नेपाल, भोटाङ, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारतका कतिपय ऐतिहासिक क्षणहरूसँग खेलेको थियो । हामीलाई ती घटनाहरू आलैआलो सुनाउँथ्यो र दुइटा पिँढी अनि त तीन–चार पुस्ताहरू जोडेरै कुरा गर्थ्यो । त्यो पिँढी बिस्तारै अस्ताएर जाँदै छ । त्यो पिँढीका कतिले लेख–पुस्तक नै लेखी छाडेर गए, कतिले मौखिक इतिहास सुनाएर त कतिले सम्झना–यादका अनेकन् विचित्र पाटाहरू छाडेर गए ।

आज आफ्नै उमेरको ६० को दशकको पहिलो खुड्किलो चढ्दै गर्दा त्यो पिँढीका खेलाडीहरूका सम्झना–अविस्मरणीय क्षणहरूले कुतकुत्याउन लागे, आँखाकै नानीभित्र सलबलाइरहे र लेख्न नै मन पर्‍यो ।

कस्तो अचम्मकै पिँढी थियो † प्राय:ले खाली खुट्टै हिँडेर बाल्यकाल बिताए, कसैले दस श्रेणी–कक्षा पास गर्दासम्म चामलको भात खाएकै थिएनन् । हरदिन कैयन् किलोमिटर हिँडेर स्कुल–कलेज जाने–आउने गर्थे, परिवार ठूलो भएकाले मीठोमसिनोमा चित्त बुझाउँथे । गाडी–वाहन दसैं–तिहारमा मात्रै चढ्थे अनि फेरि धेरै महिनासम्म एउटै लुगा लगाउँथे । बिमार–साह्रोगाह्रो पर्दा हारगुहार माग्थे र डोको–थुन्सेमा बोकिएर धामी–झाँक्री डाक्टरकहाँ पुर्‍याइन्थे । र पनि सुन र चाँदीको मोल–मूल्य थाहा हुन्थ्यो । धेरैले आफ्नो गाउँ–परिवारमा शिक्षा हासिल गर्ने प्रथम पिँढीको नाम–यश कमाए ।

हामीले दार्जिलिङ–सिक्किममा यही पिँढीबाटै बुनियादी शिक्षा हासिल गर्‍यौं । चालीस वर्षअघि दिल्ली पुग्दा एउटा कर्मशील–शक्तिशाली पिँढीसँग भेट भयो । गाडीको प्रसिद्ध मेकानिक पुरन मिस्त्रीसँग मुनिरकामा, ब्याट्रीपसलको मालिक हरिसँग आरकेपुरममा अनि फेरि चस्मा दोकानको अजितसँग । क्या थिए यिनीहरू, हेरेरै ठीक गरिदिन्थे † घुइँचो लाग्थ्यो आरकेपुरमका यी पसलहरूमा । सबै अस्ताए एकएक गरी, उदासलाग्दा भए ती पसलहरू † तिनटै गाडी थिए— एम्बासेडर, फिएट र मारुती । अहिले केवल विदेशी मोडल । हामी फेरि भाग्यमानी, अस्टिन–एम्बासेडर–ल्यान्ड रोभरमा पनि चढ्यौं र सान्त्रो–पजेरो–टोयोटामा पनि चढ्दै छौं । तर एक सय रुपैयाँमा पूरा गाडीको सर्भिस–मर्मत गथ्र्याैं, आज कम्तीमा ६ हजार रुपैयाँमा । गाडीको पिँढीमा पनि त्यही भिन्नता ।

विद्वान्–विशाल हृदय भएकाहरूको ताँती थियो दिल्लीमा । एकापट्टि बीजी भर्गिज, पाई पानन्डिकर, रामास्वामी अय्यर, भवानी सेनगुप्ता, बीना मजुम्दार, प्राण चोपडा, एलपी सिंह; अर्काेपट्टि जेएन दीक्षित, मुचकुन्द दुबे, जीएस वाजपेयी, एमके नारायणन, आबिद हुसेन अनि भाष्कर घोष । सबैसँग राम्रो चिनापर्ची भयो र धेरै मिलेर काम गर्‍यौं । इन्द्रकुमार गुजराल, मनमोहन सिंह, प्रणव मुखर्जी, केसी पन्त, अटल बिहारी वाजपेयीसँग पनि कैयन् पल्ट भेटघाट गरी धेरै कुराहरू सिक्यौंं; नीतिगत विषयहरू अघि बढायौं । साहित्य–संस्कृति क्षेत्रमा कपिला वात्स्यायन, अमृता प्रितम, कमलेश्वर, भीष्म साहनी, पुपुल जयकर, इन्द्रनाथ चौधरी, केएम जर्ज, करण सिंह आदि उचाइमा पुगिसकेका धुरन्धर व्यक्तिहरू थिए । पुपुल जयकरले नै दार्जिलिङमा भारतीय विरासत केन्द्र खोल्न मेरा पिताजीलाई सन् १९८८ मै आशीर्वाद–आदेश दिएकी थिइन् । कपिला, कमलेश्वर आदि सिक्किमसम्म पुगेका थिए र नेपाली भाषा–संस्कृतिलाई धेरै केलाएका पनि थिए ।

कस्तो पिँढी थियो † अमत्र्य सेनका, प्रेसिडेन्सी कलेजका साथी सुखमय चक्रवर्ती र इन्दिरा गान्धीका श्रीलंका समस्या समाधान हेतु विशेष प्रतिनिधि जी पार्थसारथी । दुवैको छत्रछायामा अल्लरे–बल्लरे उमेरमै काम गर्ने मौका पाएँ । सुखमय योजना आयोगका सदस्य, अति नै सरल तर त्यति नै विद्वान् । सन् १९८५ मा दिल्लीमा भएको वल्र्ड इकोनोमिक कंग्रेसमा अमत्र्य–सुखमय–मनमोहन र विश्वप्रसिद्ध अर्थशास्त्रीहरूसँग अघिपछि घुम्दै धेरै काम गर्‍यौं । पत्रकारहरू त्यस्तै; निखित चक्रवर्ती, गिरिलाल जैन, इन्दर मलहोत्रा, डी कुमार, हिरण्मय कार्लेकर, एनसी मेनन । हाम्रो भेट भई नै रहन्थ्यो मेनस्ट्रिम, टाइम्स अफ इन्डिया र हिन्दुस्तान टाइम्सका पाताहरूमा । उनीहरू हाम्रा सपना–कल्पनाका पात्रहरू थिए । दिल्लीको वसन्त कुञ्जस्थित आजको प्रख्यात दिल्ली पब्लिक स्कुल निर्माण गरिँदा प्राचार्य विनय कुमारले बोर्डको सदस्य बनाई स्कुललाई सुगठित बनाउने अभिभारा मलाई पनि दिएका थिए । विनय कुमार पनि त्यो काम अर्काे पिँढीलाई सुम्पी स्वर्गबास भए । सन् १९८२ मा नवौं एसियाली खेलमै लियाजों अधिकारी भएर काम गर्दा राजीव गान्धी, अमिताभ बच्चन र सितारवादक रवि शंकरसँग नजिकै बसेर काम गर्ने मौका पाएँ । खेल सुसम्पन्न भएपछि आयोजित भोजमा भेट भएपछि राजीव गान्धीले मलाई ‘लौ, यो खेल सुसम्पन्न भएको खबर दार्जिलिङवासीलाई पनि सुनाइदेऊ है’ भनेका थिए ।

छिमेकी राष्ट्रहरूका अस्ताउँदै गएका पिँढीका अचम्मैलाग्दा व्यक्तिहरूसँग पनि मैले नजिकै बस्ने अवसर पाएँ । नेपालका, ‘झ्यालबाट’ लेख्ने अब्बल साहित्यकार लीलानटेश्वर (ईश्वर) शर्मा बराल दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा वरिष्ठ प्राध्यापक थिए । उनीसँगका कैयन् भेटघाटमा नेपालको राजनीतिक इतिहास नजिकैबाट बुझ्न पाएँ । बीपी कोइरालासँग उनको घनिष्ठ सम्बन्ध थियो । उनले मलाई बीपीले लेखेका व्यक्तिगत पत्रहरू पनि दिए । १७ अगस्ट १९७० मा जब बरालले लन्डन विश्वविद्यालयमा अध्ययन गरिसकेका थिए, बीपीले बोन–जर्मनीबाट उनलाई अंग्रेजीमा एउटा पत्र लेखेका थिए । त्यस पत्रमा बीपी भन्छन्, ‘म बोनमा छु, शीघ्र नै लन्डन पुग्दै छु । अर्थात्, हाम्रो भेटघाट चाँडै हुनेछ । त्यहाँ सोसलिस्ट इन्टरनेसनलका मूल मन्त्री रोडने वालकम्ब वा उनकै मित्र भेरा माथियससँग सम्पर्कमा रहनुहोस् । उनीहरूको ठेगाना ८८ए, सेन्ट जोहन्स उड, हाइस्ट्रिट, लन्डन एनडब्लु ८, र टेलिफोन ५८६–११०१ हो । यदि तपाईंलाई डा. सूर्य बी. बस्नेतको ठेगाना थाहा छ भने म आउँदै छु भन्नुहोला । डा. बस्नेत लन्डनमै प्राक्टिस गर्नुहुन्छ ।’

यसरी नै भेट भएको थियो राजा वीरेन्द्र अनि राजकुमार दीपेन्द्रसँग । राजा वीरेन्द्र भारत सरकारको निमन्त्रणामा गणतन्त्र दिवस परेडमा प्रमुख अतिथि भएर आउँदा, हाम्रा प्रधानमन्त्री अटल बिहारी वाजपेयीले उनको सम्मानमा दिल्लीको हैदरावाद हाउसमा दिएको भोजमा दोस्रो पटक उनीसँग मेरो भेट भएको थियो । वाजपेयीले प्रोटोकल अनुसार भारत सरकारको अतिथिका रूपमा मलाई उनीसँग परिचय गराएपछि मैले मातृभाषा नेपालीमै एक–दुई छोटा कुराहरू राखें । अगम व्यक्तित्व, अति उज्यालो अनुहार भएका राजा वीरेन्द्रले मीठो बोली गर्दा म भावुक भएको थिएँ । राजकुमार दीपेन्द्रसँग उनी सानो हुँदा सन् १९८२ को एसियाली खेलमा र पछि फेरि उनी हाम्रो विश्वविद्यालयमा आउँदा लामो कुराकानी भएथ्यो ।

पुरानो पिँढीका धेरै नेपाली विद्वान्सँग म बातचित गर्थें । लैनसिंह बाङ्देलसँग मोहनमान सैंजुको घरमा प्रथम पटक भेट भएको थियो । हर्क गुरुङ मलाई भेट्न दिल्लीमा पेरियार होस्टलमै आएका थिए । लोकराज बराल, भेख थापा, कमलमणि दीक्षित, सैंजु, ह्षीकेश शाह आदिसँगको कुराकानीले मलाई सदैव झकझकाइरहन्छ । चक्र बास्तोला भारतमा राजदूत रहँदा नियमित रूपमा भेटघाट हुन्थ्यो । विमान अपहरणको भीषण तर मीठो सम्झनासहित, नेपालका प्रधानमन्त्रीले काठमाडौंबाट थिम्पु जाने हवाईजहाजमा चढेपछि मात्रै भोटाङे शरणार्थीहरूका विषयमा भोटाङका राजासँग केके कुरा गर्ने भन्नेबारेमा कसरी छलफल गरेका थिए भन्ने कुराहरू नलुकाई निर्धक्क भएर भन्थे । ह्षीकेश शाहले दार्जिलिङको न्यानो सम्झना गर्नुबाहेक, प्रजातन्त्रप्राप्तिमा होमिएका नेपालका नेताहरूको खोइरो खन्थे । अर्कै भाषा बोल्थे उनी, भारतका धेरै नीतिनिर्धारकहरूको सोचलाई पटक्क मन पराउँदैनथे ।

पाकिस्तानमा हामीभन्दा एक पिँढी माथिकाहरूसँग घरीघरी भेटघाट मात्रै नभएर धेरैवटा अध्ययन कार्य मिलेरै अघि बढाउँथ्यौं । पाकिस्तान जाँदा त्यहाँका माथि नै पुगेका विद्वान्–समाजसेवी–नागरिक समाजका सदस्यहरूसँग धेरै तर्क–वितर्क पनि गथ्र्याैं । मानव अधिकारका सुदृढ प्रवर्तकहरू आईए रहमान, अस्मा जहाँगिर, मुवासिर हासन; विद्वान्हरू रशुल बक्स रइस, असफाक खान, तारिक बानुरी, सइद बाबर अली, एआर कमाल, काइजार बंगाली अनि कूटनीति–नोकरशाहीका अजीव अहमद खान, हिलाल राजा, काकाखेल, नियाज नायक आदिसँग भारत–पाकिस्तान र दक्षिण एसियाबाहेक चीन–दक्षिणपूर्वी एसिया र अमेरिकासम्मका विभिन्न विषयमा कुराकानी हुन्थ्यो । प्रधानमन्त्री शौकत अजीजले हामीलाई आफ्नै निवासमा सन् २००५ मा रात्रिभोज दिएका थिए । रइस, कमाल र बंगालीसँग ऊर्जा क्षेत्रबारे हाम्रा संयुक्त अन्वेषणात्मक लेखहरू प्रकाशित भए, चर्चित पनि भए । ‘पाइपलाइन्स एन्ड ग्रिड फर पिस’ शीर्षक पुस्तिका लन्डनको किङ्स कलेजले प्रकाशित गर्‍यो । नियाज नायक विदेशसचिवबाट अवकाश प्राप्त गरेपछि प्रधानमन्त्री वाजपेयी र जनरल परवेज मुसर्रफबीचको कुराकानी अघि बढाउने काममा ब्याक च्यानल कूटनीतिमा लिप्त भए । कोलम्बोदेखि अलिक टाढा कालुतारामा अवस्थित फा हियेन

केभमा उकालो–ओरालो गर्दा नियाज नायकले भित्र भएका कुराहरू मलाई विस्तारमा बताएका थिए । अति नै न्यानो व्यक्तित्व थिए उनी । हिलाल राजा पेट्रोलियम मन्त्रालयका सचिव थिए । धेरैपल्ट भारत आए । एक दिन लाहोरबाट इस्लामावाद सडकमार्गबाट जाँदा र उनको घरमा खानपिन गर्दा पाकिस्तानको बिग्रँदो स्थितिमाथि गहिराइमा कुराकानी गरेका थियौं । इस्लामावाद क्लबमा चपली कबाव, मगज करी र अफगानी नान खान आतुर हुन्थ्यौं । अस्मा जहाँगिरजस्ती मृदुभाषी तर मानव अधिकारकी मर्मस्पर्शी प्रवर्तकधरि बितेर गइन् । उनीसँग प्रथम पटक सन् २००१ मा दिल्लीमा साउथ एसिया फाउन्डेसनको प्रथम कार्यकारी निर्देशक भएर मदनजित सिंहसँग कार्य गर्दा भेट भएको थियो ।

भोटाङमा उति नै सजग र सचेत पिँढी थियो । एकापट्टि राजा जिग्मे सिंग्ये वाङ्चुक अनि अर्काेपट्टि दावा छिरिङ, दागो छिरिङ, जिग्मी थिन्ले, ओम प्रधान, मेघराज गुरुङ, आरबी बस्नेत, भीम सुब्बा र साङ्गे नेडुपजस्ता राजनीतिक नेताहरू, नोकरशाहीका अंगहरू अनि फेरि नागरिक समाजका सदस्यहरू । राजा वाङ्चुकले सन् १९९३ मा थिम्पु राजदरबारमा लगभग पचहत्तर मिनेटको भेटघाटमा यस्ता रोचक एवं ज्ञानबद्र्धक कुरा गरे कि आज पनि त्यस समय लेखेको नोट पल्टाईपल्टाई हेर्छु । ऐंसेलु दानाले टम्म ढाकेको पेस्ट्री–केक खानुहोस् है भन्दै शरणार्थीहरूबारे निकै गम्भीर भएर कुरा गरेका थिए । कसरी नेपालीभाषीहरू भोटाङबाट निकालिए भन्ने विषयमा विदेशमन्त्री दावा छिरिङ, गृहमन्त्री दागो छिरिङ र सर्वाेच्च न्यायालयका प्रमुख न्यायाधीश तोब्गेसँग निकै गहिरै रूपमा कुराकानी पनि भयो । भोटाङे शरणार्थीहरूको बिचल्ली र बेहालतबारे मैले आवाज उठाउँदा उनीहरू निकै ठुस्केका पनि थिए । भोटाङमा नेपालीभाषी भोटाङेहरूको ठूलो योगदान छ । आधुनिक भोटाङ उनीहरूले दु:खै गरेर बनाए । त्यहाँका प्रधानमन्त्रीसमेतलाई मैले यो कुरो विस्तारसँग भनेको थिएँ । पुराना राजा र मन्त्रीहरूको स्थान अर्काे पिँढीले ओगट्यो ।

नयाँ सोच र विचारको आगमन हुन्छ कि भन्ने सबैले आशा राखेका छन् ।

ऊ तलतिर श्रीलंकामा पनि अघिल्लो पिँढीका प्राय: सबै अस्ताए । गामिनी कोरिया, लाल जयवद्र्धने, सेल्टन कोडिकारा, पोना विगनराजा, किङ्स्ले डी सिल्भा, समन केलेगामा, चन्द्रिका कुमारतुंगा, जेरार्ड पेरिस, निहाल रोड्रिगो सबैसँग चिनापर्ची मात्रै नभएर धेरै विचार–विमर्श गर्दै काम पनि सँगै गरेका थियौं । प्रसिद्ध अर्थशास्त्री समन अति नै घनिष्ठ मित्र थिए । कलिलै उमेरमा बिते उनी । त्यहाँका प्रख्यात इतिहासकार डी सिल्भाप्रति मानसम्मान जनाउँदै एउटा राम्रो–गहकिलो पुस्तक निकालेका थियौं । यसको सम्पादन श्रीलंकाको तमिल मूलका विश्वप्रसिद्ध कानुन विशेषज्ञ निलन थिरुचेल्भमले गरेका थिए । पुस्तक विमोचन समारोहमा सामेल हुन हामी बिहानै कोलम्बो पुग्यौं । तर, विमोचन हुनुभन्दा तीन घण्टाअघि घरनजिकै लिट्टेले निलनको हत्या गरिदिएपछि हामी सबैले उनको शवयात्रामा सामेल हुनुपरेको थियो । अति नै कष्ट–दु:खमय क्षण थियो त्यो । त्यताबाट फर्केपछि, श्रीलंकाका विदेशमन्त्री लक्ष्मण कादिरगमार चीनको यात्रा सकेर दिल्ली आइपुगेपछि हामी एक–दुई जनालाई श्रीलंकाली दूतावासमा रात्रिभोजका निम्ति आमन्त्रित गरियो । चीनका नेताहरूले भारतका रक्षामन्त्री जर्ज फर्नान्डेजले ‘भारतको एक नम्बर दुस्मन चीन हो’ भनेकामा कसरी दु:ख मन गरे भन्ने कुरो बताए । कादिरगमार पनि केही महिनापछि लिट्टेको हत्याको सिकार भए ।

बंगलादेशमा भने ‘आँखा नलागोस् है’ भन्दै प्राय: चिनापर्ची भएका पुरानो पिँढीका महानुभावहरू स्वस्थ छन्, सजीव र क्रियाशील छन् । कमाल हुसेन, खलिकुजुर अहमद, फारुक शोभान, रहमान शोभान, मुहम्मद युनुस अनि अन्य धेरै । सायद सबैसँग तीनवटा राष्ट्रियताका पासपोर्ट पनि छन् । सन् १९४७ अघिको भारतको, त्यसपछिको पाकिस्तानी पासपोर्ट र बंगलादेश स्वतन्त्र राष्ट्र भएपछिको बंगलादेशी पासपोर्ट । कति भाग्यमानी यिनीहरू, तीनतीनवटा राष्ट्रलाई देखे, नागरिक भएर जीवनयापन गरे † रहमान शोभानले आफ्नो पुस्तक ‘अन्ट्रान्क्विल रिकलेक्सन्स’ मा अति नै सुन्दर ढंगमा यस्ता तीतामीठा क्षणहरूबारे लेखेका छन् । दार्जिलिङको सेन्ट पल्स स्कुलमा पढ्दा सीमित खानेकुरा खान पाएको बक्सर आफूले ठन्डा महिनाको छुट्टीमा घर पुगेपछि जमेरै खाँदा आफ्नी आमा कसरी चकित हुन्थिन् भन्ने कुरा पनि शोभानले लेखेका छन् । कानुनविद् कमाल हुसेनले प्रधानमन्त्री शेख हसिनासमेतका विरुद्ध चुनाव लडे । ढाका क्लबमा उनीहरूले मलाई धेरै पटक सालमोन माछा खान लगेका छन् । ढाकाको सोनारगाउँस्थित कोलापत्ता रेस्टुराँमा हिलिस माछाको झोल खाँदै बंगलादेशलाई उल्टाई–पल्टाई इतिहास भन्ने गरेका छन्; टिस्टा, गंगा र ब्रह्मपुत्र नदीको बहाव अनि भारतमा रहेका बंगलादेशीहरूबारे भारत सरकारसँगको विचार–विमर्शबारे खुला बहस गरेका छन् । ग्रामीण बैंकका संस्थापक मुहम्मद युनुस र भूतपूर्व विदेशसचिव फारुक शोभानको लवाइ–खुवाइ अनि भित्रैको अनुभव बाँड्ने कूटनीतिज्ञ तारिक करिमको खुलापनलाई मनभित्रै राख्ने गर्छु र विद्यार्थीहरूलाई श्रेणीमा, कक्षाकोठामा भन्ने गर्छु ।

अचम्मैको पिँढी यो, सम्पूर्ण दक्षिण एसियामा † के जान्दैनन् यो पिँढीकाहरू, इतिहास–कथा–व्यथा–भविष्यसम्मका खुम्ले कीराहरू † मलिलो माटो, टेसिलो पानी, हरिया झार–जंगल, तीतो राजनीतिक अनुभव एवं हेर्दाहेर्दै काँचुली फेरेको राष्ट्र–वातावरण र मानवसमाज देख्नेहरू हामी सबैका लागि ज्ञान–स्मरण–भविष्यका खाँबाहरू नै हुन् । धन्य उनीहरू थिए र छन् पनि !

प्रकाशित : माघ ४, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

बंगलादेश : निजी क्षेत्रको नेतृत्वमा समृद्धि

सरकारी होस् वा निजी, बंगलादेशमा राज्यले उद्योगलाई संरक्षण दिएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न उद्योगको स्थापनादेखि उत्पादनको बजारीकरणसम्म सहयोग गर्ने संयन्त्र विकास गरिएको छ ।
विष्णुकुमार अग्रवाल

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ मुलुकका रूपमा बंगलादेशको उदय हुँदै गर्दा तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले बंगलादेश आर्थिक रूपमा स्वतन्त्र मुलुक रहन नसक्ने आकलन गरेका थिए । त्यसको ५० वर्षपछि बंगलादेशले किसिन्जरको त्यो आकलनलाई गलत साबित गरेको मात्रै छैन, एसियाको उदीयमान अर्थतन्त्रको पंक्तिमा आफूलाई उभ्याउन सफल पनि भएको छ ।

बंगलादेशबारे मेरो सोच पनि अलि फरक नै थियो । त्यहाँ भीडभाड, बेरोजगारी र गरिबी मात्र होला भन्ने मैले सोचेको थिएँ । तर, दुई साताअघि नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डललाई नेतृत्व गरी गरेको बंगलादेश भ्रमणले मेरो सोचमै बदलाव ल्यायो ।

दक्षिण एसियाली मुलुकहरूमध्ये आर्थिक वृद्धिको दौडमा सबैभन्दा अगाडि रहेको बंगलादेशमा औद्योगिक क्षेत्रहरू व्यवस्थित मात्रै छैनन्, त्यहाँका उद्योगहरूमा समकालीन प्रविधिको अधिकतम प्रयोग भएको छ । बंगलादेशको निजी क्षेत्र सक्रिय तथा औद्योगिकीकरणमा गम्भीर छ र त्यसको सक्रियता र उत्साहलाई मलजल गर्ने काम राज्यको नीतिले गरेको छ । निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण सकारात्मक छ । त्यसकै नतिजास्वरूप अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रस्ट झल्किएको छ । उद्यमशीलता, लगानी र नवीन खोजप्रति मानिसहरूको चाहना उत्साहजनक छ ।

भ्रमणका क्रममा केही उच्च बंगलादेशी सरकारी अधिकारीहरूसँग छलफल भयो । उनीहरू आर्थिक विकास र गरिबी निवारणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेमा विश्वस्त छन् । निजी क्षेत्रलाई सबल बनाउने र अर्थतन्त्रको विस्तारमा निजी क्षेत्रको भूमिका विस्तार कसरी गर्ने भन्नेमा उनीहरू गम्भीर छन् । राजनीतिक नेतृत्वले पनि नयाँ नीति या परियोजना निर्माण गर्नुपरेमा निजी क्षेत्रसँग सल्लाह–सुझाव लिएर मात्र अगाडि बढाउने गरेको रहेछ । परिणामस्वरूप, कोरोना कहर सुरु हुनुभन्दा अघिसम्म बंगलादेश एक दशकभन्दा बढी समय वार्षिक आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी हासिल गर्न सफल भयो ।

विगत एक दशकमा बंगलादेशको अर्थतन्त्रको आकारमा ठूलो बदलाव आएको छ । सन् २००९ मा १०२ अर्ब अमेरिकी डलर रहेको बंगलादेशी अर्थतन्त्र सन् २०२० मा ४०९ अर्ब अमेरिकी डलर पुगेको छ । बंगलादेशी नागरिकको प्रतिव्यक्ति आय सन् २०२० मा २२०० अमेरिकी डलरभन्दा माथि छ । आर्थिक वृद्धिको यो रफ्तार कायमै रहे सन् २०३० सम्ममा बंगलादेश संसारको चौबीसौं ठूलो अर्थतन्त्र बन्ने आकलन वल्र्ड इकोनोमिक फोरमले गरेको छ ।

बंगलादेशको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको हिस्सा २८ प्रतिशतभन्दा माथि छ । तयारी पोसाक उत्पादनमा बंगलादेश विश्वकै तीन प्रमुख मुलुकमा पर्छ । चीनपछि भियतनाम र बंगलादेश विश्वका अन्य दुई ठूला तयारी पोसाक निर्यातकर्ता मुलुक हुन् । बंगलादेश तयारी पोसाक उत्पादक तथा निर्यातकर्ता संघका अनुसार, सन् २०२० मा बंगलादेशले ३१ अर्ब अमेरिकी डलरको तयारी पोसाक निर्यात गर्‍यो । यस क्षेत्रले ४० लाख बंगलादेशीलाई रोजगारी दिएको छ ।

सुन्दा आश्चर्यजनक लाग्ने यी आँकडा वर्तमान बंगलादेशको वास्तविकता हो । किसिन्जरले ‘बास्केट केस’ का रूपमा व्याख्या गरेको बंगलादेशले कसरी पछिल्लो डेढ दशकमा आर्थिक रूपमा फड्को मार्‍यो ? यसका पछाडि केकस्ता कारण छन् ?

जमिनको सहज उपलब्धता

बंगलादेशी अर्थतन्त्रको ‘ड्राइभिङ फोर्स’ उत्पादनमूलक उद्योग हो । सन् १९७१ मा स्वतन्त्र हुँदा कृषिमा आधारित बंगलादेशी अर्थतन्त्रको स्वरूपमा पछिल्लो दशकमा व्यापक परिवर्तन भयो, उद्योग र सेवा क्षेत्रको योगदान बढ्न थाल्यो ।

बंगलादेशमा विशेष आर्थिक क्षेत्र (सेज) को विकासका लागि छुट्टै सरकारी निकाय छ, बंगलादेश इकोनोमिक जोन अथोरिटी (बेजा) । त्यहाँको निजी क्षेत्रलाई त्यस्ता सेजहरूको स्थापना गर्ने अनुमति छ । बंगलादेश सरकारले १०० यस्ता सेज स्थापना गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएको छ र यीमध्ये धेरैजसो सञ्चालनमा आइसकेका छन् ।

बंगलादेशका सेजहरू ५०० एकडसम्म फैलिएका छन् । सरकारले निजी क्षेत्रले सञ्चालन गरेका सेजमा पनि नि:शुल्क बिजुली र पानीको सुविधा दिएको छ । सेजभित्र उद्योग खोल्न चाहनेलाई सरकारले १० वर्षसम्म आयकर छुट दिन्छ । यहाँ सेज स्थापना गर्न चाहनेका लागि जग्गाको हदबन्दी छैन र सुलभ ऋणको व्यवस्था पनि गरिएको छ । आधारभूत पूर्वाधार र आवश्यक जमिन नहुँदा लगानी निरुत्साहित हुनुका साथै औद्योगिक विकासको गति सीमित हुन्छ भन्ने तथ्यलाई बंगलादेशले हृदयंगम गरेको छ ।

बंगलादेशमा न्यूनतम पारिश्रमिक ११,३०० रुपैयाँ छ । सेजमा काम गर्ने श्रमिकका लागि बस्ने–खाने राम्रो व्यवस्था छ । यहाँभित्र कार्यक्षेत्रको सुरक्षा राम्रो छ, स्वास्थ्य सेवाको राम्रो प्रबन्ध छ । श्रमिकहरूको बिमा गरिएको छ । त्यसैले त सेजका श्रमिकहरू खुसी छन् र त्यसको प्रभाव उत्पादकत्वमा देखिइरहेको छ । सेजहरूले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान गरिरहेका छन् । उद्योग स्थापनाका लागि अत्यावश्यक जमिनको उपलब्धता सुनिश्चित गर्ने बंगलादेशी नीति हाम्रा लागि पनि लाभदायी हुन सक्छ ।

उद्योगलाई राज्यको संरक्षण

सरकारी होस् वा निजी, बंगलादेशमा राज्यले उद्योगलाई संरक्षण दिएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न उद्योगको स्थापनादेखि उत्पादनको बजारीकरणसम्म सहयोग गर्ने संयन्त्र विकास गरिएको छ । सरकारले केही क्षेत्रमा दीर्घकालीन नीति बनाएरै स्वदेशी उद्योगलाई प्रोत्साहित गरेको र आयातलाई निरुत्साहित गरिरहेको छ । यसको ज्वलन्त उदाहरण हो— औषधिजन्य (फर्मास्युटिकल्स) उद्योग ।

चार दशकअघि बंगलादेशको सरकारले स्वदेशी औषधि उत्पादन प्रवद्र्धन गर्ने नीति अँगालेको थियो, जसको परिणाम आज देखिएको छ । सन् १९८२ मा सरकारले औषधि सम्बन्धी कानुन ल्यायो जसले स्वदेशी औषधि कारखानाहरूलाई प्रोत्साहित गर्ने वातावरण तयार पार्‍यो ।

यो नीतिले बंगलादेशमा उद्योग नभएका बहुराष्ट्रिय कम्पनीहरूको औषधिमाथि प्रतिबन्ध लगायो र यसले औषधिजन्य उद्योगमा स्थानीय लगानी बढायो । सरकारले स्वदेशी औषधि उद्योगलाई प्रश्रय दिन औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ (एक्टिभ फर्मास्युटिकल इन्ग्रिडेन्ट) र औषधि बनाउन चाहिने मेसिनरीको आयातमा पनि कर छुट गरिदियो । त्यहाँ बनेका औषधिको निर्यातमा पनि कर छुट गरिदियो । यसका अलावा औषधि उत्पादन गर्ने औद्योगिक क्षेत्र निर्माण गर्न चाहनेलाई सरकारले सहज ऋणको व्यवस्था गरिदियो । यो नीतिगत व्यवस्था नै कालान्तरमा बंगलादेशी फर्मास्युटिकल उद्योगको उदयको प्रमुख कारक बन्न पुग्यो ।

आज बंगलादेशलाई आवश्यक ९० प्रतिशत औषधि त्यहीँ उत्पादन हुन्छन् भने त्यहाँ उत्पादित औषधिहरू १४७ मुलुकमा निर्यात हुने गरेका छन् । सन् २०२० मा बंगलादेशमा औषधिजन्य उत्पादनको बजारको आकार ३ अर्ब डलर बराबरको थियो भने साढे १३ करोड डलर बराबरको औषधि निर्यात भएको थियो । पछिल्ला पाँच वर्षको अवधिमा बंगलादेशी औषधिको निर्यात दुई गुणाले बढेको छ र सन् २०२५ सम्ममा यो निर्यात ४५ करोड डलर पुग्ने अनुमान छ ।

बंगलादेशले अहिले गार्मेन्ट, कृषि, पर्यटन र स्वास्थ्य सेवाजस्ता सम्भावनायुक्त बत्तीस क्षेत्रको पहिचान गरी तिनको विकासका लागि नीतिगत प्रवद्र्धन गरी निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गरिरहेको छ । नेपालले पनि यस्ता क्षेत्रहरूको पहिचान गरी दीर्घकालीन सोच, स्थिर नीति र विशेष पहललाई आत्मसात् गर्ने हो भने छोटो समयमै उद्योगधन्दा फस्टाउने निश्चित छ ।

निजी क्षेत्रप्रति राज्यको सदाशय

निजी क्षेत्रको सहभागिताबिना दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न सकिँदैन भन्ने तथ्यलाई बंगलादेशले राम्ररी बुझेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का अनुसार, बंगलादेशको आर्थिक विकासमा ७८ प्रतिशत योगदान निजी क्षेत्रको छ । ८७ प्रतिशत रोजगारी निजी क्षेत्रले नै दिइरहेको छ । ९० प्रतिशत बैंक र बिमा कम्पनी निजी क्षेत्रकै छन् । कुल गार्हस्थ्य उत्पादनमा लगानीको योगदान ३१ प्रतिशत छ, जसमध्ये ७५ प्रतिशत निजी क्षेत्रबाटै छ । स्वदेशी मागको ९५ प्रतिशत निजी क्षेत्रले धानिरहेको मात्र छैन, विदेशमा निर्यात पनि गरिरहेको छ ।

निजी क्षेत्रप्रति सरकारको सकारात्मक सोचकै कारण यो सम्भव भएको हो । बंगलादेश सरकारले निजी क्षेत्रलाई विश्वास गरेकै कारणले उद्योगीहरू ‘टेक्नोलोजी अपग्रेड’ गर्न, ‘ब्याकवार्ड’ र ‘फरवार्ड इन्टिग्रेसन’ गर्न उत्साही छन् ।

भ्रमणकै क्रममा सेजभित्र सञ्चालित एउटा तयारी पोसाक उद्योग निरीक्षणका क्रममा उद्योगहरूद्वारा गरिएको ‘ब्याकवार्ड’ र ‘फरवार्ड इन्टिग्रेसन’ लाई प्रत्यक्ष रूपमा देख्ने अवसर मिल्यो । कपासबाट धागो, धागोबाट कपडा, त्यसको डिजाइन र अन्तिममा तयारी पोसाक उत्पादन र निर्यात एकै छानामुनि भएको दृश्य हाम्रा लागि आरिसलाग्दो थियो नै, साथै प्रेरणादायी पनि । एउटा पूरा ‘सप्लाई चेन’ त्यही सेजभित्र हुने रहेछ ।

त्यस्तै, बंगलादेशको तयारी पोसाक उद्योगको तीव्र विकासका कारणमध्ये एउटा रहेछ— उद्योगहरूले बृहत् मात्रामा गर्ने उत्पादन र त्यसबाट हासिल गरिने ‘इकोनोमी अफ स्केल’ । बेक्सिम्कोको स्वामित्वमा रहेको स्वास्थ्यकर्मीहरूले संक्रमणबाट सुरक्षित हुन प्रयोग गर्ने ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ (पीपीई) उद्योगमा पुग्दा यो प्रत्यक्ष रूपमा अनुभव गरियो । मैले सो उद्योगका व्यवस्थापकलाई ‘तपाईंहरू कतिवटा पीपीई उत्पादन गर्नुहुन्छ ?’ भनेर सोध्दा उनको जवाफ थियो, ‘मासिक ३० लाख युनिट ।’ बंगलादेशी उद्योगहरू स्थानीय उपभोगलाई मात्र नभई निर्यातको लक्ष्य लिएर काम गर्दा रहेछन् ।

बंगलादेशको सेरामिक कारखानामा ३३ प्रतिशतभन्दा धेरै महिला कामदार छन् । महिला श्रमशक्ति (वुमन वर्क फोर्स) लाई त्यहाँ प्रभावकारी ढंगले प्रयोग गरिएको छ । नेपालका लागि पनि यो एउटा सिकाइको विषय हुन सक्छ ।

नेपालको आवश्यकता

नेपाल अहिले गम्भीर अन्तद्र्वन्द्वबाट गुज्रिरहेको छ । कृषिप्रधान देश, कृषि वस्तुकै उच्च आयात; जलस्रोतमा दोस्रो धनी देश, विद्युत्सहितको ऊर्जाकै उच्च आयात; श्रमशक्तिसम्पन्न देश, तर उनीहरूकै निर्यात । यो अवस्थामा आमूल परिवर्तन नेपालको आवश्यकता हो । यसका लागि तीव्र औद्योगिकीकरण, कृषिको आधुनिकीकरण र सेवा क्षेत्रको विस्तारका लागि सरकारले ठोस नीति तर्जुमा गरी नतिजा देखिने गरी कार्यसम्पादन गर्नुपर्नेछ ।

औद्योगिक विकासका लागि क्षेत्रगत नीति तर्जुमा गरी त्यसको कार्यान्वयन आजको आवश्यकता हो । नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले उद्योग दर्तादेखि नै झन्झट बेहोर्दै आउनुपर्ने कटुसत्य जगजाहेर छ, सुधार सुरुआत त्यहीँबाट हुन जरुरी छ । बंगलादेशले जस्तै फरकफरक औद्योगिक उत्पादनका लागि फरकफरक एवं स्पष्ट नीतिगत व्यवस्था गरी अघि बढ्नुपर्छ । सेज, औद्योगिक कोरिडोर, औद्योगिक ग्राम लगायतका पूर्वाधार विकासमा सरकारले प्रतिबद्धताअनुसार कार्य सम्पादन गर्नुपर्छ ।

अन्त्यमा, निर्यातकेन्द्रित उद्योग, विशेष गरी तयारी पोसाकले बंगलादेशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याएको छ । सरकारले निजी क्षेत्रको थप सहभागिता र प्रतिस्पर्धाका लागि खुला नीति अँगालेको छ । अझ उदार निर्यातकेन्द्रित अर्थनीतिका कारण निजी क्षेत्र आर्थिक गतिविधिको चालक बन्न सकेको छ । निजी क्षेत्रले अहिले सेवामूलक क्षेत्रमा पनि व्यापक काम गरिरहेको छ । यही गतिशील निजी क्षेत्रकै कारण बंगलादेशलाई उदीयमान ‘एसियन टाइगर’ का रूपमा व्याख्या गर्न थालिएको छ ।

हो, बंगलादेशले पनि प्रजातान्त्रिक व्यवस्था नै धरापमा पर्ने खालका राजनीतिक उथलपुथलको सामना गर्नुपर्‍यो । तर, पछिल्लो एक दशकमा समृद्धितर्फको बंगलादेशको यात्रा निरन्तर अघि नै बढिरह्यो र ऊ अन्तर्राष्ट्रिय वृत्तमा एउटा राम्रो उदाहरणका रूपमा स्थापित भयो । बंगलादेशको अनुभव नेपालका लागि अनुकरणीय हुन सक्छ । हाम्रो राजनीतिक वृत्तमा अर्थतन्त्रको दिशा र नीतिमा स्थिरता हुने हो भने नेपालमा पनि बंगलादेशको जस्तो आर्थिक क्रान्ति सम्भव छ । यसबारे हामीले एक पटक गहिरिएर सोच्ने कि ?

अग्रवाल नेपाल उद्योग परिसंघका अध्यक्ष हुन् ।

प्रकाशित : माघ ४, २०७८ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×