स्थानीय चुनावको मिति अविलम्ब तोकियोस्- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय चुनावको मिति अविलम्ब तोकियोस्

सम्पादकीय

सत्ता गठबन्धनका दलहरूको सम्भावित जित–हारलाई केन्द्रमा राखी सरकारले स्थानीय चुनावको मिति तोक्न कपटपूर्ण विलम्ब गर्नु दुर्भाग्यपूर्ण छ । अहिलेसम्मको सुरसार हेर्दा त सरकार निर्वाचित जनप्रतिनिधिहरूको कार्याकाल सकिइसक्दा पनि चुनाव नगराएर स्थानीय तहमा पुनः ‘कर्मचारी शासन’ सुरु गर्न उद्यत देखिन्छ; मुलुकमा स्थापित नवव्यवस्थामै धाँजा पार्ने त्यस्तो कदम कुनै पनि बहानामा चालिनु हुन्न ।

संविधानको सानो छिद्रमा खेलेर सरकारले संविधान तथा यसको सम्पूर्ण मर्ममाथि नै घात गर्न मिल्दैन । जुनसुकै तहको पनि आवधिक निर्वाचनको मिति तोक्ने कार्यलाई संघीय सत्ताको स्वार्थ–सुविधाका दृष्टिले कदापि हेरिनु हुन्न । अतः स्थानीय तहलाई रिक्त नतुल्याउन र विधि–पद्धति नभत्काउन सरकारले निर्वाचन आयोगको सिफारिसबमोजिम अविलम्ब स्थानीय तहको चुनाव मिति घोषणा गर्नुपर्छ ।

कैयौं कमी–कमजोरीका बावजुद मुलुकमा अहिलेसम्म संघीयताको साख कसैले राखेका छन् भने ती यिनै स्थानीय तहहरू नै हुन् । कतिपय पालिकाहरू सुरुआती वर्षहरूमा मनपरी कर उठाएकामा आलोचित भए पनि, ‘मेयरको डोजर र वडाध्यक्षको टिपर’ जस्ता प्रवृत्तिले विवादमा आए पनि, जनप्रतिनिधिहरूले सुविधाभोगी भएको भन्दै जन–खप्की खाए पनि सत्य के हो भने यसबीचमा अधिकांश स्थानीय सरकारहरू जनतासित जोडिएकै थिए/छन् । सुधार गर्नुपर्ने ठाउँ पर्याप्त भए पनि ‘गाउँगाउँमा सिंहदरबार’ को कुरा फगत नारा मात्र थिएन/होइन, यसबीचमा जनताले महसुस गरिसकेको यथार्थ पनि हो । हाम्रो संविधानले परिकल्पना गरेको शासन–व्यवस्थै यही हो≤ संविधानको अड्चनरहित कार्यान्वयनले यसलाई अपेक्षित सुधार गर्दै लैजाने हो । र मानौं, यसबीचमा पालिकाहरूले सिन्कासम्म भाँचेका रहेनछन् भने पनि चुनाव मितिलाई ख्याल–ख्याल ठान्न पाइँदैन । यथोचित समयमा नयाँ प्रतिनिधि चुन्दै जानुपर्छ, र उनीहरू सिक्दै सच्चिँदै अघि बढ्नुपर्छ । यसर्थ, विधि–व्यवस्थालाई लत्याउँदै खालि दलीय जय–पराजयको गणितलाई मात्र ख्याल गरेर गाउँ–गाउँमा पुगेको सिंहदरबारको लगाम पुनः काठमाडौंस्थित सिंहदरबारका कर्मचारीकै हातमा सुम्पने सरकारी तयारी कसै गरी स्वीकार्य हुन सक्दैन, हुनु हुँदैन ।

यो केवल छ महिनाका लागि चुनाव सार्न खोजिएको त हो नि भन्ने प्रश्न हुँदै होइन । संघीयता कार्यान्वयन र विधि–पद्धति पालनाको विषय हो, पालिकाहरूमा निर्वाचित स्थानीय सरकारहरूको अविच्छिन्नताको सवाल हो । आफ्नो स्थानीय तहमा आफूले मत दिएर जिताएका जनप्रतिनिधिहरूद्वारा शासित हुन पाउने जनअधिकारको मामिला हो । दलीय स्वार्थमा अल्झिएर यो नागरिक अधिकार छिन्न पाउने छुट कसैलाई छैन, न सरकारलाई न सत्ता गठबन्धनलाई । तसर्थ, मुलुकमा क्रियाशील सबै राजनीतिक दलको यति बेलाको एउटा ध्याउन्न कसरी यथासमय स्थानीय निर्वाचन गराउने भन्ने नै हुनुपर्छ । ५ वर्षका लागि निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिन अब सवा सय दिन पनि बाँकी नरहेको तथ्य सरकारले हेक्का राख्नुपर्छ । र, अब एक सातामा चुनाव घोषणा नभए जेठ पहिलो सातादेखि स्थानीय तह जनप्रतिनिधिविहीन हुने र संविधानले त्यस्तो परिकल्पना नगरेको भन्ने निर्वाचन आयोगको ताकेतालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।

संविधान र कानुनअनुसार स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ७ मा समाप्त हुँदै छ । निश्चय पनि निर्वाचन मितिबारे संविधान र कानुन बाझिएको छ । संविधानमा स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउन सक्ने व्यवस्था छ, अहिले सरकार र सत्तारूढ दलहरूले यही छिद्रमा खेल्न खोजिरहेका हुन् । एक त, यो व्यवस्था नै संविधानको समग्र परिकल्पनासित बाझिन्छ, संविधानले कुनै पनि तहमा सरकारविहीनताको कल्पना गरेकै छैन । त्यही भएरै स्थानीय तह निर्वाचन ऐनमा कार्यकाल सकिनुभन्दा दुई महिनाअगावै स्थानीय तहको निर्वाचन गर्ने प्रावधान राखिएको हो । अर्को, निर्वाचन मिति कुन उद्देश्यले सार्न लागिएको हो भन्ने पनि अहम् प्रश्न हो । हाल बढेको कोभिडको लहर पनि त्यतिन्जेलमा घट्ने सम्भावना छ । त्यसबाहेक मुलुकमा वैशाखमा निर्वाचन गराउनै नसक्ने अर्को कुनै परिस्थिति हुन्थ्यो भने संविधानको त्यही प्रावधानमा टेकेर चुनाव धकेल्नुको औचित्य हुन्थ्यो, तर अहिलेको अवस्था त्यो होइन, खालि यहाँ सरकार र सत्तारूढ दलहरूको नियतको मात्र प्रश्न छ । भविष्यका निम्ति व्यवस्थित थिति बसाल्न पनि समयमै निर्वाचन गर्नैपर्छ, २०७४ सालमा भएका विभिन्न तहका निर्वाचनहरू २०७२ सालमा जारी संविधान कार्यान्वयनका लागि सुन्दर प्रस्थानविन्दु थिए, हरेक आवधिक निर्वाचनहरू यथासमय गरेर यो यात्रामा खुट्किला थप्दै जानुपर्छ ।

पालिकाहरूलाई निर्वाचित नेतृत्वविहीनताको अँध्यारो बाटोमा हिँडाएर कहीँ नपुगिने मात्र होइन, गलत गन्तव्य भेटिन्छ भन्ने न्यूनतम हेक्का सबैले राख्नुपर्छ । यसअघि २०५९ सालमा समयमै चुनाव नगराएका कारण स्थानीय निकाय करिब १५ वर्ष कर्मचारीको हातमा पुग्दा सर्वदलीय संयन्त्रका नाममा मौलाएको बेथिति यहाँ स्मरणीय छ । यसको सबैभन्दा बढी सम्झना प्रधानमन्त्री शेरबहादुर देउवाले नै किन गर्नुपर्छ भने, त्यति बेला चुनाव नगराई कर्मचारीलाई स्थानीय निकाय सुम्पने सरकारको नेतृत्वकर्ता पनि उनी नै थिए । स्थानीयदेखि संसद्को सम्म चुनाव नगराउँदा आएको दुष्परिणामको प्रथम–साक्षी र सबैभन्दा भुक्तभोगीका हैसियतले पनि देउवाले फेरि चुनाव सार्ने भूल गर्नु हुँदैन । अहिले निर्वाचन सारियो भने स्थानीय तहमा वार्षिक बजेट स्वीकृति, स्थानीय सञ्चित कोष व्यवस्थापन, बजेट खर्चको अख्तियारी, योजना तर्जुमा, कार्यान्वयन र अनुगमनजस्ता कार्य हुन सक्दैनन् । नागरिकका विभिन्न प्रमाणपत्रका लागि नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष र स्थानीय तहका वडाध्यक्षले गर्ने सबै सिफारिसलगायत महत्त्वपूर्ण कार्य ठप्प भई जनसेवा र नागरिक अधिकारसमेत अवरुद्ध हुन्छन् । र, नवस्थापित संघीय व्यवस्था सञ्चालनमै व्यवधान आउँछ । त्यसैले जिम्मेवार नेतृत्व गणले मुलुकलाई यो खतराको बाटोमा हिँडाउने गल्ती कुनै हालतमा गर्नु हुन्न । त्यसका निम्ति सरकारले सक्दो चाँडो स्थानीय तहको चुनाव मिति तोक्नुपर्छ, र पालिकाहरू कहिल्यै रिक्त नहुने प्रत्याभूति दिलाउनुपर्छ ।

प्रकाशित : माघ २, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

चिच्चर खाँदै खिचरामा रमायो थारू समुदाय

माघ १ मा थारु समुदायले घरमा चिच्चर खाने चलन कायमै छ, योसँगै माछा पनि छुट्दैन
रमेशकुमार पौडेल

चितवन — खिचरा माघ १ मा मनाइने चितवनका थारू समुदायको पर्व हो । पश्चिम नेपालका थारूहरूले माघी भने पनि चितवन र नवलपुर क्षेत्रका थारू समुदाय खिचरा भन्छन् । खिचरामा खाने विशेष परिकार हो, चिच्चर । अनदीको चामललाई बाफमा पकाएर सेलाएपछि भोर्लाको पातमा बेरेर पोका पारिन्छ । अघिल्लो साँझ बनाएको पोका संक्रान्तिमा पोलेर खाने गरिन्छ । त्यसैले प्रायः थारू समुदायले अनदीको खेती गरेकै हुन्छन् ।

‘तर अचेल निकै कम भएको छ । पहिला पहिला जस्तो छैन । थारू समुदायले अनदीको चामलबाट आफ्ना चाडपर्वहरूमा विभिन्न खाले परिकार बनाउने हुँदा सबैले यो धान रोप्थे,’ थारू सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीका अध्यक्ष वीरेन्द्र महतोले भने । अहिले आफूले अनदी खेती नगर्ने अरू ठाउँबाट किनेर वा मागेर काम चलाउने क्रम बढेको उनले बताए । ‘धान क्षेत्र’ हेर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ भरतपुरका कृषि अधिकृत माधव पौडेल खेती हुने ठाउँमा पनि रैथाने अनदी नभएर हाइब्रिड अनदी रोप्ने चलन बढेको बताउँछन् । पहिलाको अनदीमा जस्तो स्वाद र सुगन्ध अहिलेको हाइब्रिड अनदीमा नभएको वीरेन्द्र महतोको अनुभव छ । पहिला निख्खर सेतो हुने अनदी अहिले अलि धमिलो हुने गरेको पनि उनले बताए ।

‘तर चिच्चर हाम्रो खिचरा पर्वको मुख्य पकवान हो । माघ १ मा थारू समुदायले घरमा चिच्चर खाएकै हुन्छन् । यो चलन कायमै छ । चिच्चरसँगै माछा खाने चलन छ,’ थारू कल्याणकारी सभाका पूर्वकेन्द्रीय सदस्य चन्द्र चौधरीले भनिन् । पहिला पहिला माघे संक्रान्तिको अघिल्लो दिन खोलामा गएर माछा मार्ने गरिन्थ्यो । जसलाई मछुबारी भनिन्थ्यो । ‘अचेल खोलामा गएर माछा मार्ने चलन पनि लगभग हराएको झैं छ,’ उनी भन्छिन् ।

तयार भएको चिच्चर पोका पार्न जंगल गएर भोर्लाको पात टिपेर ल्याइन्थ्यो । अचेल भोर्लाको पातको साटो घर नजिकैको केराको पात टिपेर चिच्चर पोका पार्ने गरिन्छ । ‘केही कुराहरू नौला छन् । तर परम्परा कायमै छ । हामी चिच्चर खान्छौं । पोका पारेर पोलेर माछासँग मिठो मानेर खान्छौं । यो हाम्रो मुख्य पर्व नै हो,’ चन्द्र चौधरीले भनिन् । चिच्चर पोकालाई थारूहरू ‘प्वाका’ भन्ने गर्छन् ।

यसरी बन्छ चिच्चर

चिच्चर अनदीको चामलको मात्रै बन्ने गर्छ । थारू समुदायको संस्कार संस्कृति संरक्षणमा लागेका थारू पत्रकार संघ चितवनका पूर्वअध्यक्ष तथा थारू कल्याणकारी सभा चितवनको प्रकाशन विभागका सदस्य कारी महतो अनदीको चामल राम्रोसँग पखालेर ५/६ घण्टा भिजाएर राख्नुपर्ने बताउँछन् । केही लामो र मोटो दाना हुने अनदी अन्य समुदायले घ्युमा भुटेर चाम्रे वा लट्टे खान प्रयोग गर्छन् । अचेल खीर खान पनि यो प्रयोग हुन्छ । तर चिच्चर पानीको बाफमा पकाइन्छ । ‘तल पानी पकाउने भाँडो हुन्छ जसलाई हामी तसला भन्छौं । त्यसमाथि चिच्चर पकाउने माटोको भाँडो राख्छौं । यसलाई पैनी भनिन्छ । पैनीको तल्लो खण्ड अर्थात् पिँध खुला हुन्छ,’ कारीले भने । खुला खण्ड छेक्न खडाइबाट बनेको सानो चकटी जस्तो ‘छितरी’ राखिन्छ । छितरी राखेर पैनीमा चामल खनाए पछि तसलामा उम्लिए पानीको बाफ माथि आउँछ र छितरीले छेकेको चामललाई पकाउँछ ।

पाकेपछि चिच्चर तयार हुन्छ । अरू बेला यही चिच्चर खाने गरिन्छ । तर खिचराका बेलामा पोका बनाएर राख्ने चलन छ । पाकेको चिच्चर राम्रोसँग सेलाएपछि हातले राम्रोसँग कँसिलो डल्लो बनाउँदै भोर्लाको पातले बेर्ने र लहराको रेसाले बाँध्ने चलन छ । मसान्तमा बनाएको ‘प्वका’ माघे संक्रान्तिमा खाने चलन छ । ‘धारा, इनार, खोला वा देवघाट पुगेर नुहाउने, भान्जा वा ब्राह्मणलाई दान गरेर प्वका खाने चलन छ,’ महतोले भने ।

चिच्चर पोकालाई आगोमा राम्रोसँग पोलेर खाने गरिन्छ । यसरी पोका बनाएर राखेको चिच्चर तीन चार दिनसम्म नबिग्रने उनले बताए । ‘पहिला जंगल गएर भोर्लाको ठूलठूला पात टिपेर ल्याउने अनि पोका पार्ने गरिन्थ्यो । अचेल केराको पातले नै काम चलाउन थालिएको छ । अलि बेर आगोमा सेकाएपछि पोका पार्दा केराको पात च्यातिँदो रहेनछ । त्यसैले सजिलो भएको छ,’ उनले भने ।

चिच्चर पोकाले शरीरमा ताप उत्पन्न गराउने उनले बताए । त्यसैले माघको जाडोमा पोका खाने गरेको उनको भनाइ छ । अरू बेला यसरी पोका खाइँदैन । माघमा जाडो हुने भएका कारण जाडो भगाउनका लागि नै खिचराका बेला पोका बनाएर खाने चलन रहेको उनले बताए । ‘चिच्चर पोका खाएर तत्कालै पानी खानु हुँदैन । पानी खाए ज्वरो नै आउँछ । जसलाई हामी प्वकज्वरो भन्छौं । यो त्यति गर्मी खाना हो,’ महतोले भने ।

प्रकाशित : माघ २, २०७८ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×