महिलाहरूमा हड्डी मक्किने समस्या- विचार - कान्तिपुर समाचार

महिलाहरूमा हड्डी मक्किने समस्या

अरुणा उप्रेती

उमेर बढ्दै जाँदा मानिसको हड्डी पुरानो हुँदै जान्छ, मक्किन सुरु गर्छ । खानपिन, जीवनशैलीमा ध्यान दिए मक्किने क्रम केही ढिलो हुन्छ; हड्डी भाँचिने र दुख्ने समस्यालाई पनि कम गर्न सकिन्छ । हड्डी मक्किँदा यसमा रहेको प्वाल ठूलोठूलो हुन थाल्छ । विशेष गरी महिलामा यस्तो समस्या बढी हुन्छ ।

प्रजनन उमेरका महिलालाई शरीरमा भएका विशेष हर्मोनले मुटु रोग, हाडको समस्या लगायतबाट बचाउँछन् । तर, महिलाको शरीरमा हर्मोन कम हुन थालेपछि वा ३५ वर्ष कटेपछि हाडहरूको घनत्व कम हुँदै जान्छ । बाहिरबाट हेर्दा खासै समस्या नदेखिए पनि हाड मक्किने क्रम बढ्दै जान्छ । यो समस्या भएपछि नाडी, पुट्ठा र मेरुदण्डका हाड भाँचिने सम्भावना बढी हुन्छ । साथै यसको कारण शरीर कुप्रो हुँदै जान्छ, उचाइ पनि घट्छ । कसैकसैलाई त दैनिक क्रियाकलाप गर्न पनि गाह्रै हुन्छ । हाडको घनत्व कम भएर मक्किँदै जाने समस्या लामो समयसम्म थाहा नहुन पनि सक्छ । त्यसैले यसलाई ‘मौन रोग’ भनिन्छ । कतिपयलाई हाड भाँचिएपछि एक्सरे गराउँदा मात्र यस्तो रोग लागेको थाहा हुन्छ ।

हाडहरू कोषिका र हाडमासीबाट बनेका हुन्छन् । यस प्रक्रियामा क्याल्सियम र भिटामिन डीको भूमिका निकै हुन्छ । रगतमा क्याल्सियम कम भयो भने, हाडमा पनि कम हुन्छ । शाकाहारीलाई एक दिनमा ८ सय मिलिग्राम र मांसाहारीलाई १ हजार २ सय मिलिग्राम क्याल्सियम चाहिन्छ । त्यसैले यसबाट बच्न क्याल्सियमयुक्त विभिन्न भोजन खानामा समावेश गर्न सकिन्छ । चुनमा क्याल्सियम हुने हुनाले पहिलापहिला चुनसँगै भृंगराजको पात मिसाएर खान्थे भन्ने मान्यता छ । दहीसँग थोरै चुन मिसाएर खाएमा क्याल्सियमको मात्रा बढ्छ । सूर्यमुखीको बियाँ, तिल अनि कोदोमा क्याल्सियम, पोटासियम, म्याग्नेसियमजस्ता खनिज पाइन्छ । त्यस्तै हड्डी मक्किने समस्याबाट बच्न खानुपर्ने अर्को तत्त्व हो— भिटामिन डी । यो सूर्यको किरणमा पाइन्छ । भोजनमा क्याल्सियम त छ तर भिटामिन डी नभए भने शरीरमा क्याल्सियम सोसिन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुँदै जान्छ । अर्थात्, हड्डी मक्किने समस्या बढ्दै जान्छ ।

भारतमा भएको एउटा अनुसन्धानअनुसार, करिब ६ करोड व्यक्तिलाई ‘हाड फुसफुसे’ हुने गर्छ । त्यसमा ७० प्रतिशत महिला नै हुन्छन् । महिलाको हाडको घनत्व पुरुषमा भन्दा कमै हुन्छ । यो समस्या अति शारीरिक परिश्रम गर्ने, अत्यन्तै दुब्ला र धूमपान गर्ने महिलामा पनि यो हुन सक्छ । भारतको अनुसन्धानका आधारमा नेपालमा पनि यस रोगका पीडित धेरै हुन सक्ने अनुमान गरिन्छ । हर्मोन विशेषज्ञ उमा श्रीवास्तवका अनुसार, ४० वर्ष नाघेका महिला ढाड दुख्ने समस्या लिएर आउँछन्, जसमध्ये झन्डै ७५ प्रतिशतलाई हाड मक्किने समस्या सुरु भइसकेको हुन्छ ।

नेपालका सन्दर्भमा, सुदूरपश्चिमका कतिपय ठाउँमा महिलालाई महिनावारी, गर्भवती र सुत्केरी हुँदा अन्धविश्वासका कारण दूध र दही खाँदा देवता रिसाउँछन् भन्ने गरिन्छ । जबकि यस्तो बेला झनै पोषण र क्याल्सियमयुक्त भोजन चाहिन्छ । त्यसैले पनि त्यहाँका महिलामा ‘हाड मक्किने’ समस्या बढी हुन सक्छ, जसको अध्ययन भएकै छैन । गर्भावस्थामा आमाको शरीरबाट विभिन्न भोज्य पदार्थ भ्रूणले लिन्छ । भ्रूणलाई पर्याप्त मात्रामा खाना पुगेन भने हाडको क्याल्सियम पनि लिन्छ । यसले आमाको हाड कमजोर बनाउँछ । गाउँघरका महिलाको हाड धेरै बच्चा पाउनाले र काम बढी गर्नाले ३५–४० वर्ष नपुग्दै कमजोर भइसक्छ । रक्तअल्पताले पनि हाडलाई कमजोर बनाउँछ । त्यसैले किशोरावस्थादेखि रक्तअल्पताबाट बच्ने उपाय अपनाउनुपर्छ ।

हाड मक्किने रोगलाई भगाउन आधुनिक भोजनको नाममा चाउचाउ, चीजबलजस्ता तयारी खाद्यपदार्थ वा कोक, फ्यान्टाजस्ता पेयपदार्थ खानु हुन्न । गर्भवती र स्तनपान गराइरहेका महिलालाई दिइने भोजनमा लौहतत्त्व र क्याल्सियम हुनुपर्छ । यस्तो बेला चाकु, सक्खर, हरियो सागपात, तिल, आलसका साथै चना, लट्टे, चिनो, जुनेलो, जौजस्ता प्रोटिनयुक्त खाद्य पदार्थ दिनुपर्छ । गर्भवतीहरूले क्याल्सियम पाउनुको अर्थ हो— शिशुले पनि क्याल्सियम पाएर स्वस्थ रहनु । दूध, दही, लट्टेको दाना, गुन्द्रुक, सिस्नु, कर्कलो, धनियाँ, भटमास, बदाम र राजमा आदिबाट पर्याप्त क्याल्सियम पाउन सकिन्छ । हाडको घनत्व बढाउन हिँड्ने, दौडने, भर्‍याङ चढ्नेजस्ता शारीरिक क्रियाकलाप गरिरहनुपर्छ ।

विदेशतिर महिलाहरूलाई कुनै खास उमेरमा पुगेपछि हाडको घनत्व बढाउन अनेक उपाय सिकाइन्छन् । नेपालमा भने यस्तो सुविधा पाउने सम्भावना हाललाई छैन । यसैले हाड मक्किने समस्या, रोग लाग्ने कारणको जानकारी तथा रोकथामका उपाय धेरै महिलामाझ पुर्‍याएर सुरक्षात्मक उपाय अपनाउनुपर्छ ।

प्रकाशित : पुस २९, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

खराब बोसो मीठो मानेपछि !

केही महिनाअघि शिक्षा र स्वास्थ्य मन्त्रालय मिलेर ५ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदा, खराब बोसो भएको खाना नदिने नीति बनाएका थिए । यस्तो नीति बनाउने पदाधिकारीहरू आफैं भने यसको पालना गर्दैनन् । 
अरुणा उप्रेती

वरिष्ठ चिकित्सक प्रकाशराज रेग्मी भन्छन्, ‘बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको मुख्य कारण खराब बोसो हो, जुन बिस्कुट, चाउचाउ दालमोठ, चिजबल्स, आलु चिप्स आदिमा पाइन्छ ।’ पहिले उनी मुटुरोग लागेपछि औषधि गर्थे, अहिले पहिल्यै उपचार गर्नुपर्छ भन्छन् । 

खराब बोसो अर्थात् ‘ट्रान्स फ्याट’, बाहिरबाट हेर्दा कालो, फोहोर देखिने वस्तु होइन । खराब बोसो भएको खानेकुराले शरीरलाई बिस्तारै खोक्रो पार्दै लान्छ । आजको भोलि नै यसको असर देखिँदैन, धमिराले खाएझैं बिस्तारै देखिन्छ । जनस्वास्थ्यकर्मीहरूलाई सबभन्दा दुःख त तब हुन्छ जब आमा–बाले नै माया गरेर खराब बोसो भएको खानेकुरा छोराछोरीलाई कोच्याउँछन् । पत्रु खानामा धेरै नुन, चिनी, बोसो र रसायनहरू हुने भएकाले स्वास्थ्यलाई हानि गर्छ भन्ने बुझे पनि, रक्सीको कुलतझैं यसको कुलत हत्तपत्त छाड्न सकिन्न ।

केही दिनअघि मुटुरोगविज्ञ प्रेमराज वैद्यले खराब बोसो सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले त्यति बेला भनेका थिए, ‘खराब बोसो भएका खानेकुराहरूले मुटुको धमनी अस्वस्थ बनाउँछन्, मासंपेशी कमजोर पार्छन्, ४० वर्ष नपुग्दै मधुमेह र मुटुको रोग दिन्छन् । खराब बोसो स्वास्थ्यका लागि अति नै हानिकारक पदार्थ हो । खानेकुरालाई लामो समय सुरक्षित राख्न, स्वाद बढाउन यसको प्रयोग गरिन्छ ।’

केही महिनाअघि म स्वास्थ्य मन्त्रालय पुग्दा, त्यहाँका उच्च पदाधिकारीहरू कोठामा बसेर चाउचाउको सुप सुरुपसुरुप तानिरहेका थिए । मलाई देखेर कसैले कचौरा लुकाउन खोजे, कोही ‘हत्तेरिका, कस्तो बेला तपार्इं आइपुग्नुभयो, यसबारे नलेखिदिनुस् है’ भन्न थाले । मैले भनें, ‘नाम त खुलाउँदिनँ तर तपाईंहरूले चाउचाउ खाएको भने लेख्नैपर्छ । पत्रु खानाविरुद्ध लेख्ने र बोल्नेहरूले नै यसो गरेपछि, अरूले के सिक्छन् ? स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा स्वास्थ्यकर खाना छैन र ?’ मेरो प्रश्नमा उत्तर आयो, ‘छन त छ नि ! क्यान्टिनमा रोटी, चिउरा, अण्डा, चना, तरकारी पाइन्छ तर त्यो खाँदाखाँदा वाक्क भइयो अनि यसो स्वादिलो खाऔं भनेर चाउचाउ खाएको । अबदेखि खान्नौं ।’ अर्थात्, स्वास्थ्य मन्त्रालयका विज्ञहरूलाई पनि खराब बोसो खाने लत रहेछ । ‘ठूलाबडा कर्मचारी’ ले नै यस्तो गरेपछि, उनीहरूको परिवारका बालबालिकाले देखासिकी गर्छन् नै । यस्तो भएपछि, खराब बोसो भएको खाना नखाऔं भनेर जनस्वास्थ्यकर्मीहरूले बोले न कर्मचारीले वास्ता गर्छन्, न त तिनका परिवारले नै । अगुवाले नै बाटो बिराएपछि कसको के नै लाग्छ र ?

नियम नै पालना गर्ने हो भने त स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा चाउचाउ राख्नै नदिनुपर्ने हो । केही महिनाअघि शिक्षा र स्वास्थ्य मन्त्रालय मिलेर ५ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदा, खराब बोसो भएको खाना नदिने नीति बनाएका थिए । यस्तो नीति बनाउने पदाधिकारीहरू आफैं भने खराब बोसोयुक्त खाना कार्यालयमै मज्जासँग खान्छन् । उनीहरूले अब बालबालिकालाई ‘लौ, तिमीहरूचााहिँ कबाडी खाना नखानू है’ भनेर कसरी भन्ने ?

विद्यालयवरिपरि पत्रु खाना रोक्ने अनि स्वास्थ्य मन्त्रालयमा धमाधम खराब बोसोयुक्त खाना खाने हो भने अभिभावकलाई ‘बच्चालाई पत्रु खाना नदिनू है’ भन्न सकिन्छ ? पहिले पहिले डाक्टरले बिरामीलाई ‘ल, तिम्रो छातीमा खराबी छ, अब चुरोट छोड्नू है’ भन्दै आफूचाहिँ मस्त धूवाँ उडाउँथे । अहिले अस्पताल र स्वास्थ्यचौकीमा चुरोट खान बन्देज नै छ । त्यसैले धेरैजसो डाक्टरले चुरोट छोडिसकेका छन् । मन्त्रालयका पदाधिकारीहरूले ती पहिलेका डाक्टर सम्झाइदिए । अब खराब बोसो भएका कबाडी, पत्रु, जंक खानेकुरा स्वास्थ्यचौकी, अस्पताल र विद्यालयबाट हटाउनुपर्छ । नत्र कसरी हाम्रा बालबालिका स्वस्थ मुटु र मिर्गौलासहित हुर्केलान् ? सानैदेखि यस्तो कुलत लागेर युवा उमेरमा मधुमेह, मुटुरोग भएपछि देशविकासमा उनीहरूले के योगदान देलान् ?

पछिल्ला दस वर्षमा नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँको ठोस पत्रु खाना आयात भएको सरकारी तथ्यांक छ । ती सबै खाद्य पदार्थ खराब बोसोमै बनाइन्छन् । यसरी लगभग १ खर्ब रुपैयाँको कबाडी खानाले भविष्यमा सयौं खर्बको नोक्सानी पुर्‍याउँछ भन्नेतर्फ सरकारले विचार गर्दैन किनभने सरकारी मान्छे पनि पत्रु खाना नै खान्छन्, स्वाद लिईलिई ।

‘लोकप्रिय’ हुने धुनमा प्रदेश सरकारहरूले मुटु–मिर्गौला बिग्रेकालाई सित्तैंमा उपचार गर्ने, फोक्सो–क्यान्सर आदिका बिरामीलाई २/२ लाख दिनेजस्ता नीति ल्याएको भेटिन्छ । तर यस्तो समस्या सकेसम्म कम होस्, नागरिकले पोषणरहित पत्रु खाना नखाऊन् भनेर कुनै कार्यक्रम भएको छ ? पत्रु खानाको विज्ञापन सकेसम्म कम गर्ने, गलत विज्ञापन नगराउने, स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले स्वास्थ्यकर खाना खान प्रेरणा दिनेजस्ता नीति नल्याएसम्म मुटु र मिर्गौलाका बिरामीहरू बढी नै रहनेछन् । अनि सरकारी बजेटबाट कहिलेसम्म बिरामीलाई पैसा दिइरहने ? यस्तो समस्या न्यूनीकरणका लागि सरकारले कुनै कदम चलाउन सक्दैन ? पोलियो, भिटामिन ‘ए’ का बारे सरकारले आमसञ्चारको व्यापक प्रयोग गरी प्रचारप्रसार गर्छ । जनस्वास्थ्यलाई ध्यानमा राखेर ‘खराब बोसो भएको, खाना नखाने’ भनेर पनि प्रचार गर्न त सकिएला !

अफसोस, विद्यालयका शिक्षकले नै केटाकेटीका अघि ‘लौ त, साहूजी चाउचाउ छिटो बनाऊ, समोसा– दुनोट देऊ’ भन्छन् । यस्ता खानामा खराब बोसो हुन्छ भन्ने त शिक्षकलाई थाहा छ । तर, समोसा– दुनोट पकाउँदा एउटै तेल बारम्बार प्रयोग गरिन्छ, जुन खराब चिल्लो पदार्थ बन्छ, यसले जिब्रोलाई स्वाद त दिन्छ तर मुटुको धमनीमा बोसो जमाउँछ भन्ने जानकारी नहुन सक्छ । आफू कपाकप खराब बोसो भएका खाना खाने शिक्षकले कसरी ‘बच्चाको स्वास्थ्य राम्रो पार्ने नीति बनाउनुपर्‍यो’ भन्ने आवाज उठाउन सक्छन् र ? उनीहरू त आफ्नो परिवारलाई पनि खराब बोसो भएकै खाना दिन्छन् ।

विभिन्न मन्त्रालयका बैठकहरूमा केक, कुकिज, सेतो पाउरोटी, बट्टाको जुस खाजाका रूपमा राखिन्छ । कहिलेकहिले त ‘स्वस्थ पोषणको’ छलफलपछि यस्तो खाजा भेटिन्छ । एकचोटि योजना आयोगको बैठकमा सहभागी हुँदै गर्दा, यस्तो खाजा देखेर मैलै बहिष्कारै गरेकी थिएँ ।

सरकारले स्वास्थ्यमा छुट्याउने करोडौं बजेट नसर्ने रोगको उपचार गर्नमै जान्छ । विद्यालय र अस्पतालवरिपरि कबाडी खाना बेच्न नदिने, उपभोक्तालाई जागरुक गराउने खालका कार्यक्रम गर्ने र आमसञ्चारका माध्यमबाट नागरिकलाई खराब बोसोयुक्त खानाबारे सतर्क गराउनुपर्छ । होइन भने, नसर्ने रोग जन्मने अधिक सम्भावना छ ।

यदि युवती खराब बोसो भएको खाना खाएर मधुमेहको सिकार बनिन् भने उनका बच्चालाई जन्मिँदै मधुमेह हुन सक्छ । अनि सानैदेखि बच्चाको उपचार सुरु हुन्छ । खराब बोसो भएको खाना खाने समस्या सहरमा मात्र होइन, गाउँमा पनि बढ्दो छ । खराब बोसो भएका खानेकुरा बेच्ने कम्पनीहरूले भ्रामक र गलत विज्ञापन बजाइरहेका छन् । के यस्ता विषयमा ‘नागरिक जागरुक बन्नुपर्छ’ भन्न सक्ला स्वास्थ्य मन्त्रालयले ?

प्रकाशित : पुस ७, २०७८ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×