कम्युनिस्ट चस्माले पृथ्वीनारायणलाई नियाल्दा- विचार - कान्तिपुर समाचार

कम्युनिस्ट चस्माले पृथ्वीनारायणलाई नियाल्दा

इतिहासको द्वन्द्ववादी अध्ययन नगरेकाले देश, राष्ट्र र राज्यको भूमिकाबीच फरक छुट्याउन नसक्दा, द्वन्द्ववादी भनिए पनि नेपाली कम्युनिस्टहरू पृथ्वीनारायण शाहको मूल्यांकन गर्न चुके ।
नरेन्द्रजंग पिटर

के साँच्चै कम्युनिस्ट, जनजाति, उपेक्षित समुदायले पृथ्वीनारायण शाहलाई ‘साम्राज्यवादी’, ‘विस्तारवादी’ भन्नु ठीक छ ? समयसँगै इतिहासलाई कसरी बुझ्ने ? इतिहासको विवेकपूर्ण वाचनका लागि तत्कालीन अवस्थाबारे आग्रहविहीन सोच र इतिहासबोध चाहिन्छ ।

इतिहासबोधका लागि इतिहासचेत आवश्यक हुन्छ । विश्वास तटस्थतामा होइन, पक्षधरताका आधारमा बन्छन् । विषयलाई हेर्ने दृष्टिले नायक र खलनायक किटान हुन्छन् । इतिहास र पृथ्वीनारायण शाह पनि यस्तै विषय बने । आजको नजरिया र पक्षधरताबाट त्यस बखतको साँगापश्चिम र चन्द्रागिरिपूर्वको राजनीतिक भूगोलमा सँगेटिएको नेपालको कल्पना गर्नै सकिँदैन । इतिहासले समयसँगै ऊर्जा, सपना, इच्छाशक्ति दिन्छ र इतिहासका चिहानहरू खोतलिन्छन् ।

हिटलरी सेनाले सोभियत रुसको भित्री भाग लेनिनगार्डमा अपरेसन बारबरोसा बाह्रौं शताब्दीका रोमन सम्राट् फ्रेडरिक बारबरोसाका नाममा चलायो । जर्मन सेनालाई परास्त गर्न सोभियत नेता जोसेफ स्टालिनले पनि रुसी राष्ट्रवाद जगाउन पिटर द ग्रेटको बखान गरे । जर्मनीले फासीवादी ‘गौरव’ अभियानमा एकीकरणका प्रणेता बिस्मार्कको याद गरायो । माओले ‘संसारको इतिहास त पढ, तर चीनको इतिहास अझ गम्भीर भएर पढ’ भने । राष्ट्रवादका लागि इतिहासका गौरवहरूको आवश्यकता पर्छ । इतिहास अणु पनि हो, परमाणु पनि । नेपाली कम्युनिस्टहरू पनि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका अनुयायी भए, ऐतिहासिक चरणको विकासलाई द्वन्द्ववादी भएर अध्ययन गर्दै धारणा बनाए, अब पृथ्वीनारायणबारे चर्चा गर्दा झन् गम्भीर बन्नुपर्छ ।

पृथ्वीनारायणको कालखण्ड र तत्कालीन अवस्था

आजको चेतले तीन सय वर्षअघिको अवस्था अध्ययन गर्न सकिँदैन । वस्तु वा पात्रमा भएका गुण–दोषको मर्म द्वन्द्ववादी भएर मात्रै खुट्याउन सकिन्छ । बुझाइको घेरा सीमित नपारौं । बाह्र सय घरधुरी रहेको गोर्खामा पृथ्वीनारायण बीस वर्षको उमेरमा राजा भए र त्रिपन्न वर्षको उमेरमा सन् १७७५ मा नुवाकोटमा बिते । तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत रहे । अमेरिका स्वतन्त्र नहुँदै (४ जुलाई १७७६), फ्रान्समा राज्य क्रान्ति (१७८९–९९) भएर आधुनिक युग आरम्भ नहुँदै पृथ्वीनारायण राजा भइसकेका थिए । कार्ल मार्क्स जन्मिँदा पृथ्वीनारायणको निधन भएकै त्रिचालीस वर्ष भइसकेको थियो ।

हाम्रो भूगोलमा बेलायती उपनिवेशवादी क्रूर दृष्टि परेको थियो भने, बंगाल र बिहारका नबाव मिर कासिमको आक्रमणलाई परास्त गर्नुपरेको थियो । त्यस बेलासम्म पुनर्जागरणकाल (युरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा अभूतपूर्व प्रगति गरेको अवधि चौधौंदेखि सत्रौं शताब्दीसम्म) र प्रबोधनकाल (सत्रौं–अठारौं शताब्दीको युरोपेली बौद्धिक–दार्शनिक आंदोलन) का झिल्काहरूसमेत यहाँसम्म आइपुगिसकेका थिएनन् । पुँजीवादको गन्ध पनि नआएको त्यो सामन्तवादी युग थियो ।

हेमिल्टनअनुसार, पृथ्वीनारायण अत्यन्त महत्त्वाकांक्षी थिए; निर्णयक्षमता, साहस र निरन्तरको क्रियाशीलतामा असाधारण प्रतिभा थियो । उनको मृत्युको दुई दशकपछि मात्रै कर्णेल कर्क प्याट्रिक नेपाल आए । उपनिवेशवादी बेलायतलाई टक्कर दिने मात्रै होइन पराजितै गर्ने र इसाई मिसिनरीलाई देशनिकाला गर्ने, तिब्बत व्यापारमा नाका सुविधा नदिनेलाई उनीहरू राम्रो मान्नै सक्दैनथे । इतिहासका कुशल व्यवस्थापकहरू हितअनुसारको विश्लेषण गर्छन् नै, पक्षधरता लिन्छन् नै, त्यसैले बीभत्स कथा रचे । जुनसुकै युद्ध यसै पनि आदर्श र सुन्दर नभएर त्यसमा शक्तिको दमन, हत्या, प्रतिशोध हुन्छ । युद्ध रक्तपातपूर्ण राजनीति हो भने राजनीति रक्तपातविहीन युद्ध । पिछडिएको गोर्खासँग फौज र रणकौशल भए पनि विद्वत् समूह थिएन, पराजित र उपनिवेशवादीसँग इतिहास व्यवस्थापकहरू थिए । कालान्तरमा विकास भएको अभिजात वर्गले पृथ्वीनारायणको एकीकरणको महिमामण्डन गर्दा उनमा रहेको युद्धउन्माद र ज्यादती भने छिपाउन चाह्यो ।

पृथ्वीनारायणकै कुरा गर्दा, इतिहासमा मान्छेको भूमिका र कामको चर्चा गरिनुपर्छ । इतिहासको सम्बन्ध मान्छेसँगै, अतीतसँगै भएकाले घटना, पात्र र प्रवृत्तिबारे विवाद उठ्नु स्वाभाविकै हो । विगतबारे धारणा र व्याख्यामा एकमत नहुन सक्छ । चेतनशील मान्छेको अतीत वर्तमानको ज्ञानको स्रोत हो । मान्छेका काममा उसका मनोवृत्ति, विचार, रुचि, स्वार्थ, वर्गचेतना जोडिएका हुन्छन् । त्यसैले हिजोलाई नियाल्दा विवाद पैदा भएर मान्छे त्यसैको सिकार बन्न पनि सक्छ ।

इतिहासको द्वन्द्ववादी अध्ययन

विज्ञानका अन्य शाखाझैं इतिहासका पनि आफ्नै गति, लय, अनुशासन, सामाजिक संकेत र सन्देश हुन्छन् । पक्कै हो, इतिहासका भाष्य र तर्कमा वर्चस्वशाली तप्काकै रजाइँ हुनाले भुइँमान्छेको प्रतिरोधी आन्दोलन र इतिहास निमार्णमा रहेको उनीहरूको भूमिका प्रायशः उल्लेख गरिँदैन । भारतका इतिहासकार डा. लालबहादुर वर्मा भन्छन्— इतिहास मानवजातिको विकासको कथा मात्रै होइन, प्रमाण पनि हो । मानव समाज बुझ्ने मात्रै होइन, त्यसलाई फेर्ने अनिवार्य उपकरणसमेत भएकाले सभ्यता प्रगति–यात्राको नायक/खलनायकबेगरको तथ्य र मिथकमिश्रित सानदार महाकाव्य पनि हो ।

मार्क्सले प्रकृतिको द्वन्द्वात्मकतादेखि द्वन्द्वात्मक भौतिकवादसम्म पुग्दै इतिहासमा लागू गरेर ऐतिहासिक भौतिकवादसम्मको व्याख्या गरे; इतिहास गतिमान छ भनी अर्थ्याए; सामाजिक परिवर्तनका नियमहरूका आधार उत्पादनका साधन र सम्बन्धमा परिवर्तन सिद्ध गरे; इतिहासको क्रमभंगतामा वर्ग संघर्ष निर्णायक र अनिवार्य माध्यम रहेको बताए । उनले भविष्यवाणी गरे— सामन्तवादलाई पराजित गरी पुँजीवाद विकसित भएर ध्वंस हुन्छ । इतिहास प्रयोगशाला हो जसमा मानवकृतिहरूको लेखाजोखा सुरक्षित भएर त्यसै आधारमा सामाजिक परिवर्तनको वस्तुगत नियम सम्झिन सकिन्छ; अतीतलाई बुझ्न, वर्तमानलाई चिन्न र भविष्यप्रति धारणा बनाउन सकिन्छ ।

समाजका सन्दर्भमा इतिहासको भूमिका मान्छेको स्मृतिजस्तै हो । डा. बर्मा भन्छन्— स्मृति विगतको सम्झना हो । जब कुनै मान्छेले वैज्ञानिक अध्ययनमार्फत स्मृतिको संयोजन गर्दै लिपिबद्ध गरेर पुनःसंरचना गर्छ तब इतिहास जन्मन्छ । इतिहासको लेखन पनि आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक जीवन र परिवेशमा विश्वास र अभ्यास भएको मान्छेले नै गर्छ । फ्रान्सिसी विचारक रेमो आरोंका शब्दमा— मान्छे एकैसाथ इतिहासको कर्ता र पात्र दुइटै बनिरहेको हुन्छ  । पृथ्वीनारायण पनि त्यस्तै थिए, जस्ता इतिहासका हरेक पात्र हुन्छन् ।

जतिसुकै निष्पक्ष रहेको दाबी गरे पनि इतिहासकारहरू अतीतको यथार्थ चित्रण गर्न सक्दैनन् । पूर्वाग्रहबाट मुक्ति पाउन नसके पनि वर्तमानको उपयोगी बन्ने तिनको हैसियत भने हुन्छ । इतिहासलाई समग्र विज्ञान नबनाए त्यसको महत्त्व रहँदैन । परिस्थिति कुनै नायकको नियन्त्रणमा हुँदैन । समाज विकासक्रममा कुनै बेला प्रगतिशील देखिएको सामाजिक शक्ति पनि परिस्थति फेरिएसँगै प्रतिगामी बन्न सक्छ । इतिहासबोधले नै समय र समाजलाई चिनेर युगलाई हस्तक्षेप गर्न सक्छ ।

कम्युनिस्टहरूको वर्गचेतमा दुश्मन वा मित्र मात्रै हुने गर्छन् । तर समाजमा सेतो र कालो मात्रै होइन, अन्य रंग पनि हुन्छन् । इतिहास र मिथक फरक हुन् । इतिहासको द्वन्द्ववादी अध्ययन नगरेकाले देश, राष्ट्र र राज्यको भूमिकाबीच फरक छुट्याउन नसक्दा, द्वन्द्ववादी भनिए पनि नेपाली कम्युनिस्टहरू पृथ्वीनारायणको मूल्यांकन गर्न चुके । बुर्जुवाहरूले कम्युनिस्टहरूबाट धेरै कुरा सिकेर लागू पनि गरे तर कम्युनिस्टहरू न द्वन्द्ववादी बने न त भौतिकवादी । इतिहासको अध्ययनमा द्वन्द्ववादी नभएपछि शक्ति सन्तुलन, समाज विकास, देशको संवेदनशीलता, सामन्तवादी समयका प्रतिनिधि पात्रको चरित्र खुट्याउनमा चूक हुने नै भयो । देश, राष्ट्र र राज्यका चरित्र र अवस्थाको बुझाइमा कमजोर हुँदा उनीहरूले भौगोलिक एकीकरण गरेर उपनिवेशवाद परास्त गर्ने पृथ्वीनारायणलाई राष्ट्रवादी देख्न सकेनन् ।

पृथ्वीनारायणको शासनकाल वर्चस्वशालीको शासन पद्धति पक्कै थियो तर त्यस बेला उनको अभियान नभएको भए आजको नेपालको अवस्था के हुन्थ्यो ? भुरेटाकुरे राजाहरू बेलायती उपनिवेशसामु टिक्न सक्थे ? देशको भूगोलको एकीकरण गरे पनि उनले देशको नामकरण ‘गोर्खा’ बनाउन सक्ने आधार थियो तर ‘नेपाल’ बनाएर जनताको मनोविज्ञान जिते ।

पात्र, घटना, परिवेशलाई द्वन्द्ववादी भएर अध्ययन गरे मात्रै सबल र दुर्बल पक्ष देख्न सकिन्छ; इतिहासलाई ऊर्जा बनाएर जडताबाट उम्कन सकिन्छ । भूगोल केन्द्रीकरण र आधुनिक नेपाल बनाउन पृथ्वीनारायणको भूमिका प्रगतिशील सामन्तवादीको थियो, जसले सार्वभौम भौगोलिक इकाइ निर्माण गर्‍यो । तर, असिल् हिन्दुस्थाना र चार वर्ण छत्तीस जातको मनुवादी अभ्यासले भने राष्ट्र र राज्यको मर्म ओगट्न सकेन । समाज विकासको हरेक चरणका सीमा भएझैं सामन्तवादका पनि हुन्छन् ।

इतिहासबारे धारणा बनाउनुअघि तत्कालीन समाज, चेतना र सांस्कृतिक अवस्था, उत्पादनका साधनस्रोत र स्वामित्व, आन्तरिक र बाह्य शक्ति सन्तुलन बुझ्नुपर्छ । आजका सन्दर्भमा पृथ्वीनाराण्णको सामन्ती चिन्तन र मनुवादी अभ्यासलाई निरन्तरता दिनु जति अभिजात वर्गको इतिहासको सन्देश नबुझ्नु हो, त्यति नै भौगोलिक एकीकरणमा उनको देन बुझ्न नसक्नु कम्युनिस्ट र अन्यको पनि कमजोरी हो ।

प्रकाशित : पुस २८, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

मनोयुद्धमा फसेको माओवादी

नेतृत्व तहमा वर्चस्वशाली तप्काको हैकममा भुइँमान्छेको उपस्थिति कसरी गराउने ? निगाहमा पाउने पदले नयाँ चाकर वर्ग त जन्माउँदैन ?
नरेन्द्रजंग पिटर

माओको जन्मदिन साइत पारेर माओवादी केन्द्रले आठौं महाधिवेशन गरिरहेको छ । जनयुद्धको धराप छिचलेर शान्तियुद्धमा हेलिएको पार्टी अब मनोयुद्धको धरापबाट कसरी उम्कने भनेर चिन्तित छ । सिद्धान्तमा अस्पष्टता र संगठनमा अस्तव्यस्तता रहेको स्विकारिए पनि पुरानो शक्ति र विश्वास फर्काउने लक्ष्य कुन विधि र नीतिले सक्ला त १ यसैमा महाधिवेशनको सफलता र भविष्य टिकेको छ । शान्ति यात्राका डेढ दशकमा संक्रमणकालीन कार्यनीति र कार्यदिशाले सुविधाअनुसारका सिद्धान्त गढिँदै गए । जनयुद्धको निर्मम समीक्षा नगर्दै पार्टी फुट्दै गयो । शान्ति प्रक्रियामा आउँदाका ३५ केन्द्रीय सदस्यमध्ये १५ जना मात्रै रहे । प्रतिक्रियाबाट उत्पन्न सक्रियता र उपलब्धिको हकदाबीले मात्र जनमत विश्वस्त हुँदैनथ्यो । कथनमा रहे पनि आन्दोलनकारी चरित्र गुमाउँदै जाँदा क्रन्तिकारी वेग र विचारधारात्मक मुद्धामा कमजोर बन्दै गएपछि फराकिलो राजनीतिक दायरा खुम्चिँदै गयो ।

नाराको व्यवस्थापन र अपहरण

राजनीतिक परिवर्तनसँगै राजनीतिक संस्कृति फेरिए मात्र संगठनका चित्र र चरित्र फेरिन सक्छन् । नत्र व्यक्ति फेरिन्छन्, शासकका नाम फेरिन्छन् सत्तासंस्कृतिले भने निरन्तरता पाइरहन्छ । जबसम्म वर्चस्वशाली समूह वा वर्गको उत्पीडनविरुद्ध वर्गीय, जातीय, क्षेत्रीय, भाषिक आन्दोलन, लैंगिक असमानताका आक्रोश वा विद्रोह हुन्छ तबसम्म मात्र त्यसको प्रगतिशील चरित्र रहन्छ नत्र त्यसलाई प्रतिक्रियावादी शक्ति र स्वार्थलेहत्याउन सक्छन् ।

सनातनी सोच राख्नेहरूले क्रान्ति र विद्रोहको अर्थ, मर्म र संवेदना बुझ्न सक्दैनन्, आग्रहका कारण नयाँ बीभत्स कहानी रच्न पुग्छन् । सत्ताको नयाँ चरित्र संघात्मक, लोकतान्त्रिक गणतन्त्र, समावेशी निर्वाचन प्रणाली सोचको मुख्यवाहक शक्ति माओवादी भए पनि आन्दोलनको मर्म, चरित्र, संकेत र सन्देश बोकेका नाराहरूलाई राजनीतिक–संस्कृति र सामाजिकीकरण गर्न नसक्दा तिनको अपहरण हुँदै गयो । नयाँ कथ्य बनिरहेको टुलुटुलु हेरिरहन पार्टी विवश भयो ।

मनोयुद्धको धराप

वर्चस्वशाली वर्गको समस्या भनेको कहिलेकाहीँ विकसित परिस्थिति र समझदारीका कारण नयाँ अवस्था र विचारलाई स्विकार्न बाध्य हुनु पर्छ । तर, तुष मौका ढुकेर पर्खिरहेको हुन्छ । उनीहरूले भुइँमान्छेको सत्तामा उपस्थिति सहजै पचाउन सक्दैनन् ।

लोकप्रिय नारामा आवेग भरेर सामाजिक र राजनीतिक हैसियत गुमाएका वा गुम्न सक्ने भयातुर शक्ति अस्तित्वको लडाइँमा उसकै हतियार उसैविरुद्ध प्रयोग गर्न पुग्यो । तब कुनै समयको प्रगतिशीलता प्रतिक्रियावादमा पतन भएर इतिहास गतिको बाधक बन्न पुग्यो । गणतन्त्र भए पनि पार्टीभित्र नयाँ सामन्त, समावेशी प्रतिनिधित्वभित्र चाकर समूह र परिवारवाद मौलायो, लोकतन्त्रको ठाउँमा निर्देशित–जनवाद हुन थाल्यो । परिवर्तनवाहक पार्टी भ्रष्ट उत्पादन कारखाना बन्न पुग्यो ।

परिवर्तनको शक्तिले प्राथमिकता खुट्याउँदै नाराको मार्केटिङ र सामाजिकीकरण गर्न आदर्श र सपनाअनुसारको जीवनपद्धतिसँगै कार्यक्रमलाई सामाजिकीकरण गर्ने नीति र विधि तय गर्नुपर्ने हुन्छ । विश्वास जोगाउन भनाइ र गराइमा एकरूपता हुनुपर्छ । नयाँ सोच र अभ्यास उन्नत विधिबाट मात्र हुन्छन् । भएका विद्रोह केही जनताको असन्तोषको परिणाम र परिवर्तनको योजनाबद्ध चाहनाबाट हुन्छ भने कतिपय प्रायोजित । विद्रोह र प्रतिविद्रोहमा अन्तर हुन्छ । पुँजी, प्रविधि, संस्कृति र पुराना शक्तिको मिश्रणले नयाँ जनमत तयार भैरहेका हुन्छन् ।

नेतृत्वसँग आधुनिक दृष्टिकोण भएर मात्रै पुग्दैन पुँजी र प्रविधिले पार्ने प्रभाव, पुँजीवादले गरेको मनोवैज्ञानिक कलामय व्यवस्थापनलाई प्रतिरोध र मूल्यको राजनीतिको संरक्षण गर्ने क्षमता पनि चाहिन्छ । मनोयुद्धमा फैलाइएका भ्रमित सूचना र मिथ्या विश्वासले नयाँ विश्वास र नित्य नयाँ मान्छे जन्माइरहेको हुन्छ । फैलिएका नयाँ ज्ञानका भूगोलले पारेको असर, त्यसले तय गरेको भूमिका र सामाजिक हलचल नियाल्न आवश्यक हुन्छ । माओवादी दुरवस्थामा आइपुग्नुका कारण हो— सैद्धान्तिक विचलनतर्फ कहिल्यै गम्भीर नहुनु र, एकले अर्कालाई दोष मात्र थोपरेर क्रिया उत्पन्न गर्ने शक्ति प्रतिक्रियामा रहेर चोखो बन्ने प्रवृत्ति बढ्नु ।

आन्दोलनको रूप र अवस्था फेरिदिँदा समीकरण बदलिरहन्छन् । यसले नयाँ मानक त तयार गर्‍यो तर त्यसलाई आफ्नो हितमा प्रयोग गर्न सकेन । नयाँ भूमिका पुरानै तरिकाले सम्भव हुँदैनथ्यो । अर्को पटक तताएको चिया र फेरि गरिएका सम्झौताले जोडिएको सम्बन्ध मीठो हुँदैन । दिशा फेरिँदा दृश्य पनि फेरिन्छन् । क्रान्तिकारी नैतिकता किन्ने–बेच्ने विषय पनि हैन, न कसैले लगाइदिने गहना नै । यो त स्वःअनूभूति गरिने आत्मादेश हो । परीक्षित व्यक्तिले न जनमतको विश्वास लिन सक्छ न पहल लिने इच्छाशक्ति राख्छ ।

धोबीघाट

सगोलको माओवादी पार्टीका लागि आयोजक देखिए पनि प्रायोजक नदेखिएको धोबीघाट जमघट उम्कनै नसक्ने ठूलो भड्खालो बन्यो । त्यसबेलासम्म जनयुद्ध र शान्तिप्रक्रिया, संविधान निर्माण, संसदीय अभ्यासका सीमा, समस्या र उपलब्धिको पार्टीभित्र निर्मम समीक्षा हुन सक्थ्यो, भएन ।

आन्दोलनकारी चरित्र गुम्दै गएपछि वामपन्थी पंक्तिभित्र आन्दोलनकारी वेग रहिरहँदैन । विचारधारात्मक मुद्दा नारामै सीमित हुन्छ । सामाजिक उत्पीडितको प्रतिनिधित्व हुन सक्ने फराकिलो राजनीतिक व्यवहारको दायरा खुम्चिन्छ । बोल्ने, हेर्ने, देख्ने र हुनेबीचको महत्त्वाकांक्षाको उचित व्यवस्थापन हुन नसक्नाका परिणाम धोबीघाट थियो । जनयुद्धका विरोधीहरू तिघ्रा ठटाइरहेका थिए । क्रान्तिको क्षतिपूर्तिभावको चरम विकासले जनयुद्ध लड्ने यही शक्ति त हो १ आश्चर्य भयो । समस्या नीतिमा कि विधिमा भन्ने बहस हुन नसकेको धोबीघाटको मनोविज्ञान प्रचण्डको जीवनकालमा सत्ताको प्रमुख पदमा अरू कहिल्यै पुग्न नसकिने सोच थियो ।

इतिहासबाट नसिकेको पाठ

इतिहास भन्छ : हरेक परिवर्तनमा ठूलो धनजनको नाश हुन्छ । राजनीति एउटा शान्तिपूर्ण युद्ध हो भने युद्ध रक्तपातपूर्ण राजनीति । मूल्यरहित परिवर्तन चिठ्ठाको सम्पत्तिझैं हुन्छ । परिवर्तन बुझ्न नसकेर/नचाहेर नयाँ बीभत्स कथ्य रच्छन् ।

कार्ल मार्क्स क्रान्तिपछि निर्माणकालमा आउन सक्ने विचलनबारे सचेत थिए र कतिसम्म भन्न पुगे भने, ‘हुँदाहुँदा क्रान्ति स्वयंले आफ्ना संवाहकलाई पक्षाघात गर्छ र आफ्ना वैरीलाई उर्लीउर्ली चारो हाल्छ’ फ्रान्सेली क्रान्तिको चर्चा गर्दै प्रसिद्ध फ्रान्सेली इतिहासकार टकभिलको भनाइ छ, ‘क्रान्ति दुई चरण भएर गुज्रन्छ । पहिलो चरण, प्रत्येक पुराना अवशेषलाई ध्वंस गर्नमा र दोस्रो चरण, आफैंले नष्ट गरेका कतिपय कुराको पुनरुत्थान गर्नमा । सायद पहिलो बढ्ता क्रान्तिकारी हुनु हो भने, दोस्रो पुरानो शानशौकतमा लोभिनु ।’ क्रान्ति विद्रोह र राजनीति सूत्रमा हाकिँदैन तर यसले अर्काले गरेका गल्ती आफूले नगरी उम्कने शिक्षा भने दिइरहेको हुन्छ । सगोलको माओवादीले इतिहासबाट सिक्न सकेन ।

महाधिवेशनका चुनौती

सुन्दर भविष्यको रोमान्टिक सपना विश्वास र आशंकासँगसँगै यात्रा गर्दा रहेछन् । दिल र दिमागदेखि क्रान्तिप्रति प्रतिबद्ध स्वप्नद्रष्टासम्म माओवादी भएकै हुन् । तर, उसले सन्दर्भ फेरिएसँगै नेतृत्वमा उच्च वर्ग र जातिको वर्चस्व कायमै रहँदा नाराको स्वामित्व र व्यावहारिकीकरण गर्न सकेन । कुनै महत्त्वपूर्ण क्रान्तिकारी विकल्प बनाउने त कुरै छाडौं व्यवस्थाको सीमाभित्र पनि दीर्घकालीन, प्रभावकारी वामपन्थी विकल्प बनाउने कामसमेत प्राथमिकतामा परेनन् ।

के महाधिवेशन हलले यी प्रश्नको उत्तर दिन सक्ला ? विफलताले सफलताको ढोका त खोल्छ तर विश्वासको पुनर्प्राप्तिका योजना के हुने ? यो अवस्थामा आइपुग्नुको कारण पार्टीको विचलन कहाँकहाँ भएर हो ? समस्याको सुरुआत कहाँबाट भयो ? संसद्वादी दल र माओवादीबीच राजनीति, संगठन, संस्कृति, आचरण भिन्न कसरी देखिने ? डेढ दशकको तदर्थवादी राजनीति र संगठनलाई कसरी नयाँ विधिमा ढाल्ने ? नेतृत्वको विकास, हस्तान्तरण, उत्तराधिकारीको प्रश्न कसरी हल गर्ने ? सूचना प्रविधिले पारेको मानसिक हस्तक्षेपले मनोयुद्धको प्रतिकार कसरी गर्ने ? जनयुद्ध आपराधिक कार्य थियो भनेर अब पूर्वमाओवादी कमान्डर र कमिसारबाटै भनाइन्छ, त्यसको यथोचित प्रतिकार कसले र कसरी गर्ने ?

सिंहदरबार र सुविधाले बढाएको महत्त्वाकांक्षाको व्यवस्थापन कसरी हुन्छ ? वर्गसंघर्ष र पहिचानको संघर्षबीचको तालमेल कसरी मिलाउने ? पार्टी क्याडरबेस कि मासबेस के हुने ? नेतृत्व तहमा वर्चस्वशाली तप्काको हैकममा भुइँमान्छेको उपस्थिति कसरी गराउने, निगाहमा पाउने पदले नयाँ चाकर वर्ग त जन्माउँदैन ? कार्यकर्तालाई लोभ र डरबाट मुक्त गराएर ठप्पाबाज सही ठोक्ने नभै कार्यकारी र स्वाभिमानी नेता, कार्यकर्ता कसरी बनाउने ? भूसंवेदनशीलदेशमा विश्वमहाशक्तिको फेरिँदो अवस्थामा नयाँ कूटनीतिक वैश्विक विश्वसनीयता कसरी बढाउने ? र, के माओवादी पार्टीले महाधिवेशनस्थलबाटबाहिर निक्लिँदा विश्वासको पुनर्प्राप्तिका लागि आफ्ना टाउकामा आफैंले राँको लगाउला ? लगाउन नसके अरूले राँको झोसिदेलान् ?

प्रकाशित : पुस १३, २०७८ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×