कोभिडको एउटा ओखती मास्क- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिडको एउटा ओखती मास्क

संक्रमणबाट बच्न मास्क अनिवार्य छ भन्ने सत्यलाई हामीले भुलिरहेका छौं । कोभिडबाट मात्र होइन, अन्य सरुवा रोग र धूलोधूवाँबाट बच्न पनि मास्क चाहिन्छ । मास्कका फाइदा धेरै छन्, लगाउँदा असहज त होला तर यो ओखती हो ।
रेजिना पाण्डे

कोभिड महामारीले तहसनहस पारेको हाम्रो दैनिकी बिस्तारै सुचारु हुँदै थियो । तर, ओमिक्रोन भेरिएन्ट समुदायस्तरमै फैलिरहेको समाचार आइरहेको छ । कोरोनाविरुद्ध खोप लगाउने क्रम बढे पनि यो अझै सबैको पहुँचमा पुगेको छैन वा पुग्ने क्रममा छ ।

नेपालमा कुल जनसंख्याको ४० प्रतिशतले पनि पूर्ण मात्रामा खोप लगाएका छैनन् भनेर विज्ञहरूले भनिरहेका छन् । यस्तोमा कोभिड नियन्त्रण तथा रोकथामको प्रभावकारी उपाय भनेकै मास्क हो ।

सार्वजनिक सवारीसाधन, बजार, सार्वजनिक–निजी कार्यालय र विद्यालय–कलेज सबै क्षेत्रमा भीडभाड छ । स्वास्थ्य मापदण्डको पालना हुन छाडिसक्यो । कोभिडबाट जोगिन मास्क जरुरी र अनिवार्य भइरहँदा पनि धेरैले लगाएका छैनन् ।

लापरबाही गरिरहेको देखिन्छ । म दिनहुँजसो सार्वजनिक बसमा कोटेश्वरबाट हात्तीसार आवतजावत गर्ने गर्छु । त्यस बेला न चालकले मास्क लगाएको देखिन्छ न त सहचालकले नै । यात्रुहरूले मास्क लगाए पनि, सही तरिकाले लगाएको देखिँदैन । मास्क चिउँडोमा झारेर मोबाइलमा बोल्नेहरू धेरै हुन्छन् । कतिले त त्यही पनि लगाएका हुन्नन् ।

‘मास्क खोइ ?’ भनेर बसमा विज्ञापन टाँसिएको हुन्छ । तैपनि मास्क नलगाउनुलाई के भन्ने ? कोभिडविरुद्ध यसरी कसरी लड्ने ? विद्यार्थीहरू मास्क नै नलगाई विद्यालयमा खेल्ने–उफ्रने गरेको देखिन्छ । विद्यालयमै यस्ता लापरबाही भएपछि अन्त के आस गर्ने ? ‘मास्क लगाउनुपर्छ’ भन्ने थाहा हुँदाहुँदै सबैतिर लापरबाही हुने गरेको छ । म हालै तरकारी पसल जाँदा साहूजी मास्क नलगाई खोकिरहेका थिए, ‘मास्क लगाउनुस् न दाइ’ भन्दा पनि केही हुन्न भनेर जवाफ फर्काए । उनलाई मात्र होइन, धेरैलाई अचेल मास्क असजिलो लाग्छ ।

संक्रमणबाट बच्न मास्क अनिवार्य छ भन्ने सत्यलाई हामीले भुलिरहेका छौं । कोभिडबाट मात्र होइन, अन्य सरुवा रोग र धूलोधूवाँबाट बच्न पनि मास्क चाहिन्छ । मास्कका फाइदा धेरै छन्, लगाउँदा असहज त होला तर यो ओखती हो । नाक–मुख छोप्ने साधारण वस्तु भए पनि यसले निरोगी राख्न निकै मद्दत गर्छ । यत्ति मात्र होइन, सास गन्हाउने, बोल्दा थुक निस्कने व्यक्तिहरूसँग गफ गर्दा पनि मास्कले केही हदसम्म सुरक्षा दिन्छ । भाइरसहरू नाक र मुखबाट शरीरमा प्रवेश गर्न पाउँदैनन्, जसले संक्रमणको सम्भावना निकै कम गर्छ ।

कोहीसँग भेट हुँदा मास्क निकालेर कुरा गर्ने बानी पनि धेरैको छ, ननिकाले पनि चिँउडोमा झारेर कुरा गर्ने त फेसन नै भइसक्यो । कोरोनाको लक्षण देखिए पनि परीक्षण नगर्ने, घरबाहिर निस्कनेहरू पनि धेरै भेटिन्छन् । त्यसैले पनि मास्क लगाउँदा आफैंलाई फाइदा हुन्छ । साथै आफ्नो परिवारका सदस्यलाई पनि । आमिक्रोन फैलिरहँदा, मास्कको उपयोगिता झनै बढेर गएको छ ।

कोभिड महामारीको पहिलो लहरदेखि नै सरकारी तथा गैरसरकारी संस्थाहरूले मास्क लगाउन व्यापक जनचेतनाका कार्यक्रम चलाए । मास्कको फाइदा धेरैलाई थाहा छ, तैपनि सार्वजनिक स्थानमा मास्क नलगाउनेहरू अझै देखिन्छन् । यो भनेको नागरिकको लापरबाही नै हो । यस्तो लापरबाही कम गर्ने उपाय अरूसँग होइन, सोही व्यक्तिसँग मात्र हुन्छ । उसैले आफ्नो र परिवारको स्वास्थ्य जोगाउने जिम्मेवारी लिए मात्र मास्क लगाउनेहरूको संख्या बढ्छ ।

कोभिड महामारीका बेला विश्वमा अत्यधिक माग मास्ककै भयो । यसको उत्पादनमा पनि वृद्धि भयो । अहिले मास्कको व्यवस्थापन पनि निकै चुनौती बनिरहेको छ, यो प्रदूषणको माध्यम पनि बनिरहेको छ । यसका बावजुद, संक्रमणबाट बच्ने मुख्य उपाय हो— मास्क । भौतिक दूरी कायम गरी सही तरिकाले मास्क लगाउनु नै अहिलेको आवश्यकता हो ।

प्रकाशित : पुस २८, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

एउटा मोबाइल दुई–तीन विद्यार्थी

रेजिना पाण्डे

सरसफाइको काम गर्ने चिनजानकी एक दिदीले हालै मलाई भनिन्, ‘मेरा तीन सन्तान छन्, उनीहरूको अनलाइन कक्षा एकै समयमा हुन्छ तर मसँग एउटा मात्र मोबाइल छ ।’

उनले इन्टरनेटको व्यवस्था जसोतसो मिलाएकी रहिछन् । एउटै मोबाइल भएकाले उनका छोराछोरीले पढाइलाई निरन्तरता दिन पाएका रहेनछन् । उनले फेरि भनिन्, ‘तपाईंका छोराछोरी कहिल्यै अनलाइन कक्षामा आउँदैनन् भनेर दिनदिनै स्कुलबाट फोन आउँछ ।’

मेरो घरनजिकै आलु चिप्स र डुनोट बनाएर गुजारा गर्ने अर्की दिदीको कथा पनि यस्तै छ । मोबाइलको अभावले छोराछोरीले अनलाइन कक्षालाई निरन्तरता दिन नपाएको मर्का उनी बेला–बेला मलाई पोख्छिन् । सहरका निम्न वा मध्यम वर्ग तथा श्रमिकहरूले हरेक छोराछोरीका लागि मोबाइल किनिदिनु आकाशको फलजस्तै हो । ल्यापटप त झन् हुने कुरै भएन । कोभिडले अनलाइन पठनपाठनमा जान बाध्य पारे पनि, धेरैलाई यस्तो समस्या परेको छ । विद्यालयलाई सुनायो भने ‘तिमीसँग मोबाइल नहुनु हाम्रो समस्या होइन भन्छ’ अन्त कहाँ सुनाउनु ? यो समस्या अझ दुर्गम क्षेत्रमा बढी छ ।

पछिल्ला दुई शैक्षिक सत्रका पठनपाठन कोभिडले नराम्रोसँग प्रभावित भए । विद्यालय नै नगई बालबालिकाले कक्षा फड्को मारिरहेका छन् । भौतिक कक्षाको विकल्पका रूपमा आएको अनलाइन कक्षामा पनि विविध कारणले सबै विद्यार्थी जोडिन सकेका छैनन् । यसबीच अभिभावकबाट विद्यालयले भने शुल्क उठाएकै छन्, तर विद्यार्थीको सिकाइमा अनलाइन कक्षाले सहयोग गरेको छ कि छैन भन्नेमा कतैबाट कुरा उठेको छैन । अनलाइन कक्षामा जसोतसो हाजिर जनाउने विद्यार्थीको पढाइ पनि अपेक्षा गरेअनुरूपको भइरहेको छैन । शिक्षकहरू भन्छन्, ‘सबै विद्यार्थीको पढाइ–सिकाइलाई ध्यान दिन विद्यालयमै हुँदा त गाह्रो हुन्थ्यो, अहिले झन् ४५ मिनेटको अनलाइन कक्षामा कसरी गर्नु ?’

कोभिड महामारीले सबैभन्दा धेरै असर सम्भवतः शिक्षा क्षेत्रलाई नै गरेको छ । यति लामो समयसम्म गतिलो गरी पठनपाठन नहुँदा विद्यार्थीहरूको भविष्य अन्योलग्रस्त बनिरहेको छ । विकसित देशहरूमा अनलाइन शिक्षा प्रभावकारी भए पनि हाम्रोजस्तो विकासशील मुलुकमा यसले काम गरेन । मोबाइल मात्र होइन, सबै भेगमा विद्युत् पुगेको छैन, इन्टरनेटको सञ्जाल त झन् सहरी क्षेत्रमा मात्र सीमित छ । यो रातारात बन्ने पनि देखिँदैन । यस्ता पूर्वाधारबिना अनलाइन कक्षा चलाइयो, अझै चलाइएकै छ । यसले कतिको काम गर्‍यो भन्नेमा कसैको ध्यान गएको छैन ।

अनलाइन कक्षा विकल्प मात्र थियो, यसले पठनपाठनलाई खासै अघि बढाउन सकेन । के कति कारण बालबालिका अनलाइन कक्षामा सहभागी हुन सकेनन् भन्नेमा शिक्षकमाझ चर्चा हुन सकेन । कोरोनाविरुद्धको खोप बालबालिकाका लागि नआइसकेकाले अझै केही महिना अनलाइन कक्षालाई नै निरन्तरता दिनुपर्ने हुन सक्छ । तर, यतिको लामो कोभिडकालमा पनि हामीले अनलाइन कक्षाका लागि चाहिने पूर्वाधार बनाउन सकेनौं । परीक्षाहरू पनि भर्चुअल भएनन् ।

काठमाडौंका स्थापित विद्यालयहरूका विद्यार्थीको परीक्षा र शिक्षण सिकाइ अनलाइनबाट भए पनि, मैले कुरा गरेका दिदीहरूजस्ता धेरै अभिभावकलाई यसले थप तनाव दिएको छ, कतिलाई त आर्थिक बोझ पनि थपिदिएको छ । ती दिदीहरूलाई यतिका कष्ट सहँदा पनि अनलाइन सिकाइ प्रभावकारी नहुनाले झनै दुःखी बनाएको छ । सरकारले बत्ति, इन्टरनेट र मोबाइल वा कम्प्युटर विद्यार्थीहरूसँग छ कि छैन भन्ने नबुझी अनलाइन कक्षा चलाउँदाको परिणाम हो यो । इन्टरनेटको सुविधा नभएका ठाउँमा सरकारले यसको व्यवस्था गरिदिन सक्थ्यो । दूर शिक्षालाई प्रभावकारी बनाउन राज्य–शिक्षक–अभिभावक सबै उत्तरदायी हुन्छन् । तर, हाम्रोमा यी तिनै पक्षले यसका लागि पर्याप्त काम गरेनन् ।

प्रकाशित : भाद्र ३०, २०७८ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×