कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
लसकुस

तागाधारी राष्ट्रको प्रशस्ति

राष्ट्र–राज्य र राजा–महाराजाको धर्ममा सामान्य सुधार चाहनेहरूमाथि भएको भौतिक र कानुनी हिंसाले सिंगो नेपाली समाजलाई वर्ण–जातको झ्यालखानाभित्र कैद गर्न सघाएको थियो, जसमा बन्द रहेका धेरै नेपाली अझै मुक्त हुन सकेका छैनन् ।

जंगली, पर्वते, काँठे, भूसतिघ्रे गँवारको
यो देश हो हे भगवान्, राखी द्यौ यो त्यसै गरी ।
राजतन्त्र नै छ यौटा हित–साधक आर्यको–
आर्य रैती हामीहरू चाहन्नौं लोकतंत्र त्यो ।
बाहुन–क्षत्रियैबाट मन्त्री मण्डल जोरनू
त्यस्तै मन्त्री लिई रक्षा गरनू राज्यको सधैं ।
–राममणि आ.दी./भलो कुराको नमूना

तागाधारी राष्ट्रको प्रशस्ति

प्रत्येक साल पुसको चिसो लाग्नासाथ महेन्द्रमाला पढेर हुर्केको पुस्ताको मन राष्ट्रवादको बेलुनसँगै बतासिन थाल्छ, पञ्चायती राज्यले स्थापना गरेका एक–एक तिथि–मितिको हिसाब–किताब राख्दै तिनको मस्तिष्क उत्साह र ऊर्जाले आकासिन्छ । राजा महेन्द्र शाहले प्रजातन्त्रको हत्या गरेको दिनदेखि राजा पृथ्वीनारायण शाह जन्मिएको तिथिलाई उत्सवमय बनाउने तिनको क्रियाशीलता र आक्रामकताले सगरमाथा छुन्छ । गणतान्त्रिक रापताप चिसिने क्रमसँगै पृथ्वीनारायण शाह जन्मिएको पुस २७ लाई सत्ता–प्रतिष्ठानहरूसमेत राष्ट्रिय एकता दिवसका रूपमा मनाउन तात्तिन्छन्, राजतन्त्रकालमा जस्तै ।

जन्मजात ज्येष्ठता र पौरुषलाई शिरोपर गर्ने सामन्तवादी मनमस्तिष्कले कोही कसरी जन्मकै आधारमा राष्ट्रिय एकताका प्रतीक वा राष्ट्रका निर्माता वा देशका एकीकरणकर्ता बन्छन् भन्ने प्रश्न गर्दैन । विशेष काम गरेको वा मृत्यु भएको दिनलाई मान्ने हो भने जीवनभर गरेका कामलाई जस दिने गरी पर्व वा उत्सव मनाउनुको अर्थ लाग्छ होला । खैर, सार्वजनिक दायित्व बिर्सने हो भने कुनै व्यक्ति, संस्था वा दललाई जे पायो त्यही गर्ने कलात्मक वा प्राज्ञिक छूट होला, तर गणतान्त्रिक राज्यका संस्थाहरूलाई राजतन्त्रमा जस्तो बडामहाराजको रथ तान्दै मनपरी गर्ने सहुलियत हुँदैन । राजा पृथ्वीनारायणबारे प्रश्न उठाउँदा जुत्ताले हान्ने महारथीहरूको रथ बोक्ने यस्ता संस्थाले ‘हमला, विजय, एकता, एकीकरण र उपनिवेश’ जस्ता शब्दको राजनीतिक परिभाषाबारे सम्यक् बहस मात्रै गराए पनि रथ तान्ने हतारोपन सवार हुँदैन । ‘देश, राज्य, राष्ट्र, राष्ट्र–निर्माण’ बारे आलोचनात्मक विमर्शसमेत गरे त प्रतिगामी ढल्काइ नै अलिक कम होला ।

पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ को सेरोफेरोमा उठ्ने सबैभन्दा ठूला प्रश्न हुन्— शाहले गोर्खा राज्यको विस्तार मात्रै गरेका हुन् कि नेपाल राज्य नै निर्माण गरेका हुन् ? उनले नेपालको भौगोलिक विस्तार मात्रै गरेका हुन् कि राष्ट्रकै एकीकरण गरेका हुन् ? अधिराज्य (किङडम) बनाउने क्रममा राष्ट्र–निर्माण (नेसन बिल्डिङ) गर्ने ध्येय र ध्याउन्न, नीति र नियत थिए कि थिएनन् ?

राष्ट्र–निर्माता हुन् पृथ्वीनारायण

इतिहास होस् या शासन–व्यवस्था, सबैलाई महान् राजाकै सुकर्मको परिणाम ठान्ने गैर–ऐतिहासिक हेराइ र अवस्तुवादी बुझाइ व्याप्त रहेको समाजमा सम्यक् धारणा बनाउन सकिँदैन । केसम्म सहजै भन्न सकिन्छ भने, गोर्खा राज्यले नेपालमण्डलका तीन राज्यसँगै ५२ वटा राज्य जितेपछि ‘नेपाल अधिराज्य’ बनेको हो । नेपाल अधिराज्यको राजनीतिक–भौगोलिक सरहद (सीमा) भित्र शासन गर्ने ‘गोर्षाराज’ (गोर्खाराज) र त्यसका सञ्चालकहरूले ‘राष्ट्र’ वा ‘राष्ट्र–राज्य’ (नेसन–स्टेट) निर्माण गर्न खोजेका थिए कि थिएनन्, अध्ययनयोग्य देखिन्छ ।

इतिहासकार बाबुराम आचार्यदेखि राष्ट्रवादी नेताहरूसम्मले भनेझैं गोर्खाली शासकहरूले पहिले गोर्षा (गोर्खा) ‘राष्ट्र’ निर्माण गर्न खोजेका थिए भने पछि नेपाली ‘राष्ट्र’ बनाउन खोजेका थिए । अचेल संश्लेषण गर्ने गरेको छु— राजा महेन्द्र र राष्ट्रवादीहरूले कथेको राष्ट्र–निर्माणको भाष्यमा सत्यता छ, गोर्खाकै विस्तारका रूपमा नेपाललाई ‘राष्ट्र–राज्य’ बनाउन खोज्ने राजा पृथ्वीनारायण शाह हुन् † चाहे जर्मनी होस् या इटाली, संसारमा कुनै पनि ‘राष्ट्र–राज्य’ को निर्माण वा ‘राष्ट्रिय एकीकरण’ एउटा मात्रै धर्म, नस्ल, जाति, भाषाजस्ता सांस्कृतिक पहिचानका आधारमा भएको इतिहास छ । शाह र उनका सन्तानले पनि साढे दुई शताब्दीअघि एकल सांस्कृतिक पहिचानका आधारमा ‘राष्ट्र–राज्य’ निर्माण गर्न खोजेका त थिएनन् ?

देशलाई सार्वभौम भूमिका रूपमा बुझ्दा त्यसको राजनीतिक अंग वा अभिव्यक्तिका रूपमा राज्य (स्टेट) लाई बुझ्न सकिन्छ, जहाँ जनताको आबादी हुन्छ । तर, राष्ट्र (नेसन) र राष्ट्रसँग जोडिएर आउने राज्य (नेसन–स्टेट) ले भने कुनै समान धर्म, नस्ल, जाति, भाषाजस्ता सांस्कृतिक आधारमा एकीकृत पहिचानलाई मात्रै बोक्छन् । विस्तार हुनुअघिदेखि नै गोर्खाराजमा अधिराज्य (राजा भएको राज्य) को अभ्यास थियो नै, विभिन्न समुदायमाथि एउटै धर्म, नस्ल, जाति, भाषा र संस्कृतिको राष्ट्र पनि लादिएकै थियो । नि:सन्देह, गोर्खाराज्य नै अन्तत: ५२ राज्यमा फैलिएपछि अधिराज्यको व्यापक विस्तार भयो; यही विस्तारसँगै विविध समुदायमाथि एकल राष्ट्रलाई पनि चौतर्फी रूपमा थोपरियो पनि । विस्तारित अधिराज्य र सबै समुदायलाई हिन्दु धर्म, वर्णव्यवस्था, जाततन्त्र तथा एउटै भाषा–संस्कृति–क्षेत्र प्रभुत्वशाली हुने अँध्यारो सुरुङमा छिराउँदै राष्ट्र–राज्य निर्माण गर्न खोजेको प्रस्टै देखियो ।

राष्ट्रको वैचारिकी ब्राह्मणवाद : ढाँचा जाततन्त्र

कुनै पनि राष्ट्र–राज्य निर्माणका लागि अलग विचारधारा वा वैचारिकी जरुरत हुन्छ, जबकि गोर्खाली शासकहरूसँग ब्राह्मणवादका रूपमा त्यस्तो वैचारिक अस्त्र पहिलेदेखि थियो । ‘ती विद्रोही : ती महात्मा’ मा अरुन्धती रोयले भनेझैं, सबै जातको तहगत श्रेणी हुने, तल्लो तहको वर्ण–जातको पनि ऊभन्दा तल्लो वर्ण–जातका तुलनामा विशेषाधिकार हुने तहगत असमानता नै जात–व्यवस्था हो, जसको वैचारिकी खासमा ब्राह्मणवाद हो । यो हरेकले हरेकलाई नियन्त्रण र निगरानी गर्ने ढाँचा र प्रबन्ध हो, जुन सबै वर्ण–जातले अभ्यास गर्छन् । उत्पीडनकारी श्रेणी–सोपानको प्रबन्ध मिलाउन दूषण र शुद्धताको अवधारणा अनि सामाजिक–शारीरिक हिंसाका अपराधकर्महरू अपरिहार्य हुन्छन् । यिनलाई बाहिरी स्रोतबाट मात्र पूर्ति गरिँदैन, हरेकको कल्पनामा आरोपण गरिन्छ ।

दुई हजार वर्षअघिका लिच्छविदेखि ठकुरी र मल्ल शासकहरूले समेत प्रयोग गरिसकेको यही वैचारिक अस्त्रलाई विभिन्न जोड–कोणका साथ लागू गर्न सक्नाले गोर्खाली शासकहरूको प्रभुत्व (डोमिनेसन) र वर्चस्व (हेजिमोनी) अझै कायम रहेको देखिन्छ । हुन त तराई वा मधेशबाट पहाडतिर शरणार्थी र विजेताका रूपमा प्रवेश गरेका इन्डो–आर्य नस्ल, जाति र भाषा–संस्कृतिका राजवंशले यही अस्त्रका आधारमा पन्ध्र सय वर्षभन्दा बेसी प्रभुत्व र वर्चस्व कायम गरेका थिए, तैपनि अन्तत: यहीँ नेवा: राष्ट्रका रूपमा घुलमिल भएका थिए । गोर्खाली शासकहरूले भने करिब समतामूलक मूल्य–मान्यताको अभ्यास गर्ने अन्य सबै नस्ल, जाति र भाषा–संस्कृतिका समुदायमाथि आफ्नो धर्म, वर्ण, जात, भाषा, संस्कृतिको उपनिवेश नै कायम गरे, जसको पहिलो सिकार मगर र गुरुङजस्ता आदिवासी जनजाति भए । इतिहासकार कुमार प्रधानका अनुसार, सत्ता आफ्नो हातमा नपरेसम्म क्षत्रिय वर्णमा उकालिएका मगर र गुरुङलाई पछि वैश्य वर्णमा झारिएको तथा सेनामा कर्नेलभन्दा उच्च हुन नदिइएको यथार्थले जात र शक्तिको असमान सम्बन्धलाई उजागर गर्छ ।

आफूलाई मगराँतका राजा भन्ने पृथ्वीनारायणदेखि उनका सन्तानसम्मले अन्य देशका जनतालाई विजयपछि आफ्नो जाततन्त्रको सुरुङभित्र कसरी हुले, त्यसको एउटा उदाहरणका रूपमा नेवा: राष्ट्रलाई लिन सकिन्छ । हिन्दु र बौद्ध धर्म मान्ने राष्ट्र/राष्ट्रियता/जातिलाई क्षेत्रीय र ब्राह्मण द्वैध–प्रभुत्व भएको उँचनीचमय जाततन्त्रको एउटा निम्छरो जातका रूपमा एकाएक फेरियो, नेवा:का ६४ जातलाई थर/थरीका खुड्किला भएको पर्वते भरेङ (पर्वते हायरार्की) मा थरका रूपमा तुर्लुङ्ग झुन्ड्याइयो । यस्तै विभाजनको महामारी फैलाउने क्रममा तामाङका बाह्र र अठार जात, गुरुङका चार र सोह्र जात, किरात राई–लिम्बूमा काशीगोत्र र ल्हासागोत्र मात्रै होइन, मगरमा त राना, थापा, आलेसँगै तिनका पनि सयौं उपसमूह बनाएर ‘फुटाऊ र शासन गर’ को नीति लागू गरियो ।

राष्ट्र–निर्माणसँगै अन्य राष्ट्रको अराष्ट्रियकरण

राजनीतिशास्त्रमा राष्ट्र–निर्माण (नेसन बिल्डिङ) बारे ठेलीका ठेली किताब लेखिएका छन्, तर नेपालको राष्ट्र–निर्माणका समस्याबारे कमै लेखिएको छ । लेखिएका किताबमा पनि देश (कन्ट्री) निर्माणको अर्थमा, राष्ट्र–राज्य बनाउन नसकेको अर्थमा राष्ट्र–निर्माणका समस्या औंल्याइएका छन् । विविधतायुक्त राज्यमा कुनै धर्म, नस्ल, जाति, वर्ण, जात, भाषा, संस्कृति र क्षेत्रका आधारमा राष्ट्र–निर्माण गर्दाका समस्या हेरिएका भए धेरै कुरा प्रस्ट हुन्थे । र, प्रस्ट देखिने थियो— अत्यधिक बहुलता र विविधता भएको ‘ढुंगो’ (राज्य) लाई थिति र आइन नै बनाएर ‘असिल् हिन्दुस्थाना’ वा ‘तागाधारी राष्ट्र’ निमाण गर्न खोज्दा अधिकांश गैर–तागाधारी समुदाय कसरी करिब ‘अराष्ट्रिय’ बन्न पुगे; किन पूराका पूरा मतवाली, मासिन्या, नीच, तल्ला, कुजात, कमसेल हुन पुगे; के कारणले चट्टानजस्तो एक ढिक्का राष्ट्र बन्नै दिइएन ?

कसैको धर्मका आधारमा राष्ट्र बनाउँदा धेरैका धर्म ‘अराष्ट्रिय’ बन्नु अनौठो होइन । उदाहरणका लागि, आफूलाई आर्यमर्यादाका पालक, हिन्दुपति र असिल् हिन्दुस्थानाका निर्माता ठानेपछि बौद्ध, प्राकृत, मस्टो र बोन्पो धर्म–पन्थ–सम्प्रदाय अराष्ट्रिय बने; कुनै दमन र प्रतिबन्ध त कुनै देशनिकालाका भागीदार बने । बुद्ध जन्मिएको देशबाट भिक्षुसमेत जेल र निर्वासनको सिकार बनाइएको ‘हिंदु–राज’ मा जोसमनी सम्प्रदायदेखि आर्यसमाजीसम्मलाई भौतिक रूपमा हिंसा र कानुनी रूपमा प्रतिबन्ध त्यत्तिकै लगाइएकै होइन । राष्ट्र–राज्य र राजा–महाराजाको धर्ममा सामान्य सुधार चाहनेहरूमाथि भएको भौतिक र कानुनी हिंसाले सिंगो नेपाली समाजलाई वर्ण–जातको झ्यालखानाभित्र कैद गर्न सघाएको थियो, जसमा बन्द रहेका धेरै नेपाली अझै मुक्त हुन सकेका छैनन् ।

जजसले निश्चित थिति (सुधार) बाँधेर नेपाली जीवन र मनलाई एउटा धर्मको भरेङका अनेक उँचनीचमय तहमा बन्द गर्दै ‘राष्ट्र’ बनाउन खोजे, जजसले केही हदसम्म देशको भूमिलाई पनि एकीकृत र विस्तार पनि गर्न खोजे, उनीहरूलाई राष्ट्र–निर्माता मान्ने हो भने आर्यमर्यादाका पालक मानदेवदेखि न्यायविकासिनीका क्रियान्वयनकर्ता (जय) स्थिति मल्लसम्म, हिन्दुपति हेमकर्ण सेनदेखि ‘हिंदु–राज’ चलाउने जंगबहादुर कुँवर राणासम्म राष्ट्र–निर्माता हुन आउँछन् । तिनीहरूले बनाउन खोजेको राष्ट्रको सार जंगबहादुरले १९१० सालमा बनाएको ‘आइन’ (मुलुकी ऐन) मा लेखिएको छ— ‘हिदुँ:राज गोहत्या नहुन्या स्त्रिहत्या नहुन्या व्रह्महत्या नहुन्या एस्तो अ‍ैन भयाको दर्वार हिमवत् षंड वासुकी क्षेत्र आज्य्रातिर्थ योतिर्मय श्रीपशुपति लिंग श्रीगुहेश्वरी पिठ. यस्तो पुण्यभूमी. आफनु मुलुक छदा छदै कलिमा हिंदुको राज येही मुलुकमात्रै छ.’

प्रभुत्व नदेख्ने मानसिक रोग

यस्तो राष्ट्र–राज्यलाई तागाधारी राष्ट्र र हिन्दु–राज पनि भन्न सकिन्छ, हिन्दु–राष्ट्र र तागाधारी राज पनि मान्न सकिन्छ । यसलाई शुद्ध सत्ता–शक्तिका दृष्टिकोणबाट हेरियो भने धर्म, वर्ण, जातको राष्ट्र मात्रै देखिँदैन; विजेता र विजित, शासक र शासित, प्रभुत्वशाली र प्रभुत्वहीनको वर्ग पनि देखिन्छ । आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीको भाषामा, ‘नेपालको राजनीतिक इतिहासको केन्द्रीय उत्पत्ति मध्य क्षेत्रबाट भएको हो, जहाँका बासिन्दाले देशको सामाजिक, राजनीतिक र आर्थिक जीवनमाथि प्रभुत्व जमाएका छन् । नेपालको राजनीतिक अभिजात वर्ग, प्रशासनिक तन्त्र र सेनाका सदस्य यही क्षेत्रबाट परम्परागत रूपमा आएका छन् । यस क्षेत्रकै ब्राह्मण र छेत्री समुदायले सामाजिक र आर्थिक नेतृत्व पूर्ति गरिरहेको छ, जो उत्तरी भारतबाट शरणार्थीका रूपमा आएका र स्थानीय खस समुदायका सदस्यका वंशज हुन्, जसले पछि आफ्नो जात र सामाजिक हैसियत उँचो बनाएका हुन् । पूर्वी पहाडी क्षेत्र, हिमाली क्षेत्र र तराई क्षेत्रसँग जोडिएका समुदायले राजनीति, प्रशासन र सेनामा सायदै कुनै भूमिका खेल्न पाएका छन् । उनीहरूको एक मात्र भूमिका पनि नयाँ स्थापित गोर्खाली राज्यका लागि कम महत्त्वको थिएन, किनभने उनीहरू राज्यका लागि किसान थिए, भरिया थिए, कालिगड र करदाता रैयत थिए ।’

पृथ्वीनारायणदेखि जंगबहादुरसम्मले बनाएको तागाधारी राष्ट्र र हिन्दु–राजमा मध्य नेपालका ब्राह्मण र छेत्रीले राजनीति, प्रशासन र सेनामा एकाधिकार र भूमि–बिर्ता (जागिर) माथि एकछत्र कायम गर्न पाउनुको अर्थ सबै तागाधारीले एकलौटी गर्न पाए भन्ने कदापि होइन । तिनमा सीधै प्रभुत्व नै जमाउन नपाए पनि एकीकृत राष्ट्रका धार्मिक नीतिका कारण ब्राह्मणहरूले राजनीति र प्रेम गरेबापत काटिनुपरेन; अरू वर्ण–जातले जसरी झारा–बेठबेगारी गर्नुपरेन; मातृभाषा शिक्षाबाट वञ्चित हुनुपरेन; खाना, लत्ताकपडा र संस्कृत भाषा शिक्षाबाट बिछोडिनुपरेन; सत्ता–शक्तिमा रहेका बन्धुबान्धवबाट टाढिनुपरेन । यति धेरै संरचनागत लाभांशको कुरै छाडौं, मासिनु मात्रै परेको भए पनि कुनै पनि ब्राह्मणले ‘राष्ट्र निर्माण र निर्माता’ को गुणगान गाउन सक्दैन्थ्यो । ‘राष्ट्र निर्माण’ का क्रममा राष्ट्र–निर्माता श्री ३ (राणा), श्री ५ (शाह) र श्री ६ (राजगुरु) हरूले ब्राह्मण, राजपूत, ठकुरी, संन्यासी र छेत्रीहरूलाई पनि ‘मासिन्या वर्ग’ मा राख्दै दासदासी बनाउन, पशुजस्तै किनबेच गर्न र जनावरजस्तै मारिन योग्य ठानेका भए उनीहरूका जिब्राले राष्ट्रगान गाउँथे कि गाउँदैनथे, थाहा छैन ।

रु. तीसमा बेचिएकी दमै केटीको नजरबाट हेर

सुन्दर शान्त विशाल ठानिएको देश एउटी दासी दमै महिलाकी सानी नातिनीले तीस रुपैयाँमा बेचिनुपर्दा वा कुनै धर्मात्मा पुजारीका हातबाट मित्रलाई उपहारमा दिइँदा पनि त्यत्तिकै सुन्दर शान्त विशाल नै देख्लिन् ? एउटै अपराधमा जातीय उँचनीचअनुसार सजाय पनि भिन्नाभिन्नै भोग्नुपरेको भए ती शासकहरूको प्रशस्ति लेखिन्छ कि लेखिँदैन, प्रश्न उठेको छ । उदाहरणका लागि, ब्राह्मण पुरुष र महिलाबीच विवाहेतर सम्बन्ध हुँदा पुरुषलाई मुडुलो पारेर गाउँबाट निष्कासित गरिन्थ्यो भने महिलालाई सम्पत्ति हरण वा अन्य दण्ड दिइँदैनथ्यो । तर, त्यस्तै अपराधमा मगर महिला र अन्य अछूत जात परेका भए महिलालाई नाक काटेर निर्वासित गरिन्थ्यो भने पुरुषको सबै भाग हरिन्थ्यो, मासिन्या मतवाली परेमा मारिन्थे वा बेचिन्थे । धर्मशास्त्रका आधारमा गरिने यस्ता ‘न्याय’ पाएका मानिसहरूले कसरी राष्ट्र–निर्माणको गीत गाउन सक्छन् भन्ने सवाल तागाधारी इतिहासकारदेखि बुद्धिजीवी, पत्रकार र नेताहरूसम्मले शासित, मतवाली, मासिन्या, कमसेलका नजरबाट हेर्ने जमर्को मात्रै गरे पक्कै पनि उठ्छ ।

कुनै शंका छैन, कुमार प्रधानले भनेझैं, गोर्खाबाट नेपाल भौगोलिक र राजनीतिक रूपमा एकीकृत देश भयो, तर त्यस्तो राष्ट्र–राज्य पनि बन्यो, जसको परिणामस्वरूप नेपाली समाज एकीकृत भएन, बरु झनै वर्ण–जातमा विखण्डित भयो, वर्गीय विभाजन गहिरियो । कसैको राष्ट्र–निर्माणका लागि मध्य क्षेत्रका पर्वते तागाधारी पुरुष अभिजात वर्गको प्रभुत्वका लागि अरू सबै मतवाली, मासिन्या, कमसेल, अछूत त हुनैपर्‍यो, तर उचित भएन । त्यसैले तिनै शासितहरूले एकीकृत देशमा बसेर ‘हिंदु–राज’ र तागाधारी राष्ट्रको अवधारणा र अभ्यासविरुद्ध जुन दीर्घकालीन संघर्ष गरे, व्यापक बलिदान दिए, त्यसकै जगमा बनेको धर्मनिरपेक्ष राज्य, समावेशी र समानुपातिक, लोकतान्त्रिक गणतन्त्रसँगै बहुराष्ट्रिय राष्ट्रियता बनाउने आकांक्षामाथि प्रहार भइरहेको छ ।

प्रकाशित : पुस २६, २०७८ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?